१ लाख २३ हजार उम्मेदवारलाई आयोगले कारबाही गर्ने
काठमाडौँ । वैशाख ३० मा भएको स्थानीय तहको चुनावको खर्च विवरण नबुझाउने १ लाख २३ हजार ६ सय २४ जना उम्मेदवारहरूलाई निर्वाचन आयोगले कारबाही गर्ने भएको छ।
स्थानीय तहको चुनावमा उम्मेदवार बनेका १ लाख १४ हजार ९ सय ५८ जना उम्मेदवारले अझैसम्म आफ्नो खर्च विवरण बुझाएका छैनन्। त्यसै गरी ८ हजार ६ सय ६६ जनाले आयोगले तोकेको समयपछि निर्वाचन खर्च विवरण बुझाएका छन्। खर्च विवरण नबुझाएका र तोकिएको समयभन्दा पछाडि खर्च बुझाउने १ लाख २३ हजार ६ सय २४ जनालाई निर्वाचनसम्बन्धी कानुन तथा आचार संहिता बमोजिम कारबाही गर्ने भएको हो।
निर्वाचन आयोग ऐन, २०७३ को दफा २५, स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ को उपदफा ९४० र स्थानीय तह निर्वाचन नियमावली, २०७३ को नियम ४० बमोजिम निर्वाचन परिणाम घोषणा भएको मितिले ३० (तीस) दिनभित्र निर्वाचन खर्चको विवरण बुझाउनुपर्ने कानुनी व्यवस्था छ।
आयोगले ७ दिनभित्र सफाइसहितको स्पष्टीकरण पेस गर्न २०७९ साउन ३१ मा निर्णय गरी भदौ १ मा सूचना जारी गरिएको थियो। स्पष्टीकरण सोधिएकोमा तोकिएको समयमा निर्वाचन खर्चको विवरण पेस नगर्ने १५ हजार ७ सय ४३ जना र कानुनले तोकेको समय व्यतीत भएपछि निर्वाचन खर्चको विवरण बुझाउने १ हजार १ सय ५१ जना गरी जम्मा १६ हजार ८ सय ९४ जना उम्मेदवारले आफ्नो सफाइसहितको स्पष्टीकरण पेस गरेका थिए। स्पष्टीकरणमा कानुनको जानकारी नभएको, कार्य व्यस्तताले नभ्याएको, जिल्ला बाहिर रहनुपरेको, निर्वाचन हारेपछि निर्वाचन खर्च पेस गर्नुपर्छ भन्ने थाहा नभएको, विविध कारणले पेस गर्न नसकेको, बिरामी परेको लगायतका विषय उल्लेख भएको आयोगले जनाएको छ।
‘स्पष्टीकरणको ब्यहोरा विश्वासयोग्य, चित्तबुझ्दो र सन्तोषजनक नदेखिएकोले खर्चको विवरण तोकेको समयमा पेस नगरी आफ्नो सफाई सहितको स्पष्टीकरण पेस नगर्ने ९९ हजार २ सय १५ जना र कानुनले तोकेको समय व्यतीत भएपछि निर्वाचन खर्चको विवरण पेस गरेका छन्। सफाइसहितको स्पष्टीकरण पेस नगर्ने ७ हजार ५ सय १५ जना छन्। दुवै गरी जम्मा १ लाख ६ हजार ७ सय ३० जनासहित संलग्न सूची बमोजिमका १ लाख २३ हजार ६ सय २४ जना उम्मेदवार छन्।
आयोगले महानगरपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवारलाई जनही ७ लाख ५० हजार रुपैयाँका दरले जरिबाना गर्ने भएको छ। त्यसै गरी महानगरपालिकाका वडा अध्यक्ष, वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्य पदका उम्मेदवारलाई जनही ३ लाख रुपैयाँ, उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवारलाई जनही ५ लाख ५० हजार रुपैयाँ, उपमहानगरपालिकाका वडाध्यक्ष, वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्य पदका उम्मेदवारलाई जनही २ लाख ५० हजार रुपैयाँका दरले जरिवाना गर्ने भएको छ।
नगरपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवारलाई जनही ४ लाख ५० हजार रुपैयाँ, नगरपालिकाका वडाध्यक्ष, वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्य पदका उम्मेदवारहरूलाई जनही २ लाख रुपैयाँ जरिबाना तिराउने भएको छ। त्यसै गरी गाउँपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवारहरूलाई जनही ३ लाख ५० हजार रुपैयाँ, गाउँपालिकाका वडाध्यक्ष, वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्य पदका उम्मेदवारलाई जनही रु १ लाख ५० हजार रुपैयाँ तिनुपर्ने भएको छ।
काठमाण्डौँ । सरकारले टीकापुर घटनासम्बन्धी मुद्दा खारेज गर्ने निर्णय गरेको छ। भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टीकापुर घटना सम्बन्धमा कानुन संशोधन गरी मुद्दा खारेज गर्ने निर्णय गरेको हो।
सरकारले टीकापुर घटनासम्बन्धी मुद्दाको खारेजी प्रक्रिया अगाडि बढाउन गृह मन्त्रालयलाई निर्देशनसमेत दिएको छ। ुमन्त्रिपरिषद्को बैठकबाट राजनीतिक निर्णय गरी प्रशासनिक एवं अर्ध न्यायिक प्रकृतिका मुद्दाहरुलाई यथाशिघ्र फर्छ्यौट गर्न र कानुनसँग अन्तरविरोध राख्ने मुद्दाको हकमा कानुनी व्यवस्था वा कानुन संशोधन गरी मुद्दा खारेज गर्ने,ु मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ।
टीकापुर घटनासम्बन्धी आरोपितहरुको मुद्दा प्रक्रिया मिलाएर फिर्ता लिने मन्त्रिपरिषद्ले निर्णय गरेको एक मन्त्रीले बताए। टीकापुर घटनासम्बन्धी मुद्दा फिर्ता लिने प्रक्रिया अब गृहले अगाडि बढाउने छ,ती मन्त्रीले भने।
थरुहट थारुवान संयुक्त संघर्ष समिति र तत्कालीन केपी ओली नेतृ्त्वको सरकारबीच विसं २०७८ जेठ १८ गते ६ बुँदे सहमति भएको थियो। सहमतिको पहिलो बुँदामै थरुहट थारुवान आन्दोलनका क्रममा टीकापुरमा भएको दुःखद् घटनामा आरोपित थारु कल्याणकारिणी सभाका सभापति धनिराम चौधरी, रेशमलाल चौधरी र लक्ष्मण चौधरीलगायतमाथि लगाइएको सम्पूर्ण मुद्दा फिर्ता र रिहाइका लागि संविधान र कानुनसम्मत पहल गर्ने उल्लेख थियो । दैनिक अनलाइनबाट
गाउँपालिका अध्यक्षकी श्रीमतीले दिइन् भान्छे पदबाट राजीनामा, तलब समेत फिर्ता गरिन
अछाम । अछामको रामारोशन गाउँपालिकामा भान्छे नियुक्ति भएकी जयसरा साउँदले राजीनामा दिएकी छन्। गाउँपालिका अध्यक्ष मानबहादुर साउँदले श्रीमतीलाई करारमा भान्छे नियुक्त गरेपछि आलोचना भइरहेको थियो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर भण्डारीले भान्छे नियुक्त भएकी साउँदले राजीनामा दिएको र स्वीकृतसमेत भइसकेको बताए।
‘अध्यक्षको कार्यकक्ष र क्वार्टरमासमेत काम गर्ने प्रयोजनका लागि गाउँपालिकाबाट भान्छे नियुक्त गरिएकोमा उक्त प्रकरणलाई अतिरञ्जित गरी जनस्तराबाटसमेत व्यापक आलोचना भएकोले जयसरा साउँदले राजीनामा दिई स्वीकृतसमेत भएको छ,’ सोमबार प्रशासकीय अधिकृत भण्डारीले जारी गरेको प्रष्टीकरणमा उल्लेख छ।
साउँदले भान्छे पदमा रही काम गरेबापत लिएको पारिश्रमिक पनि फिर्ता गरेकी छन्। ३१ हजार छ सय ३० रुपैयाँ साउँदले फिर्ता गर्दै गाउँपालिकाको सञ्चित कोषमा दाखिला गरेको पनि उनले बताएका छन्।
अध्यक्ष मानबहादुर गत स्थानीय चुनावमा नेपाली काँग्रेसबाट अध्यक्ष पदमा निर्वाचित भएका थिए। (प्रशासनको सहयोगमा)
दरको संस्कृतिले लिँदै छ विकृतिको रूप
शब्दकोशको यो अर्थको अनर्थ लाग्ने गरी अहिले राजधानीलगायत ठूला सहरमा तीजको महिनौँअघिदेखि दर खानेको लर्को लाग्छ । तीजमा व्रत बस्ने बर्तालुलाई आड होस् भन्ने उद्देश्यले दर खाने परम्पराको विकास भएको हो ।
वैदिक सनातन हिन्दू धर्मअनुसार भाद्र शुक्ल तृतीयाका दिन तीज पर्व मनाइन्छ । त्यसको अघिल्लो रात दर खाने संस्कृति सनातनदेखि नै चल्दै आएको छ । यो परम्परामा केही वर्षअघिदेखि भने विकृतिको सुरुआत भएको छ ।
संस्कृतिविद् डा गोविन्द टण्डन तीजका नाममा सुरु भएको यो विकृतिलाई रोक्नुपर्ने बताउनुहुन्छ । तीजको एक दिनअघि आमा, दिदी, बहिनी घरपरिवारमा बसेर आडिला चीजबीज खानुलाई दर भनिने उहाँ सुनाउनुहुन्छ । तडकभडकका रूपमा मनाउने यस्तो विकृतिले फजुल खर्च बढाएको छ ।
“अहिले हाम्रो संस्कृतिभन्दा भिन्न रूपमा तीज मनाउन थालिएको छ, यसले नहुनेलाई तनाव दिएको छ, नकारात्मक सोच बढाएको छ, गरिष्ठ कुरा मांस, मदिरा दरमा खाने होइन, सेल, पुरी, खीरलगायत शरीरलाई तागत दिने खानेकुरा दरका रूपमा खाने हो”, संस्कृतिविद् टण्डनले भन्नुभयो ।
विकृतिका रूपमा मौलाएको तीज भोजले होटल र पार्टी प्यालेस व्यवसायीलाई फाइदा भए पनि संस्कृतिलाई भने विकृत बनाएको छ । होटल र पार्टी प्यालेसमा साथीभाइसँग दर खाने परम्परा नै गलत रहेको टण्डनको भनाइ छ । टाढा टाढाबाट माइत आएका चेलीबेटीले घर परिवारमा बसेर खाने मौलिक परम्परालाई अहिले विकृत बनाइएको छ ।
तीजको दुई महिनाअघिदेखि दर खाएर देखाउँदा विपन्न वर्गका मानिसलाई पर्व मनाउन मुस्किल हुने गरेको छ । समाजमा दर भनेको एक महिनाअघिदेखि नै खानुपर्ने रहेछ भन्ने सन्देश गएको छ । सहरमा एक महिनाअघिदेखि धेरै पार्टी प्यालेस दर खानकै लागि रिजर्भ हुने गरेका छन् ।
यसरी रिजर्भ भएका पार्टी प्यालेसमा दरका नाममा मांस, मदिराको सेवन हुन्छ । व्रत बस्ने अघिल्लो दिन खाने विशेष परिकारलाई दर भन्ने शब्दकोशको अर्थअनुसार अहिले अधिकांशको व्यवहारमा चलेको दर खाने प्रक्रिया मिल्दैन । व्रतको अघिल्लो दिन घाम अस्ताएपछि देखि नै बर्तालुले शुद्ध खानेकुरा मात्र खानुपर्ने शास्त्रीय नियम रहेको बताउनुहुन्छ धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई । दरका नाममा एक महिनाअघि नै भएपनि मांस, मदिराको सेवन संस्कृतिका नाममा बढेको विकृतिको स्वरूप भएको उहाँले सुनाउनुभयो ।
“तीजमा निराहार व्रत बस्नुपर्ने भएकाले अघिल्लो दिन शुद्ध, विशेषगरी दूधबाट बनेका सात्त्विक परिकार खाने शास्त्रीय नियम हो, व्रतको अघिल्लो दिन एकछाकी भएकाले पनि जे मन लाग्यो त्यही खान हुँदैन, दर तीजको अघिल्लो रात ११ बजेसम्म मात्र खान सकिन्छ, त्यसपछि राक्षसी समय सुरु हुने भएकाले ११ बजेपछि दर खान निषेध गरिएको छ”, धर्मशास्त्रविद् भट्टराईले भन्नुभयो ।
उपभोगवादी संस्कृतिले अहिले तीज, व्रत जस्ता शब्द देखाउने कुरा मात्र हुन थालेको छ । मर्म विनाका पर्व मनाउन थालिएका छन् । हुनेखानेले रवाफ देखाउने माध्यम चाडपर्व बन्न थालेको छ ।
सहरमा बस्ने अधिकांशलाई महँगीका कारण हातमुख जोर्न, बालबालिका पढाउन, औषधोपचार गर्नसमेत मुस्किल हुन थालेकामा हुनेखानेले गर्ने खर्चसँगै प्रतिस्पर्धा गर्नुपर्ने चुनौती थपिएको छ । यस्तो विकृतिले भ्रष्टाचारलाई पनि प्रोत्साहन गर्ने बताउनुहुन्छ समाजशास्त्री कीर्तिकुमार दुमी राई । परिवारको चाहना पूरा गर्न गलत प्रक्रियाबाट स्रोत जुटाउने बाध्यता संस्कृतिका नाममा मौलाएको विकृतिले बढाउन थालेको छ ।
अहिले अन्य संस्थाका अतिरिक्त सरकारी कार्यालयमा समेत तीजको दरका नाममा विकृति भित्रिन थालेको छ । तीजकै नाममा लाखौँ खर्च हुन थालेको छ । आर्थिक मन्दीको राप अलापिरहँदा सरकारी संयन्त्रले पर्वका नाममा मौलाएको विकृतिका पक्षमा हुने खर्च रोक्न सकेका छैनन् ।
विद्यालयमा समेत तीजका कार्यक्रमका नाममा खानपान एवं भोज हुन थालेको छ । अभिभावकसँग पैसा लिएर शिक्षक, कर्मचारी र कुनै विद्यालयमा त अभिभावकलाई पनि दर खुवाउने कार्यक्रम हुन थालेको हो । समाजलाई संस्थागत भ्रष्टाचारको आहालमा डुबाउन यस्ता गतिविधिले प्रेरित गर्ने समाजशास्त्री राईको विश्लेषण छ ।रासस
मङ्सिर ४ को निर्वाचन सुरक्षार्थ ७१ हजार ६ सय ९३ प्रहरी कर्मचारी परिचालन हुने
गत वैशाख ३० को सम्पन्न स्थानीय तह निर्वाचनमा करिब १० हजार बढी प्रहरी परिचालन गर्न लागिएको हो । निर्वाचनअन्तर्गत मतदानको दिन आउन ८६ दिन बाँकी छ । प्रहरी महानिरीक्षक धीरजप्रताव सिंहले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक तथा प्रदेशसभा निर्वाचनमा पनि प्रत्यक्ष र समानुपातिक निर्वाचन हुने भएकाले पनि एक ठाउँमा मत खसालिसकेपछि पुनः अर्को ठाउँमा मत खसाल्नुपर्ने अवस्था रहने हुँदा पनि सुरक्षा जनशक्ति बढी आवश्यक पर्ने जानकारी दिनुभयो ।
केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले निर्वाचनलाई निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गर्न स्थानीय तह निर्वाचनभन्दा म्यादी प्रहरी पनि थप २० हजार बढी प्रस्ताव गरिएको जानकारी दिनुभयो ।
गत स्थानीय निर्वाचनमा एक लाख म्यादी प्रहरी भर्ना गरिएकामा यस पटक एक लाख २० हजार भर्नाका लागि तालुक गृह मन्त्रालयमा प्रस्ताव पेश गरिएको छ । उहाँले सङ्घ र प्रदेश निर्वाचनमा कैदी बन्दीसहित पाँच लाख मतदाता बढ्ने र मतदान केन्द्रसमेत थप हुने अनुमान गरिएअनुसार सुरक्षाकर्मी बढाइएको हो ।
गृह मन्त्रालयबाट प्रस्ताव पारित भएर आएपछि मात्रै अन्य औपचारिक काम अघि बढ्ने जनाउँदै उहाँले अहिले आन्तरिक तयारीका काम चलिरहेको जानकारी दिनुभयो । नेपाल प्रहरीले यसअघि नै प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापाका नेतृत्वमा प्रहरीको केन्द्रीय निर्वाचन सेल र मातहतका कार्यालय, प्रदेश तथा जिल्लामा आवश्यकताअनुसार सेल गठन गरी आवश्यक कार्य प्रक्रिया अघि बढाइएको छ ।
प्रदेशमा प्रहरी वरिष्ठ उपरीक्षक, प्रहरी उपरीक्षकको नेतृत्व रहेको जिल्लामा प्रहरी नायब उपरीक्षक तथा प्रहरी नायब उपरीक्षकको नेतृत्व रहेको जिल्लामा प्रहरी निरीक्षकको नेतृत्वमा निर्वाचन सेल गठन गरिएको छ ।
“उम्मेदवार सङ्ख्या, निर्वाचन कार्यालय, मतदान केन्द्र, निर्वाचन सामग्री, मतपेटिका, मतदानस्थल तथा रुट सबै प्रारम्भिक रुपमा यकिन गरेर आवश्यक सुरक्षा तयारी गरिएको छ”, प्रवक्ता राईले रासससँग भन्नुभयो, “माथिबाट निर्णय भएर आएपछि बाँकी काम अघि बढ्छ ।” प्रहरीले सामान्य, संवेदनशील र अतिसंवेदनशील छुट्याएर मतदानस्थलको पहिचानसँगै सोहीअनुसार प्रहरी कर्मचारी खटाउने गरी योजना बनाएको छ ।
प्रहरीले यसअघि नै मङ्सिर ४ को सङ्घ र प्रदेश निर्वाचनका लागि कुल एक हजार चार सय ९४ सवारी साधन, सात सय बढी सञ्चार सेट आवश्यक रहेको भनी मन्त्रालयमा लेखेर पठाइसकेको छ । पेश गरिएको प्रस्तावमा आवश्यक हातहतियारको पनि माग गरिएको छ ।
उहाँले हतियार अपुग भएमा नेपाली सेनाबाट बहालगिरीमा ल्याएर प्रयोग गरिने जानकारी दिनुभयो । सञ्चार सेट सम्भव भएन भने प्रहरीका मोबाइललाई सञ्चार सेटका रुपमा प्रयोग गरी उनीहरू लाई रिचार्ज कार्ड उपलब्ध गराउने योजना बनाइएको छ ।
प्रवक्ता राईले भन्नुभयो, “स्थानीय तहको झैँ सङ्घीय र प्रदेश निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न नेपाल प्रहरीलाई अवसर आएको छ, यो अवसर जो कोहीलाई आउँदैन, त्यस कारण नेपाल प्रहरीका जवानदेखि अधिकृत उत्साहित छन्, निर्वाचनलाई शान्तिपूर्ण बनाउन आतुर छन् ।” प्रहरी कर्मचारीबाट भने निर्वाचनमा खटिने अन्य सबै कर्मचारी बराबरको खाजा भत्ता दिएमा थप उत्साहित हुने जनाइएको छ ।
केन्द्रीय सुरक्षा योजना बन्दै
गृह मन्त्रालयले पनि आफ्नो निर्वाचन सुरक्षाको तयारीलाई तीव्र पारेको छ । गृहसचिव टेकनारायण पाण्डेको नेतृत्वमा सबै सुरक्षा निकायका प्रमुख सदस्य रहेको केन्द्रीय निर्वाचन सुरक्षा सेल गठन गरी तीव्र रूपमा कार्य अघि बढाइएको गृह प्रवक्ता फणिन्द्रमणि पोखरेले जानकारी दिनुभयो । उहाँले सोहीअनुसार प्रदेश मुख्य सचिवको नेतृत्वमा प्रदेश सुरक्षा समन्वय सेल गठन गरिएको जानकारी दिनुभयो ।
त्यस्तै प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला निर्वाचन सेल तथा कमाण्ड पोष्ट गठन गरिएको छ । यस्तै केन्द्रीय सुरक्षा योजना पनि बन्दै गरेको उहाँले जानकारी दिनुभयो । सुरक्षाकर्मीलगायतको स्रोतसाधन जनशक्तिलगायतमा विषयमा अर्थ मन्त्रालयमा लेखेर पठाएको जानकारी दिँदै उहाँले स्वीकृत भएर आए लगत्तै औपचारिक रुपमा काम अघि बढ्ने जानकारी दिनुभयो । “गाडी भत्ता, अन्य बन्दोबस्तीका सामान, म्यादी प्रहरी, सञ्चार सेट सबै लेखेर पठाएका छौँ”, प्रवक्ता पोखरेलले भन्नुभयो । रासस
काठमाडौँ । न्यूयोर्क स्थित नेपालको महावाणिज्य दूतावास र म्यानहट्टन जिल्ला न्यायाधिवक्ताको कार्यालयले संयुक्त रूपमा नेपाली पुरातात्त्विक वस्तु नेपाल फिर्ता गर्ने घोषणा गरेका छन् ।
म्यानहट्टन जिल्ला सरकारी वकिलको कार्यालयमा आयोजित एक समारोहमा कार्यवाहक महावाणिज्यदूत विष्णु गौतमले म्यानहट्टन जिल्ला न्यायाधिवक्ता एल्भिन एल ब्राग जुनियरबाट नेपालबाट चोरी भएर अमेरिका पुगेको पुरातात्त्विक वस्तु ग्रहण गरेका थिए ।
एल ब्राग जुनियरले पुरानो नेपाली देवी दुर्गाको मूर्ति गौतमलाई हस्तान्तरण गरेका थिए । उक्त मूर्ति लगभग १४ औँ शताब्दीदेखि १८ औँ शताब्दीको बिचमा काठमाडौंमा बनेको अनुमान गरिएको छ । मूर्ति सन् १९६० मा हराएको थियो ।
उक्त मूर्तिलाई गत मार्चमा एउटा लिलामी घरले लिलामीमा राखेको थियो । लिलामीमा मूर्तिको मूल्य १२ हजारदेखि १८ हजार अमेरिकी डलर राखिएको थियो । उक्त कुरा थाहा पाएपछि नेपाली महावाणिज्य दूतावासले मूर्ति नेपाल फर्काउने प्रक्रिया सुरु गरेको थियो ।
सन् २०२१ मा न्यूयोर्कबाट चोरी भएका तीन वटा नेपाली पुरातात्त्विक वस्तु नेपाल फर्काइएको थियो । न्यूयोर्क स्थित महावाणिज्य दूतावासले छिट्टै उक्त मूर्ति पुरातत्त्व विभागसँग समन्वय गरी नेपाल पठाउने जनाएको छ ।
कोहलपुरमा फेला परेका शंकास्पद बस्तु बम भएको पुष्टि, नेपाली सेनाद्वारा डिस्पोज
कोहलपुर । बाँकेको कोहलपुरको दुई स्थानमा फेला परेका शंकास्पद बस्तु बम भएको पुष्टि भएको छ ।
कोहलपुर स्थित पूर्वपश्चिम राजमार्गको किरण नाला पुल र कोहलपुर-नेपालगञ्ज सडकखण्डको पिपिरी नजिक फेला परेका दुई शंकास्पद बस्तु बम नै भएको नेपाली सेनाले पुष्टि गरेको हो ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सहितका ४ वटा पार्टीले गरेको नेपाल बन्दमा बन्दकर्ता बाहिर नदेखिएपनि लुकिछिपी सडकखण्डमा बम राखेको पाईएको छ । नेपाली सेनाको बम डिस्पोजल टिमले फेला परेका दुबै बम डिस्पोज गरिसकेको छ ।
दाङमा बन्दकर्ताले गरे टिपरमा आगजनी
दाङ । बन्दकर्ताले जिल्लामा बिहानै सवारीसाधनमा आगजनी गरेका छन्।घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ख १६९४ नम्बरको टिपरमा बिहान बबई खोलाको पुल नजिक बन्दकर्ताले आगजनी गरेका हुन्।
चारपाँच जनाको समूहमा रहेका व्यक्तिले टिपरको अघिल्लो भागमा आगो लगाएर भागेका थिए। आगजनीका कारण टिपरको अघिल्लो भाग जलेको छ।
घटनास्थलमा प्रहरी पुगेको र आगजनीमा संलग्नको खोजी सुरु गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
चार क्रान्तिकारी कम्युनिस्ट पाटीले नेपाल बन्दको घोषणा गरेका हुन्।
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष विप्लव, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पाटीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका आहुति र नेकपा माओवादी समाजवादीका महासचिव कर्णजितले संयुक्त विज्ञप्ति निकालेर नेपाल बन्दको आह्वान गरेका हुन्।
टीकापुर । कैलालीमा २ बालिकामाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । बलात्कारको आरोप पक्राउ पर्ने लम्कीचुहा नगरपालिका–८ बचेलाका ६२ वर्षीय गणेशसिंह ठकुरी रहेका छन् ।
प्रहरीका अनुसार गत गत साउन ३१ गते उनले एक ७ वर्षीया र अर्की ९ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै उजुरी परेको थियो । दुबै नाबालिका र उनीहरुका अविभावकले ईलाका प्रहरी कार्यालय लम्कीमा जाहेरी दिएपछि प्रहरीले आरोपित गणेशलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।
साइबर अपराध : फेसबुक ह्याक गर्दै रकम माग्दै
यसपछि मोबाइलमा आफूले एउटा लिङ्क पठाएकाले सोको कोड दिन आग्रह गरेपछि व्यवसायी आचार्यले चिनजानको साथीले भनेपछि तुरुन्तै पठाइदिनुभयो । कुराकानीकै क्रममा मोबाइल बैङ्किङ एप्स छ वा छैन ? इसेवा चलाउनुहुन्छ कि हुँदैन भनेपछि उहाँले आफ्नो इसेवामा हाल पैसा नभएको जवाफ फर्काउनुभयो ।
सोको एक घण्टापछि आचार्यलाई काठमाडौँका एक साथीले मैले पठाइदिएको रु २५ हजार पाउनुभयो भनेर भन्नासाथ उहाँ झसङ्ग हुनुभयो । यसबीचमा आचार्यले कसैसँग पनि पैसा माग्नुभएको थिएन । साथीले आफ्नो म्यासेन्जरबाट अनुरोध गरेपछि पैसा पठाइएको बताएपछि उहाँ आफूलाई प्रयोग गरेर कसैले साथीलाई ठगेको निचोडमा पुग्नुभयो । मोबाइलमा आएको कोड पठाए लगत्तै आफ्नो फेसबुक नियन्त्रणमा लिएर म्यासेन्जरबाट विभिन्न व्यक्तिसँग पैसा माग गरिएको आचार्यले बताउनुभयो ।
उहाँले भन्नुभयो, “मोबाइलमा आएको लिङ्कको कोड दिए लगत्तै मेरो फेसबुक अकाउण्ट ह्याक गरी धेरै जनासँग पैसा मागिएको रहेछ । पछि साथीहरूले फोन गरेर पैसा पठाइदिएको छु भनेपछि मात्र ठगी गरिएको थाहा पाएँ ।” आफन्त तथा चिनजानका व्यक्ति तीन जनाबाट रु ६५ हजार ठगी भएको उजुरी लिएर आचार्य आइतबार जिल्ला प्रहरी कार्यालयमा पुग्नुभएको थियो ।
उहाँ मात्र होइन, शनिबार मात्र पोखरामा एकै दिन छ जना बढी व्यक्ति फेसबुक आइडी ह्याक गरेर ठगिएको निवेदन लिएर प्रहरीकहाँ पुग्नुभएको थियो । पोखरा–१८ सराङकोटका सुजन भण्डारीको अवस्था पनि उस्तै थियो । आफ्नो काका नाता पर्ने चेतनाथ भण्डारीको फेसबुक आइडीबाट शनिबार राति ११ बजेतिर ई सेवाको पासवर्ड पठाउन भनेपछि उहाँले आफ्नै काकाले भनेपछि विश्वास गरेर दिनुभयो तर काकाको फेसबुक आइडी ह्याक गरिएको उहाँले भोलिपल्ट बिहान मात्र थाहा पाउनुभयो ।
भण्डारीले ई सेवाको पासवर्ड दिएपछि उहाँको नम्बरमा विभिन्न व्यक्तिबाट रु एक लाख जम्मा भएको र लगत्तै सो रकम अन्यत्र पठाइएको पाइएको छ । आफन्त, चिनेजानेका व्यक्तिबाट फेसबुक म्यासेन्जरमा अनुरोध भएका आधारमा विश्वासमा परेर रकम पठाउने ठगिने क्रम पोखरामा बढेको हो । यसरी ठगिनेमा सर्वसाधारण मात्र होइन, जनप्रतिनिधि, व्यवसायी, सञ्चारकर्मीलगायत समाजका शिक्षित भनिएका व्यक्तिसमेत परेका छन् । विश्वासका आधारमा बुझ्दै नबुझी पैसा दिँदा ठगिने क्रम बढ्दो छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले साइबर अपराधका घटना सचेतनाको अभावमा बढ्दै गएको बताउनुभयो । प्रविधि र सुविधाको विकाससँगै आर्थिक प्रलोभन र सामाजिक सञ्जालको प्रयोग गरेर ठगी गर्ने क्रम बढेकाले उपहारको प्रलोभनमा खाता नम्बर, नागरिकता नम्बर, जन्ममिति, राहदानी नम्बर वा सवारी चालक अनुमतिपत्रको नम्बरजस्ता विवरण अरूलाई उपलब्ध गराउन नहुने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, “फेसबुक ह्याक गरेर साथीभाइलाई पैसा पठाउन भन्ने र सो पैसा अन्यत्र डाइर्भट गरेर छिमेकी मुलुकलगायतबाट निकाल्ने गरेको पाइएको छ । कसैलाई पैसा पठाउनुभन्दा अघि एकपटक फोन गरेर निश्चित हुनुपर्दछ । फेसबुक, भाइबर, म्यासेन्जरमा आग्रह गरेका आधारमा पैसा दिएका ठगिनुभएको छ ।”
साइबर अपराधका घटनाबाट जोगिन व्यक्ति आफैँ सचेत बन्नुपर्ने उहाँले बताउनुभयो । प्रनाउ तिवारीले भन्नुभयो “आफ्ना व्यक्तिगत विवरण, बैङ्क वित्तीय संस्था र डिजिटल माध्यमका अकाउण्ट र पिन, कोडलगायत विवरण सुरक्षित राख्नुपर्छ ।”
ठगी गर्नेले निरक्षर र ज्यालामजदुरी गर्ने व्यक्तिका विवरणका आधारमा नक्कली बैङ्क खाता र इसेवालगायतका आइडी खोल्ने र जो त्यस्ता घटनामा संलग्न हुन सक्दैनन् उनीहरूका खातामा पैसा गएको देखिने गरेकाले अनुसन्धान जटिल बन्ने गरेको प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालयमा गत आर्थिक वर्षमा साइबर अपराधका दुई सय ९७ उजुरी परेका थिए । यसमा पुरुष एक सय २७ र महिला एक सय ७० ठगिएको उजुरी छ । त्यसैगरी गत साउन महिनामा मात्र २९ उजुरी परेका छन् । अनलाइनबाट ठगीका ३३, गाली बेइज्जत र अश्लिल कुराका ३८, फेक आइडी ९६ र सामाजिक सञ्जाल ह्याक गरेर ठगी गरिएका एक सय २६ उजुरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।रासस