काठमाण्डाै, ९ भदाै २०७८ ।
नेपाल राष्ट्र बैंकले सीमाभन्दा बढी मार्जिन प्रकृतिको शेयर धितो कर्जा दिएका ऋणीको कर्जा क्रमिक रूपले घटाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।
केन्द्रीय बैंकले हिजाे जारी गरेको एकीकृत निर्देशिकाअनुसार कुनै पनि ऋणीलाई सीमाभन्दा बढी कर्जा प्रवाह भएको भए त्यस्तो ऋण भुक्तानी अवधि वा आगामी एक वर्षमध्ये जुन पहिले हुन्छ सो अवधिभित्र नियमित गर्न भनेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमा मार्जिन प्रकृतिको शेयर धितो कर्जा १२ करोड रुपैयाँसम्म मात्रै कायम गरिएको छ । त्यसमा एउटा संस्थाबाट चार करोड रुपैयाँ र सबै संस्थाबाट लिएको भए १२ करोड रुपैयाँ सम्म मात्रै लिन पाउने व्यवस्था गरिएको छ ।
शेयर बजारमा गएको कर्जाको मात्रा बढी भएको पाइएपछि केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत सीमा लगाएको छ । त्यही सीमाका आधारमा आज जारी एकीकृत निर्देशिकामा थप प्रष्ट पारिएको छ ।
यस्तै केन्द्रीय बैंकले कर्जा–निक्षेप अनुपात (सिडी रेसियो) गणनाका सम्बन्धमा पनि नयाँ व्यवस्था गरेको छ । मौद्रिक नीतिमा सिडी रेसियोको व्यवस्था खारेज गरिएको छ । नयाँ व्यवस्थाअनुसार सिडी रेसियोमा बैंक तथा वित्तीय संस्थाले पूँजी कोष र त्यसको अङ्गका रूपमा रहेका ऋणपत्र बाहेकका ऋणपत्र, एक वर्ष वा त्याेभन्दा बढी अवधिको विदेशी मुद्रामा लिइएको ऋण तथा राष्ट्र बैंकले दिएको पुनरकर्जा रकमलाई निक्षेपका रूपमा गणना गर्नसक्ने व्यवस्था गरेको छ ।
ऋणपत्र पूँजीकोषका रूपमा रहने वा नरहने भन्नेबारेमा बैंक तथा वित्तीय संस्थाले ऋणपत्र जारी गरेकै समयमा स्पष्ट पार्नुपर्नेछ । आजको निर्देशन जारी हुनभन्दा अगाडिको ऋणपत्रको हकमा भने २०७९ असार मसान्तसम्मका लागि निक्षेप गणना गर्न सक्ने व्यवस्था गरिएको छ । कोरोनाका कारण प्रभावित क्षेत्रमध्ये होटल, ट्राभल, ट्रेकिङ र हवाई सेवाजस्ता बाह्य पर्यटकमा निर्भर रहनुपर्ने व्यवसायीलाई परेको असर मूल्याङ्कन गरी २०७९ असार मसान्तसम्म पाक्ने ब्याजलाई छुट्टै हिसाब गर्नुपर्नेछ ।
दुई वर्षसम्म कम्तीमा चार किस्तामा असुली गर्ने व्यवस्था मिलाउन तथा त्यस्तो ब्याजलाई पूँजीकरण गर्न नपाइने र थप हर्जाना तथा पेनाल ब्याज लगाउन नपाइने केन्द्रीय बैंकको एकीकृत निर्देशिकामा उल्लेख छ ।
त्यस्तै कोरोनाका कारण २०७८ असार मसान्तसम्म भुक्तानी गर्नुपर्ने किस्ता वा अन्य साँवा ब्याज निषेधाज्ञाका कारणले भुक्तानी गर्न नसकेको अवस्थामा ऋणीको वित्तीय स्थितिको मूल्याङ्कन गरी २०७८ पुस मसान्तसम्म भुक्तानीको म्याद थप गर्नुपर्नेछ । केन्द्रीय बैंकका अनुसार दुई अर्ब रुपैयाँ वा त्याेभन्दा बढी रकमको बहुबैंकिङ कर्जा उपभोग गर्ने र गरिरहेका ऋणीको कर्जा सह वित्तीयकरण कर्जामा परिणत गर्नसमेत भनेको छ ।
यसैगरी कोरोनाबाट अतिप्रभावित सार्वजनिक यातायात व्यवसायीलाई सवारी साधन तथा मर्मतसम्भारका लागि बैंक तथा वित्तीय संस्थाले प्रतिसवारी साधन दुई लाख रुपैयाँसम्म कर्जा प्रदान गर्नुपर्नेछ । प्राविधिक तथा व्यावसायिक तालिम प्रदान गर्ने संस्थालाई २५ लाख रुपैयाँसम्मको कर्जा र कोरोनाबाट प्रभावित विभिन्न पेसामा संलग्न व्यवसायीलाई प्रदान गरिने कर्जाको व्यवस्था थप गरिएको छ ।
बैतडी, ९ भदौ २०७८ ।
बैतडीकाे डिलाशैनी गाउँपालिकामा एक आमाले नवजात शिशुको हत्या गरेकी छन् । वडा नं ७ ढाँणकी ३५ वर्षीया माधवी कार्कीले नवजात शिशुको घाँटी निमोठेर हत्या गरेकी हुन् ।
अवैध सम्बन्धबाट गर्भ रहेकाले माधवीले शिशुको जन्मिनासाथ घाँटी निमोठेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो । घर नजिकैको मकैबारीमा शिशु जन्माएकी माधवीले सोही ठाउँमा केराको साप्रोले शिशुको घाँटी निमोठेर हत्या गरेको बताइएको छ ।
माधवीले नवजात शिशुको हत्या गरेपछि उनका ससुराले प्रहरीलाई जानकारी दिएको जनाइएको छ । माधवीलाई प्रहरीले पक्राउ गरिसकेको छ । माधवी प्रहरीको नियन्त्रणमा रहेकी र अदालतबाट म्याद थपेर अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ । उनका श्रीमान् १० वर्षदेखि वैदेशिक रोजगारमा गएका र उतै बेपत्ता रहेको प्रहरीले जनाएको छ । माधवीका १३ वर्षीय एक छोरा छन् ।
मानिसले लसुनको खेती गर्न थालेको पाँच हजार वर्ष भइसक्यो । मानव स्वास्थ्यका लागि गुणकारी लसुन खाँदा स्वास्थ्य राम्रो हुन्छ । लसुनको टुुप्पो एकाबिहानै खाँदा धेरैथरी रोगबाट बच्न सकिन्छ ।
लसुनका विशेषताको अध्ययन गर्दा यो त गजबको एन्टीबायोटिक हो भन्ने पत्ता लाग्यो । अझ खाली पेट लसुन खाँदा यसले पेटका हानिकारक ब्याक्टेरियालाई मारिदिन्छ । ग्यास्ट्रिकको समस्या भएकाले बिहान खाली पेटमा तातो पानीसँग लसुन खादा निकै फाइदा पुग्छ ।
लसुनका अन्य पनि धेरै फाइदा छन् । तपाईं मुसा तथा फंगल संक्रमणबाट बच्नका लागि छालामा लसुन दल्न सक्नुहुन्छ । छालाका अन्य धेरै रोगबाट लसुनले बचाउँछ ।
लसुन खाँदा रक्तचाप स्थिर हुन्छ । यसले हाइपरटेन्सन पनि घटाउँछ ।
लसुनले पेनकिलरको पनि काम गर्छ । शरीरको कुनै भाग सुन्निँदा पनि लसुनले फाइदा गर्छ ।
लसुनले रगत पातलो बनाएर जम्नबाट रोक्छ ।
लसुन नियमित खाँदा रुघाखोकी लाग्दैन ।
स्नायुप्रणालीको गडबडीलाई पनि लसुनले रोक्छ ।
एजेन्सी
Breaking News: नेप्सेका सीईओ चन्द्रसिंह साउदले राजीनामा दिए, यस्ताे छ प्रमुख कारण
काठमाण्डाै, ८ भदाै २०७८ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले राजीनामा दिनुभएको छ । सर्वोत्तम सिमेन्टको ‘बुक बिल्डिङ’ प्रक्रियामा रहेका बेला सोही कम्पनीमा आफ्नी श्रीमतीको नाममा सेयर किनेपछि विवादमा तानिएका साउदले अर्थ मन्त्रालयमा नेप्सेका अध्यक्ष दीर्घराज मैनालीको उपस्थितिमा राजीनामा दिनुभएको हो ।
सर्वोत्तम सिमेन्टले बुक विल्डिङमार्फत जारी गर्न लागेको आईपीओमा पहिल्यै शेयर किनेर बजार प्रभावित पार्न खोजेको आरोप साउदमाथि लागेको थियो ।
यो विषयमा छानबिनका लागि अर्थ मन्त्रालयले बनाएको छानबिन समितिले धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगाना समेत दाेषी देखिएका छन् । मन्त्रालयले समेत साउदलाई स्पष्टीकरण सोधेको थियो ।
नियामक निकायको नेतृत्वमा बसेर भित्री सूचनाको आधारका सेयर किनिएको भन्दै सांसदहरूले छानबिन भएर दोषीमाथि कडा हुनुपर्ने बताउँदै आएका थिए ।
बागलुङ, ८ भदौ २०७८ ।
बागलुङबाट प्रकाशित हुँदै आएको अग्रसर साप्ताहिक ११ औँ वर्षमा प्रवेश गरेको छ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङद्वारा प्रकाशित धौलागिरी जागरण दैनिकको सहप्रकाशन अग्रसर साप्ताहिक मंगलबारदेखि प्रकाशनको ११ औं वर्षमा प्रवेश गरेको हो ।
कोरोना कहर र लकडाउनका कारण औपचारिक समारोह आयोजना नगरिएको प्रकाशन संस्था आदर्श सञ्चार सहकारी संस्थाले जनाएको छ । यद्यपि, वार्षिकोत्सवका अवसरमा संस्थामा कार्यरत पत्रकार, कर्मचारी र सञ्चालक बिच समिक्षात्मक कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा आदर्श सञ्चार सहकारी संस्थाका अध्यक्ष हुमा कुमारी जिसी ‘अञ्जु’ले सञ्चार माध्यमको संस्थागत सबलिकरणका लागि सहकारी मार्फत पत्रिका प्रकाशन गरिएको र यसले एक दशक अवधीमा अब्बल संस्थाको पहिचान बनाउनु सुखद विषय भएको बताउनुभयो । सुरुवाती समय निकै कठिन भए पनि पत्रकार, सञ्चालक र कर्मचारीको अथक मेहनतबाट अहिलेको सफलता सम्भव भएको उहाँको भनाई छ ।
पत्रिकाका सम्पादक राम बहादुर जिसीले पृथक सामग्री पस्कने उद्धेश्यले म्यागाजिनको रुपमा प्रकाशित अग्रसर पत्रिका अहिले दैनिक भन्दा पृथक समाचार सामग्री पस्कने गरि साप्ताकिकको रुपमा प्रकाशन गरिएको बताउनुभयो । धौलागिरी जागरण दैनिकमा दैननिदिन भइरहेका घटना, विषय, समसामयिक सवालका समाचारमा जोड दिइएको छ भने अग्रसर साप्ताहिकमा समाजमा भइरहेका सत्कर्म, सत्प्रयास, प्रेरक कर्महरुलाई मुख्य प्राथमिकतामा राखेर समाचार सामग्री पस्किने गरिएको छ ।
कार्यक्रममा आदर्श सञ्चार सहकारी संस्थाका प्रबन्धक दिपकराज सापकोटा, पत्रिकाका कार्यकारी सम्पादक दिल शिरीष लगायतले संस्थाबाट सञ्चालित मिडिया, अहिले भइरहेको अभ्यास र भावी योजनाका विषय राख्नुभएको थियो ।
आदर्श सञ्चारको पहिलो प्रकाशन धौलागिरी जागरण दैनिक २०६३ फागुन २३ गतेदेखि निरन्तर प्रकाशन भैरहेको छ । त्यस्तै संस्थाको सहकार्यमा सञ्चालित धौलागिरी टेलिभिजन २०७० असोज १९ गतेदेखि नियमित सञ्चालनमा रहेको र संस्थाले पछिल्लो समय २०७६ भदौ २१ गतेदेखि आदर्शसञ्चार डटकम सञ्चालनमा छ ।
कक्षा १२ को परीक्षा चाँडो सञ्चालन गर्न निर्देशन, ‘होम सेन्टर’ मा नै परीक्षा गराउने
काठमाडौँ, ८ भदौ २०७८ ।
प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिले स्वास्थ्य मापदण्ड र भौतिक दूरी कायम गरी यथाशीघ्र ‘होम सेन्टर’ मा कक्षा १२ को परीक्षा सञ्चालन गर्न निर्देश गरेको छ ।
समितिको आज बसेको बैठकले परीक्षा रोकिँदा बालबालिकामा मानसिक असर गरेकाले खोपको व्यवस्थापन गर्दै परीक्षा गराउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देश गरेको छ । समितिले कोभिडका कारण कलेजमा अरु क्रियाकलाप नभएकाले इञ्जिनीयरिङ कलेजले पढाइ शुल्कबाहेक अरु शुल्क नलिने व्यवस्था मिलाउन पनि सरकारलाई निर्देशन गरेको छ ।
अरु तहका परीक्षा सञ्चालन भइरहेको अवस्थामा १२ कक्षाको मात्रै पटक–पटक स्थगित भएको भन्दै समितिले सरोकार राख्ने निकायका प्रतिनिधि बोलाएर छलफल गर्दै आएको थियो । राष्ट्रिय परीक्षा बोर्डले ‘होम सेन्टर’ मा नै परीक्षा गराउने तयारी गरे पनि सीसीएमसीको निर्णयका कारण स्थगित भएको थियो ।
काठमाण्डाै, ८ भदाै २०७८ ।
काठमाण्डौ उपत्यकामा राति ८ बजेपछि गाडी चलाउन नपाइने नियम हटेको छ । मंगलबार बसेकाे काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले याे नियम हटाएकाे हाे ।
बैठकले उपत्यकाकाको निषेधाज्ञा भदौ १७ गतेसम्म लम्ब्याउने निर्णय पनि गरेकाे छ । काेराेनाकाे जाेखिम कायम नै रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर कार्य स१चालन गर्नेगरी निषेधाज्ञा थपिएकाे जिल्ला प्रशासन कार्यालय काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालि प्रसाद पराजुलीले जानकारी दिनुभयाे ।
काठमाण्डौमा निजी तथा सार्वजनिक गाडीलाई तोकिएको स्वास्थ्य मापदण्ड पालनामा कडाइ गर्दै सञ्चालन गर्न दिइनेछ ।
मौसममा सुधार हुन अझै केही दिन लाग्ने, केहि स्थानमा चट्याङसहित भारी वर्षाको सम्भावना
काठमाडौँ, ८ भदौ २०७८ ।
मनसुनी वायुका कारण मौसममा सुधार हुन अझै केही दिन लाग्ने भएको छ । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण मनसुनी गतिविधि अझै सक्रिय रहेको हो ।
“अहिलेको अवस्था हेर्दा मौसममा सुधार हुने देखिएको छैन । बुधबारदेखि मनसुन थप सक्रिय हुने सम्भावना छ ।” जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले बताउनुभयो । शुक्रबारसम्म देशका धेरैजसो स्थानमा बदली रहनाका साथै हल्कादेखि मध्यम खालको वर्षा हुने र केही स्थानमा भने भारी वर्षाको सम्भावना छ । त्यस अवधिमा दिउँसोभन्दा राति र बिहान पानी धेरै पर्ने बताइएको छ ।
हाल देभभर सामान्य बदली रही प्रदेश नं १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानका साथै अन्य प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भइरेहको र बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
बागलुङका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै, शिक्षकलाई ल्यापटप, प्रत्येक कक्षामा प्रोजेक्टर
बागलुङ, ८ भदौ २०७८ ।
प्रविधिमैत्री शिक्षण सिकाइका लागि बागलुङका केही सामुदायिक विद्यालयले प्रयास थालेका छन् । शिक्षकलाई ल्यापटप, कक्षाकोठामा प्रोजेक्टर र टिभी जडान गरेर पठनपाठनको व्यवस्थापनमा विद्यालय सक्रिय भएका हुन् ।
जिल्लाको निसीखोला गाउँपालिका–१ मा रहेको देवीस्थान माध्यामिक विद्यालयले शिक्षकलाई ल्यापटप वितरण गरेको छ । निसीखोला गाउँपालिकाको रु छ लाख ५० हजार र विद्यालयको अन्तरिक स्रोतबाट रु छ लाख ५० हजार गरी रु १३ लाखको लागतमा १६ शिक्षकलाई ल्यापटप, कक्षा कोठामा स्मार्ट टिभी र प्रोजेक्टर जडान गरेको हो ।
जैमिनी नगरपालिका–१ कुश्मीशेराको शान्ति माध्यमिक विद्यालयले प्राविधिक धारका कक्षा प्रोजेक्टरको सहायताले पठनपाठन गराइन्छ । कोरोना महामारीका कारण कक्षा ६ देखि १२ सम्म अनलाइनमार्फत पठनपाठन भइरहेको छ । विद्यालयले भौतिक उपस्थितिमा हुने कक्षामा प्रोजेक्टरको सहायता लिने गरिएको हो । शिक्षकहरूले ल्यापटप आवश्यकता महसुस गरेर विद्यालयले ऋण उपलब्ध गराउने निर्णय गरेको छ । ‘‘जमाना प्रविधिको छ, भर्चुअल कक्षा होस् वा भौतिक उपस्थितिमा हुने कक्षा, ल्यापटप हुँदा शिक्षकहरूलाई तयारीदेखि कक्षा कोठामा सहयोग पुग्छ”, प्रधानाध्यापक यामबहादुर जिसीले भन्नुभयो, ‘‘विद्यालयको सञ्चित कोषको रकमबाट आवश्यक रहेका शिक्षकको लागि ल्यापटपको ६० प्रतिशत लागत व्यहोरेका हौँ ।”
काठेखोला गाउँपालिका–७ को रेश नुन्थला माध्यमिक विद्यालयले शिक्षकका लागि ल्यापटप र प्रत्येक कक्षामा प्रोजेक्टर अभियान थालेको दुई वर्ष भयो । पठनपाठन प्रविधिमैत्री बनाउनका लागि शिक्षकलाई ल्यापटप, विद्यार्थीलाई युट्युबको सहारामा पठनपाठन र आधुनिक पुस्तकालय अभियान थालिएको वडाध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका सदस्य प्रेम लामिछानेले बताउनुभयो । विद्यालयको अभियानका लागि वडा कार्यालयले रु पाँच लाख अनुदान उपलब्ध गराइसकेको छ ।
कक्षा कोठाको वातावरण प्रविधिमैत्री बनाउँदा पठनपाठन क्रियाकलाप विद्यार्थी केन्द्रित हुने देवीस्थान माध्यामिक विद्यालयका प्रधानाध्यापक झगबहादुर क्षेत्रीको भनाइ छ । ल्यापटपको उपयोगिताबारे विद्यालयका सबै शिक्षकलाई आधारभूत कम्युटर सीप, तालिम प्रदान गरिएको थियो । शिक्षकहरूले कक्षाकोठामा चक, डस्टर वा मार्करको ठाउँमा ल्यापटप र प्रोजेक्टरको प्रयोग भएको क्षेत्रीले बताउनुभयो ।
देवीस्थान माध्यामिक विद्यालयमा बाल कक्षादेखि १२ सम्म पठनपाठन हुने विद्यालयको कक्षा १ र २ मा स्मार्ट टिभी र कक्षा ८, ९ र १० मा प्रोजेक्टरसमेत जडान गरिएको छ । विद्यालयमा २० वटा कम्युटरसहित कम्युटर ल्याब सञ्चालनमा छ । विद्यालय प्रभावित क्षेत्रमा इन्टरनेटको सहज पहुँच छैन । कोरोना महामारीले विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन गर्न कठिन भएको प्रधानाध्यापक क्षेत्रीको भनाइ छ । सबै विद्यार्थीसँग स्मार्टफोनको पहुँच नहुँदा अनलाइन कक्षा सञ्चालनमा समस्या भएको उहाँले बताउनुभयो ।
विद्यालयले चन्दा सङ्कलनबाट रु ६५ लाख नियमित ब्याज प्राप्त हुने गरी वित्तीय संस्थामा राखेको छ । सोही रकमको ब्याजबाट प्राप्त हुने पैसाले विद्यालयका शैक्षिक तथा भौतिक निर्माणमा खर्च हुने गरेको विद्यालयले जनाएको छ । विद्यालयले प्रविधिमैत्री शिक्षामा जोड दिन थालेपछि सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या बढ्न थालेको शिक्षकहरुको बुझाइ छ । “अहिले हामीसँग उपलब्ध शैक्षिक कार्यक्रम र त्यससँग सम्बन्धित शैक्षिक सामग्रीका कारण निजी विद्यालय छाडेर आउने विद्यार्थी धेरै छन्”, शान्ति माध्यमिक विद्यालयका प्रअ जिसी भन्नुहुन्छ, “विद्यालयले आफैँले थालेका कार्यक्रममा तीन तहका सरकारको साथ भए अझै राम्रो हुन्थ्यो ।” निसीखोला, काठेखोला र जैमिनीका तीन विद्यालय प्रतिनिधि विद्यालय मात्रै हुन् । जिल्लामा विभिन्न स्रोतको खोजी गरेर प्रविधिमैत्री बन्ने विद्यालयको होडबाजी छ ।
Breaking News: आजबाट पेट्रोलियम पदार्थको मूल्य बढ्यो, के के बढ्यो ? मुल्यसूचि यस्तो छ
काठमाण्डौ, ८ भदौ २०७८ ।
पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले सोमवार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।
निगमले पेट्रोल, डिजल र मट्टीतेलमा दुई/दुई रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रति सिलिन्डर २५ रुपैयाँ बढाएको छ ।
अब पेट्रोल प्रति लिटर एक सय ३० रुपैयाँ डिजल/मट्टीतेल प्रतिलिटर एक सय १३ रुपैयाँ र खाना पकाउने एलपी ग्यास प्रति सिलिन्डरको मूल्य एक हजार चार सय ५० रुपैयाँ पुगेको निगमले जनाएको छ ।
यस्तै हवाई इन्धनमा आन्तरिकतर्फको मूल्य पनि प्रति लिटर दुई रुपैयाँले बढाइएको र हवाई इन्धन अन्तर्राष्ट्रिय उडानमा प्रति किलोमिटर अमेरिकी डलर १६ बढाएर नयाँ मूल्य सात सय ७० प्रति किलोमिटर पुर्याइएको छ ।
निगमले इन्डियन आयल कर्पाेरेशनबाट प्राप्त मूल्य सूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आइरहेको जनाएको छ । अहिले अधिकांश ठाउँमा निषेधाज्ञा भएको र खपत कम हुँदा पनि मुल्य बृद्धि गरेर जनतालाई मारमा पारेको जनगुनासो आएको छ ।