बौनिया,कैलाली । बोनम्यारो पीडित कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ का ३६ वर्षिय गोकर्ण प्रसाद उपाध्यायको उपचारका लागि लम्कीचुहा नगरपालिका वडा नम्बर ७ मा संचालित सरस्वती माद्यामिक विद्यालयका विद्यार्थीहरुले आर्थिक सहयोग गरेका छन् ।
आर्थिक अभावमा कोही कसैको पनि ज्यान जानू हुँदैन, एउटा व्यक्ति अप्ठ्यारोमा पर्दा सबैले सहयोग गर्नुपर्ने मानव धर्म पनि भएकाले उपाध्यायको उपचारका लागि आफ्नो खाजा खर्च कटायर सहयोग गरिएको विद्यार्थीहरुले बताएका छ्न ।
आर्थिक अभावमा बोनम्यारो पीडित गोकर्ण उपाध्यायको उपचार हुन नसकेको खवर सामाजिक संजाल र मिडियामा देखेपछि आफुहरुले पनि आफ्नो तर्फबाट गर्न सकिने सहयोग गरिएको उनीहरूले बताए । विद्यार्थीबाट संकलित ७ हजार ५ रुपैयाँ शुक्रबार विद्यालयका प्रधानाध्यापक ठन्डराज जोशीले गोकर्ण उपाध्याय बचाउ अभियानमा सक्रिय युवाहरूलाई बुझाएका थिए ।
गोकर्णको उपचारका लागि सरस्वती माविका पल्स टु मा अध्यनरत विद्यार्थीले व्यक्तिगत रूपमा आर्थिक संकलन गरेको कक्षा १२ मा अध्यनरत छात्रा नेहा जोशीले बताइन् । सामाजिक संजाल र मिडियामा गोकर्णको उपचारका लागि आर्थिक अभावको समाचार पढेपछि सरस्वती माविमा जोशीकै पहलमा आर्थिक संकलन गरिएको थियो । हामीले एकदिन खाजा नखाएर कसैको जीवन बाच्दछ भने किन सहयोग नगने’ भन्दै आर्थिक संकलन गरेको उनले बताइन् ।
बोनम्यारो पीडित उपाध्याय विगत केही बर्ष देखि ए प्लाष्टिक एनिमिया रोगले ग्रसित छ्न । आर्थिक अभावका कारण उहाँको उपचार हुन सकेको छैन । उपाध्यायको उपचारका लागि कैलालीको बर्दगोरिया गाउँपालिकामा युवाहरुले गोकर्ण उपाध्याय बचाउ अभियान संचालन गरेका छ्न ।
बर्दगोरिया १ निवासी उपाध्याय यस क्षेत्रकै समाजसेवी र सहयोगी व्यक्तिका रूपमा चिनिन्छ्न । बर्दगोरिया गाउँपालिकाको एम्बुलेन्स संचालक समेत रहेका उपाध्याय दिनरात बिरामीको सेवामा खटिदै आएका थिए भने कोरोना महामारीमा समेत अहोरात्र सेवामा तल्लीन थिए । उपाध्यायको बेलैमा आफ्नै स्वास्थ्य उपचार हुन नसक्दा अहिले ज्यानै जोखिमपूर्ण अवस्थामा छ ।