प्रधानन्यायाधीश अस्वस्थ: बसेन संवैधानिक इजलास
काठमाडौँ, २४ जेठ २०७८ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको स्वास्थ्यमा समस्या देखिएपछि प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आज नहुने भएको छ । प्रधानन्यायाधीशका अध्यक्षतामा संवैधानिक इजलासमा सुनुवाइ हुने संवैधानिक व्यवस्थानुसार उहाँको अनुपस्थितिमा इजलास सञ्चालन हुदैन ।
सर्वोच्च अदालतका प्रवक्ता देवेन्द्र ढकालका अनुसार प्रधानन्यायाधीश राणा बिसन्चोका कारण आज अदालतमा आउनुभएको छैन । त्यसैले संवैधानिक इजलासमा सुनुवाइ स्थगन भएको छ ।
प्रधानन्यायीश राणासहित वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलास आइतबार गठन गरी सुनुवाइ शुरु गरेर हेर्दाहेर्दैमा आजका लागि राखिएको थियो ।
इजलास गठनकै विवादमा विवाद भएपछि विषयवस्तुमा केन्द्रित भएर अहिलेसम्म सुनुवाइ प्रारम्भ हुन सकेको छैन । उक्त विवादमा ३० वटै रिट निवेदन परेका छन् । मन्त्रिपरिषद्को यही जेठ ८ को सिफारिसमा प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन तोक्ने गरी राष्ट्रपतिको जेठ ८ गतेको निर्णय बदर गरेर असंवैधानिक र गैरकानूनी घोषणा गर्ने माग ती निवेदनमा गरिएको छ ।
सुजन प्रेमी
बागलुङ, २४ जेठ २०७८ ।
बागलुङको जैमिनीमा आइतबार १३ जना कोरोना संक्रमित थपिएका छन् । ७१ जनाको एन्टिजेन परिक्षण गर्दा १३ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
कोरोना संक्रमण पुष्टि हुनेहरु सबै जैमिनी नगरपालिका वडा नं ६ अर्जेवाका रहेको स्वास्थ्य शाखाका संयोजक गोविन्द प्रसाद आचार्यले जानकारी दिनुभयो ।
२०७८ सालको बैशाखदेखि अहिलेसम्म नगरपालिकाका पाँच सय १४ जनाको नमूना परिक्षण भएको छ जसमध्ये दुईसय २४ जनामा संक्रमण देखिएको छ । संक्रमितमध्ये एकसय ६६ जना निको भएर नियमित काममा फर्किसकेका छन् ।
दोश्रो लयर सुरु भएसँगै परिक्षण गरिएकामध्ये चारसय चार जनाको पीसिआर परिक्षण भएको थियो भने एकसय १० जनाको एन्टिजेन विधिबाट परिक्षण गरिएको थियो । पीसिआर विधिबाट परिक्षण गर्दा दुईसय पाँच जनामा कोरोना संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट गरिएको परिक्षणमा १९ जनामा कोरोना देखिएको छ ।
अहिले जैमिनी नगरपालिकामा १०८ जना कोरोनाका सक्रिय संक्रमितहरु रहेका छन् । वडा नं १ मा दुईजना, वडा नं २ मा तीनजना, वडा नं ६ मा ५९ जना, वडा नं ७ मा २६ जना, वडा नं ८ मा १२ जना र वडा नं १० मा ६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य संयोजक आचार्यले बताउनुभयो । बाँकी वडाहरु अहिले संक्रमणमूक्त रहेका छन् । अहिले सक्रिय रहेका संक्रमितहरु सबै होम आइशोलेसनमा रहेका छन् । उनिहरुको अवस्था सामान्य रहेको छ ।
बागलुङ, २३ जेठ २०७८ ।
जैमिनीमा जारी लकडाउनको अवधी थप भएको छ । बागलुङको जैमिनी नगरपालिकामा जेठ ३१ गतेसम्मका लागि लकडाउन थप गरिएको हो ।
शनिवार बसेको सरोकारवालाहरुको बैठकले जेठ ३१ गतेसम्मको लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइरालाले जानकारी दिनुभयो । यस अवधिमा लकडाउनलाई थप प्रभावकारी बनाइने बैठकले निर्णय गरेको छ ।
अत्यावश्यकका पसलहरु मध्ये तरकारी, फलफूल, दुध र खाद्यन्नका पसलहरु दिनको एक पटक बिहान ७ देखि १० बजेसम्म मात्र खोल्न पाइने र बाँकी सबै पसलहरु बन्द गर्नुपर्ने जैमिनी नगरपालिकाले जनाएको छ ।
जिल्ला प्रशासन कार्यलयले जारी गरेको सूचनाको आधारमा जैमिनीमा रहेका बैंक तथा बित्तिय संस्थाहरु आइतबार र बुधबार खुल्ला हुनेछ ।
सूचनाको वेवास्ता र अटेरी गर्नेलाई कारवाही गरिने चेतावनी दिइएको छ । जिल्ला प्रशासन कार्यलय बागलुङले पनि यस अघि नै ३१ गतेसम्मका लागि निषेधाज्ञाको अवधी थप गरिसकेको छ ।
पशुपतीनाथकाे दर्शनले कैयाैँ दुःखहरू नाश हुन्छन्, दर्शन गर्दै हप्ताभरीकाे भाग्यफल हेर्नुहाेस्
तपाइँकाे याे हप्ता भरीकाे राशिफल
मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ
यो साता महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । शेयर बजार तथा आर्थिक कारोबारमा मन्दी आउनेछ । मन खिन्न हुने स्थिति पनि आउला । मंगलबार पछिका दिनमा सहजता महसुस होला । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग रातो वा सेतो हो । कुनै शुभकर्म गर्नु अघि विष्णुजीको आरधना गरि कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।
वृष – TAURUS इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
यो हप्ता आफ्नो चलाख्याइँले गर्दा लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । शुभकार्यको चर्चा चल्नेछ मध्य सातामा मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ । स्वास्थ्य सम्बन्धी समस्याले पनि पिरोल्न सक्छ । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग गुलाबी वा सुन्तलारङको हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गर्नाले अधिक सफलता हात पर्नेछ ।
मिथुन – GEMINI का, कि, कु, घ, ङ, छ, के, को, ह
यो साता समाजसेवामा मन लाग्नेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । साताको अन्त्यमा दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला । यो साताका लागि शुभ अङ्क ६,८ र शुभ रङ्ग हरियो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व महालक्ष्म्मीजीको दर्शन गरि यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।
कर्कट – CANCER हि, हु, हे, हो, डा, डि, डु, डे, डो
यो हप्ता पुनर्मिलनको योग रहेको छ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । प्रेमसम्बन्धका लागि पनि श्रेष्ठ समय रहेकोछ । मध्य सातामा स्वास्थ्य स्थिति कमजोर रहला । अनावश्यक ठाउँमा धन खर्च होला । यो साताका लागि शुभ अङ्क २,८ र शुभ रङ्ग घ्यू रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व बगलामुखीको दर्शन गरि कार्य आरम्भ गर्नाले सफलता हात पर्नेछ ।
सिंह – LEO मा, मि, मु, मे, मो, टा, टि, टु, टे
यो साता शेयर बजार तथा व्यवसायमा नोक्सानी बेहोर्नु पर्ला । गरेका काममा ढिलासुस्ती हुने देखिन्छ । स्वास्थ्यप्रति सजग रहनु होला । साताको उत्तरार्धबाट नयाँ काम वा रोजगार पाइनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । यो साताका लागि शुभ अङ्क २,५ र शुभ रङ्ग रातो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णुजीको स्मरण गरि आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
कन्या – VIRGO टो, प, पि, पु, ष, ण, ठ, पे, पो
यो साता धेरै प्रयास पछि जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । शेयर बजार, साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ कार्यको योजना बन्नेछ । राजनैतिक र समाजिक कार्यबाट राम्रै लाभ मिल्ने देखिन्छ । बोलीको प्रभाव पनि बढ्नेछ । यो साताका लागि शुभ अङ्क १,६ र शुभ रङ्ग पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको दर्शन गरि कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।
तुला – LIBRA र, रि, रु, रे, रो, ता, ति, तु, ते
यो साता रोकिएका काम पुनः सुरु हुन सक्छन् । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । विदेशमा रहने व्यक्तिलाई आँटेको कार्यमा सफलता मिल्नेछ । साताको मध्यमा स्वास्थ्य बिग्रन सक्छ । वैचारिक मनमुटाव पनि बढ्नेछ । यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग गुलाबी वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
वृश्चिक – SCORPIO तो, ना, नि, नु, ने, नो, या, यि, यु
यो साता नयाँ ज्ञान सिक्न पाइनेछ । शुभ कार्य र नयाँ कार्यको योजना बन्ला । आफन्त या नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्, तर स्वास्थ्य मापदण्ड भने पूरा गर्नु पर्नेछ । यो साताका लागि शुभ अङ्क २,५ र शुभ रङ्ग पहेँलो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको दर्शन गर्नाले अधिक सफलता हात पर्नेछ ।
धनु – SAGITTARIUS ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
यो हप्ता आस मारेको काम बन्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । अधुरा कार्य पूरा गर्न सहयोग मिल्नेछ । साताको मध्यमा आर्थिक कारोबारमा मन्दी आउनेछ । मन दुखी र खिन्न हुने स्थिति आउनसक्छ, तर स्वास्थ्य प्रति सजगता अपनाउनु पर्छ । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग खैरो या पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा गणेशजी भगवानको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
मकर – CAPRICORN भो, ज, जि, खि, खु, खे, खो, गा, गि
यो साता लामो समयदेखिका बाधाहरू स्वत: फुकुवा हुनेछन् । शुभकार्यको चर्चा चल्नेछ । प्रेम सम्बन्धमा मधुरता छाउनेछ । अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । सन्तान सुख पनि मिल्नेछ, तर शेयर बजार भने कमजोर रहला । यो साताका लागि शुभ अङ्क १,४ र शुभ रङ्ग निलो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको आरधना गरि यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।
कुम्भ – AQUARIUS गु, गे, गो, सा, सि, सु, से, सो, द
यो साता जुक्ति र बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ । कुनै कुराले मनमा शान्ति छाउला । नसोचेको ठाउँबाट धनागम हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । बोलीको प्रभाब पनि बढ्नेछ । यो साताका लागि शुभ अङ्क २,५ र शुभ रङ्ग पर्पल वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।
मीन – PISCES दि, दु, थ, झ, ञ, दे, दो, च, चि
यो हप्तामा नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । प्राविधिक र टेक्निकलको कर्यबाट राम्रो प्रतिफल मिल्नेछ । सेतो रङ्गको प्रयोग गर्नाले बढी लाभ मिल्नेछ । साताको उत्तरार्धबाट सहकर्मीबाट विरोध आउला । नियमित खर्चसमेत बढ्नसक्छ । स्वास्थ्य प्रतिकूल पनि हुनसक्छ । यो साताका लागि शुभ अङ्क ४,८ र शुभ रङ्ग रातो हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको स्मरण गर्नाले सफलता हात पर्नेछ ।
बागलुङ, २२ जेठ २०७८ ।
अहिले जिल्लाका जनप्रतिनिधि कोरोना सङ्क्रमितका घरघरमा पुगेर स्वास्थ्य अवस्था बुझ्न व्यस्त छन् । जिल्लाको काठेखोला गाउँपालिकाका अध्यक्ष अम्मर बहादुर थापा, काठेखोला गाउँपालिका–७ का वडाध्यक्ष प्रेम लामिछाने सङ्क्रमितका घरघरमा स्वास्थ्यकर्मीसहित पुग्नुभएको छ । यस्तै बागलुङ नगरभित्रका कोरोना सङ्क्रमितलाई हौसला तथा औषधि वितरण गर्दै बागलुङ नगरपालिकाका प्रमुख तथा नगरपालिकाको स्वास्थ्य शाखाको टोली घरघरमा पुगिरहेका छन् ।
नगरपालिकाको टोलीले पालिकाभित्र रहेका होमआइसोलेसनमा रहेका बिरामीको स्वास्थ्य अवस्था मात्र बुझेका छैनन्, आवश्यक परामर्श पनि दिएका छन् । बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल तथा स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनाललगायत स्वास्थ्यकर्मीको टोलीले नगरपालिकाका विभिन्न वडामा रहेका सक्रिय सङ्क्रमितको घरघरमै पुगी स्वास्थ्य अवस्था बुझ्दै, आवश्यक सिटामोल, जीवनजल, भिटामिनलगायतऔषधि वितरण गर्दै तथा आवश्यक परामर्श दिइरहेका छन् ।
भेटमा स्वास्थ्यावस्थाका बारेमा जानकारी लिने, होमआइसोलेशनमा बस्दा अपनाउनुपर्ने विभिन्न विधिका बारेमा जानकारी गराउने, मास्क, सेनिटाइजरलगायत स्वास्थ्य सामग्री र पोषिलो खानेकुरा खानेलगायत स्वास्थ्य मापदण्डका बारेमा जानकारी दिइरहेका छन् । नगरपालिकाका प्रमुख जनकराज पौडेल भन्नुहुन्छ, “कोभिड–१९ ले निम्त्याएको तथा निम्त्याउने खतरा भयावह बन्दै गैरहेको छ, तैपनि सामान्य लक्षण हुँदा पनि सङ्क्रमित भइसकेपछि मानिसलाई मानसिकरुपमा असर पर्ने र आत्तिने गर्छन्, यस्तो बेलामा हामी नगरपालिकाको स्वास्थ्यर्मीसहित घरघरमा पुगेका छौँ ।” यसो गर्दा सङ्क्रमित तथा सङ्क्रमितका परिवारलाई थोरै भए पनि मानसिक तनाव कम हुने भन्दै अभियान थालिएको हो नगर स्वास्थ्य शाखाले जनाएको छ ।
पालिकाभित्र रहेको स्वास्थ्य चौकीले कसरी काम गरिरहेको र त्यसको अनुगमन पनि गर्नका निम्ति उक्त अभियान शुरु गरेको उहाँले बताउनुभयो । बागलुङ नगरपालिकाका नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालका अनुसार सङ्क्रमितलाई मानसिक रुपमा तन्दुरुस्त गराउन सकेमा रोक छिटोभन्दा छिटो निको हुने बताउनुहुन्छ । “कोभिड–१९ को महामारी रोकथाम, व्यवस्थापन र नियन्त्रणको सिलसिलामा नगरप्रमुखको नेतृत्वमा नगर क्षेत्रभित्र रहेको कोरोना सङ्क्रमितको घरघरमा पुगरे सक्रिय सङ्क्रमितको स्वास्थ्य अवस्था बुझ्नुका साथै शिघ्र स्वास्थ्यलाभको कामना गर्दै औषधि पनि दिएको छौँ”, उहाँले भन्नुभयो “घरघरमा पुगी स्वास्थ्य अवस्था बुझ्दा सङ्क्रमितहरुको आत्मबल बढेको पाएका छौँ ।”
सङ्क्रमित तथा सङ्क्रमितको परिवारले यस अभियानलाई सकारात्मक हिसाबले लिएको प्रतिक्रिया दिएका छन् । क्वारेन्टाइनमा बस्नभन्दा परिवारको रेखदेखमा बस्नाले रोगलाई छिटो परास्त गर्न सकिने कोरोना सङ्क्रमण पुष्टि भएर निको भएकाहरुको भनाइ छ । नगरप्रमुख तथा नगर स्वास्थ्य शाखाको टोली घरघरमा गएर कोरोना सङ्क्रमितलाई भेट्दा आफूहरुलाई ढुक्क भएको सङ्क्रमित तथा सङ्क्रमितका परिवारले बताएका छन् ।
डेरी पसलहरुको आलटालले जैमिनीका किसानले दूधको भुक्तानी पाएनन्, अघिल्लो वर्ष देखिको पैसा बाँकी
बागलुङ, २२ जेठ २०७८ ।
दूधको भुक्तानी रोकिएपछि बागलुङको बलेवा र कुश्मीशेरा क्षेत्रका किसान मर्कामा परेका छन् । बागलुङ नगरपालिकाको अमलाचौर, नारायणस्थान र जैमिनी नगरपालिकाको कुश्मीशेराका किसानले उत्पादन गर्ने दूधको भुक्तानी रोकिएको हो । कुश्मीशेराको टुनीबोट, खौर, किसेक, बागलुङ नगरपालिका–१२ अमलाचौरको टाकुरी, सरङ्गी गाउँका किसानले लामो समयदेखि दूध विक्रीबापतको भुक्तानी नपाएका हुन् ।
कुश्मीशेराको टार र बागलुङ नगरपालिका—१४ को नारायणस्थानका किसानको पनि समस्या उस्तै छ । मुख्य आयस्रोत दूधको भुक्तानी नै रोकिएपछि किसानहरु मर्कामा छन् । दूध उत्पादनकै लागि पालिएका गाई भैंसीलाई खुवाउने दाना चापट र घर खर्च चलाउन समेत कठिन भएको किसान प्रेम पौडेल बताउनुहुन्छ । यहाँ उत्पादन भएको दूध बागलुङ र पर्वतका विभिन्न दूध डेरीहरुले खरीद गर्छन् । बागलुङको दक्षिणमा रहेका चार वटा दुग्ध उत्पादक सहकारीको साझा बिक्री केन्द्र गठन गरेर सहकारीहरुले दूध बिक्री गर्छन् ।
कालीगण्डकी, पल्लोपाखा, नवनमूना र बलेवा नारायणस्थान दुग्ध उत्पादक सहकारी संस्थाको सहभागिता रहेको संयुक्त बिक्री केन्द्र छ । बिक्री केन्द्रमार्फत दूध खरीद गरेका कतिपय डेरी पसलहरुले अघिल्लो वर्षको असारदेखिको पैसा भुक्तान गरेका छैनन् । ‘‘हाम्रो दूध लिने बागलुङको न्यू लक्ष्मी डेरीले अघिल्लो असारपछिको पैसा दिएकै छैन, पटकपटक ताकेता गर्दा समेत पैसा नआएपछि हामी प्रक्रियामा जाँदैछाँैं,’ संयुक्त विक्री केन्द्रका अध्यक्ष लीलाधर पौडेलले भन्नुभयोे, ‘‘डेरीहरुले रकम रोकिदिँदा सहकारीले किसानलाई उपलब्ध गराउन सकेनन् ।’’
पौडेलका अनुसार कुश्माको शीतल डेरी, मोदीकाली डेरी, न्यू कालिगण्डकी डेरी र बागलुङको अभिशेक डेरीलगायतका संस्थाले किसानको रकम भुक्तानी नदिएका हुन् । ‘झण्डै रु २५ लाख उठ्न बाँकी छ, केहीको एक वर्ष पुग्यो, केहीले चार÷पाँच महिनादेखि रोकेका छन्,’ पौडेल भन्नुहुन्छ, ‘‘यता सहकारीहरुले आफ्नै स्रोतबाट पनि किसानको रकम भुक्तानी गर्न सक्ने अवस्था छैन ।’’ बिक्री भएको दूधकै पैसा नआएका कारण किसानलाई समयमा भुक्तानी दिन कठिन भएको कालीगण्डकी दुग्ध उत्पादक सहकारी संस्थाका सचिव रुद्रनाथ शर्माले बताउनुभयो ।
यहाँका डेरी पसलहरुले भुक्तानी समयमा नदिएपछि अहिले चार वटै सहकारीबाट उत्पादित दूध पोखराको लभकुश डेरीमा पठाउन थालिएको छ । चार वटा सहकारीले दैनिक एक हजार लिटर दूध उत्पादन गर्छन् । ‘‘पोखराको डेरीबाट हाम्रै दूध ल्याएर बेचेका छन् तर हाम्रो पुरानो पैसा दिँदैनन्’’, पौडेल भन्नुहुन्छ, ‘‘वैशाख यता पोखरा गएको दूधको भुक्तानी भने रोकिएको छैन ।’’
सहकारीहरुको संयुक्त बैठकले एकपटक आग्रह गर्ने र भुक्तानी नपाए कानुनी प्रक्रियामा जाने निर्णय गरेको अध्यक्ष पौडेलले सुनाउनुभयो । मुख्य याममा दूध ‘होलिडे’ गर्न लगाउने र बेमौसममा खरीद गर्ने गरेका डेरी पसलहरुले किसानको दूधको भुक्तानीमा भने आलटाल गर्दै आएका छन् । समयमा भुक्तानी नपाउँदा किसान भने पेशाप्रति नै निराश हुने गरेका छन् ।
विद्यार्थी नेता शर्माद्वारा जैदिका कोरोना संक्रमितहरुलाई स्वास्थ्य सामग्री वितरण
बागलुङ, २२ जेठ २०७८ ।
जैदिका कोरोना संक्रमितहरुलाई स्वास्थ्य सामग्री वितरण गरिएको छ । नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि एवं नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रिय सह–महामन्त्री हरिहर शर्माले आप्mनी आमाको जन्मदिनको अवसरमा स्वास्थ्य सामग्री वितरण गर्नुभएको हो ।
आमा नर्मदा देवि उपाध्यायको जन्मदिको अवसरमा जैमिनी नगरपालिका ७ जैदिका २६ जना कोरोनाका सक्रिय संक्रमितहरुलाई मास्क लगाएतका स्वास्थ्य सामग्री वितरण गरिएको शर्माले जानकारी दिनुभयो । कोरोना संक्रमितहरु होम आईशोलेसनमा बस्दा सामान्य तर महत्वपूर्ण स्वास्थ्य सामग्रीहरुको अभाव नहोस् भनेर आफूले सहयोग गरेको उहाँको भनाई छ ।
शर्माले यसअघि पनि बिभिन्न ठाउँमा स्वास्थ्य सामग्रीहरु सहयोग गर्नुभएको थियो ।
जैमिनीमा ५ जना कोरोना संक्रमित थपिए, ९५ जना सक्रिय संक्रमित- सम्पूर्ण तथ्यांक यस्तो छ
सुजन प्रेमी
बागलुङ, २१ जेठ २०७८ ।
बागलुङको जैमिनीमा शुक्रबार पाँचजना कोरोना संक्रमित थपिएका छन् । बिहिबार स्वाव संकलन गरी पीसिआर परिक्षणको लागि पठाइएकोमा पाँचजनामा संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमण पुष्टि हुनेहरुमा जैमिनी नगरपालिका वडा नं १ का दुईजना र जैमिनी नगरपालिका २ का तीनजना रहेको स्वास्थ्य शाखाका संयोजक गोविन्द प्रसाद आचार्यले जानकारी दिनुभयो । बिहिबार जैमिनी नगरपालिका १ र २ नम्बर वडाका १८ जनाको स्वाव संकलन गरी पीसिआर परिक्षणको लागि पठाइएको थियो ।
२०७८ सालको बैशाखदेखि अहिलेसम्म नगरपालिकाका चार सय ४३ जनाको नमूना परिक्षण भएको जसमध्ये दुईसय ११ जनामा संक्रमण देखिएको थियो । संक्रमितमध्ये एकसय ६६ जना निको भएर नियमित काममा फर्किसकेका छन् । परिक्षण गरिएकामध्ये चारसय चार जनाको पीसिआर परिक्षण भएको थियो भने ३९ जनाको एन्टिजेन विधिबाट परिक्षण गरिएको थियो । पीसिआर विधिबाट परिक्षण गर्दा दुईसय पाँचजनामा कोरोना संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट गरिएको परिक्षणमा ६ जनामा कोरोना देखिएको छ । उनिहरु सबै जैमिनी १० का हुन् ।
अहिले जैमिनी नगरपालिकामा ९५ जना कोरोनाका सक्रिय संक्रमितहरु रहेका छन् । वडा नं १ मा दुईजना, वडा नं २ मा तीनजना, वडा नं ६ मा ४६ जना, वडा नं ७ मा २६ जना, वडा नं ८ मा १२ जना र वडा नं १० मा ६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य संयोजक आचार्यले बताउनुभयो । बाँकी वडाहरु अहिले संक्रमणमूक्त रहेका छन् । अहिले सक्रिय रहेका संक्रमितहरु सबै होम आइशोलेसनमा रहेका छन् । उनिहरुको अवस्था सामान्य रहेको छ ।
चन्द्रागिरिमा ८७ प्रतिशत संक्रमित निकाेभए, १५ देखि ४५ वर्ष उमेर समुहमा संक्रमण दर उच्च
काठमाडाैँ, २१ जेठ २०७८ ।
काठमाडाैँकाे चन्द्रागिरिमा ८७ प्रतिशत काेराेना संक्रमित निकाेभएका छन् ।
शुक्रबार सम्म चन्द्रागिरिमा ८७ प्रतिशत काेराेना संक्रमित निकाेभएका हुन् । नगरपालिका भित्रका कुल संक्रमित मध्ये ८७ प्रतिशत अर्थात ३ हजार ९ सय २७ जना काेराेना संक्रमण निकाे भएका चन्द्रागिरि नगरपालिकाले जनाएकाे छ ।
यसैगरी पछिल्लाे २४ घण्टामा थप ३२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । याेसँगै चन्द्रागिरि नगरपालिकामा काेराेना संक्रमितकाे कुल संख्या ४ हजार ४ सय ९४ पुगेकाे छ । हाल सम्म सबैभन्दा धेरै वडानं १४ मा ५ सय ३८ जना र सबै भन्दा थाेरै वडानं २ मा १ सय २५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । नगरपालिका भित्र ५ सय १२ जनामा संक्रमण सक्रिय छ । सक्रिय संक्रमित मध्ये २१ जना अस्पताल आईशोलेसनमा र ४ सय ९१ जना हाेम आईशोलेसनमा छन् ।
यस्तै हाल सम्म ५५ जनाकाे काेराेना संक्रमणका कारण ज्यान गएकाे छ । नगरपालिकाका भित्रका संक्रमित मध्ये १२ जनाकाे घरमा र ४३ जनाकाे अस्पतालमा मृत्यु भएकाे हाे ।
१५ देखि ४५ वर्ष उमेर समुहमा संक्रमण दर उच्चः
चन्द्रागिरि नगर भित्र १५ देखि ४५ वर्ष उमेर समुहमा संक्रमण दर उच्च देखिएकाे छ । संक्रमण पुष्टि भएका मध्ये १५ देखि ४५ वर्ष उमेर समुहका महिला र पुरूषमानै संक्रमण दर उच्च देखिएकाे हाे । हाल सम्मका कुल संक्रमित मध्ये २ हजार ७ सय ९८ जना १५ देखि ४५ वर्ष उमेर समुहका छन् । जसमध्ये पनि १ हजा २ सय ४८ महिला र १ हजार ५ सय ५० जना पुरूष छन् ।
६० दिखि माथि उमेर समुहमा मुत्युदर उच्चः
नगर भित्र ६० वर्ष पा साे भन्दा माथि उमेर समुहमा मृत्यु दर उच्च देखिएकाे छ । हाल सम्म काेराेना संक्रमणका कारण ज्यान गुमाएका मध्ये ३० जना ६० वर्ष पा साे भन्दा माथि उमेर समुहका छन् । ४५ देखि ६० वर्ष उमेर समुहका १९ जना र १५ देखि ४५ वर्ष उमेर समुहका ६ जना गरी कुल ५५ जनाकाे ज्यान गएकाे छ । हाल सम्म ० देखि १५ वर्ष उमेर समुहका कुनैपनि संक्रमितकाे मृत्यु भएकाे छैन ।
संघ सरकारले आशा मात्रै देखाएपछि जैमिनीले पहिरो पीडितका घरहरू आफै बनाइदिन थाल्याे
बागलुङ, २१ जेठ २०७८ ।
बाढी, पहिरोबाट क्षति भएका घरहरुको पुनर्निर्माण तथा पुनस्र्थापनाका लागि जैमिनी नगरपालिकाले दोहोरो प्रक्रिया अघि बढाएको छ । सङ्घ सरकारको कार्यक्रम कार्यान्वयन र नगरपालिकाले आफ्नै कार्यक्रम बनाएर पुनर्निर्माण र पुनस्र्थापनाको काम थालेको हो ।
सङ्घ सरकारले क्षति भएका निजी आवास पुनर्निर्माणको लागि अनुदान उपलब्ध गराउने भनेपनि काममा ढिलाइ भएको भन्दै नगरले आफ्नै कार्यक्रम ल्याएको हो । नगरको विपत् व्यवस्थापन कोषबाट बजेट परिचालन हुने गरी निजी आवास पुनर्निर्माणका लागि सूचना गरेको नगरप्रमुख इन्द्रराज पौडेलले बताउनुभयो । सङ्घ सरकारको कार्यक्रम आउनुपूर्व घर बनाउन चाहनेलाई नगरले दुई लाख रुपैयाँ अनुदान दिने भएको छ ।
‘‘हामीले तत्काल घर बनाउन चाहनेलाई सरकारले तोकेको मापदण्डअनुसार घरको नक्सा बनाएर अनुदानका लागि आउनु भनेका छौँ’’, इञ्जिनियर विवेक सापकोटाले भन्नुभयो, ‘‘सङ्घ सरकारको अनुदान आउनु पूर्व घर बनाउनेलाई नगरले रु दुई लाख अनुदान दिन्छ, बाँकी रु दुई लाख व्यक्तिले खर्च गर्नुपर्छ ।’’ सङ्घ सरकारले चार लाख रुपैयाँ अनुदान दिने छ । सोही कार्यविधिका आधारमा पुनर्निर्माण गरिने सापकोटाले बताउनुभयो ।
‘‘घर निर्माणकै चरणमा माथिको अनुदान आए रु चार लाख लाभग्राहीले पाउँछन्, घर बनिसकेपछि भने प्रक्रिया सकिन्छ’’, सापकोटा भन्नुहुन्छ, ‘‘नगरले दिएको अनुदानमा घर बनाउन कसैले खोजी गरेको पाइएको भने छैन ।’’ बर्खा लागिसक्दा समेत सङ्घ र प्रदेश सरकार समेतको साझेदारीमा सञ्चालन हुने अनुदान कार्यक्रम कार्यान्वयनमा आउन नसकेका कारण नगरले आफ्नै कार्यक्रम बनाएको हो ।
‘‘पीडितहरु समस्यामा हुनुहुन्छ, हामीले सकेसम्म तत्कालको समस्या टार्न खोजेका हौँ’’, नगरप्रमुख पौडेल भन्नुहुन्छ, ‘‘उहाँहरुलाई जे गर्दा सहज हुन्छ त्यही गर्नु भनेका छौँ ।’’ जैमिनीमा तत्काल निर्माण गर्नुपर्ने गरी ५६ घर भत्किएका थिए । केही घर प्रबलीकरण गर्नुपर्ने छन् भने केही घरपरिवारले थातथलो नै छोडेर तराईमा झरेका छन् । नगरपालिका आफैँले ठूलो खर्च गरेर पुनर्निर्माणमा लाग्न स्रोतको अभाव रहेको गुनासो नगरमा छ ।
सङ्घ सरकारले बागलुङलाई विपतग्रस्त क्षेत्र घोषणा गरेकाले पुनर्निर्माण र पुनस्र्थापनाको कार्यक्रम आउने आशामा बस्दा निजी आवास निर्माणमा ढिलाइ भएको पौडेलले बताउनुभयो । सडक, भवनलगायतका अन्य पूर्वाधारमा समेत गत वर्षको वर्षामा क्षति पुगेको तथ्याङ्क नगरपालिकासँग छ ।