अभद्र,अमर्यादित र कुसंस्कारले ग्रसित राजनीति
डा.मनोज कुमार झा । राजनीति राज्य संचालनका लागि अपनाईने नीति हो । समाजलाई अग्रगमन, सुशासन, सभ्य, समृद्ध बनाउने नीति हो । राजनीतिले देश, समाज, व्यक्ति र राज्यलाई प्रत्यक्ष प्रभावित गर्दछ, त्यसकारण राजनीतिक व्यक्तिको व्यक्तित्व र उसको आचार, विचार, संस्कार, प्रवृत्ति, भाषाले देश, समाज, राज्य र जनताको भुत, वर्तमान र भविष्यलाई गम्भीर प्रभाव पार्दछ ।
राजनीति माटो सुहाउँदो हुनुपर्छ । देश, काल, परिस्थितिको सुक्ष्म विश्लेषण गर्दै देश, समाज र जनताको लागि गरिनुपर्छ । राजनीति ब्यक्तिवाद, जातिवाद, नातावाद, कृपावाद, चापलुशीवाद, आर्थिक केन्द्रित, मनोगतवाद केन्द्रित हुनुहुँदैन । तर नेपालको परिवेशमा त्यसको ठिक उल्टो छ । नेपालको राजनीति आक्रोश, प्रतिशोध, षड्यन्त्र, दम्भ, लूटखशोट, भ्रष्ट, दिशाहिनको साथसाथै पथभ्रष्ट र अराजक तथा आर्थिक आतंकवाद केन्द्रित हुँदै राज्य संरक्षित एवं संस्थागत हुँदै गएको सहजै महसुस गर्न सकिन्छ। विगत ३२ वर्षको नेपाली राजनीतिलाई सुक्ष्म विश्लेषण गर्ने हो भने राजनीतिले नेपाली समाजलाई अन्धकार र असहिष्णु, इतिहासलाई मिटियामेट गर्दै कलंकित, भूगोललाई अतिक्रमित, धर्मसंस्कृति-परम्परा-शिष्टाचार-भाईचारालाई ध्वस्त गर्दै अनुशासन हिनतालाई राम्रैसित प्रोत्साहित गरेको देखिन्छ, छाडातन्त्रले जडो गाडीसकेको भान हुन्छ ।
समाजवादको नाममा नेतावाद, गणतन्त्रको नाममा लूटतन्त्र, समृद्धिको नाममा विध्वंस, संघीयताको नाममा कार्यकर्ता भर्ती तथा पोषण एवं विकेन्द्रीकृत भ्रष्टाचार, सुशासन, न्याय, समानता र समावेशीताको नाममा परिवारवाद, दलगतवाद, चापलुसीवाद र लम्पसारवाद संस्थागत हुँदै आजको दिनमा राज्य सत्ताको अमुक अंग बनिसकेको अवस्था छ । हाम्रा राजनीतिक नेतृत्वले परिवर्तन, अग्रगमन, क्रान्तिको नाममा हामीलाई हाम्रो इतिहास, संस्कृति, संस्कार, भूगोलकै बलि दिन लगाउछन र हामी भावनामा बहेर होस या दलगत दल-दलमा रमाएर वा एक गिलास लोकल रक्सी र दुई चोकटा मासुको भरमा भोलिको कुनै चिन्तै नगरी जे पनि गर्न तयार हुन्छौं । आज हामी यतिसम्म बुद्धि भ्रष्ट भईसकेका छौं, कि हामी हाम्रो दुश्मन स्वेम बनिसक्यौं । स्वेच्छाचारीता, व्यक्तिवादीता, संकिर्णता,असंवेदनशीलता हाम्रो पहिचान बन्दै छ। अब देश बचाउने हो भने हामीले गम्भीर समीक्षा गर्नै पर्छ र भुत र वर्तमानलाई भविष्यसंग दाँज्नै पर्छ । पागल मानसिकता, परिवारवाद, दम्बवादको भुमरीमा फँसेको नेपाललाई निकास दिन सडक तताउनै पर्छ । त्यसका लागि सचेत विद्रोह र बलिदानीपूर्ण संघर्षका लागि आफुलाई तैयार गर्नैपर्ने हुन्छ ।”
कुनै अमूक नेताले बोलेको वा भनेको भरमा विश्लेषण गर्ने र बोली, व्यबहारमा उतार्ने परिपाटी सबैका लागि र संधैका लागि बन्द गर्नसक्नु पर्छ । हामीले खण्डित एवं गुलाम मानसिकताका धनी हाम्रा राजनीतिक नेतृत्व, पद-पैसा-प्रतिष्ठाका लागि जे सुकै गर्न मरिहत्ते गर्ने र परिवार, नातागोता, समगोत्री र समजाती विशेषका लागि मात्र राजनीति गरेका र गरिरहेका वर्तमान राजनीतिक नेतृत्वलाई यथोचित बिदाई दिन सक्नुपर्छ ।
अब राजनीतिलाई पेशा, देशलाई पेवा, जनतालाई गुलाम, बेबकुफ ठान्ने राजनीतिका तथाकथित खेलाडीहरु लाई दर्हो जवाफ दिने बेला आईसकेको छ। हिजोसम्म दुई छाक खान र बस्न छाप्रो तथा लगाउन राम्रो लुगा समेत नरहेकाहरुले मात्र ३२ वर्षमा त कोहीले १५ वर्षमा त कोहीले ५ वर्षमा नै कुनै ब्यापार, ब्यबसाय नै नगरि अर्वौं, खर्बौंका मालिक कसरी बने र त्यतिका पैसा कहाँबाट ल्याए त्यसको हिसाबकिताब खोज्न र माग्न सक्नुपर्छ यदी नदिए हदैसम्मको कार्यवाही हामी स्वयंले पनि गर्नसक्नु पर्छ ।
हाम्रा राजनीतिक नेतृत्वले नितान्त व्यक्तिगत पारिवारिक विदेश भ्रमण गर्दा दैनिक रु.५० लाखसम्मको खर्च गर्छन् एक भ्रमणमा मात्रै रु.५ करोडसम्म खर्च गर्छन । अर्कोतिर वार्षिक करोडौं रुपैया उपचार खर्च गर्छन, त्यो कहाँबाट आयो हामीले सोधपुछ गर्न सक्नुपर्छ । पुष्पकमल दहाल प्रचण्ड जी सपरिवार निजी खर्चमा दुबई जाँदा विश्वकै महंगो एवं सुविधासम्पन्न होटेलको खर्च होस वा खडगप्रसाद शर्मा ओलीको निजी खर्चमै सिंगापुरमा उपचार, त्यसको खर्च ब्यवस्थापन को बाट कुन सर्तमा कसरी भयो ? तथाकथित राजनीतिक नेतृत्वहरुको दैनिक दिनचर्या र भोग-विलास को व्यवस्थापन ? पार्टी र दल संचालन मा हुने खर्च व्यवस्थापन ? चुनाव खर्च ? तामझामको व्यवस्थापन ? लगायत अन्य थुप्रैथुप्रै प्रश्न र प्रश्नचिह्नहरु छन, जुन हामीले हिसाबकिताब गर्नसक्नु पर्छ ।
त्यसैले देश र जनताको समृद्धि ,आर्थिक विकास ,सामाजिक चेतना र राष्ट्रको सार्वभौमसत्ताको लागि हामी सबै नेपाली जाग्नुपर्छ । अन्यथा नेपालको वर्तमान राजनीतिक परिपाटी र नेतृत्वका कारण कुनै दिन बिहान सुतेर उठदा हामी आर्कै देशको नागरिक भईसकेका हुन्छौं ।
(लेखक डा. मनोज कुमार झा जनतान्त्रिक तराई मुक्ति मोर्चा पार्टीका राष्ट्रिय अध्यक्ष हुन )।
काठमाडौ । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा भारतको पश्चिमी राजस्थानको आसपासमा रहेको तथा पश्चिम बंगाल, झारखण्ड र उडिसा आसपासमा अवस्थित न्युन चापीय क्षेत्रहरुको आंशिक प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा थोरै दक्षिणतिर रहेको छ।जसका कारण हाल देशभर आंशिदेखि सामान्य बदली रहेको छ । बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा हल्का देखि मध्यम बर्षा भइरहेको छ ।
यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान
आश्विन ६ गते (बुधबार )
दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा र अन्य प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा सम्भावना रहेको छ ।
राती: देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आश्विन ७ गते (बिहीबार)
दिउँसो: देशभर सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा सम्भावना रहेको छ।
राती: देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आश्विन ८ गते (शुक्रबार)
दिउँसो: देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा सम्भावना रहेको छ।
राती: देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशभर सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा र अन्य प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा सम्भावना रहेकोले उक्त स्थानहरुका पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम सँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु हुन अनुरोध छ।
काठमाडौं । सरकारले अघिल्लो सरकारले नियुक्त गरेको सबै मुलुकका रावदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले अघिल्लो सरकारले राजनीतिक रूपमा नियुक्त गरेका सबै मुलुकका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
‘मन्त्रिपरिषद्ले राजनीति तवरबाट नियुक्ति भएका सबै राजदूताहरूलाई फिर्ता बोलाउने निर्णय भएको छ,’मन्त्री कार्कीले भन्नुभयो ।
सरकारको निर्णयसँगै अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडालगायत अन्य देशहरूमा नियुक्त भएका राजदूतहरु फिर्ता हुनेछन् ।
सिरहा । सिरहा गोलबाजर नगरपालिका ४ निपनियाँका ४० वर्षीय दुखरण महराको हत्या घटनाको मुख्य योजनाकारको आरोपमा उनकी श्रीमती हरिहरदेवी महरा पक्राउ परेकी छन् ।
भारत विहारको मधुवनीको जयनगर बजार नजिकै दुखरणको शव फेला परेको थियो ।
उनको हत्याको योजनाकारको रूपमा हरिहरदेवी पक्राउ परेकी हुन् । श्रीमान् दुखरणलाई उपचारको बाहनामा जयनगर पुर्याएर हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता सुवास बुढाथोकीले जानकारी दिए ।
उनकाअनुसार श्रीमानको हत्याका लागि हरहरदेवीले यादवको समूहलाई ६० हजार रुपैयाँ दिएकी थिइन् ।
गत १९ भदौमा दुखरणको शव फेला परेको थियो । धारिलो हतियारको प्रयोग गरेर दुखरणको हत्या भएको थियो । उनको शव घाँटीसहित शरीरका विभिन्न भागमा चोट पटक लागेको अवस्थामा फेला परेको थियो ।
सबै सीमा नाका खुला गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले सबै सीमा नाका खुला गर्ने निर्णय गरेको छ । मंगलबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले कोरोना महामारीका कारण बन्द भएका सबै सीमा नाका खुला गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता समेत रहेका कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार बैठकले कोभिड–१९ व्यवस्थापन आदेश, ०७८ जारी गरेको छ ।
अघिल्लो सरकारले जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धी अध्यादेश खारेज भएका कारण सरकारले नयाँ आदेश जारी गरेको उनले जानकारी गराए । उक्त आदेशबाट प्रधानमन्त्री शेर बहादुर देउवाको संयोजकत्वमा कोभिड–१९ निर्देशक समिति गठन भएको छ ।
उक्त समितिमा स्वास्थ्यमन्त्री, गृहमन्त्री, अर्थमन्त्री, परराष्ट्रमन्त्री, उद्योगमन्त्री, मुख्यसचिव र प्रधान सेनापति सदस्य रहनेछन् । बैठकले कोभिड–१९ सम्बन्धी विधेयक, औषधि ऐन–०३५ लाई संशोधन गर्न बनेको ऐन संघीय संसद्मा पेश गर्न स्वीकृति दिएको जानकारी गराइएको छ ।