‘साना औजारको प्रयोगमा वृद्धि भएसँगै कृषि कर्म सहज हुँदै गएको छ’ : कृषि प्राविधिक उपाध्याय
कोहलपुर। जनशक्ति, लागत र समय समेत कम लाग्ने भएपछि पछिल्लो समय देशमा साना कृषि औजारको प्रयोग बढ्दै गएको छ।
मानवीय श्रम साधन अभाव भइरहेको अवस्थामा साना कृषि औजारको प्रयोग गरेर खेती हुन थालेपछि यहाँका किसान आत्मनिर्भर हुन थालेका छन्। ‘पहिले पहिले परम्परागत तरिकाले खेती गर्थ्यौं, त्यसले जनशक्ति र लागत बढी लागेपनि उत्पादन कम हुन्थ्यो’ कृषि प्राविधिक कृष्ण प्रसाद उपाध्यायले भने, ‘अहिले साना कृषि औजारको प्रयोगले खेती गर्दैछौं। यसले कम लागतमा बढी उत्पादन हुने गरेको छ।’ साना कृषि औजारको प्रयोगमा वृद्धि भएसँगै कृषि कर्म पनि सहज हुँदै गएको उनको भनाइ छ।
थोरै लगानी गरेर यस्ता उपकरणको प्रयोग गर्न सहज भएपछि कृषि कार्यमा साना कृषि औजारको आकर्षण बढ्दै गएको बताउँदै उनले विगत लामो वर्षयता सानो हाते ट्रयाक्टर (पावर टेलर)को माध्यमले धान काट्दै आएको जानकारी दिए। केही समय अघि लाखौं खर्चिएर खरिद गरेको धान काट्ने औजारले कृषि कार्यको दैनिकीलाई निकै सहज गरिदिएको उनको भनाए छ। उनले भने, ‘कृषि औजारको प्रयोगले अहिले आफ्नो मात्र नभएर व्यावसायिक रुपमा छिमेकीका धेरै किसानलाई पनि धान काट्न सहज बनाइदिएको छ।’
उनका अनुुसार मिलेका खेतका गह्रामा यो औजारको प्रयोग गरेर एक घण्टामा कम्तीमा पनि पाँच कट्ठासम्म धान काट्न सकिनेछ। धान काट्न लगायतका कृषि कर्ममा चाहिने जनशक्ति अभाव भइरहेको बेला यस्ता उपकरणले कृषि कर्ममा नै ठूलो सहयोग पुगेको उनको भनाइ छ।
कृषि मजदुरको अभावमा कृषि कार्य गर्न निकै सकस झेल्दै आएका किसानका लागि अहिले यस्ता कृषि औजारले निकै राहत मिलेको छ। साना कृषि औजारको प्रयोग बढ्न थालेपछि कृषि मजदुरको विकल्प बन्दै गएको र यसले कृषि कार्यमा धेरै राहत प्रदान गरेको उनको बुझाइ छ।
कृषि मजदुरको अभावमा धान कसरी काट्ने भन्ने चिन्तालाई साना कृषि औजारले पूरा गरिदिएको उनको बुझाइ छ। पछिल्ला वर्ष किसान स्वयम् यस्ता कृषि उपकरणको प्रयोगमा आकर्षित हुँदै गएका छन् भने सरकारी निकायले समेत कृषि उपकरणको प्रयोगमा प्रोत्साहन गरिआएका कारण पनि अहिले कृषि कर्ममा यस्ता उपकरणको प्रयोग ह्वात्तै बढ्दै गएको प्राविधिक उपाध्याय बताउँछन्। किसानले विशेषगरी जमिन जोत्न, धान रोप्न, काट्नलगायत काममा यस्ता कृषि औजारको प्रयोगलाई महत्व दिँदै आएका छन्।
साना कृषि औजारको प्रयोगले कृषि क्षेत्रमा केही सहजता ल्याइदिएको भए पनि सरकारको झन्झटिलो कृषि नीतिका कारण यस्ता कृषि औजारको खरिद तथा प्रयोगमा केही जटिलता रहेको विगत लामो समयदेखि ट्र्याक्टरको प्रयोगबाट खेती किसानी गर्दै आएका कृषक हरुले स्थानीय तहबाट अनुदान लिन सकेका छैनन्। कृषि क्षेत्रमा कृषि औजारको प्रयोगले सहजता ल्याइदिएको भए पनि औजारमा प्रयोग हुने इन्धन तथा पाटपूर्जा खरिदमा निकै महँगो मूल्य तिर्नुपर्ने बाध्यताका कारण किसानका लागि यन्त्रको प्रयोग पनि निकै महँगो हुँदै गएको उनको भनाइ छ।
‘धान, गहुँ लगायतका बाली भित्राउँदा विगतमा जनशक्ति परिचालन गरी बाली भित्र्याउनुपर्थ्यो। चुट्न गोरुको सहायताले दाइँ हाल्नु पर्ने हुन्थ्यो, खेतबाट खलियानमा ल्याउन र खलियानमा ल्याएको बाली घरमा भित्र्याउनका लागि एक महिना कुर्नुपर्थ्यो’, उनले भने, ‘खेतमै पावरटेलर, ट्रयाक्टरमा ट्राली जोडेर खलियानसम्म बाली ल्याउन सजिलो भएको छ।’ यन्त्रमा रिपर जडान गरेर धान गहुँ दाउन थ्रेसरको सहायताले छिटो काम हुन थालेको उनको भनाइ छ।
‘विगतका समयमा कृषि कार्य गर्दा खेतलाको सहयोग लिदा धेरै खर्च हुन्थ्यो, अहिले कम खर्चमा काम हुने गरेको छ’, उनले भने, ‘पछिल्लो समयमा खेतला पनि नपाइने भएकाले यन्त्रको प्रयोग गरेर खेती गर्दा कम लागतमा कृषिको उत्पादन लिन सकिने भएको छ।’ राज्यले कृषि कर्ममा व्यावसायिकतर्फ प्रोत्साहन दिने हो भने किसान लक्षित दीर्घकालीन टेवा पुग्ने नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा उनको जोड छ।
दशैको मुखमा कैलालीमा किसानलाई धान भित्राउन चटारो
बौनिया, कैलाली । हिन्दु नेपालीहरुको महान पर्व दसैंको मुखमा कैलालीका किसानहरुलाई भने धान काट्ने चटारो भएको छ । दशै आउन दुईदिन मात्रै बाकी रहदा पनि जिल्लाभर जताततै किसानहरु दशैंको रमझममा भन्दा धान काट्न व्यस्त देखिएका छन् ।
योवर्ष धान काट्ने चटारोले गर्दा यहाँका किसानहरुले यो वर्षको दसैं त रमाईलोमा भन्दा बाली भित्राउन नै ब्यस्त हुने बताउछ्न । समयमै पर्याप्त पानी पर्दा रोपाइँ छिटै भएका कारणले पनि यस बर्ष दसैंको मुखमा धान काट्न बाध्य हुनु परेको स्थानीय किसान बताउछ्न । एकातिर बर्ष दिन भरीमा रमाउने चाड अनी अर्कोतिर बर्ष दिनै खानु पर्ने बाली संगै भित्राउनु पर्दा चाडपर्वको भने त्यती उत्साहा नभएको किसान बताउछ्न ।
दसैंको मुखमै धान काट्ने चटारो पर्दा धान काट्ने मजदुर पनि पाउन मुस्किल छ ।
बीउ प्रयोजनका लागि असल महिला कृषि सहकारी संस्थाले उत्पादन गरेको धानको अनुगमन
पदम ओझा बौनिया । असल महिला कृषि सहकारी संस्थाले उत्पादन गरेको धानको बिउको बुधबार अनुगमन गरिएको छ । गुड नेभर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोग रहेको बीउ उत्पादन कार्यको आयोजना सेवक नेपालले गरेको हो ।
बुधबार गाउपलिका उपाध्यक्ष भगवती डगौरा थारु, वडा नम्बर २ का अध्यक्ष तथा कृषि बिकास समिती संयोजक भेखु चौधरी, कृषी बिकास अधिकृत झन्कर रावत, सेवक नेपालका प्राबिधिक विष्णु चौधरी,पन्चशक्ती सिड कम्पनिका दिलिप चौधरी,सहकारी शाखा प्रमुख सिताराम चौधरी लगाएतकाले अनुगमन गरेका हुन । असल महिला कृषि सहकारिले आफ्ना सेयर सदस्यहरुलाई पन्चसक्ती सिड कम्पनी बाट खरिद गरेर बीउ बितरण गरेको थियो ।
बर्दगोरिया गाउपालिकाको वडा नम्बर ४,५ र ६ गरेर ७० बिगाहामा सर्जु बाउन्न धानको बीउ उत्पादन गरिएको छ । सहकारिको व्यवसायी र घुम्तिकोष संचालन गरि उक्त असल महिला कृषि सहकारिले पन्चसक्ती सिड कम्पनी प्रा लि बाट धानको बीउ खरिद गरि आफ्ना शेयर सदस्यलाई बितरण गरेको प्राबिधिक बिस्णु चौधरिले जानकारी दिनुभयो ।
१ बिगाहामा ४० क्विन्टल धानको बीउ उत्पादन हुने अनुमानले ७० बिगाहामा २८० क्विन्टल धानको बीउ उत्पादन हुने असल महिला कृषि सहकारीका व्यवस्थापक रमिनी चौधरिले जानकारी दिनु भयो । उत्पादन भएको बीउ असल महिला कृषि सहकारिले पन्चशक्ती सिड कम्पनिलाई बजार मूल्य भन्दा १५ प्रतिशत बढी मुल्यमा बिक्री गरिने चौधरिले जानकारी दिनुभयो ।
बजार मूल्य भन्दा १५ प्रतिशत बढी मुल्यमा बिक्री गरेमा ३ प्रतिशत सहकारि र १२ प्रतिशत कम्पनिलाई आम्दानी हुने भएको हो । यसै गरि असल महिला कृषि सहकारी मार्फत ६० बिगाह जमिनमा गहुको बीउ पनि उत्पादन गरिने पन्चशक्ती सिड कम्पनीका प्राविधिक दिलिप चौधरिले जनकारी दिए ।
अनुगमन गर्दै गाउपालिका उपाध्यक्ष भगवती डगौरा थारुले धानको बीउ राम्रो उत्पान भएको बताउनु भयो । उहाले सहकारीले आफ्ना सेयर सदस्यलाई दिएको बिउले राम्रो उत्पादन गरेको बताउदै सहयोग गर्ने सबै संघ/संस्थालाई धन्यवाद ब्यक्त गर्नुभयो ।
सरकारले तोक्यो धानको समर्थन मूल्य,क्वीन्टलको कति ?
काठमाडौँ । सरकारले धानको समर्थन मूल्य तोकेको छ । गत भदौ २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले समर्थन मूल्य तोकेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार चालु आर्थिक वर्षका लागि मोटा धानको प्रतिक्विन्टल मूल्य रु २ हजार ७५२ र मध्यम किसिमको धानको मूल्य रु २ हजार ९०२ तोकिएको हो ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाश सञ्जेलका अनुसार गत वर्षको तुलनामा यस वर्ष प्रतिक्विन्टल रु १७ ले बढी हो । गत वर्ष असारे धान लगाउनुपूर्व नै सरकारले धानको सर्मथन मूल्य तोकेको थियो । गत वर्ष मोटा धान प्रतिक्विन्टल रु दुई हजार ७३५ र मध्यम धानको मूल्य रु दुई हजार ८८५ तोकिएको थियो ।
समयमा नै मूल्य नतोक्दा व्यवसायीले मनोमानी मूल्यमा धान खरिद गर्ने भन्दै सरकारले प्रत्येक वर्ष मोटा र मध्यम किसिमका धानको न्यूनतम समर्थन मूल्य तोक्दै आएको छ ।
बिनामारेको एक कृषि तथा पशुपंक्षी फार्मको प्रारम्भिक साधारणसभा सम्पन्न, अध्यक्षमा पौडेल
बागलुङ, ३ असोज २०७८ ।
बिनामारेको एक कृषि तथा पशुपंक्षी फार्मको प्रारम्भिक साधारणसभा सम्पन्न भएको छ । शनिबार बागलुङको जैमिनी नगरपालिका ५ बिनामारे स्थित श्री कृष्ण गण्डकी कृषि तथा पशुपंक्षी फार्मको प्रारम्भिक साधारणसभा सम्पन्न भएको हो ।
जैमिनी नगरपालिकाका नगर प्रमुख ईन्द्रराज पौडेलको उपस्थितिमा भएको साधारण सभामा कृषकहरुले दुध ढुवानी र विक्रिका लागि नगरपालिकाले सहजिकरण गरिदिनुपर्ने माग गरेका छन् ।
जैमिनीलाई दुध, मासु र अण्डामा आत्मनिर्भर बनाउन लागि परेको भन्दै कृषकहरुले नगरपालिकाका बिभिन्न ठाउँमा उत्पादन भएका दुध भण्डारणको लागि कम्तिमा २ हजार लिटरको चिलिमभ्याटको व्यवस्था गरिदिनु नगरपालिकालाई आग्रह गरेका छन् ।
प्ररम्भिक साधारणसभाले दिपक पौडेलको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । जसमा भवानी पाण्डे उपाध्यक्ष, टङ्कनाथ शर्मा सचिव, बिष्णु शर्मा सहसचिव र उमा शर्मा चालिसे कोषाध्यक्ष रहनुभएको छ ।
यस्तै सदस्यहरुमा तेजेन्द्र केसी, नारायण शर्मा, सोमनाथ शर्मा, शिवहरी पाध्या, कृष्ण बहादुर हमाल, रमा देवि शर्मा, कुमारी रोका क्षेत्री र
भवानी प्रसाद शर्मा रहनुभएको छ ।
यता बिक्रम पौडेल संयोजक रहनुभएको ३ सदस्यीय लेखा समिति र तीन सदस्यीय सल्लाहकार समिति पनि गठन भएको छ । लेखा समितिका सदस्यहरुमा गोबिन्द पौडेल र राम पौडेल रहनुभएको छ भने सल्लाहकार समितिमा टङ्क केसी, जैमिनी नगरपालिकाका पशु शाखा अधिकृत द्वय कृष्ण ढकाल र नेत्र आचार्य रहनुभएको छ ।
जैमिनीको प्रगति समिक्षा कार्यक्रम सम्पन्न, ९६ प्रतिशत भौतिक र ९१ प्रतिशत आर्थिक प्रगति
सुजन प्रेमी
बागलुङ, २८ भदौ २०७८ ।
जैमिनी नगरपालिकाले आर्थिक बर्ष २०७७।७८ को बार्षिक प्रगति समिक्षा कार्यक्रम गरेको छ । सोमबार जैमिनी नगरपालिकाको सभाहल कुश्मिसेरामा नगरपालिकाका सम्पूर्ण गतिविधिहरुको बार्षिक प्रगति समिक्षा गरिएको हो ।
११ वटा विषयगत शाखाका अधिकृत तथा संयोजकहरुले पेश गरेको प्रतिवेदन अनुसार जैमिनीमा भएका काम कारवाहीहरु सन्तोषजनक देखिएको छ । शिक्षा, स्वास्थ्य, आर्युवेद, कृषि, पशु, पञ्जिकरण, विपद् तथा सामाजिक विकास, योजना, प्रशासन तथा लेखा, प्रधानमन्त्री रोजगार लगाएतको प्रतिवेदन प्रस्तुत भएकोमा सहभागिहरुले योजना कार्यन्वयन र अनुगमनमा प्रभावकारिता नभएको सुझाव दिएका थिए ।
जैमिनी नगरपालिकाको शिक्षा शाखाले ७१ दशमलव १४ प्रतिशत प्रगति गरेको देखिएको छ जसमा दिवा खाजा कार्यक्रम तथा शैक्षिक सामग्रीको व्यवस्था हुनुले अपेक्षित उपलब्धि पाइएको छ । संघ र प्रदेशको कानुनका कारण कतिपय कामहरु अश्पष्टता हुँदा प्रभावकारी कार्य प्रगति गर्न नसकिएको जैमिनी नगरपालिकाका शिक्षा उप सचिव खेम प्रसाद आचार्यले बताउनुभयो ।
नगरपालिकाका ४ सय ६० वटा योजनामध्ये ३ सय ५३ वटा योजना तथा कार्यक्रमको शत प्रतिशत काम भएको छ भने ३३ वटा योजना तथा कार्यक्रम कार्यन्वयन हुन नसकेको पाइएको छ । जैमिनी नगरपालिकाले आर्थिक बर्ष २०७७।७८ मा ९६ प्रतिशत भौतिक प्रगति र ९१ प्रतिशत वित्तिय प्रगति गरेको योजना अधिकृत पे्रम प्रसाद सापकोटाले जानकारी दिनुभयो । जैमिनी नगरपालिकामा सञ्चित कोषको आम्दानी र खर्चको आधारमा चालु तथा पुजिगत खर्च मध्ये कुल ८३ प्रतिशत खर्च भएको छ ।
नगरपालिकामा बर्खाका कारण बिशेषगरी बाटोघाटोमा बढि क्षति हुने गरेको ईन्जिजियर विवेक सापकोटाले बताउनुभयो । नगरपालिकाका अधिकांश ठाउँमा कच्चि बाटो भएको र बर्षातमा बाढी पहिरो आउँदा प्राविधिकहरुको कार्यभार बढेको उहाँको भनाई छ । गत आर्थिक वर्षमा २३ किलोमिटर नयाँ सडक निर्माण भएको छ । ९ सय ४७ मिटर पक्की नालि निर्माण भएको र १ हजार २०० मिटर कालोपत्रे गरिएको सापकोटाले बताउनुभयो ।
नगरपालिकाले गर्ने खर्च देखिने गरी बाटोमा लगानी गरिएको भएपनि अपेक्षित उपलब्धी कम भएको देखिएको छ । यसको मुख्य कारण बर्षातको भेलबाढी सहित संरक्षणको अभाव पनि रहेको छ ।
साना र फुटकर योजनाले कार्यभार र व्ययभार बढेको तर उपलब्धी कम देखिने गरेको लेखा अधिकृत सुर्य बहादुर विकको भनाई रहेको छ । कार्यक्रममा आम्दानी तथा खर्चको विवरण, शिर्षक, श्रोत तथा कार्यन्वयनको बारेमा जानकारी दिदै उहाँले नीति र विधिलाई अक्षरत कार्यन्वयन गर्न चुनौती भएको बताउनुभयो ।
नगरपालिकाले कृषि तथा पशु कार्यक्रममा पनि उपलब्धि हासिल गरेको छ । तर यो अझै अपेक्षाकृत नभएको र कृषि तथा पशु पालनमा नागरिकहरुको आकर्षण बढाउनुपर्ने पशु शाखा अधिकृत कृष्ण प्रसाद ढकालले धारणा राख्नुभयो ।
प्रधानमन्त्री रोजगार कार्यक्रमले आर्थिक बर्ष २०७७र७८ मा जैमिनी नगरपालिका भरीका २ हजार ५ सय ५० जना सुचिकृत मध्ये ३ सय ९६ जनालाई रोजगार दिएको छ । रोजगार पाएका ३ सय ९६ जनाले २४ वटा योजनामा २४ हजार ३ सय १४ दिन बराबरको काम गरेका छन् । जस बापत १ करोड २५ लाख ७० हजार ३ सय ३८ रूपैयाँ भुक्तानी भएको रोजगार संयोजक सुरेश पुनले बताउनुभयो ।
न्युनतम रोजगारीको राज्यले ग्यारेन्टी गरेपनि कार्यक्रम कार्यन्वयनमा भने चुनौति देखिएको छ । जैमिनी नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट आएको कुल बजेटको आधा भन्दा बढि रकम फिर्ता गएको छ । विधि र पद्धति अनुसार काम गर्न चुनौति देखिएको यस कार्यक्रमको प्रमुख समस्या पारिश्रमिक कम हुनु र श्रमिकहरुको वर्गिकरण नहुनु रहेको रोजगार संयोजक पुनको भनाई छ ।
नगरपालिकाको बार्षिक प्रगति समिक्षा कार्यक्रममा उठेका जिज्ञासा सहितलाई सम्बोधन गर्दै नगर प्रमुख ईन्द्रराज पौडेलले जैमिनीलाई समृद्ध बनाउन आफु बाट नै सुरुवात गर्नुपर्ने बताउनुभयो । आफ्नो दायित्व सम्झेर सबैले काम गरे नगरपालिकाको काम प्रभावकारी हुने भन्दै उहाँले सबैले मिलेर काम गर्न अनुरोध गर्नुभयो ।
रोल्पा, ६ भदौ २०७८ ।
रोल्पाका विभिन्न गाउँमा बाँदरले आतङ्क मच्चाएको छ । जिल्लाका पश्चिम भेगस्थित माडी, गङ्गादेव र परिवर्तन गाउँपालिकामा बाँदरले आतङ्क मच्चाएको स्थानीवासीले बताएका छन् । बाँदरका कारण स्थानीयवासी निकै आतङ्कित बनेको परिवर्तत गाउँपालिका–६ ओहका मान्धोज पुन मगरले बताउनुभयो ।
यहाँका खेतबारीमा लगाएको मकै र फलफूल बाँदरले खाएपछि किसान चिन्तित बनेको उहाँको भनाइ छ । छ महिनासम्म दुःख गरेर लगाएको बाली बाँदरले गाउँमै पसेर नोक्सानी गरिदिएको पुन मगरले जानकारी दिनुभयो । “घोगा लागेका मकै र फलफूल बाँदरले चिथोरेर सखाप बनाइदिएको छ”, उहाँले भन्नुभयो । बाँदरले बिरुवादेखि बोट हुँदै अहिले घोगा लागेका मकै पनि खाइदिएको उहाँको भनाइ छ ।
बाँदरको आतङ्ककै कारण स्थानीय बासिन्दा बसाइँ सर्न बाध्य छन् । खेतमा लगाएको बालीनाली र रुखका फलफूल मात्रै होइन, पकाएको खाना र बजारबाट किनेर ल्याएका सामानसमेत बाँदरले लग्ने गर्दा स्थानीयवासी आतङ्कित बनेका हुन् । बाँदरले स्थानीय बासिन्दालाई सहनै नसकिने गरी दुःख दिन थालेपछि बसाइँ सर्ने अवस्था आएको स्थानीयवासी मनु बुढामगरको भनाइ छ । “साँझ घर आयो फेरि बिहानै उठेर बाँदर धपाउन खेतबारी पुग्नुपर्छ”, उहाँले भन्नुभयो, “हिउँदका समयमा सिँचाइको सुविधा छैन, उत्पादन पनि हुँदैन, वर्षे बालीको आशा हुन्छ तर बाँदर आएर त्यो पनि खाएर नष्ट गरिदिन्छन् ।”
पहिले पहिले पनि बाँदर आउने गरेको थियो तर अहिलेको जस्तो धेरै दुःख दिने गरेको थिएन ज्येष्ठ नागरिक माकु चन्द्रकाले बताउनुभयो । “म बुढो मान्छे, बिहानै खेतमा जान्छु, बाँदर धपाएर बस्छु”, उहाँले भन्नुभयो । अहिले गाउँमै बाँदर पस्न थालेर हैरानै पारेकोे उहाँको गुनासो छ । परिवर्तन गाउँपालिका–६ ओह गाउँमा रहेको भिरखामे पहरामा धेरै वर्षात् भएपछि बाँदर बास बस्नका लागि उक्त भिरमा आउने गरेको स्थानीयवासीको भनाइ छ ।
त्यस्तै बाँदरले परिर्वतन गाउँपालकाको ओह, हाकलङ, नाफे, थानकोट, झेङ्जा, माडी गाउँपालिकाको खनाबाङ, धनथाना, तथा गङ्गादेव गाउँपालिकाको भिरखोला, झाझर खोलालगायतका विभिन्नि ठाउँमा सताउने र क्षति गर्ने गरेका छन् । बाँदरका कारण जङ्गल नजिकै भएका धैरै जमिन बाँझो हुने गरेका छन् । जसले गर्दा धेरै दुःख गरेर लगाएको बाली एकैपटक आएर नोक्सान गरिदिने बाध्यताले कोही शहरमा त कोही भारतमा गएको स्थानीयवासीको भनाइ छ ।
लक्ष्मीप्रसाद सापकोटा
पर्वत, ३० साउन २०७८ ।
पर्वत जिल्लाको महाशिला गाउँपालिका–६ फलामखानीमा चिया उत्पादन शुरु भएको छ । धौलागिरि अञ्चलमा नै पहिलोपटक शुरु गरिएको व्यावसायिक चियाखेतीबाट तयारी चिया उत्पादन गर्न थालिएको हो । संरक्षणको अभावमा झण्डै एक दशकअघि लगाइएको चियाखेती अलपत्र परेको बेला महाशिला गाउँपालिकाले चियाखेती संरक्षण तथा विस्तार गर्न थालेको हो । यस वर्ष साउन महिना लागेपछि मात्रै टिपेकाले झण्डै १० किलोग्राम अर्गानिक चिया उत्पादन गर्न सकिएको फलामखानीका वडाध्यक्ष रामबहादुर सुनारले जानकारी दिनुभयो ।
इलाममा चियाको क्षेत्रमा कार्यरत नरेन्द्र सुवेदीको पहलमा यस वर्षदेखि प्रशोधन गर्न थालिएको हो । “वैशाखबाटै टिप्न शुरु गरेको भए ५० किलोग्रामभन्दा बढी उत्पादन हुने रहेछ”, वडाध्यक्ष सुनारले भन्नुभयो, “ढिलो गरी टिपेका कारण पाँच÷सात किलोभन्दा उत्पादन गर्न सकेनौँ ।” विसं २०६७ मा तत्कालीन जिल्ला विकास समिति पर्वतको सहयोगमा शुरु गरिएको चियाखेती लामो समय संरक्षणको अभावमा गौचरणमा परिणत भएको थियो । उचित संरक्षण र रेखदेखको अभाबमा चियाखेती फस्टाउन सकेको थिएन । दुई वर्षअघिदेखि गाउँपालिकाको पहलमा गोडमेल तथा संरक्षण गर्न थालेपछि यस वर्षदेखि उत्पादन दिन शुरु गरेको सुनारले बताउनुभयो ।
साविक फलामखानी गाविसको वडा नं ४, ५, ७, ८ र ९ का दलित समुदायको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले चियाखेती शुरु गरिएको थियो । इलामको जस्तै हावापानी भएकाले यहाँ चिया खेतीको सम्भावना रहेको छ । इलाम जिल्लाको जस्तै व्यावसायिक चियाखेती विस्तार गर्ने उद्देश्यले योजना शुरु गरे पनि स्थानीयले भने कुनै चासो नदेखाएपछि समस्या भएको थियो ।
“दलित समुदायको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले चियाखेती शुरु गरिएको हो”, महाशिला गाउँपालिकाका अध्यक्ष राजु पौडेलले भन्नुभयो, “स्थानीयवासीको बेवास्ताका कारण सोचेअनुसार फाइदा लिन सकिएको थिएन अब गाउँपालिकाले यसको संरक्षण र विस्तार गर्छ ।” एक हजार ८०० मिटरको उचाइमा रहेको साविक फलामखानी गाविसलाई चिया खेतीको पकेट क्षेत्र बनाउने गरी तत्कालीन समयमा २० हजार चियाका विरुवा रोपिएको थियो । नगदेबालीको रुपमा चिया खेतीलाई प्रवद्र्धन गर्नकै लागि पहिलो चरणमा तत्कालीन जिविस पर्वतले झण्डै ६० रोपनी क्षेत्रफलमा चियाखेतीको शुरुआत् गरेको थियो । साविक गाविसको ४ र ५ वडामा लगाएका विरुवा स्थानीयले संरक्षण नगर्दा नष्ट भए पनि वडा नं ७, ८ र ९ मा भने बिरुवा जीवितै रहेका थिए ।
फलामखानीका वडाध्यक्ष सुनारले अहिले पुराना बोट पनि राम्रो हुँदै गएको र उत्पादित चिया एकदमै स्वादिलो पाइएको बताउनुभयो । अहिले स्थानीय समुदायसमेत चिया खेतीतर्फ आकर्षित हुन थालेका छन् । यस वर्ष थप १२ हजार बिरुवा रोप्न थालिएको छ । यस वर्ष स्थानीयवासीलाई चिया उत्पादन तथा प्रशोधनसम्बन्धी तीनदिने तालिमसमेत प्रदान गरिएको छ । अब समूह बनाएर यसको विस्तारमा लाग्ने बताइएको छ । महाशिला गाउँपालिकाले विगत तीन वर्षदेखि बर्सेनि यसको विकासका लागि रकम विनियोजन गर्दै आएको छ । यस वर्ष पनि रु तीन लाख विनियोजन भएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँ कार्यपालिकाको बैठकले नै चियाखेतीको लागि आवश्यक यन्त्र उपकरण खरिद गर्ने, उत्पादित चिया प्रयोगशालामा परीक्षणका लागि पठाउने निर्णयसमेत गरेको छ ।
पहिलोपटक उत्पादन गरिएको अर्गानिक चिया निकै गुणस्तरको पाएको र अब परीक्षण र थप क्षेत्रमा व्यावसायिक विकासको लागि गाउँपालिकाले योजना निर्माण गरी कार्य अगाडि बढाउने गाउँपालिकाका प्रवक्ता जीवन उच्चै ठकुरीले बताउनुभयो । फलामखानीमा चियाको व्यावसायिक विकास गर्दै लैजाने गाउँपालिकाको नीति तथा कार्यक्रमसमेत रहेको उहाँको भनाइ रहेको छ ।
अर्जेवाका कृषकहरुलाई बिउ बिजन र औषधि वितरण
बिमल पौडेल
बागलुङ, २१ साउन २०७८ ।
बागलुङको जैमिनी नगरपालिका वडा नं ६ अर्जेवाले वडा भित्रका कृषकहरुलाई बिउ बिजन वितरण गरेको छ । वडा भित्रका ४ सय ८५ घरपरिवारका कृषकहरुलाई सिजन अनुसारको बिउ बिजन वितरण गरिएको हो ।
वडा कार्यालयबाट ५० हजार रुपैया बजेट विनियोजन गरी बिउ बिजन खरिद गरेर वितरण गरिएको वडाध्यक्ष कृष्ण बहादुर थापाले जानकारी दिनुभयो । वडाको तर्फबाट ५० हजार रकम बराबरको पशुचौपायको लागि आवश्यक औषधिहरु पनि खरिद गरिएको र किसानहरुलाई आवश्यकताको आधारमा वितरण गरिरहेको थापाले बताउनुभयो ।
सुजन प्रेमी
बागलुङ, ९ साउन २०७८ ।
गाउँमा बाँदर आतंक बढ्न थालेपछि सर्कुवाका कृषकहरु चिन्तित बनेका छन् । खाद्यबाली भित्राउने बेलामा बाँदरले मासिदिएपछि बागलुङको जैमिनी नगरपालिका ४ सर्कुवाका किसानहरु चिन्तित बनेका हुन् ।
मुखमा आएको बाली बाँदरको बथान आएर खाइदिने गरेको तल्लो सर्कुवाका किसान यमन पौडेलले जानकारी दिनुभयो । “बाँदरले खेतिबाली मात्रै होइन बाल बालिकाहरुलाई समेत झम्टिने गरेको छ, एक्लै मान्छे देखे भाग्दैन उल्टै जिस्काउँछ” जिल्लाखबर डटकमसँग उहाँले भन्नुभयो “खेतिबाली लगाएपनि बाँदरलाई ठिक्क हुन्छ, बाँदरकै कारण खेतबारी बाँझै छोड्ने अवस्था आयो ।”
बाँदरको एक सय भन्दा बढिको बथान आएर घर गोठको छाना र कोठामा जाने गरेको उहाँको भनाई छ । बाँदरकै कारण कतिपय मानिसहरु गाउँको जग्गा बाँझै छोडेर तराई झरेको उहाँले बताउनुभयो ।
बाँदरको बथान बढ्दै जाँदा भोलिका दिनमा समेत ठुलो समस्या आउन सक्ने भन्दै उहाँले सम्बन्धित निकायले यसको रोकथाम र नियन्त्रणमा ध्यान दिनुपर्ने माग गर्नुभएको छ ।
यता जैमिनी नगरपालिकाले बर्सेनी बाँदर नियन्त्रण भन्दै बजेट विनियोजन गर्ने गरेको छ । तर प्रभावकारी भने बन्न सकेको छैन । चालु आर्थिक बर्षका लागि पनि नगरपालिकाले बाँदर नियन्त्रणका लागि भन्दै ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
बाँदर आतंक समग्र नगरपालिका कै मुख्य समस्या भएको जैमिनी नगरपालिकाका नगर प्रमुख ईन्द्रराज पौडेलले बताउनुभयो । जैमिनीले मात्रै नियन्त्रण गर्न खोजेर सम्भव नहुने भन्दै उहाँले छिमेकी पालिकाहरुमा पनि समन्वय गरिने बताउनुभयो ।