वीरगञ्ज । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–२३ मा नेकपा एमालेका दुई पक्षबीच झडप भएको छ । वडाध्यक्ष असलम देवान र वडाध्यक्षका प्रत्यासी मुस्तकिम अन्सारी पक्षबीच झडप भएको प्रहरीले जनाएको छ ।
मुस्तकिम पक्षका चाँद महम्मद, अनु आरुल महम्मद र मुस्ताक अन्सारी पनि घाइते भएका छन् । उनीहरूको वीरगञ्ज हेल्थकेयर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएको छ । बसरुदिन मिया, लाल महम्मद र अनिल महम्मदलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
बाटोको विषयमा विवाद हुँदा उनीहरूबीच झडप भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।
कञ्चनपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरस्थित कार्यालयले भीमदत्त नगरपालिकाबाट महाकाली नदी रोयल्टी ठेक्का सम्बन्धि कागजपत्र नियन्त्रणमा लिएको छ ।
नेकपा (एकीकृत समाजवादी)का प्रदेश कमिटी सदस्य खेम भण्डारीले भीमदत्त नगरपालिका सम्बद्ध अधिकारीहरूलाई तत्काल निलम्बनको माग गर्दै सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका थिए ।
आयोगले सोमबारनै भीमदत्त नगरपालिकाबाट आवश्यक कागजपत्र नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरका सूचना अधिकारी चन्द्रकान्त बस्नेतले बताए ।
नेता भण्डारीले महाकाली नदीको रोयल्टी ठेक्कामा राज्य कोषमा ३ करोड ३३ लाख रुपैयाँभन्दा धेरै नोक्सानी पु-याइएको दाबीसहित सोमबार हुलाकमार्फत् आयोगमा उजुरी दिएका थिए ।
यसअघि भण्डारीले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउने नाममा भीमदत्त नगरपालिकाले एक करोड रुपैयाँभन्दा बढी हिनामिना गरेको उजुरी दिएका थिए । उनको उजुरीपछि अख्तियार कागजात नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।
धनगढी । कैलालीमा बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एकजना पुरुष पक्राउ परेका छन् ।
जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ की ११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ५१ वर्षीय पुरुषलाई गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
गत चैत्र ३० गते बालिकामाथि दुर्व्यवहार गरिएको खबर आएपछि तुरुन्तै उनलाई पक्राउ गरिएको कैलाली प्रहरीको भनाई छ । उनीमाथि अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु भएको बताइएको छ ।
दलित महिला संघ(फेडो)द्वारा संचालित कानुनी साक्षरता ,नागरिक शिक्षामा क्षमता अभिवृद्धि सम्बन्धि तालिम सम्पन्न
बैनियाँ । दलित महिला संघ (फेडो ) कैलालीद्वारा बर्दगोरियामा समुदाय स्तरका महिलाहरुको लागि संचालित कानुनी साक्षरता ,नागरिक शिक्षामा क्षमता अभिवृद्धि सम्बन्धि दुई दिने तालिम सम्पन्न भएको छ ।
दलित महिला संघ (फेडो) का कैलाली जिल्ला सदस्य रमा बादीको सभापतित्व तथा बर्दगोरिया गाउँपालिका कार्यपालिका सदस्य बेलु देवि विकको प्रमुख आतिथ्यतामा तालीमको सोमबार समापन गरिएको हो ।
तालीममा सहभागीलाई लैङ्िगक हिंसा, जातीय भेदभाव ,घरेलु हिंसा र यसको कानुनी प्रावधान बारे कानुन व्यवसायी तथा अधिवक्ता गणेश कठायतले प्रशिक्षण दिनु भएको थियो ।
तालीममा २५ जना बढीको सहभागीता रहेको थियो । कार्यक्रम संचालन फेडोकी बर्दगोरिया संयोजक बाल कुमारी सुनारले गर्नु भएको थियो ।
श्रीमतीको कुटाइबाट श्रीमानको मृत्यु
हेटौंडा । हेटौंडामा श्रीमतीको कुटाइबाट श्रीमानको ज्यान गएको छ । हेटौंडा–३ जम्बोमा श्रीमतीको कुटाइबाट श्रीमान्को ज्यान गएको प्रहरीले जनाएको छ ।
मंगलबार साँझ घरायसी विवादका क्रममा ४१ वर्षीय अनिता विकको कुटाइबाट उनका श्रीमान् ४३ वर्षीय मित्रलाल सुनारको मृत्यु भएको हो ।
श्रीमतीको कुटाइबाट घाइते सुनारको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए । श्रीमतीलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।
कञ्चनपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले सोमबार यहाँको भीमदत्त नगरपालिका कार्यालयबाट छानविनका लागि भन्दै कागजात नियन्त्रणमा लिएको छ ।
अख्तियारमा लिखित उजुरी परेपछि सो उजुरीसँगै सम्बन्धित कागजात नगरपालिकाबाट नियन्त्रणमा लिइएको अख्तियार अनुसन्धान आयोग कञ्चनपुरका सूचना अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिनुभयो ।
“लिखित उजुरी परेपछि सोसँग सम्बन्धित कागजात मात्रै नियन्त्रणमा लिइएको हो”, उहाँले भन्नुभयो,“अब छानबिनको प्रक्रिया अघि बढ्यो ।” स्रोतका अनुसार अख्तियारले पुल निर्माणका विस्तृत परियोजना प्रतिवेदन, इञ्जिनियरिङ परामर्शदाता छनोट, सोसम्बन्धी भुक्तानी लगायतका कागजात नियन्त्रणमा लिएको हो ।
त्यसैगरी आयोगले केही दिनअघि मात्रै भीमदत्त नगरपालिकाबाट महाकाली नदीमा रोयल्टी सङ्कलनको ठेक्का पाएको यहाँस्थित भवानी कन्स्ट्रक्सन कम्पनीको कागजात नियन्त्रणमा समेत लिएर छानबिन गरिरहेको छ । नदीजन्य पदार्थमा रोयल्टी सङ्कलनको जिम्मा पाएको उक्त कम्पनीले प्रतिघन मिटर नदीजन्य पदार्थको रु ७५ उठाउनुपर्ने भए पनि रु १०५ सम्म सेवाग्राहीबाट लिएको अख्तियारीको भनाइ छ ।
काठमाडौ । एमालेका निलम्बित सांसद् मोहनलाल बानियाँ मुछिएको बलात्कारसम्बन्धी मुद्दाको अनुसन्धान प्रतिवेदनसहित जिल्ला सरकारी वकिल कार्यालय बाँकेले अदालतमा अभियोग पत्र दायर गरेको छ ।
अभियोग पत्रमा बानियाँले जाहेरवाली सुर्खेतकी एक महिलालाई नेपालगञ्ज-२ को अप्सरा होटलमा गत १८ माघमा बलात्कार गरेको तथ्य पुष्टि भएको उल्लेख छ ।
सरकारी वकिल कार्यालय बाँकेका अनुसार बानियाँले मुलुकी अपराधसंहिता २०७४ को दफा २१९ (२) अनुसारको कसूर गरेको तथ्यबाट पुष्टि भएको छ ।
‘…सुर्खेतबाट नेपालगञ्ज ल्याई नेपालगञ्ज-२ स्थित रहेको होटल अप्सराको कोठा नं. २१५ मा राखेकोमा निजले ऐ.१९ गते विहान अन्दाजी ५ः०० बजेको समयमा जाहेरवाली सुतेकै बेला पैसा आइसक्यो ढोका खोल भनि भनेको हुँदा जाहेरवालीले ढोका खोल्दा साथ निज प्रतिवादी मोहनलाल बानियाँ जाहेरवालीको कोठामा प्रवेश गरी जाहेरवालीलाई डर, त्रास र धम्की दिई जबर्जस्ती करणी गरेको तथ्य पुष्टि हुन आएको हुँदा प्रतिवादी मोहन बानियाँले मुलुकी अपराध संहिता, २०७४ को दफा (२१९) (१) विपरीत दफा (२१९) (२) बमोजिमको जबर्जस्ती करणीको कसूर गरेको पुष्टि हुन आयो’, सोमबार अदालतमा दायर अभियोग पत्रमा उल्लेख छ ।
सरकारी वकिल कार्यालयले पीडित महिलालाई मनासिव क्षतिपूर्ति दिलाउन र संहिताको २१९ (३) (ङ) अनुसार सजायको माग दबी पनि गरेको छ ।
काठमाडौं । सर्वोच्च अदालतमा तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, सुशीला कार्कीदेखि हाल कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीसम्म पाँच जना फेरिए । तर, २०औं वर्षदेखि सर्वोच्चमा अल्झिएको भ्रष्टाचारको मुद्दा सुनुवाइमा कुनै प्रगति हुन सकेको छैन ।
यो खबर आजको राजधानी दैनिकमा छ ।
काठमाडौँ – निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्ने स्थानीय तहका पदाधिकारीका नाममा पेस्की बेरुजु भए अनिवार्य फछ्र्योट हुनुपर्ने जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्थानीय तहमा उम्मेदवार दिने उम्मेवारको असुलउपर गर्नुपर्ने भए सो पनि फछ्र्योट भएको हुनुपर्ने बताउनुभयो ।
“आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेदवार बन्ने हालका स्थानीय तहका पदाधिकारीका नाममा पेस्की बेरुजु भएको भए फछ्र्योट भएको हुनुपर्छ”, उहाँले भन्नुभयो, “असुलउपर गर्नुपर्ने गरी किटानीका साथ उल्लेख गरेको बेरुजु छ भने त्यो पनि फछ्र्योट हुनुपर्छ ।” स्थानीय तहका बेरुजु भए पनि उम्मेदार हुने व्यक्तिको पेस्की बेरुजु र असुलउपर हुनुपर्ने बेरुजु फछ्र्योट भएको हुनुपर्ने उहाँको भनाइ छ ।
आयोगबाट स्वीकृत भएको निर्वाचन आचारसंहिता, २०७८ आज राजपत्रमा प्रकाशित भएको जानकारी दिँदै प्रवक्ता शर्माले आयोगले तोकेको मितिदेखि उक्त आचारसंहिता लागू हुने बताउनुभयो । आचारसंहिता पालनाको अनुगमनका लागि विभिन्न संयन्त्र बनाइएको उल्लेख गर्दै उहाँले आचारसंहिताको उल्लङ्घन गर्ने उम्मेदवारलाई निर्वाचन ऐनअनुसार कारबाही हुने बताउनुभयो ।
“उम्मेदवारलाई आचारसंहिताको पूर्ण पालना गर्न आयोगले निर्देशन दिन सक्छ, आयोगको निर्देशन पालना नगरे रु एक लाखसम्म जरिवाना हुनसक्छ”, प्रवक्ता शर्माले भन्नुभयो, “आचारसंहिता उल्लङ्घनका कारण स्वच्छ, भयरहित र मर्यादित वातावरणमा निर्वाच सम्पन्न गर्न बाधा पुग्ने भएमा आयोगले सम्बन्धित उम्मेदवारको उम्मेदवारी रद्द गर्न सक्छ ।” निर्वाचनलाई स्वच्छ, मर्यादित र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन आयोग आचारसंहिताको पालना गराउन पूर्ण प्रतिबद्ध रहेको उहाँको भनाइ छ ।
स्थानीय तह निर्वाचनका लागि आवश्यक मतदाता नामावली, मतदाता परिचयपत्रलगायत निर्वाचन सामग्री छपाइका लागि आज बोलपत्र प्रकाशन गरिएको आयोगले जनाएको छ । आयोगले निर्वाचनमा खटिने जनशक्तिको प्रतिव्यक्ति रु २० लाखको सामूहिक दुर्घटना बीमा गर्न राष्ट्रिय बीमा संस्थानसँग सम्झौता गरिएको जनाएको छ । आयोगले दर्ता भएका राष्ट्रिय मान्यता प्राप्तबाहेकका ७३ राजनीतिक दललाई निर्वाचनमा भाग लिने प्रयोजनका लागि यही चैत ६ गतेभित्र जिल्लास्तरको सङ्गठन संरचनाको विवरण पेश गर्न आग्रह गरेको छ ।
वडाध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्ज महानगरपालिका-१४ का वडाध्यक्ष भरतप्रसाद कुर्मी, वडा सचिव राजकुमार सिंह, तत्कालीन वडा सचिव अनामिका रौनियार, वडा सदस्यद्वय रफिक अन्सारी र सञ्जयकुमार पटेल तथा कार्यालय सहयोगी जीतेन्द्रकुमार कुर्मीविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अभियुक्तहरूले घरबाटोलगायत अन्य सिफारिसबापतको राजस्व रकम हिनामिना गरेको आयोगको अनुसन्धानबाट प्रमाणित भएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद सजाय तथा बिगो रकमको दोब्बर जरिवाना हुनुपर्ने मागदाबीका साथ आरोपपत्र दायर गरिएको जनाइएको छ ।
आरोपीबाट रु एक लाख दुई हजार ५८५ असुलउपर गराउन आरोपपत्रमा माग गरिएको छ । त्यसैगरी, अनामिका रौनियारबाट रु एक लाख ३१ हजार ९० बिगो कायम गरी त्यति नै रकम जरिवाना गर्न तथा कैद सजायको माग गरिएको छ ।