चितवन, २ असोज २०७८ ।
चेपाङ सुमदायका व्यक्तिले आफ्नो धर्ममा ‘प्रकृति’ उल्लेख गर्ने भएका छन् । परापुर्व कालदेखि नै प्रकृतिलाई भगवान्को रुपमा पुज्दै आएका चेपाङ समुदायले राष्ट्रिय जनगणना २०७८ मा धर्ममा प्रकृति उल्लेख गर्ने भएका हुन् ।
आदिवासी जनजातिमा सुचीकृत सीमान्तकृत चेपाङ समुदायको आफ्नै भाषा धर्म, संस्कृति, परम्परा रहेकाले जनगणनामा धर्मका ठाउँमा प्रकृित उल्लेख गर्ने नेपाल चेपाङ सङ्घका केन्द्रिय महासचिव आइतसिं चेपाङले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो आफ्नै धर्म छ, त्यो प्रकृति हो, हामी मानव निर्मित मन्दिरमा पूजा गर्दैनौँ, प्रकृतिमा आफै उत्पत्ति भएका ढुङ्गा, ठूलो वृक्ष, पहाड, खोला र माटोलाई पुज्ने गर्छौं, त्यसैले हाम्रो धर्म प्रकृति हो, राष्ट्रिय जनगणना २०७८ मा धर्ममा प्रकृति र भाषामा चेपाङ लेख्नेछौँ ।”
नेपाल चेपाङ सङ्घको अगुवाइमा चेपाङ समुदायलाई आफ्नो भाषा, धर्म, संस्कृतिबारे जानकारी गराउन टोलटोलमा कार्यक्रमसमेत सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो । सङ्घ वागमती प्रदेशका सचिवसमेत रहनुभएका चितवनका लक्ष्मण चेपाङले पनि धर्ममा प्रकृति उल्लेख गर्न अभियान नै सञ्चालन गरिएको जानकारी दिनुभयो । पछिल्लो समय आफ्नो भाषा, धर्म, संस्कृति लोप हुने स्थितिमा पुगेपछि सङ्गठित रुपमा नै नेपाल चेपाङ सङ्घले विभिन्न अभियान सञ्चालन गर्दै आएको छ । नेपालकाे २६ जिल्लामा बसोबास गर्ने चेपाङ समुदायको सङ्ख्या राष्ट्रिय जनगणना २०६८ अनुसार ६८ हजार ३९९ रहेको छ ।
गणेशमान सिंहको २४ औँ स्मृति दिवस मनाइँदै
काठमाडौँ, २ असोज २०७८ ।
प्रजातन्त्र पुनःस्थापनाका लागि भएको विसं २०४६ को जन आन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २४ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रुपमा रहनुभएका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल हुनुभएको थियो । विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गर्नुभएको आग्रहमा उहाँले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गर्नुभएको थियो ।
विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीस्थित चाक्सीबारीमा जन्मनुभएका नेता सिंहको निधन २०५४ साल असोज २ गते भएको हो । काठमाडौँको खानदानी परिवारमा जन्मनुभएका सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाउनुभएको थियो ।
राणा शासन अन्त्य गर्ने अभियानमा लागेपछि उहाँलगायतलाई तत्कालीन सरकारले जेल हाल्यो । विसं २००७ अघि नै भद्रगोल जेल फोरेर भाग्न सफल हुनुभएका जोशिला तन्नेरी उहाँ प्रवास जानुअघि नै तत्कालीन राणा हटाऊ आन्दोलनमा सक्रिय हुनुभएको थियो । जेलबाट भागेर भारतमा पुगी अर्का नेता बीपी कोइरालासँग उहाँले राजनीतिक सम्बन्ध विकसित गर्नुभयो । केही सहयोगीका साथ २००३ सालमा स्थापित नेपाली राष्ट्रिय कांग्रेसलाई आजीवन जुझारू नेतृत्व दिन पनि उहाँको उल्लेखनीय भूमिका छ ।
प्रजातन्त्र स्थापनाका लागि भएको २००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उहाँले वीरगञ्ज मोर्चामा सशस्त्र सङ्घर्ष गर्नुभयो । देशमा प्रजातन्त्र बहाली र पुनर्बहालीका लागि समर्पित सिंह सैद्धान्तिक हिसाबले बीपीका अनुयायी र सबैभन्दा ठूला समर्थकका रूपमा रहनुभयो । उहाँ नेपाली कांग्रेसलाई लोकप्रिय बनाउन सदा क्रियाशील हुनुभयो ।
विसं २०१५ मा पहिलो निर्वाचन भएपछि बनेको सरकारमा वरिष्ठ मन्त्री हुनुभएका गणेशमानले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष निरन्तर पहिले सिंहदरबार र त्यसपछि सुन्दरीजल बन्दीगृहमा कारावास जीवन बिताउनुभयो । विसं २०२५ मा बीपीसँगै सुन्दरीजल बन्दीगृहबाट रिहा भएपछि उहाँले प्रवासमा राजनीतिक सङ्गठन विस्तार गर्नुभयो । उहाँ विसं २०३३ मा बीपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केर तत्कालीन पञ्चायती व्यवस्थाका विरूद्ध सक्रिय रहनुभयो ।
तत्कालीन पञ्चायती सरकारले बीपीसँगै मृत्युदण्डको माग गरिएका आठवटा मुद्दामा विशेष अदालतबाट उहाँले सफाइ पाउनुभयो । उहाँले २०३६ सालको विद्यार्थी आन्दोलन र जनमत सङ्ग्रहमा उत्तिकै नेतृत्वदायी भूमिका निर्वाह गर्नुभयो । बीपीको निधनपछि कांग्रेसका सर्वोच्च नेताका रूपमा उहाँले २०४२ सालको सत्याग्रह आन्दोलनको नेतृत्व गर्नुभयो । विसं १९९७ देखि अनवरत राजनीतिमा समर्पित कडा स्वभाव र जुझारू व्यक्तित्वका सर्वप्रिय नेता सिंहको महत्वपूर्ण योगदान २०४६ सालमा रह्यो । जनआन्दोलनका लागि कम्युनिष्टसँग मिलेर पञ्चायतविरुद्ध आन्दोलनको घोषणा गर्ने सिंह उक्त आन्दोलनका सर्वोच्च कमाण्डर भई सबैको प्रिय बन्नुभएको हो ।
नेता सिंहको २४ औँ स्मृति दिवसका अवसरमा आज कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रम आयोजना गर्दैछन् । कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर कार्यक्रम आयोजना गरिने कांग्रेसले जनाएको छ ।
बागलुङ १ असोज २०७८ ।
जैमिनीमा बाँदरले आक्रमण गर्दा एकजना घाइते भएका छन् । बागलुङको जैमिनी नगरपालिका ९ पैञ्युँथन्थापका एकजनालाई बाँदरले आक्रमण गरी घाइते बनाएको हो ।
शुक्रबार घाँस बोकेर आउँदै गर्नुभएका पैञ्युँथन्थाप लौसीयारुखका ६७ बर्षीय गेगराज पाध्यलाई बाँदरले आक्रमण गरेको स्थानीय रविन्द्र पौडेलले जानकारी दिनुभयो । हुलाकका कर्मचारी समेत रहनुभएका पाध्यलाई थप उपचारको लागि धौलागिरी अस्पताल बागलुङ पठाइएको छ ।
घाँस बोकेर आउँदै गर्दा एकहुल बाँदर बसेको ठाउँबाट ढेडु बाँदरले उहाँलाई आक्रमण गरेको थियो । पाध्यको हातमा चोट लागेको छ भने उहाँको अवस्था सामान्य रहेको छ ।
पछिल्लो समय गाउँ गाउँमा बाँदर आतंक फैलिँदा स्थानीयहरु घर छोडेर बसाईँसराई गर्न बाध्य भएका छन् । जैमिनी नगरपालिकाले बर्षेनी बाँदर नियन्त्रणका लागि बजेट छुट्याएपनि त्यो प्रभावकारी बन्न सकेको छैन । नगरपालिकाले चालु आर्थिक बर्षका लागि पनि बाँदर नियन्त्रणका लागि ५ लाख रुपैयाँ बजेट छुट्याएको छ ।
काठमाडौँ, १ असोज २०७८ ।
कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ ।
कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । बालुवा वा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य स्थलमा लगी सेलाउने गरिन्छ । आज पूजा गरी शनिबारदेखि नदीमा लगी मूर्ति सेलाइन्छ ।
नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड पूरा गरेर विश्वकर्माको पूजा आराधनाको तयारी गरिएको जनाइएको छ । आजका दिन कालिगडले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।
द्वापरयुगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ ।
प्राचीन भारत वर्षका चार दिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रूपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रका बीचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रूपमा समेत मानिन्छ । विश्वकर्मा प्रकाश नामक वास्तु शास्त्रको ग्रन्थ उहाँले नै तयार पार्नुभएको विश्वास गरिने वास्तुशास्त्री शिव पोखरेल बताउनुहुन्छ ।
यही सम्झनामा नेपालका कालिगडले आज भव्यरूपमा विश्वकर्मा बाबाको पूजा गरी उहाँको विद्वताको सम्मान गर्ने र यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वास गर्दछन् । यस विश्वासमा आज इञ्जिन जडान भएका यन्त्र सवारी साधनमा समेत पूजा आराधना गरिन्छ ।
वास्तु शास्त्र पुस्तकका लेखक एवं अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविद्हरुले वास्तु दिवसका रूपमा समेत मनाउने गर्छन् । पछिल्लो समय नेपालमा पनि वास्तु विद्याको पुनर्जागरण सुरु भएको छ । चार उपवेदमध्येको एक स्थापत्यवेदमा वास्तुकै विषय उल्लेख गरिएको छ । लुप्तप्रायः भएको स्थापत्य वेदमा आधारित सहर एवं आवास निर्माण गर्नेको सङ्ख्या बढ्न थालेको छ ।
दोदोधरा स्वास्थ्य चौकीकाे सार्वजनिक सुनुवाइः गुणस्तरीय सेवाका लागि यस्ता छ्न् योजना
कैलाली, ३१ भदाै २०७८ ।
कैलालीको बर्दगोरिया गाउँपालिका १ मा रहेको दोदोधरा स्वास्थ्यचौकीले आर्थिक वर्ष २०७७/७८ मा प्रदान गरेका सेवा तथा प्रगतिबारे सार्वजनिक सुनुवाइ गरेको छ । बिहिवार एक कार्यक्रमका बिच कार्यालयले सरोकारवाला निकाय तथा स्थानीयसँग कार्यालयबाट प्रदान गरिने सेवा सुविधाको पारदर्शीता तथा जवाफदेहीताको बारेमा सार्वजनिक सुनाई तथा लेखा परीक्षणबारे जानकारी गराएको हो ।
कार्यक्रममा स्वास्थ्यचौकी इन्चार्ज नृप बहादुर विष्टले कार्यालयबाट नागरिकलाई प्रदान गरिने स्वास्थ्य सेवा तथा सुविधाका बारेमा जानकारी गराउदै गत आर्थिक वर्ष २०७७/७८ को आयव्यय विवरण सार्वजनिक गर्नुभयो । जसमा कार्यालयले १६ लाख ४८ हजार ९ सय ७३ आम्दानी गरेको कार्यालयले १० लाख ७ सय ९८ रुपैयाँ खर्च गरेको छ । भने ६ लाख ४८ हजार १७५ रुपैयाँ बचत गरेको उल्लेख छ ।
पछिल्लो समय स्वास्थ्य चौकीबाट सेवालिनेको सङ्ख्या उच्च देखिएता पनि दरबन्दीअनुसार स्वास्थ्यकर्मी नहुदा सेवा प्रवाहमा केही कठिनाइ हुँदै आएको पनि स्वास्थ्य चौकी इन्चार्ज विष्टले बताउनुभयो । साथै उहाँले स्वास्थ्य चौकीबाट नागरिकलाई प्रदान गरिने सेवा सुविधालाई अझ गुणस्तरीय र प्रभावकारी बनाउन आफुहरु लागिपरेको बताउनुभयो । उहाँले वडा नम्बर १ लाई कुपोषित रहित वडा घोषणाको तयारी,शुन्य होम डेलिभरी, विरामी कुरुवाको निम्ति आवास निर्माणजस्ता महत्त्वपूर्ण कामहरु स्थानीय सरकारसंगको सहकार्यमा गरिने बताउनुभयो ।
उहाँले सरकारले स्वास्थ्य क्षेत्रको दिगो विकासका लक्ष हासिल गर्न , स्वास्थ्य क्षेत्रबाट नागरिकलाई संवृद्धिमा पुर्यायाउन, स्वास्थ्य सेवामा अत्याधिक लगानी बढाउन, स्वास्थ्य संस्थाहरुको शासकीय व्यवस्थापकिय क्षमता अभिवृद्धि गर्ने ,सेवा प्रदायक कर्मचारीको मनोवल उत्प्रेरणा बढाउने , उपभोक्ताको अधिकारलाई सुनिश्चित हुने गरी स्वास्थ्य सेव प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बर्दगोरिया गाउँपालिका स्वास्थ्य शाखा सिनियर अधिकृत मीन बहादुर धामीले स्वास्थ्य चौकीको सामाजिक परीक्षण प्रभावकारी भएको बताउदै नागरिकलाई शुसुचित गर्न सेवा प्रदाय निकायबाट यस्ता जवाफदेही कार्यक्रम अनिवार्य रहेको बताउनुभयो । उहाँले
कार्यक्रममा स्वास्थ्यचौकी व्यवस्थापन समिति तथा वडा नम्बर १ का वडा अध्यक्ष जयरुप खतिवडाले नागरिकको स्वास्थ्य सुरक्षाका निम्ति स्वास्थ्य क्षेत्रलाई अझै प्रभावकारी रुपमा सञ्चालनमा जोड दिनुका साथै आफ्नो स्थानबाट समेत सक्दो सहयोगको प्रतिबद्धता गर्नुभयो । उहाँले स्वास्थ्य सेवा जनसाधारणको लागि अत्यावश्यक सेवा भएकोले यस सेवालाई बढी सक्षम, सुक्ष्म, सेवामूलक र जनउत्तरदायी बनाउन आफुले स्थानीय स्तरदेखि पहल थाल्ने बताउनुभयो ।
काठमाडौं, ३१ भदौ २०७८ ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ७६.६५ बिन्दुले ओरालो लागेको छ । लगातार ओरालो लाग्दै आएको नेप्सेले साताको अन्तिम दिन पनि सोही अवस्था कायम राख्यो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आजको ओरालो यात्रापछि नेप्से दुई हजार ८१२.३८ मा ओर्लिएको छ । झण्डै तीन हजार ३०० बिन्दुमा पुगेको नेप्से परिसूचक पछिल्ला दिनमा लगातार घट्दै जाँदा दुई हजार ८०० बिन्दुमा झरेको हो । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १२।७३ अङ्कले घटेर ५२५।७८ मा सीमित भएको छ ।
नेप्से ओरालो लागे पनि कारोबार रकम भने बुधबारको तुलनामा केही बढेको छ । बुधबार कारोबार रकम रु पाँच अर्बको हाराहारीमा थियो । आज कूल २२२ कम्पनीको एक करोड ६४ लाख ६८ हजार ५०८ कित्ता सेयर रु नौ अर्ब तीन करोड ३९ लाख ६२३ मा कारोबार भयो । कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्य ओरालो लागेको छ । बैंकिङ ४१.१४, व्यापार ११०.१३, होटल तथा पर्यटन १२५.८३, विकास बैंक १९७.२२, जलविद्युत् १३७.७९, वित्त १३९.४४, निर्जीवन बीमा ३८३.७, उत्पादन १३७.३९, अन्य ३१.१६, लघुवित्त १७१.७७, जीवन बीमा ४५२.५९, सामूहिक लगानी कोष ०.२४ र लगानी २.३९ अङ्कले घटेको छ ।
कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा छ । सो कम्पनीको रु ३८ करोड ६० लाख ४३ हजार ५०८ बराबरको कारोबार भयो । यस्तै रिडी हाइड्रोपावर रु २८ करोड ३८ लाख ७४ हजार ४५५, अपि पावर कम्पनी रु २५ करोड ५८ लाख ७८ लाख २०९, युनाइटेड मोदी हाइड्रोपावर रु २२ करोड ९८ लाख ५३ हजार ४७१ र हिमालयन डिस्टिलरी रु २० करोड ४३ लाख ९० हजार ५०७ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे । बिहीबारको कारोबारपछि बजार पूँजीकरण रु ३९ खर्ब ३५ अर्ब ७४ करोड १८ लाख ८८ हजार ७२२ बराबर भएको छ ।
मनकामना स्मार्ट लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । त्यस्तै आइसिएफसी फाइनान्सको डिवेञ्चर १.२३, सानिमा बैंकको ऋणपत्रका लगानीकर्ताले ०.७७ प्रतिशतले कमाए । यसैगरी कर्पोरेट डेभलपमेन्ट बैंक ८.१७, श्री इन्भेस्टमेन्ट फाइनान्स ७.१८, आइसिएफसी फाइनान्स ७.०३, लिवर्टी इनर्जी ६.७४ र चन्द्रागिरि हिल्सका लगानीकर्ताले ६.५६ प्रतिशतले गुमाए ।
काठमाडौँ, ३१ भदौ २०७८ ।
न्यूनचापीय प्रणालीको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको औँल्याइएको छ ।
नेपालमा भारतको मध्यप्रदेश आसपासमा अवस्थित न्यूनचापीय क्षेत्रको प्र्र्र्र्रभावसँगै मनसुन न्यूनचापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ रहेकाले शनिबारसम्म देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसमविज्ञान विभागमा मौसमविद् मीनकुमार आर्यालले बताउनुभयो । “आज लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ”, उहाँले भन्नुभयो ।
दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनाका साथै लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।
राति देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी, कर्णाली तथा सुुदूरपश्चिम प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पर्वत, ३१ भदौ २०७८ ।
निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी लोकमार्गमा पर्ने मोटरेबल पुल विगत चार वर्षदेखि अलपत्र रहेको छ । पर्वतकाे फलेवास नगरपालिका–६ देवीस्थान र फलेवास नगरपालिका–१० कुर्घाबिचमा रहेको लमाए खोलाको पुल निर्माण व्यवसायीको लापर्वाही र गलत डिजाइनका कारण अलपत्र परेको हो ।
स्याङ्जाको मिर्मिदेखि पर्वतको मोदीबेनीसम्म सडकको ट्रयाक खुले पनि लमाए खोलामा पुल नबन्दा करिडोर खण्ड अपूरै छ । प्राविधिकको गलत डिजाइनका कारण निर्माणाधीन मोटरेबल पुल अलपत्र परेको हो । पच्चीस मिटर लम्बाइको उक्त पुल रु पाँच करोड ६४ लाखमा नयाँ बाटो गौचन जेभीले जिम्मा लिएको थियो । ठेकेदार कम्पनीले पुल बनाउन पेटी ठेकेदारलाई जिम्मा दिएको थियो ।
कालीगण्डकी करिडोर आयोजनाका इञ्जिनीयरले सुरुमा डिजाइन गरेको पुल खोलाको दुवैतर्फको किनारमा ढुङ्गा माथिबाट बनाइने जानकारी दिइएको थियो । डिजाइनकै क्रममा स्थानीयवासीले विरोध गरे पनि इञ्जिनीयरले गलत डिजाइनलाई नै निरन्तरता दिँदै ठेक्का खुलाएका थिए । विसं २०७४ को अन्त्यतिर गरिएको प्रतिस्पर्धामा छानिएको नयाँ बाटो गौचन जेभीले तीन वर्षभित्रै पुल सम्पन्न गर्ने जानकारी दिएको थियो ।
यता कालीगण्डकी लोकमार्ग आयोजना प्रमुख सुबोधकुमार देवकोटाले यो पुलको नयाँ डिजाइन गरेर पुनः निर्माण कार्य शुरु गर्ने तयारी भइरहेको बताउनुभयो । केही महिनाभित्रै पुलको पुनः निर्माणको काम सुरु हुने उहाँको भनाइ छ । समयमै नसक्ने निश्चित भएपछि पेटी ठेकेदारलाई जिम्मा लगाएर मूल ठेकेदार सम्पर्कविहीन भएका थिए । त्यसपछि पुलको काम अगाडि बढेको छैन । दुई वटा खोलाको दोभानमा निर्माणाधीन पुलको जग बर्सेनि खोलाको बहावले कटान गर्दै आएको छ ।
पुल निर्माण गर्न थालिएको जमिन पनि पहिराले कटान हुँदै आएको स्थानीय गङ्गाराज शर्माले बताउनुभयो । शर्माका अनुसार स्थानीयले चिर्दिखोला र लमाए खोलासमेत समेट्ने गरी अहिले भएको स्थानभन्दा ५० मिटर परबाट पुल बनाउन भनेका थिए । सङ्घीय सांसद पदम गिरीले २०७५ कात्तिकमा ताकेता गरेपछि ठेकेदार शिव गौचनले समयमा काम सक्न केही प्राविधिक समस्या भएको बताउनुभएको थियो । व्यवसायी गौचनका अनुसार काम सुरु गरेलगत्तै पाल्पास्थित आयोजना कार्यालयले काम रोक्न आदेश दिएको थियो । उहाँका अनुसार दुवैतर्फ चट्टानमा पुल बनाउँदा टिकाउ नहुने भन्दै पुनः डिजाइन गर्ने भनेको कार्यालयले पछि पुरानै डिजाइनमा काम गर्न भनेपछि अन्योल थपिएको हो ।
विसं ०७५ मङ्सिरमा काम सुरु गरेका व्यवसायीले २०७६ जेठमा पुल निर्माण सकेर आयोजना हस्तान्तरण गर्ने तयारी थियो । दुवैतर्फका पिलर उठाएर स्ल्याब ढलान गर्ने समयमा पुनः आयोजना कार्यालयले पुलको निर्माण रोक्न भनेको थियो । त्यही बेलादेखि अलपत्र छाडिएको रड, सिमेन्टलगायत लाखौँ मूल्यका सामग्री अझै निर्माणस्थलमा अलपत्र छन् ।
यो पुलसँगै सुरु भएको मोदीखोलाको पुल गत वर्ष नै सम्पन्न भएर गाडी गुड्न सुरु भएका छन् । पुल नबनेपछि स्थानीय र सरोकारवाला निकै आक्रोशित छन् । कालीगण्डकी करिडोरअन्तर्गत रानीपानीदेखि फलेवासको पाङराङसम्म कालोपत्रका लागि तयारी भइरहेको छ । पाङराङदेखि मोदीबेनीसम्म ट्रयाक मात्रै खोलिएको छ ।
मोदी बेनीदेखि अर्मादीसम्मको खण्ड अझै खुलेको छैन । गत वर्ष भिरबाट डोजर खसेपछि ट्रयाक खोल्ने काम बिचमै रोकिएको हो । कालीगण्डकी करिडोरको मोदीबेनी–अर्मादी खण्ड खुलाउन सके ५५ किलोमिटर खण्ड पूरा हुने आयोजनाले जनाएको छ ।
काठमाडौँ, ३१ भदौ २०७८ ।
चालू आर्थिक वर्ष ०७८/७९ को अध्यादेश बजेटको प्रतिस्थापन विधेयक संसद्बाट समयमा पारित नभएपछि देशमा बजेटविहीनताको अवस्था आएको छ । साउन ३ गते प्रतिनिधि सभामा प्रस्तुत सो विधेयकका प्रतिस्थान विधेयक बुधबारसम्म पारित हुनुपर्ने थियो । वि.सं. २००८ देखि नेपालको बजेटको इतिहासमा यस्तो अवस्था पहिलो पटक आएको हो ।
विधायिकाको स्वीकृतिबिना खर्च गर्न नहुने प्रावधानकै कारण बुधबार रातिदेखि सङ्घीय सरकारी खर्च रोक्का भएको हो । सरकारी खर्च केही दिन रोकिने भए पनि राजस्व सङ्कलन भने नरोकिने जनाइएको छ । अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेट वर्तमान सरकारले प्रतिस्थापन विधेयकमार्फत संशोधन गरेकोमा प्रमुख प्रतिपक्षी दलले संसदीय कारबाही अवरुद्ध गर्दा बजेट पारित कार्य प्रभावित भएको हो ।
अर्थमन्त्री जनार्दन शर्माले बजेटविहीनताको अवस्थाले सरकारी भुक्तानी अवरुद्ध हुने भए पनि अल्पकालीन समस्या भएकाले अर्थ प्रणालीमा त्यति ठूलो समस्या नआउने जानकारी दिनुभयो । सङ्घीय संसद्मा जारी अवरोध हटाउन प्रयास भइरहेको र त्यसले छिट्टै प्रतिस्थापन विधेयक पारित हुने उहाँले बताउनुभयो ।
संसद्मा अर्थमन्त्री शर्माले पेस गर्नुभएको प्रतिस्थापन विधेयक पारित हुन नपाएका कारण देश आंशिक रूपमा बजेटविहीनताको अवस्थामा पुगेको हो । अघिल्लो सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यादेशमार्पmत जेठ १५ गते पेस गर्नुभएको बजेट बुधबारभित्र संसद्बाट पारित भइसक्नुपर्ने थियो ।
नेपालको संविधानको धारा ११४ अनुरूप कुनै पनि अध्यादेश संसद् सुरु भएको ६० दिनभित्र स्वीकृत नभएमा स्वतः निष्क्रिय हुन्छ तर अध्यादेशको स्थानमा प्रतिस्थापन विधेयकलाई भने संसद्ले स्वीकार गरेको छ ।
अर्थमन्त्री शर्माले प्रतिनिधि सभामा विनियोजन अध्यादेशका केही प्रावधान संशोधन गर्दै प्रतिस्थापन विधेयक संसद्मा पेस गर्नुभएको थियो तर सो विधेयक पारित हुन सकेको छैन । सरकारले आगामी असोज ४ गतेका लागि बोलाइएको प्रतिनिधि सभा बैठकमार्पmत सो विधेयक पारित गराउने अपेक्षा गरेको छ । “प्रतिपक्षीले संसद् अवरुद्ध गरेकाले प्रतिस्थापन विधेयक मङ्गलबार पारित हुन नसकेको हो, केन्द्र सरकारको भुक्तानी रोकिए पनि त्यसले अर्थतन्त्रलाई नै असर गर्ने भन्ने होइन,” अर्थमन्त्री शर्माले स्पष्ट पार्नुभयो, “राजनीतिक तहमा संवाद जारी छ, बजेटविहीनताको अवस्था छिटै अन्त्य हुन्छ ।” प्रतिस्थापन विधेयक दुवै सदनबाट पारित भएर राष्ट्रपतिले अनुमोदन नगरेसम्म बजेटविहीनताको अवस्था रहन्छ । यो अवस्थाले संविधानको धारा ११७ बमोजिम सङ्घीय सञ्चित कोषमा व्ययभार हुने रकम निकासा हुन पाउँदैन । अर्थमन्त्री शर्माका अनुसार तलब भत्तालगायत भदौको अधिकांश नियमित भुक्तानी भइसकेको र असोज लाग्नासाथ बजेट पारित हुने भएकाले ठूलो समस्या नआउने भएको हो ।
“ठेक्का रकम भुक्तानी केही दिन रोकिए पनि विकास निर्माण रोकिँदैन, पेस्कीबाट काम जारी हुन्छ”, उहाँले भन्नुभयो– “त्यसबाहेक प्रदेश र स्थानीय तहको आफ्नै बजेट परिचालन पनि नियमित हुने भएकाले त्यहाँबाट हुने निकासा प्रभावित हुने छैन ।”
खर्च गर्न नपाए पनि राजस्व सङ्कलन भने नियमित हुनेछ । भदौ २५ गतेको संसद् बैठकले आर्थिक अध्यादेश पारित गरेकाले राजस्व गैरकर सङ्कलन अनुदान सोधभर्नालगायतका रकम सङ्कलन भने गर्न बाधा छैन ।
गाेरखापत्र अनलाइनबाट साभार
ताप्लेजुङ, ३१ भदौ २०७८ ।
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर भक्तजनका लागि असोज १ गतेदेखि खुला गरिने भएको छ । कोभिड–१९ सङ्क्रमणका कारण विगत पाँच महिनादेखि पाथीभरामा पूजाआजा, ध्यान तथा प्रार्थना गर्न बन्द गरिएको थियो ।
हाल कोभिड–१९ को प्रभाव न्यून हुँदै गएकाले र पाथीभरा दर्शनको यामसमेत सुरु भएकाले असोज १ गतेदेखि खुला गर्ने निर्णय भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समितिले आज प्रेस विज्ञप्ति जारी गर्दै आम भक्तजनका लागि स्वास्थ्यका मापदण्ड पालना गर्दै दर्शन, पूजाआजा, ध्यान तथा प्रार्थना गर्न खुला गरिएको जनाएको छ ।
कोभिडको जोखिम न्यून भए पनि पूर्णरुपमा नहटेकाले वर्तमान अवस्थामा पाथीभरा आउने तीर्थयात्रीहरुलाई सरकारले लागू गरेका स्वास्थ्यका मापदण्डलाई पूर्णरुपले पालना गर्न अनुरोध गरिएको छ ।
“सङ्क्रमणको अवस्था सामान्य हुँदै गए पनि पूर्णरुपले हटिसकेको अवस्था छैन, त्यसैले मन्दिरको दर्शन एवम् पूजाआजाका लागि आउने भक्तजनलाई सरकारले लागू गरेका स्वास्थ्यका मापदण्ड पूर्णरुपले पालना गर्न अनुरोधसमेत गरेका छौँ,” कार्यकारी निर्देशक काफ्लेले भन्नुभयो ।
ताप्लेजुङमा पछिल्लो समय सङ्क्रमणको दर न्यून हुँदै गएको छ । सङ्क्रमणको अवस्था सामान्य हुँदै गएपछि चार महिनादेखिको निषेधाज्ञा हटाइएको छ ।