डोटी । डोटी जिल्ला अस्पतालका कार्यालय सहयोगी मृतावस्थामा फेला परेका छन् । दिपायल सिलगढी नगरपालिका–७ उडीतोला घर भएका ४५ वर्षीय कार्यालय सहयोगी भक्त कोली मृत फेला परेको जिल्ला अस्पतालका सूचना अधिकारी अमर भाटले जानकारी दिनुभयो ।
उहाँका अनुसार कार्यालय सहयोगी कोली जिल्ला अस्पताल जाने बाटोको चोकमा शुक्रबार मृतावस्थामा फेला परेका हुन् । मृतक कोलीले जिल्ला अस्पतालमा परीक्षणका लागि ल्याइएका शवहरुको चिरफारको काम गर्दै आएका थिए । आफन्तहरु अहिलेसम्म नपुगेकाले उनको शव अहिले जिल्ला अस्पतालमा राखिएको अस्पतालले जनाएको छ ।
काठमाडौ । भ्रष्टाचारको विश्वव्यापी सूचकांकमा नेपाल ११७औँ स्थानमा यथावत् रहेको छ । विश्वका विभिन्न देशमा भ्रष्टाचारको स्थिति निगरानी गर्ने ट्रान्स्परेन्सी इन्टरनेसनलले मंगलबार जारी गरेको भ्रष्टाचार अवधारणा सूचकांक सिपिआई- २०२१ मा नेपालले सयमा ३३ अंक पाएको छ । अघिल्लो वर्ष पनि नेपाल यही स्थानमा थियो ।
‘नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमै रहेको छ,’ ट्रान्स्परेन्सीले भनेको छ, ‘अघिल्लो वर्ष सन् २०२०० र यस वर्ष सन् २०२१० नेपालको स्कोर स्थिर रहनुमा भ्रष्टाचार नियन्त्रणमा केही प्रगति हुन नसकेको रूपमा लिन सकिन्छ ।’
सूचकांकमा शून्यलाई सबैभन्दा भ्रष्ट र सयलाई भ्रष्टाचार नहुने मानिएको छ । दुईतिहाइभन्दा बढी ९६८ प्रतिशत० मुलुकले ५० प्रतिशतभन्दा कम अंक पाएका छन् । ४३ प्रतिशतलाई औसत ग्लोबल स्कोर मानिएको छ । योभन्दा कम अंक पाउनेलाई भ्रष्टाचार व्यप्त भएको मुलुकका रूपमा दर्ज गरिएको छ ।
डेनमार्क, फिनल्यान्ड र न्युजिल्यान्डमा सबैभन्दा कम भ्रष्टाचार, दक्षिण सुडान सबैभन्दा बढी भ्रष्ट सूचकांकअनुसार गत वर्ष डेनमार्क, फिनल्यान्ड र न्युजिल्यान्ड सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा सूचीकृत भएका छन् । ती मुलुकले सयमा ८८ अंक पाएका छन् । त्यस्तै सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा दक्षिण सुडान रहेको छ । ११ अंकसहित सुडान १८० औँ स्थानमा छ ।
सार्क मुलुकमा भुटानमा सबैभन्दा कम भ्रष्टाचार
सिपिआई २०२१ मा दक्षिण एसियाली राष्ट्रहरूमध्ये भुटान सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा छ । ६८ अंक प्राप्त गरी भुटान २५औँ स्थानमा छ । माल्दिभ्स ४० अंकसहित ८५औँ, भारत ४० अंकसहित ८५औँ, श्रीलंका ३७ अंकसहित १०२औँ स्थानमा छ । पाकिस्तान २८ अंकसहित १४०औँ र बंगलादेश २६ अंकसहित १४७औँ स्थानमा छ । सार्क राष्ट्रमध्ये सबैभन्दा कम भ्रष्टाचार भुटानमा रहेको ट्रान्स्परेन्सीले औँल्याएको छ । अफगानिस्तान १६ अंक प्राप्त गरी १७४औँ स्थानमा छ ।
पछिल्लो दशकमा १५४ देशको स्कोर बढ्न नसकेको वा भ्रष्टाचार नियन्त्रणमा केही प्रगति नभएको भन्दै ट्रान्स्परेन्सीले चिन्ता प्रकट गरेको छ । ‘संसारभरि नै भ्रष्टाचार घट्न नसकेको र ८६ प्रतिशत देशले एक दशकसम्म पनि कुनै प्रगति हासिल नगरेको देखिएको छ । विश्वभरि नै भ्रष्टाचारविरोधी प्रयासमा भएको कमी र शिथिलताले गर्दा मानवअधिकार र लोकतन्त्र धरापमा परेको छ,’ रिपोर्टमा भनिएको छ । कोभिड–१९ को विश्वव्यापी संक्रमणले यसलाई थप प्रश्रय दिएको इन्टरनेसनलले भनेको छ ।
नागरिक हकअधिकार कमजोर भएका देशमा भ्रष्टाचार रहने, मानवअधिकार हनन हुने, लोकतन्त्रको स्तर घट्ने, अधिनायकवाद बढ्ने र भ्रष्टाचारमा थप वृद्धि हुने प्रतिवेदनमा जनाइएको छ । ट्रान्स्परेन्सीले सार्वजनिक पदाधिकारीमाथि प्रश्न, अन्तरदेशीय भ्रष्टाचार नियन्त्रण, शक्ति नियन्त्रण र सरकारी खर्चको पारदर्शिता बढाउन सुझाव दिएको छ । भ्रष्टाचारको विरोध तथा मानवअधिकार प्रवद्र्धन गर्न सरकारहरूलाई अपिल गर्दै सम्पूर्ण नागरिकलाई परिवर्तन माग गर्न ऐक्यबद्ध हुनसमेत अपिल गरेको छ ।
सूचकांकले १८० देशको सार्वजनिक क्षेत्रको भ्रष्टाचारबारे विज्ञको अवधारणा मापन गरेको छ । १३ स्वतन्त्र तथ्यांक स्रोतबाट प्राप्त विवरणका आधारमा सूचकांक निकालिएको ट्रान्स्परेन्सी इन्टरनेसनलले जनाएको छ ।
विश्वसनीय अन्तर्राष्ट्रिय संस्थाहरूद्वारा सम्पन्न गरिएका विभिन्न सर्वेक्षणको आधारमा सूची तयार गरिएको संस्थाले बताएको छ । ‘नेपालमा क वर्षमा ९सन् २०२०र२१० मा विश्व बैंक, वल्र्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेसन, वर्ल्ड जस्टिस प्रोजेक्ट र भेराइटिज अफ डेमोक्रेसी प्रोजेक्ट भिडिइएमसहित ६ वटा संस्थाद्वारा गरिएका सर्वेक्षणका आधारमा नेपालको सिपिआई निकालिएको हो,’ सिपिआई रिपोर्टमा भनिएको छ ।
सिपिआईका पूरक सर्वेक्षणहरूमध्ये विश्व बैंकले सरकारद्वारा सार्वजनिक पदाधिकारीहरूको काम–कारबाहीको निगरानी, नागरिक समाजलाई राज्यको सूचनामा पहुँच र सीमित व्यक्तिहरूको राज्य सञ्चालनमा पकडबारे सर्वेक्षण गरेको छ । वल्र्ड इकोनोमिक फोरमले आयात निर्यात, सार्वजनिक सेवा, कर भुक्तानी, ठेक्का–पट्टा र न्यायिक निर्णयमा भ्रष्टाचारबारे, ग्लोबल इन्साइटले व्यापार, व्यवसाय, ठेक्का–पट्टा, आयात निर्यातमा घुस र भ्रष्टाचारबारे र बर्टेल्सम्यान फाउन्डेसनले पदको दुरुपयोगमा सार्वजनिक पदाधिकारीमाथि कतिको कारबाही हुन्छ र सरकारको भ्रष्टाचार नियन्त्रणको प्रयास कतिको सफल छ भन्ने सर्वेक्षण गरेको छ ।
त्यस्तै, वल्र्ड जस्टिस प्रोजेक्टले सरकार, न्यायालय, संसद् र सुरक्षा निकायका प्रतिनिधिहरूद्वारा निजी स्वार्थका लागि सार्वजनिक पदको दुरुपयोग विषयमा र भिडिइएमले राजनीतिक भ्रष्टाचारअन्तर्गत संसद्, कार्यपालिका र न्यायपालिका सम्बन्धित भ्रष्टाचारको व्यापकताजस्ता विषयमा सर्वेक्षण गरेका छन् ।
रोल्पा । एक महिलाले यहाँ आफ्नै पतिको हत्या गरेकी छिन् । सुनछहरी गाउँपालिका–६ फगाम झिरवाङकी ४१ वर्षीया मीना पुनले ४५ वर्षीय पति काले पुनको हँसिया र ढुङ्गा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
मानसिक सन्तुलन ठीक नभएकी मीनाले पति काले गोठमा सुतिरहेको अवस्थामा एक्कासि हँसिया र ढुङ्गा प्रहार गरेको बताइएको छ । पत्नी मीनाले पति कालेको हत्या गरेको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय जेल्वाङको प्रहरी टोली घटनास्थल पुगी अभियुक्त मीनालाई नियन्त्रणमा लिएको थियो ।
घटनामा संलग्न मीनालाई जिल्ला अदालतमा म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्ण रानाले जानकारी दिनुभयो । अभियुक्तलाई इलाका प्रहरी कार्यालय सुलिचौरको हिरासतमा राखिएको छ ।
पोखरा । मुलुकभर कोरोना संक्रमित बढिरहेका बेला प्रदेश स्वास्थ्य निर्देशनालय, गण्डकीले बुधबार बिहान आफ्नो फेसबुक पेजमा एउटा तस्बिर पोस्ट गर्दै तस्बिर’ बारे लेख्यो– ‘कर्तव्यनिष्ठ स्वास्थ्यकर्मीहरूप्रति हार्दिक सम्मान व्यक्त गर्दछौं ।’
मुलुकभर कोरोना संक्रमित बढिरहेका बेला सरकारले अहिले खोप अभियानलाई तीव्रता दिइरहेको छ । यहीबेला सरकारले बुस्टर डोज पनि सञ्चालन गरिरहेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय, गण्डकीले आफ्नो फेसबुक पेजमा पोस्ट गरेको तस्बिर खोप अभियानसँगै सम्बन्धित रहेको भनिएको छ ।
माघको महिना । जताततै चिसो । कतिपय ठाउँमा त कठ्यांग्रिदो चिसो र हिउँले जनजीवन नै प्रभावित भइरहेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय, गण्डकीले पोस्ट गरेको खोपको डब्बा बोकेकी स्वास्थ्यकर्मी हिउँमा लड्दै हिँडिरहेको यो तस्बिर अहिले भाइरल भइरहेको छ । तस्बिरमा एक महिला स्वास्थ्य सामग्री बोकेर हिउँमा लड्दै हिँडिरहेको देखिन्छ । यस्तो कठ्यांग्रिदो चिसो र हिउँको समेत पर्वाह नगरी स्वाथ्यकर्मीहरू आफ्नो पेसामा कतिसम्म दत्तचित्त हुन्छन् भन्ने सन्देश दिन खोजिएको भान हुन्छ ।
प्रतिक्रियाको बाढी नै आउन थालेपछि प्रदेश स्वास्थ्य निर्देशनालय, गण्डकीले तस्बिर’बारे थप जानकारीसमेत दिएको छ । तस्बिरमा देखिएकी युवती स्वास्थ्यकर्मी अनमी प्रेमकुमारी केसी भएको र रणसिंहकिटेनी हेल्थपोस्ट स्वाचौं, बाग्लुङमा कार्यरत रहेको सूचना थप गरिएको थियो ।
तर, प्रदेश स्वास्थ्य निर्देशनालय, गण्डकीले जुन तस्बिर पोस्ट गरेको छ, त्यो तस्बिर अहिलेको होइन । तस्बिर जुन महिलाको हो, तिनै महिलाले यो तस्बिर अहिलेको नभई तीन वर्षअघिको भएको प्रतिक्रियासमेत दिइसकेकी छन् । त्यसैले प्रदेश स्वास्थ्य निर्देशनालय, गण्डकीले सस्तो लोकप्रियताका लागि यो काम गरेको सहजै भन्न सकिन्छ ।
अब जानौं ‘भाइरल’ बनेको यो तस्बिरको यथार्थता । यो तस्बिर तीन वर्षअगाडिको अनमी प्रेमकुमारी केसीको हो । त्यतिबेला उनी रणसिंहकिटेनी हेल्थपोस्टमा कार्यरत थिइन् । अहिले भने छैनन् । उनी अहिले बागलुङकै आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत छिन् । यो तस्बिर केसीकी सहकर्मी निशा पुनले खिचेकी हुन् ।
तस्बिरको यथार्थता’बारे केसीले मुख खोल्दै भनेकी छन्, ‘यो तस्बिर निशा पुनले खिचेकी हुन् । त्यसबेला उनी हेल्थपोस्टको इन्चार्ज थिइन् । हामी दुई जना बागलुङको बडीगाड गाउँपालिका–८ बाट त्यहाँको दुर्गम भेग नेपाने गाउँमा जाँदै थियौं । यो तस्बिर त्यतिबेला भ्याक्सिन लैजाँदाको हो । त्यतिबेला हामीलाई नेपाने गाउँमा भ्याक्सिन पु¥याउन हिउँका कारण धेरै अप्ठेरो भएको थियो । हेल्थटुलमा मैले बोकेको भ्याक्सिन रेगुलर इम्युनाइजेसन भ्याक्सिन हो ।’
उनले आफू कार्यरत हेल्थपोस्टबाट झन्डै घण्टाको बाटो हिँडेर नेपाने गाउँ पुगेको पनि सम्झिइन् । रणसिंहकिटेनीमा हिउँदको बेला अहिले पनि स्वास्थ्यकर्मी त्यसरी नै स्वास्थ्य सामग्री लैजाने गरेको उनले सुनाइन् ।
उता, पुरानो तस्बिरलाई अहिलेको परिस्थितिमा पोस्ट गरेको भन्दै चर्काे आलोचना भएपछि प्रदेश स्वास्थ्य कार्यालय गण्डकीले स्वास्थ्यकर्मीलाई उत्प्रेरित गर्ने उद्देश्यले सो तस्बिर पोस्ट गरिएको स्पष्टीकरण दिएको छ ।
निर्देशनालयका प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले बडिगाड हेल्थपोस्टकै आग्रहमा आफूहरूले फोटो राखेको बताए । उनले सो तस्बिर अहिलेको नभएको पनि प्रस्ट पारे ।यो समाचार आजको राजधानी दैनिकमा छ ।
लागु औषधसहित टीकापुरबाट एक जना पक्राउ
टीकापुर । कैलालीमा प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ।
जिल्लाको टीकापुर नगरपालिका–७ सत्तीबाट सोही ठाउँ बस्ने २९ वर्षीय प्रकाश चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
उनको साथबाट लागुऔषध ३५ क्याप्सुल स्पास्मो प्रोक्सिभन फेला परेको थियो। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
काठमाडौं । काठमाडौ महानगरपालिका–६ बौद्ध फैकास्थित राधाकृष्ण मन्दिर नजिकै सँगै बस्दै आएका युवक–युवतीको कोठामै मृत फेला परेका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौं प्रमुख एसएसपी सुदिप गिरीका अनुसार बिहीबार राती संखुवासभा घर भई फैका बस्ने २५ वर्षीय अनिस जिमी र खोटाङ साकेला गाउँपालिका–५ घरभई जिमीसँगै बस्ने २२ वर्षीया युसुना राईको धारिलो हतियार प्रहार गरी हत्या भएको छ ।
अनलाइन खेल प्लेयर्स अननोन्स ब्याटलग्राउन्ड ‘पब्जी’ खेलबाट साथी बनेका जिमी र राई सँगै बस्न थालेको २०-२२ दिन मात्र भएको पाइएको प्रहरीले बताएको छ । बिहीबार साँझ जिमीकी आमासँगै खाना खाएर आफ्नो कोठामा बसेका उनीहरुबीच केरकसरी घटना घट्यो भन्नेबारे अनुसन्धान भइरहेको एसएसपी गिरीले बताए । ‘कोठाभित्र हानाहान भएको जस्तो आवाज आएपछि युवककी आमाले ढोका खोलेर हेर्दा घटना घटेको पाइएपछि प्रहरीलाई खबर आएको हो,’ उनले भने ।
घटनाको प्रकृति हेर्दा युवकले युवतीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आत्महत्या गरेको जस्तो देखिएको प्रहरीको दाबी छ । घटनास्थलबाट धारिलो हतियार बरामद गरेको जनाएको छ ।
नेपाल प्रहरीको क्रियाकलापविरुद्ध नै ३ सय ६७ उजुरी
काठमाडौं । आमसर्वसाधारण कुनै पनि घटना, दुर्घटना तथा असुरक्षाको महसुस भए गुनासो, उजुरी तथा जाहेरी लिएर जाने थलो प्रहरी कार्यालय हो ।
प्रहरीसमक्ष पुग्दा न्याय पाइन्छ भन्ने आस पीडित पक्षलाई हुन्छ । तर, त्यही न्यायिक निकायका रूपमा रहेको प्रहरीका कतिपय कामकाज चित्त नबुझेर वा भनौं प्रहरीका क्रियाकलापविरुद्ध पनि उजुरी पर्ने गरेको पाइएको छ ।
प्रहरी प्रधान कार्यालयले तयार गरेको गत साउनदेखि मंसिरसम्मको पाँच महिनाको तथ्यांकले नेपाल प्रहरीमा कार्यरत प्रहरी कर्मचारीविरुद्ध ३ सय ६७ उजुरी दर्ता भएको देखाएको हो । साउनदेखि मंसिरसम्म पाँच महिनाको अवधिमा प्रहरी कर्मचारीको कार्यसम्पादनमा प्रश्न उठाउँदै ३ सय ६७ उजुरी विभिन्न निकायमा दर्ता भएको हो ।
यसरी आएका उजुरी अनलाइन प्रणाली, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गृह मन्त्रालय, प्रहरी महानिरीक्षकको सचिवालय तथा हेलो सरकारमार्फत परेको प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले जानकारी दिए ।
उनका अनुसार अनलाइनमार्फत ४०, अख्तियारमार्फत ३९, अन्य तरिकामार्फत २, गृह मन्त्रालयमार्फत ३६, पत्रपत्रिकामार्फत ३, प्रहरी महानिरीक्षकको सचिवालयमार्फत ९१ तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय (हेलो सरकार)मार्फत १ सय ५६ उजुरी प्रहरी कर्मचारीविरुद्ध परेको हो । यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।
काठमाडौं । खेतीपातीको समयमा रासायनिक मल नपाएर किसानले भोगेको पीडाको वर्णन गरी साध्य छैन । तर रासायनिक मल आपूर्ति गर्ने कृषि सामग्री कम्पनी लिमिटेडका कर्मचारी आपूर्तिकर्तासँग मिलेर आर्थिक अनियमितता गर्न उद्यत् छन् भन्ने सुन्दा किसानको मनमा कस्तो प्रश्न पैदा होला ? किसानले जुन कुरा सुन्नु नपरोस् भन्ने चाहेका छन्, तर त्यस्तै भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा दायर गरेको मुद्दाअनुसार सरकारी स्वामित्वको सो कम्पनीका कर्मचारी गुणस्तरहिन मल आयात गर्ने काममा संलग्न भएको पाइएको छ । उनीहरु आर्थिक अनियमिततामा मुछिएका छन् ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालय मातहतको कृषि सामग्री कम्पनीले आर्थिक वर्ष २०७७/७८ का लागि खरिद गरेको डिएपी मल सरकारले तोकेको गुणस्तरअनुसार नरहेको पाइएको छ । कम गुणस्तरको मल खरिद गरी आर्थिक अनियमितता गरेको आयोगको अध्ययनबाट देखिएको छ ।
कम्पनीका कर्मचारी र मल आयात गर्ने आपूर्तिकर्ताको मिलेमतोमा कम गुणस्तरको मललाई गुणस्तरयुक्त भनी आयात गर्न अनुमति दिइएको पाइएको छ । रासायनिक मल (नियन्त्रण) आदेश, २०५५ र सार्वजनिक खरिद ऐन, २०६३ तथा नियमावली विपरित कम्पनीले प्रतिस्पर्धा नै नगराई ‘नेपाल इन्भारोमेन्टल एण्ड साइन्टिफिक सर्भिस प्रालि’लाई मलको गुणस्तर प्रतिवेदन दिन लगाएको पाइएको छ ।
नेपाल गुणस्तर तथा नापतौल विभागबाट प्राप्त परीक्षणबाट उक्त मल तोकिएको मापदण्डअनुसार नभएको पाइएको छ । गलत प्रतिवेदन तयार पारेर रु एक अर्ब ५३ लाख २२ हजार बराबरको भुक्तानीसमेत गरिएको पाइएको छ । आयोगले उक्त सरकारी रकम हानीनोक्सानी गरेको पाइएकाले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आयोगले कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी, प्रबन्धक विष्णुप्राद पोखरेल, सहायक प्रबन्धक दुर्गाप्रसाद पाण्डे, उपप्रबन्धक पुष्पकरदिप बुढाविरुद्ध रु एक अर्ब ५३ लाख २२ हजार बराबरको बिगो कायम गरी मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।
आयोगले गलत प्रतिवेदन बनाउने कार्यमा संलग्न नेपाल इन्भारोमेन्टल एण्ड साइन्टिफिक सर्भिस प्रालिका प्रबन्ध निर्देशक सलिल देवकोटा, सो संस्थाको प्रयोगशाला निर्देशकको जिम्मेवारीमा रहेका सुनिलबाबु खत्री, सर्भेयर महेन्द्रकुमार डागा, प्रयोगशाला तथा परमर्शदाता भोलानाथ चौधरी र सम्झौता गर्ने कार्यमा सङ्लग्न मनोज आचार्यविरुद्धसमेत समान बिगो बराबरको माग दावी गरिएको छ ।
त्यस्तै, आपूर्तिकर्ता जोशी बिज हाउस प्रालि काठमाडौँका विनित जोशीविरुद्ध पनि समान बिगो दावी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको छ । आयोगले पछिल्लो पटक दायर गरेका मुद्दामध्ये यो हालसम्मकै ठूलो बिगो हो ।
किसानले मल नपाउने, पाए पनि गुणस्तरहीन पाएको भन्ने चर्चा भइरहेको सन्दर्भमा आयोगले आज दायर गरेको मुद्दाले त्यो आशंकालाई बल पु¥याएको छ । रासस
पचास लाख नगदसहित सौर्य एयरलाइन्सका कर्मचारी पक्राउ
काठमाडौं । नेपाल प्रहरीले स्रोत नखुलेको रु ५० लाख नगदसहित सौर्य एयरलाइन्सका कर्मचारीलाई पक्राउ गरेको छ ।
प्रहरीको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले स्रोत नखुलेको रु ५० लाख नगदसहित मोरङको विराटनगर महानगरपालिका–४ की ३३ वर्षीया रेशा शाक्य पोखरेललाई शनिबार दिउँसो पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
विराटनगरबाट काठमाडौँ आउँदै गरेको सौर्य एअरलाइन्सको जहाजमा सोही एयरलाइन्सका विराटनगर स्टेशन इन्चार्ज प्रकाश पौडेलले सुरक्षा जाँचसमेत नगरी झोला राखेको सूचनाका आधारमा काठमाडौँमा जाँचका क्रममा उक्त नगदसहित प्रहरीले पोखरेललाई पक्राउ गरेको हो ।
पोखरेल सौर्य एयरलाइन्समा एसिसटेन्टका रुपमा कार्यरत रहेको अनुसन्धानबाट खुलेको छ । प्रहरीले उनीसँग एक हजारका दरले चार हजार ९०० थान र पाँच सयका दरका १०० थान गरी रु ५० लाख नगद बरामद गरेको हो ।
बरामद रकमसहित पोखरेललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको विमानस्थल प्रहरीले जनाएको छ
मानवअधिकार उल्लङ्घनका घटनामा कमी
चितवन । जिल्लामा मानवअधिकार उल्लङ्घनका घटनामा कमी आएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आयोजना गरेको मानवअधिकार वर्ष पुस्तक २०२२ को वार्षिक पूर्वसमीक्षा कार्यक्रममा मानवअधिकार उल्लङ्घनका घटनामा कमी आएको जनाएको हो । सन् २०२१ को नोभेम्बर १५ सम्म मानवअधिकार उल्लङ्घनका ९२ घटना भएका छन् ।
अघिल्लो वर्ष यसै अवधिमा ११० घटना भएका थिए । सन् २०२१ मा भएका घटनामा ८८ महिला र चार पुरुष पीडित बनेका छन् । इन्सेक चितवनका जिल्ला प्रतिनिधि दीपेन्द्र अधिकारीका अनुसार जिल्ला प्रहरी कार्यालय, जिल्ला अदालत र जिल्ला सरकारी वकिल कार्यालयमा परेका उजुरीका आधारमा घटना विवरण सङ्कलन गरिएको हो । बालअधिकार उल्लङ्घनका ५१, हत्याका चार, महिला अधिकार उल्लङ्घनका ३७ घटना भएको सो अवसरमा जानकारी दिइएको थियो । बलात्कारका घटनामा बालिका २९ र महिला १६ जना पीडित बनेका छन् । बालविवाह एक र बहुविवाहका १० घटना भएका छन् ।
यौन दुराचारमा १७ बालिका र एक बालक, जबर्जस्ती करणी प्रयासमा सात महिला पीडित बनेका छन् । बेचबिखनमा तीन महिला र तीन बालिका परेका छन् । कुटपिटबाट दुईको मृत्यु भएको छ भने धारिलो हतियार प्रहारबाट एक महिलाको ज्यान गएको छ । हत्या गरिएको अवस्थामा एक पुरुषको शव भेटिएको तथ्याङ्कमा उल्लेख छ । हत्या गर्ने व्यक्तिको पहिचान हुन सकेको छैन ।
सन् २०२० मा महिला बलात्कारका १५ र बलात्कार प्रयासका सात घटना भएको सो अवसरमा जानकारी दिइएको थियो । बालिका बलात्कारका ३६ र पाँच प्रयासका घटना भएका थिए । चार महिला र पाँच पुरुषको हत्या भएको थियो । छ बालिका बालयौन दुव्र्यवहारमा परेका थिए । बहुविवाहका १४ र आत्महत्या दुरुत्साहनका तीन घटना भएका इन्सेकले जनाएको छ । मानव बेचबिखनका चार, बम विष्फोटका एउटा, हातहतियारसम्बन्धी एउटा र राज्यविरुद्धका अपराधका पाँच घटना भएको अधिकारीले जानकारी दिनुभयो ।
गत असोज २८ गते कुटपिटबाट ज्यान गुमाएका भरतपुर महानगरपालिका–४ दुर्गाचोकका ५८ वर्षीय भीमबहादुर विकका परिवारले दुई महिना पूरा हुँदा अझै शव बुझेका छैनन् । हत्याको आरोपमा पक्राउ परेका दुईलाई आवेश प्रेरित हत्या भनेर मुद्दा चलाइएको छ । हत्या भएकै दिन नियन्त्रणमा लिएर अनुसन्धान गरिएको थियो । प्रहरीले गत कात्तिक २२ गतेदेखि आरोपितद्वयलाई पुर्पक्षका लागि थुनामा राखेको छ ।
समीक्षा कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ओमप्रकाश अधिकारीले मानवअधिकार उल्लङ्घनका घटना रोक्न सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । रासस