यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज सबैजसो विदेशी मुद्रको मूल्य तलमाथि भएको छैन।
हिजो कारोबार भएकै मूल्यमा आज धेरैजसो विदेशी मुद्राको कारोबार हुने राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६४ पैसा निर्धारण भएको छ।हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो। त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४६ रुपैयाँ ३४ पैसा र बिक्रीदर १४६ रुपैयाँ ९९ पैसा निर्धारण भएको छ। आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७० रुपैयाँ ८४ पैसा र बिक्रीदर १७१ रुपैयाँ ६१ पैसा निर्धारण भएको छ। आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ११ पैसा र बिक्रीदर ८८ रुपैयाँ ५१ पैसा निर्धारण भएको छ।
त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३७ रुपैयाँ ८० पैसा र बिक्रीदर ४४९ रुपैयाँ ७६ पैसा निर्धारण भएको छ।
आजको लागि बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ ६१ र बिक्रीदर ३५७ रुपैयाँ २० पैसा निर्धारण भएको छ।
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले गएराति १२ बजेदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएको हो ।निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट आज पेट्रोलको मूल्य प्रतिलिटर ०.९८ र डिजेलको मूल्य प्रतिलिटर २.२८ रुपैयाँले घटेर आएको छ ।मूल्य घटेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६७.५० रुपैयाँ र डिजेलको मूल्य १५५.५० रुपैयाँ कायम भएको छ ।
दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १६९ र डिजेलको मूल्य १५७ रुपैयाँ कायम भएको छ ।
तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १७० र डिजेलको मूल्य १५८ रुपैयाँ कायम भएको छ ।
निगमका अनुसार खाना पकाउन प्रयोग हुने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ६.९७ रुपैयाँ बढेर आए पनि अहिलेलाई यथावत् राखिएको छ ।
आज साउन १५, खिर खाएर मनाइँदै
काठमाडौँ । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने चलन छ । दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ ।
संस्कृत भाषामा पायस भनिने खिर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्वपूर्ण वस्तुका रुपमा वैदिक शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउछन् । साउनमा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । राम्रा धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र, चेलीबेटीलाई घरमा बोलाएर खिर खाने चलन चलेको हो ।
साउन भगवान् शिवको महिना हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खिरलगायत मिठाइ विधिपूर्वक चढाइन्छ । यसैले गर्दा साउनको मध्य पारेर खिर खाने प्रचलन चलेको हुनसक्ने धर्मशास्त्रविद् भट्टराई बताउछन् । तर यसको कुनै शास्त्रीय वचन भने छैन । ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृ कार्यमा निमन्त्रणा गरिएका ब्राह्मणलाई पायस अर्थात् खिर खुवाउने गरिएको थियो । अहिले पनि वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्य रुपमा गाईको दूधमा पायस अर्थात् खिर बनाउँछन् । चामल, सावधाना, सेवइ, मकै, गाजरलगायतको खिर बनाउने गरिन्छ । सावधानालाई फलफूलकै वर्गमा राखिन्छ । यसैगरी साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खिर समेत बनाएर खाने चलन छ । खिर खाँदा देवतालाई चढाएर खानुपर्छ भन्ने धार्मिक विश्वास रही आएको छ ।
नेपाली बृहत् शब्दकोशले ‘दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ठ खाद्य पदार्थ, पायस, तस्मै’ भनी खिरलाई परिभाषित गरेको छ ।
नेपाली समाजमा असार १५ गते दही च्यूरा, साउन १५ गते खिर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घिउ खट्टे, माघ १५ गते मालपुवा लगायत चीजबीज बनाएर इष्टमित्र एवं छोरी चेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रही आएको छ ।
दूधबाट बनेको खिरले मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ । बोर्डको २०७७ फागुन १५ गते बसेको बैठकले साउन १५ लाई खिर खाने दिन अर्थात् खिर दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।
नेपालको खाद्य नियमावली अनुसार मानक प्रशोधित दूधमा हुने तीन प्रतिशत चिल्लो, चार दशमलव सात प्रतिशत ल्याक्टोज र तीन दशमलव पाँच प्रतिशत प्रोटिनको गणना गर्दा प्रति एक सय ग्राम प्रशोधित दूधबाट ६० प्रतिशत क्यालोरी शक्ति प्राप्त हुने उल्लेख छ ।
नेपाली बजारमा सुनको मूल्यले फेरि बनायो नयाँ रकेर्ड
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४७ हजार ८०० रुपैयाँमा कारोबार भएको हो ।यो हालसम्मकै उच्च मूल्य हो । यसअघि हिजो सोमबार एक लाख ४६ हजार ९०० रुपैयाँमा कारोबार भएर सुनको मुल्यले नयाँ रेकर्ड बनाएको थियो ।यो रेकर्डलाई आजको मूल्यले ‘ब्रेक’ गरेको हो । सोमबारको तुलनामा सुनको मूल्य ९०० रुपैयाँले बढेर कारोबार भएको हो ।
तेजाबी सुन प्रतितोला एक लाख ४७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
बर्दगोरियाका सामुदायिक वनले तिर्न थाले राजश्व,रानीजरुवाले बुझायो २ लाख ३८ हजार रोयल्टी
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा रहेको श्री रानीजरुवा सामुदायिक वन उपभोक्ता समुहले वन पैदावार बिक्रीबाट प्राप्त रकमको १० प्रतिशत रकम स्थानीय सरकारको सञ्चित कोषमा जम्मा गरेको छ ।सो सामुदायिक वनले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ६२ को उपदफा २ ‘ख’अनुसार वन पैदावार वापत बिक्री वापत आम्दानीको १० प्रतिशत रकम स्थानीय तहलाई बुझाउने प्रावधान अनुसारको रोयल्टी स्थानीय सरकारलाई बुझाएको हो ।सोमबार सामुदायिक वनका अध्यक्ष लालसिंह विस्वकर्माले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक आयको १० प्रतिशतका दरले हुन आएको कुल २ लाख ३८ हजार ८ सय २० रुपैयाँ बर्दगोरिया गाउँपालिकाको राजस्व शाखामा दाखिला गरेका हुन ।रानीजरुवा सामुदायिक वन उपभोक्ता समूहले संघीयताको मर्मअनुसार स्थानीय सरकार सञ्चित कोषमा वन पैदावार बिक्रीबाट प्राप्त रकमको १० प्रतिशत रकम जम्मा गर्नेमा पहिलो बनेको छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा १० प्रतिशत राजश्व बुझाउनु पर्ने प्रावधान छ, त्यस अनुसार पालिकाले यसअघि सबै सामुदायिक वनको अनुगमन गरी वार्षिक आयको १० प्रतिशत रकम स्थानीय सरकारलाई राजस्व तिर्नुपर्ने विषयमा जानकारी गराएको थियो ।
काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र लागु गर्ने निर्णय तत्कालका लागि स्थगन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गर्दै सामाजिक सुरक्षासम्बन्धी सेवा प्रदान गर्न राष्ट्रिय परिचयपत्र तत्काल अनिवार्य नगर्ने गरी गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो । सोसम्बन्धी जानकारी बैठकपश्चात् सञ्चारमन्त्री समेत रहेकी सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । सामाजिक सुरक्षासम्बन्धी सेवा प्रदान गर्न राष्ट्रिय परिचय पत्र लागु गर्ने निर्णय भएकोमा मुलुकको विभिन्न स्थानमा भएको बाढी र पहिरोका कारण सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउन असहज हुने भएकाले तत्कालका लागि लागु नगर्ने गरी पहल गर्न गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय भयो‚” उनले भनिन् ।
११ महिनामा १३ खर्ब २७ अर्ब रेमिट्यान्स भित्रियो
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को ११ महिनामा १३ खर्ब २७ अर्ब ५१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनअनुसार गत वर्षको जेठ मसान्तसम्मको तुलनामा १९.३ प्रतिशतले वृद्धि भएको हो ।गत वर्षको जेठ मसान्तसम्म रेमिट्यान्स आप्रवाह २२.७ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।उक्त अवधिमा वैदेशिक रोजगारीका लागि संस्थागत तथा व्यक्तिगत र नयाँ गरी अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या चार लाख २२ हजार ९३६ पुगेको छ ।
पुनः श्रम स्वीकृति लिनेको संख्या दुई लाख ६२ हजार ७०५ रहेको राष्ट्र बैंकले जनाएको छ ।
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ को कार्यालयले वडाबासी किसानको आयआर्जन वृद्धि गर्नका लागि ५० प्रतिशत मूल्य अनुदानमा फलफूलको बिरुवा वितरण गरेको छ ।कार्यालयले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत वडाभित्रका दुईसय किसानलाई फलफूलको बिरुवा वितरण गरेको हो । मंगलबार एक कार्यक्रमका बिच वडा नम्बर ६ का वडा अध्यक्ष रामकृष्ण डगौरा थारु (रन्जित) ले किसानलाई फलफुलको बिरुवा वितरणको शुभारम्भ गरेका थिए ।
वडाबासी किसानलाई फलफूलको बिरुवा रोपेर आयआर्जनमा वृद्धि ल्याउन फलफूलका बिरुवा वितरण गरिएको उनले बताए । बस्ती आसपासका क्षेत्रमा हरियाली बनाउने अभियानसँगै आयआर्जनमा सहयोग पुग्ने उद्देश्यका साथ वडा केन्द्रित बनेको उनले बताए । उनले घरआगन वरपरको खाली जग्गालाई उपयोग गरी हरियालीसँग फलफूल खेती गरि आयआर्जन वृद्धि गर्नुका साथै आर्थिक सशक्तीकरणमा समेत फाइदा पुग्ने बताए ।
वडाका विभिन्न कृषि फार्म, तथा स्थानीय किसानलाई आँप ,कागती ,आरुबखडा, लिची, अमलाका बिरुवा वितरण गरिएको कृषि इकाई प्रमुख आशिका कठरियाले बताइन ।
यसैगरी वडा कार्यालयले विभिन्न सार्वजनिक स्थल ,स्थानीय रामजानकी सामुदायिक वन, वडा कार्यालय परिसर,सडक छेउछाउ लगाएतका स्थानमा वडालाई हरियाली बनाउने उदेश्यले बृक्षारोपण समेत गरिसकेको छ ।
टीकापुर (कैलाली) । लगातारको वर्षापछि आएको बाढीले जिल्लाका भजनी नगरपालिकामा तीन सय १३ र टीकापुर नगरपालिकामा एक सय ७४ परिवार विस्थापित भएका छन् । विस्थापित भएकाहरू हुलाकी सडक, उच्च भवन, सामुदायिक भवन, विद्यालय तथा आफन्तका घरमा आश्रय लिइरहेका छन् ।भजनी नगरपालिका बाढीले सबैभन्दा बढी प्रभावित भएको छ । भजनीका तीन सय १३ परिवार विस्थापित भएका छन् भने चार हजार आठ सय ४८ परिवार बाढीले प्रभावित भएका विपद् व्यवस्थापन शाखा प्रमुख विष्णु न्यौपानेले जानकारी दिए। “विस्थापितहरू खाद्यान्न आफ्नै घरबाट ल्याएर खाने गरेका छन्, पालिकाले यति धेरै नागरिकलाई व्यवस्थापन गर्न सक्ने अवस्था छैन”, उनले भने, ‘‘पालिकाले एक हजार आठ सय बोतल पानी वितरण गरेको छ ।”बाढीले भजनीमा अधिकांश सडकलाई क्षति पुर्याएका छन् । भजनीमा खेतीयोग्य जमिन ७५ प्रतिशत डुबानमा परेको प्रमुख न्यौपानेले बताए। जलसतह नघटेकाले डुबानमा परेका घरमा के–कति क्षति भयो भन्ने विवरण आउन नसकेको नगरप्रमुख केवल चौधरीले जानकारी दिए। “भजनी तहसनहस भएको छ, मानिस विस्थापित भएको मात्र होइन”, उनले भने, “खेतीपाती, पशुपालन तथा अन्य व्यवसायमा समेत क्षति भएको छ ।
मानिसका घर डुबानमा परेपछि सरसामान सबै भिजेका छन् ।”नगरप्रमुख चौधरी पालिकाले यस्तो विपत्तिमा एक्लैले धान्न नसक्ने भएकाले सङ्घीय सरकारले नै विपद्मा नागरिकका हितमा काम गर्नुपर्ने बताए । भजनीमा विस्थापितहरू हुलाकी सडकमा पाल टाँगेर बसिरहेका छन् । बर्खाको समयमा माथिबाट वर्षा भइरहेको, तल लामखुट्टे, कीरा फट्याङ्ग्राको जोखिम रहेकाले सडकमा बसेकाहरूको अवस्था नाजुक रहेको स्थानीय कृष्ण धमालाले बताए ।
“खाद्यान्न, लुगाकपडा, वस्तुभाउ पनि सडकमा छन्, वस्तुभाउ र मानिसको बसाइ सँगै खुला आकाशमा कस्तो होला रु”, उनी भन्छन्, “मानिस विस्थापित भएर पनि बस्ने ठाउँ छैन, अझ आफैँ खानाको जोहो गर्न कठिन भएको छ । त्यसैमाथि सडक सहारा भएको छ ।”
यस्तै लगातारको वर्षापछि आएको बाढीले कैलालीको टीकापुर नगरपालिकाको वडा नं ६ बढी प्रभावित भएको छ । वडा नं ६ मा बस्तीमा मोहना नदीको बाढी पसेपछि डुबानमा परेको हो । त्यहाँ विद्यालय र बस्तीमा पानी पसेको छ । टीकापुरमा बाढीले एक सय ७४ परिवार विस्थापित भएका छन् ।
टीकापुरमा भगवानपुरका २०, प्रेनीका ५०, नारायणपुरका नौ, मिलनपुरका ३५, भर्तापुरका ४५, सुन्दरपुरका १२ र बाघमाराका तीन परिवार विस्थापित भएका विपद् व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरीले जानकारी दिए । “मोहनाको पानी बस्तीमा पसेपछि वडा नं ६ मा ठूलो क्षति भएको छ, हामीले प्रहरीको सहायतामा ट्युबमा सरसामान र मानिसलाई उद्धार गर्यौँ, पूर्वतयारीमा काम गरिरहेकाले समयमै उद्धार सम्भव भयो”, उनले भने, “अहिले पनि बस्ती जलमग्न छ । डुबान क्षेत्रमा जान सक्ने अवस्था छैन ।”
टीकापुरको वडा नं ५ मा रानी जमरा सिँचाइ आयोजनाले निर्माण गरेको ड्याम, दौलतपुरमा रहेको तटबन्ध, वडा नं ६ को भर्तापुरमा पुल नजिक बाँधेको ड्याम भत्कने जोखिम रहेकाले तत्काल मर्मत गर्ने, मर्मतका लागि सिँचाइ आयोजनाको सहयोग लिने विपद् व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ ।
वडा नं ४ मा सिँचाइ आयोजनाले बनाएको इन्टेक साँघुरो बनाएकाले कहिल्यै बाढी नपसेको बाघमारामा पनि डुबान भएको वडाध्यक्ष लालवीर चौधरीले बताए ।
डुबान भएका बेला धेरै सडक काटेर पानी निकास गरेकाले बिग्रिएका सडक मर्मत तत्काल गर्ने नगरपालिकाले निर्णय गरेको छ । त्यस्तै जोशीपुर गाउँपालिकाका सबै वडामा पानी पसेको छ । सबै वडामा पानी पसे पनि वडा नं ३ का पाँच परिवारमात्र विस्थापित भएका छन् ।
मुगु । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको पशु अस्पताल तथा पशुसेवा कार्यालयका प्रमुख भिमचन्द्र बुढासहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उनीहरूले भेडा खरिद गर्ने बहानामा २० लाख ७० हजार ४४९ रुपैयाँ भ्रष्टाचार गरेको ठरह गर्दै अख्तियारले आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
अख्तियारले मुद्दा दायर गरेका अन्यमा छाँयानाथ रारा नगरपालिकाका तत्कालीन इन्जिनियर हरिदेव पण्डित र सबइन्जिनियर विष्णुभक्त हितान, ऋणिमोक्ष बहुउद्देश्यीय कृषि सहकारी संस्था लिमिटेडका सञ्चालक सुरबहादुर बुढा, कर्णाली एकीकृत महिला विकास सञ्चका सञ्चालक राधिका मल्ल र रावत मासु पसलका सञ्चालक तिलकबहादुर रावत छन् ।
भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, मुगु कार्यालयले आर्थिक वर्ष २०७५/०७६ को पशु बधशाला निर्माण र भेडा पकेट कार्यक्रम स्वीकृत गरी भेडा नकिनी भ्रष्टाचार गरेको उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।
अनुसन्धान हुँदा नगरेको कामलाई भयो भनी गलत कागजात बनाएर खर्च नभएको २० लाख ७० हजार ४४९ रुपैयाँ भुक्तानी लिने तथा दिने काम गरेको भेटिएको अख्तियारले जनाएको छ ।