कोभिड सङ्क्रमण बढ्यो: निगरानी र सावधानीप्रति चासो कम, नागरिकले सरकारलाई टेर्नै छाडे
काठमाडौँ, १० वैशाख २०७८ ।
सरकारले कोभिड–१९ नियन्त्रणका लागि यही वैशाख ६ गते विभिन्न आदेश जारी गर्दै मुलुकभर सावधानी अपनाउन सर्वसाधारणमा अपिल गरे पनि मुलुकमा त्यसलाई खासै ख्याल गरेको पाइएको छैन । आदेशको कार्यान्वयनमा सम्बद्ध निकायको सक्रियता पनि न्यून देखिएको छ ।
स्थानीय प्रशासन र स्थानीय तहले सार्वजनिक सूचना जारी गर्नेभन्दा अरू व्यावहारिक गतिविधिमा जोड दिनसकेको देखिँदैन । सुरक्षा निकायले पनि तुलनात्मकरूपमा आफ्ना गतिविधिलाई तीव्रता दिन सकिरहेको देखिँदैन । काठमाडौँमा प्राध्यापन गर्दै आउनुभएका पदम जोशी नागरिकले स्व–सावधानी उपाय अपनाएको समेत नपाइएको र कार्यान्वयन गर्ने निकायको प्रस्तुति पनि कमजोर रहेको पाइएको बताउनुहुन्छ । जबसम्म प्रहरीको सक्रियता कम हुन्छ तबसम्म सर्वसाधारणले स्वास्थ्य मापदण्ड पालनामा हेल्चेक्र्याइँ गरिरहने प्रवृत्ति पुरानै हो । त्यसैले पनि सुरक्षाकर्मीले भूमिका बढाउनुपर्नेमा जनस्वास्थ्यविद्को सुझाव छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अत्यावश्यक काम नपरी घरबाट ननिस्कन सार्वजनिक अनुरोध गरिसकेको छ । मन्त्रालका प्रवक्ता डा. जागेश्वर गौतम आफूबाहेक सबैमा कोरोना छ भन्ने सोचेर सावधानी अपनाउन आग्रह गर्नुहुन्छ । काठमाडौँका विभिन्न क्षेत्रमा आज घुम्दा कतिपय मानिस कोभिड–१९ बाट बच्ने सावधानीका उपाए थाहा हुँदाहुँदै पनि पालनामा ध्यान नदिइएको पाइएको छ । विगतमा सङ्क्रमणको अवस्था र त्यसबाट उत्पन्न परिस्थितिबारे जानकार भएकाले पनि उनीहरुमा चासो कम रहेको अनुभव सुनाएका छन् । काठमाडौँको रत्नपार्कमा मास्क नलगाई बस्नुभएका एक बटुवा कोरोना भनेको यस्तै त हो, जस्तो लागेर आफूले मास्क नलगाउने गरेको बताउनुभयो ।
मुख्यगरी सरकारले शहरी क्षेत्रका महानगर, नगरपालिकामा भर्चुअल कक्षा चलाउने, सिनेमा हलजस्ता भीडभाड हुने क्षेत्र वैशाखभर बन्द गर्ने, विवाहजस्ता कार्यमा २५ भन्दा बढी सहभागी हुन नपाउने, होटल रेष्टुरेन्ट बिहान ८ः०० देखि राति ८ः०० बजेसम्म मात्रै चलाउन पाइने, गाडीमा सिट क्षमतानुसार मात्रै यात्रु राख्न पाइने र सबै स्वास्थ्यका मापदण्ड पालना गर्नुपर्नेलगायतका निर्णय गरेको थियो । सोहीअनुसार केही निर्णय कार्यान्वयनमा आएपछि सार्वजनिक स्थानमा हुने भीडभाड र नागरिकले व्यक्तिगतरूपमा अपनाउनुपर्ने सावधानीका विषयमा भने गम्भीर हुनसकेको देखिएको छैन ।
किनमेल गर्ने क्षेत्र होस् या तरकारी बजार मास्क नलगाई हिँड्नेसमेत देखिएका छन् । ठाउँठाउँमा हात धुनका लागि बनाइएका धारा कतिपय ठाउँमा हटाइएको छ भने भएका पनि राम्ररी प्रयोग हुनसकेको छैन । सरकारी आदेश कार्यान्वयनमा लाग्नुपर्ने सुरक्षाकर्मीको फितलो निगरानी देखिएको छ । यद्यपि नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवर निगरानी बढाएको बताउनुहुन्छ ।
काठमाडौँ प्रशासनले आदेशको बेवास्तालाई पुष्टि गर्दै पुनः अर्काे सूचना जारी गरी त्यस्ता गतिविधि रोक्न भनेको छ । सरकारी तथा सार्वजनिक निकाय तथा निजी एवं गैरसरकारी संस्थाले विभिन्न सभा–सम्मेलन तथा सेमिनार गरिरहेको भन्ने गुनासा आएकाले त्यस्ता गतिविधि भर्चुअलरूपमा गर्न प्रशासनले अनुरोध गरेको छ ।
हात धुने बानी घट्यो
सर्वसाधारणमा हात धुने बानीसमेत घट्टै आएको छ । गत वर्ष यो समयमा नेपालमा कोभिड–१९ को सङ्क्रमणले गति लिन थाल्दा ठाउँठाउँमा हात धुनका लागि ट्याङ्कीको व्यवस्था गरिएको थियो भने त्यसको प्रचारप्रसारलाई तीव्रता दिइएको थियो । प्रहरी र स्थानीय तहले माइकिङ नै गरेर सावधानी हुन सार्वजनिक आह्वान गरेको थियो । अहिले गत वर्ष राखिएका ती कतिपय ट्याङ्की निकालिएका छन् भने कतिपय ठाउँमा भएका ट्याङ्की न्यून प्रयोग भइरहेको छ । काठमाडौँको मैतीदेवीमा राखिएको ट्याङ्की हटाइएको छ । अन्य स्वास्थ्य सुरक्षा मापदण्ड प्रयोग गर्ने क्रम पनि धेरै घटेको छ ।
अहिले मुलुकभर सङ्क्रमणदर दैनिकरूपमा बढ्दो छ । मन्त्रालयका अनुसार बुधबार सङ्क्रमण बढेर दुई हजार ३५१ पुगेको थियो । त्यसको अघिल्लो दिन मङ्गलबार एक हजार ७३६ सङ्क्रमित थपिएका थिए । सोमबार वैशाख ६ मा एक हजार २८१ र ५ गते एक हजार ९६ मा सङ्क्रमण देखिएको थियो ।
सङ्क्रमणको दर क्रमशः उकालो लाग्दै जाँदा उपत्यकामा गति बढ्दो छ । बुधबारको सङ्क्रमितमध्ये झण्डै आधा काठमाडौँका रहेकाले अबको सङ्क्रमण उपत्यकामा बढ्ने देखिएको छ । उपत्यकामा सोहीअनुसारको तयारी भने हुनसकेको छैन । स्थानीय प्रशासनले विशेष सूचना जारी गरी सतर्कता अपनाउन भने पनि त्यो कार्यान्वयन हुनसकेको देखिँदैन ।
ट्राफिकले थाल्यो गाडीको अनुगमन
प्रहरीको निगरानी कमजोर भइरहेको जनगुनासोका बीच आजदेखि भने महानगरीय ट्राफिक प्रहरीले यातायातका साधनले मापदण्ड पालना गरे÷नगरेको विषयमा अनुगमन शुरु गरेको छ । उसले उपत्यकाका विभिन्न २० स्थानमा टोली परिचालन गरी अनुगमन थालेको हो । आदेश पालनामा बेवास्ता गरेको पाइए सङ्क्रामक ऐन २०२० अनुसार कारवाही गरिने महाशाखाले जनाएको छ ।
काठमाडौँ प्रशासनले सवारी साधन सञ्चालन गर्दा चालक र सहचालकलाई मास्क तथा भाइजर अनिवार्य रुपमा लगाउन भनेको छ । सवारी साधनलाई दैनिक निसङ्क्रमित गर्न, कुनै पनि यात्रुले मास्क नलगाइ आएमा बढीमा रु १० लिई उपलब्ध गराउन र मास्क नलगाउने व्यक्तिलाई सवारीमा प्रवेश निषेध गर्न तथा सवारी साधनको ढोकामा र भित्र सेनिटाइजरको व्यवस्था मिलाउन प्रशासनले अनुरोध गरेको छ ।
लामो दूरीमा चल्ने सार्वजनिक यातायातका साधनले बीच बाटोमा यात्रु चढाउन नपाउने तथा यात्रुको विवरण जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र काठमाडौँलाई उपलब्ध गराउनुपर्ने गरी विशेष सूचना जारी गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली बताउनुहुन्छ ।
शुक्रवार सुर्यदेवकाे एक दर्शनले पनि सफलता मिल्छ,दर्शन गर्दै तपाइँकाे भाग्यफल हेर्नुहाेस्
आजको राशिफल
मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – Aries
तपाईंलाई आजको दिन प्रेममा सफलता प्राप्त होला, मनले इच्छाएका कुराहरू पूरा हुनाले मनमा एक प्रकारको उमंगको संचार होला, आजको दिन सुख सन्तोषका साथ बित्ला।
वृष राशी (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) – Taurus
शत्रुको पक्ष बलवान् हुनाको कारण बन्नै खोजेको काम बिग्रीनाले मनमा असन्तोष पैदा होला, मावली पक्षको स्वास्थ्यमा खराबी आउनाले दुखित हुनुपर्ला।
मिथुन राशी (का, कि, कु, घ, ङ, छ, के, को, हा) – Gemini
आजको दिन तपाईंलाई पत्नीको सहयोग प्राप्त हुने समय रहेकोछ। धन,प्राप्ति तथा सामाजिक प्रतिष्ठामा वृद्धि होला, तपाईंको धैर्यता र गाम्भिरताले आजको दिन सफल रहला।
कर्कट राशी (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – Cancer
आजको दिन अप्रिय समाचार आउनाले तनाव उत्पन्न होला, पृयजनबाटै धोका पाईएला, विभिन्न किसिमका मानिसहरूसंग भेट होला ।
सिंह राशी (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – Leo
आजको दिन अरुले तपाईंलाई विवादमा पार्न खोजे पनि आफै कमजोर होलान् , बिदेश यात्राका अवसर हरु पनि आउलान, धन खर्च हुने योग छ समयमै बिचार गर्नुहोला ।
कन्या राशी (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) – Virgo
तपाईंको आजको दिन अधुरा तथा पुराना कामबाट प्रगति होला। आजको दिन नया काम कारोबार शुरु गर्दा पनि राम्रो होला, आज दिनभर मन हर्षित रहला।
तुला राशी (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) – Libra
आजको दिन तपाईंलाई आर्थिक तथा सामाजिक सेवाको अवसर मिल्ला सामाजिक पद प्रतिष्ठा प्राप्त होला, मनमा शान्ति तथा उत्साह प्राप्त होला।
वृश्चिक राशी (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – Scorpio
आजको दिन धैर्य तथा साहसले काम लिनुहोला, बिपरित लिङ्गी प्रतिको आकर्षणले विवादमा परिएला, आजको दिन बोल्दा सावधानी अपनाउनुहोला।
धनु राशी (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) – Sagittarius
आजको दिन विभिन्न प्रकारका अवसरहरु आउलान, रत्न तथा रत्नादिको लाभ होला, संतान पक्षबाट सुख सन्तोष प्राप्त होला, दिउँसो तिर भने थोरै तनाव हुनसक्छ।
मकर राशी (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) – Capricorn
तपाईंको बोली बिक्ने समय आएको छ । अरुको दु:खमा तपाईंको साथ रहनेछ , हृदय पबित्र हुनुका साथै आर्थिक तथा सामाजिक प्रतिष्ठा पनि प्राप्त होला।
कुम्भ राशी (गु, गे, गो, सा, सि, सु, से, सो, दा) – Aquarius
भाग्यले साथ दिने समय आएको छ , शत्रुहरु पनि हजुरका गोठाला होलान् , नयाँ बस्तु तथा बस्त्र प्राप्त होला ,शुभ समाचार आउनाले मन प्रसन्न होला।
मीन राशी (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) – Pisces
आजको दिन स-साना अवरोध आउन सक्छ, कु संगतमा फसिएला सावधान रहनुहोला, पशुचौपाया वा हात हतियार बाट चोटपटक लाग्नसक्छ, आजको दिन हनुमानजीको आराधना गर्दा राम्रो होला।
चर्को विराध भएपछि नगरपालिकाले पुल तर्दा लाग्ने शुल्क हटायाे, अब निशुल्क पुल तर्न पाइने
बागलुङ, ९ बैशाख २०७८ ।
बागलुङको बाङ्गेचौर र पर्वतको अदुवाबारी जोड्ने कालिगण्डकी माथि बनेको झोलुङ्गे पुल तर्दा पैसा तिर्नुपर्ने व्यवस्था हटेकाे छ । नागरिककाे चर्काे विराेधपछि बागलुङ नगरपालिकाले कर नलिने निर्णय गरेकाे हाे ।
बागलुङ नगरपालिकाको गत चैत २५ गते बसेको कार्यपालिकाको बैठकले निर्णय गरी पुल तर्ने व्यक्तिले प्रति पटक २० रुपैयाँ तिर्नुपर्ने नियम लगाइएकाेमा बिहिबार एक बिज्ञप्ती जारी गर्दै तत्काल कर नलिइने नगरपालिकाले जनाएकाे छ ।
चैते दशैँका दिनदेखि शुल्क लिने भन्दै नगरपालिकाले कर उठाउन थालेपछि नागरिक स्तरबाट चर्काे विराेध भएकाे थियाे । यस बिषयमा जिल्लाखबर डटकमले समाचार प्रकाशित गरेपछि याे बिषय अझै सतहमा आएकाे थियाे।
सम्बन्धित समाचार
बागलुङ – पर्वत जोड्ने लामोपुल तर्दा पैसा तिर्नुपर्ने, सार्वजनिक पुलमा पैसा किन उठाइयो ?
कोरोना विमाबाट पाएको रकम जैमिनी सस्कृत पाठशालालाई सहयोग
सुवास आचार्य
बागलुङ, ९ बैशाख २०७८ ।
बागलुङको एक सहकारीका कर्मचारीले कोरोना विमा मार्फत पाएको रकम सामाजिक क्षेत्रमा सहयोग गर्नुभएको छ । बागलुङको सिवाईसी वचत तथा ऋण सहकारीका प्रमुख कार्यकारी अधिकृत कवि न्यौपानेले कोरोना विमा बापत पाएको रकम मध्ये २५ हजार जिल्लाको जैमिनी नगरपालिका २ को जैमिनि सस्कृत आधारभूत पाठशालालाई सहयोग गर्नुभएको हो ।
पाठशालामा आयोजित कार्यक्रममा सहयोग रकमको २५ हजार वराबराको चेक न्यौपाने र सहकारीका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलले पाठशाला व्यवस्थापन समितिका अध्यक्ष टंक प्रसाद सापकोटा र पाठशालाका प्रधानाध्यापक दिपक न्यौपाने लाई हस्तान्त्रण गर्नु भएको थियो । सो अवसरमा वोल्दै सिवाईसी वचत तथा ऋण सहकारीका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलले नेपाली भाषाको जननीका रूपमा संस्कृतलाई लिने गरिएकोले सस्कृत भाषाको संरक्षण गर्नुपर्ने वताउनु भयो ।
सस्कृत पाठशाला अनुशाशीत विद्यार्थी उत्पादन गर्ने केन्द्र भएपनि सस्कृत शिक्षा प्रति आकर्षण कम हुनु दु:खद् पक्ष भएको वताउनुभयो । सहयोग रकम संस्थागत गर्न सघाउने उद्देश्यले पौडेलले सहकारीमा शेयर सदस्य बन्न लाग्ने नगद ४ हजार सहयोग हस्तान्त्रण गर्नु भएको थियो ।
सहयोग दाता न्यौपानेले कोभिड विमा मार्फत प्राप्त गरेको रकम कोरोना बाट प्रभावित क्षेत्रलाई सहयोग गर्ने उद्देश्यले पाठशालामा सहयोग गरेको बताउनु भयो । देशका विभिन्न जिल्लाका २३ जना विद्यार्थीले आवसिय सुविधा सहित अध्ययन गर्ने विद्यायमा अक्षयकोष निर्माणमा सघाउने उद्देश्यले सहयोग गरेको उहाँको भनाई छ । सस्कृत भाषाको संरक्षण होस् भन्ने उद्देश्यले आफुले सहयोग गरेको न्यौपानेले वताउनु भयो ।
न्यौपानेले गरेको सहयोग रकम बाट पाठशालामा अक्षयकोष निर्माण गर्ने पाठशाला व्यवस्थापन समितिका अध्यक्ष टंक प्रसाद सापकोटाले बताउनु भयो । विभिन्न दाताहरुको सहयोगकै भरमा पाठशाला सञ्चालन भैरहेकोले सहयोगलाई सस्थागत र दिको बनाउन अक्षयकोष निर्माण गर्ने सापकोटाले बताउनु भयो
नवीन शिशिर विक
बागलुङ, ८ बैशाख २०७८ ।
जिल्ला प्रहरी कार्यालय बागलुङमा रहेका चार थुनुवासहित बागलुङमा थप नौ जनामा कोरोना पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा भएको पिसिआर परीक्षणमा हिरासतमा रहेका ४ थुनुवा, एक प्रहरी, दुई स्वास्थ्यकर्मी र एक कर्मचारीसहित नौ जना संक्रमित पुष्टि भएका हुन । बुधबार थप भएकासहित यहाँ कोरोना संक्रमणका ६७ जना संक्रिय संख्या पुगेको स्वास्थ्य कार्यालय बागलुङका कोरोना महामारी फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।
हिरासतमा रहेका थुनुवालाइ प्रहरी कार्यालयकै छुट्टै कोठामा राखेर उपचारको तयारी गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिनुभयो । यो सँगै बागलुङमा सक्रिय संक्रमितको संख्या ६९ पुगेको छ । संक्रमित स्वास्थ्यकर्मी धौलागिरी अस्पतालको आइसोलेसन कक्षमा कार्यरत हुनुहुन्छ । समुदायस्तरमा कोरोना संक्रमण पहिचान हुन थाले पछि बागलुङ नगरपालिका बागलुङको तीन वटा वडामा दश दिनको लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन समितिको निर्णय अनुसार जिल्ला सुरक्षा समितिले बैशाख १७ गते राति १२ बजेसम्म लागु हुने गरी बलेवा क्षेत्रमा अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो ।
नगरपालिकाको वडा नम्बर १२, १३ र १४ को क्षेत्रभित्र सञ्चालन हुने अत्यावश्यक सेवा (खाद्यान्न, तरकारी, दुध, औषधी, दाना ढुवानी तथा एम्बुलेन्स सेवा, कृषि तथा पशु उत्पादन मल बीउ ) स्वास्थ्य सेवा र विपत व्यवस्थापन सेवा तथा अत्यावश्यक सरकारी सवारी साधन बाहेक अन्य निजी तथा सार्वजनिक यातायात (२ पांग्रे र ४ पांग्रे लगायत सबै र सम्बन्धित वडा बजार क्षेत्र समेत बन्द निर्णय भएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिनुभयो । सो क्षेत्रका संघ संस्था, बैंक तथा वित्तिय संस्था, सहकारी सेवा र वडा कार्यालयको सेवासमेत स्थगित हुनेछन । सुरक्षा समितिले अनावश्यक घर बाहिर हिडडुल आग्रह गरेको छ ।
बलेवा क्षेत्रका क्याम्पस, विद्यालय –होस्टेलसमेत) सबै प्रकारका शैक्षिक संस्था, तालिम तथा प्रशिक्षण केन्द्रहरु, पार्टी प्यालेस खेलकुद स्थल जिमखाना, कवाडी संकलन लगायतका सेवा सञ्चालन गर्न रोक लगाएको प्रजिअ कार्कीले बताउनुभयो । मंगलबार मात्र जनताधन माविका विद्यार्थीसहित ३९ जनामा कोरोना पुष्टि भएको थियो ।
विद्यार्थी तथा समुदायस्तरका व्यक्तिलाई कोरोना पुष्टि हुन थालेपछि संक्रमण रोकथामको लागि तत्काल निषेधाज्ञा जारी गर्नुपर्ने सिफारिस जिल्ला कोभिड संकट व्यवस्थापन समितिले सुरक्षा समितिलाई गरेको थियो । बलेवा क्षेत्र भई कालीगण्डकी कोरिडोर तथा अन्य सडक मार्गमा चल्ने यातायातहरुले उक्त वडाहरुमा चढ्न र झर्न नपाउने गरी सञ्चालन गर्नुपर्ने छ । गाेरखापत्र अनलाइनबाट
बागलुङ – पर्वत जोड्ने लामोपुल तर्दा पैसा तिर्नुपर्ने, सार्वजनिक पुलमा पैसा किन उठाइयो ?
बागलुङ, ७ बैशाख २०७८ ।
बागलुङको लामोपुल तर्दा पैसा तिर्नुपर्ने भएको छ । बागलुङको बाङ्गेचौर र पर्वतको अदुवाबारी जोड्ने कालिगण्डकी माथि बनेको झोलुङ्गे पुल तर्दा पेसा तिर्नुपर्ने भएको हो । पुल तर्ने व्यक्तिले प्रति पटक २० रुपैयाँ तिर्नुपर्ने छ ।
बागलुङ नगरपालिकाको गत चैत २५ गते बसेको कार्यपालिकाको बैठकले निर्णय गरी पुलमा शुल्क लिन थालिएको बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञावालीले जानकारी दिनुभयो । बागलुङ नगरपालिका र पर्वतको कुश्मा नगरपालिकाका स्थानीय, यहिँ बसोबास गरी दिनदिनै ओहोरदोहोर गर्ने व्यक्ति, यहाँ कार्यरत कर्मचारीहरु बाहेक पुलमा घुम्नकै लागि टाढा टाढाबाट आउनेहरुका लागि शुल्क लिइने उहाँको भनाई छ ।
नगरपालिकाका कर्र्मचारीहरुले आधिकारिक रुपमा नै रसिद काटेर शुल्क लिन थालेको अधिकृत ज्ञावालीले बताउनुभयो । बैशाख १ गतेदेखि नै यो नियम लागु गर्ने भनिएपनि तयारी नपुगेका कारण मंगलबारबाट लागु गरिएको उहाँले प्रष्ट पार्नुभयो ।
“चैते दशैको अवसर पारेर शुल्क लिइएको नभइ अब यो सँधैको लागि लागु हुन्छ” उहाँले भन्नुभयो “नेपाल सरकारले बागलुङ नगरपालिकालाई मर्मत सम्भार सहित सम्पूर्ण जिम्मेवारी सुम्पिएपछि हामीले नियम संगत ढंगबाट शुल्क लिन थालेका छौँ ।” स्थानीय श्रोत साधनको कर लिन पाउने अधिकार अनुसार कर लिइएको भन्दै उहाँले अब यसलाई व्यवस्थित बनाउँदै लैजाने बताउनुभएको छ ।
मर्मत सम्भार गर्ने नगरपालिकाको दायित्व भएपछि कर लिन थालिएको नगरपालिकाले जनाएको छ । सर्वाधिकार बागलुङ नगरपालिकालाई भएकाले कुश्मा नगरपालिकामा भने कर तिर्नुपर्ने छैन ।
यो पुल ५ सय ६७ मिटर लामो रहेको छ । लामो पुल हेर्नकै लागि भन्दै उहाँ टाढा टाढाबाट पर्यटकहरु आउने गरेका छन् । यस्तो खालको पुल यो नै विश्वको लामो दावी गर्दै बागलुङ नगरपालिकाले गिनिज बुक अफ वल्र्ड रेकर्डस् मा दर्ता गराउन तयारी गरेको छ । यहाँ दैनिक हजारौँ मानिसहरु ओहोरदोहोर गर्ने गरेका छन् ।
नवदुर्गा भवानीको पूजा आराधना गरी आज चैते दशैं पर्व मनाइँदै, मठमन्दिर नजान सरकारको आग्रह
काठमाडौ, ७ बैशाख २०७८ ।
आज चैते दशैं पर्व मनाइँदैछ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने यो पर्व मंगलबार नवदुर्गा भवानीको पूजा आराधना गरी बनाइन लागिएको हो ।
चैते दशैंमा हनुमानढोकाको दशैं घरमा घटस्थापना गरेर विधिवत् पूजा आराधनाका साथ अष्टमीका दिन बलि दिने चलन पनि छ । चैते दशैंमा अष्टमी र नवमीलाई विशेष रुपमा मनाउने गरिन्छ ।
अष्टमीको दिनलाई चैते दशैं र नवमीलाई त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीको ज्येष्ठ सुपुत्रका रुमपा श्रीरामको जन्म भएकाले रामनवमीका रुपमा मनाउने गरिन्छ । आजको दिन बिभिन्न दुर्गा मन्दिरहरुमा भक्तजनहरुको भिड लाग्ने गरेको छ तर यो बर्ष कोरोनाको जोखिम बढिरहेकाले मन्दिर नजान र यदि जानैपरे सिमित संख्यामा जान सरकारले आग्रह गरेको छ ।
मंगलवार गणेश भगवानकाे दर्शनले साेचेका कुरा पुरा हुन्छन्, दर्शन गर्दै आजको राशिफल हेर्नुहाेस्
आजको राशिफल
मेष
महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोबारमा सफलता पाइएला । लाभदायक यात्रा होला ।
वृष
घरमा अतिथिको आगमन हुनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । भूमिबाट लाभ रहला । साथीभाइले पनि सहयोग जुटाउनेछन् ।
मिथुन
आजको यात्रा लाभदायक रहनेछ । विदेश अथवा दूरदराजमा रहेको स्थानमा बसोबास गर्ने व्यक्तिहरूसँगको सम्बन्ध सुमधुर रहनेछ ।
कर्कट
शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । यात्रामा मालसामान हराउन सक्छ । ससाना समस्यामा अल्झनुपर्नेछ । स्वास्थ्यमा खर्च पनि बढ्न सक्छ ।
सिंह
धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्नेछ ।
कन्या
जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । घरमा अतिथिको आगमन हुनेछ ।
तुला
आज आँको काम पुरा हुनसक्छ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । शुभारम्भको चर्चा पनि चल्नेछ ।
वृश्चिक
आज लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । नियमित खर्चसमेत बढ्ने योग छ । शेयर बजार पनि असफल हुनसक्छ ।
धनु
लगानीमा रहेको रकम फिर्ता आउनसक्छ । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ ।
मकर
लाभदायक यात्रा हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ ।
कुम्भ
आज भाग्यले विभिन्न अवसर जुराउनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ ।
शुभकार्यको चर्चा चल्नेछ ।
मीन
महत्त्वपूर्ण कामको थालनी हुनेछ । लक्ष्मी प्रसन्न हुने योग छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।
काठमाडौँ, ६ वैशाख २०७८ ।
सरकारले मङ्गलबारदेखि कोभिड–१९ को दोस्रो मात्राको खोप लगाउँदै छ । गत माघ १४ देखि फागुन १० गतेसम्म कोभिड–१९ को पहिलो मात्रा लगाएका व्यक्तिलाई दोस्रो मात्राको खोप लगाउन थालिएको स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा झलक शर्मा गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार उक्त अवधिमा पहिलो मात्रा खोप लगाएका व्यक्तिले यही वैशाख ७ देखि ११ गतेसम्म आफूलाई पायक पर्ने खोप केन्द्रमा गई खोप लगाउने छन् । पहिलो खोप अभियानअन्तर्गत विभागले भारत सरकारको अनुदानमा प्राप्त र खरिद गरेको ‘कोभिशिल्ड’ खोपको मात्रा दिइएको थियो ।
विभागले गत माघ १४ देखि १६ तथा माघ २७ देखि २९ गतेसम्म पहिलो मात्रा लगाएकाले वैशाख ७ गते, माघ १८ देखि २२ गते र फागुन २ गते लगाएकाले यही वैशाख ८ गते, माघ २३ र फागुन ३ गतेदेखि ५ गतेसम्म लगाएकाले वैशाख ९ गते, माघ २४ गते र फागुन ६, ८ र ९ गते लगाएकाले वैशाख १० गते र माघ ३० र फागुन ७ तथा १० गते लगाएकाले वैशाख ११ गते दोस्रो मात्राको खोप लगाउनका लागि भनेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दोस्रो मात्राको खोपका लागि उपत्यकाका विभिन्न अस्पतालमा केन्द्र बनाएको छ । पहिलो मात्रा करिब १८ लाख मानिसले लगाएका थिए ।
एक लाख २३ हजारलाई ‘भेरोसेल’
यस्तै चीन सरकारले अनुदानमा उपलब्ध गराएको ‘भेरोसेल’ एक लाख २३ हजारले लगाएका छन् । खोप शाखाका प्रमुख डा गौतमले सात जिल्लाका ४० वर्षदेखि ५९ उमेर समूहका एक लाख २३ हजारलाई ‘भेरोसेल’ खोप लगाइएको जानकारी दिनुभयो । ‘भेरोसेल’ गत चैत २५ देखि यही वैशाख ५ गतेसम्म काठमाडौँ, भक्तपुर, ललितपुर, रसुवा, नुवाकोट, काभे्रपलाञ्चोक र सिन्धुपाञ्चोकका ४० वर्षदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिलाई लगाइएको थियो ।
गत चैत १६ गते चीन सरकारको अनुदानमा आठ लाख मात्रा ‘भेरोसेल’ खोप नेपाल आएको थियो । उहाँले दोस्रो मात्राको खोप अभियान सकिएपछि पुनः ‘भेरोसेल’ खोप लगाइने जानकारी दिनुभयो ।
आदर्श सञ्चार सहकारीद्वारा पत्रकार महासंघ बागलुङमा नवनिर्वाचित पत्रकारलाई बधाई ज्ञापन
बागलुङ, ६ बैशाख २०७८ ।
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले आईतबार नेपाल पत्रकार महासंघ बागलुङका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेपाल पत्रकार महासंघ बागलुङको ७ औँ अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुलाई सहकारीले बधाई ज्ञापन गरेको हो ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ बागलुङका नवनिर्वाचित अध्यक्ष नरेश कँडेलले आदर्श सञ्चार सहकारीसँग महासंघ सधै समन्वय र सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो । आदर्श सञ्चार सहकारीले पत्रकारहरु उत्पादन मात्र नगरेर पत्रकारलाई आर्थिक रुपमा सबल बनाउन समेत मद्दत गरेको उहाँकाे भनाइ छ । जिल्लामा रहेका क्रियाशील पत्रकारलाई प्रविधि मैत्री पत्रकार बनाउनका लागी आगामी दिनमा महासंघले महत्वपुर्ण भुमीका खेल्ने कँडेलले प्रतिवद्धता व्यक्त गर्नुभएकाे छ ।
कार्यक्रममा आदर्श सञ्चार सहकारीका सम्पादक राम बहादुर जिसीले संस्थाको गतिबिधी, भाबी योजना, २०८० साल सम्मको लक्ष्यको बिषयमा जानकारी गराउन भएको थियो । उहाँले यो आर्थिक वर्षमा स्वास्थ्य, पर्यटन र कृषिको विषयलाई आदर्शले बढी जोडदिने बताउनु भयो । जिसीले जिल्लामा क्रियाशिल पत्रकारहरुलाई सञ्चारका सामग्रीहरु खरिद गर्नका लागी सहकारीले सहुलियतमा ऋण उपलब्ध गराउने समेत जानकारी गराउनु भयो ।
कार्यक्रममा नवनिर्वाचित जिल्ला पदाधिकारी तथा सदस्य, प्रदेश सदस्य, प्रदेश परिषद सदस्य र केन्द्रीय परिषद सदस्यलाई अबिर र खादा लगाएर सम्मान गरिएको थियो ।