रुपन्देही । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिनुभएको छ । प्रेमी भनिएका व्यक्तिको घरमा पुगेर लफडा गरेको भन्दै विवादमा तानिएकी ओलीले मुख्यमन्त्री कुलप्रसाद केसीलाई राजीनामा बुझाउनुभएकाे हाे ।
खत्रीले असार १२ गते नै राजीनामा दिएको र आज मुख्यमन्त्री कुलप्रसाद केसीले उक्त राजिनामाबारे सदनलाई जानकारी दिन लागेको माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले जानकारी दिनुभयो ।
जेठ ३१ गते दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई कुटपिट गरेपछि उक्त घटनाको बारे छानबिन गर्न प्रदेशसरकारले समिति समेत गठन गरेको थियो ।
सो प्रकरणमा उहाँ प्रहरी नियन्त्रणमासमेत पर्नुभएको थियो भने पछि बिरामी भएको भन्दै उपचारका लागि बुटवल लगिएको थियो । बुटवलमा केही दिन बसेर दाङमा बस्दै आउनुभएको उहाँले अन्ततः राजीनामा दिनुभएको हो ।
छानबिन समितिले आज प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरिरहेको बेला खत्रीले राजिनामा दिएकी हुन् । प्रतिवेदनमा उनको कमजोरी भेटिएपछि सरकारले उनलाई राजिनामा गर्न लगाएर आजै बजेट पास गर्न लागेको हुनसक्ने आँकलन गरिएको छ ।
पति उत्तरकुमार ओलीको निधन भएपछि विमला दाङ क्षेत्र नम्बर ३ (ख)मा भएको उपनिर्वाचनमा निर्वाचित भएकी थिइन् ।