थप ८३४ जनामा कोरोना सङ्क्रमण पुष्टि, ९ को मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार गत २४ घण्टामा १३ हजार ७३६ जनाको एन्टीजेन र पिसिआर परीक्षण गर्दा ८३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । उक्त अवधिमा थप १ हजार २७९ जना संक्रमित उपचार पश्चात निको भई घर फर्किसकेका छन् ।
हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितहरुको संख्या १९ हजार १४२ रहेको छ ।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमणकै कारण थप ९ जनाको मृत्यु भएको छ । हालसम्म देशभर कुल ११ हजार ९६ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ।
दैलेखमा काँग्रेसको निर्वाचन नतिजा: ११ स्थानिय तह मध्ये ५ मा देउवा पक्षको वर्चस्व
दैलेख। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बलियो पकड क्षेत्र मानिएको दैलेखका पाँच वटा स्थानीयतहमा शेरबहादुर देउवा पक्षले आफ्नो वर्चस्व जमाएको छ। निर्वाचन परिणाम अनुसार ११ स्थानीय तह मध्ये पाँच पालिकामा देउवा पक्ष अगाडि आएको हो।
पाँच पालिका मध्ये दुल्लू नगरपालिकामा सहमतिकै आधारमा लालबहादुर रावत सभापति भएका छन् । उनी दुल्लू नगरपालिका–७ का वडा अध्यक्ष समेत हुन्। उनलाई सभापतिमा अगाडि ल्याउन दुल्लु नगरपालिकाका मेयर घनश्याम भण्डारीको भरपुर सहयोग रहेको देखिन्छ। किनकी भण्डारी संस्थापन पक्षबाट जिल्ला सभापतिका दाबेदार उम्मेदवार हुन्।
यस्तै जिल्ला सदरमुकाम समेत रहेको नारायण नगरपालिकामा पनि देउवा पक्षका मनोज थापा विजयी बनेका छन्। उनले पौडेल समूहका सुवास थापालाई पराजित गरेका हुन्।
नौमुले गाउँपालिकामा गंगबहादुर शाही विजयी भएका छन् भने चामुण्डाविन्द्रासैनी नगरपालिकामा जगतबहादुर शाही पनि देउवा पक्षबाट नै सभापति बनेका छन् ।
डुङ्गेश्वर गाउँपालिकामा पनि देउवा पक्षका भीमबहादुर भट्ट विजयी भएका छन्। उनले गंगबहादुर खत्रीलाई पराजित गरेका हुन्। अन्य पालिकाको मत परिणाम आइतबार बेलुकासम्म आउने बताइएको छ।
यस्तो छ मतपरिणाम
– नारायण नगरपालिका
मनोज थापा देउवा पक्षः १००
सुवास थापा पौडेल पक्षः ८४
– नौमुले गाउँपालिका
गंगा बहादुर शाही देउवा पक्षः ४७
कर्ण बहादुर शाही: ३७
मोतिलाल बसनेत: ३४
– चामुण्डा बिन्द्रासैनी नगरपालिका
जगत बहादुर शाही देउवा पक्षः ७६
जोगि शाही पौडेल पक्ष: ७०
– डुङ्गेश्वर गाउँपालिका
भीमबहादुर भट्ट देउवा पक्ष: ६२
गंगाबहादुर खत्रि पौडेलपक्ष: ३८
– दुल्लू नगरपालिका
लालबहादुर रावत देउवा पक्ष (सर्व सहमति)
दोहोरो भत्तालिने बर्दगोरियाका तीनजना जनप्रतिनिधिको सुविधा खोसियो, बिगोसहित ४ लाख ९६ हजार असुलि
बौनिया,कैलाली । सामाजिक सुरक्षा ऐन, निर्देशिका विपरीत दोहोरो सुविधा लिने कैलालीको बर्दगोरिया गाउँपालिकाका तीन जना जनप्रतिनिधिको सुबिधा खोसिएको छ ।
नियम विपरीत दोहोरो सरकारी सुविधा लिएका वडा नम्बर ३ का वडा अध्यक्ष करने सुनार, वडा नम्बर १ बाट निर्वाचित वडा सदस्य मथुरा विक ,२ बाट निर्वाचित कार्यापालिका सदस्य गुमा देवी बिश्वकर्माले नियम विपरीत लिएको सामाजिक सुरक्षा भत्ता फिर्ता मागिएको हो ।
उनीहरूबाट बिगोसहित ४ लाख ९६ हजार रुपैयाँ असुल गरिएको पालिकाको सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा प्रमुख मदन जोशीले जानकारी दिनुभयो । राज्यकोषको दुरुपयोग गरि दोहोरो सुविधा लिने वडा नम्बर ३ का अध्यक्ष सुनारले बिगोसहित १ लाख ८४ हजार रुपैयाँ फिर्ता गरेका छ्न । वडा अध्यक्ष सुनारले वृद्ध भत्ता, तथा वडा सदस्य विक र पालिका सदस्य विश्वकर्माले विगत लामो समयदेखि एकल महिला भत्ता लिदै आएका थिए ।
सामाजिक सुरक्षा नियमावली २०७७ अनुसार कुनै सरकारी वा सार्वजनिक पदमा नियुक्ति, निर्वाचित वा मनोनीत भएको व्यक्ति, सरकारी कोषबाट निवृत्तिभरण पाइरहेका व्यक्ति र अन्य कुनै रुपले पारिश्रमिक, निवृत्तिभरण, अवकास सुविधा तथा अन्य सुविधा पाइरहेको व्यक्तिले दोहोरो सेवासुविधा लिन मिल्दैन ।
यसैगरी पालिकाले नियम विपरीत सामाजिक सुरक्षा भत्ता बुझ्ने व्यक्तिहरूबाट करिब आधा करोड रुपैयाँ फिर्ता गराएको जनाएको छ । विगतका वर्षदेखि फरक विवरण राखि २ देखि ४ वटा सम्म बैङ्क खाता खोली भत्ता लिने गरेको तथ्य फेला परेपछि पालिकाले भत्ता वितरणमा कडाइ गरेको थियो ।
गत आर्थिक वर्ष २०७७/०७८ को असार मसान्त सम्म रकम बुझ्न नआएका, मृतकको लगत कट्टा नगरेका तथा एकै व्यक्तिले धेरै खाताबाट रकम बुझ्ने गरेकाहरूबाट पालिकाले ४३ लाख ४७ हजार ४ सय २६ रुपैयाँ फिर्ता गराएको हो ।
सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा प्रमुख जोशीले
बताएअनुसार अस्तव्यस्त रूपमा भत्ता वितरण गर्ने वडाहरू मध्ये वडा नम्बर १ को कार्यालय पहिलो नम्बरमा देखिएको छ । गत आर्थिक वर्षमा सो वडाबाट १२ लाख ३ हजार ४ सय ४० रुपैयाँ फिर्ता गएको छ । यस्तै वडा नम्बर २ बाट ११ लाख ५९ हजार ९४ रुपैयाँ, वडा नम्बर ३ बाट ४ लाख ३२ हजार ६५ रुपैयाँ फिर्ता भएको छ । वडा नम्बर ४ बाट २ लाख ५९ हजार ७ सय ३५ रुपैयाँ फिर्ता भएको छ भने सबैभन्दा कम वडा नम्बर ५ बाट १ लाख ४२ हजार ७ सय ९६ रुपैयाँ फिर्ता गरिदा वडा नम्बर ६ बाट ६ लाख ९० हजार २ सय ९२ रुपैयाँ फिर्ता गएको छ ।
पालिकाले गत आर्थिक वर्ष २०७७/०७८ मा ३ हजार ४ सय लाभान्वितहरूका लागी ८ करोड ३ लाख २२ हजार ४ सय ९९ रुपैयाँ सामाजिक सुरक्षा भत्ता बापत वितरण गरेको छ । गतवर्ष भत्ता बुझेका मध्ये चालु आर्थिक वर्षमा ३ हजार २८ जनाले मात्रै आफ्नो विवरण नवीकरण गराएका छन् ।
नेपाल र ओमानबीच आज मैत्रीपूर्ण फुटबल खेलहुदै
काठमाडौँ । नेपाल र ओमानबीच आज मैत्रीपूर्ण फुटबल खेल हुदैछ । ओमानविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय टोली कतारमा छ । खेल दोहास्थित कतार युनिभर्सिटीको मैदानमा राति ९:४५ बजे शुरू हुनेछ ।
साफ च्याम्पियनसिपको तयारीस्वरुप नेपालले ओमानसँग खेल्न लागेको हो । साफकै तयारीस्वरूप नेपालले भारतसँग पनि दुई मैत्रीपूर्ण खेल खेलेको थियो ।
माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ सम्म आयोजना हुँदैछ ।
बहिनी बलात्कार गर्ने बझाङका युवकलाई भारतमा फाँसी
धनगढी । आफ्नो सौतेनी बहिनीलाई बलात्कार गरेको भन्दै बझाङका एक युवकलाई भारतमा फाँसी (मृ’त्युदण्ड)को सजाय दिइएको छ ।
भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लाको जाजरदेवलमा आफ्नी चार वर्षीया सौतेनी बहिनीलाई ब’लात्कार गरेको आरोपमा ती युवकलाई भारतको अदालतले मृ’त्युदण्डको सजाय सुनाएको हो ।
भारतीय पत्रिका अमर उजालाका अनुसार ती पुरुष ३ अप्रिल २०२१ मा पक्राउ परेका थिए । गाउँमा बुबाआमाको मृत्युपछि सौतेनी बहिनी दाइसँग पिथौरागढमा बस्दै आएको बताइएको छ । यो खबर आजको राजधानी दैनिकमा छ ।
मनसुन बाहिरिन सात दिन बाँकी
काठमाडौं । मनसुनी अवधि शुरु भएयता देशभर ११३ प्रतिशत पानी परेको मौसम विष्लेषण शाखाले जनाएको छ । मनसुनी औसतको प्रणाली वाहिरिन अझै सात दिन बाँकी रहेपनि औसत बर्षा भन्दा १३ प्रतिशत बढी पानी परेको शाखाका प्रमुख इन्दिरा कँडेलले जानकारी दिनुभयो ।
यस वर्ष सबै भन्दा धेरै जोमसोममा २३० प्रतिशत पानी परेको छ भने काठमाडौंमा १२५, भैरहवामा १५५ र जुम्लामा १२० प्रतिशत पानी परेको छ । यता पूर्वी हिमाली जिल्ला ताप्लेजुङमा भने औसत भन्दा कम ९७ प्रतिशत मात्र पानी परेको शाखाको तथ्याङ्क छ ।
मनसुनको न्युनचापीय रेखा भारततर्फको मध्यभागमा रहेकाले तत्कालै मनसुनी प्रणाली वाहिरिने सम्भावना नभएकाले स्थानीयबायु सक्रिय हुदाँ घामसँगै छिटफुट स्थानमा सामान्य पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङगले जानकारी दिनुभयो ।
भारतबाट मनसुनी चक्र वाहिरिए पछि मात्र नेपालबाट पनि मनसुन वाहिरीने भएकाले मनसुनी प्रणाली वाहिरिन अझै केही दिन लाग्ने उहाँले बताउनुभयो । भारी वर्षा हुने सम्भावना टरेको छ तर अझै मध्यभागमै न्युनचापीय रेखा रहेकाले सामान्य वर्षको सम्भावना कायमै रहेको प्रधानाङगले जानकारी दिनुभयो । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।
खासामै रोकिए दशैका सामान
सिन्धुपाल्चोक। दशैँका लागि नेपाली व्यापारीले ल्याउन लागेका सामान चीनको स्वाशासित क्षेत्र तिब्बतको खासा क्षेत्रमा नै रोकिएका छन्।
खासा क्षेत्रमा एक हजारभन्दा बढी मालबाहक कन्टेनर लामबद्ध छन्। चिनियाँ पक्षले बिनाकारण उक्त कन्टेनर रोकेर दुःख दिएको नेपाली व्यापारीले जनाएका छन्। चिनियाँ पक्षले खटाइ–खटाई कन्टेनर नेपाल पठाउने भएपछि चिनियाँ भूमिमा नै सामान बोकेका कन्टेनर रोकिएका छन्।
दशैँका लत्ताकपडा, विद्युतीय सामान, स्याउ, लसुनजस्ता सामग्री बोकेका कन्टेनर नेपाल छिर्न नपाएपछि फलफूलजन्य सामान कुहिएर खेर जाने अवस्था आएको नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष अशोककुमार श्रेष्ठले बताउनुभयो। सीमित कन्टेनर नेपालतर्फ आउँदा सबै कन्टेनर नेपाल भित्रिन महिनौँ लाग्ने अध्यक्ष श्रेष्ठले गुनासो गर्नुभयो।
तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख नारद गौतमले चीनबाट दैनिक दर्जनभन्दा कम सङ्ख्या कन्टेनर भित्रिने गरेको बताउनुभयो। भूकम्पपछि चार वर्ष बन्द तातोपानी नाका हालसम्म पनि पूर्ण रूपमा सञ्चालनमा नआएकाले सामान आयातमा समस्या हुँदै आएको उहाँले बताउनुभयो।
तिब्बतको ल्हासास्थित महावाणिज्यदूत नवराज ढकालले चिनियाँ वाणिज्य भन्सार तथा बन्दरगाह प्राधिकरणका अधिकारीसँग भएको छलफलमा खासा क्षेत्रमा रोकिएका मालवाहक कन्टेनर दैनिक २० वटाभन्दा बढी छोडिदिने वचन प्राप्त भएको जानकारी दिनुभयो। यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।
नेपाल दलित मुक्ति मोर्चा बर्दगोरिया गाउँ कमिटीको अध्यक्षमा सुनार,अन्य पदाधिकारीमा को ?
बौनिया,कैलाली । नेकपा माओवादी केन्द्रको भातृ संगठन नेपाल दलित मुक्ति मोर्चा बर्दगोरिया गाउँ कमिटी कैलालीको अध्यक्षमा ध्वज बहादुर सुनार निर्बिरोध निर्वाचित भएका छन । बर्दगोरियामा शनिबार सम्पन्न प्रथम गाउँपालिका स्तरीय सम्मेलनले सुनारको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कमिटी गठन गरेको हो ।
सम्मेलनले तीन उपाध्यक्ष ,एक सचीव र तीनजना सहसचिव चयन गरेको छ । जसको उपाध्यक्षमा दलबहादुर तिरुवा, दलबहादुर भुल ,कला सदाशङकर, सचीवमा खेम बहादुर सुनार, सह- सचीवमा दिल बहादुर भुल, कमला देवि टमटा,रमेश भुल र कोषाध्यक्षमा गोमा भुललाई चयन गरेको हो।
कमिटीको सदस्यतर्फ पदम तिरुवा, हिक्मत वादी, मदन नेपाली,धनिराम विक,मिना विक, प्रकाश नेपाली,कोपिला सुनारलगाएतलाई चयन गरेको छ । सम्मेलन माओवादी केन्द्रका सुदुरपश्चिम प्रदेस इन्चार्ज खगराज भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
असोज महिना भित्र फाइजर खोप नेपाल आइपुग्ने
काठमाडौ । कोरोनाविरुद्धको फाइजर खोप नेपाल आउने भएको छ । विश्व स्वास्थ्य संगठन अन्तर्गतको कोभ्याक्स सुबिधा अन्तर्गत १ लाख ६२० डोज खोप नेपाल आइपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यही असोज महिना भित्र फाइजर खोप नेपाल आइपुग्ने मन्त्रालय अन्तर्गतको खोप शाखा प्रमुख सागर दाहालले जानकारी दिए । थोरै मात्रा खोप भएका कारण दीर्घरोगी विरामीका लागि उपलब्ध गराइने दाहालको भनाइ छ । क्यान्सर, मिर्गौला फेल भई डायलासिस गराइरहेका तथा अन्यलाई प्रकारका कडा रोग भएकालाई सो खोप दिइने छ ।
फाइजर खोप ५ वर्ष उमेर समुह माथिका बालबालिकालाई दिन मिल्ने भए पनि तत्काल सो योजना नरहेको मन्त्रालयले जनाएको छ ।
काठमाडौ । नेपालमा कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाउनेको सङ्ख्या ६० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा दुई लाख १६ हजार ७२५ मात्रा खोप लगाएसँगै ६० लाख १४ हजार नौ सय ४१ जना पुगेको हो ।
यसैगरी कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या २० हजार भन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा एक हजार तीन सय ७१ जना निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या १९ हजार सात सयमा झरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
सक्रिय सङ्क्रमितमध्ये ३६३ जनाको आईसीयू र १०९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ५९ हजार ८७५ जना पुगेको छ ।