बौनिया, कैलाली । कोरोना भाइरसको तेस्रो लहर फैलिहेका कारण कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं २ मा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र बर्दगोरिया धाममा माघि मेला तथा सांस्कृतिक कार्यक्रम स्थगित भएको छ ।
सरकारको निर्णयअनुसार जिल्ला कोभिड व्यवस्थापन समिति(डीसीएमसी) कैलालीको बैठकले भिडभाड हुने कुनैपनि कार्य नगर्न र नगराउन निर्देशन दिएपछि यही पुष २८ गतेदेखि माघ २ गतेसम्म संचालन हुने भनिएको कार्यक्रम स्थगित गरिएको आयोजक बर्दगोरिया विकास क्षेत्र तथा संरक्षण मञ्चले जनाएको छ ।
कोरोना भाइरस सङ्क्रमणको जोखिम दिन प्रतिदिन बढ्दै गइरहेको हुँदा नागरिकको स्वास्थ्यलाई ख्याल गरी जिल्लामा कुनैपनि भिडभाड जन्य क्रियाकलाप ,मेला महोत्सव गर्न नपाइने जिल्ला प्रशासन कार्यालयको निर्देशन अनुसार बर्दगोरियामा आयोजना हुने भनिएको मेला स्थगित गर्न इलाका प्रहरी कार्यालय बौनिया कैलालीले आयोजकलाई यसअगाडि नै ध्यानाकर्षण गराएको थियो ।
सरकारले कुनै किसिमका मेला तथा महोत्सव नगर्न तथा २५ जनाभन्दा बढी बेला नहुन आग्रह गरेपछि मेला स्थगित गरिएको आयोजकले जनाएको छ ।