कांग्रेसले दसैँअघि हिमाली जिल्लामा अधिवेशन गर्ने
काठमाडौँ । नेपाली कांग्रेसले हिमाली जिल्लामा दसैँअघि अधिवेशनका कार्यक्रम गर्ने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज भएको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले महाधिवेशनको कार्यतालिका अनुसार जिल्ला अधिवेशन गर्ने सहमति गरेको हो ।
कांग्रेसले हिमाली जिल्ला ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालीकोट, बाजुरा, बझाङ, दार्चुला, धादिङ, गोरखासहित २१ जिल्ला सूचीमा राखेको छ । ती जिल्लामा दसैँअघि नै र अरु जिल्लामा दसैँपछि जिल्ला अधिवेशन गर्ने सहमति भएको छ । हिमालीबाहेकका जिल्लामा दसैँअघि स्थानीय तहको अधिवेशन सम्पन्न गर्ने र बाँकी अधिवेशनका कार्यक्रम दसैँपछि गर्ने सहमति भएको छ ।
मौसमलाई मध्यनजर गरेर हिमाली जिल्लामा दसैँअघि नै जिल्ला अधिवेशन गर्ने निर्णय गरिएको निर्वाचन समितिले जनाएको छ । कांग्रेसको ६४ जिल्लाको वडा अधिवेशन सम्पन्न भइसकेको छ । ती जिल्लामा यही असोज ९ गते पालिका अधिवेशन हुँदैछ । तेह्र जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक नहुँदा अधिवेशन तालिका नै प्रभावित भएको छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सबै अधिवेशन एउटै समयमा हुनुपर्ने माग गरेपछि कांग्रेसमा महाधिवेशन कार्यतालिका परिमार्जन हुने भएको हो । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।
विदेशी नागरिकलाई सर्तसहित अनअराइभल भिसा
काठमाडौं । सरकारले नेपाल आउने विदेशी नागरिकलाई सर्तसहित अनअराइभल भिसा दिने भएको छ ।विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरूको यात्रा व्यवस्थापनसम्बन्धी आदेश जारी गर्दै सरकारले कोभिड–१९ विरुद्धको खोपको मात्रा पूरा गरेका नागरिकलाई कानुनबमोजिम अनअराइभल भिसा उपलब्ध गराउने भएको हो ।
भिसा प्राप्त गर्न विदेशी नागरिकले खोपको मात्रा पूरा गरेको १४ दिन पूरा भएको प्रमाण, उडानको चेक इन हुनुभन्दा ७४ घन्टाअघिको नेगेटिभ भएको प्रमाण, पर्वतारोहण र पदयात्रा तथा अनुमति लिनुपर्ने अन्य विषयको हकमा त्यसको प्रतिलिपि उपलब्ध गराउनुपर्नेछ ।
त्यस्तै नेपालमा होटल बुक गरेको प्रमाण, सीसीएमसीको वेबसाइटमा लगइन गरी अनलाइन फाराम भरेको प्रिन्टप्रति पनि उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ ।
आदेशअनुसार नेपाल प्रवेश गर्ने सबै विदेशी नागरिकको नेपालस्थित अध्यागमनमा प्रवेश बिन्दुमा एन्टिजेन परीक्षण गर्नुपर्नेछ । त्यस्तो परीक्षणमा पोजेटिभ देखिएमा अनिवार्य रूपमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तोकेको आइसोलेसन वा अस्पतालमा पठाउनुपर्नेछ ।
अध्यागमनमा परीक्षण हुन नसके होटेलमा कोभिड–१९ को परीक्षण गरेर नेगेटिभ आएपछि मात्र होटलबाट बाहिर जान पाउनेछन् । यो समाचार गोरखापत्र दैनिकमा छ ।
यस्तो छ आगामी तीन दिनको मौसम (रिपोर्ट)
काठमाडौ । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा भारतको पश्चिम राजस्थान आसपासमा रहेको तथा छत्तिसगढ आसपासमा अवस्थित न्युन चापीय क्षेत्रहरुको आंशिक प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा थोरै दक्षिणतिर रहेको छ। जसका कारण हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
आश्विन ८ गते (शुक्रबार)
दिउँसो: देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राती: देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आश्विन ९ गते (शनिबार)
दिउँसो: देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राती: देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आश्विन १० गते (आईतबार)
दिउँसो: देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राती: देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा सम्भावना रहेकोले उक्त स्थानहरुका पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम सँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु हुन अनुरोध छ।
सार्क विदेशमन्त्रीस्तरीय बैठक अन्योलमा
काठमाडौं । अफगानिस्तानको सरकार परिवर्तनको असर दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को विदेशमन्त्रीस्तरीय बैठकमा देखिएको छ । विदेशमन्त्रीस्तरीय बैठकमा अफगानिस्तानबाट पहिलाको सरकारको प्रतिनिधित्व नहुने सुनिश्चित गराउन भन्दै पाकिस्तानले नेपाललाई प्रश्न गरेपछि सोबारे प्रस्ट हुन नसकेपछि अन्तिम समयमा आएर बैठक स्थगन भएको हो ।
राष्ट्रसंघीय महासभाको साइडलाइनमा हुने भनिएको बैठक अफगानिस्तान र पाकिस्तानका कारण नहुने भएको हो । राष्ट्रसंघीय ७६औं महासभाको साइडलाइनमा हरेक वर्ष सार्कका परराष्ट्रमन्त्री (सार्क मन्त्रिपरिषद्)हरू अनौपचारिक रूपमा बैठक बस्ने गर्छन् । योपटक अन्तिम समयमा सार्क राष्ट्रका सदस्यहरूको सहभागिताको विषयमा अन्योल सिर्जना भएपछि बैठक नहुने भएको हो ।
सार्कको कान्छो मुलुकमा देखिएको राजनीतिक घटनाक्रम परिवर्तन भएपछि त्यहाँ विद्रोही तालिबानले सरकार सञ्चालन गरिरहेको छ । अफगानिस्तानमा तालिबान सरकार बनेपछि सदस्य मुलुक अझै अन्योलग्रस्त रहेको अवस्थामा विदेश मन्त्रीस्तरीय बैठक स्थगित गरिएको परराष्ट्रका एक अधिकारीले बताए ।
तालिबानको सहभागिताको विषयलाई लिएर पाकिस्तानबाहेकका सार्क राष्ट्रले चासो देखाएपछि अन्तिम समयमा आएर बैठक स्थगित गरिएको हो । गत २९ भदौमा सबै सदस्य मुलुकलाई सार्क सचिवालयले पत्राचार गरेको थियो । अमेरिकाको न्युयोर्कको ग्रान्ड होटलमा ९ असोजका लागि बैठक राखिएको थियो ।
पाकिस्तानले छिमेकी मुलुक अफगानिस्तानको यसअघिका सरकारका दूत घुलाम एमा इसाक्लाईको उपस्थिति नहुने भन्ने प्रस्ताव राखेपछि बैठक स्थगित गर्नुपरेको हो । घुलामलाई अफगानिस्तानको पूर्ववर्ती सरकारले राष्ट्रसंघको विशेष दूत बनाएको थियो । तालिबान सरकारले उनलाई हटाएको भने पनि उनी अझै सक्रिय छन् । सो विषयलाई लिएर उनको उपस्थिति हुन्छ कि हुँदैन भनेर नेपाललाई पाकिस्तानले पत्र पठाएको थियो ।
अमेरिकामै भएकाले घुलाम उपस्थित हुन सक्ने सम्भावना पनि थियो । तर, नेपालले उनको उपस्थिति हुन्छ या हँुदैन भन्ने स्थिति बताउन सक्ने अवस्था नभएपछि बैठक रोक्नुपरेको परराष्ट्रका एक अधिकारीले बताए । बैठक स्थगित भएको तालिबानलाई पनि अन्तर्राष्ट्रिय क्षेत्रले मान्यता नदिएकाले सहभागिता हुने अवस्था रहँदैन । तर, पाकिस्तान भने तालिबान सरकारलाई मान्यता दिनुपर्ने पक्षमा छ । अन्य सदस्य मुलुकहरू भने पाकिस्तानको भनाइमा सहमत देखिँदैनन् । आजको राजधानी दैनिकमा यो खवर प्रकाशित छ ।
प्राविधिक शिक्षा र सीप विकासका लागि मुक्तकमलरीको तथ्याङक मुख्यमन्त्रीलाई बुझाइयो
धनगढी,कैलाली । मुक्तकमलरी विकास मञ्चले प्राविधिक शिक्षा र सीप विकासका लागि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र बुझाएको छ । मञ्चका कैलाली जिल्ला र कञ्चनपुर जिल्लाले प्राविधिक शिक्षा र सीप विकासका लागि आ आफनो तथ्याङक संकलन गरी विहीबार मुख्यमन्त्रीलाई मुक्तकमलरीका विवरण बुझाए थिए ।
मञ्चका कैलाली जिल्ला अध्यक्ष विन्द्रा चौधरीले प्राविधिक शिक्षा र सीप विकासका लागि १४ सय ७४ जना मुक्तकमलरीहरुको नामवाली संकलन गरी मुख्यमन्त्री भट्टलाई बुझाएकका थिए । कैलाली जिल्लामा ४ हजार भन्दा बढी मुक्तकमलरी रहेकोमा सरकारी परिचयपत्र मात्र पाएको संख्या २५ सय रहेको अध्यक्षले बताए । एक हप्ता अगाडी मुक्तकमलरीको समस्या र विगतमा सरकारसंग भएको सहमतिबारे जानकारी दिन मुख्यमन्त्री भट्ट र प्रदेशका भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री विनिता चौधरीलाई ज्ञापन पनि बुझाएका थिए । सोही क्रममा एक हप्ताभित्र मुक्तकमलरी विकास मञ्च कैलाली, कञ्चनपुरसँग प्राविधिक शिक्षा र सीप विकासका लागि मुक्तकमलरीका विवरण माग गरिएको थियो ।
मञ्चका कैलाली जिल्ला अध्यक्ष विन्द्राले भने, तथ्याङक संकलन गरी बुझाउन हामीलाई एक हप्ताको समय दिएको थियो, समय थोरै भएकोले अरु मुक्तकमलरीहरुको नाम छुटेको छ । हामीले चाडै संकलन गरेर बुझाउछौ । त्यसैगरी मञ्चका कञ्चनपुर जिल्ला अध्यक्ष सिता चौधरीले प्राविधिक शिक्षा र सीप विकासका लागि ३ सय ७२ जनाको नामावली बुझाएका छन । उहाँले पनि जिल्लामा अरु मुक्तकमलरीको नामावली छुट भएको र बाँकीको नामावली र विवरण चाँडै बुझाउने बताए ।
सो अवसरमा कैलाली कञ्चनपुरमा मञ्चका आफनै भवन नहुदा समस्या भएको बताउदै मुख्यमन्त्रीसंग सोको व्यवस्था गरिदिन माग गरिएको थियो । मञ्चका केन्द्रीय सदस्य शान्ति चौधरी सरकारले मुक्तकमलरीलाई मुक्ती घोषणा गर्दा १० बुँदे सम्झौता गरेको सोको कार्यान्वयन नगरेको बताए । उहाँले भने सरकारले मुक्तकमैया, मुक्तहलियाको तथ्याङक संकलन गरेको तर मुक्तकमलरीको तथ्याङक संचालन नगरी परिचयपत्र वितरण गर्दा धेरै मुक्तकमलरी सरकारी परिचयपत्रबाट बन्चित भएको बताए ।
ज्ञापनपत्र बुझदै मुख्यमन्त्री भट्टले मुक्त कमलरीको समस्या समाधन गर्न आफु सक्दो सहयोग गर्ने बताए । मुख्यमन्त्रीले भने प्रदेशबाट हुने समस्या समाधन प्रदेश सरकारबाट गर्ने प्रयास गर्छौ, केन्द्रबाट हुने समस्या समाधान केन्द्रलाई सिफारिस गरी दवाद दिन्छौ । मुक्तकमलरी विकास मञ्चको लागि भवन निर्माणको व्यवस्था गर्न सकिने तर जग्गा आफै खोज्नु पर्ने उहाँले भने । मुक्तकमलरीहरुले संचालन गरेको सहकारीलाई सहयोग गर्न सकिने बताउदै सहकारीको विवरण पनि उहाँ माग गरेका छन ।
बर्दगोरियाकि एकमात्र महिला वडा अध्यक्ष श्याम कुमारी, जसले विकासमा अब्बल फट्को मारिन सुविधायुक्त स्वास्थ्य इकाई, वडा कार्यालय र विद्यालयको भवन निर्माण चौधरीकै पालामा
बौनिया, कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ विकासमा अब्बल बनेको छ । अन्य वडाहरुको तुलनामा वडा नम्बर ५ आम जनताले देख्नेगरी विकासमा फट्को मार्न सफल बनेको छ । जसको श्रेय हुन वडा अध्यक्ष श्याम कुमारी चौधरी । जनताको विकास र समृद्धिका लागि चौधरीको यात्रा निरन्तर अहोरात्र खटिरहयो र फलस्वरूप विकासले वडा नम्बर ५ अब्बल बन्न पुग्यो ।
२०७४ सालको स्थानीय निकायको निर्वाचनमा बर्दगोरिया गाउँपालिका ५ मा नेपाली काङ्ग्रेसबाट निर्वाचित वडा अध्यक्ष चौधरी पालिकाकै एकमात्र महिला वडा अध्यक्ष हुन । महिलाहरु समाजमा केही गर्न सक्दैन भनेर कुरा काट्ने अन्धभक्तहरुलाई उनले चुनाव जितेर मात्रै देखाईन्न, समग्र वडाको विकासमा गतिलो छाप राख्न सफल बनिन । आफ्नो कार्यकालको झन्डै ५ वर्षको दौडाहामा वडा अध्यक्ष चौधरीले शिक्षा ,स्वास्थ्य ,कृषिलगाएतका क्षेत्रमा राम्रै कामगर्न सफल भएकी छ्न ।
अन्य वडाहरुले हालसम्म पनि वडा कार्यालयको जगसमेत बनाउन नसकेको अबस्थामा उनले भने ठूलो वडा कार्यालय भवन बनाउन सफल भएकी छ्न, जुन अहिले निर्माणको अन्तिम चरणमा छ । वडा कार्यालय निर्माणका लागि हालसम्म करिव ८५ लाख रुपैयाँ खर्च भइसकेको छ भने अझै १२/१२ लाख लाग्ने अनुमान छ ।
यतिमात्र होइन जनताको आधारभुत स्वास्थ्य सेवाका लागि सुविधायुक्त स्वास्थ्य इकाई केन्द्रको भवनसमेत उनले निर्माण गर्न सफल भएकी छ्न । स्थानीय नागरिकको समस्यालाई ध्यानदिँदै कोइली भुरुवा आधारभुत स्वास्थ्य केन्द्रको भवन वडा अध्यक्ष चौधरीकै सक्रियतामा बन्न सफल भएको हो । जसका लागि ४८ लाख रुपैयाँ खर्च भएको चौधरी बताउछिन ।
उनले भनिन- स्थानीय नागरिकको पीडा र समस्यालाई मध्यनजर गरि स्वास्थ्य केन्द्रको भवन निर्माणकार्य अगाडि सारेका थियौ, अब यो अन्तिम चरणमा छ, अबको केही दिनभित्र नै नागरिकले सुबिधायुक्त भवनबाट सेवा पाउनेछ्न ।
स्वास्थ्यको अनुदान र गाउँपालिकाको गरि करिब ४८ लाखको लागतमा भवन निर्माणको काम भएको उनले भनिन केही महिना अधिमात्रै वडा नम्बर ५ मा स्थानीयलाई समान्य उपचारका लागि अन्यन्त्र जानुपर्ने बाध्यतालाई ध्यानमा राखी कोइली भुरुवा आधारभुत स्वास्थ्य इकाई संचालन गरिएको थियो । सानो कोठा र ठाउँबाट सेवा दिदा नागरिकलाई बाहिर जानुपर्ने बाध्यता हटेपनि भौतिक पुर्वाधारको समस्याले गुणस्तरीय सेवा दिन नसकिएकोमा अब आफ्नै भवन बनेपछि निकै सहज हुने अध्यक्ष चौधरीले बताइन्न ।
उनले नागरिकको स्वास्थ्य सेवालाई प्राथमिकतामा राखी वडा कार्यालय भन्दा पहिला स्वास्थ्यको भवन निर्माणमा जोड दिएको र त्यो पूरा भएको बताइन्न । जसबाट नागरिकले अब बर्थिङ सेन्टरसहितको सेवा लिन पाउने छ्न ।
यसैगरी वडा नम्बर ५ का सम्पुर्ण सडकहरु ग्राभेल गरिएको छ भने वडा अध्यक्ष चौधरीकै पहलमा बैदिपुरमा ३ सय ३० मिटर र भुरुवाचोक देखि वडा कार्यालयतिरको करिब १५ सय मिटर सडक कालोपत्रे गरिएको छ । जुन सवै वडाकै बजेटबाट गरिएको हो ।
यसैगरी वडामा तीनवटा विद्यालयको भवन निर्माण, खोपकेन्द्र, भवन मर्मत तथा घेरबार र स्थानीय महालक्ष्मी युवा कल्बको भवनसमेत निर्माण सकिएको छ । यस्तै प्रदेश सरकारको ४० लाखको लागतमा वडा नम्बर ५ मा करिब ५ सय मिटर सडक कालोपत्रे ,करिब १५ लाखको लागतमा कृषि हाटबजार, बेलुवामा २५ लाखको लागतमा डिप बोरिङ राखिएको छ ।
सरकारले तोक्यो धानको समर्थन मूल्य,क्वीन्टलको कति ?
काठमाडौँ । सरकारले धानको समर्थन मूल्य तोकेको छ । गत भदौ २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले समर्थन मूल्य तोकेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार चालु आर्थिक वर्षका लागि मोटा धानको प्रतिक्विन्टल मूल्य रु २ हजार ७५२ र मध्यम किसिमको धानको मूल्य रु २ हजार ९०२ तोकिएको हो ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाश सञ्जेलका अनुसार गत वर्षको तुलनामा यस वर्ष प्रतिक्विन्टल रु १७ ले बढी हो । गत वर्ष असारे धान लगाउनुपूर्व नै सरकारले धानको सर्मथन मूल्य तोकेको थियो । गत वर्ष मोटा धान प्रतिक्विन्टल रु दुई हजार ७३५ र मध्यम धानको मूल्य रु दुई हजार ८८५ तोकिएको थियो ।
समयमा नै मूल्य नतोक्दा व्यवसायीले मनोमानी मूल्यमा धान खरिद गर्ने भन्दै सरकारले प्रत्येक वर्ष मोटा र मध्यम किसिमका धानको न्यूनतम समर्थन मूल्य तोक्दै आएको छ ।
बर्दगोरिया १ मा १५ शैय्या अस्पताल निर्माणको काम सुरु निर्माण कम्पनी भन्छ - दुई वर्षभित्र काम सकिन्छ
बौनिया,कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा १५ शैय्या अस्पताल निर्माणको काम सुरु भएको छ । वडा नं. १ मा रहेको दोदोधरा स्वास्थ्य चौकीलाई स्तरोन्ति गर्दै १५ शैय्या अस्पताल निर्माणको पहिलो चरणको काम सुरु भएको हो ।
नेपाल सरकारको कुल १८ करोड रुपैयाँको लागतमा निर्माण हुने भनिएको उक्त अस्पतालको निर्माणको ठेक्का लुम्बिनी थोदुङ शिव खेम्ती जेभीले प्राप्त गरेको थियो । अस्पताल निर्माणको काम भने जेभीसंगको सहकार्यमा एइ कन्ट्रक्सनले थालेको हो । दुई वर्षभित्र अस्पताल निर्माणको काम सक्नेगरी सम्झौता भएको र निर्धारीत मितिमै काम सक्ने लक्ष राखिएको निर्माण कम्पनीका सव कन्ट्र्याक डाइरेक्टर एकेन्द्र मल्लले बताउनुभयो । उहाँले भन्नुभयो करिव १२ हजार स्क्वायर फीटमा दुईवटा भवन भन्नेछ्न, भवन निर्माणका क्रममा कुनै समस्या नआएको खण्डमा समयमै काम सम्पन्न हुनेछ ।
सरकारले जनतालाई सर्वसुलभ स्वास्थ्य उपचारका लागि सहजता ल्याउन गतवर्ष देशका ३९६ स्थानमा एकै पटक अस्पताल शिलान्यास गरेको थियो ।
बर्दगोरिया १ मा १५ शैय्याको अस्पताल निर्माणको कार्यसुरु हुनु निकै खुशीको कुरा भएको बताउदै वडा नम्बर १ का वडा अध्यक्ष जयरुप खतिवडाले अस्पताल निर्माणको काम समयमै सकिनेमा विस्वस्त रहेको बताउनुभयो । उहाँले अस्पताल बनेपछि वर्षौंदेखि स्वास्थ्य उपचारका लागि कहिले धनगढी त कहिले कोहलपुर ,नेपालगन्ज जानुपर्ने यहाँका स्थानीयको वाध्यता समाप्त हुने बताउनुभयो । उहाँले एमबीबीएस डाक्टरसहितको स्वास्थ्यसेवा पाउने बर्दगोरियाबासीको सपना भने अब छिट्टै पुराहुने बताउनुभयो ।
यता दोदोधरा स्वास्थ्य चौकी इन्चार्ज नृप बहादुर बिष्टले दोदोधरा स्वास्थ्य चौकीलाई स्तरोन्नतिको प्रक्रिया मार्फत १५ शैयाको अस्पताल बनाइने काम सुरु भएको बताउदै यो समग्र बर्दगोरियाबासीका निम्ति सुखद कुरा भएको बताउनुभयो ।
यसैगरी बर्दगोरिया गाउँपालिका अध्यक्ष बलिराम डगौरा थारुले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा ‘एक स्थानीय तह एक अस्पताल’निर्माण गर्ने व्यवस्था अनुसार यहाँको वडा नम्बर १ मा रहेको दोदोधरा स्वास्थ्यचौकीलाई १५ शैयाको अस्पतालका रूपमा स्तोरन्तिको काम सुरु भएको बताउनुभयो । उहाँले स्वास्थ्यलाई छिटो छरितो तथा सर्वसुलभ बनाउन अहिलेको मुख्य आवश्यकता रहेको समेत बताउनुभयो ।
अस्पताल निर्माणको काम सुरु भएपछि स्थानीयहरु भने उत्साहित भएका छ्न ।
बर्दगोरियाका निजी श्रोत शिक्षकहरूले पालिकाबाट बुझेको ६२ लाख तलब बेरुजु गत वर्षमा १ सय २२ शिक्षकको तलब करोड बढी
बौनिया,कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकाले निजी श्रोत शिक्षकलाई तलब स्वरूप वितरण गरेको ६२ लाख ३५ हजार रुपैयाँ बेरुजु देखिएको छ । महालेखापरीक्षकको वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७६÷०७७ मा पालिकाले नियम विपरीत सो रकम निजी श्रोतका शिक्षकहरूलाई तलब खुवाएको हो ।
अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ९ मा स्वीकृत दरबन्दी भित्रका शिक्षकको तलब भत्ता बापत स्थानीय तहलाइ सशर्त अनुदान उपलब्ध गराउने व्यवस्था छ । यस्तै साबिकको जिल्ला शिक्षा कार्यालयबाट अनुमति प्राप्त गरी सञ्चालनमा रहेका र कुनै पनि दरबन्दी तथा राहत अनुदान कोटा प्राप्त नगरेका विद्यालयलाई शिक्षक व्यवस्थापन गर्ने गरी शैक्षिक सत्र २०७६ का लागी सहयोग अनुदान दिन सकिने व्यवस्था छ ।
तर गाउँपालिकाले स्वीकृत दरबन्दी भित्र नपरेका तथा विद्यालयले विगत देखी नै आन्तरिक श्रोतबाट तलब भत्ता व्यहोरेका शिक्षकलाई समेत सो आर्थिक वर्षमा पालिकाले वित्तीय समानिकरण अनुदानबाट ६२ लाख ३५ हजार रुपैयाँ नियम विपरीत वितरण गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
गत वर्ष १ सय २२ जना शिक्षकले बुझे करोड बढी तलब
महालेखा परीक्षकको प्रतिवेदनमा बेरुजु उल्लेख गरिएका पालिकाका १ सय २२ जनाका लागी हाल पनि वार्षिक करोड बढी तलब निकासा हुने गरेको छ । यसरी स्थानीय तहबाट पनि तलब बुझ्नेमा २० जना कार्यालय सहयोगी, ३९ जना बाल विकासका कर्मचारी, ४ जना लेखापाल, ३४ जना प्राथमिक तहका शिक्षक, १७ जना निम्न माध्यमिक तहका शिक्षक र ८ जना माध्यमिक तहका शिक्षक रहेका छन् ।
पालिकाको शिक्षा शाखाका अनुसार उनीहरूले विद्यालयको निजी श्रोत सहित पालिकाबाट पनि ३ हजार देखी १४ हजार सम्म विभिन्न स्केलमा तलब बुझ्ने गरेका छन् । उनीहरूले गत आर्थिक वर्ष २०७७÷०७८ मा पनि १ करोड १७ लाख ७२ हजार रुपैयाँ तलब बुझेको शिक्षा शाखाले जनाएको छ । यो रकम पनि आगामी आर्थिक वर्षमा बेरुजु निस्कने निश्चित जस्तै बनेको छ ।
स्थानीय तहले व्यवस्थापन गरेका शिक्षकहरूको बर्सेनि तलब बेरुजु देखिन थालेपछि पालिकाले ऐन तथा नीति निर्माण गरी कानुन सम्मत हुने गरी शिक्षकहरूको व्यवस्थापन गर्नु पर्ने आवाजहरू उठ्न थालेका छन् ।
पेट्रोल छर्केर विरेन्द्रनगर-१ को कार्यालयमा आगजनी
सुर्खेत। पेट्रोल छर्केर सुर्खेतको विरेन्द्रनगर नगरपालिका वडा नं. १ को कार्यालयमा आगजनी गरिएको छ।
कार्यालयमा वडाध्यक्ष नभेटेको झोकमा एक युवकले पेट्रोल छर्केर वडाध्यक्ष गंगाराम सुनारको कार्यकक्षमा बुधबार विहान आगजनी गरेका हुन्। प्रहरीका अनुसार वीरेन्द्रनगर-१ कै स्थानीय वासिन्दा वास्ताम लामिछानेले वडाध्यक्षको कार्यकक्षमा आगजनी गरेका हुन्।
आगजनीबाट कार्यालयका कुर्सी, सोफा, दराज र त्यहाँ रहेका सबै कागजातहरु जलेर नष्ट भएको वडाध्यक्ष सुनारले जानकारी दिए। बुधार बिहान ८ बजे नै एउटा कार्यक्रममा सहभागी हुन आफू राजधानी आएको समयमा आगजनी भएको उनले बताए।
वडाध्यक्ष सुनारले भने, ‘करिब १०ः०४ बजेतिर वडा कार्यालयकै ल्याण्डलाइनबाट फोन आयो। मैले फोन रिसिभ गरें। फोन रिसिभ हुनेबित्तिकै तपाईं कार्यकक्षमा आउनु पर्दैन? भन्दै ती युवक कड्किए। डुलिडुली खाने? भनेर धम्की दिन थाले। मैले केही काम परे कार्यवाहक अध्यक्ष आउनुहुन्छ, बस्दै गर्नुस् न, यदि हतार नै हो भने यही होटेलमै आउनुस् भनेर फोन राखें।’
वडाध्यक्ष सुनारले अगाडि भने, ‘उनले फेरि फोन गरे, तपाईं आउनुहुन्छ कि तपाईंको कार्यालय जलाइदिम्? भनेर धम्की दिए, र फोन काटे। त्यसलगत्तै मैले वडा कार्यालयका कर्मचारीलाई फोन गरेर उनको काम गरिदिन भनें। त्यसको १० मिनेटपछि त वडा कार्यालयमा आगजनी भएको खबर आयो। तिनै व्यक्तिले कार्यकक्षमा पसेर पेट्रोल छर्केर आगो लगाइदिएछन्।’
प्रहरीले लामिछानेलाई अहिलेसम्म नियन्त्रणमा लिन सकेको छैन। आफू पनि घटना स्थलमै भएको र लामिछानेको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।
नगरप्रमुख देवकुमार सुवेदी लगायतको टोलीले वडा कार्यालयको निरीक्षण समेत गरेका छन्।