बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गौतमले आफ्नो छोरालाई सरकारी विद्यालयमा भर्ना गराएका छन् । वडा नम्बर १ कट्टिपुरमा रहेको श्री वालकन्या माध्यामिक विद्यालयमा उनले छोरालाई भर्ना गराएका हुन् ।
समयमै भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान` भन्ने मुल नारासहित देशभर विद्यार्थी भर्ना अभियान चलिरहेका बेला वडा अध्यक्ष गौतमले आइतबार छोरालाई सामुदायिक विद्यालयमा भर्ना गराएका हुन । उनका छोरा प्रसान्त गौतम कक्षा ९ मा भर्ना गरिएको हो । उनी यसअघि पनि सोही विद्यालयमा अध्यनरत विद्यार्थी हुन । पछिल्लो समय नेता तथा कर्मचारीका छोराछोरी सामुदायिक विद्यालय नभैइ संस्थागत विद्यालयमा आफ्ना छोराछोरी पढाउने गरेको आरोप चुलिरहेका बेला त्यसको चिरफार गर्न आफुले आफ्नो छोरालाई पुनः सामुदायिक विद्यालयमै भर्ना गराएको वडा अध्यक्ष गौतमले बताए ।
छोराको भर्नासँगै विद्यालयका तर्फबाट नयाँ पाठ्यपुस्तक वितरण गरीएको थियो । सामुदायिक विद्यालयहरूमा शैक्षिक गुणस्तर सुधार गर्नका लागि शिक्षक, सरकारी कर्मचारीहरू र जनप्रतिनिधिहरूले अनिवार्य रुपमा सामुदायिक विद्यालयमा छोराछोरी पढाउनु पर्ने विषयले चर्चा पाइरहेका बेला वडा अध्यक्ष गौतमले आफ्नो छोरालाई सामुदायिक विद्यालयमा भर्ना गराएका हुन् ।
सो क्रममा वडा अध्यक्ष गौतमले सामुदायिक विद्यालयमा नेता, सरकारी कर्मचारी तथा शिक्षकहरूले आफ्ना छोराछोरी भर्ना नगरेसम्म शिक्षाको गुणस्तर वृद्धि नहुने उनले बताए । सामुदायिक विद्यालयको शिक्षा गुणस्तरीय बनाउन भर्ना अभियानमा सहयोग गरेको उल्लेख गर्दै शिक्षक, कर्मचारीलगायत उच्च ओहोदाका व्यक्तिहरू अनिवार्य रुपमा आफ्ना बालबालिकालाई सरकारी विद्यालयमा भर्ना गर्न हुन उनले अनुरोध समेत गरे ।
वडा अध्यक्ष गौतम यसअघि बालकन्या माद्यामिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत हुन् । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुँदा उनले विद्यालयको शैक्षिक तथा भौतिक पुर्वाधार विकासमा ठूलो योगदान पुर्याएका थिए ।