पर्वतमा पहिराेमा परि ज्यान गुमाउनेकाे संख्या थपियाेः विद्युत् बन्द,टेलिफाेन सेवा प्रभावित
पर्वत, १८ भदाै २०७८ ।
पर्वतमा पहिराेमा परि ज्यान गुमाउनेकाे संख्या थपिएकाे छ ।
पर्वतको विभिन्न ठाउँमा गएको पहिरोमा परि ज्यान गुमाउनेको सङ्ख्या १० जना पुगेको हाे । पहिराेमा परेर एक जना हराइरहेका छन् । ज्यान गुमाउनेमा एकै परिवारका पाँच जना छन् । कुश्मा नगरपालिका ३ दुर्लुङमा गएको पहिरोले माधव शर्माको घर पुरिँदा उहाँकी ७५ वर्षीया आमा कौशिला पौडेल, श्रीमती ३५ वर्षीया भगवती, दुई छोरीहरू १६ वर्षीया विमला र ११ वर्षीया विनिताका साथै नाै ९ वर्षीय छोरा विनोदको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
यसैगरी कुश्मा–११ सिल्मीमा मनिलाल पौडेलको घरमा पहिरो खस्दा पाहुना आएकी पर्वतकै मोदी गाउँपालिका ७ की ३८ वर्षीया दुर्गा पौडेल र उहाँका ६ वर्षीय छोरा गणेशको पनि ज्यान गएको छ ।
यस्तै कुश्मा नगरपालिका ११ पकुवा ताल्चेमा आज शुक्रवार बिहान खसेको पहिरोले घर पुर्दा ४० वर्षीया मायाकुमारी पौडेल र उहाँका तीन वर्षीय छोरा प्रयुशको ज्यान गएको छ । पहिराेमा मायाकुमारीकी सासू ७० वर्षीया डल्ली पाध्या पौडेल पहिरोमा बेपत्ता हुनुभएको प्रहरीले जनाएको छ ।
साथै पर्वतकै मोदी गाउँपालिका ५ आम्बोटमा घरमाथिबाट आएको पहिरोले पुरिएर ५० वर्षीया फूलमाया थापाको ज्यान गएको छ । पर्वतमा शुक्रवार बिहानैदेखि विद्युत् सेवा बन्द भएको छ भने टेलिफोन सेवा पनि प्रभावित भएको छ ।
उज्याले बाट साभार
बागलुङ, १७ भदौ २०७८ ।
केही दिनदेखि निरन्तर वर्षा भइरहेको थियो । बागलुङकाे भुजी खोलामा वर्षापछिको बाढीले सुसेली हालेको भए पनि घरमै पसेर विध्वंश मच्याउला भनेर कसैले सोचेनन् । खोलाको बहाव आफ्नै गतिमा थियो । अघिल्ला वर्षमा पनि खोला यसै गरी सुसाउँथ्यो र अहिले पनि उसै गरिरहेको छ ।
बाउ बाजेका पालादेखि बस्दै आएको खोला किनारका बस्ती बेसी झरेका बेला बोबाङ बासीका आश्रयस्थल थिए । ढोरपाटन र बुकीमा बसेर गाईबाख्रा पाल्ने अधिकांश बोबाङवासीको छ महिनाको बसाई भुजीखोला छेउछाउमा भए पनि उनीहरुको स्थायी बसोबास त्यहीँ हो । विसं २०७७ भदौ १७ गतेअर्थात् आजकै दिन भुजीखोला किनारका स्थानीयका लागि कालो दिन बन्यो । रातको १२ बजेको हुँदो हो भुजी खोलामा अनायसै आएको बाढीले नत पानी भन्न दियो, नत गुहार नै माग्न ।
बाढीपहिराले ढोरपाटन नगरपालिका वडा नं ९ देखि ६ सम्मको खोला किनार बडार्यो । कसैलाई लछारेर किनारा लगायो, कसैको प्राण लियो र धेरै जना अझै बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालय बागलुङको तथ्याङ्कअनुसार भुजीखोलाको बाढीपहिराका कारण ढोरपाटनका मात्रै ३७ जनाले ज्यान गुमाएका थिए ।
पन्ध्र जना अझै बेपत्ता छन् । ढोरपाटन–९ को सुर्तिबाङमा पहिरो खसेर भुजीखोला थुनिएपछि नरसम्हार मच्याउने गरी बाढी आएको नगर प्रमुख देवकुमार नेपाली बताउनुहुन्छ । “त्यो दिन वर्षा पनि अधिक भएको थियो, कुनै मानव सिर्जत कारण नभएर सुर्तिवाङको वनमा गएको पहिरो बाढीका कारण हो”, नेपालीले भन्नुभयो, “हाम्रो नगरमा सबैभन्दा बढी क्षति हुने र दुःखद् घटना भयो ।”
खोइ उनी कहाँ छन् ?
भदौ १७ गते रातको १२ बजेदेखि सम्पर्कविहीन भएका ४० जनामध्ये तीन जना घाइते अवस्थामा भेटिए । त्यसयता निरन्तर एक महिनाको खोजीमा २२ जनाको शव भुजीखोला र बडिगाड खोलाको किनारमा भेटिए । एकै पटक सम्पर्कविहीन भएका १५ जनाको अझै पत्तो छैन । “खोजीकार्य जारी नै छ तर कोही भेटिँदैनन्”, जिल्ला प्रहरी प्रमुख कृष्णबहादुर पल्ली मगर भन्नुहुन्छ, “जीवित भए खबर आउँथ्यो होला, बाढीपहिरामा परेका भए सडेगलेर सकिने बेला भो, खोजेर पनि भेटिने केही छैन ।”
वडा नं ९ का टेकमाया विक, तिर्सना विक, मनिषा विक, रोशन विक, रवि विक, सुरेन्द्र विक, जितबहादुर घर्ती, प्रकृति पुन, मनकुमारी विक, उमिसा विक, हस्तमाया विक, तुलमती विक, कौशिला पुन, विशाल पुन र मोहन विक अझै बेपत्ता छन् ।
बेपत्ता हुने अधिकांश बालबालिका
बाढीपहिरामा परी बेपत्ता भएका १५ जनामध्ये आठ जना बालबालिका रहेको तथ्याङ्क प्रहरीसँग छ । तिर्सना, मनिसा, रोशन, रवि, समुन्द्र, प्रकृति, उमिषा र मोहन बालबालिका हुन् । बेपत्ता बालबालिकामध्ये उमिषा सबैभन्दा कम उमेर १० महिनाकी बालिका हुन् भने समुद्र १६ वर्षीय बालक हुन् । दुई पुरुष र अरु पाँच महिला रहेका छन् । मृतक २२ मध्ये पाँच बालबालिका रहेको तथ्याङ्क प्रहरीसँग छ । मृतकमध्ये सबैभन्दा धेरै महिला थिए । दश महिला र सात पुरुषले बाढीपहिरामा परेर ज्यान गुमाएका थिए ।
क्षति पछिको पुनःनिर्माण र पुनःस्थापना
बाढीपहिराको खबर पाएलगत्तै तत्कालीन गृहमन्त्री रामबहादुर थापा र गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पहिरो प्रभावित क्षेत्रमा पुग्नुभयो । हेलिकप्टर चडेर ढोरपाटन पुगेका दुवैले राहत र पुनःस्थापनाको कुरा त गरे तर उहाँहरु आएको हेलिकप्टरको हावासँग पीडितलाई दिएको आश्वासन उड्यो । गण्डकी सरकारले प्रतिमृतक रु ५० हजार र सङ्घीय सरकारले दिने रु दुई लाख नगद राहतबाहेक पीडितले केही पाएनन् । तत्कालीन आवश्यकता पूरा गर्दा नै पाएको नगद राहत सकियो ।
बाढीपहिराले ढोरपाटनमा ठूलो क्षति पुगेपछि सरकारले तत्कालै मन्त्रिपरिषद् बैठकमार्फत बागलुङलाई विपत् जोखिम क्षेत्र घोषणा गरेको थियो तर एक वर्षसम्म उक्त घोषणा सरकारको कागजमै सीमित भएको छ । गत वर्ष जिल्लाभरि ६३२ घर पुनःनिर्माण गर्नुपर्ने गरी भत्केका छन् । ढोरपाटनमा मात्रै १२६ घर बगाएको थियो ।
एक वर्ष बितिसक्दा पनि सरकारले विपत् जोखिम क्षेत्रमा कार्यक्रम ल्याएको छैन । कार्यक्रम अभावमा कैयौँ पीडित बसाई सरेर अन्यत्रै गएका छन् । कतिपयको अझै विचल्ली छ । “जोखिमग्रस्त क्षेत्र भनेपछि पीडितलाई सम्बोधन गर्ने कार्यक्रम भैदिए राम्रो हुन्थ्यो, तर अहिलेसम्म त्यस्तो केही आएको छैन”, प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले भन्नुभयो, “निजी आवास पुनःनिर्माण तथा पुनःस्थापना अनुदान कार्यक्रम आउने कुरा छ, अझै आइसकेको छैन ।” गृहमन्त्रालयअन्र्तगत रहेको ‘राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण’ले ती आवास पुनःनिर्माण गर्ने योजना छ ।
पालिका तहबाट सानो सहयोग जुटाएर कतिपयले घर बनाउन थालेका छन् । ढोरपाटन एकद्वार प्रणालीबाट दाताले दिएको राहत सङ्कलन भएको थियो । सोही रकमबाट आवास निर्माणका लागि कसैले पहिलो किस्तास्वरुप रु ५० हजार लगेका छन् । सन्तानब्बे घर नबनाई नहुने भएकाले छानाबाहेक प्रत्येक घरका लागि रु दुई लाख उपलब्ध गराइएको नगरप्रमुख नेपालीले बताउनुभयो । तीमध्ये केहीका घर बनिसकेका छन् भने केही घर निर्माणाधीन छन् तर सरकारी कार्यविधिअनुसार बजेट र कार्यक्रम नआएकाले नेपाल सरकारले दिने भनेको अनुदान भने पीडितले अझै पाएका छैनन् ।
निजी आवास पुनःनिर्माण तथा पुनःस्थापना अनुदान कार्यविधि २०७७ बने पनि जिल्लामा कार्यान्वयन भएको छैन । कार्यविधिको दफा ४ को उपदफा ३ बमोजिम प्रक्रिया पुगेका घर पुनःनिर्माणमा राज्यले सहयोग गर्ने उल्लेख छ । कार्यविधिअनुसार पहाडी जिल्लामा घर बनाउन रु चार लाख, घडेरीका लागि तीन लाख गरी पीडितले रु सात लाखसम्म पाउनुपर्ने व्यवस्था छ ।
उक्त रकममध्ये गाउँपालिका भए १० प्रतिशत र नगरपालिका भए १५ प्रतिशत स्थानीय तहले लगानी गर्नुुपर्छ । प्रदेश सरकारले ३० प्रतिशत लगानी गरेपछि बाँकी रकम सङ्घले व्यवस्थापन गर्नुपर्छ । नगरपालिकाले राहत कोषमा जम्मा भएको रकमबाट दिएको अनुदानले घर बनाएकाले कार्यविधिले तोकेको रकम पाउने वा नपाउने भन्नेमा भने अन्योल छ ।
कोरोनाविरुद्धको खोप लगाउने नेपालीको सङ्ख्या एक करोड नाघ्यो, नागरिकहरू खोपप्रति विश्वस्त
सरोज ढुङ्गेल
काठमाडौँ, १७ भदौ २०७८ ।
देशभर पहिलो र पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या एक करोड ९२ हजार १६४ जना पुगेको छ । दुई करोड १७ हजारमध्ये ५४ लाख २४ हजार ८३६ जनालाई पहिलो मात्रा र पूर्ण मात्रा लगाउने ४६ लाख ६७ हजार ३२८ जना पुगेको छ । प्रतिशतका हिसाबले पहिलो खोप लगाउने १८ र दुवै खोप लगाउने १५.४ प्रतिशत छन् ।
गत वर्ष माघ १४ गतेदेखि सुरु भएको कोरोनाविरुद्धको खोप अभियान उत्साहजनक ढङ्गले अघि बढेको देखिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार आएपछि खोप लगाउने कार्यले झनै तीव्रता पाएको छ । कोरोना भाइरस र कोरोनाविरुद्धको खोप दुवै नयाँ भएकाले सुरु–सुरुमा स्वास्थ्यकर्मीहरूले समेत खोप लगाउन आनाकानी गरेका थिए । स्वास्थ्यकर्मी तथा अन्य व्यक्तिलेसमेत खोपबाट प्यारालाइसिस हुने, विभिन्न किसिमका रोग लाग्ने भन्दै खोप लगाउन मानेका थिएनन् ।
नेपालमा कोरोनाविरुद्धको खोप प्रयोग गर्न मात्र ल्याइएको हो भन्दै कतिपयले खोपलाई बहिष्कार गरेका थिए तर विस्तारै खोपले मात्र कोरोनालाई परास्त गर्नसकिने प्रमाणहरू आएपछि मानिसले खोप लगाउन सुरु गरेका हुन् । अहिले खोप केन्द्रहरूमा खोप लगाउने मानिसको लामो लाम लाग्ने गरेको छ ।
तत्कालीन खोप शाखा प्रमुख डा. झलक गौतमले सुरुसुरुमा नर्स, डाक्टरहरूले समेत खोपप्रति आशङ्का व्यक्त गरेर खोप नलगाएको जानकारी दिनुभयो । विस्तारै सरकारले खोपबारे गलत भ्रमलाई चिर्दै खोपले मात्र कोरोनाविरुद्ध काम गर्नसक्छ भन्ने भावना ल्याएको जानकारी उहाँले दिनुभयो ।
कोरोनाको दोस्रो लहरपछि मानिसले कोरोनासँग लड्न खोप मात्र विकल्प भएको बुझेको उल्लेख गर्दै उहाँले अहिले मानिस पूर्ण रूपमा कोरोनाविरुद्धको खोपप्रति विश्वस्त रहेको बताउनुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले कोरोना खोपबारे आएका भ्रमलाई हटाउन अन्तत्र्रिmया, जनचेतनालगायतका कार्यक्रम गर्नुपरेको बताउनुभयो । उहाँले पछिल्लो समयसम्म आइपुग्दा कोरोनाविरुद्धका सबै भ्रम हटिसकेको बताउनुभयो । सरकारले असोज मसान्तसम्म एक तिहाइ जनतालाई खोप पु¥याउने लक्ष्य लिएको भन्दै गौतमले त्यसअनुसार काम पनि भइरहेको बताउनुभयो । गाेरखापत्र अनलाइनबाट
काठमाण्डाै, १६ भदाै २०७८ ।
कक्षा १२ को परीक्षा यही भदौ ३० गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेकाे बैठकले भदौ ३० गतेदेखि परीक्षा सुरु गर्ने निर्णय गरेको हाे ।
यसअघि तयारी गरेअनुसार होम सेन्टरबाटै परिक्षा सञ्चालन हुने राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलले जानकारी दिनुभयो ।
यसअघि गएकाे जेठमा तय भएको परीक्षा साउन ३१ गतेदेखि सुरु गर्ने तयारी थियो । तर कोरोना जोखिमका कारण साउनमा पनि स्थगित गरिएको परीक्षा फेरि सुरू गर्न लागिएकाे उहाँकाे भनाइ छ ।
काेराेनाका कारण विद्यार्थीहरूमा नकारात्मक असर परिरहेकाे बेला पटक पटक परिक्षा राेकिँदा समस्या निम्तिन सक्ने भन्दै सराेकारवालाहरूले परिक्षा सञ्चालन गर्न बाेर्डलाइ अनुराेध गरेका थिए ।
यस्ताे छ परिक्षा तालिका
बागमतीका सामाजिक विकासमन्त्री खनालद्वारा राजीनामा, अष्टलक्ष्मी शाक्यकाे सरकार धरापमा
बागमती,१६ भदौ २०७८ ।
बागमती प्रदेशका सामाजिक विकासमन्त्री कृष्णप्रसाद शर्मा खनालले पदबाट आज राजीनामा दिनुभएको छ । नेकपा (एमाले)का तर्फबाट मन्त्री बन्नुभएका उहाँले नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्नुभएको बताइएको छ ।
उहाँले राजीनामा दिएसँगै अब प्रदेश सरकारमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य सहित आन्तरिक मामिला तथा कानुन एवं भौतिक पूर्वाधार विकासमन्त्री केशवराज पाण्डे मात्र हुनुहुन्छ ।
प्रदेशसभाका १२ सदस्यले मंगलबार निर्वाचन आयोगको प्रदेश कार्यालयमा पुगेर नेकपा (एकीकृत समाजवादी) मा सनाखत गर्नुभएको थियो ।
महालक्ष्मी विकास बैंकको ठगी धन्दाः धिताे राखेकाे सुन बेचेर नक्कली सुन भिरायाे, कथा यस्ताे छ
युनिक श्रेष्ठ
काठमाडाै, १६ भदाै २०७८ ।
महालक्ष्मी विकास बैंक कुमारीपाटी शाखामा एक ऋणीले ऋण चुक्ता गरेर धितो राखेको आफ्नो सुन फिर्ता माग्दा नक्कली भएको खुलेको छ।
ललितपुर महानगरपालिका वडा नम्बर ११ चाकुपाटकी विष्णु महर्जनले ६ वर्षअघि २०७२ फागुनमा कुमारीपाटीको महालक्ष्मी विकास बैंकबाट ऋण लिएकी थिइन्। उनले बैंकबाट १४ लाख बढी रुपैयाँ ऋण लिएकी थिइन्।
त्यसबापत् उनले बैंकलाई २५ तोला सुन धितो बुझाएकी थिइन्। सुन धितो लिँदा बैंकले जाँचेरै लिएको बिष्णु महर्जन बताउँछिन्।
नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले सुन धितो राख्दा बैंकले जाँचेर नै राख्नुपर्ने र फिर्ता दिँदा पनि जाँचेरै दिनुपर्ने बताए।
विष्णुले बैंकलाई हरेक वर्ष आफूले सक्दो ब्याज-सावा तिर्ने गर्थिन्। त्यसरी नै आफूले लिएको ऋण घटाउँदै गइन्। तिर्दै जाँदा गत भदौ ९ गते सम्म आठ लाख ५४ हजार रुपैयाँ ऋण चुक्ता गर्न बाँकी थियो।
पछिल्लो समय कोरोना भाइरसको महामारीमा भएको निषेधाज्ञाका कारण उनले केही महिनायता ब्याज तिर्न सकिरहेकी थिइनन्।
‘निषेधाज्ञा हुँदा आर्थिक समस्या भयो। म बिरामी पनि परें। काम पनि गर्न नसक्दा मैले पाँच महिनाको ब्याज तिर्न सकिनँ,’ महर्जनले सेतोपाटीसँग भनिन्,’बैंकले पैसा माग्न दिन-रात फोन गरेर टर्चर दियो।’
त्यसैबीच बैंकले महर्जनलाई गत असार ३ गते बोलायो। त्यहाँ पुगेर विष्णुले ऋण चुक्ता गर्न बैंकसँग केही समय मागिन्। तर मौखिक निवेदन नहुने भन्दै बैंकले लिखित निवेदन माग्यो।
‘मलाई लेख-पढ गर्न आउँदैन। तपाईंहरू लेखिदिनु म सही गर्छु भनेपछि लकडाउन खुलेको १५ दिनपछि तिर्नू भनेर भन्नुभयो,’ उनले भनिन्,’१५ दिन गाह्रो हुने भएकोले भदौ १० गते सम्मको समय दिनू भनेर मागें।’
बैंकले लिखित कागजी रूपमा १५ दिनभन्दा बढी समय दिन नमिल्ने बताए पनि महर्जनलाई भदौ १० गते सम्मको समय दिइयो।
उनी पैसा जुटाउनतिर लागिन्। भदौ १० गतेभित्र जसरी पनि तिर्नु पर्ने हुँदा उनले आफन्त तथा साथीहरूसँग सहयोग लिइन्।
उनले जसोतसो रकम जुटाएर भदौ ९ गते करिब १२ बजे बैंक पुगिन्। उनी सिधै म्यानेजर सुनिलकुमार नेपालको कोठामा पुगिन्। ऋण विभागको प्रमुख पनि त्यहाँ आइपुगे। उनले बैंकमा आठ लाख ३९ हजार रुपैयाँ चुक्ता गरिन्। १५ हजार नगद केही समय अघि नै तिरिसकेकी थिइन्।
उनी बैंकले केही ब्याज छुट देला की भन्ने आशमा थिइन्।
ब्याज छुट गर्नेबारे ऋण विभागका प्रमुखले हेड अफिसमा कुरा गर्नुपर्ने भन्दै एक-डेढ घन्टा कुर्नुपर्ने बताए। उनी कुर्न तयार भइन्। तर ऋण प्रमुखले प्रष्ट कुरा भने गरेनन्।
‘ऋण विभागमा विनोद सर हुनुहुन्थ्यो। यो धितो राखेको सुन बेचेर तिर्छु भनें,’ उनले भनिन्।
बैंकका ऋण विभाग प्रमुखले म्यानेजर नेपालसँग कुराकानी गर्नुपर्ने भन्दै भेट्न गए। केही बेरपछि एकैछिन बाहिर गएर आउँछु भन्दै निस्किए। त्यसपछि उनी सम्पर्कविहीन भए।
निस्किएर दुई घन्टासम्म पनि विष्णु बैंकमै कुरेर बसिन्। तर ऋण विभाग प्रमुख फर्किएनन्। त्यसपछि उनी म्यानेजर नेपाललाई भेट्न गइन्।
ब्याजसहित तिरेर जान भन्दै म्यानेजर झर्किएपछि उनले आफ्ना दाइलाई बोलाइन्। दाइ आउँदासम्म चार बजिसकेको थियो।
उनका दाइले म्यानेजरलाई भेटेर ऋण चुक्ता गर्छौं सामान फिर्ता गरिदिन आग्रह गरे। तर त्यसको जवाफमा म्यानेजर नेपालले भने,’सामान दिन्छु तर खोलेर हेर्न पाइन्न।’
सुरूमा सामान जाँचेर लिएको बैंकले पछि फिर्ता लिन जाँदा भने नहेर्न भनेको उनले बताइन्। त्यसो भनेपछि विष्णु र उनका दाइले सुन देखाउन जिद्दी गरे।
तर म्यानेजरले आनाकानी गरे। केही नलागेपछि विष्णुका दाइले चिनजानको संगठनका केही मानिसहरूलाई बोलाए।
साँझ साढे ६ बजिसकेको थियो तर बैंक सुन फिर्ता दिन तयार भएन। पछि म्यानेजरले कैफियत भएको कुरा सुनाए र भने, ‘सुन नक्कली रहेछ।’
कसरी सुन नक्कली निस्कियो त भन्ने प्रश्न गर्दा सात महिना अघि जाँच गर्दा सो सुन नक्कली निस्किएको म्यानेजर नेपालले सुनाए। तर त्यसबारेमा बैंकले विष्णुलाई जानकारी गराएको भने थिएन।
‘६ वर्ष भयो मैले सुन राखेको। सात महिना अघि जाँच्दा सुन नक्कली भयो रे। हामीलाई केही जानकारी पनि छैन। सिधै बैंकले ठगी गरेको भयो नि,’ महर्जनले भनिन्,’सोझो भएपछि त यत्तिकै थमाएर पठाउने कसैले थाहा पाउँदैनन् भन्ने सोचेछन्। लिँदा भने उनीहरूले जाँचेर लिएको याद छ मलाई।’
हरेक वर्ष ब्याज तिर्दासम्म पनि नक्कली नभएको सुन अहिले ऋण चुक्ता गरेपछि भने कसरी नक्कली निस्कियो भन्ने उनी प्रश्न गर्छिन्।
सुन नक्कली भएको कुरा बाहिरिएपछि उनीहरूले प्रहरीलाई खबर गरे। सोही रात सबै जना महानगरीय प्रहरी परिसर जावलाखेल पुगे। बैंकका सिइओ बोधराज देवकोटासहित सबैजना राति साढे ११ बजेसम्म छलफलमा बसे।
सिइओ देवकोटाले शाखामा के भएको हो भन्नेबारे बुझ्न दुई दिनको समय मागेका थिए। सुन दिन नसकेमा त्यस बराबरको पैसा दिने भन्दै कागजसमेत गरेको विष्णुले बताइन्।
दुई दिनपछि ऋण शाखा प्रमुख विनोदले उनलाई फोन गरेर झमेलामा नपर्न अन्यथा समस्या पर्ने भनेर धम्क्याएको विष्णुले बताइन्। उनले जेलसम्म हाल्ने कुरा गरेको विष्णुले सुनाइन्।
‘यदि मैले ठगेको भए त मलाई उहिल्यै जेल हाल्नुपर्थ्यो नि। ऋण चुक्ता नगरुञ्जेल सबै सक्कली अनि तिरेपछि नक्कली?,’ उनले भनिन्।
त्यसपछि उनी जाहेरी लिएर गत शुक्रबार ललितपुर परिसर पुगिन्। आइतबार म्यानेजर सहितलाई छलफलको लागि परिसर बोलाइएको थियो। तर नआएपछि उनीहरू फर्किए।
परिसरका प्रहरी नायब उपरीक्षक दीपक भारतीले पनि यसमा अनुसन्धान भइरहेको बताए।
‘हामीले अनुसन्धान सुरू गरिरहेका छौं। बुझ्दैछौं,’ उनले भने,’हामीले राखेको सुन ऋण तिरिसकेपछि नक्कली पारिएको भनेर पीडितहरू जाहेरी लिएर आउनुभएको थियो। सबै बुझेर अगाडि बढ्छौं।’
सुन कसरी नक्कली भयो भन्नेबारेमा सेतोपाटीले प्रतिक्रिया लिन खोज्दा महालक्ष्मी बैंकको कुमारीपाटी शाखाका शाखा प्रबन्धक र बैंकका सिइओ देवकोटा सम्पर्कमा आउन चाहेनन्।
यसअघि सो बैंकका कर्मचारीहरु अनियमितताको आरोपमा पक्राउ परेका थिए। याे सामग्री सेताेपाटी डटकमबाट अक्षरत साभार गरिएकाे हाे । यसकाे सर्वाधिकार सेताेपाटीमा निहित रहेकाे छ ।
काठमाण्डाै, १६ भदाै २०७८ ।
देशका विभिन्न जिल्लामा भदौ १० पछि आएको भारी वर्षा (भदौरे झरी) मा १५ जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालले भदौ १० पछिको चार दिनमा बाढी–पहिराेमा परेर उनीहरूको ज्यान गएको जानकारी दिनुभयो ।
उहाँका अनुसार यस अवधिमा तीन जना बेपत्ता भएका छन् भने १४ जना घाइते भएका छन् । क्षतिको विवरण सङ्कलनको क्रम भने जारी छ । बन्द भएका कतिपय राजमार्ग खुलाउने प्रयास भइरहेको छ ।
प्राधिकरणले दिएको जानकारीअनुसार गएको जेठ ३१ पछि अहिलेसम्म मनसुनजन्य घटनामा परेर एक सय जनाले ज्यान गुमाएका छन् । यस अवधिमा ४४ व्यक्ति बेपत्ता भएका छन् भने एक सय नाै जना घाइते भएका छन् । मनसुनजन्य विपदमा परेर ३७ सरकारी कार्यालय, १६ सामुदायिक भवन र विद्यालय, २५ जलविद्युत् आयोजना, ३० मोटरेबल पुल र ३० झोलुङ्गे पुलमा क्षति पुगेको छ ।
दर्जनौँ राजमार्गमा क्षति पुगेकाले कतिपय अझै खुल्न सकेको छैन । अहिले पनि खुलाउने प्रयास भइरहेकाे गृह मन्त्रालयले जनाएको छ । यस अवधिमा ६ हजार एक सय ८१ जनालाई स्थानान्तरण गरेर सुरक्षित ठाउँमा सारिएको प्रवक्ता अर्यालले जानकारी दिनुभयो । पछिल्लो चार दिनमा मात्रै झन्डै एक हजार व्यक्तिलाई स्थानान्तरण गरिएको छ । झन्डै पाँच हजार घर डुबानमा परेकामध्ये १० प्रतिशतमा क्षति भएको अनुमान गरिएको छ । क्षतिको विवरण अझै आइसकेको छैन ।
मन्त्रालयका अनुसार बेपत्ताको खोजी, आवश्यक राहत तथा उद्धार कार्यलाई प्रभावकारी रूपमा अघि बढाइएको छ । यस्तै पुनर्स्थापना र पुनर्निर्माणका कार्यक्रमसमेत सँगसँगै लगिएको जनाइएको छ । उज्यालाे अनलाइनबाट
बागलुङ, १५ भदौ २०७८ ।
सुनौलो बागलुङ संस्थाको साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । बागलुङकाे जैमिनी नगरपालिकामा अवस्थित सामाजिक संस्था सुनौलो बागलुङको प्रथम साधारणसभा तथा अधिवेशन मंगलबार कुश्मिसेरामा सम्पन्न भएको हो ।
कार्यक्रममा अध्यक्ष शिव श्रीसले संस्थालाई सामाजिक र चलायमान बनाउनको लागि सबैको साथ आवश्यक रहने बताउनुभयो । कुनैपनि संस्थामा सामाजिक भाव लिएर आगाडि बढे सफल हुन सकिने भन्दै उहाँले सबै सदस्यहरुले उत्तिकै दायित्वबोध गरेर संस्था बलियो बनाउनुपर्ने धारणा राख्नुभयो ।
यस्तै कार्यक्रमका प्रमुख अतिथि तथा सुनौलो बागलुङ बैदेशिक बिभागका संयोजक चित्र श्रीसले आफुहरु जता भएपनि संस्था र नेपालको माया मनमा रहने भन्दै सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । देश तथा विदेशमा रहेर सामाजिक काम गरे कसैको ज्यान बच्ने र कतिको पेट भरिने भएकाले असहायहरुलाई सहयोग गर्नुपर्ने बताउनुभयो ।
बैठकले ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । संस्थाको अध्यक्षमा स्वेता घर्ती, उपाध्यक्षमा दिलिप पर्तेल, सचिव प्रदिप श्रीस, कोषाध्यक्ष रोजी राना र सदस्यमा कल बहादुर परियार, तेरुसा पुन लगाएत रहनुभएको छ ।
संस्थालाई सामाजिक कार्यमा अग्रसर राख्नको लागि आगामी दिनमा अझै प्रयास गर्ने नयाँ कार्यसमितिले प्रतिबद्धता जनाएका छन् ।
आजदेखि मौसममा सुधार, यस्ताे छ माैसमी अवस्था
काठमाडौँ, १५ भदौ २०७८ ।
विगत केही दिनदेखि सक्रिय रहेको मनसुन कमजोर भई मौसममा सुधार भएको छ । नेपालको तराई भूभाग नजिक रहेको मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणतिर सरेकाले मनसुन आज केही कमजोर भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका मौसमविद् सविना शाक्यका अनुसार अब केही दिन मनसुन कमजोर रहने भएकाले निरन्तरको भारी वर्षाको सम्भावना छैन । “बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका बिहानपख मौसम सफा हुने तथा मध्याह्नतिर बदली भई हल्कादेखि मध्यम वर्षा हुनेछ,” उहाँले भन्नुभयो ।
हाल देशभर सामान्य बदली रही प्रदेश नं १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । राति देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै वाग्मती प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना छ ।
बुधबार देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना औँल्याएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव ६ डिग्री र अधिकतम तापक्रम २८ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।
त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १४ दशमलव ८ डिग्री र सबैभन्दा धेरै धनगढीको अधिकतम तापक्रम २९ दशमलव ५ डिग्री सेल्सियस रहेको छ ।
विमलबहादुर विष्ट
डोटी, १५ भदौ २०७८ ।
सुन्दा पनि अचम्म लाग्छ, महिनावारी अर्थात छाउपडी भएकी महिलालाई दूध, दही खान दिए गाई–भैँसी बिग्रन्छ र दूध दिन छोड्छ भन्ने अन्धविश्वास अझैसम्म यहाँ व्याप्त छ । डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिका–२ का किसान अहिले पनि यही अन्धविश्वासमा भैँसीको दूध बजारमा बिक्री गर्न मान्दैनन् ।
अशिक्षा तथा जनचेतनाको कमीका कारण किसानले दूध बिक्री वितरण गर्न नमान्ने गरेकाले प्रमुख पर्यटकीयस्थल खप्तडको प्रवेशद्वारस्थित बगलेक तथा झिग्रानाका पसल तथा होटेलमा दूध नहालेको कालो चिया मात्रै बिक्री वितरण हुँदै आएको स्थानीयवासी तापसिंह साउदले बताउनुभयो ।
उहाँले भन्नुभयो, “भैँसी पाल्ने किसान दूध बिक्री गर्न मान्दैनन्, यहाँ आउने आन्तरिक पर्यटकले दूध हालेको चिया माग्छन् तर दूध नहुँदा कालो चियामै चित्त बुझाउनुपर्छ ।” यस क्षेत्रमा खोलिएका होटेल, पसल, होमस्टे तथा सेनाको ब्यारेकमा दूधको माग भए पनि किसानले दूध बिक्री नगर्ने गरेका कारण समस्या हुँदै आएको स्थानीय व्यापारीको गुनासो छ । आफ्ना परिवारबाहेक बाहिरबाट आएका पाहुँनालाई समेत दूध नदिने तर दिनै परे मोही पनि मुस्किलले दिने गरेको जिल्ला उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष नरेन्द्र खड्काले बताउनुभयो ।उहाँले भन्नुभयो, “भैँसीको दूध गैर घरपरिवारलाई दिन हुन्न र बिक्री पनि गर्न हुन्न, दिए वा बिक्री गरे भँैसी बिग्रिन्छ भन्ने वर्षौदेखिको अन्धविश्वास अहिले आएर समस्याको विषय बनेको छ ।”
सामाजिक विकासका क्षेत्रमा काम गर्दै आएको साइन नेपाल नामक गैरसरकारी संस्थाले दूध बिक्री वितरण गरे भँैसीले दूध दिन नछोड्ने र भैँसी पनि नबिग्रिने भन्दै किसानलाई प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याउने भएकोे छ । बगलेक र झिग्रानामा दूधको निकै आवश्यकता भएकाले हामीले किसानलाई दूध बेच्न प्रोत्साहित गर्न लागेको जानकारी दिँदै संस्थाका अध्यक्ष भक्तराज जोशीले भन्नुभयो, “सबैले दूध बिक्री गरुन भन्ने उद्देश्यले किसानलाई भँैसी नै किनेर दिने तयारी गर्दै अन्धविश्वास अन्त गर्ने पक्षमा छौँ ।”
उक्त संस्थाले झिग्रानाका किसानमा भैँसीलाई गर्भधारण गराउन सहज होस् भन्ने उद्देश्यले रु ५० हजारमा उन्नत जातका राँगा किनेर वितरण गरेको पूर्वीचौकी गाउँपालिका–२ कुडासैनका भीमबहादुर विष्टले बताउनुभयो ।उहाँले भन्नुभयो, “वडाभर प्रायः सबैका घरमा भैँसी पालिएका छन् तर दूध कसैले बिक्री वितरण गर्दैनन्, कोही बिरामी पर्दा दूध चाहिए अन्यत्र गाउँमा जानुपर्ने बाध्यता छ ।”
यहाँका किसानले दूधबाट घिउ बनाएर बजारमा भने बेच्ने गरेको अर्का स्थानीयवासी श्यमबहादुर विकले बताउनुभयो । उहाँले भन्नुभयो, “घिउ जति पनि पाइन्छ तर भैँसी बिग्रिन्छ भनेर दूध र मोही दिँदैनन्, अन्धविश्वास कायमै रहेका कारण यहाँ दूधको समस्या पर्दै आएकोे छ ।” जिल्लामा भैँसीपालक प्रर्याप्त भए पनि अधिकांशले दूध नबेच्दा छिमेकी जिल्ला डडेल्धुराबाट मगाउनुपर्ने बाध्यता रहेको पिपल्लास्थित रामजानकी मिष्ठान्न भण्डारका रामबाबु यादवले बताउनुभयो ।
उहाँले भन्नुभयो, “जिल्लामा दूधको माग निकै छ, भैँसीपालक किसान पनि धेरै छन् तर दूध बिक्री गरे गाईभँैसीले दूध दिन छोड्छ भन्दै खासै कसैले बिक्री गर्न नमान्ने गरेका कारण हामीले जिल्ला बाहिरबाट मगाएर काम चलाउनुपरेको छ ।”