बागलुङ, ७ भदौ २०७८ ।
हा…हो….इ..गाई भैँसीलाई किलो दाम्लो…
बाखरीलाई खोर साईंलो…
बारीमा लगाएको कोदो गोडमेल गर्ने बेला दक्षिण बागलुङका गाउँमा सुनिने भदौरे गीत हो यो । भदौरे गाउँदै कोदो गोडमेल सकेपछि किसान धानखेतको गोडमेलमा लाग्छन् । स्थानीय भाषामा धानखेतको बुट्टा (साझ जङ्गलका ससाना मुना) फालेपछि याद आउँछ बलेवाको लाखे नाच अर्थात् गाईजात्रा । यहाँ आज गाईजात्राका दिन गरिने नाच हो लाखे नाच ।
तिथिका आधारमा हुने हिन्दू संस्कारका चाडपर्व । चाडपर्वसँग जोडिएका लाखे नाच र गाईजात्रा अधिकांश वर्षमा खेतबारीको काम सकेपछि सुरु हुन्छन् । बर्खाको समयमा खेती लाउने कठिन काम, थाकेको शरीर, शिथिल मानसिकतालाई ऊर्जा भर्ने पर्वका रुपमा बलेवामा लाखे नाच गर्ने गरिन्छ । देशभर गाईजात्रा मनाइने आजकै दिन यहाँ गरिने यो नाच पनि एक किसिमको गाईजात्रा नै हो ।
“घरको काम सकेपछि बलेवा चौरमा लाखे नाचेको हेर्न र गाईजात्रा हेर्न वरिपरिका गाउँबाट भीड नै लाग्थ्यो”, बाल्यकाल सम्झँदै नारायणस्थानका वडाध्यक्ष चक्रबहादुर खत्री भन्नुहुन्छ, “उ बेलाको मनोरञ्जन लिने भनेकै यिनै नाच थिए, साथीभाई भेट्ने थालो बन्थे, अहिले जस्तो सञ्चारका साधन, युटुब र मोबाइल थिएनन्, रमाइलो गर्न सबै काम छोडेर चौरमा जम्मा भइन्थ्यो ।” गाईजात्रा र लाखे नाचेको हेर्न पल्टनबाट फर्किएको स्मरण गर्नुहुन्छ खत्री ।
बागलुङ नगरपालिका–१४ नारायणस्थानमा नेवार हटिया छ । नेवार समुदायले व्यापार गर्ने थलोलाई हटिया भनिन्छ । भक्तपुरबाट देशका विभिन्न ठाउँमा छरिएका नेवार समुदाय जस्तै बलेवामा पनि भक्तपुरबाटै आएका हुन् । नेवार समुदायसँग जोडिएको लाखे नाच र गाईजात्रा बलेवा क्षेत्रका पनि संस्कृति हुन् ।
प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आजदेखि सुरु भएको छ । तर यस वर्ष भने बलेवामा नै कोरोना ‘हट स्पट’ बनिरहेकाले न लाखे नाच भयो र नत गाईजात्रा नै ।
एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन यहाँका नेवार समुदायले गाई वा बाँसको डोकोलाई गाईका रूपमा सिँगारी नारायणस्थानमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा छ । मृतक पुरुष भएमा पुरुषको पहिरन लगाएर बहर र महिला भएमा महिलाका पहिरन लगाएर गाई निकाल्ने प्रचलन छ ।
पहिले पहिले गाई र बहर नै निकाल्ने यहाँका नेवार समुदायले पछिल्लो सयम भने बाँसको डोकोलाई गाईको स्वरुप मान्ने गरेका छन् ।
यसरी परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । देशभरका नेवार समुदायको जस्तै बलेवाका नेवार समुदायको पनि मृतकका घरबाट गाई निकाल्ने समान संस्कृति रहेको नारायणस्थानका समाजसेवी नगेन्द्रध्वज श्रेष्ठ बताउनुहुन्छ ।
राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आआफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनु’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ ।
भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा बलेवामा नाग नागिनी नाच, झुमा नाच र अन्य प्रहसनसमेत गर्ने चलन छ । “गाईजात्रामा ठट्टा गरिन्छ, मृत्यु भएका परिवारका लागि सान्त्वना दिन गाईजात्रामा सामेल सबैले रमाइलो गर्ने चलन हाम्रोमा छ”, बलेवाको नेवार समुदायका अगुवा हरिकुमार श्रेष्ठले भन्नुभयो, “अन्यत्रकोभन्दा हाम्रोमा नाच गान र व्यङ्ग्यको प्रकृति फरक छ ।” अष्टमीका दिन रोपाइँ नाच नाचेपछि गाईजात्रा विधिपूर्वक समाप्त हुन्छ ।
तत्कालीन बलेवा कोटमा पर्ने गाउँमा भदौको पहिलो मङ्गलबार हरेलो (भूमि पूजा) गर्ने चलन छ । यहाँका नेवार समुदायले नचाउने लाखे हरेलोदेखि तीजको दिनसम्म पर्वका समयमा नचाउने नेवारी परम्परा रहेको नेवार समुदायका युवा नारायण श्रेष्ठले बताउनुभयो ।
“हरेलो, जनैपूर्णिमा र तीजमा पनि लाखे नचाउने चलन थियो रे”, श्रेष्ठ भन्नुभयो, “पछि तीजमा गाउने नाच्ने संस्कृति जुधेपछि तीजको दिन लाखे नाच्न छोडेको बुवाले सुनाउनुभएको थियो ।” शहरमा नेवार समुदायको संकृतिका रुपमा मात्रै रहेको भए पनि बलेवामा भने संस्कृतिसँगै पुराना पुस्ताको मनोरञ्जनको थलो गाईजात्रा र लाखे नाच भएको श्रेष्ठ बताउनुहुन्छ । सांस्कृतिकरुपमा हुने पूजाआजा र गाईजात्राबाहेकसँगै गाइने गीत र नाचले बलेवामा रहेको नेवारी संस्कृतिको फरकपन झल्काउँछ ।
बलेवाको गाईजात्रा र लाखेनाच हेर्न पुगेर फर्किंदा कैयौँ युवायुवती प्रेममा फसेर बिहेबारी हुने गरेका किस्सा पनि पुराना पुस्तामा छन् । यहाँ गाईजात्रा हेर्नका लागि अमलाचौर, पैँयुपाटा, कुश्मीशेरा, पर्वतको फलेवासलगायतका ठाउँबाट गाउँले पुग्छन् ।
मनाङ, ७ भदौ २०७८ ।
मनाङका स्थानीय तहमा पनि बेरुजु रकम देखिएको छ । यहाँका चारवटै पालिकामा बेरुजु रकम देखिएको छ र यो बेरुजु सबैभन्दा धेरै शिक्षा क्षेत्रमा देखिएको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिसँगै भवन निर्माण भइरहेको भए पनि निर्माणका क्रममा अनियमितता बढ्दो देखिएको हो ।
नेपालको विकट जिल्ला मानिने मनाङको शैक्षिक गुणस्तर वृद्धि र सामुदायिक भवन निर्माण तथा अनुदानमा अनियमितता रहेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयद्वारा हालै सार्वजनिक गरिएको ५८औँ लेखा परीक्षण प्रतिवदेनमा आवश्यक कागजात तथा सकल बिल भरपाई पूरा नहुँदा यहाँ अनियमितता बढ्दै गएको पाइएको उल्लेख छ ।
आर्थिक वर्ष २०७६/०७७ मा सदरमुकाम चामे गाउँपालिकामा रु दुई करोड २३ लाख ७५ हजार बेरुजु देखिएको छ । त्यसमध्ये असुल गर्नुपर्ने रु सात लाख ४२ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने रु २१ लाख ९३ र नियमित गर्नुपर्ने रु एक करोड ९४ लाख ४० हजार बेरुजु रहेको छ । सो प्रतिवेदनमा गाउँपालिकाले लोकप्रिय माविको आवासीय भवन निर्माणका लागि रु ३९ लाख पेश्कीमा ६१ लाख ७५ हजार भुक्तानी गरेको पाइएको छ ।
माथिल्लो मनाङ ङिस्याङ गाउँपालिकामा दुई करोड १० लाख १४ हजार बेरुजु देखिएको छ । यसमध्ये असुल गर्नुपर्ने रु ३८ लाख ९४ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने रु ४८ लाख ६८ हजार र नियमित गर्नुपर्ने रु एक करोड चार लाख ५२ हजार र पेश्की रु १८ लाख बेरुजु देखिएको छ । महालेखा परीक्षणका अनुसार ङिस्याङले पनि विद्यालय अनुदानमा बढी भुक्तान गरेको र पेश्की फछ्र्योट नभएको देखाएको छ ।
मनाङको प्रवेशद्वार नासो गाउँपालिकामा रु दुई करोड ३५ लाख ७६ हजार अनियमिता भएको पाइएको छ । यसमध्ये असुल गर्नुपर्ने रु १२ लाख ७१ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने रु एक करोड चार लाख २४ हजार, नियमित गर्नुपर्ने रु एक करोड १८ लाख ८१ हजार बेरुजु छ । गाउँपालिकाले विद्यालय अनुदानमा रु ३० लाख ३१ हजार ४३० खर्च गरेकामा बिल भरपाई प्रतिवेदनमा पेश नभएको महालेखा परीक्षणमा देखिएको उल्लेख छ । नासोंको भ्रमण खर्चमा अनियमितता भएको प्रतिवेदनमा देखिएको छ ।
त्यस्तै हालसम्म पनि सडक सञ्जालले छुन नसकेको गाउँपालिका नार्पा भूमिमा रु दुई करोड ७३ लाख छ हजार बेरुजु भएको प्रतिवेदनले देखाएको छ । त्यसमध्ये असुल गर्नुपर्ने रु २० लाख ३८ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने रु एक करोड दुई लाख ३० हजार, नियमित गर्नुपर्ने रु एक करोड ५० लाख आठ हजार बेरुजु देखिएको छ । गाउँपालिकाले पेश्की फछ्र्योट तथा बेरुजु संपरीक्षण गर्नुपर्ने भए पनि नगरेको पाइएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
विद्यार्थी नै नभएको विद्यालयका शिक्षकलाई तलब
विद्यार्थी नै नभएको विद्यालयमा शिक्षक नियुक्त र तलबभत्ता वितरण गरिएको पाइएको छ । महालेखा परीक्षणको ५८औँ प्रतिवदेनका अनुसार विद्यार्थी नभएको विद्यालयमा करार दरबन्दीको शिक्षक नियुक्त गरिएको पाइएको छ ।
प्रतिवेदनमा विद्यार्थी नभएको विद्यालयमा करार दरबन्दीका शिक्षक नियुक्त गर्नुका साथै निकासा गरेको उल्लेख छ । मनाङको फु आधारभूत विद्यालयमा बालविकासबाहेक अन्य विद्यार्थी छैनन् तर गाउँपालिकाले विद्यालयका दुई स्थायी र एक करार गरी तीन शिक्षकको तलबभत्तालगायतका सुविधाका लागि वार्षिक रु १२ लाख ६५ हजार निकासा गर्दै आएको प्रतिवेदनमा पाइएको छ ।
त्यस्तै ङिस्याङ गाउँपालिकाअन्तर्गतको ङावल आधारभूत विद्यालयमा विद्यार्थी नै नभएको र विद्यालयका आठ स्थायी शिक्षकका लागि तलबभत्तालगायतका सुविधा दिइएको प्रतिवेदनमा पाइएको छ । शिक्षकको तलबभत्तासहितको सुविधाबापत गाउँपालिकाले वार्षिक रु ३५ लाख ८६ हजार निकासा गरेको प्रतिवेदनमा देखिएको छ । यी र यस्तै कार्यले गर्दा स्थानीय तहमा बेरुजु बढ्दो देखिएको हो ।
काठमाण्डाै, ७ भदाै २०७८ ।
मनसुन थप सक्रिय भएकाले यो हप्ता देशका धेरै ठाउँमा बाढी पहिरोको जोखिम रहेको मौसमविद्ले बताएका छन् ।
यसपालिको मनसुनमा औसतभन्दा धेरै वर्षा भइसकेको छ । यसअघि नै धेरै ठाउँमा जमिन गल्ने गरि पानी परिसकेकाले अब हुने वर्षाले थप जोखिम निम्त्याउने मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार यो हप्ताभरि नै बाढी पहिरोको जोखिम उच्च छ ।
गएरातिदेखि नै काठमाण्डौ उपत्यकासहित वाग्मती प्रदेशका धेरै ठाउँमा पानी परिरहेको छ । यस्तै, प्रदेश-१, प्रदेश-२, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा पानी परिरहेको मौसमविद् पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार दिउँसाे केहीबेर पानी पर्न रोकिने छ । तर, बेलुकापखदेखि फेरि पानी पर्ने सम्भावना छ ।
भोलि पनि मौसम यस्तै रहने छ । पर्सि र बिहीवार भने देशभर नै लगातारजसो झरी पर्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले बताउनुभयो । पहाडी क्षेत्रमा भूक्षय, पहिरो तथा गेग्रानसहितको बहावको जोखिम रहेकाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण मनसुनी गतिविधि थप सक्रिय भएको मौसमविद्ले बताएका छन् । उज्यालाे अनलाइनबाट
स्थानीय तहमा बेथिति : आफन्तका संस्थालाई करोडाैँ अनुदान, कानुन विपरित खर्च बढ्दाे
काठमाण्डाै, ७ भदाै २०७८ ।
पालिकाहरूले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को विपरीत हुने गरी जथाभाबी खर्च गरिरहेका छन् । ऐनअनुसार पालिकाको रकमबाट आर्थिक सहायता, चन्दा, पुरस्कार र संस्थागत अनुदान दिन नपाइने भए पनि गएको वर्ष चार सय ३६ वटा पालिकाले ६२ करोड तीन लाख रुपैयाँ आर्थिक सहायता बाँडेका छन् ।
यस्तै दुई सय २५ वटा पालिकाले स्थानीय सङ्घ–संस्था, क्लब लगायतलाई २१ करोड २२ लाख रुपैयाँ आर्थिक सहायता दिएका छन् । पर्व तथा जात्रामा पनि पालिकाले लाखौँ रुपैयाँ अनुदान दिएको महालेखा परीक्षककाे प्रतिवेदनमा उल्लेख छ ।
यस्तै पालिकाहरूले विविध र चालु शीर्षकमा पनि करोडौँ रुपैयाँ खर्च गरेका छन् । विविध खर्च गर्दा मितव्ययिता अवलम्बन गर्नुपर्नेमा चार सय ७१ वटा पालिकाले एक अर्ब ३१ करोड ८८ लाख रुपैयाँ खर्च गरेका छन् ।
यस्तै ६० वटा पालिकाले जनप्रतिनिधि र कर्मचारीको भ्रमण तथा अवलोकनका लागि भन्दै सात करोड ७८ लाख रुपैयाँ खर्च गरेका छन् । पुँजीगत किसिमको बजेट चालु प्रकारका काममा खर्च गर्न नपाइने भए पनि एक सय २९ पालिकाले ३६ करोड ७७ लाख रुपैयाँ खर्च गरेका छन् ।
पालिकाहरूले अनुदान वितरणका नाममा नाफा कमाउने उद्देश्यले स्थापना भएका सहकारीलाई समेत पैसा बाँडेको पाइएको छ । महालेखा परीक्षकको प्रतिवेदनअनुसार गएको वर्ष एक सय २८ वटा पालिकाले अनुदानका नाममा नाफा कमाउने उद्देश्यले सञ्चालित सहकारी संस्थालाई २५ करोड ८० लाख ३३ हजार रुपैयाँ दिएका छन् ।
नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने योजना छनाेट गरेर अनुदान दिनुपर्नेमा नाफा कमाउने संस्थालाई अनुदान दिनु नियमसम्मत नभएको महालेखाले जनाएको छ । उज्यालाे अनलाइनबाट
रोल्पा, ६ भदौ २०७८ ।
रोल्पाका विभिन्न गाउँमा बाँदरले आतङ्क मच्चाएको छ । जिल्लाका पश्चिम भेगस्थित माडी, गङ्गादेव र परिवर्तन गाउँपालिकामा बाँदरले आतङ्क मच्चाएको स्थानीवासीले बताएका छन् । बाँदरका कारण स्थानीयवासी निकै आतङ्कित बनेको परिवर्तत गाउँपालिका–६ ओहका मान्धोज पुन मगरले बताउनुभयो ।
यहाँका खेतबारीमा लगाएको मकै र फलफूल बाँदरले खाएपछि किसान चिन्तित बनेको उहाँको भनाइ छ । छ महिनासम्म दुःख गरेर लगाएको बाली बाँदरले गाउँमै पसेर नोक्सानी गरिदिएको पुन मगरले जानकारी दिनुभयो । “घोगा लागेका मकै र फलफूल बाँदरले चिथोरेर सखाप बनाइदिएको छ”, उहाँले भन्नुभयो । बाँदरले बिरुवादेखि बोट हुँदै अहिले घोगा लागेका मकै पनि खाइदिएको उहाँको भनाइ छ ।
बाँदरको आतङ्ककै कारण स्थानीय बासिन्दा बसाइँ सर्न बाध्य छन् । खेतमा लगाएको बालीनाली र रुखका फलफूल मात्रै होइन, पकाएको खाना र बजारबाट किनेर ल्याएका सामानसमेत बाँदरले लग्ने गर्दा स्थानीयवासी आतङ्कित बनेका हुन् । बाँदरले स्थानीय बासिन्दालाई सहनै नसकिने गरी दुःख दिन थालेपछि बसाइँ सर्ने अवस्था आएको स्थानीयवासी मनु बुढामगरको भनाइ छ । “साँझ घर आयो फेरि बिहानै उठेर बाँदर धपाउन खेतबारी पुग्नुपर्छ”, उहाँले भन्नुभयो, “हिउँदका समयमा सिँचाइको सुविधा छैन, उत्पादन पनि हुँदैन, वर्षे बालीको आशा हुन्छ तर बाँदर आएर त्यो पनि खाएर नष्ट गरिदिन्छन् ।”
पहिले पहिले पनि बाँदर आउने गरेको थियो तर अहिलेको जस्तो धेरै दुःख दिने गरेको थिएन ज्येष्ठ नागरिक माकु चन्द्रकाले बताउनुभयो । “म बुढो मान्छे, बिहानै खेतमा जान्छु, बाँदर धपाएर बस्छु”, उहाँले भन्नुभयो । अहिले गाउँमै बाँदर पस्न थालेर हैरानै पारेकोे उहाँको गुनासो छ । परिवर्तन गाउँपालिका–६ ओह गाउँमा रहेको भिरखामे पहरामा धेरै वर्षात् भएपछि बाँदर बास बस्नका लागि उक्त भिरमा आउने गरेको स्थानीयवासीको भनाइ छ ।
त्यस्तै बाँदरले परिर्वतन गाउँपालकाको ओह, हाकलङ, नाफे, थानकोट, झेङ्जा, माडी गाउँपालिकाको खनाबाङ, धनथाना, तथा गङ्गादेव गाउँपालिकाको भिरखोला, झाझर खोलालगायतका विभिन्नि ठाउँमा सताउने र क्षति गर्ने गरेका छन् । बाँदरका कारण जङ्गल नजिकै भएका धैरै जमिन बाँझो हुने गरेका छन् । जसले गर्दा धेरै दुःख गरेर लगाएको बाली एकैपटक आएर नोक्सान गरिदिने बाध्यताले कोही शहरमा त कोही भारतमा गएको स्थानीयवासीको भनाइ छ ।
सुजन प्रेमी
बागलुङ, ६ भदौ २०७८ ।
बागलुङको जैमिनी नगरपालिकामा डेढ करोड भन्दा बढी बेरुजु देखिएको छ । आर्थिक बर्ष २०७६÷७७ को लेखापरिक्षण गर्दा जैमिनी नगरपालिकामा १ करोड ५६ लाख ४३ हजार रुपैयाँ बेरुजु देखिएको हो ।
१ अर्ब ३७ करोड २८ लाख ४४ हजार रुपैयाँ लेखा परीक्षण गरिएको रकमको १.१४ प्रतिशत बेरुजु देखिएको महालेखा परिक्षकको कार्यलयले जारी गरेको ५८ औँ बार्षिक प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदन अनुसार ६८ लाख ४८ हजार ८ सय रुपैयाँ मौज्दात रहेको छ । जैमिनीमा आर्थिक बर्ष २०७६/७७ मा चालु तर्फ ३३ करोड ९६ लाख १७ हजार रुपैयाँ खर्च भएको छ भने पुँजीगत तर्फ १८ करोड ३९ लाख ४५ हजार रुपैयाँ खर्च भएको छ । त्यस्तै जैमिनीमा सोहि आर्थिक बर्षमा नै १५ करोड ६७ लाख १८ हजार रुपैयाँ अन्य खर्च देखिएको छ । यो विवरणलाई हेर्दा नगरपालिकामा आर्थिक बर्ष २०७६/७७ मा जम्मा ६८ करोड २ लाख ८० हजार रुपैयाँ खर्च भएको छ । जैमिनीमा खर्च भएकामध्ये २७ प्रतिशत मात्रै पुँजीगत खर्च भएको देखिएको छ ।
आर्थिक बर्ष २०७६/७७ मा जैमिनीको जम्मा आम्दानी ६८ करोड २५ लाख ६४ हजार रहेको छ जसमा आर्थिक बर्ष २०७५/७६ बाट सरआएको दायित्व समेत जोडिएको छ ।
बेरुजु देखिनुमा योजना भन्दा फरक शिर्षकमा भुक्तानी हुने वा आवश्यक कागजात नमिल्नु मुख्य कारण रहने गरेको महालेखापरीक्षकको कार्यालयका नायव महालेखापरीक्षक महेश्वर काफ्लेले बताउनुभयो । जिल्लाखबर डटकमसँगको कुराकानीमा उहाँले भन्नुभयो, “बेरुजु भन्ने बित्तिकै त्यसलाई भ्रष्टाचारको रुपमा बुझ्नु हुँदैन, विशेषगरी बेरुजु भनेको कानुन सम्बत खोजिएका कागजातहरु नहुनु वा विवरण फरक पर्नु हो, यसले पनि बेरुजु देखाउँछ ।”
अहिले अधिकांश स्थानीय तहमा बेरुजु बढ्नुको मख्य कारण पेश्की फर्छौट नहुनु, आवश्यक कागजात नदेखिनु रहेको उहाँको भनाई छ ।
बरेङको लुरुङमा सामुदायिक स्वास्थ्य इकाईको भवन उद्घाटन, बरेङ १ र जैमिनी १० लाभान्वित
हरि कुमार केसी
बागलुङ, ५ भदौ २०७८ ।
बरेङको लुरुङमा शुक्रबार सामुदायिक स्वास्थ्य इकाईको भवन उद्घाटन गरिएको छ । बागलुङको बरेङ गाउँपालिका वडा नम्बर १ धुल्लुबाँस्कोटको लुरुङमा सामुदायिक स्वास्थ्य इकाईको नवनिर्मित भवनको जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङ्गानाले उद्घाटन गर्नुभएको हो ।
उद्घाटन पछि बोल्दै जिसस प्रमुख ढुङ्गानाले बरेङ गाउँपालिकाले स्वास्थ्य लगाएत हरेक क्षेत्रमा उल्लेख्य काम गरेको भन्दै प्रशंसा गर्नुभयो । हरेक क्षेत्रमा विरोध गर्ने मानसिकताको अन्त्य हुनुपर्ने र सबैको सहकार्य र हातेमालोबाट मात्र विकास सम्भव हुने भन्दै उँहाले सबैलाई एकजुट हुन आग्रह गर्नुभएको छ ।
कार्यक्रममा बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले बरेङ गाउँपालिकाका नागरिकको स्वास्थ्य प्रति आफुहरु जिम्मेवार रहेको बताउनुभयो । सामान्य स्वास्थ्य सेवा लिन घण्टौं हिँड्नुपर्ने अवस्था बरेङ गाउँपालिकामा अन्त्य गरिनृ भन्दै उहाँले नागरिकहरुलाई सर्वसुलभ रुपमा स्वास्थ्य सेवा दिन गाउँपालिका सँधैव तत्पर रहेको बताउनुभयो ।
नवनिर्मित भवन उद्घाटन पश्चात स्वास्थ्य इकाई व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ । सामुदायिक स्वास्थ्य इकाई स्थापना भए सँगै बरेङ गाउँपालिका वडा नम्बर १ का लुरुङ्ग, कोकल्दिप सहित जैमिनी नगरपालिकाको वडा नम्बर १० का नेवारे, किटेनी, नाम्दुक लगाएत क्षेत्रका बासिन्दा लाभान्वित भएका छन् ।
गण्डकी, ५ भदौ २०७८ ।
जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले मुलुकका विभिन्न स्थानका मिर्गौला पीडितको उपचार गर्ने बहानामा चन्दा उठाउने तीन व्यक्तिलाई पक्राउ गरेको छ । युनिक स्वयंसेवक नेपाल, धरान सुनसरी नामको संस्थाबाट रसिद छपाइ पोखरामा मिर्गौला पीडितको नाममा चन्दा सङ्कलन गर्ने संस्थाकी अध्यक्ष झापाको विर्तामोडकी ३४ वर्षीया एलिजा बस्नेत र सदस्यद्वय हल्दीबारीका ४४ वर्षीय धनबहादुर सेञ्चुरी तथा विर्तामोडका ३२ वर्षीय टेकबहादुर बस्नेतलाई पक्राउ गरिएको हो ।
प्रहरी नायब उपरीक्षक सुवास हमालका अनुसार गोप्य सूचनाका आधारमा पोखरा महानगरपालिका–२६ विजयपुरस्थित न्यू हाई वे स्टाफ होटल एण्ड लजबाट उनीहरुलाई चन्दा उठाउन प्रयोग भएका रसिद, पर्चा र रु चार लाख छ हजार ४०६ नगदसहित पक्राउ गरिएको हो ।
उनीहरुले १२ जना बिरामीको नाममा समूह बनाएर १० अटो ट्याम्पो भाडामा लिई कास्की, तनहुँ, स्याङ्जा, दैलेख, सुनसरी, चितवन, नवलपरासी, पाल्पालगायतका जिल्लाबाट चन्दा सङ्कलन गर्दै आएको उहाँले जानकारी दिनुभयो । चन्दा ऐन २०३० अन्तर्गत उनीहरुको जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।
काठमाडाै, ५ भदाै २०७८ ।
हाँस्य क्षेत्रमा ‘बखते’काे नामले परिचित कलाकार शम्भुराज थापाको निधन भएकाे छ । कोरोना संक्रमण भएर लामो समयदेखि उपचाररत थापाको शनिबार निधन भएकाे हाे ।
वरिष्ठ हाँस्य कलाकार थापाको शनिबार विहान ४ः४० बजे पाटन अस्पतालमा अस्पतालमा उपचारकै क्रममा निधन भएको परिवारले जनाएकाे छ ।
६४ वर्षे थापाले टेलिफिल्म हल्का रमाइलो, गोलमाल, भद्रगोल, मह सन्चार, मेरीबास्सैमा अभिनय गर्नुभएकाे थियाे । केही ठूला पर्दाकाचलचित्र र विज्ञापनमा पनि उहाकाे अभिनय रहेकाे थियाे ।
चलचित्र क्षेत्रका कलाकारहरूले थापाकाे निधनप्रति दुःख व्यक्त गरेका छन् ।
चन्द्रागिरिमा नेता ओलीको अर्काे सिर्जनाः “परिवर्तनशील दुनियाँमा सधैँ बाँचेको को छ र ! बाँचुन्जेल हो जिन्दगी मर्नु त छँदै छ ।
“इच्छुमतिको किनार, घुमेर भिराडील
घुम्दै आइपुगियो यता रमणीय चन्द्रागिरि हिल
कतै इतिहास, कतै परम्परा गौरव र पौरख
यहीँका डाँडाहरुका सतिदेवी काँधमा बोकेर
शोकमग्न शिवजी भौतारिएका थिए
यही चन्द्रागिरि हुँदै ३२ सय वर्ष पहिले
चित्लाङबाट गोपालीहरु उपत्यका पसेका थिए
यहीँबाट पृथ्वीनारायणले जुँगामा ताउ लगाएर
सुन्दर काठमाडौँलाई नियालेका थिए
देवकोटाले मानवताको बिगुल फुगेका थिए…
यही ठाउँमा अहिले फालिएको भिरलाई
गन्तव्य बनाएका छन् पौरखीहरुले”
चन्द्रागिरि हिल्समा पुगेपछि तीन वर्षअघि ‘सपनामा भावी सन्तती मुस्कुराएको देख्न पाउँ…’ भन्ने सन्देशको रचना सिर्जना गर्नुभएका नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले हिजाे सोही स्थानमा पुगेर राष्ट्रिय एकता र समृद्धिका लागि आत्मबल बढाउने अर्काे सिर्जना गर्नुभएको छ ।
राजनीतिक विवाद र व्यस्तताका बीच पूर्वप्रधानमन्त्री ओलीले हिजाे जेसुम अभियानले चन्द्रागिरि नगरपालिका–१५को सहयोगमा चन्द्रागिरि हिल्समा आयोजना गरेको ‘भिराडील–चन्द्रागिरि जेसुम उत्सव’ कार्यक्रमस्थलमै सो रचना गरी आफ्नो मन्तव्यको पालामा सुनाउनुभएको हो । तत्कालीन प्रधानमन्त्री ओलीले मदन भण्डारी कला साहित्य प्रतिष्ठानले २०७५ असार ३१ मा चन्द्रागिरिमै आयोजना गरेको ‘हिमवत्खण्ड कला साहित्य महोत्सवका अवसरमा पनि यही स्थानमा कविता रचना गर्नुभएको थियो । त्यसबेला उहाँले लेख्नुभएको थियो ।
“परिवर्तनशील दुनियाँमा सधैँ बाँचेको को छ र !
बाँचुन्जेल हो जिन्दगी मर्नु त छँदै छ ।
मरे पनि केही छैन त्यसपछि पनि सपना देख्न पाउँ
सगरमाथा, लुम्बिनी, मेची, महाकाली
हाम्रा लहलह खेत, बारी, झपक्क कान्ला र आलि
सपनामा भए पनि देख्न पाउँ
चन्द्रगिरिको डाँडामा आएर सपनामा
भावी सन्तती मुस्कुराएको देख्न पाउँ
तिनको हँसिलो मुहारको तस्बिर खिच्न पाउँ
मरे पनि केही छैन त्यसपछि पनि सपना देख्न पाउँ ।”
स्थलगतरुपमा रचना गरिएका अन्य स्रष्टाका रचना र स्थानीय कला, संस्कृति तथा समृद्धिबारे मन्तव्य सुनेपछि ओलीले आफ्नो पालोमा कविता सुनाउँदा सहभागीले तालीले सम्मान व्यक्त गरेका थिए । श्रीमती राधिका शाक्य, प्रतिनिधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठसहित उपस्थित ओलीले विकासको सङ्कल्प प्रतिविम्बन गर्दै आधुनिकता टल्काउँदै भिरलाई गन्तव्यमा परिणत गर्न आह्वान गर्नुभयो । आफूले रचना गरेको सिर्जना कवितै नभए पनि मुक्तकभन्दा उन्मुक्त रचना भएको र गोपालप्रसाद रिमालको गद्यमार्गमा हिँडेको व्याख्या पनि उहाँले गर्नुभयो ।
उहाँले आफूले अरूका रचना सुनेपछि समृद्ध नेपालका लागि आत्मविश्वास बढेको बताउँदैै समाज निसासिएका बेला आफूले सामाजिक र राजनीतिक अभियान सुरु गर्दा सुरुङको पछिल्लो छेउमा पक्कै उज्यालो हुनुपर्छ भन्ने आशाका साथ लागेको र अहिले यस अभियानमा धेरै अभियानकर्मी भइसकेको सुनाउनुभयो ।
कार्यक्रममा प्रगतिशील लेखक सङ्घका अध्यक्ष डा जीवेन्द्रदेव गिरी, प्राज्ञ लक्ष्मी माली, प्राज्ञ शशी लुमुम्बु, वासुदेव अधिकारी, फूलमान बल, स्नेह सायमी, सुरेश हाँचेकाली, अनिता लामा, राजु महत, प्रशान्त डङ्गोलले कविता वाचन गर्नुभएको थियो भने नाट्यकर्मी राजन खतिवडा र सरस्वती चौधरीले नाटक प्रस्तुत गर्नुभएको थियो ।