महोत्तरी। महोत्तरीको एक स्थानीय तहको वडामा पराजित भएका उम्मेदवार निर्वाचन भएको चार वर्षपछि अदालतको आदेशमा भएको पुनः मतगणनामा विजयी भएका छन्।
महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नम्बर १० को वडाध्यक्षका लागि भएको पुन: मतगणनामा स्वतन्त्र उम्मेदवार रमेश कुमार राय विजयी भएका हुन्।
यसअघि नेपाली काँग्रेसबाट अरुणकुमार चौधरी धाँधली गरी निर्वाचित भएको भन्दै अदालतमा मुद्दा दायर भएको थियो। त्यसपछि अदालतको फैसलामा भएको पुनः मतगणनामा राय २ मतको झिनो मतान्तरले चार वर्षपछि निर्वाचित भएको निर्वाचन अधिकृत खगराज अधिकारीले जानकारी दिए। अधिकारीका अनुसार रायले २ सय ६८ मत ल्याउँदा चौधरी २ सय ६६ मत मात्रै ल्याए।
२०७४ साल असोज २ गते भएको स्थानीय तहको निर्वाचनको परिणाम २०७४ असोज ८ गते प्रकाशित भएको थियो। जसमा राजपाले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका रमेशकुमार राय र नेपाली काँग्रेसका उम्मेदवार अरुणकुमार चौधरीले समान २६७ मत ल्याएका थिए। दुवै जनाको मत बराबर भएपछि गोलाप्रथाबाट चौधरी निर्वाचित भएका थिए।
निर्वाचन अधिकृत आमबहादुर बानियाँले बदर मतमध्येबाट ३ मत चौधरीको पक्षमा पारेको आरोप लगाउँदै निकटतम प्रतिद्वन्द्वी रहेका राय अदालतमा मुद्दा दायर गरेका थिए। सोही मुद्दामा उच्च अदालतले २०७५ असार २१ गते १५ दिनभित्र पुनः मतगणना गर्न आदेश दिएको थियो।
तर उच्च अदालतको आदेशपछि पनि अरुण कुमार चौधरी सर्वोच्चसम्म पुगे। सर्वोच्चले पनि मुद्दाको सुनुवाइ गर्दै २०७७ चैत ६ गते उच्च अदालत जनकपुरकै फैसलालाई सदर गरेको थियो।