कस्तो रहला आजको मौसम ? यस्तो छ,पुर्वानुमान
काठमाडौं । देशका केही भू–भागमा बिहानैबाट वर्षा सुरु भएको छ । कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत बाँकी पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली छ । बाँकी तराईका भू–भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा छ ।
जल तथा मौसम विज्ञान विभागले दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी र वाग्मती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । विभागले राति देशभर साधारणतया बदली रहने जनाएको छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोसी, मधेस र वाग्मती प्रदेशका थोरै स्थानमा तथा गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोसी र वाग्मती प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानको उत्तरतर्फ तथा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ रहेको विभागले बताएको छ ।
तोकियो कक्षा १२ को पूरक परीक्षा मिति (सूचनासहित)
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको मिति तोकेको छ । परीक्षामा न्यूनतम डी वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी दुई विषयमा नन ग्रेडेड प्राप्त गरेका वा दुई विषयमा अनुपस्थित भएका वा अन्य विषयमा डी वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी कुनै एक विषयमा नन ग्रेडेड वा कुनै एक विषयमा अनुपस्थित भएका विद्यार्थीहरूले मात्रै पूरक परीक्षा दिन पाउने बोर्डले जनाएको छ ।परीक्षा भदौ २५ गते मंगलबार अनिवार्य अंग्रेजीको हुनेछ । एक विषयमा मात्र परीक्षा दिने परीक्षाथीको सबै विषय पनि यही दिन हुनेछ । त्यस्तै, दुई विषय परीक्षा दिनुपर्नेमा सानो कोड नम्बर भएको तर अनिवार्य अंग्रेजी र नेपाली दुवै परीक्षा दिनुपर्नेले अंग्रेजी ९००४१० र दोस्रो दिन नेपाली ९००२१० विषयको परीक्षा हुने बोर्डले सार्वजनिक गरेको तालिकामा उल्लेख छ ।त्यस्तै, अर्को भदौ २६ गते अर्को विषयको परीक्षा हुनेछ । यस दिन भने दुई विषय परीक्षा दिनुपर्नेमध्ये ठूलो कोड नम्बर भएको विषय हुनेछ । यस दिन अंग्रेजीको परीक्षा हुनेछैन ।
तुलसीपुर। दाङको घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत तुलसीपुरको कालाखोलामा आएको बाढीले गएराति दुईवटा अटोरिक्सा बगाएको छ । तुलसीपुरबाट खाद्रै जाँदै गरेको रा६ह ४०५५ नम्बरको अटोरिक्सालाई तुलसीपुर–४ स्थित बेचनी खोलाले बगाउँदा दुईजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा स्थानीय ५५ वर्षीया सीता आले र सुर्खेत घर भई सोही ठाउँ बस्ने १६ वर्षीया मन्जु खड्का रहेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए । बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । चालकको उद्धार
यसैबीच, दाङको घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत तुलसीपुरको कालाखोलाको बाढीले गएराति तुलसीपुरबाट बिजौरीतर्फ जाँदै गरेको रा१स २३५७ नम्बरको अटोरिक्सा बगाएको छ ।
गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा बिहानै देखि वर्षा, कोशीमा भारी वर्षाको सम्भावना
काठमाडौं । देशका केही भू–भागमा आज वर्षा सम्भावना छ । देशभर आंशिकदेखि साधारणतया बदली हुँदा बिहान कोसी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा मधेस र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोसी प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । कोसी, वाग्मती, गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोसी र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा छ ।
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् भने ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड (एनजी/अनुत्तीर्ण ) भएका छन् । नियमिततर्फ परीक्षा ३ लाख ९० हजार ८६८ विद्यार्थी मध्ये दुई लाख तीन हजार ८४७ विद्यार्थी पास भएका छन् । यसैगरी ग्रेड वृद्धितर्फ २०७८/७९ का २८.२६ प्रतिशत पास भएका छन् भने २०७६/०७७ का ६२.०५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । नतिजा सार्वजनिक गर्नुअघि बोर्डको बैठक बसेको थियो । बैठकले नतिजा वेबसाइटमार्फत सार्वजनिक गर्ने निर्णय गरेको हो । गत वैशाख १४ गतेबाट सञ्चालित परीक्षामा कुल चार लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी थिए । यो वर्ष पहिलो पटक स्वचालित छनोट प्रणालीको प्रयोग गरेर परीक्षा केन्द्र निर्धारण गरेको थियो । तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र बोर्डको प्राविधिक टोलीले ‘पाइलट प्रोजेक्ट’ को रूपमा सफ्टवेयर बनाई पहिलो पटक काठमाडौँ जिल्लाका परीक्षा केन्द्र स्वचालित विधिबाट छानिएको थियो ।
२०७९ सालमा ५१.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए भने २०७८ सालमा ४६.४ प्रतिशत विद्यार्थी पास भएका थिए ।
बोर्डले लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार परीक्षा सञ्चालन गर्दै आएको छ । जसमा प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अंक ल्याउनैपर्ने हुन्छ । ३५ प्रतिशत अंक भन्दा कम आउने विद्यार्थीको नतिजा एनजी आउँछ ।
माध्यमिक शिक्षाका लागि २०७८ सालमा नै लेटर ग्रेडिङ निर्देशिका लागू भएको थियो । यस अघिसम्म कक्षा १२ को नतिजा मात्रै उक्त निर्देशिका अनुसार सार्वजनिक हुँदै आएको थियो ।
२०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा त्यही निर्देशिका अनुसार सार्वजनिक भएको थियो ।
कक्षा १२ को नतिजा आजै सार्वजनिक हुने अन्तिम तयारी, यस्तो छ हेर्ने तरिका (सूचनासहित)
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गर्न अन्तिम तयारी थालेको छ । बोर्डले सम्भव भएसम्म आजै नतिजा सार्वजनिक गर्नेगरी तयारी गरेको हो । त्यसका लागि बोर्डको बैठक बसिरहेको छ ।बैठकले नतिजाबारे आवश्यक निर्णय गर्ने बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । गत वैशाख १४ गतदेखि २४ गतेसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षामा चार लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी भएका थिए ।बोर्डले पाँच हजार ५४२ विद्यालयका विद्यार्थीलाई एक हजार ५२६ परीक्षा केन्द्र मार्फत परीक्षा सञ्चालन गरेको थियो । जसमा जापानमा एउटा परीक्षा केन्द्र थियो । बोर्डले यो वर्ष पहिलो पटक स्वचालित छनोट प्रणालीको प्रयोग गरेर परीक्षा केन्द्र निर्धारण गरेको थियो ।तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र बोर्डको प्राविधिक टोलीले ‘पाइलट प्रोजेक्ट’ को रूपमा सफ्टवेयर बनाई पहिलो पटक काठमाडौँ जिल्लाका परीक्षा केन्द्र स्वचालित (र्याण्डम) विधिबाट छानिएको थियो ।‘बोर्डले लेटर ग्रेडिङ निर्देशिका २०७८’ अनुसार परीक्षा सञ्चालन गरेको थियो । सोही आधारमा नतिजा प्रकाशन गर्नेछ । प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अङ्क नल्याउने विद्यार्थी फेल हुने बोर्डले जनाएको छ ।
भारत र श्रीलंकाबीचको पहिलो ओडिआई आज
काठमाडौ । घरेलु टोली श्रीलंकाविरुद्धको ३ खेलको ओडिआई सिरिज आज बाट सुरु हुँदैछ । सिरिज अन्तगर्तको पहिलो खेल श्रीलंकाको कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट स्डेडियममा खेल नेपाली समय अनुसार शुक्रबार दिउँसो २ः४५ बजे सुरु हुनेछ ।भारतीय टोलीमा टि ट्वान्टी आई क्रिकेटबाट संन्यास लिएका रोहित शर्मा, विराट कोहली ओडिआई टोलीमा फर्कनेछन् ।कोहली र शर्माले सन् २०२३ को नोभेम्बर १९ मा अस्ट्रेलियासँगको विश्वकप फाइनलमा हार पछि ओडिआई खेलका लागि पहिलो पटक मैदानमा देखिने छन् ।दुर्घटनाका कारण मैदान बहिर रहेका ऋषभ पन्त पनि सन् २०२२ पछि पहिलो पटक ओडिआई टिममा छन् । यता, श्रीलंका पनि नयाँ कप्तानको जिम्मेबारी पाएका चरिथ असलंकाको कप्तानीमा मैदान उत्रदैछ । श्रीलंका आफ्ना प्रमुख चार तीव्र गतिका बलर बिना नै मैदान उत्रदै छ ।भारतलाई श्रीलंकाविरुद्ध एक सयौं खेल जित्ने लक्ष्यमा छ । दुई टिमबीच हालसम्म १ सय ६८ ओडिआई खेल भएका छन् । जसमा भारत ९९ खेलमा विजयी हुँदा श्रीलंकाले मात्र ५७ खेल जितेको छ ।
एक खेल बराबर हुँदा ११ खेल नतिजाबिहिनरुपमा सकिएको छ ।
राष्ट्रिय परिचय पत्रको फोटो खिच्दा सिन्दूर, टिका र राष्ट्रियता झल्कने पोसाक लगाउन पाइने
काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचय पत्रमा सर्वसाधारणले आफ्नो सांस्कृति र जातीय पहिचान जनाउने पहिरन लगाएको फोटो राख्न कुनै बाधा नरहेको बताएको छ ।
सिन्दूर पोते र टिका समेत हटाएर फोटो खिच्न लगाइएको भन्दै आलोचना भएपछि पञ्जीकरण विभागले राष्ट्रिय परिचय पत्रको जैविक विवरण लिने र आवश्यक कागजातको सम्बन्धमा रहेका द्विविधा हटाई सेवा प्रवाहलाई सरल, सहज तथा थप प्रभावकारी बनाउन भन्दै विभागले सबै जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, राष्ट्रिय परिचय पत्र इकाइ रहेका सबै र राष्ट्रिय परिचय पत्र इकाइलाई पत्र काट्दै ४ बुँदे निर्देशनसमेत जारी गरेको छ ।
यस्ता छन् निर्देशन
१, राष्ट्रिय परिचयपत्रमा विवरण दर्ताका लागि सेवाग्राहीको फोटो खिच्दा स्पष्ट मुखाकृति र दुबै कान देखिने गरी फोटो खिच्नुपर्नेछ । फोटो खिच्दा सिन्दूर, टिका, राष्ट्रियता झल्कने टोपी, धार्मिक, सांस्कृतिक तथा जातीय पहिचान जनाउने पहिरन लगाउन बाधा पर्ने छैन ।
२, राष्ट्रिय परिचयपत्रमा विवरण दर्ता गर्दा व्यक्तिले पेस गरेको नागरिकताको प्रमाणपत्र बाहेकको अन्य कागजातहरू राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा स्क्यान गरी प्रविष्ट गर्ने प्रयोजनको लागि सम्भव भएसम्म सकल वा छायाप्रतिमा सम्बन्धित व्यक्तिले सकल बमोजिम नकल ठिक छ भनी प्रमाणित गरेको आधारमा दर्ता प्रक्रिया अगाडी बढाउने।
३, व्यक्तिको नागरिकतामा केही विवरणहरू स्पष्ट नभएको खण्डमा सीआइएमएस नागरिकताको अभिलेखबाट समेत रुजु गरी विवरण दर्ता को व्यवस्था मिलाउने।
४, त्यहाँ कार्यालयमा अन्य जिल्लाका नागरिकहरूले समेत राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्न आवेदन पेस गरेमा विवरण दर्ताको व्यवस्था मिलाउने ।
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले गएराति १२ बजेदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएको हो ।निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट आज पेट्रोलको मूल्य प्रतिलिटर ०.९८ र डिजेलको मूल्य प्रतिलिटर २.२८ रुपैयाँले घटेर आएको छ ।मूल्य घटेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६७.५० रुपैयाँ र डिजेलको मूल्य १५५.५० रुपैयाँ कायम भएको छ ।
दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १६९ र डिजेलको मूल्य १५७ रुपैयाँ कायम भएको छ ।
तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १७० र डिजेलको मूल्य १५८ रुपैयाँ कायम भएको छ ।
निगमका अनुसार खाना पकाउन प्रयोग हुने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ६.९७ रुपैयाँ बढेर आए पनि अहिलेलाई यथावत् राखिएको छ ।