शिक्षकले दलको सदस्य हुन नपाउने कानुनी व्यवस्था कडाइका साथ कार्यान्वयन गरिने
काठमाडौँ । शिक्षकहरूले दलको सदस्य हुन नपाउने कानुनी व्यवस्था कडाइको साथ कार्यान्वयन गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारी, सामुदायिक तथा संस्थागत शिक्षालयका प्राध्यापक वा कर्मचारीले राजनीतिक दलको सदस्य हुन नपाउने कानुनी व्यवस्थाको पूर्ण कार्यान्वयन गरिने बताए ।
शिक्षा ऐन २०२८ तथा शिक्षा नियमावलीमा शिक्षकहरूले कुनै पनि दलको सदस्य हुन नपाउने व्यवस्था गरेको छ । तर, शिक्षकहरू विभिन्न दलको कार्यकारिणी समितिमा, महाधिवेशन प्रतिनिधि, दलको सदस्यता लिने जस्ता कार्यमा संलग्न हुँदै आएका छन् ।
यसलाई निरुत्साहित गर्नका लागि शिक्षा मन्त्रालयले दलको सदस्यता लिएका शिक्षकलाई कारबाही गर्न निर्देशन दिइसकेको छ । सोही आधारमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरका शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशन दिँदै दलको सदस्यता लिएका शिक्षकहरूमाथि छानबिन गर्न निर्देशन दिइसकेको छ ।
क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी आज
काठमाडौं । बलात्कार अभियोगमा दोषी ठहर भएका सन्दीप लामछानेको मुद्दाको पेसी आजका लागि तोकिएको छ । वैशाख २३ गते उच्च अदालत पाटनका न्यायाधीशद्वय नृपध्वज निरौला र दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलासमा परेको मुद्दा पेसी सूचीमा चढे पनि हेर्न नमिल्नेमा परेको थियो ।विपक्षी झिकाउन आदेश भएकै इजलासमा पेसी परेपछि हेर्न नमिल्नेमा परेको उच्च अदालत पाटनका प्रवक्ता तीर्थ अधिकारीले जानकारी दिएका थिए ।
त्यसअघि, न्यायाधीशद्वय मनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलासले गौशाला २६ (छ)को जन्मदर्ता प्रमाणपत्रसँगै जन्मदर्ताका निम्ति दिइएको निवेदनको सक्कल कपी झिकाउने आदेश गरेको थियो ।काठमाडौं जिल्ला अदालतले सन्दीपले गौशाला २६ (छ) लाई जबर्जस्ती करणी गरेको ठहर गर्दै आठ वर्ष कैद र तीन लाख रुपैयाँ जरिबाना तथा थप दुई लाख क्षतिपूर्तिको फैसला गरेको थियो । न्यायाधीश शिशिरराज ढकालको इजालसले गरेको फैसलाविरुद्ध सन्दीपले गएको फागुन १० गते पुनरावेदन गरेका थिए ।
काठमाडौं जिल्ला अदालतले गौशाला २६ (छ)लाई बालिग ठहर गरेको तथा सन्दीपलाई न्यूनतम सजाय तोकेको भन्दै त्यसविरुद्ध सरकारी वकिल कार्यालयले पनि पुरावेदन गरेको छ । दुवै मुद्दामा यसअघि नै एकसाथ सुनुवाइ सुरु भइसकेको छ ।उच्च अदालतले यसअघि पीडित गौशाला २६ (छ)को जन्मदर्ताका निम्ति दिइएको निवेदनको सक्कल प्रतिसहित जन्मदर्ताको प्रमाणपत्र झिकाउने आदेश गरेको थियो । काठमाडौं जिल्ला अदालतबाट पनि गौशाला २६ (छ)को जन्मदर्ता झिकाउन तीनपटकसम्म आदेश भएको थियो । एकपटक पीडित गौशाला २६ (छ)की आमाको समेत जन्मदर्ता झिकाउने आदेश काठमाडौं जिल्ला अदालतबाट भएको थियो ।
उच्च अदातलले सन्दीपका विपक्षमा सरकारी वकिलले लिएको दाबीअनुसार आदेश गरेमा उनलाई १२ वर्षभन्दा बढी जेल सजाय हुनेछ । उनले लिएको मागदाबीअनुसार फैसला भएमा भने सन्दीप अभियोगमुक्त हुनेछन् ।
तर, उच्च अदालतले जिल्ला अदालतको फैसला जस्ताको तस्तै सदर गरिदिएमा सन्दीपले आठ वर्षमा पुर्पक्षको अवधि कटाएर पूरा समय जेल बस्नुपर्नेछ । जिल्ला अदालतको आदेश सदर भएमा सन्दीपले सर्वोच्चमा पुनरावेदन गर्दा समेत थुनामा बसेरै गर्नुपर्नेछ ।
कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाले शिक्षा शाखा प्रमुखसहित १६ जना शिक्षक तथा कर्मचारीहरूलाई कारबाही सिफारिस गरेको छ ।गत चैत २ देखि ९ गतेसम्म चलेको कक्षा ८ को परीक्षा सञ्चालन र नतिजा प्रकाशनमा अनियमितता गरेको पुष्टि भएपछि उनीहरूलाई कारबाहीको लागि सिफारिस गर्ने निर्णय भएको हो । नगर कार्यपालिकाको बैठकले शिक्षा शाखा प्रमुख रामबहादुर हमाल, शिक्षा शाखा अधिकृत रविलाल मिजार, शिक्षा शाखा सहायक पाँचौँ बलबहादुर नेपालीसहित शिक्षक तथा कर्मचारीलाई कारबाहीको लागि सिफारिस गर्ने निर्णय गरेको हो ।बैठकले शिक्षा शाखा प्रमुख हमाललाई निजामती सेवा ऐन, २०४९ को दफा ५५ (क) बमोजिम कारवाही गर्ने र काज फिर्ता गर्ने निर्णय गरेको छ । शिक्षा शाखा अधिकृत सातौँ रविलाल मिजारलाई निजामती सेवा ऐन, २०४९ को दफा ५९ बमोजिम विभागीय कारवाही र दफा ६४ बमोजिम निलम्बन गर्ने निर्णय भएको छ।यसै गरी शिक्षा शाखा सहायक पाँचौँ बल बहादुर नेपालीलाई निजामती सेवा ऐन, २०४९ को दफा ५५ क बमोजिम, शिक्षक कर्मचारीहरूलाई शिक्षा ऐन २०२८ को दफा १७ को उपदफा १ (क) बमोजिम र नगरपालिकाको स्रोतबाट करारमा नियुक्ति पाई छानबिनको क्रममा कारवाहीको सिफारिस गरिएका शिक्षक वा कर्मचारीलाई करारनामा बमोजिम सम्झौता भङ्ग गर्ने निर्णय नगरपालिकाले गरेको छ । मिजार निलम्बनमा परेका छन् भने करारका कर्मचारीको सम्झौता भंग गरिएको छ ।
काठमाडौं । सादा पोशाकमा सूचना संकलनका लागि भनेर खटिंदै आएका प्रहरी परिचालन नगर्न प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।
गृहमन्त्री रवि लामिछानेले सादा पोशाकका प्रहरी तत्काल हटाइ युनिर्फममा जिम्मेवारी दिन भन्दै निर्देशन दिएपछि प्रहरी प्रधान कार्यालयले यस्तो परिपत्र गरेको हो ।
यसअघि प्रहरीहरू सूचना संकलनका लागि सादा पोशाकमा (घुमुवा)को रूपमा परिचालन हुँदै आएका थिए ।“त्यस कार्यालय तथा मातहत समेतबाट हाल परिचालन गरिएका सादा पोसाकका प्रहरी कर्मचारीलाई (अपराध अनुसन्धान शाखामा कार्यरतबाहेक) तत्काल जिम्मेवारी परिवर्तन गरी नियमित युनिफर्म ड्युटीको जिम्मेवारी दिई निजहरूको काम, कारबाहीको समेत कार्यालय प्रमुखबाटै नियमित निगरानी गर्ने व्यवस्था मिलाउनु हुन निर्देशानुसार अनुरोध छ,” प्रहरी प्रधान कार्यालयको परिपत्रमा भनिएको छ ।
परिपत्रमार्फत जिम्मेवारी परिवर्तन गरिएका प्रहरी कर्मचारीको नामावली दुई घण्टाभित्रै केन्द्रमा पठाउन पनि मातहतका निकायलाई निर्देशन दिइएको छ ।
काठमाडौ । जिम्बावे सरकारले मृत्यु दण्डको सजाय अन्त्य गरेको छ। जिम्बावेका सूचना मन्त्री जेनफैन मुसवेरेले राष्ट्रव्यापी रुपमा सङ्कलन गरिएको सल्लाह सुझावको आधारमा देशमा रहेको मृत्यु दण्डको सजाय अन्त्य गर्ने निर्णय गरिएको बताएका छन्।
बीबीसीका अनुसार जिम्बावेमा पछिल्लो २० वर्षदेखि कुनैपनि व्यक्तिलाई मृत्यु दण्डको सजाय दिइएको छैन।
सरकारको उक्त निर्णय पछि अब कैदीहरूको सजाय आजीवन कारावासमा परिणत हुनेछ।
सरकारले मृत्यु दण्डको सजाय अन्त्य गर्ने निर्णय कहिलेबाट लागू हुनेछ भन्ने विषयमा खुलाइएको छैन।
राष्ट्रपति एमर्सन मनाङ्गाग्वा जिम्बावेमा मृत्यु दण्डको सजायका विरोधी हुन्। ६० को दशकमा उनलाई पनि मृत्यु दण्डको सजाय सुनाइएको थियो। तर, पछि उनको सजाय रद्द गरेर कारावासमा परिणत गरिएको थियो।
काठमाडौं । योगराज भनिने रिगल ढकालको कैद मिनाहा गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको छ ।नेपालगन्जका चेतन मानन्धरको हत्यामा दोषी ठहर भएका रिगलले संविधान दिवसको अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट कैद मिनाहा पाएका थिए ।
त्यसविरुद्ध चेतनकी श्रीमती भारती शेर्पाले दायर गरेका रिटमा सुनुवाइ गर्दै शुक्रबार कायम मुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडासहित न्यायाधीशहरू सपनाप्रधान मल्ल र कुमार चुडालको इजलासले सरकारको निर्णय बदर गरिदिएको हो ।
पूर्ण इजलासले रिगललाई तत्काल पक्राउ गर्ने आदेश जारी गरेको निवेदकको पक्षबाट बहस गरेका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जानकारी दिए ।
मोबाइलको विषयलाई लिएर साथीको ‘हत्या’
जनकपुरधाम । मोबाइलका लागि आफ्नै साथीको हत्या गरेको आरोपमा जनकपुरधामका दुई युवक पक्राउ परेका छन् ।धनुषाको जनकपुरधाम उपमहानगरपालिका– २४ सोनापारा बस्ने २० वर्षीय हरिचरण मण्डल र अन्दाजी २१ वर्षीय पवन सहनीलाई आफ्नै साथी स्थानीय रुपेश महराको हत्या आरोपमा धनुषा प्रहरीले पक्राउ गरेको हो ।पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषाले आइतवार बिहान सार्वजनिक गरेको छ । रुपेशको मोबाइल हरिचरणलाई मन परेपछि नदिंँदा हरिचरणले रुपेशको हत्या गरेको अनुसन्धानमा खुलेको जिप्रका धनुषाका एसपी विश्वराज खड्काले बताउनुभयो ।लागू औषध सेवनले मातिएका तीनै जना साथीबीच मोबाइलको विषयमा विवाद हुँदा हरिचरणले रुपेशलाई बाँसको भाटा प्रहार गरी हत्या गरेको र शव धान खेतमा फाल्न पवनले सहयोग गरेको एसपी खड्काले बताउनुभयो ।जनकपुरधाम– २३ विसविट्टी स्थित धान खेतमा कात्तिक ९ गते शव फेला परेका रुपेशको कात्तिक ८ गते राति हत्या भएको थियो ।प्रहरीले घटनास्थलबाट मृतकले प्रयोग गरेको एक थान साइकल, मृतकको मोबाइल सेट, आरोपित हरिचरणले घटनाको बेला प्रयोग गरेको रगत लागेको एक थान सर्ट, घटनामा प्रयोग भएका बाँसको भाटा र घटनाको क्रममा प्रयोग भएका पवन सहनीको मोबाइल बरामद गरेको छ ।
संक्रमणकालीन न्यायसम्बन्धी मुद्दाहरू हेर्न सर्वोच्च अदालतमा छुट्टै इजलास गठन हुने
काठमाडौं । सर्वोच्च अदालतमा संक्रमणकालीन न्यायसम्बन्धी मुद्दा हेर्नका लागि अलग्गै ‘विशेष इजलास’ गठन हुने भएको छ । संक्रमणकालीन न्यायसम्बन्धी कानुन संशोधनका लागि संसद्मा विचाराधीन विधेयकका सन्दर्भमा सहमति जुटाउनेक्रममा संक्रमणकालीन न्यायसँग सम्बन्धित मुद्दाको सुनुवाइका लागि सर्वोच्च अदालतमा अलग्गै इजलास गठन गर्ने निष्कर्ष निकालिएको हो ।
संसदीय उपसमितिले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकमा सर्वोच्च अदालतमा संक्रमणकालीन न्यायसम्बन्धी छुट्टै इजलास रहने व्यवस्था राख्ने निर्णय गरेको छ । अहिले सर्वोच्चमा संवैधानिक व्याख्यासँग सम्बन्धित मुद्दाको सुनुवाइका लागि भनेर अलग्गै ‘संवैधानिक इजलास’ रहेको छ । यस्तै, उच्च अदालतहरूमा बैकिङ कसुरसम्बन्धी मुद्दाको सुनुवाइ गर्न वाणिज्य इजलास रहेको छ ।
‘पुनरावेदन सुन्ने प्रयोजनका लागि सर्वोच्च अदालतमा संक्रमणकालीन न्यायसम्बन्धी संयुक्त इजलास रहनेछ,’ संक्रमणकालीन न्यायसँग सम्बन्धित कानुन संशोधनका लागि विचाराधीन विधेयकका लागि थपिएको बुँदामा भनिएको छ, ‘त्यसका लागि प्रधानन्यायाधीशले आवश्यकतानुसार सर्वोच्च अदालतका न्यायाधीशहरूको सूची तयार गरी सोमध्येबाट इजलास तोकिनेछ ।’प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिअन्तर्गतको उपसमितिले सर्वसम्मत रूपमा जुटाएको सहमतिनुसार संक्रमणकालीन न्यायसम्बन्धी सम्बन्धित आयोगको सिफारिसमा विशेष अदालतले गर्ने निर्णय चित्त नबुझ्ने पक्ष पुनरावेदन लिएर अदालत जान पाउनेछन् । त्यस्ता पुनरावेदन सुन्ने प्रयोजनका लागि सर्वोच्च अदालतमा ‘संक्रमणकालीन न्यायसम्बन्धी इजलास’ राख्ने सहमति भएको हो ।
उपसमितिले पारित गरेको विधेयकको प्रतिवेदनलाई मूल समितिले पनि स्वीकार गरेको छ । यो विधेयक अब समितिबाट संसद्मा पेस हुनेछ । प्रतिनिधिसभाले पारित गर्दै माथिल्लो सदन राष्ट्रिय सभाले पनि पारित गरेपछि राष्ट्रपतिबाट प्रमाणीकरण भए सो व्यवस्था कानुनका रूपमा कार्यान्वयनमा जानेछ । हाल कार्यान्वयनमा रहेको संक्रमणकालीन न्यायसम्बन्धी ऐनमा संक्रमणकालीन न्यायसम्बन्धी मुद्दाहरू हेर्न छुट्टै विशेष अदालत गठन हुने व्यवस्था छ । तर, ऐनको सो व्यवस्थानुसार विशेष अदालत गठन भने हुन सकेको छैन । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।
काठमाडौं । विगत केही वर्षदेखिको बजेट वक्तव्यमार्फत घरजग्गा कारोबार गर्नेहरूले पनि लाइसेन्स लिनुपर्ने भनी गर्दै आएको घोषणा कार्यान्वयन हुने भएको छ । सरकारले मालपोत ऐन, २०३४ संशोधनमार्फत घरजग्गा कारोबार गर्नका लागि लाइसेन्स अनिवार्य गर्न लागेको हो ।
केही नेपाल ऐन संशोधन विधेयकलाई संसद्को कानुन, न्याय तथा मानवअधिकार समितिले परिमार्जनसहित पारित गरेपछि यो ऐन सदनबाट पारित हुन सहज हुने भएसँगै लाइसेन्स अनिवार्य हुने भएको हो ।
संशोधित ऐनमा लाइसेन्स नलिई घरजग्गा कारोबार गरेमा काराबाही हुने उल्लेख गरिएको छ । संशोधित ऐनमा लाइसेन्सको अवधि ५ वर्षको हुने र कारोबार गर्न चाहनेले दिएको निवेदनका आधारमा लाइसेन्स दिने उल्लेख गरिएको छ ।अहिलेसम्म सरकारले घरजग्गा कारोबार गर्नका लागि लाइसेन्स लिनुपर्ने प्रावधान राखेको थिएन ।
नयाँ व्यवस्थानुसार लाइसेन्स नलिई कारोबार गर्नेले २५ लाख रुपैयाँ जरिमाना तिर्नुपर्नेछ । यसका साथै ६ महिना कैद वा दुवै सजाय हुने व्यवस्था पनि ऐनमा उल्लेख गरिएको छ । यसअघि १० लाख रुपैयाँसम्म जरिमानाको प्रस्ताव गरिएकामा संसद्को कानुन, न्याय तथा मानवअधिकार समितिसम्म आइपुग्दा २५ लाख गरिएको हो ।यसअघि घरजग्गा व्यवसाय र कारोबारका लागि कुनै अनुमतिपत्रको व्यवस्था नभएकामा मालपोत ऐन, २०३४ संशोधनमार्फत अनुमतिपत्रको व्यवस्थालाई अनिवार्य गर्न लागिएपछि खुलम खुला रूपमा कारोबार गरिरहेका घरजग्गा दलालहरू तर्सिएका छन् । यो ऐन सदनबाट पारित भएपछि घरजग्गा दलालहरूले लाइसेन्स लिनुपर्नेछ वा लाइसेन्स प्राप्त कम्पनीमार्फत मात्र कारोबार गर्नुपर्नेछ ।
यस व्यवस्थासँगै घरजग्गा कारोबार व्यवस्थित हुने अपेक्षा गरिएको छ । यसले गर्दा घरजग्गा कारोबारबाट राजस्व बढ्ने अपेक्षा पनि गरिएको छ ।
सरकारले पेस गरेको सम्पत्ति शुद्धीकरणसँग सरोकार राख्ने केही नेपाल ऐन संशोधन विधेयकलाई संसद्को कानुन, न्याय तथा मानवअधिकार समितिअन्तर्गतको उपसमितिले विधेयकको प्रतिवेदन मूल समितिमा पेस गरेसँगै यसको चर्चा उठ्न थालेको हो ।
घरजग्गा कारोबार लाइसेन्स नलिईकन गरेको पाइएमा सरकारवादी भई मुद्दा लड्ने विधेयकमा उल्लेख गरिएको छ ।यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।
काठमाडौ । पूर्वराजा ज्ञानेन्द्र शाहले इजरायलमा भड्किएको दुई पक्षीय युद्धमा परि मृत्यु भएका नेपाली प्रति गहिरो दुख व्यक्त गरेका छन् ।
पूर्वराजा शाहले विषम परिस्थितिमा रहेका नेपालीको उपचार, उद्दार र नेपाल फर्काउने कार्यमा तत्परता देखाउन र कुटनैतिक पहल गर्न पनि सरकारलाई आग्रह गरेको उनको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पूर्व राजा शाहले अध्ययन र रोजगारीका शिलशिलामा त्यहाँ रहेका हजारौं नेपालीहरु युद्धको चपेटामा परेकोमा चिन्तासमेत व्यक्त गरेका छन् ।विज्ञप्तिमा आजको दुनियाँमा कहिं पनिं द्धन्द र युद्धले राम्रो गर्दैन भन्ने मान्यता राख्दै आपसी सम्बन्ध सुधारका लागि सबै पक्षबाट सकारात्मक प्रयास हुनु पर्ने धारणा उललेख गरिएको छ ।