बौनिया,कैलाली । बोनम्यारो रोगबाट पीडित कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ का ३६ वर्षिय गोकर्ण प्रसाद उपाध्यायको उपचारका लागि यहाँका स्वास्थ्यकर्मीले आर्थिक संकलन गरि सहयोग गरेका छ्न ।
आर्थिक अभावमा कोही कसैको पनि ज्यान जानू हुँदैन, एउटा व्यक्ति अप्ठ्यारोमा पर्दा सबैले सहयोग गर्नुनै सबैभन्दा ठुलो मानव धर्म भएको भन्दै बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा रहेको दोदोधरा स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीले आर्थिक संकलन गरि पीडित उपाध्याय परिवारलाई शुक्रबार हस्तान्तरण गरेका छ्न ।
स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यचौकी इन्चार्ज नृप बहादुर विष्टसहितका कर्मचारीले बोनम्यारो रोगबाट पीडित उपाध्यायको उपचारका लागि सहयोग पुर्याउन व्यक्तिगत हिसाबले सक्दो सहयोग गरेका हुन । संकलित ११ हजार रूपया शुक्रबार उपाध्यायको परिवारलाई हस्तान्तरण गरिएको जनाएको छ ।
बर्दगोरिया गाउँपालिकाको एम्बुलेन्स संचालक समेत रहेका उपाध्याय दिनरात बिरामीको सेवामा खटिदै आएका थिए भने कोरोना महामारीमा समेत अहोरात्र सेवामा तल्लीन थिए । उपाध्यायको बेलैमा आफ्नै स्वास्थ्य उपचार हुन नसक्दा अहिले ज्यानै जोखिमपूर्ण अवस्थामा छ ।
उपाध्यायको जीवन रक्षाका लागि यतिबेला गोकर्ण उपाध्याय बचाउ अभियान नै जारी छ। पीडित गोकर्णप्रसाद उपाध्यायको उपचारमा आर्थिक सहयोग गर्न चाहनेले उहाँको नाममा एनआईसी एसिया बैंक बौनिया शाखामा रहेको खाता नम्बर ९५५७०३६३७१८५२४०१ र लक्ष्मी बैंक खाता नम्बर ०७७२०००१५२२ मा रकम जम्मा गर्न सकिने परिवार स्रोतले जनाएको छ ।
अरुको स्वास्थ्यप्रति चिन्तित हुँदै बिरामीलाई विभिन्न अस्पतालमा कसरी छिटो पुर्याउन सकिएला भनि दिनहुँ कुदिरहने उपाध्याय आफ्नो उपचारको पर्खाइमा रहेकोे वर्षौँ दिन बितिसकेको छ । उपाध्यायको अहिले पनि आर्थिक अभावका कारण उहाँको उपचार हुन सकेको छैन । गएको साढे २ वर्ष देखि गाउँपालिकाको एम्बुलेन्स चलाएर जीविकोपार्जन गर्दै आएका उपाध्यायको बेलैमा उपचार हुन नसके ज्यानै जोखिमको अवस्थामा छ ।
उहाँको शरीरको हड्डीभित्रको भागमा बोनम्यारो उत्पादन हुन नसकी प्रत्यारोपण गर्नुपर्ने भएपछि आर्थिक समस्या आएको हो । उपचारमा चाहिने खर्चको जोहो गर्न नसक्दा आर्थिक अवस्था कमजोर भएका उपाध्याय परिवारलाई चिन्ताले सताइरहेको छ ।