बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा १९ औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइएको छ । महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको प्रतिबद्धता ,स्वास्थ्य प्रवर्द्धनमा हाम्रो ऐक्यबद्धता “भन्ने मुल नारासहित सोमबार यो दिवस वडा नम्बर १ बौनियामा मनाइएको हो ।
पालिकाको स्वास्थ्य शाखाको आयोजनामा आयोजित कार्यक्रमको वडा नम्बर ४ कि महिला स्वास्थ्य स्वयंसेविका लालपरी चौधरीको सभाध्यक्षतामा भएको थियो । जसको प्रमुख अतिथी पालिका अध्यक्ष कर्ण बहादुर कुवर, विशिस्ट अतिथिमा पालिका उपाध्यक्ष गणेश राज गिरि र अतिथिमा वडा नम्बर १ का अध्यक्ष मिथुन गौतम वडा नम्बर २ का अध्यक्ष गोविन्द विक लगएत रहेका थिए ।
दिवसका अवसरमा पालिकाका ६ वटै वडामा रहेका स्वास्थ्य संस्था मातहत रही जिम्मेवारी अनुसार उत्कृष्ट काम गरेको भन्दै महिला स्वयंसेविकालाई कदर पत्रसहित सम्मान गरिएको छ । कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गर्दै पालिका अध्यक्ष कर्ण बहादुर कुवरले स्वास्थ्यका क्षेत्रमा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाले पुर्याएको योगदानको उच्च मुल्यांकन गरे ।
यस दिवसलाई खासगरी महिला स्वास्थ्य स्वयंसेविकाको कदर र मनोबल उच्च राख्ने उद्देश्यका रूपमा मनाउने गरिएको भए तापनि प्रत्येक वर्ष मनाइने यस्ता दिवसले महिला स्वास्थ्य स्वयंसेविकाको कामको कदर र सम्मानमा के भूमिका खेल्दै आइरहेको छ भन्ने प्रश्न जहाँको त्यहीँ नै छ ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गणेश राज गिरिले महिला स्वास्थ्य स्वयंसेविकाहरू स्वास्थ्य क्षेत्रको मेरुदण्ड भएको बताए । उनले महिला स्वास्थ्य स्वयंसेविकाले आफूले काम गरिरहेको समुदाय र स्वास्थ्य प्रणालीलाई जोड्ने पुलको काम गरिरहेका बताए ।
खासगरी, महिला तथा बालबालिकाको स्वास्थ्यको क्षेत्रमा मानिसको ढोका–ढोकामा पुगेर स्वास्थ्य सेवा दिने काम उनीहरूले गरिरहेका छन् । नेपालमा बालबालिका तथा मातृ मृत्यदर प्रभावकारी रूपमा घट्नुका पछाडि स्वास्थ्य स्वयंसेविकाको उल्लेखनीय योगदान रहेको पाइन्छ ।
विनापैसा दिनदिनै घरको काम छाडेर बाहिर जाने भनेर परिवारका सदस्यको रुखो बोली धेरै स्वास्थ्य स्वयंसेविकाले खाइरहेका छन् । हाम्रोजस्तो पितृसत्तात्मक मुलुकमा पारिवारिक जिम्मेवारी सँगसँगै विनापारिश्रमिक निश्चित समयसीमाविनाको काममा अहोरात्र खटिरहनु ठट्टाको विषय हुनै सक्दैन ।