बरेङ गाउँपालिकाले अनावश्यक खर्च कटाैती गर्ने, भत्ता, खाना र खाजामा पनि मितव्यायी
सुजन प्रेमी
बागलुङ, ६ असार २९७८ ।
बागलुङकाे बरेङ गाउँपालिकाले अनावश्यक खर्च कटाैती गर्ने भएकाे छ । गाउँपालिकाले शनिवार ल्याएकाे बार्षिक बजेटमा अनावश्यक खर्च कटाैती गर्ने उल्लेख गरेकाे हाे ।
बार्षिक बजेट तथा कार्यक्रमकाे ५६ औँ बुँदा नम्बरमा अनावश्यक खर्च कटाैती गर्ने उल्लेख भएकाे छ । गाउँपालिकाले भत्ता, खाना र खाजामा पनि मितव्यायी अपनाउने बताएकाे छ । सुशासन तथा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन र अनावश्यक हुने खर्चलाई कम गर्न गाउँपालिकाले यस्ताे नीति लिएको बरेङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रम्श थापाले जानकारी दिनुभयो ।
सार्वजनिक खर्चलाई मितव्ययी बनाउन गाउँपालिकाले अत्यावश्यक बाहेकका तालिम तथा गोष्टिमा वितरण हुने भत्ता र खाना खाजालाई पनि निरुत्साहित गरेको छ ।
अनावश्यक खर्चलाई कटौती गर्दै गाउँपालिकाले उत्पादन र परिणाममूखि योजनाहरुलाई प्राथमिकता दिको गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले बताउनुभयो ।
अनावश्यक हुने खर्चलाई बचाउन सके थोरै भएपनि देखिने काम गर्न सकिने उपाध्यक्ष दिल कुमारी पुनको विश्वास छ ।
बागलुङका १० वटा स्थानीय तहमध्ये सबैभन्दा पहिला नीति तथा कायृक्रम प्रस्तुत गरेको बरेङले उत्कृष्ट कार्यक्रम बनाएको भन्दै अन्य पालिकाहरुबाट पनि प्रसंशा गरिएको छ ।
यस्ताे छ उल्लेखित बुँदा
Breaking News: बरेङले राष्ट्रसेवककाे तलवमा मासिक २ हजार थपिदिने, सहयाेगीकाे १५ हजार
बागलुङ, ५ असार २०७८ ।
बागलुङकाे बरेङ गाउँपालिकाले राष्ट्रसेवक कर्मचारीकाे तलवमा मासिक २ हजार थपिदिने भएकाे छ । शनिवार प्रस्तुत बजेट बक्तव्यमा राष्ट्रसेवक कर्मचारीकाे तलवमा मासिक २ हजार थपिदिने उल्लेख गरिएकाे हाे ।
गाउँपालिकाका प्रवक्ता नर बहादुर बिकले आय व्यय प्रस्तुत गर्दै कृषि, स्वास्थ्य तथा वडा कार्यलयमा कार्यरत कर्मचारीहरूकाे तलव संघिय सरकारले घाेषणा गरे अनुसार १५ हजार रूपैयाँ उपलब्ध गराउने बताउनुभएकाे छ ।
याे निर्णय २०७८ साल साउन १ गतेदेखि लागु हुनेछ ।
काठमाडौँ, ३ असार २०७८ ।
विश्व बैंकले महामारी प्रतिकार्य र पुनरुत्थानका लागि नेपाललाई रु. १७ अर्ब ५५ करोड उपलब्ध गराउने भएको छ । बैंकको कार्यकारी बोर्डले कोभिड–१९ को उत्थानशील पुनर्लाभ, अति जोखिममा परेकाको सुरक्षा र दिगो विकासमा सघाउन उक्त रकम आज स्वीकृत गरेको हो ।
“महामारीबाट सामाजिक एवं आर्थिक क्षेत्रमा परेको प्रभाव घटाउन प्रभावित जनसङ्ख्यालाई हरित, उत्थानशील र समावेशी पुनरुत्थानमा तत्काल राहत उपलब्ध गराउनु हाम्रो प्राथमिकता हो”, नेपाल, श्रीलङ्का र मालदिभ्सका लागि बैंकका देशीय निर्देशक फारिस हादाद जार्भोसले सहायता रकम स्वीकृत भएपछि भन्नुभएको छ ।
नेपालको आर्थिक वृद्धि, पुनरुत्थान र उत्थानशील वित्तीय नीति तथा कार्यक्रममा सघाउन उक्त रकम उपयोग हुनेछ । कर तथा भन्सार प्रणाली, ऋण व्यवस्थापन, सार्वजनिक खर्च, सामाजिक सुरक्षा कार्यक्रमको आधुनिकीकरण, हरित पुनरुत्थानका लागि नियामक आधार खडा गर्ने, संरचनागत व्यवधान हटाउन तथा पुँजीमा निजीक्षेत्रको पहुँच पु¥याउन सहयोग रकम परिचालन हुने बताइएको छ ।
डेरी पसलहरुको आलटालले जैमिनीका किसानले दूधको भुक्तानी पाएनन्, अघिल्लो वर्ष देखिको पैसा बाँकी
बागलुङ, २२ जेठ २०७८ ।
दूधको भुक्तानी रोकिएपछि बागलुङको बलेवा र कुश्मीशेरा क्षेत्रका किसान मर्कामा परेका छन् । बागलुङ नगरपालिकाको अमलाचौर, नारायणस्थान र जैमिनी नगरपालिकाको कुश्मीशेराका किसानले उत्पादन गर्ने दूधको भुक्तानी रोकिएको हो । कुश्मीशेराको टुनीबोट, खौर, किसेक, बागलुङ नगरपालिका–१२ अमलाचौरको टाकुरी, सरङ्गी गाउँका किसानले लामो समयदेखि दूध विक्रीबापतको भुक्तानी नपाएका हुन् ।
कुश्मीशेराको टार र बागलुङ नगरपालिका—१४ को नारायणस्थानका किसानको पनि समस्या उस्तै छ । मुख्य आयस्रोत दूधको भुक्तानी नै रोकिएपछि किसानहरु मर्कामा छन् । दूध उत्पादनकै लागि पालिएका गाई भैंसीलाई खुवाउने दाना चापट र घर खर्च चलाउन समेत कठिन भएको किसान प्रेम पौडेल बताउनुहुन्छ । यहाँ उत्पादन भएको दूध बागलुङ र पर्वतका विभिन्न दूध डेरीहरुले खरीद गर्छन् । बागलुङको दक्षिणमा रहेका चार वटा दुग्ध उत्पादक सहकारीको साझा बिक्री केन्द्र गठन गरेर सहकारीहरुले दूध बिक्री गर्छन् ।
कालीगण्डकी, पल्लोपाखा, नवनमूना र बलेवा नारायणस्थान दुग्ध उत्पादक सहकारी संस्थाको सहभागिता रहेको संयुक्त बिक्री केन्द्र छ । बिक्री केन्द्रमार्फत दूध खरीद गरेका कतिपय डेरी पसलहरुले अघिल्लो वर्षको असारदेखिको पैसा भुक्तान गरेका छैनन् । ‘‘हाम्रो दूध लिने बागलुङको न्यू लक्ष्मी डेरीले अघिल्लो असारपछिको पैसा दिएकै छैन, पटकपटक ताकेता गर्दा समेत पैसा नआएपछि हामी प्रक्रियामा जाँदैछाँैं,’ संयुक्त विक्री केन्द्रका अध्यक्ष लीलाधर पौडेलले भन्नुभयोे, ‘‘डेरीहरुले रकम रोकिदिँदा सहकारीले किसानलाई उपलब्ध गराउन सकेनन् ।’’
पौडेलका अनुसार कुश्माको शीतल डेरी, मोदीकाली डेरी, न्यू कालिगण्डकी डेरी र बागलुङको अभिशेक डेरीलगायतका संस्थाले किसानको रकम भुक्तानी नदिएका हुन् । ‘झण्डै रु २५ लाख उठ्न बाँकी छ, केहीको एक वर्ष पुग्यो, केहीले चार÷पाँच महिनादेखि रोकेका छन्,’ पौडेल भन्नुहुन्छ, ‘‘यता सहकारीहरुले आफ्नै स्रोतबाट पनि किसानको रकम भुक्तानी गर्न सक्ने अवस्था छैन ।’’ बिक्री भएको दूधकै पैसा नआएका कारण किसानलाई समयमा भुक्तानी दिन कठिन भएको कालीगण्डकी दुग्ध उत्पादक सहकारी संस्थाका सचिव रुद्रनाथ शर्माले बताउनुभयो ।
यहाँका डेरी पसलहरुले भुक्तानी समयमा नदिएपछि अहिले चार वटै सहकारीबाट उत्पादित दूध पोखराको लभकुश डेरीमा पठाउन थालिएको छ । चार वटा सहकारीले दैनिक एक हजार लिटर दूध उत्पादन गर्छन् । ‘‘पोखराको डेरीबाट हाम्रै दूध ल्याएर बेचेका छन् तर हाम्रो पुरानो पैसा दिँदैनन्’’, पौडेल भन्नुहुन्छ, ‘‘वैशाख यता पोखरा गएको दूधको भुक्तानी भने रोकिएको छैन ।’’
सहकारीहरुको संयुक्त बैठकले एकपटक आग्रह गर्ने र भुक्तानी नपाए कानुनी प्रक्रियामा जाने निर्णय गरेको अध्यक्ष पौडेलले सुनाउनुभयो । मुख्य याममा दूध ‘होलिडे’ गर्न लगाउने र बेमौसममा खरीद गर्ने गरेका डेरी पसलहरुले किसानको दूधको भुक्तानीमा भने आलटाल गर्दै आएका छन् । समयमा भुक्तानी नपाउँदा किसान भने पेशाप्रति नै निराश हुने गरेका छन् ।
विद्यार्थी नेता शर्माद्वारा जैदिका कोरोना संक्रमितहरुलाई स्वास्थ्य सामग्री वितरण
बागलुङ, २२ जेठ २०७८ ।
जैदिका कोरोना संक्रमितहरुलाई स्वास्थ्य सामग्री वितरण गरिएको छ । नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि एवं नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रिय सह–महामन्त्री हरिहर शर्माले आप्mनी आमाको जन्मदिनको अवसरमा स्वास्थ्य सामग्री वितरण गर्नुभएको हो ।
आमा नर्मदा देवि उपाध्यायको जन्मदिको अवसरमा जैमिनी नगरपालिका ७ जैदिका २६ जना कोरोनाका सक्रिय संक्रमितहरुलाई मास्क लगाएतका स्वास्थ्य सामग्री वितरण गरिएको शर्माले जानकारी दिनुभयो । कोरोना संक्रमितहरु होम आईशोलेसनमा बस्दा सामान्य तर महत्वपूर्ण स्वास्थ्य सामग्रीहरुको अभाव नहोस् भनेर आफूले सहयोग गरेको उहाँको भनाई छ ।
शर्माले यसअघि पनि बिभिन्न ठाउँमा स्वास्थ्य सामग्रीहरु सहयोग गर्नुभएको थियो ।
संघ सरकारले आशा मात्रै देखाएपछि जैमिनीले पहिरो पीडितका घरहरू आफै बनाइदिन थाल्याे
बागलुङ, २१ जेठ २०७८ ।
बाढी, पहिरोबाट क्षति भएका घरहरुको पुनर्निर्माण तथा पुनस्र्थापनाका लागि जैमिनी नगरपालिकाले दोहोरो प्रक्रिया अघि बढाएको छ । सङ्घ सरकारको कार्यक्रम कार्यान्वयन र नगरपालिकाले आफ्नै कार्यक्रम बनाएर पुनर्निर्माण र पुनस्र्थापनाको काम थालेको हो ।
सङ्घ सरकारले क्षति भएका निजी आवास पुनर्निर्माणको लागि अनुदान उपलब्ध गराउने भनेपनि काममा ढिलाइ भएको भन्दै नगरले आफ्नै कार्यक्रम ल्याएको हो । नगरको विपत् व्यवस्थापन कोषबाट बजेट परिचालन हुने गरी निजी आवास पुनर्निर्माणका लागि सूचना गरेको नगरप्रमुख इन्द्रराज पौडेलले बताउनुभयो । सङ्घ सरकारको कार्यक्रम आउनुपूर्व घर बनाउन चाहनेलाई नगरले दुई लाख रुपैयाँ अनुदान दिने भएको छ ।
‘‘हामीले तत्काल घर बनाउन चाहनेलाई सरकारले तोकेको मापदण्डअनुसार घरको नक्सा बनाएर अनुदानका लागि आउनु भनेका छौँ’’, इञ्जिनियर विवेक सापकोटाले भन्नुभयो, ‘‘सङ्घ सरकारको अनुदान आउनु पूर्व घर बनाउनेलाई नगरले रु दुई लाख अनुदान दिन्छ, बाँकी रु दुई लाख व्यक्तिले खर्च गर्नुपर्छ ।’’ सङ्घ सरकारले चार लाख रुपैयाँ अनुदान दिने छ । सोही कार्यविधिका आधारमा पुनर्निर्माण गरिने सापकोटाले बताउनुभयो ।
‘‘घर निर्माणकै चरणमा माथिको अनुदान आए रु चार लाख लाभग्राहीले पाउँछन्, घर बनिसकेपछि भने प्रक्रिया सकिन्छ’’, सापकोटा भन्नुहुन्छ, ‘‘नगरले दिएको अनुदानमा घर बनाउन कसैले खोजी गरेको पाइएको भने छैन ।’’ बर्खा लागिसक्दा समेत सङ्घ र प्रदेश सरकार समेतको साझेदारीमा सञ्चालन हुने अनुदान कार्यक्रम कार्यान्वयनमा आउन नसकेका कारण नगरले आफ्नै कार्यक्रम बनाएको हो ।
‘‘पीडितहरु समस्यामा हुनुहुन्छ, हामीले सकेसम्म तत्कालको समस्या टार्न खोजेका हौँ’’, नगरप्रमुख पौडेल भन्नुहुन्छ, ‘‘उहाँहरुलाई जे गर्दा सहज हुन्छ त्यही गर्नु भनेका छौँ ।’’ जैमिनीमा तत्काल निर्माण गर्नुपर्ने गरी ५६ घर भत्किएका थिए । केही घर प्रबलीकरण गर्नुपर्ने छन् भने केही घरपरिवारले थातथलो नै छोडेर तराईमा झरेका छन् । नगरपालिका आफैँले ठूलो खर्च गरेर पुनर्निर्माणमा लाग्न स्रोतको अभाव रहेको गुनासो नगरमा छ ।
सङ्घ सरकारले बागलुङलाई विपतग्रस्त क्षेत्र घोषणा गरेकाले पुनर्निर्माण र पुनस्र्थापनाको कार्यक्रम आउने आशामा बस्दा निजी आवास निर्माणमा ढिलाइ भएको पौडेलले बताउनुभयो । सडक, भवनलगायतका अन्य पूर्वाधारमा समेत गत वर्षको वर्षामा क्षति पुगेको तथ्याङ्क नगरपालिकासँग छ ।
छाक टार्न समस्या भयो ? ११८० मा सम्पर्क गर्नुस्- एम्बुलेन्स् चाहिएपनि निःशुल्क उपलब्ध
काठमाडौँ, २० जेठ २०७८ ।
काठमाडौँ महानगरपालिकाले बन्दाबन्दीको समयमा कसैलाई छाक टार्न समस्या भए हटलाइन नम्बर ११८० मा फोन गर्न आग्रह गरेको छ ।
दोस्रो लहरको काभिड–१९ का कारण देशका अधिकांश जिल्लामा बन्दाबन्दी गरिएको छ । यस समयमा कसैलाई दैनिकी चलाउनका लागि खाद्य सामग्री आवश्यक परे महानगरपालिकाको हटलाइन नम्बरमा फोन गर्न भनिएको हो । अघिल्लो वर्षको कोरोना महामारीका समयमा विभिन्न सङ्घसंस्था र महानगर आफैँले पनि वडासँग समन्वय गरी समस्यामा परेकालाई खाद्य सामग्री वितरण गरेको थियो ।
“गत वर्षको तुलनामा यस वर्ष खानका लागि समस्या प¥यो भन्दै आउनेको सङ्ख्या एकदमै कम रहेको छ, आएकालाई वडा कार्यलयमार्फत सहयोग गरिरहेका छौँ”, महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले भन्नुभयो, “कोही समस्यामा परेर पनि कहाँ सम्पर्क गर्ने भनेर अन्योल हुनुभएको भए आफू बसोबास गरेको स्थानसहित ११८० मा फोन गरेर जानकारी गराउन आग्रह गर्दछु ।”
यसरी जानकारी प्राप्त भएपछि महानगरपालिकाका ३२ वडामध्ये कुन वडाबाट सहयोग गर्न सहयोग हुन्छ सोहीअनुरुप आवश्यक खाद्य सामग्री सहयोग गरिने जनाइएको छ । “कोभिडका बिरामीलाई उपचारमा सहज होस् भन्ने हेतुले बिरामीलाई अस्पताल पुग्न पनि कोभिड–१९ का बिरामीका लागि फोन नं १०२ मार्फत १० र नन्कोभिड बिरामीका लागि १० गरी कूल २० निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको छ । त्यसबाट हालसम्म २२ हजार कोभिड सङ्क्रमित बिरामी र १२ हजार नन्कोभिड बिरामीले सेवा लिएका छन् ।
महानगरपालिकाले अक्सिजनको चरम अभावका कारण उत्पन्न असहज अवस्थालाई ध्यानमा राखेर अक्सिजनकै कारण अस्पतालमा हुने बिरामीको चापलाई कम गर्न ३०९ शय्याको आइसोलेशन र विषेश अस्पताल सञ्चालनमा ल्याएको छ । महानगरको आर्थिक सहयोगमा सामाखुशीस्थित राधास्वामी सत्सङ्ग भवनमा नेपाली सेनाको व्यवस्थापनमा ८८ अक्सिजनसहित १७४ शय्याको आइसोलेशन केन्द्र, आयुर्वेद अस्पतालमा ५० अक्सिजनसहित १०० शय्याको आइसोलेशन केन्द्र र छत्रपाटी निःशुल्क चिकित्सालयमा आइसीयू तथा भेन्टिलेटरसहितको ३५ शय्याको कोभिड–१९ विशेष अस्पताल सञ्चालनमा छ ।
हाल महानगरपालिकामा ६२ हजार ३८३ कोरोना सङ्क्रमित रहेकामा ५१ हजार १६७ निको भएका छन् भने १० हजार ९५ होमआइसोलेशन र १८६ संस्थागत आइसोलेशनमा रहेका छन । त्यस्तै यहाँ हाल १० हजार ७९७ सक्रिय सङ्क्रमित रहेका र यहाँ ५१६ जनाले अस्पतामा उपचार गराइरहेका छन् । यहाँ कोरोनाका कारण ४१९ ले ज्यान गुमाएको तथ्याङ्कमा उल्लेख छ ।
सर्लाही, १९ जेठ २०७८ ।
सर्लाही जिल्लाका व्यापारीहरुले दैनिक उपभोग्य वस्तु तथा खाद्यान्नको मूल्य वृद्धि गराएका छन् । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको दोस्रो भेरियन्टको सङ्क्रमण दिनानुदिन बढ्दै गएको मौका छोपी जिल्लाका व्यापारीहरुले दैनिक उपभोग्य वस्तुको मूल्य बढाएका हुन् ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीले कोभिड–१९ को सङ्क्रमण नियन्त्रण गरी सामुदायिकस्तरमा फैलिन नदिन जिल्लाभरि निषेधाज्ञा जारी गरेसँगै जिल्लाका व्यापारीहरुले आफूखुसी खाद्यान्नसहित अन्य दैनिक उपभोग्य वस्तुमा कृत्रिम मूल्य वृद्धि गरेका हुन् । कोरोना भाइरसबाट सङ्क्रमित हुने चिन्ताले सताइरहेको बेला एकाएक सबैखाले उपभोग्य सामग्रीको बजार भाउ बढेपछि सर्वसाधारण चिन्तित बनेका छन् । दिनभरको कमाइले साँझ बिहान हातमुख जोड्ने सर्वसाधारण कृत्रिम मूल्य वृद्धिबाट सबैभन्दा बढी मारमा परेको स्थानीय जानकार उमासिंह साहले बताउनुभयो ।
थोक व्यापारीहरुले नै सामानको मूल्य बढाएपछि बाध्य भएर आफूहरुले पनि मूल्य बढाएको साना तथा खुद्रा व्यापारीले बताएका छन् । बजारमा अहिले चामल, दाल, चना, मटर ,खानेतेलदेखि प्याकिङ गरिएका खाद्य वस्तुहरुमा मूल्य वृद्धि भएको छ । निषेधाज्ञाअघि थोक व्यापारीले प्रतिकार्टुन रु दुई हजार ४५० मा दिँदै आएको सनफ्लावर खानेतेल अहिले प्रतिकार्टुनमा रु १०० ले बढाएर रु दुई हजार ५५० मा बिक्री गर्ने गरेको लालबन्दीका एक खुद्रा व्यापारी जोगिन्द्र महतोले बताउनुभयो ।
जिल्लाका शहरी तथा ग्रामीण भेगका बजारमा सबैखाले सामानमा निषेधाज्ञा हुनुअघिको खुद्रा मूल्य र त्यसपछिको मूल्यमा रु १० देखि रु १००य सम्म बढाएर बिक्री भइरहेको पाइएको छ ।
ग्रामीण भेगका व्यापारीहरुले बजारमा रिचार्ज कार्डको कमी भएको भन्दै रु ५० को रिचार्ज कार्डमा रु पाँच र १०० को रिचार्ज कार्डमा रु १० थप गरेर लिने गरेको स्थानीय उपभोक्ताहरुको गुनासो छ । थोक बिक्रेताले सबैखाले वस्तुमा मूल्य बढाएका कारण सानातिना खुद्रा बिक्रेताले समेत बाध्य भएर मूल्य बढाउनुपरेको व्यवसायीहरुको भनाइ छ । निषेधाज्ञाका बेला पनि सरकारले खाद्यान्नलगायतका अन्य दैनिक उपभोग्य वस्तुको आयात निर्यातमा कुनै रोक नलगाएको भए पनि ढुवानी र लोड अनलोड गर्न मजदुरहरुको अभाव देखाएर थोक बिक्रेताले सबै वस्तुमा मूल्य बढाएको खुद्रा बिक्रेताको भनाइ छ ।
यसरी अस्वाभाविकरूपमा दैनिक उपभोग्य सामग्रीको मूल्य वृद्धि भएको विषयमा जान्दाजान्दै सरोकारवाला तथा नियमनकारी निकाय अनभिज्ञ हुँदा निषेधाज्ञाले गर्दा रोजगारी गुमाएका सर्वसाधारण विपन्न वर्ग महँगोमा खाद्यान्न किन्न बाध्य भएको स्थानीयवासी सुन्दरश्याम यादवले गुनासो गर्नुभयो । उहाँका अनुसार लकडाउनसँगै खाद्यान्नलगायतका दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भइरहँदा स्थानीय निकाय, उद्योग वाणिज्य सङ्घ र जिल्लास्तरीय बजार अनुगमन समिति मौन बसेको सर्वसाधारणको आरोप छ ।
स्थानीय सरकारसँग बजार अनुगमन गर्ने, कालोबजारी तथा महँगी नियन्त्रण गर्ने, कारवाही गर्ने र सङ्कटको बेला अत्यावश्यक वस्तुको अभाव हुन नदिने जिम्मेवारी तथा अधिकार रहे पनि सो अनुसारको काम गर्न स्थानीय सरकारले तादरुकता देखाएका छैनन् ।
शहर बजारभन्दा ग्रामीण तथा दुर्गम क्षेत्रमा खाद्यान्नलगायतका सामग्रीहरुमा मूल्य वृद्धि भइरहेको गुनासो बढेको छ । गत वर्ष पनि लकडाउनको समयमा यसैगरी मनपरि मूल्य वृद्धि भएको थियो । त्यो बेला पनि सरोकारवाला र नियमनकारी निकायले बजार अनुगमन, कारवाही तथा महँगी नियन्त्रणका लागि केही प्रयास नगरेको स्थानीय उपभोक्ताको गुनासो छ । अहिले पनि उनीहरु थाहा पाएर पनि थाहा नपाएको जस्तो गरी मौन बसेका छन् ।
यस्तो सङ्कटको परिस्थितिमा स्वास्थ्य समस्याबाट गुज्रिरहेका आम नागरिकलाई थप सङ्कटको भुमरीमा नपार्न यतिबेला प्रभावकारी बजार अनुगमनको आवश्यक्ता रहेकोले जिल्लाका २० वटै स्थानीय निकायले आ–आफ्नो स्तरबाट कालोबजारी र अस्वाभाविक मूल्य वृद्धि रोक्न कदम चाल्न जरुरी रहेको जानकारहरुको भनाइ छ ।
सुन र चाँदीकै मुल्य बढ्याेः के काे मुल्य कती ?
काठमाडाैँ, १७ जेठ २०७८ ।
सुन र चाँदीकै मुल्य फेरी बढेकाे छ ।
साेमबार पनि सुन र चाँदीकै मुल्य बढेकाे हाे । गत हप्तादेखि निरन्तर उकालो लाग्न थालेको सुनको मूल्य बढ्ने क्रम अझै रोकिएको छैन ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अधिकतम ९४ हजार प्रतितोलामा कारोबार भएकाे सुनको मूल्य सोमबार पनि थप २०० रुपैयाँ वृद्धि हुँदै ९४ हजार २०० रुपैयाँ प्रतिताेला पुगेको 5 ।
तेजाबी सुन भने प्रतितोला ९३ हजार ७०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीकाे पनि मुल्य बढेकाे छ । सोमबार पनि प्रतितोला ५ रुपैयाँले वृद्धि हुँदै चाँदिकाे मुल्य पतिताेला १ हजार ३ सय ६० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघ जनाएको छ ।
बागलुङ, १६ जेठ २०७८ ।
जैमिनी नगरपालिकाले संघीय कोषबाट ४९ करोड ५७ लाख रुपैयाँ प्राप्त गरेको छ । प्रदेश र स्थानीय तहले संघीय कोषबाट पाउने बजेट मध्येबाट बागलुङको जैमिनी नगरपालिकालाइ ४९ करोड ५७ लाख रूपैयाँ प्राप्त भएको हो ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सिफारिस गरेको सूत्र अनुसार प्रदेश र स्थानीय तहलाई जाने विभिन्न ४ शीर्षकका रकमको ४९ करोड ५७ लाख रूपैयाँ जैमिनीका लागि छुट्याइएको अर्थ मन्त्रालयले जनाएको छ ।
अर्थ मन्त्रालयले बाँडफाँड गरेको बजेट अन्तर्गत वित्तीय समानीकरण, सशर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदान पर्छन् ।
बागलुङ जिललाका चारवटा नगरपालिकालाई २ अर्ब, ४ करोड ४७ लाख र ६ वटा गाउँपालिकाका लागि १ अर्व ८३ करोड २८ लाख रुपैयाँ गरी ३ अर्व ८७ करोड ७५ लाख रुपैयाँ बजेट बिनियोजन भएको छ ।
जिल्लामा सबैभन्दा धेरै बागलुङ नगरपालिकालाई ७४ करोड ७२ लाख रुपैयाँ विनियोजन भएको छ । गलकोट नगरपालिकालाई ४७ करोड ४८ लाख र ढोरपाटन नगरपालिकालाई ३२ करोड ७० लाख रुपैयाँ विनियोजन भएको छ ।
यता बरेङ गाउँपालिकालाई २५ करोड ९८ लाख, ताराखोला गाउँपालिकालाई २४ करोड ९२ लाख, बडिगाड गाउँपालिकालाई ४४ करोड ६ लाख, काठेखोला गाउँपालिकालाई ४१ करोड ५८ लाख निसीखोला गाउँपालिकालाई २८ करोड, ८३ लाख, र तमानखोला गाउँपालिकालाई १७ करोड ९१ लाख रुपैयाँ बजेट विनियोजन भएको अर्थ मन्त्रालयले जनाएको छ ।