धनगढी । कैलालीमा वन कर्मचारीलाई कालो मोसो दलेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भजनी नगरपालिका-९ बस्ने ३९ वर्षीय पहल पुनमगर रहेको प्रहरीले जनाएको च ।
पक्राउ परेका पुनमगर नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता रहेको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी बेदप्रकाश जोशीले पुनमगरलाई कैलालीको पचमुडिया सव-डिभिजन वन कार्यालयका सहायक वन अधिकृत विश्वराज पण्डितलाई मोसो दलेको आरोपमा पक्राउ गरिएको बताए । आफूहरु विप्लवको कार्यकर्ता भन्दै यहि माघ १७ गते पण्डितलाई कालोमोसो दलिएको थियो।
घोडाघोडी ५ बाट अबैध सालको काठ बरामद
सुखड । प्रहरीले कैलालीको घोडाघोडी नगरपालिका ५ सरैयाबाट लुकाई छिपाई राखेको अवैध सालको काठ बरामद गरेको छ ।
गएराती साढे १० बजे सरैयामा बेवारिसे अवस्थामा सालको काठ लुकाई राखिएको भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय सुख्खडबाट खटी गएको प्रहरी टोलीले स्थानीय प्रेम चौधरीको घर आंगनको छेउमा तोरीको भुसा भित्र लुकाइ राखेको सालको कडि थान ५० (पचास) (४ फिट, ५ फिट र ७ फिटका गरि जम्मा २१ क्यु फिट) बरामद गरेको जनाइएको छ ।
बरामद गरिएको उक्त काठ आबश्यक कारवाहीको लागि बन डिभिजन कार्यालय पहलमानपुर कैलाली पठाईएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
लम्की । कैलालीमा प्रहरीले ओसारपसार भइरहेको अवस्थामा अवैध सालको काठ बरामद गरेको छ । जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ७ बडिगाउँस्थित सोल्टा चिसापानी सडक खण्डमा भे १ त ६४७९ नम्बरको ट्याक्टरलाई चेक जाँच गर्ने क्रममा ७ फिटे ४५ कडी थान अवैध सालको काठ बरामद गरिएको हो ।
कसेनी बाट चिसापानी तर्फ आउँदै गरेको चालक जिल्ला सुर्खेत चौकुने गाउँपालिका वडा नम्बर १० घाटगाउँ बस्ने अन्दाजी २० बर्षीय चक्र बहादुर थापाले चलाएको ट्याक्टरबाट उक्त काठ बराम गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । ट्याक्टरबाट २६.२५ क्यु फिट काठ बरामद गरिएको हो ।
उक्त ट्याक्टर र चालकलाई आबश्यक कारवाहीको लागि सब डिभिजन बन कार्यालय चिसापानी कैलाली पठाइएको प्रहरीले जनाएको छ ।
हराएको २४ लाख डोज खोप खोज्न छानबिन समिति गठन
काठमाडौं । हराएको भनिएको २४ लाख डोज कोरोनाविरुद्धको खोपको खोजी गर्न सरकारले छानबिन समिति बनाएको छ ।
कोरोना महामारी तिब्ररुपमा बढिरहँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ लाख मात्रा खोप रेकर्डमा नभएको जनाएको थियो । त्यति ठूलो संख्यामा खोप हराएको भन्दै खोप व्यवस्थापनलाई लिएर सरकारको आलोचना भइरहँदा मन्त्रालयले छानबिनका लागि ५ सदस्यीय समिति बनाएको हो ।
उक्त ५ सदस्यीय समितिले खोप अभिलेख विवरण अध्यावधिक गर्ने जिम्मेवारी पनि पाएको छ । समितिले २ हप्तामा प्रतिवेदन बुझाउने मन्त्रालयकी प्रवक्ता डा संगीता मिश्राले जानकारी दिइन् ।
४ वर्षीय बालिकामाथि बलात्कार गरेको आरोपमा मोहन्यालबाट १४ वर्षीय किशोर पक्राउ
कैलाली । कैलालीमा ४ वर्षीय बालिकामाथि बलात्कार गरेको आरोपमा १४ वर्षीय किशोर पक्राउ परेका छन् । जिल्लाको मोहन्याल गाउँपालिका ७ मा ४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको रोपमा १४ वर्षीय किशोर पक्राउ परेका हुन् ।
जबरजस्ती करणी भएको भन्दै बालिकाको परिवारले शनिबार साँझ प्रहरीमा जाहेरी दिएका थिए । बालिका बलात्कृतको आरोपमा १४ वर्षीय किशोर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।
बलात्कार आरोपमा पक्राउ परेका बालक पनि सोही गाउँका हुन् । बालिकाको स्वास्थ्य परीक्षण गरी आवश्यक अनुसन्धान अगाडि बढाइने कैलाली प्रहरीले जनाएको छ ।
कैलालीको एक होटलमा बस्दै आएका युवा मृत फेला
धनगढी । कैलालीको एक होटलमा बस्दै आएका युवा मृत फेला परेका छन् ।
गौरीगंगा नगरपालिका राजीपुरमा रहेको एक होटलमा घोडाघोडी नगरपालिका वडा नम्बर १ का करिब ३५ वर्षका साधन डान मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले उनलाई कोठाभित्र खाटमा घोप्टो परेको अवस्थामा फेला पारिएको जनाएको छ । उनी माघ ३ गतेदेखि उक्त होटलमा बस्दै आएका थिए ।
मृत्युको कारण खुलेको छैन । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले बताए।
सुर्खेत – जिल्ला अदालत दैलेखले मृत्यु भएका एक व्यक्तिलाई जन्मकैदको फैसला गरेको छ । कर्तव्य ज्यान मुद्दा चलिरहेका कसूरदारको मृत्युपछि जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको हो ।
दैलेख जिल्ला अदालतले डुंगेश्वर गाउँपालिका–२ की २५ वर्षीया डिलकुमारी बिक (तत्कालिन समयमा) लाई हत्या गरेको अभियोगमा डुंगेश्वर गाउँपालिका–१ बेलपाटाका शेरबहादुर बिष्टलाई २० वर्ष जन्मकैद फैसला गरेको हो ।
अदालतले विष्टलाई जीवित छँदा गरेको अपराधको भागिदार ठहर गरेको अदालतका श्रेस्तेदार इन्द्रबहादुर कार्कीले बताए । ‘जीवित छँदा गरेको अपराधमा सजाय गर्नु परे पनि अपराधीको मृत्युसँगै अपराध पनि मर्छ भन्ने फौजदारी न्यायको सर्वमान्य सिद्धान्तअनुसार सजाय असुल गर्न नपर्ने ठहर्ने फैसलामा व्याख्या गरिएको छ ।’ उनले भने, ‘२१ वर्षअघि २६ फागुन ०५७ मा बलात्कारपछि हत्या गरेको भन्ने आरोपमा ३ पुस ०७७ मा जिल्ला अदालतमा दर्ता भएको अभियोगमा मुद्दाको अनसन्धान चलिरहेकै बेला विष्टको ७५ वर्षको उमेरमा २८ जेठ ०७८ मा मृत्यु भएको थियो ।’
घटनाको भोलिपल्टदेखि नै फरार भएका विष्ट सिकिस्त बिरामी अवस्थामा असोज ०७७ असोजदेखि सुर्खेतमा बस्दै आएका थिए ।
नुवाकोट। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक सुरक्षा भत्ता र विभिन्न शीर्षकमा उठेको राजस्व रकम हिनामिनामा संलग्न नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ का वडा सचिव सरिता राउत, कार्यालय सहायक रामकुमार गिरी र सहयोगी निलप्रसाद मिश्रविरुद्ध शुक्रबार विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
उनीहरूले सरकारको सम्पत्तिको बदनियत गरी हानीनोक्सानी गरेकाले रु त्रिपन्न लाख एक हजार ८५६ बिगो कायम गरी निजहरूबाट असुलउपर हुनुपर्ने मागदाबी गर्दै आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ । गत चैत २४ गते राति सामाजिक भत्ता वितरण गर्न ल्याएको रकम र विभिन्न शीर्षकमा सङ्कलन भएको राजस्व कार्यालयबाटै हराएको भन्दै आयोगमा उजुरी परेको थियो ।
उक्त घटनाको अनुसन्धान हुँदा वडा सचिव राउत र कार्यालय सहायक गिरीले सामाजिक सुरक्षा रकम रकम बैङ्कबाट लिएर आएको तथा वडा सचिव, कार्यालय सहायक र सहयोगीको रहोबरमा कार्यालयको दराजमा राखिएको, दराजको सेफको चाबी वडा सचिव राउत र कार्यालय सहायक गिरीसँग रहेको र कार्यालयको चाबी सहयोगी मिश्रले बोकेको पाइएको आयोगले जनाएको छ ।
घटनापश्चात् कुनै पनि चाबी लगाएको ठाउँमा तोडफोड भएको नदेखिएको, सुरक्षा निकायलाई जानकारी नगराएको साथै सुरक्षाको लागि समन्वयसमेत नगरिएको देखिएको र वडा कार्यालयमा रकम राखी घर गएको देखिएको आयोगको अनुसन्धानबाट खुलेको छ ।
दुई सन्तानकी आमा भगाउने दुई सन्तानका बाबु पक्राउ
बैतडी । महिलालाई भगाएर लैजाँदै गरेका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको डिलाशैनी गाउँपालिका-१ का ३२ वर्षीय मनोज धामी रहेका छन् । बिहीबार महिलासहित पक्राउ परेका उनलाई आज आफन्तको जिम्मा लगाइएको छ ।
मुद्दा दर्ता गर्ने सहमतिपछि आज धामीलाई आफन्तको जिम्मा लगाएको सिमार प्रहरी चौकीले जनाएको छ । आइतबार जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गरिने प्रहरी सहायक निरीक्षक दिलीप कार्कीले बताए ।
आरोपित धामीलाई २७ वर्षीय एक महिलालाई भगाएर लैजाँदै गरेको अवस्थामा बिहीबार राती साढे ११ बजे सेला भन्ने ठाउँबाट नियन्त्रणमा लिइएको थियो । धामीले भगाएर लैजाँदै गरेको महिलाका आफन्तले प्रहरीलाई सूचना दिएपछि सिमार प्रहरीले जिपमा सवार दुबैलाई नियन्त्रणमा लिएको थियो ।
नियन्त्रणमा लिएको भोलिपल्ट शुक्रबार बिहान महिला र पुरुषका आफन्तलाई बोलाएर जिल्लामा मुद्दा दर्ता गर्ने सहमतिसहित आफन्तको जिम्मा लगाइएको हो ।
महिलालाई भने उनका ससुराको जिम्मा लगाएको र पुरुष धामीलाई उनका भाइ नातापर्ने एक व्यक्तिको जिम्मा लगाएको प्रहरी सहायक निरीक्षक कार्कीले बताए । शनिबार बिदा भएकोले आइतबार मुद्दा दर्ता गर्नेगरी दुवैलाई आफन्तको जिम्मा लगाएको उनले बताए । महिला र पुरुष दुवैका दुई-दुई सन्तान रहेका छन् । महिलाका श्रीमान् विदेशमा छन् ।
गाउँपालिकाबाट ५३ लाख चोरी :वडा सचिव, कार्यालय सहायक र सहयोगी विरूद्धमा मुद्दा
काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नुवाकोटको पञ्चकन्या गाउँपालिकाबाट ५३ लाख चोरी भएको विषयमा तीन जनाको विरूद्धमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिकाबाट सामाजिक सुरक्षा भत्ताको ५३ लाख चोरी भएको विषयमा वडा सचिव सरिता राउत, कार्यालय सहायक रामकुमार गिरी र कार्यालय सहयोगी निलप्रसाद मिश्र विरूद्धमा मुद्दा दर्ता गरेको हो । आयोगका सहप्रवक्ता वेदप्रसाद भण्डारीले शुक्रबार विशेष अदालत काठमाडाैँमा मुद्दा दयार गरेको जानकारी दिनुभएको छ ।
अख्तियारले जारि गरेको विज्ञप्तिमा अनुसार – “भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर हुन आएको हुँदा निजहरुलाई ऐ. ऐनको दफा १७ ले निर्देश गरेबमोजिम ऐ. ऐनको दफा ३ को उपदफा (१) र ऐ.ऐ. दफा ३ को उपदफा (१) को देहाय (ज) बमोजिम बिगो रु.५३,०१,८५६।– (अक्षेरुपी त्रिपन्न लाख एक हजार आठ सय छपन्न रुपैयाँ) कायम गरी सजाय हुन साथै, ऐ. दफा १७ बमोजिम हानिनोक्सानी भएको बिगो रकम निजहरु सरिता राउत, रामकुमार गिरी र निलप्रसाद मिश्रबाट असुलउपर हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५(१) एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज बिशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको” गरिएको छ ।