बर्दियामा चट्याङ लागेर एकजनाको मृत्यु
गुलरिया (बर्दिया) । बर्दियामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गेरुवा गाउँपालिका–३, गणेशपुरका रोहित थारु छन् ।
सोही ठाउँस्थित आफ्नै खेतमा जोतिरहेको समयमा चट्याङ लागेको प्रहरीले जनाएको छ ।
चट्याङ लागेर घाइते थारुको प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए । रासस
यार्सा संकलनका क्रममा मुगुमा चारजनाको मृत्यु
मुगु । मुगुमा बितेका दुई दिनमा यार्सागुम्बा संकलन गर्न गएका चारजनाको मृत्यु भएको छ । लेक लागेर उनीहरूको मृत्यु भएको हो ।लेक लागेर सिकिस्त भएका एकजनाको उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा शनिबार मृत्यु भएको र अन्य एकजनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीका अनुसार शनिबार मुगु स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि जिल्ला सदमुकाम गमगढीतर्फ ल्याउँदा छायानाथ रारा नगरपालिका–१० तल्लेख गाउँका दुईजना सिकिस्त बिरामी जीवन बुढा र देवराज बुढामध्ये २० वर्षीय देवराज बुढाको बाटोमा मृत्यु भएको हो ।शनिबार पाटन ठूलो कोइकिमा लेक लागेर बिरामी परेपछि उपचारका लागि मुगु गाउँ ल्याइएका छायानाथ रारा नगरपालिका–१२ शोभा गाउँका २९ वर्षीय मानबहादुर बुढा र सोही नगरपालिकाको कम्फा गाउँका शोभान बुढा र राजबहादुर सावतको मृत्यु भएको थियो । देवराज बुढाको मृत्युसँगै मृत्यु हुनेको संख्या चार पुगेको छ ।गत वर्ष यार्सा टिप्न पाटन पुगेका तीन जनाको हिउँ पहिरोमा परेर र एक जनाको लडेर मृत्यु भएको थियो । मुगुका २४ भन्दाबढी क्षेत्रमा यार्सा संकलन गर्न मुगुम कार्मारोङ गाउँपालिकाले गत वैशाख २५ गते प्रवेश खुला गरेको हो । रासस
कस्तो रहला आज देशभर मौसम,यस्तो छ पुर्वानुमान
१९ जेष्ठ ,काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । केही भू–भागमा बिहानैदेखि पानी परिरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ ।बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । कोसी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित हल्का वर्षा भइरहेको छ ।
विभागले दिउँसो कोसी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोसी र वाग्मती प्रदेशका थोरै स्थानमा तथा बाँकी पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी र वाग्मती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
विभागका अनुसार राति कोसी, मधेस, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोसी, मधेस र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव छ । भारतको पश्चिम उत्तरप्रदेशदेखि पश्चिम बांग्लादेशसम्म फैलिएको न्यूनचापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको विभागले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विश्वासको मत लिने भएका छन् । आज बस्ने संघीय संसद् प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने छन् ।
संसद् सचिवालयका अनुसार संसद् बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको अवस्थामा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।जनता समाजवादी पार्टी नेपाल वैशाख ३१ मा सरकारबाट बाहिरिएको थियो । एकजना सांसदले समर्थन फिर्ता लिए पनि सरकारले विश्वासको मत लिनु पर्ने संविधानको धारा १०० को उपधारा २ मा व्यवस्था छ ।
यसैबीच, प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेले बिहान १० बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।
प्रधानमन्त्री प्रचण्डले यो चौथो पटक विश्वासको मत लिन लागेका हुन् ।
एमालेले सुदूरपश्चिममा मुख्यमन्त्री सोडारीलाई विश्वास मत दिने, तर सरकारमा नजाने
धनगढी । नेकपा एमाले सुदूरपश्चिम संसदीय दलको बैठकले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने तर तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेको छ ।प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावलको अध्यक्षतामा बुधबार बसेको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो ।प्रदेश सभा सदस्य धर्मराज पाठकले मुख्यमन्त्रीलाई विश्वासको मत दिने तर तत्काल सरकारमा नजाने निर्णय भएको जानकारी दिए । उनका अनुसार सरकारको न्यूनतम साझा कार्यक्रमका लागि सत्तारूढ दलसँग छलफल गर्ने निर्णयसमेत भएको छ ।
मुख्यमन्त्री सोडारीले बिहीबार विश्वासको मत लिंदैछन् । त्यसको लागि बिहान सवा १० बजे प्रदेश सभाको बैठक बोलाइएको छ ।
आजको मौसम ;यी भू–भागमा हुनेछ आज हावाहुरीसहित वर्षा
काठमाडौं । स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहँदा देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । कोसी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा बिहान हल्का वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी तराई भू–भागमा मौसम मुख्यतया सफा छ ।
विभागले दिउँसो कोसी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी पहाडी भू–भागमा आंशिक बदली तथा तराई भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।
कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै तथा बाँकी पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ । कोसी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
विभागका अनुसार राति कोसी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली हुनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।
कोसी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
बबई नदिमा डुबेर दाजुभाईको मृत्यु
तुलसीपुर (दाङ) । पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु भएको छ । बबई नदीमा पौडी खेल्ने क्रममा बबई गाउँपालिका–७ ओदाले घाटमा डुबेर दाजुभाइको मृत्यु भएको हो ।
भारतबाट फूपूको घरमा आएका १८ वर्षीय दीपक परियार र १६ वर्षीय दिपेश परियारको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक अजयजङ्ग थापाले बताए ।
दीपकको उपचारका क्रममा प्रादेशिक अस्पताल तुलसीपुरमा र दिपेशको घटनास्थलमै मृत्यु भएको हो । मृतकका परिवार कामको सिलसिलामा भारत बस्ने गरेका थिए । रासस
कस्तो रहला आजको मौसम ? यस्तो छ,पुर्वानुमान
काठमाडौं । देशका केही भू–भागमा आज हावाहुरीको सम्भावना छ । लुम्बिनी, मधेस र कोसी प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना रहेको हो । बाँकी प्रदेशका पहाडी भू–भागको थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।विभागले दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । लुम्बिनी, मधेस र कोसी प्रदेशका केही र बाँकी भू–भागका थोरै स्थानमा हावाहुरीको सम्भावना छ । हावाहुरीले दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ । नेपालमा अहिले पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।
डढेलोमा परेर ८५ वर्षिय वृद्धको मृत्यु
खोटाङ । खोटाङमा डढेलोमा परेर एकजना वृद्धको मृत्यु भएको छ। रावाबेंसी गाँपालिका वडा नम्बर–१ स्थित हरमटार–मैनचौर सामुदायिक वनमा लागेको डढेलोमा परि सोही ठाउँका ८५ वर्षीय सिद्धि बहादुर श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
हरमटार–मैनचौर सामुदायिक वनको किनारमा बुधबार दिउँसो झिक्रा तथा पातपतिङ्गरमा लागेको आगो निभाउनेक्रममा आगो अनियन्त्रित भई उनको जलेर मृत्यु भएको प्रहरीले बताएको छ ।
जन्ती बस दुर्घटना ; ३ जनाको मृत्यु ,५२ घाइते
काठमाडौँ – सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर ५ धारावतीमा जन्ती बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । ५२ जना घाइते भएका छन् ।दोलखाबाट सिन्धुपाल्चोकको पिस्कर जाँदै गरेको बा ४ ख ५६१६ नम्बरको बस आज बिहान सात बजेर २० मिनेटमा दुर्घटना भएको थियो ।दुर्घटनामा तीन जनाको मृत्यु भएको र उनीहरुको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता निरञ्जन भट्टराईले जानकारी दिए ।उनका अनुसार घाइतेहरुलाई उपचारका लागि बाह्रबिसे तर्फ लैजाने काम जारी छ ।