राष्ट्रपति भण्डारीद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी, देउवा पनि ओलि कै बाटाेमा
काठमाण्डाै, २ भदाै २०७८ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७८ जारी गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा याे अध्यादेश जारी गर्नुभएको हो ।
राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा राष्ट्रपति भण्डारीले याे अध्यादेश जारी गर्नुभएको उल्लेख छ ।
दल विभाजनलाई सहज बनाउने गरी मन्त्रिपरिषद्ले हिजो मङ्गलवार अध्यादेश सिफारिस गरेको थियो । राजनीतिक दलसम्बन्धी व्यवस्थाअनुसार केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत प्रतिनिधित्व हुने गरी मात्रै दल विभाजन गर्न पाउने व्यवस्था रहेकोमा अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पुर्याएमा दल विभाजन गर्न सकिने व्यवस्था गरिएको छ । अध्यादेश सिफारिस भएदेखि नै सत्ता पक्ष र प्रतिपक्षका नेताहरूले विरोध गर्दै आएका छन् ।
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलिले ल्याउन खाेजेकाे याे अध्यादेशकाे कांग्रेसले बिराेध गरेकाे थियाे तर अहिले सत्तामा पुगेपछि शेर बहादुर देउवा नेतृत्वकाे कांग्रेस सरकारले पुनः याे अध्यादेश ल्याएपछि देउवा सरकारले पनि ओलिकाे पथ पछ्याएकाे टिप्पणी हुन थालेकाे छ ।
काठमाडौँ, २ भदौ २०७८ ।
केहीवर्ष अघिसम्म सामान्य कारोबारको भुक्तानीका लागि पनि कि चेक काट्नुपथ्र्याे, कि त नगद नै दिनुपथ्र्याे । सूचना तथा प्रविधिको क्षेत्रमा आएको विकासलाई क्रमशः अवलम्बन गर्दै गएको बैंक तथा वित्तीय संस्थाले क्रमशः विद्युतीय कारोवारलाई बढावा दिएका छन् । कोरोनाको महामारी आउनुभन्दा पहिले वैकल्पिक प्रणाली जस्तो रहेको विद्युतीय कारोबार अहिले आएर भने आम नागरिकको सेवा बन्न पुगेको छ । नेपाल राष्ट्र बैंकले योजनाबद्ध रुपमा नै विद्युतीय भुक्तानी र कारोवारलाई बढावा दिएको छ । मोबाइल वालेट, कनेक्ट आइपिएस, आरजिटिएस जस्ता प्रणाली सञ्चालनमा ल्याएको छ । यसले गर्दा आम मानिसलाई कारोवारमा सहजता र विश्वसनियता पनि थपेको छ । यता विद्युतीय कारोवारमा वृद्धि भएसँगै सुरक्षाबारे बढेको चासोप्रति भने नियामक निकायको दायित्व थपिएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को विवरणअनुसार विद्युतीय कारोवारको सङ्ख्या र परिमाण दुवै बढेको देख्न सकिन्छ । केन्द्रीय बैंकका अनुसार २०७७ जेठ मसान्तको तुलनामा २०७८ जेठ मसान्तसम्म आइपुग्दा ठूलो कारोवारका राफसाफका लागि सञ्चालनमा ल्याइएको रियल टाइम ग्रस सेटलमेन्ट (आरजिएिस) कनेक्ट आइपिएस र मोबाइल बैंकिङमार्फत हुने कारोबारमा उल्लेख्य वृद्धि भएको छ । विवरणअनुसार २०७७ जेठको तुलनामा २०७८ जेठमा विद्युतीय कारोवारमा चार गुणाले वृद्धि भएको छ । बैंकका अनुसार २०७७ जेठमा रु १६ खर्ब ३८ अर्ब १० करोड ४० लाख बराबरको कारोबार भएकामा २०७८ जेटमा आइपुग्दा रु २१ खर्ब १२ अर्ब ४० करोड ६७ लाख बराबरको कारोवार भएको छ । त्यसमा आरजिटिएस, कनेक्ट आइपिएस र मोबाइल बैंकिङको ठूलो हिस्सा रहेको छ । विवरण हेर्दा कारोबारको मात्रा एक वर्षको अवधिमा ४१२ प्रतिशतले बढेको देखिन्छ ।
केन्द्रीय बैंकका अनुसार २०७७ जेठमा छ लाख ९६ हजार ५३८ पटक कनेक्ट आइपिएसबाट कारोवार भएकोमा २०७८ जेठमा आइपुग्दा त्यसमा वृद्धि भई दुई लाख १६ हजार ६४८ पुगेको छ । विसं २०७७ जेठ मसान्तसम्म कूल ३७ हजार २९७ पटक आरजिटिएसमार्फत भुक्तानी भएकोमा २०७८ जेठमा पुग्दा कूल ३४ हजार ८७४ पटक आरजिटिएस कारोवार भएको छ । यस्तै, नेपाल राष्ट्र बैंकले अभियानकै रुपमा सञ्चालन गरेको क्विक रेस्पोन्स(क्यूआर) मा आधारित कारोवारमा पनि उत्तिकै वृद्धि भएको छ । विसं २०७७ असार मसान्तमा एक लाख ९५ हजार १६ वटा कारोवार भएकामा २०७८ जेठ मसान्तमा आइपुग्दा यसमा वृद्धि भई पाँच लाख दुई हजार ६६६ पुगेको छ ।
विसं २०७७ जेठमा मोबाइल बैंकिङमार्फत ५८ लाख १७ हजार ६८१ पटक कारोवार भएकोमा त्यो बढेर २०७८ जेठ मसान्तमा एक करोड १० लाखभन्दा माथि पुगेको छ । वालेटमार्फत हुने कारोवारको अवस्था पनि त्यस्तै उत्साहप्रद रहेको छ । विसं २०७७ जेठमा एक करोड एक लाख ७९ हजार ५५७ पटक कारोवार भएकोमा २०७८ जेठ मसान्तमा केही घटेर ९७ लाख ५० हजार ६५ मा सीमित भएको छ । कोरोनाका कारण २०६७ चैतदेखि २०७७ साउनसम्म देशव्यापी लकडाउन लागू भयो । यस्तै २०७८ वैशाख १६ गतेदेखि २०७७ असारको दोस्रो सातासम्म देशव्यापी निषेधाज्ञा लागू भयो ।
कोरोनाका कारण बैंक तथा वित्तीय संस्थामा भौतिक रुपमा उपस्थित भएर कारोवार गर्न नपाएपछि आम मानिसले विद्युतीय कारोवारलाई नै प्राथमिकता दिएका छन् । विद्युतीय कारोवार सहज र सस्तो भएकाले पनि मानिसको आकर्षण बढेको देखिन्छ । राष्ट्र बैंकको विवरणअनुसार कनेक्ट आइपिसमार्फत हुने कारोवार रु एक खर्ब भन्दा बढीले भएको छ । विसं २०७७ जेठ मसान्तमा रु ५१ अर्ब ३० करोड ६० लाख बराबरको कारोबार कनेक्ट आइपिएसमार्फत भएकामा त्यो बढेर २०७८ जेठ मसान्तमा आइपुग्दा रु एक खर्ब ५८ अर्ब २५ करोड ४० लाख बराबर पुगेको छ । अघिल्लो जेठमा १४ लाख ६४ हजार वटा कारोबार भएकामा २०७८ जेठमा आइपुग्दा त्यो बढेर २१ लाख ६० हजार ६४८ पटक कारोवार भएको छ ।
नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेषमान प्रधानका अनुसार ग्राहकमा बढ्दै गएको प्रविधिप्रतिको जागरुपता तथा कोरोनाका कारण पनि विद्युतीय कारोवारमा वृद्धि भएको हो । सरकार, नेपाल राष्ट्र बैंक तथा सम्वद्ध अन्य सरकारी तथा गैरसरकारी निकायको सार्थक प्रयासले नगदरहित कारोवारमा अभिवृद्धि हुन पुगेको उहाँको भनाइ छ । कनेक्ट आइपिएसमार्फत कारोवार गर्नेको मात्रा ६६० प्रतिशतले वृद्धि भएको छ ।
यस्तै, आइपिमार्फत हुने कारोवार पनि ८५ प्रतिशतले वृद्धि भएको छ । प्रमुख कार्यकारी अधिकृत प्रधान सबै क्षेत्रमा सहज रुपमा विद्युतीय कारोवार हुने र स्वीकार्य हुने अवस्था बनेको खण्डमा नगद कारोवारलाई न्यून विन्दुमा झार्न सकिने बताउनुहुन्छ । नीतिगत रुपमा पनि सहज व्यवस्था गरिएको तथा कारोनाका कारण पनि सहज कारोवारमा आम चासो बढेको भन्दै उहाँले सर्वस्वीकार्य कारोवारको लागि थप व्यवस्था गर्न सरोकारवाला सबैले चासो दिनुपर्नेमा जोड दिनुभयो ।
बैंकका अनुसार २०७७ असार मसान्तसम्म कूल रु ५८ करोड ९० लाख बराबरको भुक्तानी क्यूआरकोडमार्फत भएकामा त्यो बढेर २०७८ जेठ मसान्तमा आइपुग्दा रु एक अर्ब ९६ करोड ८० लाख बराबर पुगेको छ । यसले पनि नेपाली नागरिक प्रविधिको प्रयोगमा अध्यस्त हुँदै गएको देखिन्छ । केन्द्रीय बैंकले कालीमाटी तरकारी तथा फलफूल बजारका अतिरिक्त देशका प्रमुख तरकारी बजार, डिपार्टमेन्टल स्टोर तथा अन्य सार्वजनिक स्थानमा क्यूआरकोडको प्रयोगलाई बढावा दिन अभियान नै चलाएको छ ।
नबिल बैंकका नायब महाप्रबन्धक मनोज ज्ञवाली नेपाल राष्ट्र बैंकले सहज रुपमा नीतिगत व्यवस्था गरिदिएको तथा नागरिकमा आएको जागरुपताका कारण पनि विद्युतीय कारोवारमा वृद्धि भएको बताउनुहुन्छ । आफनो बैंकले पनि क्यूआर कोडको प्रयोगलाई अभियानकै रुपमा अगाडि बढाएको उल्लेख गर्दै उहाँले कोरोनाकाल भन्दा अगाडि र पछाडिको तुलना गर्दा उल्लेख्य रुपमा विद्युतीय कारोवारमा वृद्धि भएको जानकारी दिनुभयो । क्यूआर कोड प्रयोग गर्ने क्रम बढ्दै जाँदा त्यसले समाजमा समेत सकारात्मक प्रभाव पारेको छ । खुद्रा पसल, तरकारी बजार तथा सामान्य व्यवसायमासमेत क्यूआरकोड प्रयोगमा वृद्धि हुँदै आएको छ ।
बैंक तथा वित्तीय संस्थाले फोन वा डिजिटल प्रणालीमार्फत कर्जासमेत उपलब्ध गराउने व्यवस्था गरिसकेको जानकारी दिँदै नायब महाप्रबन्धक ज्ञवाली केही समयभित्रै विद्युतीय कारोवारमार्फत ४५ लाख बढी ग्राहक जोडिने विश्वास व्यक्त गर्नुहुन्छ । नगदरहित कारोवारलाई बढावा दिँदै जाने केन्द्रीय बैंकको योजना छ । गभर्नर महाप्रसाद अधिकारीले यो अभियानलाई महाअभियानको सङ्ज्ञा दिनुभएको छ । निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थालेसमेत यसलाई आत्मसात् गरेका छन् ।
चालू आर्थिक वर्षको मौद्रिक नीतिमा पनि विद्युतीय भुक्तानी प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउने योजना समेटिएको छ । नगदरहित कारोवारको प्रवद्र्धनमा लागेको केन्द्रीय बैंकले त्यसका लागि उपकरणको अन्तरआवद्धता गर्दै राष्ट्रिय भुक्तानी स्वीच स्थापना गर्ने भएको छ । मौद्रिक नीतिमा आर्थिक वर्ष २०७९÷८० लाई विद्युतीय भुक्तानी कारोवार प्रवद्र्धन वर्षको रूपमा मनाउने लक्ष्य राखेको छ । त्यसका लागि चालू आवमा आवश्यक पूर्वाधारको विकास र चेतना अभिवृद्धिमा जोड दिने लक्ष्य छ ।
गभर्नर अधिकारीका अनुसार विद्युतीय भुक्तानीका उपकरणबीच अन्तरआवद्धता कायम गर्दै नेपालभित्र हुने भुक्तानी कारोवारको राफसाफ तथा अभिलेखीकरण गर्न र नेपालको आफ्नै भुक्तानी कार्ड प्रयोगमा ल्याइनेछ । विद्युतीय भुक्तानी प्रणालीको समग्र इकोसिस्टमको विकास र प्रवद्र्धनमा लगानी गर्ने भुक्तानी सेवा प्रदायक तथा भुक्तानी प्रणाली सञ्चालक र सञ्चार सेवा प्रदायक संस्थालाई विशेष पुनरकर्जा उपलब्ध गराइनेछ ।
त्यस्तो भुक्तानी कारोवारको प्रवद्र्धनका लागि विभिन्न माध्यमबाट हुने कारोवारको सीमा पुनरावलोकन गर्ने, कारोवारमा लाग्ने शुल्कलाई उपयुक्तस्तरमा कायम गर्न नीतिगत व्यवस्था गर्ने भएको छ । सरकारले प्राप्त गर्ने राजस्व र सबै प्रकारका भुक्तानी बैंकिङ तथा विद्युतीय भुक्तानीको माध्यमबाट गर्ने व्यवस्थाको लागि आवश्यक सहजीकरण गर्न आवश्यक व्यवस्था गरिनेछ ।
यस्तै, भुक्तानी सेवा प्रदायक तथा भुक्तानी प्रणाली सञ्चालक संस्थाको कारोवारको दायरा बढाइ लघुवित्त वित्तीय संस्था र सहकारीका ग्राहक समक्षसमेत विद्युतीय भुक्तानी सेवा पु¥याउन प्रोत्साहन गर्ने नीतिमा समावेश छ ।
बैंक तथा वित्तीय संस्थामा कर्जाको आवेदनदेखि स्वीकृति गर्नेसम्मको प्रक्रियालाई विद्युतीय माध्यमबाट हुने व्यवस्थाका लागि सहजीकरण गर्न डिजिटल कर्जा मार्गदर्शन तर्जुमा गरी कार्यान्वयनमा ल्याउने लक्ष्य राखिएको छ । विश्वमा विद्युतीय मुद्राको प्रयोग तथा सम्भाव्यता अध्ययन भइरहेको सन्दर्भमा नेपालसमेतमा केन्द्रीय बैंक विद्युतीय मुद्राको सम्भाव्यता अध्ययन गर्ने लक्ष्य नीतिले लिएको छ । संसारभर नै क्रिप्टोकरेन्सी तथा बिटक्वाइनको प्रयोग बढ्दै गएको सन्दर्भमा केन्द्रीय बैंकले आफनो नीतिमार्फत सोही दिशामा आफूलाई अग्रसर बनाएको छ ।
नेपाल विद्युत् प्राधिकरणले महसुल भुक्तानीमा केही वर्षपहिलेदेखि नै विद्युतीय प्रणाली शुरुवात गरिसकेको छ । काठमाडौँका अधिकाँश वितरण केन्द्रको महसुलमध्ये झण्डै ५० प्रतिशत हिस्सा विद्युतीय प्रणालीमार्फत हुने गरेको छ । खानेपानीको बिलदेखि हवाई टिकट खरिदसम्म विद्युतीय माध्यमबाटै हुने गरेको छ । सरकारको राजश्वदेखि अन्य दैनिक उपभोग्य सामग्रीको खरिदमा समेत विद्युतीय भुक्तानीको मात्रामा बढोत्तरी भएको छ । नगद नै नभएपनि जीवन सहज रुपमा चलाउन सकिने अवस्था सिर्जना भएको छ । घर, कार्यालय वा आफूलाई आवश्यक परेको स्थानमा मोबाइलबाटै खाना तथा खाजा समेत मगाउन सकिने सहज वातावरण सिर्जना भएको छ ।
कनेक्ट आइपिएसमार्फत नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, राहदानी तथा ट्राफिक प्रहरीको जरिवाना तिर्न सकिन्छ । यस्तै, सवारी साधन खरिद, शेयरबजार कारोबार, बीमाशुल्क तथा इन्टरनेटको बिल, मोबाइल टेलिफोनको बिल तथा बालेटमा समेत पैसा राख्न सकिन्छ ।
Breaking News: पहिराले नौबिसे–नागढुङ्गा सडकखण्ड अवरुद्ध
धादिङ, २ भदौ २०७८ ।
त्रिभुवन राजपथअन्तर्गत नौबिसे–नागढुङ्गा सडकखण्डको सिस्नेखोलामा पहिरा खस्दा राजमार्ग अवरुद्ध भएको छ । सिस्नेखोला र खत्रीपैवा बीचका भागमा सडकमाथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी प्रमुख रुपा थापाले जानकारी दिनुभयो ।
लगातार पानी परिरहेका कारण पहिरो हटाउन केही समय लाग्ने र पहिरामा फसेको ना२ख ८३५३ नम्बरको ट्रकलाई निकालिएको उहाँले बताउनुभयो । सडक फराकिलो पार्ने क्रममा पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको छ ।
काठमाडौँ, २ भदौ २०७८ ।
सवारी चालक अनुमतिपत्रका लागि लिइने परीक्षामा सहभागीमध्ये एक तिहाईभन्दा कम मात्रै पास हुने गरेकामा कम्तीमा आधा पास हुने गरी परीक्षा खुकुलो बनाइएको छ । यातायात व्यवस्था विभागले ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७’ मार्फत परीक्षालाई खुकुलो बनाएर पास हुने दर बढाउन लागिएको हो । परीक्षा प्रणाली कडा हुँदा धेरै सहभागी अनुत्तीर्ण भएपछि यसलाई खुकुलो बनाइएको हो । सवारी चालक अनुमतिपत्र परीक्षाको लिखित र प्रयोगात्मक दुबै परिवर्तन गरिएको विभागका प्रवक्ता डा लोकनाथ भुषालले बताउनुभयो ।
लिखित परीक्षाका लागि विभागको वेवसाइटमा प्रश्न राखिएको छ । वेवसाइटमा राखिएका पाँच सय प्रश्न भित्रबाट यातायात व्यवस्था कार्यालयले २५ प्रश्न निकाल्ने प्रवक्ता डा भुषालले बताउनुभयो । कुन खण्डबाट कति प्रश्न सोधिन्छ भन्ने मापदण्डमा नै उल्लेख गरिएको छ । कार्यालयले त्यसैका आधारमा प्रश्न छापेर परीक्षा सञ्चालन गर्ने उहाँले बताउनुभयो । नयाँ मापदण्डानुसार परीक्षामा पास हुनका लागि चाहिने नम्बर पहिलेभन्दा लिखित परीक्षाका लागि बढाइएको छ भने प्रयोगात्मक परीक्षाका लागि कम गरिएको छ । पहिले प्रयोगात्मक परीक्षामा सहभागीले शतप्रतिशत अङ्क ल्याउनुपर्नेमा अहिले ७० ल्याए पुग्छ भने लिखित परीक्षामा पहिले ५० प्रतिशत उत्तीर्ण अङ्क थियो भने अहिले त्यसलाई बढाएर ६० बनाइएको छ । परीक्षार्थीलाई सजिलो बनाउनका लागि प्रयोगात्मक परीक्षामा पास गर्न चाहिने नम्बर कम गरिएको हो ।
उहाँले भन्नुभयो, “लिखित परीक्षामा सीमित प्रश्नबाटै आउने भएकाले उत्तीर्ण अङ्क पहिले ५० भएकामा अहिले ६० बनाइएको छ ।” प्रयोगात्मक परीक्षामा सामान्य खालका गल्ती भइहालेमा पनि सहभागी उत्तीर्ण नहुने गरेकामा अहिले ससाना गल्ती गरे पनि अनुत्तीर्ण नहुने मापदण्डमा व्यवस्था छ । प्रयोगात्मक परीक्षामा आठ वटा आधार रहेकामा कुनैमा गल्ती गर्नै नहुने र कुनैकुनैमा सानो गल्ती भइहालेमा पनि पास नै हुने प्रवक्ता डा भुषालले बताउनुभयो ।
पहेँलो धर्कामा छुँदा, एक पटक केही गरी गाडी बन्द भएमा वा मोडमा बत्ती नबाल्दा पनि छुट दिइने व्यवस्था छ । उहाँले भन्नुभयो, “उकालोमा रोकर अड्याउनुपर्नेमा गल्ती हुँदा भने फेल हुनेछ ।” भारत, चीन, बेलायत, अमेरिकालगायतका देशमा भन्दा हाम्रो अप्ठेरो परीक्षा प्रणाली भएकाले परीक्षा प्रणाली केही सजिलो बनाउन लागिएको विभागले जनाएको छ ।
अरु देशमा ६०÷७० प्रतिशतसम्म पास दर रहेकामा नेपालमा २५÷३० प्रतिशतको हाराहारीमा मात्रै सहभागी पास भएको पाइन्छ । नेपालमा सवारी चालककै कारणले दुर्घटना बढेको भन्दै परीक्षा प्रणाली थप कडा हुनुपर्ने विषय उठिरहँदा विभागले भने यसलाई खुकुलो बनाउन लागेको छ । चालकको व्यवहारका कारण दुर्घटना हुने र दुर्घटनाको परीक्षा प्रणालीमा सम्बन्ध नहुने विभागका प्रवक्ता डा भुषालले बताउनुभयो । परीक्षा प्रणाली कमजोर हुँदा दुर्घटना बढी हुन्छ भन्ने कुनै पनि अध्ययनले नदेखाएको उहाँले बताउनुभयो ।
दुर्घटना चालकले नजानेर वा हेलचेक्र्याइको कारणले हुने गरेको छ । चालकले मादक पदार्थ खाएर सवारीसाधन चलाएर दुर्घटना भएको पाइन्छ । उहाँले भन्नुभयो, “कुनै पनि चालकले आफू परिपक्व नभइ सडकमा जाँदैन, ज्यानको माया सबैलाई हुन्छ ।” विभागले मापदण्ड लागू गरिसकेको भए पनि अहिले यातायात कार्यालय बन्द भएकाले खुल्नासाथ परीक्षा नयाँ प्रणालीमा लिइनेछ । मापदण्ड जेठदेखि लागू गरिएकोमा साउनमा केही संशोधन गरिएको थियो ।
नयाँ प्रणालीअनुसार पास दर कम्तीमा ५० प्रतिशत पुग्ने अपेक्षा
अहिले पास दर कम हुँदा गैरकानूनी बाटोबाट अनुमतिपत्र लिन खोज्ने प्रवृत्ति रहेकामा त्यसलाई नियन्त्रण गर्ने अपेक्षा गरिएको छ । सेवाग्राहीले केही गरेर पास गर्न सकिएन भने अलिअलि खर्च गरेर भए पनि पास गरौँ भन्ने सोचाइमा विकल्प खोज्ने प्रवक्ता डा भुषालले बताउनुभयो । त्यस्तै, पटकपटक एकै जना व्यक्ति परीक्षा दिन जानुपर्दा यातायात कार्यालयमा सधैँ भीड भइरहेको छ । पास हुने दर बढ्दा बजारमा सवारी चालकको कमी हुने छैन । एउटै सेवाग्राहीले उही सेवा सधैँ दिनुपर्दा कार्यालयलाई झन्झट भएको र सवारी साधन चलाउछु भन्नेले चलाउन नपाएको प्रवक्ता डा भुषालले बताउनुभयो । उहाँले भन्नुभयो, “सकेसम्म जोखिम नहुने गरी जनताको इच्छा पूरा गर्नु पनि राज्यको कर्तव्य हो ।”
यसअघि विभागले लिखित परीक्षामा सहभागी सेवाग्राहीले प्रयोगात्मक परीक्षामा एक पटक उत्तीर्ण नहुँदा अर्काे दुई पटक सहभागी हुन पाउने व्यवस्था गरेको थियो । नयाँ मापदण्डमा पनि यसलाई निरन्तरता दिइएको छ ।
गण्डकीमा थप ५ सय ४५ जना काेराेना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या ६ हजार नाघ्यो
पोखरा, १ भदाै २०७८ ।
गण्डकी प्रदेशमा सक्रिय कोरोना संक्रमितको ६ हजार नाघेको छ । मंगलबार थप ५ सय ४५ जना संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या ६ हजार २१ पुगेको हाे ।
उनीहरुमध्ये २ हजार ८ सय १९ जना अस्पतालमा उपचाररत छन् भने बाँकी होम आइसोलेसनमा रहेकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार पछिल्लो समय अस्पतालमा भर्ना भएकामध्ये अधिकांशको अवस्था गम्भीर छ । अस्पतालमा भर्ना भएकामध्ये ७१ जना आईसीयूमा, ११ जना भेन्टिलेटरमा र १ सय ७३ जना हाइफ्लोयुक्त आईसीयू्मा उपचाररत रहेका छन्र ।
पछिल्लो समय ६ सय ८८ जना निको भएका छन् भने थप चार जनाको मृत्यु भएको निर्देशनालयको आपतकालीन कार्य सञ्चालन केन्द्र संयोजक नवराज शर्माले जानकारी दिनुभयाे । मृत्यु हुनेमा कास्की, स्याङजा, तनहुँ र नवलपुरका छन् । योसँगै प्रदेशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २०६ पुगेको छ ।
न्यादी हाइड्रोपावरको आइपिओ खुला, कसले भर्न पाउँछन् ?
काठमाडौँ, १ भदौ २०७८ ।
न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) बिक्री खुला भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र लमजुङका स्थानीय बासिन्दा तथा संस्थापक शेयर धनीका लागि आजबाट बिक्री खुला गरेको हो ।
सो आइपिओ छिटोमा यही भदौ १५ गतेसम्म र ढिलोमा भदौ ३० गतेसम्म बिक्री खुला हुने जनाइएको छ । कम्पनीले प्रतिशेयर १०० अङ्कित मूल्यका कुल १८ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । यसमध्ये आयोजना प्रभावित स्थानीयवासीका लागि पाँच लाख, जिल्लावासीका लागि १० लाख र बाँकी तीन लाख कित्ता शेयर कम्पनीले आफ्ना संस्थापक शेयरधनी बुटवल पावर कम्पनी र लमजुङ विद्युत् विकास कम्पनीका कर्मचारीका लागि निष्काशन गर्न लागेको हो ।
कम्पनीले मर्स्याङ्दी गाउँपालिका–३ (साविक खुदी गाविसका वडा नं १, २, ३ र ६ मात्र) तथा मर्स्याङ्दी –६, ७ र ८ (साविक बाहुनडाँडा गाविस र साविक भुलभुले गाविसका सम्पूर्ण वडा) का स्थानीय बासिन्दाका लागि पाँच लाख कित्ता शेयर निष्काशन गरेको हो ।
आइपिओमा एनएमबि बैंकको बेंसीशहर शाखा, सिभिल बैंकको भुलभुले शाखा तथा ग्लोबल आइएमई बैंकको बेँसीशहर, उदिपुर, दोर्दी, भोर्लेटार, सुन्दरबजार र भोटेओडार शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । कम्पनीका संस्थापक शेयरधनी संस्थाका कर्मचारीले कम्पनीको कार्यालय बुद्धनगरबाट आवेदन दिन सक्नेछन् ।कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइमएई क्यापिटल छ । यससँगै इच्छुक स्थानीय बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।
सुजन प्रेमी
बागलुङ, १ भदाै २०७८ ।
बागलुङको जैमिनी नगरपालिकामा निषेधाज्ञा फेरि थपिएको छ । सोमबार बसेको सरोकारवालाहरुको बैठकले भदाै ५ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको हो ।
कोरोना संक्रमणदर नघटेपछि निषेधाज्ञा थप गरिएको जैमिनी नगरपालिकाका नगर प्रमुख ईन्द्रराज पौडेलले जानकारी दिनुभयो । नगरपालिकाको केन्द्र रहेको कुश्मिसेरा बजारमा नै कोरोना संक्रमण फैलिएपछि निषेधाज्ञा गरिएको थियो ।
निषेधाज्ञाको अवधीमा अत्यावश्यकका पसलहरु बाहेक सबै पसल बन्द गर्नुपर्ने जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार अत्यावश्यकका पसलहरु पनि बिहान ७ देखि १० र साँझ ५ देखि ७ बजेसम्म मात्र खोल्न पाइने छ ।
निषेधाज्ञाको पूर्ण रुपमा पालना गर्न नगरपालिकाले आग्रह गरेको छ । यदि कसैले अवज्ञा गरेमा कानुन बमोजिम कारवाही गरिने नगरपालिकाले चेतावनी दिएको छ ।
जिल्ला प्रशासन कार्यलय बागलुङले पनि जिल्लामा भदाै ५ गतेसम्मका लागि कडा निषेधाज्ञा कायम गरिसकेकाे छ ।
बागमती प्रदेशको प्रदेशसभा बैठक आज बस्दै
बागमती, १ भदौ २०७८ ।
बागमती प्रदेशको चालु वर्ष २०७८/७९ को नीति, कार्यक्रम तथा बजेट पास भएपछिको पहिलो प्रदेशसभा बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको छ । बागमती प्रदेशसभाको आठौँ अधिवेशनको २२औँ बैठक बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
प्रदेशसभामा केही प्रदेश ऐन संशोधन गर्ने विधेयक र प्रदेशसभा नियमावली संशोधन दर्ता भएको प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले बताउनुभयो । यसैगरी उच्च शिक्षासम्बन्धी विधेयक र पर्यटनसम्बन्धी विधेयक यसअघि नै दर्ता भएका छन् । प्रदेशको चालु वर्षको नीति, कार्यक्रम तथा बजेट पास गरेसँगै पहिलोपटक प्रदेशसभा बैठक बस्न लागेको हो ।
बागलुङ, १ भदौ २०७८ ।
कोरोना संक्रमणबाट बागलुङमा एक महिलाको मृत्यु भएको छ । बागलुङ नगरपालिका वडा नम्बर १२ अमलाचौरकी एक महिलाको कोरोना संक्रमणका कारण ज्यान गएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल ल्याउँदै गर्दा ७० वर्षीया ती महिलाको बाटोमा नै मृत्यु भएको स्वास्थ्य कार्यलय बागलुङका कोरोना फोकल पर्सन देव प्रकाश घिमिरेले जानकारी दिनुभयो ।
आइतबार कोरोना देखिएकी उनलाई स्वास्थ्यमा समस्या भएपछि पोखरा लगिएको थियो तर पोखराका अस्पतालहरुले भर्ना लिन नमानेपछि बागलुङ फर्काउँदै गर्दा बाटोमा नै ज्यान गएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।
मृतक महिलामा कोभिड निमोनियाको लक्षण देखिएको थियो । बिमारले सिकिस्त भएपछि परिक्षण गर्दा उनमा कोरोना पुष्टि भएको थियो ।
काठमाण्डौ, १ भदाै २०७८ ।
ग्लोबल आईएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त हुनुभएको छ । यही साउन २९ गते बसेको बैंकको सञ्चालक समितिको निर्यणअनुसार रेग्मी नायब प्रमुख कार्यकारी अधिकृतमा भदौ १ गतेदेखि लागू हुने गरी बढुवा हुनुभएको हो ।
झन्डै तीन दशकदेखि बैंकिङ क्षेत्रमा कार्यरत रेग्मी २०६५ वैशाखमा नायब प्रबन्धक तहबाट ग्लोबल आईएमई बैंकमा प्रवेश गर्नुभएको थियो ।
रेग्मीले अहिले ग्लोबल आईएमई बैंकको कर्जातर्फ साना तथा मझौला/खुद्रा कर्जा, अपरेशन तथा सामान्य प्रशासन विभागको समेत सुपरीवेक्षण गर्नुहुन्छ । बैंकिङ क्षेत्रसँग सम्बन्धी दर्जनौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम लिनुभएका रेग्मी मर्जर व्यवस्थापन तथा कर्जा लगानी क्षेत्रमा अब्बल मानिनुहुन्छ ।
रेग्मीले बेलायतको युनिभर्सिटी अफ वेल्सबाट सन् २००१ मा एमबीए गर्नुभएको छ । उज्यालाे ।