७४ वर्षीय ठूलोबुबाबाट २१ वर्षीया भतिजी बलात्कृत
बर्दिया – बर्दियाको मधुवन नगरपालिकामा २१ वर्षीया महिला बलात्कृत भएकी छन् ।
उनलाई बलात्कार तथा हाडनाता करणी गरेको अभियोगमा मधुवन नगरपालिका बस्ने उनकै ७४ वर्षीय ठूलोबुबालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
ठूलोबुबाले ती महिलालाई स्थानीय खेतबारीमा बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
पीडितलाई माईती नेपाल गुलरीया बर्दियाको संरक्षणमा राख्नुको साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले राष्ट्रपति, मन्त्री, न्यायाधीश र राजनीतिक दलका नेताहरूको बैंक खाता निगरानीमा राख्न बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ ।
बिहीवार सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी व्यवस्थामा संशोधन गर्दै केन्द्रीय बैंकले ‘उच्च पदस्थ’ व्यक्तिको परिभाषा संशोधन गर्दै बृहत् बनाएको हो ।
नयाँ प्रावधानले स्वदेशी उच्च पदस्थ व्यक्तिमा राष्ट्रपति, उपराष्ट्रपति, मन्त्री, व्यवस्थापिका–संसद्का सदस्य, संवैधानिक निकायका पदाधिकारी, सरकारको विशिष्ट श्रेणी वा त्यसभन्दा माथिका अधिकारी, उच्च अदालतका न्यायाधीश, उच्च राजनीतिज्ञ, राष्ट्रिय स्तरको राजनीतिक दलको नेता, केन्द्रीय पदाधिकारी, सरकारको पूर्ण वा आंशिक स्वामित्व भएको संस्थाका पदाधिकारी र त्यस्तो जिम्मेवारी पाएको व्यक्तिलाई परिभाषित गरेको छ ।
यसैगरी विदेशी उच्च पदस्थ व्यक्तिमा विदेशी राष्ट्रप्रमुख, सरकारप्रमुख, उच्च राजनीतिज्ञ, राष्ट्रिय स्तरको राजनीतिक दलको केन्द्रीय पदाधिकारी, उच्च प्रशासक, उच्च न्यायिक अधिकारी, उच्च सुरक्षा अधिकारी लगायतलाई राखेको छ । यो खबर आजको आर्थिक अभियान दैनिकमा छापिएको छ ।
छोरीको हत्या गरेको आरोपमा आमा पक्राउ
दाङ । दाङमा आफ्नै छोरीको हत्या गरेको आरोपमा आमा पक्राउ परेकी छिन् । १६ दिनकी शिशुको हत्या गरेको आरोपमा दाङको राप्ती गाउँपालिका ३ मसुरिया निवासी १५ वर्षीया आमा पक्राउ परेकी हुन् ।
उनलाई छोरीको हत्या गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिनुभएको छ । काफ्लेका अनुसार छोरी रोएपछि आमाले स्तनपान गराउँदा पनि रुने क्रम नरोकिएपछि आवेगमा आमाले आफ्नी नाबालिका छोरीलाई सेफ्टी ट्याङ्कीमा फालेको प्रहरी समक्ष बयान दिएको प्रहरीले जनाएको छ ।
आमाले जन्माएको १६ दिनको शिशुको बुधवार बिहान घर पछाडि रहेको सेप्टी ट्याङ्कीभित्र मृत अवस्थामा फेला परेको थियो । शिशुको शवको पोष्टमार्टमका लागि लमही अस्पताल पठाइएको छ । घटनाका विषयमा थप अनुसन्धान जारी रहेको दाङ प्रहरीले जनाएको छ ।
सात वर्षीया बालिका अर्ध गाडिएको अवस्थामा फेला
बीरेन्द्रनगर । सुर्खेतमा सात वर्षीया बालिका जंगलको खाल्डोमा अर्ध गाडिएको अवस्थामा मृत फेला परेकी छन् ।
सुर्खेतको गुर्भाकोट नगरपालिका–५ मेकबेतनी बस्ने धनबिर बिकको छोरी ७ वर्षीया गृष्मा बिक घर नजिकैको जंगलमा मंगलबार मृत अवस्थामा फेला परेकी हुन् ।
शनिबार भोजमा गएर फर्केकी हजुरआमा घरमा आउँदा नातिनी नदेखेपछि खोजी सुरु गरिएको थियो । खोजी गर्ने क्रममा खाल्डोमा अर्ध गाडिएको र निधारमा चोट लागेको अवस्थामा उनको शव फेला परेको हो ।
घटनाको आवश्यक अनुसन्धान एवम् सोधपुछका लागि एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रुखमा झुन्डिएको अबस्थामा एक महिलाको शब फेला
सुखड । कैलालीमा रुखमा झुण्डिएको अवस्थामा एक महिलाको शब फेला परेको छ ।
शनिबार जिल्लाको घोडाघोडी नगरपालिका ६ बसन्तामा रहेको एउटा सामुदायिक वनमा रूखमा झुण्डिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय सुखडका अनुसार ती महिलाको पहिचान हुन बाकी छ । घटनाका बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
सिरहा । सिरहाको अर्नमा गाउँपालिकामा एक साताअघि भएको बाबुछोराको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मृतकका बुहारीसहित तीन जनालाई पक्राउ गरेको छ ।
सो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतक चन्द्रेश्वरकी बुहारी २६ वर्षीया शान्तिदेवी, स्थानीय ४८ वर्षीय जनिफ मियाँ र सिरहाको गोलबजार नगरपालिका–४ का ६५ वर्षीय बेचु पाललाई पक्राउ गरेको हो ।
घटनालगत्तै सङ्घीय प्रहरी एकाइ कार्यालय जनकपुर, जिल्ला प्रहरी कार्यालय सिरहाको संयुक्त अनुसन्धान टोलीले अनुसन्धान थालेको थियो ।
घटनामा संलग्न रहेको पाइएपछि तीनै जनालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिनुभयो । उक्त घटनामा प्रयोग भएको खुकुरी र खुकुरी राखेको झोला र चार थान मोबाइलसमेत बरामद गरिएएको उहाँले बताउनुभयो ।
पारिवारिक रिसिइबीका कारण बाबुछोराको हत्या भएको खुलेको छ । पक्राउ परेका तीनै जनालाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
विशेष अदालतको अनौठो फैसला
काठमाडौं । विशेष अदालतले उच्च सरकारी वकिल कार्यालय पोखराका तत्कालीन सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापालाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ । अदालतले दुई फरक प्रकृतिको मुद्दालाई एकसाथ हेरेर सफाइ दिएको हो ।
विशेष अदालतका सदस्य रमेशकुमार पोखरेल, बलभद्र बास्तोला र डा. खुसीप्रसाद थारूको इजलासले सोमबार सफाइ दिएको हो । थापामाथि अख्तियारले तीन वर्षको फरकमा मुद्दा चलाए पनि विशेष अदालतले एकैसाथ दुई मुद्दा राखेर एकैदिन सफाइ दिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ लाख रुपैयाँ घुस लिएको आरोपमा २७ कात्तिक २०७५ मा थापामाथि घुस रिसवतको मुद्दा दायर गरेको थियो । यसैगरी, गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै २६ माघ २०७८ मा अर्को मुद्दा पनि दायर भएको थियो ।
उच्च सरकारी वकिलको कार्यालय पोखराको प्रमुख हुँदा सहन्यायाधिवक्ता थापाले पाँच लाख रुपैयाँ घुस खाएको आरोपमा अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उनले ठगी मुद्दामा जोडिएका एक व्यक्तिविरुद्धको मुद्दा माथिल्ला अदालतमा नलैजाने सर्तमा उनका बाबुसँग पाँच लाख रुपैयाँ घुस मागेका थिए । रंगेहात पक्राउ परेपछि सहन्यायाधिवक्ता थापाले बरामदी मुचुल्कामा हस्ताक्षर गर्न अस्वीकार गरेर आफूलाई फसाइएको भनी बयान दिएका थिए । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।
काठमाडौं । अभिनेत्री मिरुना मगरमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका बौद्ध भिक्षु फुर्वा लामा रिहा भएका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको आदेशपछि उनी रिहा भएका हुन् ।
आफूमाथि ब्याड टच गरेको भन्दै चलचित्र कबड्डी-४ की अभिनेत्री मिरुनाले लामालाई प्रहरीको जिम्मा लगाएकी थिइन् । अभद्र व्यवहार मुद्दामा अनुसन्धान गरिरहेको प्रहरीले जिल्ला प्रशासन कार्यालयमा हाजिर गराएको थियो । प्रजिअ रिजालको आदेशपछि उनी रिहा भएका हुन् ।
मिरुनाले आइतबार सुन्धारास्थित सिभिल मलमा आफूमाथि ब्याड टच गरेको आरोप लगाएकी थिइन् । उनको मौखिक उजुरीपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । उक्त घटनापछि उनको रिहाइ र मिरुनाले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गर्दै विरोध प्रदर्शन भइरहेको छ ।
अत्तरिया । कैलालीको गोदावरीको हरैयामा एक पुरुष झुण्डीएको र महिला घाँटी रेटिएको अवस्थामा मृत फेला परेका छन् ।
हरैया बस्ने ६५ वर्षीय हेम बहादुर एर र श्रीमती ५५ वर्षीय पदमा एर मृत फेला परेका हुन् ।
श्रीमान घर बाहिर झुण्डीएको अवस्थामा र श्रीमती घर भित्र ओछ्यानमा घाँटी रेटीएको अवस्थामा मृत फेला परेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
श्रीमतीको हत्यापछी श्रीमानले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएपनी घटनाबारे थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
बर्दगोरिया ३ मा बालबिबाह र बाल शोषण सम्बन्धि अभिभावकसंग अन्तरक्रिया सम्पन्न
बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा बालबिबाह र बाल शोषण सम्बन्धि अभिभावकहरु संग अन्तरक्रिया गरिएको छ । बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ को आर्थिक सहयोगमा परिवर्तनशील किशोरी समुहको आयोजनामा शुक्रबार उक्त कार्यक्रम गरिएको हो ।
बालबिबाह न्यूनीकरण तथा बाल श्रम शोषणका क्षेत्रमा राज्य तथा सरोकारवाला निकायले सचेतनामुलक कार्यक्रम गर्दै आएतापनि सामाजिक ,आर्थिक तथा बदलिदो परिवेशका कारण सामाजिक अपराधका रुपमा देखिदै आएको बालबिबाह न्यूनीकरण र बाल शोषण अन्त्यगर्नका लागि अभिभावकलाई नै पहिलो जिम्मेवारी बहन गराउने उदेश्यका साथ कार्यक्रम गरिएको आयोजक किशोरी समुहले जनाएको छ ।
समुहकी अध्यक्ष हेमु हमालको सभाअध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथिका रूपमा वडा नम्बर ३ का नवनिर्वाचित वडा अध्यक्ष मनऋषि आचार्य रहेका थिए । कार्यक्रममा सहभागी सरोकारवाला निकायले बालबिबाह न्यूनीकरण तथा बाल शोषण अन्त्यका लागि सबभन्दा पहिले घरपरिवार नै बढी जिम्मेवारी बन्नुपर्नेमा जोड दिए । उनीहरूले बालबालिकालाई बोझका रूपमा लिने प्रवृत्ति ,उनीहरूको इक्छाबिपरितको जिम्मेवारी बहन गराउने पारिवारिक कारण पनि बालबिबाह हुने गरेको भन्दै यसप्रति सचेत हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा बालबालिकाका अभिभावक, विभिन्न किशोरी समुह, भलमन्सा, जनप्रतिनिधि ,तथा विभिन्न संघ संस्थाका प्रमुख र प्रतिनिधिको उपस्थिति रहेको थियो ।