डोटी, ३० जेठ २०७८ ।
जिल्लामा उमेर नपुगी गरिएको एक बालविवाह प्रहरीले बदर गरेको छ । जिल्लाको सायल गाउँपालिकाका २१ वर्षीय युवकले दिपायल सिलगढी नगरपालिकाकी १७ वर्षकी बालिकासँग हालै गरेको विवाहलाई यहाँको प्रहरीले बदर गरेको हो ।
जिल्ला प्रहरी कर्यालय डोटीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी इन्द्रबहादुर मल्लका अनुसार दिपायल सिलगढी नगरपालिकाको नगरस्तरीय बाल क्लबले २० वर्ष नपुगेकी निज बालिकाकोे विवाह भएको भन्दै रद्द गराइपाउन जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेपछि छानबिनपश्चात उक्त विवाह बालविवाह भएको देखिएकाले बदर गरिएको हो ।
विवाहलाई बदर गरी बालिकालाई आफन्तको जिम्मा लगाएको नगरस्तरीय बाल सञ्जालका संयोजक अनिस सेनले जानकारी दिनुभयो । कानूनीरूपमा २० वर्षभन्दा कम उमेरमा विवाह गरे बालविवाहअन्तरगत पर्ने भएकाले बदर गर्न उजुरी परेपछि उक्त विवाह बदर गरी कानूनविपरीत विवाह गर्ने गर्नेलाई कानूनबमोजिम सजाय हुने जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख दानबहादुर मल्लले बताउनुभयो । उहाँले भन्नुभयो, “बालविवाह गरिएको उजुरीपछि हामीले विवाह बदर गरेका छौँ, जान्दा जान्दै कानूनविपरीत विवाह गर्नेलाई कारवाही हुन्छ ।”
जिल्लामा पछिल्ला वर्षमा सानै उमेरमा छोरीको विवाह गरे पुण्य प्राप्त हुन्छ भन्दै बालविवाह गर्ने चलन अझै कायमै रहेका कारण बालविवाहले प्रश्रय पाएको स्थानीयवासी दीपक थापाले बताउनुभयो । पुण्यका नाममा जिल्लामा बालविवाह बढ्न थालेपछि यहाँका स्थानीय तहले बालविवाह अन्त्य गर्ने भन्दै रणनीतिक योजना तयार गरी लागु गरेको भए पनि उक्त योजना यहाँका गाउँघरमा लागु हुन सकेको छैन । बालविवाह गर्नेलाई कानूनी दायमा ल्याउन नसकेका कारण बालविवाह जस्ताको तस्तै अवस्थामा रहेको सामाजिक क्षेत्रमा काम गर्दै आएका विभिन्न सङ्घ संस्थाको बुझाइ छ ।
बागलुङ, २९ जेठ २०७८ ।
बागलुङमा ट्याक्टरको ठक्करबाट एक महिलाको ज्यान गएको छ । बागलुङ नगरपालिका वडा नम्बर ६ लहरेपिपलमा ट्याक्टरको ठक्करबाट ५२ वर्षीया कमला शर्माको मृत्यु भएको हो ।
ग १ त ६३०३ नम्बरको ट्याक्टरका चालक सुरेश नेपालीले सह–चालक भुवन नेपालीलाई सिकाउँदा ट्याक्टरले महलिालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यलय बागलुङले जनाएको छ ।
प्रहरीले चालक र सह–चालक दुवै जनालाई नियन्त्रणमा लिएको छ ।
बागलुङ नगरपालिका वडा नम्बर ४ पाखाथर निवासी शर्मा काफलठूटा आधारभूत विद्यालयकी शिक्षिका रहेकोे प्रहरीले जनाएको छ ।
म्याग्दी, २६ जेठ २०७८ ।
म्याग्दी जिल्लाको मङ्गला गाउँपालिका–५ अर्मनमा जथाभावी खनिएको सडकका कारण पहिरो सिर्जना भएको छ । सडक विस्तार गर्दा खनिएको माटोको सुरक्षित व्यवस्थापन नगर्दा अर्मनको हाँडेभिर बस्ती पहिरोको जोखिममा परेको हो ।
पोकबाट नेटा–अर्मन–किमचौर हुँदै बागलुङको ताराखोला जोड्ने सडक विस्तारका क्रममा नेटाखण्डको पाखोमा फालिएका ढुङ्गा–माटोले हाडेभिरको बस्ती, स्वास्थ्यचौकी जोखिममा पर्नुका साथै खानेपानीको मुहान, सिँचाइको नहर र खेतीयोग्य जमिन पुरिएको छ ।
पहिराले खिमबहादुर रोका, कर्णबहादुर रोका, रनवीर रोकासहित हाडेभिरका सात घर उच्च जोखिममा परेका छन् । माथिल्लो हाडेभिर खोल्लाका दलबहादुर थापाका परिवार सडकबाट आएको पहिरोले यसअघि नै विस्थापित भएका थियो । स्थानीयवासी अस्तमान घर्तीले सडक विस्तारका लागि स्काभेटरले पहाड खन्न थालेसँगै पहिरो सक्रिय भएको बताउनुभयो ।
“बाह्र वर्षअघि सडक खन्दा मेरो १० रोपनी पाखोबारी पहिरोमा परिणत भएको थियो”, उहाँले भन्नुभयो, “अहिले फेरि सडक फराकिलो बनाउन खनेको माटो पाखोमा फालिँदा पहिरो चलेर उठिबास लगायो ।” चालु आर्थिक वर्षमा प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालयले नेटा–अर्मन–किमचौर हुँदै ताराखोला जोड्ने सडक स्तरोन्नतिका लागि त्रिशक्ति–श्रमजीवी जेभीसँग रु. ८१ लख ४६ हजार ६५६ मा ठेक्का सम्झौता गरेको थियो ।
पूर्वाधार कार्यालय र निर्माण व्यवसायीको लापरवाहीका कारण पाखो खनेर बस्तीतर्फ माटो फालिँदा पहिरो चल्न थालेको हाँडेभिरका बासिन्दा चित्रकला सापकोटाले बताउनुभयो । “सडक खन्दा निस्कने माटो एक किलोमिटरसम्म टाढा लगेर व्यवस्थापन गर्ने सम्झौता कार्यान्वयनमा सम्बद्ध कार्यालय र निर्माण व्यवसायीले चासो देखाएका छैनन्”, उहाँले भन्नुभयो, “डोजरले पहाडको भित्ता कोपरेर पाखाभरि माटो फाल्दा रुख, बिरुवा र बारीमा लगाएको खेतीबाली मासिएको छ ।”
पाखोमा पालिएको माटो आकाशबाट पानी पर्नासाथ पहिरो बनेर बग्न थालेको हो । पहिराले ३५ घरधुरीले उपभोग गर्ने खानेपानी आयोजना र आठ हेक्टर क्षेत्रफलमा सिँचाइ गर्ने नहर पुरेपछि धानको ब्याड राख्न नपाएको स्थानीयवासी हर्कबहादुर रोकाले बताउनुभयो । “मुहान पुरिएपछि खानेपानी आपूर्ति भएको छैन”, उहाँले भन्नुभयो, “नहर पनि पहिराले पुरिएकाले हाडेभिर र काँसबगरमा धानको ब्याड राख्न समस्या भएको छ ।”
निर्माण व्यवसायी प्रकाश बानियाँले सम्झौतामा उल्लेखित एक किलोमिटर क्षेत्रभित्र माटो व्यवस्थापन गर्न ठाउँ नपाएको बताउनुभयो । “एक किलोमिटर वरपर माटो फाल्ने ठाउँ नै भेटिएन”, उहाँले भन्नुभयो, “माटो फाल्ने ठाउँ नपाउँदा समस्या भएको हो । त्यहाँ ३० मिटर ग्यावियन पर्खाल लगाएर काम रोक्ने सोचेको छु ।”
सुजन प्रेमी
बागलुङ, २४ जेठ २०७८ ।
बागलुङको जैमिनीमा आइतबार १३ जना कोरोना संक्रमित थपिएका छन् । ७१ जनाको एन्टिजेन परिक्षण गर्दा १३ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
कोरोना संक्रमण पुष्टि हुनेहरु सबै जैमिनी नगरपालिका वडा नं ६ अर्जेवाका रहेको स्वास्थ्य शाखाका संयोजक गोविन्द प्रसाद आचार्यले जानकारी दिनुभयो ।
२०७८ सालको बैशाखदेखि अहिलेसम्म नगरपालिकाका पाँच सय १४ जनाको नमूना परिक्षण भएको छ जसमध्ये दुईसय २४ जनामा संक्रमण देखिएको छ । संक्रमितमध्ये एकसय ६६ जना निको भएर नियमित काममा फर्किसकेका छन् ।
दोश्रो लयर सुरु भएसँगै परिक्षण गरिएकामध्ये चारसय चार जनाको पीसिआर परिक्षण भएको थियो भने एकसय १० जनाको एन्टिजेन विधिबाट परिक्षण गरिएको थियो । पीसिआर विधिबाट परिक्षण गर्दा दुईसय पाँच जनामा कोरोना संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट गरिएको परिक्षणमा १९ जनामा कोरोना देखिएको छ ।
अहिले जैमिनी नगरपालिकामा १०८ जना कोरोनाका सक्रिय संक्रमितहरु रहेका छन् । वडा नं १ मा दुईजना, वडा नं २ मा तीनजना, वडा नं ६ मा ५९ जना, वडा नं ७ मा २६ जना, वडा नं ८ मा १२ जना र वडा नं १० मा ६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य संयोजक आचार्यले बताउनुभयो । बाँकी वडाहरु अहिले संक्रमणमूक्त रहेका छन् । अहिले सक्रिय रहेका संक्रमितहरु सबै होम आइशोलेसनमा रहेका छन् । उनिहरुको अवस्था सामान्य रहेको छ ।
डेरी पसलहरुको आलटालले जैमिनीका किसानले दूधको भुक्तानी पाएनन्, अघिल्लो वर्ष देखिको पैसा बाँकी
बागलुङ, २२ जेठ २०७८ ।
दूधको भुक्तानी रोकिएपछि बागलुङको बलेवा र कुश्मीशेरा क्षेत्रका किसान मर्कामा परेका छन् । बागलुङ नगरपालिकाको अमलाचौर, नारायणस्थान र जैमिनी नगरपालिकाको कुश्मीशेराका किसानले उत्पादन गर्ने दूधको भुक्तानी रोकिएको हो । कुश्मीशेराको टुनीबोट, खौर, किसेक, बागलुङ नगरपालिका–१२ अमलाचौरको टाकुरी, सरङ्गी गाउँका किसानले लामो समयदेखि दूध विक्रीबापतको भुक्तानी नपाएका हुन् ।
कुश्मीशेराको टार र बागलुङ नगरपालिका—१४ को नारायणस्थानका किसानको पनि समस्या उस्तै छ । मुख्य आयस्रोत दूधको भुक्तानी नै रोकिएपछि किसानहरु मर्कामा छन् । दूध उत्पादनकै लागि पालिएका गाई भैंसीलाई खुवाउने दाना चापट र घर खर्च चलाउन समेत कठिन भएको किसान प्रेम पौडेल बताउनुहुन्छ । यहाँ उत्पादन भएको दूध बागलुङ र पर्वतका विभिन्न दूध डेरीहरुले खरीद गर्छन् । बागलुङको दक्षिणमा रहेका चार वटा दुग्ध उत्पादक सहकारीको साझा बिक्री केन्द्र गठन गरेर सहकारीहरुले दूध बिक्री गर्छन् ।
कालीगण्डकी, पल्लोपाखा, नवनमूना र बलेवा नारायणस्थान दुग्ध उत्पादक सहकारी संस्थाको सहभागिता रहेको संयुक्त बिक्री केन्द्र छ । बिक्री केन्द्रमार्फत दूध खरीद गरेका कतिपय डेरी पसलहरुले अघिल्लो वर्षको असारदेखिको पैसा भुक्तान गरेका छैनन् । ‘‘हाम्रो दूध लिने बागलुङको न्यू लक्ष्मी डेरीले अघिल्लो असारपछिको पैसा दिएकै छैन, पटकपटक ताकेता गर्दा समेत पैसा नआएपछि हामी प्रक्रियामा जाँदैछाँैं,’ संयुक्त विक्री केन्द्रका अध्यक्ष लीलाधर पौडेलले भन्नुभयोे, ‘‘डेरीहरुले रकम रोकिदिँदा सहकारीले किसानलाई उपलब्ध गराउन सकेनन् ।’’
पौडेलका अनुसार कुश्माको शीतल डेरी, मोदीकाली डेरी, न्यू कालिगण्डकी डेरी र बागलुङको अभिशेक डेरीलगायतका संस्थाले किसानको रकम भुक्तानी नदिएका हुन् । ‘झण्डै रु २५ लाख उठ्न बाँकी छ, केहीको एक वर्ष पुग्यो, केहीले चार÷पाँच महिनादेखि रोकेका छन्,’ पौडेल भन्नुहुन्छ, ‘‘यता सहकारीहरुले आफ्नै स्रोतबाट पनि किसानको रकम भुक्तानी गर्न सक्ने अवस्था छैन ।’’ बिक्री भएको दूधकै पैसा नआएका कारण किसानलाई समयमा भुक्तानी दिन कठिन भएको कालीगण्डकी दुग्ध उत्पादक सहकारी संस्थाका सचिव रुद्रनाथ शर्माले बताउनुभयो ।
यहाँका डेरी पसलहरुले भुक्तानी समयमा नदिएपछि अहिले चार वटै सहकारीबाट उत्पादित दूध पोखराको लभकुश डेरीमा पठाउन थालिएको छ । चार वटा सहकारीले दैनिक एक हजार लिटर दूध उत्पादन गर्छन् । ‘‘पोखराको डेरीबाट हाम्रै दूध ल्याएर बेचेका छन् तर हाम्रो पुरानो पैसा दिँदैनन्’’, पौडेल भन्नुहुन्छ, ‘‘वैशाख यता पोखरा गएको दूधको भुक्तानी भने रोकिएको छैन ।’’
सहकारीहरुको संयुक्त बैठकले एकपटक आग्रह गर्ने र भुक्तानी नपाए कानुनी प्रक्रियामा जाने निर्णय गरेको अध्यक्ष पौडेलले सुनाउनुभयो । मुख्य याममा दूध ‘होलिडे’ गर्न लगाउने र बेमौसममा खरीद गर्ने गरेका डेरी पसलहरुले किसानको दूधको भुक्तानीमा भने आलटाल गर्दै आएका छन् । समयमा भुक्तानी नपाउँदा किसान भने पेशाप्रति नै निराश हुने गरेका छन् ।
विद्यार्थी नेता शर्माद्वारा जैदिका कोरोना संक्रमितहरुलाई स्वास्थ्य सामग्री वितरण
बागलुङ, २२ जेठ २०७८ ।
जैदिका कोरोना संक्रमितहरुलाई स्वास्थ्य सामग्री वितरण गरिएको छ । नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि एवं नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रिय सह–महामन्त्री हरिहर शर्माले आप्mनी आमाको जन्मदिनको अवसरमा स्वास्थ्य सामग्री वितरण गर्नुभएको हो ।
आमा नर्मदा देवि उपाध्यायको जन्मदिको अवसरमा जैमिनी नगरपालिका ७ जैदिका २६ जना कोरोनाका सक्रिय संक्रमितहरुलाई मास्क लगाएतका स्वास्थ्य सामग्री वितरण गरिएको शर्माले जानकारी दिनुभयो । कोरोना संक्रमितहरु होम आईशोलेसनमा बस्दा सामान्य तर महत्वपूर्ण स्वास्थ्य सामग्रीहरुको अभाव नहोस् भनेर आफूले सहयोग गरेको उहाँको भनाई छ ।
शर्माले यसअघि पनि बिभिन्न ठाउँमा स्वास्थ्य सामग्रीहरु सहयोग गर्नुभएको थियो ।
जैमिनीमा ५ जना कोरोना संक्रमित थपिए, ९५ जना सक्रिय संक्रमित- सम्पूर्ण तथ्यांक यस्तो छ
सुजन प्रेमी
बागलुङ, २१ जेठ २०७८ ।
बागलुङको जैमिनीमा शुक्रबार पाँचजना कोरोना संक्रमित थपिएका छन् । बिहिबार स्वाव संकलन गरी पीसिआर परिक्षणको लागि पठाइएकोमा पाँचजनामा संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमण पुष्टि हुनेहरुमा जैमिनी नगरपालिका वडा नं १ का दुईजना र जैमिनी नगरपालिका २ का तीनजना रहेको स्वास्थ्य शाखाका संयोजक गोविन्द प्रसाद आचार्यले जानकारी दिनुभयो । बिहिबार जैमिनी नगरपालिका १ र २ नम्बर वडाका १८ जनाको स्वाव संकलन गरी पीसिआर परिक्षणको लागि पठाइएको थियो ।
२०७८ सालको बैशाखदेखि अहिलेसम्म नगरपालिकाका चार सय ४३ जनाको नमूना परिक्षण भएको जसमध्ये दुईसय ११ जनामा संक्रमण देखिएको थियो । संक्रमितमध्ये एकसय ६६ जना निको भएर नियमित काममा फर्किसकेका छन् । परिक्षण गरिएकामध्ये चारसय चार जनाको पीसिआर परिक्षण भएको थियो भने ३९ जनाको एन्टिजेन विधिबाट परिक्षण गरिएको थियो । पीसिआर विधिबाट परिक्षण गर्दा दुईसय पाँचजनामा कोरोना संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट गरिएको परिक्षणमा ६ जनामा कोरोना देखिएको छ । उनिहरु सबै जैमिनी १० का हुन् ।
अहिले जैमिनी नगरपालिकामा ९५ जना कोरोनाका सक्रिय संक्रमितहरु रहेका छन् । वडा नं १ मा दुईजना, वडा नं २ मा तीनजना, वडा नं ६ मा ४६ जना, वडा नं ७ मा २६ जना, वडा नं ८ मा १२ जना र वडा नं १० मा ६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य संयोजक आचार्यले बताउनुभयो । बाँकी वडाहरु अहिले संक्रमणमूक्त रहेका छन् । अहिले सक्रिय रहेका संक्रमितहरु सबै होम आइशोलेसनमा रहेका छन् । उनिहरुको अवस्था सामान्य रहेको छ ।
छाक टार्न समस्या भयो ? ११८० मा सम्पर्क गर्नुस्- एम्बुलेन्स् चाहिएपनि निःशुल्क उपलब्ध
काठमाडौँ, २० जेठ २०७८ ।
काठमाडौँ महानगरपालिकाले बन्दाबन्दीको समयमा कसैलाई छाक टार्न समस्या भए हटलाइन नम्बर ११८० मा फोन गर्न आग्रह गरेको छ ।
दोस्रो लहरको काभिड–१९ का कारण देशका अधिकांश जिल्लामा बन्दाबन्दी गरिएको छ । यस समयमा कसैलाई दैनिकी चलाउनका लागि खाद्य सामग्री आवश्यक परे महानगरपालिकाको हटलाइन नम्बरमा फोन गर्न भनिएको हो । अघिल्लो वर्षको कोरोना महामारीका समयमा विभिन्न सङ्घसंस्था र महानगर आफैँले पनि वडासँग समन्वय गरी समस्यामा परेकालाई खाद्य सामग्री वितरण गरेको थियो ।
“गत वर्षको तुलनामा यस वर्ष खानका लागि समस्या प¥यो भन्दै आउनेको सङ्ख्या एकदमै कम रहेको छ, आएकालाई वडा कार्यलयमार्फत सहयोग गरिरहेका छौँ”, महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले भन्नुभयो, “कोही समस्यामा परेर पनि कहाँ सम्पर्क गर्ने भनेर अन्योल हुनुभएको भए आफू बसोबास गरेको स्थानसहित ११८० मा फोन गरेर जानकारी गराउन आग्रह गर्दछु ।”
यसरी जानकारी प्राप्त भएपछि महानगरपालिकाका ३२ वडामध्ये कुन वडाबाट सहयोग गर्न सहयोग हुन्छ सोहीअनुरुप आवश्यक खाद्य सामग्री सहयोग गरिने जनाइएको छ । “कोभिडका बिरामीलाई उपचारमा सहज होस् भन्ने हेतुले बिरामीलाई अस्पताल पुग्न पनि कोभिड–१९ का बिरामीका लागि फोन नं १०२ मार्फत १० र नन्कोभिड बिरामीका लागि १० गरी कूल २० निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको छ । त्यसबाट हालसम्म २२ हजार कोभिड सङ्क्रमित बिरामी र १२ हजार नन्कोभिड बिरामीले सेवा लिएका छन् ।
महानगरपालिकाले अक्सिजनको चरम अभावका कारण उत्पन्न असहज अवस्थालाई ध्यानमा राखेर अक्सिजनकै कारण अस्पतालमा हुने बिरामीको चापलाई कम गर्न ३०९ शय्याको आइसोलेशन र विषेश अस्पताल सञ्चालनमा ल्याएको छ । महानगरको आर्थिक सहयोगमा सामाखुशीस्थित राधास्वामी सत्सङ्ग भवनमा नेपाली सेनाको व्यवस्थापनमा ८८ अक्सिजनसहित १७४ शय्याको आइसोलेशन केन्द्र, आयुर्वेद अस्पतालमा ५० अक्सिजनसहित १०० शय्याको आइसोलेशन केन्द्र र छत्रपाटी निःशुल्क चिकित्सालयमा आइसीयू तथा भेन्टिलेटरसहितको ३५ शय्याको कोभिड–१९ विशेष अस्पताल सञ्चालनमा छ ।
हाल महानगरपालिकामा ६२ हजार ३८३ कोरोना सङ्क्रमित रहेकामा ५१ हजार १६७ निको भएका छन् भने १० हजार ९५ होमआइसोलेशन र १८६ संस्थागत आइसोलेशनमा रहेका छन । त्यस्तै यहाँ हाल १० हजार ७९७ सक्रिय सङ्क्रमित रहेका र यहाँ ५१६ जनाले अस्पतामा उपचार गराइरहेका छन् । यहाँ कोरोनाका कारण ४१९ ले ज्यान गुमाएको तथ्याङ्कमा उल्लेख छ ।
Breaking News: चन्द्रागिरिकाे पुरानाे नैकापमा माटाेकाे ढिस्काेले पुरिएर दुई जनाकाे मृत्यु
काठमाण्डाै, १९ जेठ २०७८ ।
काठमाण्डाैकाे पुरानो नैकापमा माटाेकाे ढिस्कोले पुर्दा दुई जनाको ज्यान गएको छ । चन्द्रागिरि नगरपालिका वडा नम्बर १३ पुानाे नैकापमा माटोको ढिस्को खसेर पुरिँदा दुई जनाको ज्यान गएको हाे ।
कङ्काली मन्दिर नजिकै प्लटिङ गरिएको जग्गामा पर्खाल लगाउने क्रममा माटाेकाे ढिस्को खस्दा काम गर्दै गरेका दुई जनाको मृत्यु भएकाे अन्य दुई जना घाइते भएकाे महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहन खाँणले जानकारी दिनुभयो ।
मृत्यु हुनेमा उदयपुरको बेलका नगरपालिका वडा नम्बर ८ घर भएकी सीता राई र मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ९ घर भएका टेकबहादुर चेपाङ रहेका छन् । घटनामा उदयपुर कटारीका मिलन तामाङ र धादिङ गल्छी गाउँपालिकाका हरि घले घाइते भएका छन् । उनिहरूलाई उपचारकाे लागि अस्पताल लगिएकाे प्रहरीले जनाएकाे छ ।
सर्लाही, १९ जेठ २०७८ ।
सर्लाही जिल्लाका व्यापारीहरुले दैनिक उपभोग्य वस्तु तथा खाद्यान्नको मूल्य वृद्धि गराएका छन् । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको दोस्रो भेरियन्टको सङ्क्रमण दिनानुदिन बढ्दै गएको मौका छोपी जिल्लाका व्यापारीहरुले दैनिक उपभोग्य वस्तुको मूल्य बढाएका हुन् ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीले कोभिड–१९ को सङ्क्रमण नियन्त्रण गरी सामुदायिकस्तरमा फैलिन नदिन जिल्लाभरि निषेधाज्ञा जारी गरेसँगै जिल्लाका व्यापारीहरुले आफूखुसी खाद्यान्नसहित अन्य दैनिक उपभोग्य वस्तुमा कृत्रिम मूल्य वृद्धि गरेका हुन् । कोरोना भाइरसबाट सङ्क्रमित हुने चिन्ताले सताइरहेको बेला एकाएक सबैखाले उपभोग्य सामग्रीको बजार भाउ बढेपछि सर्वसाधारण चिन्तित बनेका छन् । दिनभरको कमाइले साँझ बिहान हातमुख जोड्ने सर्वसाधारण कृत्रिम मूल्य वृद्धिबाट सबैभन्दा बढी मारमा परेको स्थानीय जानकार उमासिंह साहले बताउनुभयो ।
थोक व्यापारीहरुले नै सामानको मूल्य बढाएपछि बाध्य भएर आफूहरुले पनि मूल्य बढाएको साना तथा खुद्रा व्यापारीले बताएका छन् । बजारमा अहिले चामल, दाल, चना, मटर ,खानेतेलदेखि प्याकिङ गरिएका खाद्य वस्तुहरुमा मूल्य वृद्धि भएको छ । निषेधाज्ञाअघि थोक व्यापारीले प्रतिकार्टुन रु दुई हजार ४५० मा दिँदै आएको सनफ्लावर खानेतेल अहिले प्रतिकार्टुनमा रु १०० ले बढाएर रु दुई हजार ५५० मा बिक्री गर्ने गरेको लालबन्दीका एक खुद्रा व्यापारी जोगिन्द्र महतोले बताउनुभयो ।
जिल्लाका शहरी तथा ग्रामीण भेगका बजारमा सबैखाले सामानमा निषेधाज्ञा हुनुअघिको खुद्रा मूल्य र त्यसपछिको मूल्यमा रु १० देखि रु १००य सम्म बढाएर बिक्री भइरहेको पाइएको छ ।
ग्रामीण भेगका व्यापारीहरुले बजारमा रिचार्ज कार्डको कमी भएको भन्दै रु ५० को रिचार्ज कार्डमा रु पाँच र १०० को रिचार्ज कार्डमा रु १० थप गरेर लिने गरेको स्थानीय उपभोक्ताहरुको गुनासो छ । थोक बिक्रेताले सबैखाले वस्तुमा मूल्य बढाएका कारण सानातिना खुद्रा बिक्रेताले समेत बाध्य भएर मूल्य बढाउनुपरेको व्यवसायीहरुको भनाइ छ । निषेधाज्ञाका बेला पनि सरकारले खाद्यान्नलगायतका अन्य दैनिक उपभोग्य वस्तुको आयात निर्यातमा कुनै रोक नलगाएको भए पनि ढुवानी र लोड अनलोड गर्न मजदुरहरुको अभाव देखाएर थोक बिक्रेताले सबै वस्तुमा मूल्य बढाएको खुद्रा बिक्रेताको भनाइ छ ।
यसरी अस्वाभाविकरूपमा दैनिक उपभोग्य सामग्रीको मूल्य वृद्धि भएको विषयमा जान्दाजान्दै सरोकारवाला तथा नियमनकारी निकाय अनभिज्ञ हुँदा निषेधाज्ञाले गर्दा रोजगारी गुमाएका सर्वसाधारण विपन्न वर्ग महँगोमा खाद्यान्न किन्न बाध्य भएको स्थानीयवासी सुन्दरश्याम यादवले गुनासो गर्नुभयो । उहाँका अनुसार लकडाउनसँगै खाद्यान्नलगायतका दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भइरहँदा स्थानीय निकाय, उद्योग वाणिज्य सङ्घ र जिल्लास्तरीय बजार अनुगमन समिति मौन बसेको सर्वसाधारणको आरोप छ ।
स्थानीय सरकारसँग बजार अनुगमन गर्ने, कालोबजारी तथा महँगी नियन्त्रण गर्ने, कारवाही गर्ने र सङ्कटको बेला अत्यावश्यक वस्तुको अभाव हुन नदिने जिम्मेवारी तथा अधिकार रहे पनि सो अनुसारको काम गर्न स्थानीय सरकारले तादरुकता देखाएका छैनन् ।
शहर बजारभन्दा ग्रामीण तथा दुर्गम क्षेत्रमा खाद्यान्नलगायतका सामग्रीहरुमा मूल्य वृद्धि भइरहेको गुनासो बढेको छ । गत वर्ष पनि लकडाउनको समयमा यसैगरी मनपरि मूल्य वृद्धि भएको थियो । त्यो बेला पनि सरोकारवाला र नियमनकारी निकायले बजार अनुगमन, कारवाही तथा महँगी नियन्त्रणका लागि केही प्रयास नगरेको स्थानीय उपभोक्ताको गुनासो छ । अहिले पनि उनीहरु थाहा पाएर पनि थाहा नपाएको जस्तो गरी मौन बसेका छन् ।
यस्तो सङ्कटको परिस्थितिमा स्वास्थ्य समस्याबाट गुज्रिरहेका आम नागरिकलाई थप सङ्कटको भुमरीमा नपार्न यतिबेला प्रभावकारी बजार अनुगमनको आवश्यक्ता रहेकोले जिल्लाका २० वटै स्थानीय निकायले आ–आफ्नो स्तरबाट कालोबजारी र अस्वाभाविक मूल्य वृद्धि रोक्न कदम चाल्न जरुरी रहेको जानकारहरुको भनाइ छ ।