सुजन प्रेमी
बागलुङ, ५ साउन २०७८ ।
बागलुङको कुश्मिसेरामा कुकुर आतंक बढ्न थालेको छ । जैमिनी नगरपालिकाको केन्द्र समेत रहेको कुश्मिसेरा बजारमा वेवारिसे कुकुरहरुको आतंक बढ्न थालेको हो ।
डुलुवा कुकुरहरुले बच्चाहरुलाई देखे झम्टिने र राति हिँड्दा कुकुरका कारण समस्या परेको स्थानीय त्रिविक्रम शर्माले जानकारी दिनुभयो । मोटरसाइकललाई देखे पनि कुकुरले झम्टिने गरेकाले दुर्घटनाको जोखिम निम्तिन सक्ने उहाँको भनाई छ ।
कुश्मिसेराको जिपपार्क, तल्लोबजार आइएमई टोल, उपल्लोबजारमा बढि कुकुरको विगविगी देखिएको छ । गुडिरहेको सवारी साधन झम्टिन जाने, किसानहरुले लगाएको बालिनाली माड्ने, खेतबारीमा गएर कुकुरहरु लड्ने हुँदा कृषकहरुले समेत कुकुरबाट हैरानी खेप्नुपरेको शर्माको गुनासो छ ।
कुकुरका कारण दुर्घटनाको जोखिम बढेको र रेविज रोग समेत फैलिने डर भएकाले कुकुरलाई नियन्त्रण गर्नुपर्ने बजारवासीहरुको माग छ ।
यस्तै बरेङ बजारमा पनि वेवारिसे कुकुरको संख्या बढ्न थालेपछि जोखिम बढेको छ । मोटरसाइकललाई झम्टिने र बिच बाटोमा कुद्ने गर्दा जोखिम बढेको बरेङ बासीहरुको गुनासो छ ।
गत असार ३१ गते साँझ ७ बजे बरेङ बजारमा गुडिरहेकाे माेटरसाइकललाई कुकुरले झम्टिँदा दुर्घटना भएकाे थियाे ।
घरपालुवा कुकुरलाई पनि संरक्षण गरेर नराख्दा थप समस्या निम्तिएको प्रहरीले जनाएको छ । कुनै कुकुरहरुले टोकिहाले रेविज विरुद्धको खोप लगाउन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् ।
बागलुङ, १ साउन २०७८ ।
बागलुङको राङ्खानीका कृषकहरुलाई भैँसी प्रवर्धन कार्यक्रम बापतको अनुदान रकम वितरण गरिएको छ । जैमिनी नगरपालिका १० राङ्खानी स्थित साना किसान कृषि सहकारी संस्थाको सहभागितामा सञ्चालित भैसी प्रवर्धन कार्यक्रम बापतको अनुदान रकम वितरण गरिएको हो ।
जैमिनी नगरपालिका पशु सेवा शाखाको आर्थिक बर्ष २०७७।७८ को शशर्त अनुदान कार्यक्रम अन्तरगत भैँसी प्रवर्धन कार्यक्रममा सहभागी भै उन्नत जातका राँगा तथा भैँसी खरिद गर्ने ५२ जना कृषकलाई अनुदान रकम प्रदान गरिएको संस्थाका प्रवन्धक जमुना थापा श्रीषले जानकारी दिनुभयो ।
भैँसी खरिद गरेका ५० जना कृषकहरुलार्य प्रति कृषक ३४ हजार १ सय ४० रुपैयाँका दरले जम्मा १७ लाख ७ हजार र राँगो खरिद गर्ने २ जना कृषकलाई प्रति कृषक ६५ हजार रुपैयाँका दरले १ लाख ३० हजार रुपैयाँ वितरण गरिएको संस्थाले जनाएको छ ।
एक कार्यक्रमका विच जम्मा १८ लाख ३७ हजार रुपैयाँ कृषकहरुलाई प्रदान गरिएको अध्यक्ष नर्वता श्रीषले जानकारी दिनुभयो । संस्थाले अवका दिनहरुमा दुध संकलन र विक्री गर्ने योजना बनाएको छ ।
सुजन प्रेमी
बागलुङ, २८ असार २०७८ ।
बागलुङको जैमिनी नगरपालिकाले बााँदर नियन्त्रणका लागि ५ लाख रुपैयाँ बजेट छुट्याएको छ । जैमिनी नगरपालिकाले आर्थिक बर्ष २०७८÷७९ का लागि बाँदर नियन्त्रण गर्न भन्दै ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको हो ।
कृषि र पशु सेवा कार्यक्रमको लागि १ करोड ३४ लाख रुपैयाँ छुट्याएको नगरपालिकाले ७५ लाख कृषि र ५९ लाख पशु कार्यक्रमको लागि विनियोजन भएको जैमिनी नगरपालिकाका नगर उप प्रमुख लिला रानाले जानकारी दिनुभयो । नगरपालिकाको प्रमुख आर्थिक उपार्जनको श्रोत मानिएको कृषिलाई प्राथमिकतामा राखेर नगरपालिकाले कृषि पशु प्रोफाइल तयार गर्नको लागि २ लाख रुपैयाँ छुट्याएको छ ।
चालु बर्षदेखि सुरु भएको नगर प्रमुख कृषि र पशु परियोजना प्रभावकारी भएकाले आगामी आर्थिक बर्षका लागि पनि निरन्तरता दिइएको जैमिनी नगरपालिकाका नगर प्रमुख ईन्द्रराज पौडेलले जानकारी दिनुभयो । नगरपालिकाले नगर प्रमुख कृषि परियोजना कार्यक्रमको लागि ६ लाख रुपैयाँ विनियोजन गरेको छ जसमा सोहि कार्यक्रमको फलोअप २ भन्दै अर्को २ लाख रुपैयाँ थप गरिएको छ । यो सँगै कृषि परियोजनाको लागि ८ लाख रुपैयाँ बजेट छुट्टिएको छ ।
यस्तै नगर प्रमुख पशु परियोजनाको लागि १८ लाख रुपैयाँ छुट्याइएको छ । यहि कार्यक्रमको फलोअप २ भन्दै दमेक र विनामारेका लागि थप ३ लाख विनियोजन भएको छ ।
जैमिनी नगरपालिकाले कृषि प्रयोगशाला र मोडेल फर्मको अवधारणा ल्याएर बजेट छुट्याएको छ । यसको लागि ३ लाख रुपैयाँ विनियोजन भएको जैमिनी नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले युवाहरुलाई कृषि कर्ममा आकर्षित गर्न व्यवसायिक स सामुहिक कृषिलाई प्राथमिकता दिएर कार्यक्रम ल्याएको छ ।
कार्यक्रमकाे प्रत्यक्ष प्रशारण हेर्नुहाेस् ।
सञ्चालनमा आयो माथिल्लो तामाकोशी: प्रधानमन्त्री ओलीद्वारा उद्घाटन, शेयर मुल्य बढ्न सक्ने
काठमाण्डाै, २२ असार २०७८ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको परियोजनाका रूपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको उद्घाटन गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित समारोहमा प्रधानमन्त्रीले विद्युतीय माध्यमबाट आयोजनाको उद्घाटन गर्नुभएको हो । कुल चार सय ५६ मेगावाट क्षमताको यस आयोजनाको पहिलो युनिट आजदेखि सञ्चालनमा आएको छ । आयोजना स्थल गोगर र प्रधानमन्त्री निवास बालुवाटारबीच श्रव्य दृश्यका माध्यमबाट जोडिएको छ ।
प्रधानमन्त्रीले श्रव्य दृश्यका माध्यमबाट ‘क्लिक’ गरेपछि आयोजनाको पहिलो युनिट सञ्चालनमा आएको छ । आयोजनामा ६ वटा युनिट छन् । नेपालको जलविद्युत् विकासको इतिहासमा नयाँ कोशेढुङ्गासमेत कायम भएको छ । स्वदेशी लगानीको अहिलेसम्मकै सबैभन्दा ठूलो आयोजना निर्माण सुरु भएको झन्डै ११ वर्षपछि सम्पन्न भएको हो । प्राकृतिक विपद् तथा अन्य कारणले गर्दा आयोजना ढिलाइ हुन पुगेको हो । आज एउटा युनिट सञ्चालनमा आएको छ भने अन्य पाँच वटा युनिट क्रमशः सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।
आयोजनाबाट उत्पादित विद्युत् गृह रहेको दोलखाको गोगरदेखि खिम्तीसम्मको कुल ४७ दशमलव २ किलोमिटर लामो दुई सय २० केभी क्षमताको प्रसारण लाइनमार्फत जोडिएको छ । आयोजनाले शनिवार मात्रै ढल्केबरदेखि न्यु खिम्ती सबस्टेशनबीचको लाइन चार्ज गरेको थियो ।
आयोजनाबाट उत्पादित बिजुली विद्युत् गृह रहेको गोगरबाट न्यु खिम्ती सबस्टेशन हुँदै ढल्केबर पुग्नेछ । ढल्केबर सबस्टेशनबाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन्छ । माथिल्लो तामाकोशीको विद्युत् गृहबाट आएको दुई सय २० केभी क्षमताको प्रसारण लाइनलाई न्यु खिम्तीमा रहेको सबस्टेशनमा जोडिएको छ ।
स्वदेशी लगानीको ठूलो आयोजना निर्माण सम्पन्न हुन लामो समय लाग्दा अनेकन आशङ्का उत्पन्न भएका थिए । सरकारले सबै खालका साधन र स्रोत उपलब्ध गराएको भए पनि प्राकृतिक विपत्ति, कोरोनालगायत कारण पछाडि धकेलिँदै आएको थियो । आयोजनाको उद्घाटन भएपछि स्वदेशी लगानीमा नै ठूला परियोजना निर्माण गर्न सकिन्छ भन्ने आत्मविश्वाससमेत उत्पन्न भएकाे छ । सुरुवाती लागत ३५ अर्ब रुपैयाँ रहेको भए पनि अमेरिकी डलरको मूल्यमा आएको उतारचढाव, ब्याजलगायतका कारण भने बढेर झन्डै ८० अर्ब रुपैयाँको हाराहारी पुगेको छ ।
डेरी पसलहरुको आलटालले जैमिनीका किसानले दूधको भुक्तानी पाएनन्, अघिल्लो वर्ष देखिको पैसा बाँकी
बागलुङ, २२ जेठ २०७८ ।
दूधको भुक्तानी रोकिएपछि बागलुङको बलेवा र कुश्मीशेरा क्षेत्रका किसान मर्कामा परेका छन् । बागलुङ नगरपालिकाको अमलाचौर, नारायणस्थान र जैमिनी नगरपालिकाको कुश्मीशेराका किसानले उत्पादन गर्ने दूधको भुक्तानी रोकिएको हो । कुश्मीशेराको टुनीबोट, खौर, किसेक, बागलुङ नगरपालिका–१२ अमलाचौरको टाकुरी, सरङ्गी गाउँका किसानले लामो समयदेखि दूध विक्रीबापतको भुक्तानी नपाएका हुन् ।
कुश्मीशेराको टार र बागलुङ नगरपालिका—१४ को नारायणस्थानका किसानको पनि समस्या उस्तै छ । मुख्य आयस्रोत दूधको भुक्तानी नै रोकिएपछि किसानहरु मर्कामा छन् । दूध उत्पादनकै लागि पालिएका गाई भैंसीलाई खुवाउने दाना चापट र घर खर्च चलाउन समेत कठिन भएको किसान प्रेम पौडेल बताउनुहुन्छ । यहाँ उत्पादन भएको दूध बागलुङ र पर्वतका विभिन्न दूध डेरीहरुले खरीद गर्छन् । बागलुङको दक्षिणमा रहेका चार वटा दुग्ध उत्पादक सहकारीको साझा बिक्री केन्द्र गठन गरेर सहकारीहरुले दूध बिक्री गर्छन् ।
कालीगण्डकी, पल्लोपाखा, नवनमूना र बलेवा नारायणस्थान दुग्ध उत्पादक सहकारी संस्थाको सहभागिता रहेको संयुक्त बिक्री केन्द्र छ । बिक्री केन्द्रमार्फत दूध खरीद गरेका कतिपय डेरी पसलहरुले अघिल्लो वर्षको असारदेखिको पैसा भुक्तान गरेका छैनन् । ‘‘हाम्रो दूध लिने बागलुङको न्यू लक्ष्मी डेरीले अघिल्लो असारपछिको पैसा दिएकै छैन, पटकपटक ताकेता गर्दा समेत पैसा नआएपछि हामी प्रक्रियामा जाँदैछाँैं,’ संयुक्त विक्री केन्द्रका अध्यक्ष लीलाधर पौडेलले भन्नुभयोे, ‘‘डेरीहरुले रकम रोकिदिँदा सहकारीले किसानलाई उपलब्ध गराउन सकेनन् ।’’
पौडेलका अनुसार कुश्माको शीतल डेरी, मोदीकाली डेरी, न्यू कालिगण्डकी डेरी र बागलुङको अभिशेक डेरीलगायतका संस्थाले किसानको रकम भुक्तानी नदिएका हुन् । ‘झण्डै रु २५ लाख उठ्न बाँकी छ, केहीको एक वर्ष पुग्यो, केहीले चार÷पाँच महिनादेखि रोकेका छन्,’ पौडेल भन्नुहुन्छ, ‘‘यता सहकारीहरुले आफ्नै स्रोतबाट पनि किसानको रकम भुक्तानी गर्न सक्ने अवस्था छैन ।’’ बिक्री भएको दूधकै पैसा नआएका कारण किसानलाई समयमा भुक्तानी दिन कठिन भएको कालीगण्डकी दुग्ध उत्पादक सहकारी संस्थाका सचिव रुद्रनाथ शर्माले बताउनुभयो ।
यहाँका डेरी पसलहरुले भुक्तानी समयमा नदिएपछि अहिले चार वटै सहकारीबाट उत्पादित दूध पोखराको लभकुश डेरीमा पठाउन थालिएको छ । चार वटा सहकारीले दैनिक एक हजार लिटर दूध उत्पादन गर्छन् । ‘‘पोखराको डेरीबाट हाम्रै दूध ल्याएर बेचेका छन् तर हाम्रो पुरानो पैसा दिँदैनन्’’, पौडेल भन्नुहुन्छ, ‘‘वैशाख यता पोखरा गएको दूधको भुक्तानी भने रोकिएको छैन ।’’
सहकारीहरुको संयुक्त बैठकले एकपटक आग्रह गर्ने र भुक्तानी नपाए कानुनी प्रक्रियामा जाने निर्णय गरेको अध्यक्ष पौडेलले सुनाउनुभयो । मुख्य याममा दूध ‘होलिडे’ गर्न लगाउने र बेमौसममा खरीद गर्ने गरेका डेरी पसलहरुले किसानको दूधको भुक्तानीमा भने आलटाल गर्दै आएका छन् । समयमा भुक्तानी नपाउँदा किसान भने पेशाप्रति नै निराश हुने गरेका छन् ।
बागलुङ, १३ जेठ २०७८ ।
कोरोनाको त्रासदी छ । महामारी गाउँ छिरेको छ । सङ्क्रमण रोक्न गरिएको निषेधाज्ञा जारी छ । किसानलाई भने पौरख नचलाई सुख छैन । घरमै बसेर हातमुख जोडिन्न । बर्खा शुरु हुँदैछ । खेतीपाती नगरी भएन । कोरोना छलेर कामधन्दा गर्नुछ ।
महामारीबीच रोपाइँको याम शुरु भएको छ । गलकोट लगायत जिल्लाका कतिपय भेगमा जेठ दोस्रो सातादेखि नै रोपाइँ हुन थाल्छ । एकातिर कोरोना सङ्क्रमणको जोखिम र भय, अर्कातिर रोपाइँको चटारो । महामारीबाट जोगिएर खेतीपाती लगाउनुको विकल्प किसानसँग छैन ।
किसानलाई खेतबारीमा काम गर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन स्थानीय तहहरुले आग्रह गरेका छन् । गलकोट नगरपालिकाले रोपाइँमा भौतिक दूरी कायम गर्न, कम मानिस मात्र भएर खेतीपाती गर्न, खाजाको प्रबन्ध घरबाटै गर्न तथा खेतमा आउने र घर फर्कने समयमा अनिवार्यरूपमा मास्क लगाउन भनेको छ ।
सार्वजनिक सूचना नै जारी गरेर त्यस्तो आग्रह गरिएको र त्यसको अनुगमन पनि हुने नगरपालिकाले जनाएको छ । गलकोटको मजुवा जिल्लामै धेरै धान फल्ने फाँट हो । सबैभन्दा पहिले त्यहीँबाट रोपाइँ शुरु हुन्छ । सिञ्चित र दुई बाली फल्ने खेतमा मध्य जेठबाटै रोपाइँ हुने गरेको छ ।
मजुवालगायत फाँट खोला आसपास भएको र बाह्रैमास सिँचाइ पुग्ने हुँदा रोपाइँलाई समस्या नपर्ने नगरपालिकाका कृषि शाखा प्रमुख हरिदत्त सुवेदी बताउनुहुन्छ । त्यहीँमाथि मनसुनले समेत साथ दिएमा रोपाइँ बेलैमा सकिन्छ । गलकोट क्षेत्र भएर बग्ने दरमखोला र गौँदी खोलाबाट आएका कुलाले त्यहाँको ठूलो उब्जाउ भूमिलाई सिञ्चित गर्छन् ।
छिटो रोपाइँ हुनेमा जिल्लाको गलकोट, कुश्मीसेरा, खरबाङ र बुर्तिबाङलगायतका क्षेत्र पर्छन् । रोपाइँ हुने मुख्य महिना असार भए पनि ती ठाउँमा पहिल्यै रोपाइँ शुरु भइसक्छ । मकै बाली हुने खेतमा भने किसानले मकै झिकेपछि असार अन्तिम र साउनसम्मै रोपाइँ गर्छन् । मनसुन जति छिटो सक्रिय हुन्छ उति नै छिटो रोपाइँ हुन्छ ।
जिल्लाको दक्षिण अमलाचौर, नारायणस्थान, बिहुँ, पाला, मालिका, बुर्तिबाङको उपल्लो भेगलगायतका ठाउँमा भने रोपाइँ ढिलो हुन्छ । कृषि ज्ञान केन्द्रकाअनुसार जिल्लामा छ हजारबढी हेक्टरमा धान खेती हुँदै आएको छ । प्रतिहेक्टर तीन मेट्रिक टन धान फल्छ । पछिल्लो समय उत्पादन बढाउन उन्नत र वर्णसङ्कर जातको धान खेतीतर्फ किसान आकर्षित छन् ।
केही स्थानीय जातका साथै उन्नततर्फ माछापुच्छ«े, छुन्दुङ, हिमाली, सावित्री, जेठो बुढो, सुक्खा १,२,३ सहित उन्नत जातको धान खेती हुँदै आएको छ । धानको उब्जनी बढाउन कृषि ज्ञान केन्द्रले बीज वृद्धिलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ । जिल्लाको २० प्रतिशत सिञ्चित क्षेत्रमा मात्रै धान खेती हुँदै आएको छ ।