बौनिया,कैलाली । बर्दगोरियामा पञ्जिकरण तथा सामाजिक सुरक्षा सम्बन्धि एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । बर्दगोरिया गाउँपालिका,पञ्जिकरण शाखाको आयोजनामा भएको कार्यक्रममा ब्यत्तिगत घटना दर्ता प्रणाली, सुदृढीकरण र सामाजिक सुरक्षाका सवालमा जानकारी गराइएको थियो ।
कार्यक्रममा व्यत्तिगत घटना दर्ता अन्तर्गतका जन्म ,मृत्यु ,विवाह , सम्वन्ध विच्छेद र बसाइसराइ कसरी गर्ने , दर्ता गर्दा अाइपर्ने व्यावहारीक समाधान तथा एम .अाइ .एस मा समाधान गर्नकाे लागि पञ्जिकरण शाखा प्रमुख मदन जोशीले प्रकाश पारेका थिए ।
कार्यक्रममा उनले पछिल्लो समय सरकारले चौमासिक रुपमा वितरण गर्दै आएको सामाजिक सुरक्षा भत्ता अब त्रैमासिक रुपमा वितरण गर्ने प्रणाली अपनाएपछी लाभग्रागीमा थुप्रै अन्यौलता छाएको भन्दै सो बारे प्रस्ट पारेका थिए ।
उनाले भने – यसअघि चौमासिक अर्थात ४-४ महिनामा वितरण हुँदै आएको सामाजिक सुरक्षा भत्ता अब ३-३ महिनामा नै वितरण हुदै आएको छ । ‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व नियमावली माघमा संशोधन गरेर अर्थ मन्त्रालयले साउनदेखि लागू गर्न भनिसकेको छ उनले भने त्यसमा सामाजिक सुरक्षा भत्ता त्रैमासिकरूपमा निकासा तथा वितरण गर्नुपर्ने व्यवस्था गरेको छ । त्यसै अनुसार अबदेखि ३-३ महिनामा वितरण हुन्छ ।’
– व्यक्तिगत घटना दर्ता के हो ?
व्यक्तिको जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद तथा बसाईँसराईँ जस्ता मानिसका आफ्ना निजी घटना स्थानीय पञ्जिकाधिकारीकोमा गई दर्ता गराउने र प्रमाणपत्र लिने कार्यलाई व्यक्तिगत घटना दर्ता भनिन्छ ।
– व्यक्तिगत घटना दर्ता गर्नु जरुरी छ छैन ?
निकै जरुरी छ । व्यक्तिले राज्यबाट पाउने सेवा सुविधा र हक स्थापनाका गर्न कानून बमोजिम गर्ने व्यवहारका लागि व्यक्तिगत घटना दर्ताका प्रमाणपत्र जरुरी हुन्छ ।
– भत्ता पाउने व्यक्तिको उमेर गणना गर्दा के लाई आधार मानिन्छ ?
– नेपाली नागरिकताको प्रमाणपत्रको उमेरलाई आधार मानिन्छ । १६ वर्ष भन्दा कम उमेरका लाभग्राहीको हकमा जन्म दर्तालाई आधार मानिन्छ।
नागरिकतामा जन्मेको साल र महिना खुलेको तर गते नखुलेको अवस्थामा केलाई आधार मानिन्छ ?
– जन्मिएको साल र महिना खुलेको तर गते नखुलेको भए उल्लिखित महिनाको मसान्त र सालमात्र खुलेको वा उमेर मात्र उल्लेख भएको भए सम्बन्धित वर्ष(साल) को चैत्र मसान्तलाई आधार मानी जन्म मिति गणना गरिन्छ ।
– कुन कुन अवस्थामा दोहोरो भत्ता लिन पाईदैन ?
– नेपाल सरकार वा नेपाल सरकारबाट मान्यता प्राप्त संघ संस्था तथा अन्य कुनै अन्तर्राष्ट्रिय संघ संस्थाबाट मासिक रुपमा तलव, भत्ता, पेन्सन वा यस्तै प्रकारका अन्य कुनै मासिक सुविधा प्राप्त गर्नेहरुले सामाजिक सुरक्षा भत्ता लिन पाइदैन ।
कुनै व्यक्ति एकभन्दा बढि लक्षित समूहमा परेमा के सबै समुहबाट भत्ता लिन पाउँछ ?
– कुनै हालतमा पाउँदैन । कुनै व्यक्ति एकभन्दा बढी लक्षित समुहमा परेमा त्यस्तो व्यक्तिले सबैभन्दा बढी रकम भएको एक समूहको भत्ता वा वृत्ति मात्र पाउनेछ ।
सामाजिक सुरक्षा भत्ता पाउनको लागि कहिले, कहाँ निवेदन दिनु पर्दछ ?
– सामाजिक सुरक्षा भत्ता पाउनको लागि जहिले सुकै निवेदन दिन पाइन्छ।
– निर्धारित समयभित्र निवेदन दिए पश्चात् भत्ता प्राप्त गर्न योग्य लाभग्राहीहरुलाई परिचय पत्र कसले दिने गर्दछ ?
– त्यस्ता, ति व्यक्तिहरुको निवेदन उपर छानविन गरी सम्बन्धित स्थानीय तहको वडा कार्यालयले परिचय पत्र दिने व्यवस्था गरिएको छ ।
– के परिचय पत्र नभएका व्यक्तिहरुले पनि सामाजिक सुरक्षा भत्ता पाउन सक्छन् ?
– सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न परिचय पत्र प्राप्त गरेकै हुनुपर्छ । अन्यता मिल्दैन ।
– सामाजिक सुरक्षा भत्ता लिइरहेका व्यक्तिहरुले पनि परिचय पत्र नवीकरण गर्नुपर्दछ ?
– हो ,यो अनिवार्य रूपमा गर्नुपर्दछ । सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिकहरुले प्रत्येक आ.व. को श्रावन महिनामा आफ्नो परिचय पत्र नवीकरण गर्नको लागि निवेदन दिनुपर्दछ । नवीकरण नगरेमा भत्ता प्राप्त गर्न सक्ने छैनन्।
– कुनै व्यक्तिको भत्ता परिवारको सदस्य वा नजिकको कुनै अन्य व्यक्तिलाई हस्ते गरी दिन मिल्छ की मिल्दैन ?
– यो कुरा मिल्दैन । हस्ते गरी वा नगरी सम्बन्धित व्यक्ति बाहेक अन्य व्यक्तिलाई भत्ता रकम वितरण गर्न मिल्दैन । रातो कार्ड पाएका पूर्ण अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्रमा उल्लिखित निजको संरक्षकलाई तथा बालबालिकाको भत्ता निजको आमा वा अभिभावकलाई बुझाउन मिल्छ।
– कुन कुन अवस्थामा भत्ता पाइरहेका व्यक्तिहरुको लगत कट्टा गर्नुपर्दछ ?
– मृत्यु भएमा
– बसाइ सरी अन्यत्र गएमा
– एकल/ बिधवा महिलाले अर्को विवाह गरेमा
– बालबालिकाको उमेर ५ वर्ष पूरा भएमा
– झुटा विवरण पेश गरी भत्ता लिएको पुष्टी भएमा
– स्वेच्छाले भत्ता लिन नचाहेमा
– परिचयपत्र नविकरण नगरेमा
– एक वर्ष भरीको कुनैपनि किस्ता रकम नबुझेमा
– गलत व्यक्तिले सामाजिक सुरक्षा वापतको भत्ता रकम लिएमा वा गलत व्यक्तिलाई भत्ताको लागि सिफारिश गरेमा कुनै कारवाही हुन्छ की हुँदैन ?
– गलत व्यक्तिले झुठो विवरण पेश गरी सामाजिक सुरक्षा भत्ता लिएमा निजबाट बिगो बमोजीम असुल उपर गरिन्छ । त्यसैगरी गलत व्यक्तिलाई भत्ता पाउन योग्य भनि सिफारिश गरेमा त्यस्तो सिफारिश गर्ने पदाधिकारीहरुलाई कानून बमोजिम कारवाही हुन्छ ।