नाबालिग बलात्कार मुद्दाको हदम्याद अब तीन वर्ष
काठमाडौं । यौन हिंसाविरुद्धका केही ऐन संशोधन गर्न बनेको विधेयक २०७९ प्रतिनिधिसभाबाट पारित भएको छ । प्रतिनिधिसभाको सोमबार बसेको बैठकले सो विधेयक सर्वसम्मतिबाट पारित गरेको हो । हाल, १८ वर्षमुनिका नाबालिगले बलात्कार घटनामा बालिग भएको १ वर्षभित्र उजुरी गर्न मिल्ने व्यवस्था छ ।
विधेयकले मुलुकी अपराधसंहिताको दफा २२९ को हदम्यादसम्बन्धी व्यवस्थामा परिमार्जन गर्दै बलात्कारलगायत यौनहिंसाका घटनामा हदम्याद बढाएको हो ।
विधेयकमार्फत १८ वर्षमुनिका नाबालिगको बलात्कार अथवा यौन दुव्र्यवहारका घटना भए बालिग भएको तीन वर्षभित्र उजुरी गर्न मिल्नेगरी हदम्याद कायम गरिएको छ ।
त्यस्तै, १८ वर्षदेखि ७० वर्ष उमेर समूहमा भएको बलात्कार घटनामा उजुरीको हदम्याद दुई वर्ष कायम भएको छ । यो उमेर समूहमा पनि यसअघि एक वर्षभित्र उजुरी गर्नुपर्ने हदम्यादको व्यवस्था थियो ।
यौन हिंसाविरुद्धको विधेयक प्रतिनिधिसभाबाट पारित
यसैगरी, ७० वर्षमाथिका ज्येष्ठ नागरिक, सुस्तमनस्थिति भएका व्यक्ति र अपांगको हकमा पनि उजुरीको हदम्याद ३ वर्ष कायम भएको छ । सरकारले ल्याएको यौन हिंसाविरुद्धको केही ऐन संशोधनसम्बन्धी विधेयकमा प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले हदम्याद व्यवस्थामा परिमार्जन गरेको हो ।
त्यस्तै, विधेयकले बलात्कार घटनामा कैद सजायका अतिरिक्त जरिमाना व्यवस्था गरेको छ । यसरी प्राप्त हुने जरिमाना पीडित राहत कोषमा जम्मा हुनेछ । १० वर्षभन्दा कम वा १० वर्षदेखि १४ वर्षसम्म उमेरकी बालिका, पूर्ण अशक्त, अपांगता भएका वा ७० वर्षभन्दा बढी उमेरका महिला बलात्कार घटनामा कसुरदारलाई ७ लाख जरिमाना प्रावधान विधेयकमा राखिएको छ ।
त्यस्तै, १४ वर्षभन्दा बढी १६ वर्षभन्दा कम अथवा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए कसुरदारलाई ५ लाख र १८ वर्षभन्दा माथि उमेरकी महिला भए कसुरदारलाई तीन लाख जरिमाना गराउने प्रावधान गरिएको छ ।
सोमबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएपछि सभामुख अग्नि सापकोटाले विधेयक निर्णयार्थ पेस गरेका थिए ।
जबर्जस्ती करणीसम्बन्धी मुद्दामा झुटो उजुरी वा बकपत्र गर्ने व्यक्तिलाई बलात्कार मुद्दाको कसुरदारलाई हुने न्यूनतम सजायको आधा सजाय गर्ने प्रावधान नराख्नेगरी संसदीय समितिले प्रतिनिधिसभामा प्रतिवेदन पेस गरेको थियो ।
सरकारले ल्याएको विधेयकमा झुटो उजुरी गर्नेलाई आधा सजाय हुने व्यवस्था प्रस्तावित थियो । तर, समितिले सरकारले ल्याएको विधयकबाट सो व्यवस्था हटाइदिएको हो । तर, झुटो बकपत्रमा कारबाही हुने व्यवस्था हाल कायम रहेको मुलुकी फौजदारी कार्यविधि संहितामामा भने यथावत छ ।
कार्यविधिको दफा ४४ को दफा १ (क)मा झुटा कुरा लेखिदिने वा बनावटी व्यहोराको बकपत्र गर्ने साक्षीलाई तीन महिनासम्म कैद वा ५ हजार रुपैयाँसम्म जरिमाना वा दुवै सजाय गर्न सकिने व्यवस्था छ ।
कार्यविधिले यसरी सजाय गर्दा कसुरदारलाई हुने सजायको आधाभन्दा बढी कैद वा जरिमाना गर्न नमिल्ने व्यवस्था गरेको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।
बलात्कार मुद्दामा बालिगको एक वर्ष र नाबालिगको हकमा २ वर्ष हदम्याद बढाउने सहमति
काठमाडौँ । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले बलात्कार मुद्दामा हद म्याद बढाउने गरी सहमति जुटाएको छ ।
समितिको आज बसेको बैठकले यौन हिंसा विरुद्धका केही ऐन संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा बालिगको एक वर्ष र नाबालिगको हकमा २ वर्ष हद म्याद बढाउने सहमति जुटाएको हो ।
समितिले जुटाएको सहमति अनुसार अब कुनै पनि बलात्कारमा परेका नाबालिगले १८ वर्ष पूरा भएको अर्थात् बालिग भएको ३ वर्षसम्ममा उजुरी गर्नु पर्नेछ । यस्तै बालिगको हकमा भने घटना भएको दुई वर्ष भित्र उजुरी गर्नु पर्ने व्यवस्था गरिएको छ ।
थुनामा रहेको वा अपहरणमा रहेको अवस्थामा बलात्कारमा परेको भए थुनामुक्त वा अपहरणमुक्त भएको दुई वर्ष ३ महिना भित्र उजुरी गरिसक्नुपर्ने व्यवस्था गरिएको छ ।
यसैगरी अपाङ्गता, ज्येष्ठ नागरिक र सुस्त मनस्थिति भएका व्यक्तिले भने घटना भएको ३ वर्ष भित्र उजुरी गरिसक्नुपर्ने व्यवस्था गरिएको छ ।
सुर्खेत । राउटे समुदायकी एक युवतीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा जिल्ला अदालत सुर्खेतले दुई जनालाई सात वर्ष कैद र जनही दुई लाख जरिवाना तोकेको छ ।
बिहीबार सुर्खेत जिल्ला अदालतका न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने चौमन घर्ती मगर र भुपेन्द्र बुढा मगरलाई सात,सात वर्ष कैद र जनही दुई लाख रुपैयाँ जरिवाना तोकेको हो ।
उनीहरूले पीडित कोषमा जनही ८ हजार रुपैयाँ जम्मा गर्नुपर्ने छ । जिल्ला अदालत सुर्खेतका सूचना अधिकारी उज्वल रावलका अनुसार युवतीमाथि यौन दुर्व्यवहार गरिएको होटलका सञ्चालक मनबहादुर पुनलाई ३ वर्ष ६ महिना कैद र एक लाख रुपैयाँ जरिवाना तोकिएको छ ।
होटल सञ्चालक पुनले कैदसँगै १ लाख रुपैयाँ जरिवानासहित ४ हजार रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने छ । जेल सजाय र जरिवाना तोकिएका तीनै जनालाई २०७८ असार १६ गते पुर्पक्षका लागि जेल चलान गरिएको थियो ।
मनबहादुरले सञ्चालन गरेको बोटेचौरको शुभकामना होटलमा जेठ २१ गते राति ९ बजे राउटे युवतीलाई मदिरा खुवाएर यौन हिंसा गरेको भिडियो सार्वजनिक भएपछि २०७८ जेठ २३ गते प्रहरीले उनीहरूलाई प्रक्राउ गरेको थियो ।
घोडाघोडी नगरपालिकामा हतियारसहित प्रवेश गरि धम्काउने समुहलाई सर्वत्र कारबाहीको माग
घोडाघोडी । कैलालीको घोडाघोडी नगरपालिकाको कार्यालयमा ज्यानमार्ने धम्किसहित हतियार लियर प्रवेश गर्ने समुहलाई कडा कारबाहीको माग गरिएको छ ।
कानुनी राज्यको धज्जी उडाउडै सरकारी कार्यालय उडायर ध्वस्त पार्ने र कर्मचारीलाई ज्यान मार्ने धम्कीसहित बुधबार एकसमुह नगरपालिकाको कार्यालयमा धारिलो हतियारसहित प्रवेश गरेको थियो ।
घटनाको अहिले सर्वत्र विरोधसहित सो समुहलाई यथासक्य कानुनी कारबाहीको माग भएको छ । हतियारधारी समुहको चेतावनी पश्चात् कार्यालयमा कामगर्ने कर्मचारी त्रसित बनेका छ्न । घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै स्थानीय राजनीतिक दलहरुले बिहिवार सयुक्त वक्तव्य जारी गर्दै सो समुहलाई कानुनी कारबाही गर्न स्थानीय प्रशासन सङ्ग माग गरेको छ ।
यसैगरी बिहीवार नै बसेको नगरपालिकाको बैठकले घटनाको घोर निन्दा गर्दै दोषीलाई कडाभन्दा कडा कामकारबाहीको माग गरेको छ ।
बुधबार नगरपालिकाको बैठक चलिरहेको समयमा एक हतियारधारी समुह कार्यालय प्रवेश गरि कर्मचारीलाई आतंकित पार्ने र नगरपालिकाको कार्यालय उडाइदिने चेतावनी दिएको थियो ।
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न ११ सदस्सीय संसदीय छानबिन समिति बनाइने भएको छ । बजेट निर्माण तथा करको दायरा हेरफेरमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोपमा मुछिएका मन्त्री शर्मामाथि संसदीय छानबिन समिति बनाउन लागिएको हो ।
‘संसदीय छानबिन सहमति बनाउने सहमति भएको छ,’ लोसपाका प्रमुख सचेतक लक्ष्मणलाल कर्णले भन्नुभयो । उहाँका अनुसार सो समितिमा बस्ने सदस्यको नामावली तयारी हुँदैछ ।
सहमति अनुसार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट चार जना, नेपाली कांग्रेस र माओवादी केन्द्रबाट २–२ जना, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीबाट १–१ जना गरी ११ सदस्सीय छानबिन समिति बनाउन लागिएको हो । ‘समिति बनाउनु भनेको राजीनामा सरह हो,’ एमाले सांसद योगेश भट्टराईले भन्नुभयो । उहाँका अनुसार छानबिन समिति बनाएर अर्थमन्त्री शर्माले गरेको काम कारबाहीमाथि सांसदहरूले अनुसन्धान गर्नेछन् ।
हत्या आरोपित मेयर चलाउनेमाथि मुद्दा नचल्ने !
अछाम । विनोद शाहीको हत्यामा संलग्न रहेको आरोप लागेकी अछामको पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउनेविरुद्ध मुद्दा नचल्ने भएको छ ।
सरकारी वकिलको कार्यालयले प्रमाण नपुगेको भन्दै मेयर चलाउनेसहित तीनजनाविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको हो
मेयर चलाउनेसहित नेत्रबहादुर शाही र रामबहादुर शाहीमाथि मुद्दा चलाइएको छैन । हत्यामा संलग्न रहेको आरोपमा अन्य १० जनाविरुद्ध मुद्दा चलाइएको छ ।
कक्षा–१० मा अध्ययनरत पञ्चदेवल विनायक नगरपालिका–४ का १७ वर्षीय विनोदबहादुर शाही गएको जेठ २१ गते बिहान १० बजेर २० मिनेटमा मृतावस्थामा फेला परेका थिए ।
शाही जेठ १७ गते रातिदेखि बेपत्ता भएका थिए । उनी घर नआएपछि खोजी कार्य सुरु गरिएको थियो । खोजीका क्रममा २१ गते घरनजिकैको जंगलमा मृत अवस्थामा फेला परेका थिए ।
किमाथाङ्का । जिल्ला अदालत सङ्खुवासभाले मादी हत्या प्रकरणमा संलग्न पाँचमध्ये चार जनालार्ई आजीवन कारावासको फैसला सुनाएको छ । जिल्ला अदालत सङ्खुवासभाले एकै परिवारका ६ जनाको हत्यामा संलग्न चार जनालाई आजीवन र एक जनालाई २५ वर्षको दुई तिहाइ कारावास फैसला सुनाएको हो ।
विसं २०७८ भदौ २१ गते सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङको खोला गाउँमा एकै परिवारका ६ जनाको हत्या भएको थियो । जिल्ला अदालतका न्यायाधीश शान्तिप्रसाद आचार्यको इजलासले एकै परिवारका ६ जनाको हत्यामा संलग्न पाँच जनालाई कसुरदार ठहर गर्दै सोमबार फैसला सुनाएको जिल्ला अदालतका श्रेस्तेदार केदारप्रसद गौतमले जानकारी दिनुभयो । हत्यामा संलग्न मादी –१ का २८ वर्षीय लोकबहादुर कार्की, ४७ वर्षीय खड्गबहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्कीलाई आजीवन कारवास र १७ वर्षीय नरेश कार्कीलाई भने २५ वर्षको दुई तिहाइ कारावास फैसला सुनाएको श्रेस्तेदार गौतमले बताउनुभयो ।
जिल्ला अदालतका न्यायाधीश आचार्यको इजलासले सोही दिन मृतक परिवारको राहत कोषमा चार जनाले रु दुई, दुई लाख क्षतिपूर्ति र पीडित राहत कोषमा रकमसमेत जम्मा गर्ने आदेश भएको जिल्ला अदालत सङ्खुवासभाले जनाएको छ । उनीहरु सबै मृतक तेजबहादुर परिवारकै नाताका व्यक्ति हुन् । जिल्ला प्रहरी सङ्खुवासभाले पनि चार जनाविरुद्ध आजीवन कारवास सजाय माग दाबी गरेको थियो ।
गत २०७८ भदौ २१ उम्लिङ खोला गाउँका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, ८ वर्षका विपीन र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको थियो । हत्यामा संलग्न भएका १७ वर्षीय नरेशलाई बाल सुधारगृह भक्तपुर र अन्य चार जनालाई जिल्ला कारागार खाँदबारीमा राखिएको थियो ।
अछाम । अछामको पञ्चदेवल नगरपालिका वडा नम्बर ४ का विनोद शाहीको हत्यामा संलग्न आरोप लागेका मेयर अम्बिका चलाउने पक्राउ परेकी छन् । गत जेठ २१ गते मृतावस्थामा भेटिएका विनोदको घटनामा संलग्न रहेको उजुरी परेपछि प्रहरीले मेयर चलाउनेसहित ७ जनालाई नियन्त्रणमा लिएको हो ।
आफन्तले विनोन शाहीको हत्या भएको भन्दै नगरप्रमुख चलाउनेसहित १३ जनाविरुद्ध जाहेरी दर्ता गराएका थिए । गत जेठ १७ गते साँझ नेपाली कांग्रेस र नेकपा (एमाले)का कार्यकर्ताबीच पञ्चदेवलमा विवाद भएको थियो । त्यसपछि बेपत्ता भएका विनोदको शव २१ गते विहान स्थानीयले फेला पारेका थिए ।
प्रहरीले जाहेरी दर्ता भएकोमध्ये पाँचजनालाई यसअघिनै नियन्त्रणमा लिएको थियो । सोही क्रममा थप दुईजनालाई हिजो (शनिबार) मात्रै नियन्त्रणमा दिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
प्रहरीका अनुसार शनिबार पञ्चदेवल विनायक नगरपालिकाकी नवनिर्वाचित मेयर अम्बिका चलाउने र नेत्र शाहीलाई नियन्त्रणमा लिइएको हो । घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको प्रहरीले जनाएको छ ।
जनकपुरधाम । नक्कली नागरिकता सिफारिस गरेको अभियोगमा धनुषा जिल्ला अदालतले जनकपुरधाम उपमहानगरपालिका–८ का पूर्व वडाध्यक्ष एवं वडा सचिवविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
जनकपुरधाम उपमहानगरपालिका–८ का पूर्व वडाध्यक्ष रमेश ठाकुर र वडा सचिव माधव रायले नक्कली नागरिकताको सिफारिस गरेको भन्दै अदालतबाट पक्राउ पुर्जी जारी भएको हो ।
अदालतले पक्राउ पुर्जी जारी गरेपछि हाल दुवै जना फरार भएको र प्रहरीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
नागरिकता प्राप्त गरिसकेका व्यक्तिलाई पुनः जनकपुरधाम–८ बाट नागरिकताकै लागि सिफारिस गरेपछि उनीहरूका विरुद्ध विभिन्न निकायमा मुद्दा परेको थियो ।
बर्दिया । बर्दियासँग जोडिएको भारतीय सिमाना मुर्तीहाको घना जंगलमा निहुरो टिप्न गएका एक नेपाली माथि गोली प्रहार भएको छ । बिहीबार बेलुकी निहुरो टिप्न गएका गुलरिया नगरपालिका–३ का ५४ वर्षीय हेमराज गोडियामाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ ।
गोली लागेर घाइते भएका गोडिया भाग्दै घर नजिक पुगे पनि अत्याधिक रगत बगेसँगै उनको मृत्यु भएको छ ।
थोली उनलाई कसले गोली हानेको हो खुलिसकेको छैन । उनलाई भारतीय वन रक्षकले गोली प्रहार गरेको आशंका गरिएको छ । कतरनिया वन्यजन्तु आरक्ष भएका कारण अनधिकृत रुपमा जंगल प्रवेश गरेको भन्दै वन रक्षकले गोली हानेको शंका गरिएको छ । उनको शव गुलरिया अस्पतालमा शव परीक्षण पछि शुक्रबार दिउँसो आफन्तीले बुझेर लगेका छन् ।