काठमाडौं। सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौति दिएका छन्।
पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संसदलाई २/२ चोटी विघटन गर्ने एमालेलाई संसदमा आउन समेत लाज हुनुपर्ने टिप्पणी गरे। सोमबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा उनले अलिकति पनि नैतिकता छ भने एमालेका सांसदहरुले संसद अवरुद्ध पारेर बस्ने नभई राजीनामा गरेर जनताको बीचमा जानुपर्ने प्रतिक्रिया दिए।
अध्यक्ष भट्टराईले सर्वोच्चको फैसला मान्दैनौं भन्ने एमालेले संविधानको सर्वोच्चता र संसदीय मर्यादाको कुरा गर्नु सरमको विषय भएको पनि दोहोर्याए। उनले भने, ‘जसले संसदलाई २/२ चोटी विघटन गर्छ ती मान्छेहरुले लाजै पचाएर संवैधानिक सर्वोच्चता कायम गर भन्ने। सर्वोच्चको फैसला मान्दैनौ भन्ने अनि संवैधानिक सर्वोच्चता भन्ने? अनि संसदीय मर्यादा कायम। जुन संसदलाई विघटन गरिसक्यो, उसले त्यो संसदमा आउन त लाज हुनुपर्ने हो। मैले पार्टी छोडिसके पछि दोस्रो संविधानसभापछि २०७२ सालमा तुरुन्तै राजीनामा गरेको थिए। उहाँहरुमा अलिकति पनि नैतिकता छ भने राजीनामा गरेर जनताबीच जानुपर्छ।’
भट्टराईले एमालेले आफैंले विघटन गरेको संसदमा अवरोध सृजना गरेर निर्लज्जताको पराकाष्ठा देखाएको उल्लेख गर्दै त्यसबारे आफूले थप टिप्पणी गर्न नचाहेको बताए।