बर्दगोरियामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबर्द्धन सम्बन्धि अन्तरक्रिया सम्पन्न
बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबर्द्धन ’ विषयक पालिका स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कंचनपुरको आयोजनमा पालिकाको वडा नम्बर १ मा सोमबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । आयोगको कंचनपुर जिल्ला कार्यालय प्रमुख राम बहादुर कुरुम्बाङको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर रहेका थिए ।
कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका शाखा अधिकृत नारायण प्रसाद ढकालले “भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबर्द्धन ” विषयक सम्बन्धि प्रशिक्षण गराएका थिए ।सो क्रममा उनले अख्तियार आयोगको काम, कर्तव्य र अधिकारसँगै पालिकालाई भ्रष्टाचार मुक्त पालिका बनाउन पालिकाले कस्तो भुमिका खेल्ने ? भ्रष्टाचार गरेमा कानुनी प्रावधान कस्तो रहेको छ ? भन्ने विषयमा प्रष्ट पारेका थिए ।
कार्यक्रममा सहभागी पालिकाका जनप्रतिनिधि, सरकारी कर्मचारी, विभिन्न संघसंस्थाका कर्मचारीहरूले आ–आफ्नो जिज्ञासा र गुनासो राख्दै अख्तियारलाई सुझावसमेत दिएका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कंचनपुरका अनुसार बर्दगोरियाको हकमा चालु आर्थिक वर्षको मंसिर महिना सम्म कुनै उजुरी दर्ता भएको छैन भने गत आर्थिक वर्षको हकमा १ वटा उजुरी मात्र दर्ता भएको छ ।
अर्जेन्टिनाका बहालवाला उपराष्ट्रपतिलाई भ्रष्टाचारकाे आरोपमा ६ वर्ष जेल सजाय
काठमाडौं । अर्जेन्टिनामा बहालवाला उपराष्ट्रपति क्रिश्टिना फर्नान्डेज डी कर्चरलाई भ्रष्टाचारकाे आरोपमा ६ वर्षको जेल सजाय सुनाइएको छ ।
उपराष्ट्रपति कर्चरले सार्वजनिक निर्माणको कामको ठेक्का आफ्नो साथीलाई दिएको ठहर गर्दै अदालतले ६ वर्षको जेल सजाय सुनाएको हो । उहाँलाई कुनै पनि सार्वजनिक पदमा बस्नबाट पनि अदालतले प्रतिबन्ध लगाएको छ । माथिल्लो अदालतमा अपील गर्ने बाटो खुला रहेको र उक्त प्रक्रिया निकै लामो रहेकाले तत्काल जेल भने जानुपर्ने अवस्था भने नरहने जनाइएको छ ।
तर बहालवाला उपराष्ट्रपतिलाई भ्रष्टाचार आरोपमा जेल सजाय नै दिने अदालतको फैसलाले सिंगो अर्जेन्टिनालाई हल्लाएको छ । अर्जेन्टिनाको इतिहासमा बहालवाला उपराष्ट्रपति माथि न्यायिक अंगबाट यो प्रकारको अभियोग पुष्टि भएको पहिलो पटक हो। सन् २००७ देखि २०१५ सम्म राष्ट्रपति रहेको बेला क्रिश्टिनाले सार्वजनिक निर्माणको ठूलो काम आफ्नो ब्यापारी साथीलाई जिम्मा दिएर घुस लिएको ठहर अदालतले गरेको छ ।
घुस दिने ब्यपारी लाजारो बाएजलाई भने यस अघि नै ६ वर्षको जेल सजाय सुनाएर पनि कारागारमा राखिएकाे छ । ११ जना विरुद्ध मुद्दा चलिरहेको र ती मध्ये ७ जना दोषी ठहर भइसकेका छन् । अहिलेसम्मकै सबै भन्दा ठूलो भ्रष्टाचार भनिएको यो सार्वजनिक निर्माणको काम दर्जनौं ठेक्कासँग जोडिएको र ति काम अहिले पनि लथालिैग अवस्थाा रहेको जनाइएको छ ।
कैलालीको जोशीपुरमा भिनाजुको हँसिया प्रहारबाट सालाको मृत्यु, एक गम्भीर घाइते
जोशीपुर । कैलालीमा भिनाजुले गरेको हसिया प्रहारबाट साला नाता पर्ने एक जनाको मृत्यु भएको छ। अर्को एक जना घाइते भएका छन्। हसिया प्रहारबाट जोशीपुर गाउँपालिका-६ कुमारी बाग बस्ने ३३ वर्षीय पदमराज भण्डारीको मृत्यु भएको हो।
भिनाजु नाता पर्ने स्थानीय ५० वर्षीय गौरीलाल ढुङ्गानाले साला नाता पर्ने भण्डारीमाथि हसिया प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी वेदप्रसाद जोशीले बताएका छन्। भिनाजुको हसिया प्रहारबाट अर्का साला ४० वर्षीय जयराज भण्डारी गम्भीर घाइते भएका छन्।
उनको उपचारका लागि कोहरलपुर रिफर गरिएको डीएसपी जोशीले बताए। मंगलबार राती करिब ९ बजे भएको घटनापछि आरोपित ढुङ्गाना फरार हरेको प्रहरीले जनाएको छ। डीएपी जोशीले फरार भएका ढुङ्गानाको खोजीका लागि प्रहरीको दुई वटा टोली परिचालन गरिएको बताएका छन्।
विवाहित छोरीले समेत अंश पाउने अदालतको फैसला
काठमाडौँ । अंश मुद्दामा नवलपुर जिल्ला अदालतले विवाहित भए पनि छोरीलाई समेत अंश दिनुपर्ने फैसला गरेको छ ।
नवलपुर जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले अंश विवादमा विवाह भइसकेकी छोरीले समेत अंश पाउने फैसला सुनाएको छ । फैसलामा अंश पाउने हकदार वंशमात्रै रहने र वंश भनेको छोरा नै हुनुपर्ने भन्ने पितृसत्तात्मक सोचमात्रै रहेको ठहर गरिएको छ ।
आफ्ना बुबा र आमाको मृत्यु भएपछि भारतमै रहेका दुई छोरीलाई अंश नदिई आफ्नै बुबाको नाममा रहेको जग्गाजमिन समेत हजुरआमाले अंशियार नरहेको भनी झूठो दाबी लिइ आफ्नो नाममा बनाएको भन्दै नवलपुर जिल्ला अदालतमा परेको मुद्दामा अदालतले विवाह भए पनि वा नभए पनि छोरीहरूले समेत अंश पाउने गरी फैसला सुनाएको हो ।
२०७५ साल फागुन १२ गते नवलपुर जिल्ला अदालतमा दर्ता भएको उक्त मुद्दामा ४ वर्षपछि २०७९ भदौ २७ गते न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले फैसला सुनाउँदै विवाह भए पनि छोरीहरूलाई समेत अंश दिनुपर्ने ठहर गरेको हो ।
सहमति जुट्न नसक्दा बाजुरामा मतगणनामा ढिलाइ
काठमाण्डाै –
बाजुरामा सर्वदलीय बैठक बसेर सहमतिपछि गणना सुरु गर्ने तयारी छ । आज बिहान ७ बजे बसेको बैठकमा सहमति जुट्न सकेन ।
बैठक अहिले ११ बजे फेरि बस्दैछ । हिजो बसेको बैठकमा सबै दलका प्रतिनिधि नआएपछि आज बिहान ७ बजे पुन: बैठक बस्ने र गणना थाल्ने निर्णय गरिएकोमा बिहान केही विषय टुङ्गोमा नपुगेको र फेरि बैठक बसेर गणना सुरु गर्ने मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले जानकारी दिनुभयो ।
बाजुरामा एमालेले ८ र कांग्रेसले १६ ठाउँमा बुथ कब्जा गरेको एक–अर्कालाई आरोप लगाएका कारण मतगणना सुरु हुन सकेको थिएन । निर्वाचन आयोगले हिजो मतगणना सुरु गर्न निर्देशन दिएको थियो ।
मतगणना रोकिएको स्याङ्जामा गएरातिदेखि गणना सुरु भएको छ । मंसिर ४ गते भएको चुनावमा विवादपछि स्याङ्जा–२, बाजुरा र दोलखामा गणना रोकिएको थियो ।
बौनिया । कैलालीको जानकी गाउँपालिकामा अबदेखि रात्रिकालिन अबस्थामा हिडडुल गर्न तथा सार्वजनिक कार्यक्रम गर्न नपाईने भएको छ । प्रहरी चौकी अम्रवातीले सूचना जारी गर्दै यस प्रकारको कार्य नगर्न भनेको हो ।
रात्रीकालिन अवस्थामा घर बाहिर हिडडुल गर्दा रात्रीकालिन कार्यक्रम गर्दा समाजमा अपराधिक घटना घटने गरेकोले शान्ती सुरक्षालाई ध्यानमा राखी रात्रीकालिन कार्यक्रम नगर्न नगराउन निर्देशन दिएको छ।
यो निर्देशन सङ्गै अब जानकी गाउँपालिका भित्रका कुनै पनि वडा तथा सार्वजनिक स्थलमा रात्रीकालिन अबस्थामा अनावश्यक हिडडुल, तथा कार्यक्रम गर्न पाइने छैन । जसका कारण नजिकै आइरहेको तिहारमा खेलिने देउसी, भैली तथा दिपावली विशेष कार्यक्रम सबै प्रभावित हुने भएका छ्न ।
जिल्ला प्रशासन कैलालीले भन्यो – कार्तिक ५ गतेभित्र इजाजत प्राप्त हातहतियारहरु बुझाउनु
कैलाली । आउँदो मंसिर ४ गते हुने प्रतिनिभि सभा तथा प्रदेश सभा निर्वाचनको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीले कार्तिक ५ गतेभित्र इजाजत प्राप्त हातहतियारहरु बुझाउन निर्देशन दिएको छ ।
कार्यालयले सूचना जारी गर्दै मंसिर ४ गते हुने प्रतिनिभि सभा तथा प्रदेश सभा निर्वाचनको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै हातहतियार बुझाउन निर्देशन दिएको हो ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्थापन गरी भयरहित वातावरण सृजना गर्नु अपरिहार्य रहेकाले कार्तिक ५ गतेभित्र जिल्लाभित्र रहेका इजाजत प्राप्त हातहतियार नजिकको प्रहरी कार्यालयमा बुझाउन सूचनामार्फत भनिएको छ । बुझाइएका हातहतियार सुरक्षित राखिने र निर्वाचनपछि हतियार धनीलाई नै फिर्ता गरिने पनि सूचनामा उल्लेख छ ।
त्यस्तै कसैले बिना इजाजतका भरुवा तथा एयर गन बन्दुक राखेको भए पनि स्वस्फूर्त रुपमा प्रहरी इकाइहरुमा बुझाउन भनिएको छ । निर्धारित समयभित्र हातहतियार नबुझाए कानुन बमोजिम कारबाही गरिने जनाइएको छ ।
एकै वर्षमा १६ हजार बढी भ्रष्टाचारका उजुरी
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गत आर्थिक वर्षमा १६ हजारभन्दा बढी उजुरी दर्ता भएको छ । जसमध्ये सबैभन्दा बढी संघीय मामिलाअन्तर्गत स्थानीय तहसँग सम्बन्धित उजुरी धेरै छन् ।
स्थानीय तहमा हुने भ्रष्टाचारसम्बन्धी ३१.१ प्रतिशत उजुरी रहेको आयोग प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । उनका अनुसार स्थानीय तहपछि शिक्षासँग जोडिएका भ्रष्टाचार मुद्दा उजुरी १५.३ प्रतिशत छन् ।
यससम्बन्धी विस्तृत विवरण समेटिएको आयोगको ३२औं प्रतिवेदन बुधबार प्रमुख आयुक्त प्रेमकुमार राईले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रस्तुत गरेका छन् ।
त्यस्तै, भूमि प्रशासनसँग सम्बन्धित ७.७ प्रतिशत, वन तथा वातावरणको ४.६ प्रतिशत, स्वास्थ्य तथा जनसंख्या ३.९ प्रतिशत, भौतिक पूर्वाधार तथा यातायातसँग सम्बन्धित ३.८ प्रतिशत, गृह प्रशासनसँग सम्बन्धित ३.७ प्रतिशत उजुरी परेका छन् ।
एक वर्षको अवधिमा पर्यटन तथा वाणिज्य क्षेत्रमा भएको भ्रष्टाचारको उजुरी ३.२ प्रतिशत छ भने ऊर्जा, जलस्रोत तथा सिँचाइको ३.१ प्रतिशत उजुरी परेका छन् ।
खानेपानी तथा सहरी विकास २.९ प्रतिशत, अर्थ १.९ प्रतिशत, कृषि तथा पशुपंक्षी १.९ प्रतिशत र सञ्चार तथा सूचना प्रविधिसँग सम्बन्धित ०.९ प्रतिशत उजुरी रहेका छन् ।
त्यस्तै, नक्कली शैक्षिक प्रमाणपत्र ५.७ प्रतिशत उजुरी परेको छ । गैरकानुनी सम्पत्ति आर्जन ४.८ प्रतिशत र अन्य निकायसँग सम्बन्धित उजुरी ३ प्रतिशत रहेका छन् ।
६३९ प्रतिवादीसँग बिगो माग
आयोगले एक वर्षको अवधिमा १ सय ३१ आरोपपत्र विशेष अदालतमा दर्ता गरेको छ । जसमध्ये सार्वजनिक सम्पत्ति हानि–नोक्सानीसँग सम्बन्धित ३५, गैरकानुनी लाभ हानिसँग सम्बन्धित ३४, घुस÷रिसवतसँग सम्बन्धित ३२, गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी ७, शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रसम्बन्धी ६, राजस्व चुहावटसम्बन्धी ५ र विविध विषयका १२ वटा रहेका छन् ।
कुल ६ सय ३९ जनालाई प्रतिवादी बनाउँदा आयोगले उनीहरूसँग २ अर्ब ७९ करोड २७ लाख ४८ हजार १ सय रुपैयाँ बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरिएको आयोग प्रवक्ता भण्डारीले जानकारी दिए । यसअघि, अघिल्लो आर्थिक वर्ष ०७७÷०७८ मा १ सय १३ अभियोगपत्र दायर गरेकोमा ४ सय ४३ जनालाई प्रतिवादी बनाइएको थियो । यो समाचार आजको राजधानी दैनिकमा छ ।
निर्वाचन खर्च नबुझाउने मोहन्याल गाउँपालिका अध्यक्ष र उपाध्यक्षका ६ जना उम्मेदवार कारबाहीमा
बर्दगोरिया । समयमा निर्वाचन खर्च नबुझाउने कैलालीको मोहन्याल गाउँपालिका अध्यक्ष र उपाध्यक्षका ६ जना उम्मेदवार कारबाहीमा परेका छन् ।
गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा तोकिएको समय अवधिमा निर्वाचन खर्च नबुझाएका कारण उनीहरू कारबाहीमा परेको आयोगले जनाएको छ । कारबाहीमा पर्नेमा मोहन्याल गाउँपालिकाका अध्यक्ष देबिदत्त उपाध्याय (नेकपा माओवादी केन्द्र ), नेकपा एमालेबाट अध्यक्षका उम्मेदवार धरम बहादुर थापा ,राष्ट्रिय प्रजातन्त्र पार्टीका नन्द बहादुर बस्नेत, स्वतन्त्रतर्फका उम्मेदवार लोकेन्द्र बहादुर बडुवाल रहेका छ्न ।
यसैगरी उपाध्यक्ष पदतर्फ स्वतन्त्रबाट उम्मेदवार बनेका टिकासरी बुढा मगर र सरस्वती देवि रावल विष्ट आयोगको कारबाहीमा परेका छ्न । आयोगले उनीहरूलाई जनही साढे तीन लाखका दरले जरिवाना तोकेको छ ।
आयोगले तोकेको जरिवाना नतिर्ने उम्मेदवारलाई ६ वर्षसम्म कुनै पनि चुनावमा भाग लिन नदिने चेतावनी पनि आयोगले दिएको छ ।
काठमाडौँ । निर्वाचन आयोगले तोकिएको समयभित्र आफूलाई लागेको जरिबाना बापतको रकम नबुझाउने उम्मेदवारले ६ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन नपाउने जनाएको छ ।
समयमै निर्वाचन खर्च विवरण नबुझाउने उम्मेदवारलाई आयोगले निश्चित समय तोकेर जरिबानासहितको रकम बुझाउन समय दिने र उक्त समयमा पनि खर्च विवरण नबुझाए ६ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन नपाउने निर्णय गरिएको आयोगले जनाएको छ ।
निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र निर्वाचन खर्चको विवरण नबुझाउनु पर्ने कानुनी प्रावधान रहेको छ । २०७९ साल वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएका केहीले निर्वाचन खर्च विवरण नबुझाएपछि निर्वाचन आयोगले जरिबाना गरेको हो ।
तोकिएको समयावधिभित्र निर्वाचन खर्चको विवरण नबुझाउने उम्मेदवारहरूलाई तोकिएको समयावधिभित्र किन निर्वाचन खर्चको विवरण नबुझाएको भनेर सफाइसहितको स्पष्टीकरण दिने मौका प्रदान गरे पनि चित्त बुझ्दो स्पष्टीकरण नआएको आयोगले जनाएको छ ।
स्पष्टीकरण चित्तबुझ्दो नदेखिएकोले चित्तबुझ्दो स्पष्टीकरण नदिने र आयोगको सूचनालाई बेवास्ता गरी स्पष्टीकरण नै नदिने उम्मेदवारहरूलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २६ को उपदफा ९१० बमोजिम महानगरपालिकाको प्रमुख र उपप्रमुख पदका उम्मेदवारहरूलाई जनही ७ लाख ५० हजार, महानगरपालिकाका वडा अध्यक्ष, वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्य पदका उम्मेदवारहरूलाई जनही तीन लाख, उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख पदका उम्मेदवारहरूलाई जनही ५ लाख ५० हजार रुपैयाँ जरिबाना तिर्नु पर्नेछ ।
उपमहानगरपालिका वडा अध्यक्ष, वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्य पदका उम्मेदवारहरूलाई जनही २ लाख ५० हजार रुपैयाँ, नगरपालिकाका प्रमुख र उपप्रमुख पदका उमेदवारहरुलाई जनही ४ लाख ५० पचास हजार रुपैयाँ, नगरपालिकाका वडा अध्यक्ष, वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्य पदका उम्मेदवारहरूलाई जनही २ लाख रुपैयाँ जरिबाना गर्ने आयोगले जनाएको छ ।
गाउँपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवारहरुलाई जनही ३ लाख ५० हजार रुपैयाँका दरले र गाउँपालिकाका वडा अध्यक्ष, वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्य पदका उम्मेदवारहरूलाई जनही १ लाख ५० हजार रुपैयाँका दरले जरिबाना गर्ने आयोगले जनाएको छ ।