बौनिया,कैलाली । कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर १ बडिकाथाईमा रहेको दानविर सामुदायिक वनले आम्दानी भएको रकम सामाजिक क्षेत्रमा खर्च गर्दै आएको छ । उक्त सामुदायिक वनले ढलापडा काठ, दाउरा, ढुङ्गा बिक्री गरेर आउने रकम सामाजिक क्षेत्रको विकासमा लगानी गरि उदाहरणिय काम थालेको हो ।
बिहीवार सामुदायिक वनको चौथो वार्षिक साधारणसभामा वनका अध्यक्ष प्रेमबहादुर बुढाले वनको आम्दानीको रकम गाउँको शैक्षिक क्षेत्र ,सडक निर्माण तथा मर्मत खानेपानी ,विद्यालयको भौतिक पूर्वाधार विकास गर्न र विपन्न अवस्थाका उपभोक्ताको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि समेत खर्च गर्ने गरेको बताउनुभयो । समुदायस्तरमा वन उपभोक्ता समूहले वन विकास कार्यक्रमसंगै स्थानीय जनताको प्रत्यक्ष सरोकार र आवश्यकतालाई मध्येनजर गरि सार्वजनिक हित तथा विकास निर्माणकार्यमा प्राथमिकता दिएर लगानी गरिएको उहाँले बताउनुभयो ।
वनको आम्दानी वनको विकास संगै सामाजिक क्षेत्रमा लगानी गरि उपभोक्ताको जिवबमा सुधारको कार्य थालनी गरिएको बताउनुभयो । उहाँले सामाजिक क्षेत्रमा वनको लगानीले स्थानीय उपभोक्तानै लाभान्वित हुँदै आएको उहाँले बताउनुभयो । उहाँले वन विकास ,वनको संरक्षण तथा सामाजिक क्षेत्रको वनको लगानीले उपभोक्ताले रोजगारी समेत पाउने गरेको बताउनुभयो ।
उहाँले सामुदायिक वनको आम्दानीले सवैभन्दा पहिलो प्राथमिकता वन विकास नै भएको पनि बताउनुभयो । सामुदायिक वनले आफ्ना नयाँ कार्यक्रम अन्तर्गत यसवर्ष पनि वन क्षेत्रको विकासका लागि डढेलो नियन्त्रण ,गस्ती परिचालन ,ढढेलो नियन्त्रण सम्बन्धि जनचेतनामूलक तालिम,अग्नि नियन्त्रण सम्बन्धि प्रचारप्रसार तथा सामाग्री,चोरी निकासी रोक्न तारबार, बृक्षारोपण, गोडमेल ,झाडी सरसफाइ लगाएतका कार्यक्रम गर्ने जनाएको छ । यी कार्यक्रममा समेत स्थानीय उपभोक्ता कै सहभागी हुनेहुदा रोजगारीको आधार समेत सामुदायिक वनबाटै हुने अध्यक्ष प्रेम बुढा क्षेत्रीले बताउनुभयो ।
यतिमात्र नभई दानविर सामुदायिक वनले उपभोक्तालाई करिव १० लाख बराबरको अनुदानमा बाख्रा वितरण गर्ने जनाएको छ । महिला संस्थाको लागि घुम्ती नमूना कोष, वनको सामुदायिक भवन, वन संरक्षण सम्बन्धि जनचेतनामुलक होडिङ बोर्ड राख्ने भएको छ । यसैगरी
सडक विकासको लागि २५ लाख, सिचाइको लागि २ लाख ५० हजार ,खानेपानीको लागि ७ लाख ५० हजार,
जेहेन्दार विद्यार्थीको सहयोगको लागि ५० हजार रुपैयाँ बजेट बिनियोजन गरेको जनाएको छ ।
यसअघि उक्त सामुदायिक वन उपभोक्ता समूहले आफ्नै लगानीमा ५ किलोमिटर मोटरबाटो निर्माण गरेको थियो। सामुदायिक वनको आम्दानीको ९ लाख रुपैयाँ लगानीमा पैदलमार्गको मर्मत तथा स्तरोन्नति गरि मोटरबाटोको रूपमा विकास गरिएको थियो ।
१ सय ३६ घरधुरीका उपभोक्ताले सामुदायिक वनमा आबद्ध भएर विभिन्न रूपमा वनको कार्यक्रमबाट सेवा उपभोग तथा लाभ लिइरहेको उपभोक्ता समूहले दावी गरेको छ ।
सामुदायिक वनले वार्षिक कार्य योजनाअनुसार उपभोक्ता समूहको आम्दानीको २५ प्रतिशत रकम सामुदायिक वन विकास, ३५ प्रतिशत रकम स्थानीय गरीब विपन्नवर्गको उत्थानका लागि र बाँकी ४० प्रतिशत रकम सार्वजनिक हित तथा प्रशासनिक कार्यमा खर्च गर्दै आएको जनाएको छ ।