कैलाली/मकवानपुर, २० बैशाख २०७८ ।
कैलाली र मकवानपुरमा गरी थप छ जनाकाे काेराेना संक्रमणका कारण मृत्यु भएकाे छ ।
कैलालीमा ४ जना र मकवानपुरमा २ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे हाे । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत ४ जनाकाे मृत्युभएकाे छ । लम्कीचुहा नगरपालिका –१ का ३८ वर्षीय पुरुषकाे आज बिहान साढे १ बजे र लम्किचुहा –१० की ३५ वर्षीया महिलाकाे बिहान साढे ४ बजे मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयाे ।
यस्तै सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका –२ का ४३ वर्षीय पुरुषको अज बिहान ५ बजे र कञ्चनपुरको भीमदत्त नगरपालिका– ७ का ६२ वर्षीय पुरुषको पनि सेती प्रादेशिक अस्पतालमा उपचारकाे क्रममा मृत्यु भएको छ ।
यसैगरी मकवानपुरमा कोरोना संक्रमणका कारण थप २ जनाको मृत्यु भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड–१९ उपचार कक्षमा उपचार गराइरहेका २ जना पुरुषको मृत्यु भएको हेटौंडा अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. प्रविण श्रेष्ठले जानकारी दिनुभयाे ।
हेटौँडा उपमहानगरपालिका वडा नम्वर १ निवासी ५५ बर्षीय पुरुष र बारा जिल्लाको अमलेखगञ्ज निवासी ४६ बर्षका पुरुषको मृत्युभएकाे हेटौँडा अस्पतालले पुष्टि गरेको छ । उनीहरु कोरोना संक्रमण पुष्टि भएपछि हेटौँडा अस्पतालको कोभिड–१९ उपचार कक्षको भेन्टिलेटरमा उपचाररत रहेको र आइतबार राति उपचारकै क्रममा उनीहरुको मृत्यु भएको डा. श्रेष्ठकाे भनाइ छ ।
मृतक हेटौंडाका ५५ वर्षीय पुरुषको राति ९ः३० बजे र बाराका ४६ बर्षका पुरुषको राति करिब १२ बजे मृत्यु भएको हेटौँडा अस्पतालले जनाएको छ । मृतक दुवै जनाको स्वास प्रश्वासमा समस्या आएपछि उनिहरूलाई भेन्टिलेटरमा राखेर उपचार शुरू गरिएको थियो ।
काेराेना संक्रमण बढ्दाेः४१ जिल्ला अति प्रभावित,कतै आंशिक कतै पुर्णरूपमा निषेधाज्ञा,विस्तृतमा
काठमाडाैँ, २० बैशाख २०७८ ।
काेराेना संक्रमण बढ्दै जाँदा नेपालकाे ४१ जिल्लामा धेरै प्रभाव देखिएकाे छ ।
काेराेना संक्रमणकाे दाेस्राेलहर शुरू भएसँगै नेपालकाे ४१ जिल्लामा संक्रमणकाे धेरै प्रभाव देखिएकाे हाे । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि अति प्रभावित ४१ जिल्लामा पूर्ण तथा आंशिक निषेधाज्ञा लागू भएको छ । अति प्रभावित ४१ जिल्ला मध्ये ३० जिल्लामा पूर्ण तथा ११ जिल्लामा आंशिक निषेधाज्ञा जारी भएकाे छ ।
काठमाडाैँ उपत्यकामा गएको १६ गतेदेखि निषेधाज्ञा जारीछ भने अरु २७ जिल्लामा पूर्ण र ११ जिल्लामा आंशिक निषेधाज्ञा लागू भएको छ । काठमाडाैँ, भक्तपुर, ललितपुर, बाँके, सुर्खेत, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, बर्दिया र रूपन्देहीमा जिल्लाभर निषेधाज्ञा छ । साथै यसअघि ठाउँ विशेषमा निषेधाज्ञा गरिएको बर्दियामा आजदेखि आउँदो ३१ गतेसम्म पूर्ण रुपमा निषेधाज्ञा लागू भएको गृह मन्त्रालयले जनाएकाे छ ।
बझाङ र बैतडीमा आज बिहानैदेखि निषेधाज्ञा लागू भएको छ भने अर्घाखाँचीमा आज रातिदेखि निषेधाज्ञा लागू हुनेछ । त्यस्तै सल्यान, सुनसरी, जाजरकोट, रुकुम पश्चिम, डडेल्धुरा, झापा, गुल्मी, प्यूठान, उदयपुर, बझाङ, कपिलवस्तु, नुवाकोट, धनुषा, अर्घाखाँची, बैतडी र दैलेखमा पूर्णरूपमा जिल्लाभर निषेधाज्ञा लागू गरिएको छ । कास्कीमा निषेधाज्ञा भए पनि सवारीमा जोरबिजोर प्रणालि लागु गरीएकाे छ ।
कपिलवस्तु, नुवाकोट र धनुषामा भोलि बिहानदेखि तथा दैलेखमा भोलि रातिदेखि निषेधाज्ञा लागू हुने गृहमन्त्रालयले उल्लेख गरेकाे छ । यस्तै बाग्लुङ, दार्चुला, मोरङ, काभ्रे, गोरखा, बाजुरा, मकवानपुर, कालीकोट, स्याङ्जा, रामेछाप र ताप्लेजुङमा ठाउँ तोकेर आंशिक निषेधाज्ञा लगाइएको जनाइएकाे छ ।
सरकारले कोरोना संक्रमण सङ्ख्या काठमाडाैँ उपत्यका तथा तराईमा पाँच सय र पहाडी जिल्लामा दुई सय पुगे निषेधाज्ञाको निर्णय गर्ने अधिकार सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई दिइसकेकाे छ ।
बागलुङ, १९ बैशाख २०७८ ।
काेराेना संक्रमणका कारण पर्वतकाे एक सहित गण्डकी प्रदेशमा ८ जनाकाे मृत्यु भएकाे छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जारी गरेका प्रेस विज्ञप्ती अनुसार ८ जनाकाे मृत्यु भएकाे पुष्टि भएकाे हाे ।
मृत्यु हुनेहरूमा कास्कीको पोखरा महानगरपालिका–१६ का ७७ बर्षिय पुरुष रहेका छन् जसकाे शुक्रबार दिउँसो होम आईसोलेसनमा मृत्यु भएको निर्देशनालयले जनाएकाे छ । यस्तै पोखरा–२६ का ५८ बर्षिय कोरोना संक्रमित महिलाको शुक्रबार बिहान मणिपाल शिक्षण अस्पतालमा, पर्वको कुश्मा नगरपालिका–५ की ७६ बर्षिय महिला र दाङको राप्ती गाउँपालिका–५ का ४३ बर्षिय पुरुषको शुक्रबार नै गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक बिनोद बिन्दु शर्माले जानकारी दिनुभयाे ।
यता पोखरा–१६ का ७३ बर्षिय पुरुष र पोखरा–१० की एक महिलाको शुक्रबार नै मेडिप्लस अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको छ । पोखरा–१९ का ५४ बर्षिय पुरुषको शुक्रबार गण्डकी मेडिकल कलेजमा र रुपन्देहीको बुटवल उपमहानगरपालिका–३ का ७५ बर्षिय पुरुषको मेडिप्लस अस्पतालमा उपचारको क्रममा मृत्यु भएको विवरणमा उल्लेख छ । अध्यावधिक विवरण अनुसार गण्डकीमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ३१ पुगेको छ ।
बागलुङ, १८ बैशाख २०७८ ।
कोरोना संक्रमणबाट जैमिनीका एक युवाको मृत्यु भएको छ । बागलुङको जैमिनी नगरपालिका वडा नम्बर ५ विनामारेका २८ वर्षीय युवाको शुक्रबार राती मृत्यु भएको हो ।
बैशाख १० गते कोरोना संक्रमण पुष्टि भई वैशाख १४ गते भरतपुर अस्पतालमा भर्ना हुनुभएका उहाँको मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङ कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।
भतपुर अस्पतालका अनुसार कोरोना पुष्टि भएपछि होम आशोलेसनमा बसेर अवस्था जटिल बन्दै गएपछि अस्पताल गएका मृतक युवालाई स्वासप्रस्वासमा समस्या रहेको थियो ।
उहाँ जैमिनी नगरपालिका वडा नम्बर ५ विनामारे निवासी भएपनि चितवनमा बस्दै आउनुभएको थियो ।
काेराेना कहर: जैमिनी १ मा बाहिरबाट आए अनिवार्य क्वारेनटाइन बस्नुपर्ने, मास्क बिना हिड्न रोक
बागलुङ, १८ बैशाख २०७८ ।
जैमिनी नगरपालिका १ नं वडाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि बिभिन्न निर्णय गरेको छ । वडा कार्यलय कुश्मिसेरामा शुक्रबार बसेको सरोकारवालाहरुको बैठकले वडामा कोरोना जोखिम घटाउन बिभिन्न निर्णय गरेको हो ।
अन्य पालिका, जिल्ला र बाहिरबाट आउनेहरु अनिवार्य दश दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने, मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने, वडा भित्र बिभिन्न धर्म संस्कारका कार्यहरु गर्न नपाइने जस्ता निर्णय गरिएको जैमिनी नगरपालिका वडा नं १ का वडाध्यक्ष भुपेन्द्र थापाले जानकारी दिनुभयो ।
बैठकले वडामा गठन भएका टोल निगरानी समितिहरुलाई सक्रिय बनाउने, कोरोना रोकथाम र नियनत्रणका लागि शिक्षकहरुलाई समेत खटाउने,सबैलाई स्वास्थ्य मापदण्ड अनिवार्य पालना गराउने निर्णय पनि गरेको छ ।
एकैदिन झण्डै छ हजारमा काेराेना संक्रमण पुष्टिः थप ३३ काे मृत्यु, सक्रिय संक्रमित संख्या बढ्दै
काठमाडौं, १७ बैशाख २०७८ ।
नेपालमा थप ५ हजार ७ सय २७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।
पछिल्लो २४ घण्टामा देशभरीका बिभिन्न प्रयाेगशालाहरूमा गरीएकाे परीक्षणमा थप ५ हजार ७ सय २७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे । शुक्रबार १५ हजार ३ सय ९१ नमुनाकाे पीसीआर परीक्षण गर्दा ५ हजार ६ सय ५७ जना र ५ सय २५ जनाको एन्टिजेन परीक्षण गरीएकाेमा ७० जना गरी कुल ५ हजार ७ सय २७ जनामा काेराेना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ ।
नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ लाख २३ हजार १ सय ८७ पुगेको छ । हाल नेपालमा कुल ३८ हजार ८ सय १३ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितमध्ये ३६ हजार १ सय ३५ जना होम आइसोलेसनमा र दुई हजार ६ सय ७५ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने संक्रमितमध्ये ३ सय ३१ जना आईसीयूमा र १ सय १५ जना भेन्टिलेटरमा रहेका मन्त्रालयले उल्लेख गरेकाे छ ।
पछिल्लाे २४ घण्टामा ९ सय २८ जना कोरोना भाइरसकाे संक्रमण निकाेभइ घर फर्किएका छन् । याेसँगै नेपालमा काेराेना संक्रमण निकाे हुनेकाे कुल संख्या २ लाख ८१ हजार ९५ पुगेकाे छ ।
यसैगरी पछिल्लाे २४ घण्टामा थप ३३ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा काेराेना संक्रमणका कारण ज्यान गुमाउनेकाे कुल संख्या ३ हजार २ सय ७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
सरकार भन्छ: “धान्नै नसकिने गरी काेराेना बढ्याे, अस्पतालमा बेड उपलबध गराउन असमर्थ छाैँ”
काठमाण्डाै, १७ बैशाख २०७८ ।
धान्नै नसकिने गरी काेराेना बढेकाे भन्दै सरकारले ध्यानाकर्षण गराएकाे छ । कोरोना सङ्क्रमणबाट अति प्रभावित जिल्लाहरूमा स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने अवस्था आएको बताइएकाे हाे ।
स्वास्थ्य मन्त्रालयले सर्वसाधारणका लागि अपिल जारी गर्दै मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाण्डौ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली, कञ्चनपुरलगायतका जिल्लामा बिरामीको सङ्ख्या धान्नै नसक्ने अवस्थामा पुगेको बताएको छ ।
मन्त्रालयका सह प्रवक्ता डाक्टर समिर कुमार अधिकारीले सङ्क्रमणका विरामीका लागि अस्पतालमा शैय्या उपलब्ध गराउनै नसक्ने अवस्था आएको र सङ्क्रमण डरलाग्दो गरी बढिरहेको जानकारी दिनुभएकाे छ । काेराेनाकाे जाेखिम डरलाग्दाे भएकाे भन्दै मन्त्रालयले स्वास्थ्यका मापदण्ड पालना गर्न सबैसँग अनुरोध गरेको छ ।
Breaking News: बागलुङमा २३ जना काेराेना संक्रमित थपिए, अधिकांश बागलुङ नगरपालिकाका
बागलुङ, १७ बैशाख २०७८ ।
बागलुङमा २३ जना काेराेना संक्रमित थपिएका छन् । शुक्रबार गरिएकाे परिक्षणमा बागलुङ नगरपालिका र ढाेरपाटन नगरपालिकाका २३ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।
काेराेना पुष्टि हुनेहरूमा बागलुङ नगरपालिकाका २१ र ढाेरपाटन नगरपालिकाका २ जना गरी २३ जनामा काेराेना देखिएकाे स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएकाे छ ।
टाेपराज शर्मा
रूपन्देही, १७ बैशाख २०७८ ।
रुपन्देहीमा निषेधाज्ञा उल्लंघन गरेको आरोपमा प्रहरीले तीन जनालाई एक महिनाका लागि कारागार चलान गरेको छ ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट जारी भएको निषेधाज्ञाको अवज्ञा र प्रहरीसँग विवाद गरेको भन्दै प्रहरीले तीन जनालाई एक महिनाका लागि कारागार चलान गरेको हाे । प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएकोमा प्रतिव्यक्ति नौ हजार एक सय रुपैयाँ जरिवाना तिर्न भनिएकाेमा जरीवाना तिर्न नसकेका तीनजनालाई कारागार चलान गरीएकाे छ ।
कारागार चलान भएकाहरुमा रुपन्देहीको मायादेवी गाउँपालिका–४का २७ वर्षीय दिनेश यादव, सिद्धार्थनगर नगरपालिका–८ का २८ वर्षीय श्याम दुबे र मायादेवी–२ का ३४ वर्षीय महेन्द्र कोहार रहेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सत्यनारायण थापाले जानकारी दिनुभयाे । निषेधाज्ञा उल्लंघन गरेको भेटिएपछि सम्झाई बुझाई गर्दा प्रहरी टोलीलाई ड्युटीमा बाधा अबरोध पुर्याएको हुँदा नियन्त्रणमा लिई संक्रामक रोग ऐन २०२० को दफा ३ को उपदफा २ बमोजिम कारवाही गरिएको थापाकाे भनाइ छ ।
‘नियन्त्रणमा लिइएका ७ जना पुरुष र एक महिलामध्ये पाँचजना पुरुषले भने नौ हजार एक सय र एक महिलाले ६ सय रुपैयाँ जरिवाना तिरेर छुटे, जरिवाना तिर्न नसक्ने तीनजना एक महिना थुनामा गए,’ थापाकाे भनाइ ।
कारागार चलान गरीएकाे प्रति प्रशासनको आलोचनाः
जरिवाना तिर्न नसकेका सर्वसाधारणलाई एक महिना थुनामा राख्नु प्रशासनको ज्यादती भएको मानव अधिकार तथा शान्ति समाजका सभापति गोविन्द खनालले बताउनु भएकाे छ । ‘निषेधाज्ञाको पालना गराउनु जायज हो, तर सर्वसाधारण नागरिकको अवस्था ख्याल नगरी त्यसरी एक महिना जेल पठाउनु गलत हो, ‘कानून पालना गराउने नाममा गरीब र विपन्न नागरिकमाथि अन्याय र ज्यादती गरिनु हुँदैन,’ खनालकाे भनाइ’ ।
प्रहरीले निषेधाज्ञाको अवज्ञा गरेको भन्दै पहिलो दिन १ हजार २० वटा सवारी साधन होल्डमा राखेर छाडेको छ । जसमध्ये ५० वटा सार्वजनिक सवारी साधन, १० वटा निजी सवारी साधन, १८० वटा मालवाहक सवारी साधन, ७१० वटा मोटरसाइकल, ७० वटा साइकल र २०० जना प्रदलयात्रीलाई होल्डमा राखेर छाडिएको पनि डीएसपी थापाले जानकारी गराउनुभयाे । कोरोना संक्रमण नियन्त्रण गर्ने उद्देश्यले निषेधाज्ञा कडाइ गरिएकाले पालना गर्न जिल्ला प्रशासनले सबैसँग अपील समेत गरेको छ ।