काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेश पदाधिकारीको संख्या बढाउने निर्णय गरेको छ । बिहीबार बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले यस्तो निर्णय गरेको हो ।
यसअघिको ७ बाट बढाएर ९ पुर्याउने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।प्रवक्ता महराका अनुसार अध्यक्ष, तीन उपाध्यक्ष, सचिव एक , तीन सहसचिव र एक कोषाध्यक्ष रहने छन् ।
अब माओवादी केन्द्रको प्रदेश समितिमा अध्यक्ष, तीन उपाध्यक्ष, सचिव, तीन सहसचिव र कोषाध्यक्ष रहनेछन् । बैठकले प्रदेश समितिको आकार पनि बढाएको छ ।
अब प्रदेश १ मा २६९, प्रदेश २ मा २७१, बागमतीमा २७५, गण्डकीमा २२९, लुम्बनीमा २५३, कर्णालीमा २२१ र सुदूरपश्चिममा २२३ सदस्यीय प्रदेश समिति बन्नेछ ।
त्यस्तै बैठकले पार्टी प्रवेश गर्नेहरुको अध्ययन गर्न देव गुरुङ, गिरिराजमणि पोखरेल र श्रीराम ढकाल रहेको कार्यदल बनाएको माओवादीले जनाएको छ ।बैठकले महिला विभाग थपेर तत्काललाई पम्फा भुसालले उक्त विभागको नेतृत्व गर्ने निर्णय गरेको छ ।