काठमाडौं । एमसीसी खारेजी लगाएतका मागहरू राखी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंमा बिरोध प्रदर्शन गरेको छ ।
काठमाडौंको माइतिघरबाट सुरु भएको प्रदर्शन नयाँ बानेश्वर पुगेर समापन भएको थियो । प्रर्दशनकारीले अमेरिकी सहायता परियोजना (एमसीसी) राष्ट्रघाती भएको भन्दै त्यसको खारेजी गर्नुपर्ने, महँगी नियन्त्रण गर्नुपर्ने, भ्रष्टाचारीलाई कारवाही गर्नुपर्ने भन्दै नारावाजी गरेका थिए । उनीहरुले महँगी नियनत्रण गर, भष्ट्राचारीलाई कारवाही गर लगाएतका नारा लगाएका थिए ।
त्यस्तै, राजा आउ देश बचाउ भन्ने नारा पनि गुञ्जायमान भएको थियो। पार्टीको झन्डा बोकेर विरोधमा सहभागी भएका केही प्रर्दशनकारीले पूर्व राजारानी अकिंत टिसर्ट समेत लगाएका थिए।
प्रदर्शनपछि राप्रपाले एमसीसी खारेजीका साथै महँगी नियन्त्रण गर्नुपर्नेलगायतका माग राख्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र समेत बुझाएका थियो ।
चाडपर्व लक्षित बौनिया प्रहरीको सुरक्षा योजना,यात्रु सहायता कक्षदेखि मोटरसाइकल गस्तीसम्म
रमेश बम, बौनिया(कैलाली)। चाडपर्व नजिँदै जाँदा ईलाका प्रहरी कार्यालय सडकपुर बौनिया,कैलालीले विशेष सुरक्षा रणनीति अपनाएको छ। मुख्यगरी नेपालीहरुको महान चाड दशै, तिहारको समयमा हुन सक्ने चोरी, लुटपाटलगायत विभिन्न आपराधिक गतिविधिलाई मध्यनजर गर्दै प्रहरीले विशेष सुरक्षा योजना तयार पारेको हो ।
ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाका प्रहरी नायव निरीक्षक बिष्णु बहादुर महतराकाअनुसार विगतका चाडपर्वमा जस्तै अवाक्षनीय अपराधिक गतिविधि, चोरी, तथा लुटपाट र सवारी दुर्घटनालाई मध्यनजर गर्दै प्रहरीले विशेष सुरक्षा रणनीति तयार पारेको हो । उहाँले चाडपर्व लक्षित विशेष सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयन गरिने बताउनुभयो ।
बढ्दो कोरोना संक्रमणको जोखिमसँगै आउन लागेको दशैं, तिहार, छठलगायतका पर्वलाई लक्षित गरि प्रहरीले विशेष सुरक्षा योजना तयार पारेको उहाँको भनाईछ । उहाँले मर्यादित, अनुशासित ,व्यवस्थित र सुरक्षित तवरले चाडपर्व मनाउन आग्रह समेत गर्नुभयो ।
उहाँकाअनुसार चाडपर्वलाई मध्यनजर गरि सडकपुर बौनियामा यातृ सहायता कक्ष संचालनमा ल्याएको सुदुरचित्र मिडियालाई जानकारी समेत दिनुभयो । चाडपर्वमा हुनसक्ने चोरी, लुटपाट, मदिरा सेवन, झैझगडा ,जुवातास खेल्ने खेलाउने ,एवं अपराध नियन्त्रण रोक्न चाडपर्व लक्षित सुरक्षा योजनाअनुसार आवश्यक मात्रामा प्रहरी टोलि परिचालन गरेर सुरक्षा व्यवस्था कडा बनाइनेछ ।
यसैगरी बौनिया बजारमा संचालन गरिएको यात्रु सहायता कक्षबाट नागरिकलाई आवश्यक पर्ने सहयोग ,सल्लाह, व्यवस्थित रूपमा ट्राफिक व्यवस्थापन, यातायातको सहज उपलब्धताको लागि सहयोग तथा मास्क नलगाई हिड्नेलाई सम्झाइ बुझाइ र मास्क वितरण तथा खानेपानीको व्यवस्थापनको तयारी गरिएको छ ।
चाडपर्वमा हुने संबेदनसिल घटनालाई मध्यनजर गरि २४ सै घण्टा यात्रु सहायता कक्षबाट सेवा र मुडा बजारमा प्रहरी ड्युटी, बर्दगोरिया गाउँपालिकाको सवै क्षेत्रमा मोटरसाइकल र भ्यानबाट प्रहरी गस्ती गरिने कार्यालयका प्रहरी नायव निरीक्षक महतराले बताउनुभयो ।
उहाँले चाडबाडमा बढी मदिरा सेवन र होहल्ला ,झैझगडा बढी हुने भएको हुँदा साढे ९ बजेसम्म मात्रै होटल संचालन गर्न दिईने, झैझगडा तथा होहल्ला गर्नेलाई नियन्त्रणमा लिनेजस्ता काम सुरक्षा योजनामा राखिएको महतराले बताउनुभयो ।
उहाँले सवारी साधनमा यात्रा गर्दा अपरिचत व्यक्तिहरुले दिएको खाने कुरा नखान, र केही समस्या परे नजीकको प्रहरी कार्यालय र टोल फ्री नम्बर १०० मा कल गर्न आग्रह गर्नुभयो ।
धनुषा। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश-२ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छापा मारेको छ। बर्दिबासस्थित अख्तियार कार्यालयमार्फत गएको टोलीले मुख्यमन्त्री कार्यालयमा छापा मारेको हो।
प्रदेश-२ ले छोरीहरू विद्यालय पठाउने कार्यलाई उत्प्रेरित गर्नेगरी ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम सञ्चालन गरेको छ। त्यो कार्यक्रमअन्तर्गत बालिकाहरूलाई साइकल वितरण गरिन्छ। उक्त साइकल खरिद र वितरण कार्यमा अनियमितता भएको उजुरी परेपछि अख्तियारले त्यससम्बन्धी कागजात लिन छापा मारेको हो। अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले बर्दिबासबाट गएको टोलीले मुख्यमन्त्री कार्यालय पुगेर खरिदसम्बन्धी फाइल ल्याउने क्रममा रहेको र अनुसन्धानका लागि केन्द्रमा पठाउने जानकारी दिए।
अख्तियार स्रोतका अनुसार केन्द्रबाट गएको टोलीले कागजात लिएको हो। प्रदेश २ सरकारले २०७५ साल मंसिरबाट ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान सुरु गरेको थियो।
युवक २१ दिनदेखि सम्पर्कविहीन
स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–१३ खानीडाँडाका २१ वर्षीय युवक २१ दिनदेखि सम्पर्कविहीन बनेका छन् । वालिङ–१३ स्थायी घर भएका सुस्त मनस्थितिका राजकुमार सार्की पाल्पाको पोखराथोकबाट गत भदौ २३ गतेदेखि सम्पर्कविहीन भएका उनका आमा विमया सार्कीले जानकारी दिनुभयो ।
भाइको खोजीका लागि फेसबुक, रेडियोहरुमा सूचना बजाएको दिदी लच्छिमाले बताउनुभयो । कोही कसैले देखेको छ कि कतै छ कि भनेर भाइको फोटो छापेर ठाउँठाउँमा पोष्टर बनाएर टाँसेको दिदी लच्छिमा बताउनुहुन्छ । “भाइ हराएको यत्तिका दिन भयो कहाँ के गर्दै होला, जिउँदो छ÷छैन, खोजी कार्य जारी राखेका छौँ तर केही पत्तो लागेको छैन,” दिदी लच्छिमाले भन्नुभयो, “भाइको बाटो हेरेर परिवार चिन्तामा तड्पिएका छौँ ।”
स्पष्टसँग बोल्न नसक्ने, आफू जन्मेको ठाउँसमेत बताउन नसक्ने समस्या उनमा छ । अन्दाजी पाँच फिट अग्लो, मोटो जिब्रो भएको, दाँत किराले खाएको र आँखा रातो भइरहने समस्या राजकुमारमा छ । खोजीका लागि वडा प्रहरी कार्यालय वालिङ, जिल्ला प्रहरी कार्यालय स्याङ्जा, पाल्पा लगायतका कार्यालयहरुमा फोटोसहित खोजी गरिदिनका लागि निवेदन दिइएको दिदी लच्छिमाले बताउनुभयो ।
राष्ट्रिय जनगणना-२०७८ को तयारी अन्तिम चरणमा ४० हजार गणक, चार अर्ब खर्च, ०८० सम्म सबै प्रतिवेदन प्रकाशित गरिने
काठमाडौ। २५ कात्तिकदेखि ९ मंसिरसम्म सञ्चालन हुने संघीयतापछिको पहिलो जनगणनाका लागि केन्द्रीय तथ्यांक विभागले जनशक्ति, कागजात र व्यवस्थापनको तयारी अन्तिम चरणमा पुर्याएको छ। जनसंख्या शाखा प्रमुख ढुण्डिराज लामिछानेका अनुसार अहिले घरपरिवार विवरण संकलनका लागि साढे आठ हजार सुपरिवेक्षक खटिरहेका छन्।
३० भदौदेखि खटिएका उनीहरूले १८ असोजसम्ममा घरपरिवारसँग सम्बन्धित (खेती, घरपालुवा जनावर, बैंक खाता, कर्जालगायत) विवरण संकलन गरिरहेका छन्। केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणनाका लागि आवश्यक पर्ने ४९ हजार गणकमध्ये सर्टलिस्टमा ४८ हजारको नाम सार्वजनिक गरेको छ। यसअघि २५ जेठदेखि ८ असारसम्म हुने भनिएको जनगणना रोकिएपछि आवेदन दिएकामध्ये केही विदेश गएका, केही अन्य काम वा परीक्षाको तयारी वा परीक्षा दिइरहेका हुनाले तोकिएको भन्दा धेरैलाई सर्टलिस्ट गरिएको जनसंख्या शाखा प्रमुख लामिछानेले बताए।
‘सर्टलिस्टमा परेकालाई १ कात्तिकसम्म सम्पर्कमा आउन भनिएको छ। त्यसपछि अन्तिम गणक संख्या तय हुनेछ’, उनले भने। विभागले स्थानीय व्यक्तिलाई गणकका रूपमा प्राथमिकता दिएको छ।
विभागले ३९ हजार गणकको आवेदन माग गरेको थियो। देशभरबाट गणकका लागि एक लाख ५० हजारले आवेदन गरेका थिए। गणक भएर काम गर्नका लागि १२ कक्षा उत्तीर्ण भए पुग्ने योग्यता राखिएको थियो। तथ्यांक विभागले गणकलाई कोभिड-१९ विरुद्धको खोप अनिवार्य गरेको छ। त्यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार भइसकेको केन्द्रीय तथ्यांक विभाग, जनसंख्या शाखा प्रमुख ढुण्डिराज लामिछानेले बताए। स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पूरा गरी काम सम्पन्न गर्ने विभागको तयारी छ।
चार अर्ब बजेट, केमा कति खर्च?
जनगणनाको तयारी थालिएको दुई वर्ष नाघिसकेको छ। विभागका अनुसार ०७९ सालसम्ममा मुख्य प्रतिवेदन प्रकाशित गर्ने र ०८० सालभित्र सबै क्षेत्रगत र विषयगत प्रतिवेदन पनि प्रकाशित गर्ने तयारी छ। ‘यी सबै काम सम्पन्न गर्नका लागि पाँच वर्षको अवधिमा चार अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमान छ। त्यसमध्ये जनगणनाका लागि हुने खर्चमध्ये पूर्वतयारी (तालिम, भवन, प्रचार सामग्री) र प्रतिवेदन प्रकाशित गर्न एक अर्ब रुपैयाँ खर्च हुने अनुमान छ। त्यसबाहेक गणनाको मुख्य काम तथ्यांक संकलनका लागि तीन अर्ब रुपैयाँ लाग्ने प्रक्षेपण छ। विभागका अनुसार अहिले करिब एक अर्ब ५० करोड बजेट विनियोजन गरिएको छ। विभागले थप एक अर्ब ५० करोड रुपैयाँ बजेट माग गरिसकेको जानकारी दिएको छ।
जनगणनामा खटिने सुपरिवेक्षक र गणकको संख्या मात्र ५० हजार हुनेछ। गणकले खरिदार र सुपरिवेक्षकले नायब सुब्बा तहको सुविधा पाउनेछन्। गणकलाई एक महिना र सुपरिवेक्षकलाई दुई महिनाको करार सम्झौता गरिँदै छ। केन्द्रीय तथ्यांक विभागको प्रक्षेपणअनुसार देशभर अहिले ७० लाख परिवार संख्या पुगेको छ। ०६८ सालमा गरेको जनगणनामा देशभर ५५ लाख परिवार संख्या थियो। त्यस्तै, अनुमानित जनसंख्या तीन करोड नाघ्नेछ। त्यसबाहेक विभाग र अन्तर्गतका कार्यालयमा कार्यरत स्थायी, करार, काजमा काम गर्ने तीन हजार कर्मचारी पनि जनगणनामा सहभागी हुनेछन्। जनगणना सकिएको ६ महिनासम्म तथ्यांकलाई प्रणालीमा प्रविष्ट (इन्ट्री) गर्न लाग्नेछ।
यसअघि २५ जेठदेखि ८ असारसम्म हुने भनिएको जनगणना कोभिड-१९ का कारण स्थगित गरिएको थियो। आसन्न राष्ट्रिय जनगणना-२०७८ जनगणनाको १२औँ शृंखला हो। यसअघि ०६८ सालसम्म ११ वटा शृंखला सम्पन्न भइसकेका छन्। नेपालमा पहिलोपटक १९६८ सालमा तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरका पालामा भएको थियो।
आर्थिक र सामाजिक क्षेत्रलाई समेटिने
राष्ट्रिय जनगणना-२०७८ मा संख्या मात्रै नभई आर्थिक, सामाजिक क्षेत्रलाई पनि समेटिने विभागले जानकारी दिएको छ। यसपटकको जनगणनामा पहिलोपटक घर तथा परिवारसम्बन्धी स्वामित्व विवरण, व्यवसाय प्रयोजनमा प्रयोग भएका घरहरूको विस्तृत तथ्यांक संकलन गरिँदै छ। त्यसका साथै कृषिमा प्रयोग भएका जग्गा, पशुपक्षीको तथ्यांक र वित्तीय पहुँच, तालिमप्राप्त जनशक्ति, सरकारी अनुदानमा प्रयोग भएका घरहरूको समेत तथ्यांक संकलन गरिने उनले बताए।
तीन प्रकारका प्रश्नावली प्रयोग गरिने
राष्ट्रिय जनगणनामा सही र विस्तृत तथ्यांक संकलनका लागि तीन प्रकारका प्रश्नावली तयार पारिएको छ। जसमा पहिलो प्रश्नावलीमा मूल घरानाको तथ्यांक संकलन गरिन्छ। यसमा २५ वटा प्रश्न छन्। दोस्रो मुख्य प्रश्नावलीमा ५५ वटा प्रश्नहरू छन्। तेस्रोमा सामुदायिक प्रश्नावलीको प्रयोग गरिनेछ। मुख्य प्रश्नावलीमा प्रत्यक्ष रूपमा परिवारले उपभोग गरेका सुविधा, खानोपानी, बत्ती, मोबाइल, सवारीसाधन, महिलाका नाममा भएका जग्गा र घर, साना घरका व्यवसायलगायतको पनि विस्तृत तथ्यांक संकलन गरिनेछ।
त्यसैगरी, सरकारी निकायमा दर्ता नभएकाहरूको विस्तृत विवरण, विदेशमा रहेका परिवारका अनुपस्थित सदस्यहरूको पनि तथ्यांक संकलन गरिनेछ। जसमा कुन व्यक्तिले के काम गर्छन्? कस्तो काम गर्छन्? उनीहरूले काम गर्ने ठाउँमा कस्तो उत्पादन हुन्छलगायतका तथ्यांकहरू संकलन गरिनेछ।
सामुदायिक प्रश्नावली वडास्तरमा हुनेछ। यसमा पनि घरपरिवारबाट प्राप्त भएका तथ्यांकलाई भेरिफाई गर्ने काम हुन्छ। जसबाट वडास्तरमा राजस्व संकलनको स्रोतको तथ्यांक, कृषिजन्य उत्पादन र निकासी तथ्यांक, वडास्तरको आम्दानीको स्रोतबारे विवरण लिइनेछ। खासगरी आगामी जनगणनामा सामाजिक, भाषा, धर्म, जात, लिंग, वातावरणीय, जग्गाजमिनको विवरण संकलन गरिनेछ। त्यसका साथै आर्थिक विवरण, शैक्षिक योग्यता, स्वास्थ्यसम्बन्धी लगायतका तथ्यांक संकलन गरिनेछ। साथै, सेवा–सुविधामाथिका व्यक्तिहरूको पहुँच कस्तो छ भन्ने विषयमा पनि स्पष्ट रूपमा विस्तृत विवरण संकलन गरिनेछ।
नागरिकबाट
खाद्य समारोहमा राष्ट्रपति माथि अण्डा प्रहार
काठमाडौ । एक अन्तर्राष्ट्रिय खाद्य समारोहमा पुगेका फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनमाथि एक व्यक्तिले अण्डा प्रहार गरेका छन् । लायोनस्थित एक सहरमा ती व्यक्तिले राष्ट्रपतिमाथी अण्डा परार गरेका हुन । सो अन्डा उनको कुममा लागेर अगाडि पट्टी भुईँमा खसेर फुटेको छ ।
घटनाका विभिन्न भिडियोहरु यतिबेला ट्वीटरमा व्यापक शेयर भइरहेका छन् । प्रत्यक्षदर्शीका अनुसार एक पुरुषले केही नबोली चुपचाप उनीमाथि अण्डा प्रहार गरेका थिए र यस पछाडिको उनको उद्देश्य पनि स्पष्ट भएको छैन ।
यसरी सार्वजानिक स्थलमै म्याक्रोनमाथि प्रहार भएको यो पहिलो घटना होइन । यसअघि २०१७ मा राष्ट्रपति चुनावका बेलामा पनि उनलाई एक व्यक्तिले अण्डा हानेका थिए । त्यस समय अण्डा उनको टाउकोमै फुटेको थियो ।
त्यस्तै गत जुनमा मात्र उनी दक्षिणपूर्वी फ्रान्स गएका बेला सर्वसाधारणको भीडमा एक व्यक्तिले आएर गालामा थप्पड पनि हानेका थिए ।
त्यस लगत्तै सुरक्षाकर्मीहरुले हस्तक्षेप गरि ती व्यक्तिलाई पक्राउ गरेका गरे र उनलाई चार महिनाको जेल सजायँ भएको थियो । सो घटनालाई म्याक्रोनले हिंसात्मक र मूर्खतापूर्ण भनि व्याख्या गरेका हुन् ।
चुनाव आउन एक वर्ष भन्दा कम समय बाँकी रहँदा ४३ वर्षीय म्याक्रोन मतदाताहरुलाई रिझाउन संघर्ष गरिरहेका छन् ।
यस्तो छ रु.चार करोड मुल्यपर्ने साइकल
काठमाडौ । एउटै साइकलको मुल्य ४ करोड रुपैयाँ भन्दा तपाईंलाई अचम्म लाफ्न सक्छ तर यो कुरा साचो हो । यद्यपि यो साइकल भने नेपालमा उपलब्ध छैन ।
समाचार माध्यमहरुका जनाइएअनुसार, अमेरिकामा एउटा त्यस्तो साइकल छ जुन साइकलको मुल्य ४ करोड रुपैयाँ राखिएको छ ।
अमेरिकी नागरिक सिल्वेस्टर रोपरले सन् १८९६ मा बनाएको यो साइकल लिलामीमा छ । वाफबाट चल्ने यो साइकलको दुइ पांग्रा बीचमा फायरबक्स र पानी उमाल्ने भाँडो छ ।
फायरबक्समा कोइला राखेर आगो बाली पानी तताएपछि निस्केको बाफबाट इन्जिन चलाउने प्रविधि यो साइकलमा छ ।
मोटरसाइकलमा जस्तै ह्यान्डलग्रिप घुमाएर गतिलाई बढाउन र घटाउन सकिने यो साइकलको अधिकतम गति ४० माइल प्रतिघण्टा रहेको बताइएको छ । यसको मुल्य ४ करोड भन्दा बढी पर्ने बताइएको छ ।
काठमाडौं । सरकारले कार्तिक ७ र ८ गते देशभर पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने भएको जनाएको छ । यसभन्दा अघि सरकारले कात्तिक २ र ३ गते भिटामिन ‘ए’ खुवाइने कार्यक्रम तय गरेपनि दशैं परेकाले समय परिर्वतन गरेकोे हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार ६ देखि ५९ महिनाका बालबालिकाहरूलाई भिटामिन ए क्याप्सुल, १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइन्छ । यस्तै, ६ देखि २३ महिनाका बालबालिकालाई बहु सुक्ष्म पोषक तत्व बाल भिटा समेत दिइने भएको छ ।
देशभरका खोप केन्द्रलाई राष्ट्रिय भिटामिन ए कार्यक्रमको तयारी थाल्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ ।
नेपालमा मुटु रोगीको सङ्ख्या उच्च बन्दै
काठमाडौं । पछिल्लो दुई दशकमा देशभर मुटुरोगका बिरामीको सङ्ख्या तीन गुणा बढेको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा। प्रकाशराज रेग्मीका अनुसार बढ्दो आधुनिकता र जीवनशैलीका कारण मुटुरोगीको सङ्ख्या बढिरहेको छ ।
नेपालमा १८ वर्षमाथिका ३५ प्र्रतिशत मानिस उच्च रक्तचाप र १८ वर्षमाथिका २५ प्रतिशतमा उच्च कोलस्टेरोलको समस्या छ । डा। रेग्मीले विद्यालय जाने उमेरका पाँचदेखि १५ वर्षभित्रका एक प्रतिशतलाई बाथ मुटुरोग रहेको बताउनुभयो ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा कुल जनसङ्ख्याको २५ प्रतिशत मुटुसम्बन्धी कुनै न कुनै रोगले ग्रसित रहेका छन् । यस्तै ९० प्रतिशत मानिस मुटु रोग लाग्ने जोखिममा छन् ।
डा। रेग्मीले जीवनशैली, खानपानले गर्दा मुटु रोगको समस्या बढेको बताउँदै चुरोट, सुर्ती, मदिरापान, चिल्लो खानेकुरा मुटु रोगका प्रमुख तìव रहेको र यसबाहेक मानिसले व्यायाम नगर्ने, आफूलाई अल्छी बनाउनाले पनि मुटु रोगको जोखिम बढेको जानकारी दिनुभयो । यो खबर आजको गोरखापात्र दैनिकमा छ ।
काठमाडौं । नारायणहिटी संग्रहालयभित्र सोकेसमा राखिएको खुकुरी निकाली बुलेटप्रुफ सिसा फुटाएर श्रीपेच चोर्ने असफल प्रयास भएपछि संग्रहालय प्रशासनले सुरक्षा रणनीति परिवर्तन गर्ने भएको छ ।
गत शुक्रबार मानसिक अवस्था ठीक नभएका २५ वर्षे एक युवकले रूपन्देही कक्षमा नेपाली सेनाको सुरक्षा घेराभित्र राखिएको श्रीपेच चोर्ने प्रयास गरेसँगै सुरक्षा कडाइ गर्न लागिएको हो ।
नारायणहिटी संग्रहालय विकास समितिले संग्रहालयको विभिन्न कक्षमा प्रदर्शनीमा राखिएका अति संवेदनशील हातहतियार बन्दुकलगायत सामग्री अवलोकन गर्न आउनेले भेट्न नसक्ने गरी राख्ने र संग्रहालय प्रवेश गर्ने व्यक्तिको अवस्थाबारे समेत अध्ययन गर्ने तयारी गरेको छ ।
संग्रहालय प्रमुख भेषनारायण दाहालले पूर्ण सुरक्षित कक्षको बुलेटप्रुफ सोकेसमा राखिएको श्रीपेच चोर्ने प्रयासलाई असामान्य रूपमा लिएको जानकारी गराउँदै आइन्दा यस्तो विषय दोहोरिन नदिन सुरक्षा सतर्कता अपनाइने बताउनुभयो ।
एक युवकले श्रीपेचसँगै सोकेसमा राखिएको खुकुरी निकालेर बुलेटप्रुफ सिसामा हिर्काउन खोज्दा नेपाली सेनाको सुरक्षा टोलीले निजलाई पक्राउ गरेको जिकिर गर्दै उहाँले भन्नुभयो– ‘त्यसबाट के बुझ्न सकिन्छ भने संग्रहालयमा सुरक्षा चुनौती अहिले पनि कायम छ, अब संग्रहालय अवलोकन गर्नेमाथि निगरानी बढाउन नयाँ सुरक्षा रणनीति बनाउन लागेका हाै । यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।