मुडा,कैलाली । कैलालीको बर्दगोरिया गाउँपलिका वडा नम्बर ४ मा रहेको निमुवाबोझी आधारभुत स्वास्थ्य सेवा केन्द्रबाट महिलाका लागि परिवार नियोजनका साधन इम्प्लान्ट सेवा दिन थालिएको छ। तालिमप्राप्त जनशक्तिको व्यवस्थासहित स्वास्थ्य सेवा केन्द्रबाट आइतबारदेखि महिलाका लागि परिवार नियोजनका अस्थायी साधन इम्प्लान्ट सेवा दिन सुरु गरिएको स्वास्थ्य सेवा केन्द्रका प्रमुख अनिल विक्रम सिङले जानकारी दिए ।
सिंहकाअनुसार स्थानीय महिलाले परिवार नियोजनको अस्थायी साधन पाँच वर्षे इम्प्लान्ट राख्ने र झिक्ने सेवा सुरु गरिएको हो । सन्तानको रहर पुगेका र सन्तानबीच जन्मान्तर समय बढाउन महिलाले अस्थायी साधनको रूपमा यसको प्रयोग गर्न सक्नेछन् । उनकाअनुसार परिवार नियोजनका सबै साधनहरु सरकारी स्वास्थ्य संस्थाहरुमा निःशुल्क पाइन्छन् ।
गाउँमै रहेको स्वास्थ्य सेवा केन्द्रबाट यो सेवा शुरु भएपछि स्थानीय महिलालाई सहज भएको छ । जनशक्ति नभएका कारण यसअघि उक्त स्वास्थ्य सेवा केन्द्रबाट सो सेवा दिने गरिएको थिएन ,वडा नम्बर ४ का अध्यक्ष जगत बहादुर शाहीले भन्नुभयो – अब उक्त साधन प्रयोग गर्न चाहे बाहिर अस्पताल जानुु नपर्ने भएको छ ।
तालिमप्राप्त जनशक्तिको व्यवस्थासहित यो सेवा सुरु भएपछि आवश्यक पर्ने महिलालाई इम्प्लान्ट सेवा स्वास्थ्य सेवा केन्द्रबाटै सुरु गरिएको हो । यसबाट महिलालाई सेवा लिन सहज, बाहिर धाउन नपर्ने, समय बचत र आर्थिक व्ययभार पनि कम हुनेछ।