गोदावरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा
कैलाली ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको गोदावरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्टसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
बिभिन्न निर्माण व्यवसायीबाट कार्य सम्पादन भएका १३ वटा सडकका ठेक्काहरुमा ठूलो रकम हिनामिना गरेको पाइएपछि अख्तियारले उनीहरुविरुद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
अख्तियारमा मुद्दा दायर गरेका अन्यमा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत देव राज जोशी, तत्कालीन इन्जिनियर पुर्ण कुँवर, तत्कालिन सब–इन्जिनियर भक्तराज जोशी, तत्कालीन सब–इन्जिनियर नरेन्द्र शाही, प्राविधिक पूर्वाधार कार्यालयमा कार्यरत ल्याब टेक्निसियन धन बहादुर बिष्ट र निर्माण व्यवसायी सन्तोष जोशी रहेका छन् ।
अख्तियारले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टसँग ४२ लाख ५३१ रुपैयाँ, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत देव राज जोशीसँग ६ लाख ६८ हजार २२० रुपैयाँ, तत्कालिन इन्जिनियर पुर्ण कुँवरसँग ४८ लाख ७८ हजार ७५१ रुपैयाँ, तत्कालिन सब–इन्जिनियर भक्तराज जोशीसँग २७ लाख ५८ हजार ४३२ रुपैयाँ, तत्कालिन सब–इन्जिनियर नरेन्द्र शाहीसँग २१ लाख २० हजार ३१९ रुपैयाँ र निर्माण व्यवसायी सन्तोष जोशीसँग ३७ लाख ९८ हजार ९४५ रुपैयाँ बिगो दाबी गरी मुद्दा दायर गरेको छ ।
बौनिया । कैलालीमा झण्डै २६ लाख भारतीय रुपैयाँ र दुई तोला सुन प्रहरीले बरामद गरेको छ ।
जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ सुन्दरपुर स्थित दुर्गा चलाउनेको घर नजिक खेतबारीमा खाडलमा प्लाष्टिकको झिल्ली भित्र स्टिलको डिब्बामा लुकाई छिपाई गरी राखेका २ लाख २२ हजार र जिल्लाको घोडाघोडी नगरपालिका वडा नं. ८ बस्ने लाल बहादुर थापाको घर नजिकको खेतबारीमा खाल्डो खनी पलास्टिकको भित्र लुकाई छिपाई गरी राखेको २३ लाख ४६ हजार भारतीय रुपैयाँ र २ तोला स-साना सुनका टुक्रा गरि कुल २५ लाख ६८ हजार रुपैयाँ प्रहरीले बरामद गरेको जनाएको छ ।
बिहीवार विशेष सूचनाको आधारमा सो रुपैयाँ र सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीले सो घटना बारे आबस्यक अनुसन्धान अघि बढाएको जनाएको छ । भारतका विभिन्न शहरबाट नेपाली कामदारले चोरी गरेर सो रकम नेपाल ल्याइएको प्रहरीले जनाएको छ ।
बागमती प्रदेशको निकायमा ७२ करोड बेरुजु
बागमती। बागमती प्रदेशको सरकारी निकायमा रु ७२ करोडभन्दा बढी बेरुजु रहेको पाइएको छ ।
हेटौँडामा आयोजित सुशासनका लागि संसद्, सांसद र संसदीय समितिको भूमिका विषयक सार्वजनिक सुनुवाइ कार्यक्रममा उक्त प्रदेशको सार्वजनिक लेखा समितिका सभापति न्हुच्छेनारायण श्रेष्ठले सो परिमाणको बेरुजु रहेको बताउनुभएको हो ।
उहाँले सरकारी कार्यालय, समिति तथा संस्थामा अब बेरुजु हुन नदिन समितिले सजग गराउनाका साथै ताकेतासमेत गरिरहेको बताउनुभयो ।
समितिले दिएको निर्देशको पूर्णपालना नभएको उल्लेख गर्दै सभापति श्रेष्ठले सुशासनका लागि कुनै सम्झौता नगरिने प्रतिबद्धता पनि जनाउनुभयो । आज भएको सुनुवाइमा बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशको समग्र सुशासनका लागि संसदीय समितिलाई प्रभावकारी बनाउन छलफल र परामर्श अगाडि बढाइने उल्लेख गर्नुभयो ।
उहाँले विकास निर्माणलगायत क्रियाकलापमा अनियमितता तथा अपारदर्शिताबारे विभिन्न सञ्चार माध्यममा आएका समाचारमा पनि संसद् र संसदीय समितिले चासो दिनुपर्नेमा जोड दिनुुभयो । युएनडिपीको संसदीय सहयोग परियोजनासँगको सहकार्यमा सामुदायिक सूचना नेटवर्कद्वारा आयोजित उक्त कार्यक्रममा गैरसरकारी संस्था महासङ्घ बागमती प्रदेश समितिका अध्यक्ष आरती पाठकले कानुन निर्माणमा सरोकारवाला निकायको सहभागिता कमजोर भएकाले आगामी दिनमा सुधार गर्दै जान सुझाव दिनुभयो ।–रासस
कैलालीको लम्कीचुहामा एक युवक मृत अवस्थामा फेला
लम्की । कैलालीको लम्कीचुहामा एक युवक मृत अवस्थामा फेला परेका छन्।
आइतबार जिल्लाको लम्कीचुहा नगरपालिका ७ का २८ वर्षीय जय कृष्ण न्यौपाने मृत फेला परेका प्रहरीले बताएको छ।
उनी लम्कीचुहा १ स्थित विद्युत कार्यालयको गेट नजिक मृत भेटिएका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।
पन्ध्र हजारले बुझाएनन् सम्पत्ति विवरण
काठमाडौं ।आर्थिक वर्ष २०७७/७८ मा कूल १५ हजार ४०९ ले सम्पत्ति विवरण नबुझाएको पाइएको छ । राष्ट्रिय सतर्कता केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाएको प्रतिवेदनअनुसार आव २०७६/७७ को तुलनामा आव २०७७/७८ मा सम्पत्ति विवरण बुझाउनेको सङ्ख्यामा बढोत्तरी भएको छ ।
आव २०७६/७७ मा कूल छ लाख ५० हजार १२८ अर्थात् ९७.२८ प्रतिशतले विवरण बुझाएकामा आव २०७७/७८ मा कूल छ लाख ८१ हजार २१५ अर्थात् ९७.७९ प्रतिशतले विवरण बुझाएका छन् ।
केन्द्रका अनुसार सङ्घीयतर्फ नौ हजार ७९७, प्रदेशतर्फ ५७४ र स्थानीय तहका पाँच जार ३८ जनाले सम्पत्ति विवरण बुझाएका छैनन् । केन्द्रका सचिव सुशीलचन्द्र तिवारीले आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई प्रतिवेदन बुझाउनुभएको हो । केन्द्रका प्रवक्ता ज्ञानराज सुवेदीका अनुसार प्रतिवेदन ग्रहण गर्दै प्रमुख आयुक्त राईले आगामी दिनमा आयोग र केन्द्रले एक अर्कामा समन्वय र सहकार्य बढाउने बताउनुभयो ।
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको छायाँनाथ रारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर सारु लगायत पाचँ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले विशेष अदालत काठमाडौंमा आज मुद्दा दायर गरेका अन्यमा इञ्जिनियर महेश सिंह, असिस्टेन्ट सव–इञ्जिनियर हस्त बहादुर मल्ल, उपभोक्ता समितिका अध्यक्ष राममाया मल्ल र कोषाध्यक्ष रत्नादेवी हमाल रहेका छन् ।
छायाँनाथ रारा नगरपालिकाले वडा नं. २ मा पर्ने पैदल बाटोमा पक्की सिंढी निर्माण गर्ने गरी आर्थिक वर्ष २०७४/०७५ मा विनियोजन भएको रकम हिनामिना गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो ।
अनुसन्धानमा उनीहरु सबै मिलेर २९ लाख ७७ हजार ८२१ रुपैयाँ ११ पैसा रकम हिनामिना गरेको पाइएको अख्तियारले जनाएको छ ।
भाइरल “मिदी” पुलिस प्रहरी खोरमा
बौनिया । बिगत केही दिनयता आफ्नो हास्य मिश्रित भनाइसहितको भिडिओबाट भाइरल भएका किशोरलाई प्रहरीले पक्राउ गरेको छ।
करिब ३० सेकेन्डको यो भिडिओका कारण चर्को आलोचना भएपछि खोजी गरिरहेको प्रहरीले ती किशोरलाई बुधबार पक्राउ गरेको हो। ती किशोरको भिडिओ फेसबुक र टिकटकमा रातारात भाइरल भएपछि प्रहरीले पक्राउ गरेको हो।
पक्राउ परेका किशोर कपिलवस्तुको वाणगंगा नगरपालिका-४ का १६ वर्षीय नवराज रेग्मी हुन्। म्यादी प्रहरीको पोसाकमै सेल्फी भिडिओ सुट गर्दै उनले आफू मिदीमा भर्ना भइसकेकाले आफ्ना साथीहरुलाई जे जे गर्न मन लाग्छ गर्नु भनेका थिए।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी दानबहादुर कार्कीका अनुसार उनलाई पक्राउ गरेर सार्वजनिक अपराध अन्तर्गत मुद्दा दर्ता गरिएको छ।
‘म्यादी प्रहरीको पोसाकमै मिदी मिदी भन्ने किशोरलाई समातेका छौँ। सार्वजनिक अपराधको मुद्दा चलाइएको छु,’उनले भने, ‘गाँजा खान्छु खुवाउनुपर्छ भन्ने कुरा गम्भीर हो। अर्को उसले प्रहरी पोसाकको दुरुपयोग गर्यो।’अनुसन्धानका क्रममा ती किशोर म्यादी प्रहरीमा भर्ना नै नभएको खुलेको छ।
मृतावस्थामा एक युवक फेला
कञ्चनपुर । महेन्द्रनगरस्थित नाइन इलेभन होटलेको कोठामा आज एक जना युवक मृतावस्थामा फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार भीमदत्त नगरपालिका–१५ निम्बुखेडाका २१ वर्षीय मुकुल पाण्डेय होटेलको कोठामा मृतावस्थामा फेला परेका हुन् । पाण्डेयको मृत्युको कारण खुल्न नसकेको र घटनास्थल सिल गरी अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।
डडेलधुरा । निर्वाचन आचारसंहिताको उल्लङ्घन गरेको भन्दै सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री गोविन्दराज बोहराविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । मन्त्री बोहराले नेपाली काँग्रेस डडेलधुराले आयोजना गरेको चुनावी आमसभामा सहभागिता जनाएको भन्दै उजुरी परेको हो ।
स्थानीय तह निर्वाचन, २०७९ प्रयोजनका लागि जारी भएको आचारसंहिताको परिच्छेद ३ मा पदाधिकारी, कर्मचारी तथा निकायले पालना गर्नुपर्ने प्रावधान अन्तर्गत नेपाल सरकार, प्रदेश सरकार, मन्त्री, स्थानीय कार्यपालिका तथा पदाधिकारीले पालना गर्नुपर्ने आचरणमा कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचार प्रसार गर्न नहुने उल्लेख छ ।
सोही बुँदाको अवज्ञा गरेको भन्दै सर्वसाधारणले दिएको तस्बिर र भिडियोसहितको प्रमाणका आधारमा मन्त्रीविरुद्ध उजुरी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेलधुराले जनाएको छ । उजुरी दर्ताका सम्बन्धमा आवश्यक निर्णय गरी सम्बन्धित निकायमा सूचना पठाइसकेको र छानबिनको प्रक्रियामा रहेको मुख्य निर्वाचन अधिकृत हरिप्रसाद शर्मा पङ्गेनीले जानकारी दिनुभएको छ ।
मन्त्री बोहरा मन्त्रालय छाडेर अमरगढी नगरपालिकाका विभिन्न वडाहरूमा गरिएका चुनावी प्रचारप्रसार कार्यक्रममा सहभागी भएका थिए । अमरगढीमा काँग्रेसबाट नगरप्रमुखमा डिल्लीराज जोशी र उपप्रमुख पार्वती झुकाल उम्मेदवार छन् ।
हुम्लामा म्यादी प्रहरीको मृत्यु
सिमकोट। हुम्ला सदरमुकाम सिमकोटमा एक म्यादी प्रहरीको मृत्यु भएको छ । सिमकोटको माथिल्लो बजारमा साथीको डेरामा बस्दै आएका सर्केगाड गाउँपालिका–६ का ४५ वर्षीय जसबहादुर रोकायाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाका अनुसार कोठामा झ्याल ढोका सबै बन्द गरेर सुतेका रोकाया बिहीबार मृत अवस्थामा भेटिएका थिए । मृत्युको कारण खुल्न सकेको छैन । घट्नाबारे प्रहरीले अनुसन्धान थालेको छ ।