धनगढी । केन्द्र सरकारमा सत्ता साझेदार रहेको जनता समाजवादी पार्टी जसपा सुदूरपश्चिम प्रदेशमा प्रतिपक्षी दल बनेको छ। सुदूरपश्चिमको प्रदेश सभामा जनता समाजवादी पार्टी प्रतिपक्षी बनेको हो।
आज सोमबारदेखि सुरु भएको दशौं अधिवेशनको पहिलो बैठकमा जसपा प्रतिपक्ष टेवलमा बसेको छ। केन्द्र सरकारमा जसपा सत्तासाझेदार दलका रुपमा रहेको छ। तर, सुदूरपश्चिम प्रदेशमा सरकारमा समावेश नगरेपछि जसपा प्रतिपक्षी बनेको बताइएको छ।
प्रदेशसभामा जसपासँगै लोकतान्त्रिक समाजवादी पार्टी र एमाले पनि प्रतिपक्षी दलका रुपमा रहेका छन्। यसअघि नवौं अधिवेशनमा प्रदेशमा नेपाली कांग्रेस पनि प्रतिपक्षीको टेवलमै रहेको थियो। स्थानीय तहको निर्वाचन अघि सरकारमा सहभागी भएपछि अहिले सो पार्टी सत्ता गठबन्धनतिर बसेको छ।
सुदूरपश्चिम प्रदेशमा जसपाबाट एकजना प्रदेश सांसद छन्। उनले एक मन्त्रालय पाउनुपर्ने माग गर्दै आएका थिए। (थाहाखबरको सहयोगमा)
आफैँले भोट दिएर जिताएका जनप्रतिनिधिलाई एमालेले लगायो जुत्ताको माला र कालोमाेसो
सोलुखुम्बु । नेकपा एमाले सोताङ गाउँ कमिटीले जननिर्वाचित २ जना वडा सदस्यलाई जुत्ताको माला र कालोमोसो दलेर साङ्केतिक कारवाही गरेको छ।
भर्खरै सम्पन्न स्थानीय तह निवार्चनमा निर्वाचित सोताङ गाउँपालिका वडा नम्बर २ का सदस्य दुर्गाप्रसाद राई र वडा नम्बर ४ का सदस्य सन्देश तामाङलाई आफ्नै कार्यकर्ताले कारवाही गरेका हुन्।
कमिटीका अध्यक्ष वीर बहादुर राईले विज्ञप्ति जारी गर्दै २०७९ जेष्ठ १६ गते सोमबार सोताङ गाउँकार्यपालिका गठनका लागि भएको निर्वाचनमा राई र तामाङले पैसाको प्रलोभनमा पार्टीको विधान, आचारसंहिता, मर्यादा र ह्वीप विपरीत नेपाली काङ्ग्रेसलाई मतदान गरेको भन्दै कारवाही गरिएकाे जनाएका छन्।
विज्ञप्तिमा सोताङ्ग गाउँकार्यपालिका गठनमा पार्टीबाट निर्वाचित वडा सदस्य दुर्गाप्रसाद राई र वडा सदस्य सन्देश तामाङलाई प्रलोभनमा पारिएकाे जनाइएकाे छ।
राईलाई नेपाली काङ्ग्रेस सोताङ गाउँपालिका वडा नम्बर २ का पराजित अध्यक्षका उम्मेदवार उत्तम प्रसाद नाछिरीङले पच्चीस हजार दिने प्रलोभन देखाएको र तामाङलाई नेपाली काङ्ग्रेसका नेता कृष्ण तामाङले ज्यान मार्ने धम्की दिँदै लाखौँ रकमकाे प्रलोभनमा पारेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
विज्ञप्तिमा एमालेले निर्वाचित वडा सदस्यद्वय राई र तामाङलाई आवश्यक थप कार्वाही गर्ने पनि जनाएकाे छ।
काठमाडौं – सत्तारुढ पाँचदलीय गठबन्धनले जिल्ला समन्वय समितिमा पनि सहमति गर्न प्रदेश र जिल्ला स्तरीय समितिलाई निर्देशन दिएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको गठबन्धन बैठकले प्रदेश र जिल्ला स्तरका समितिहरुलाई स्थानीय कार्यपालिका र जिल्ला समन्वय समितिको निर्वाचनमा गठबन्धन सम्बद्ध दलहरुबीच सहमति गरेर अगाडि बढ्न निर्देशन दिएको हो।
काठमाडौँ । आज जेठ १५ गते । राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस । निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिन ।
जन निर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरङ्कुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो ।
हजारौँको बलिदान, लाखौँ नागरिक सडकमा उत्रिएर ल्याएको गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदै छ । विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनः स्थापना गर्नुभयो ।
गणतन्त्र स्थापनाका लागि यही आन्दोलन जगका रूपमा स्थापित भयो । संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन । निर्वाचन नभएपछि राजाले इच्छा लागेका मानिसलाई प्रधानमन्त्री बनाउने र हटाउने शृङ्खला चल्यो ।
राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवा गरी तीन जनालाई प्रधानमन्त्री बनाउँदै हटाउँदै गर्नुभयो । विसं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा (माओवादी) का बीच १२ बुँदे समझदारी भयो । पूर्ण लोकतन्त्र स्थापनाका लागि दुवै शक्तिबीच समझदारी भएको थियो ।
विसं २०६२ मङ्सिरमा १२ बुँदे समझदारीका माध्यमबाट तीन ध्रुवमा विभाजन भएका राजनीतिक शक्ति दुई ध्रुवमा आएपछि आन्दोलनले गति लियो । विसं २०६२ फागुनदेखि सुरु भएको निर्णायक आन्दोलनले चैतमा गति लियो ।
नयाँ वर्षसँगै लाखौँ जनता सडकमा आए । चक्रपथ मानवसागरले भरिएपछि राजा ज्ञानेन्द्र दलहरूको मार्गचित्रमा सहमत हुनुभयो । आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा राजा ज्ञानेन्द्रले वैशाख ११ गते राति संसद् पुनः स्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गर्नुभयो । यसैले यस दिनलाई लोकतन्त्र दिवस भनिन्छ । यो दिन नै गणतन्त्रको जगका रूपमा स्थापित बन्यो ।
विसं २०६३ जेठ ४ गतेको संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन ग¥यो । बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने सङ्कल्प प्रस्ताव पारित गरेको थियो । यसलाई नेपाली ‘म्याग्नाकार्टा’ पनि भनिन्छ ।
यसैको जगमा विसं २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो । संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य ग¥यो । पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि धेरै काम गरेको थियो ।
विसं २०७० मङ्सिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो ।
संविधानबमोजिम तीनै तहको निर्वाचन सम्पन्न भई आन्दोलनको बलमा बनेको संविधान कार्यान्वयन भयो । जसअनुसार सङ्घीय, प्रादेशिक र स्थानीय सरकारले शासन सञ्चालन गरेका छन् । रासस
सहयोगी बेलुवा युवा क्लबले गर्यो बर्दगोरियाका नवनिर्बाचित जनप्रतिनिधिलाई सम्मान
बौनिया । कैलालीको बर्दगोरिया ५ मा रहेको सहयोगी बेलुवा युवा क्लबले नवनिर्बाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान गरेको छ । क्लबले नव निर्वाचित गाउपालिका अध्यक्ष कर्ण कुँवर ,उपाध्यक्ष गणेश राज गिरि लगएत वडा नम्बर ५ का सदस्य हरुलाई सम्मान तथा बधाई गरेको हो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष कर्ण कुँवरले रिबन काटेर क्लबको उद्घाटन समेत गरे । कार्यक्रममा क्लबका उपाध्यक्ष पारष बिकले स्वागत मन्तव्य राखेका थिए । भने कार्यक्रममा समाजसेवी नर बहादुर कार्की , निर्मल चौधरी, जन्मजय रावल, नारायण आधारभुत बिधालय अभिभावक संघका अध्यक्ष अमर भण्डारी ,शालिमान बोहरा लगाएतकाले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष कर्ण कुँवरले शिक्षाका क्षेत्रमामा अब बालबालिकाले १ देखि १२ सम्म निशुल्क शिक्षा आर्जन गर्ने बताए । उनले भने निशुल्क शिक्षाक लागि आफू र आफ्नो टिम लागि रहेको समेत बताए । उनले भने बर्दगोरिया थुप्रै जनता एलानी जग्गामा बसेका छन, अब उनिहरुलाई २/३ महिनामै लालपुर्जा दिन जग्गा नाप नक्साको काम अगाडि बढाउन आफुले छलफाल गरेर निर्देशन दिएको बताए । साथै खेलकुदका क्षेत्रमा पनि वडालाई अब्बल पार्ने बताए ।
कार्यक्रममा विशिस्ट अतिथिको आसन बाट बोल्दै गणेश राज गिरिले जनता को हितमा रहेर काम गर्ने बताए । उनले शिक्षा ,स्वास्थ्य र खेलकुदका क्षेत्रमा काम गर्ने बताउदै एक वडा एक खेल मैदानको अवधारणा अधि सारेको बताए । उनले स्वास्थ्यका क्षेत्रमा बर्दगोरियामा निर्माणाधीन १५ शैया अस्पताल निर्माण हुनु पुर्ब बर्दगोरिया अस्पतालमा डाक्टर सहितको सेवा सुबिधा दिने बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा बर्दगोरियाका नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान
बौनिया । राष्ट्रिय प्रजातन्त्र पार्टी बर्दगोरिया, कैलालीले गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई बधाईसहित सम्मान गरेको छ । शनिबार एक कार्यक्रमका बिच पालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई पाँच वर्षिय कार्यसफलताको शुभकामना दिदै सम्मान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथी रहेका पालिका अध्यक्ष कर्ण बहादुर कुव्रले समग्र रूपमा बर्दगोरियाको विकास र समृद्धिका लागि आफू अहोरात्र खटिने बताए । उनले बर्दगोरियाको शिक्षा , स्वास्थ , खानेपानी ,ढलनिकासका सवाललाई आफुहरुले प्रमुख प्राथमिकतामा राखि काम गर्ने प्रतिबद्धता जनाए । उनले कम खर्चमा कसरी बढी काम गर्न सकिन्छ ? सोही अनुसार काम गर्ने बताए । बर्दगोरियालाई विकासको मार्गमा अगाडि बढाउन यहाँका सबै बुद्धिजीवी ,समाजसेवी ,राजनीतिक दलहरू सितको सुझाव र सल्लाह बमोजिम काम अगाडि बढाउने बताए ।
कार्यक्रमका विशिस्ट अतिथि पालिका उपाध्यक्ष (लालदिप)ले बर्दगोरियालाई शिक्षा स्वास्थ्य खानेपानी लगाएतका मुद्दासहित यहाँको पर्यटन ,कृषि क्षेत्रको समस्या र यसको व्यवसायीकरण र लगानि तथा अनुदान, कृषिमा युवापुस्ताको बढी सहभागी गराई रोजगारीको क्षेत्रमा समेत टेवा पुर्याउने गरि काम गर्ने बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी बर्दगोरियाका उपाध्यक्ष खडक साउदको सभापतित्वमा भएको कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार नवीन जोशीले स्वागत मन्तव्य राखेका थिए । सो क्रममा उनले बर्दगोरियाको शैक्षिक तथा कृषि,वन र निशुल्क स्वास्थ्य जस्ता महत्त्वपूर्ण क्षेत्रमा ठोस कार्ययोजना सहित कामगर्न आवश्यक भएकोमा ध्यानाकर्षण गराएका थिए ।
नेपाल राष्ट्रिय शिक्षक संगठन बर्दगोरियाद्वारा नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान
बौनिया । नेपाल राष्ट्रिय शिक्षक संगठन (NATA) बर्दगोरिया गाउँ कार्यसमिति कैलालीले यहाँका नवनिर्वाचित जनप्रतिनिधिलाई बधाईसहित सम्मान गरेको छ ।
शुक्रबार एक कार्यक्रमका बिच पालिकाका नवनिर्वाचित अध्यक्ष कर्ण कुवर, उपाध्यक्ष गणेश राज गिरि (लालदिप) वडा नम्बर १ का अध्यक्ष मिथुन गौतम ,वडा नम्बर २ का अध्यक्ष गोविन्द विक, वडा नम्बर ३ का अध्यक्ष मनऋषि आचार्य ,वडा नम्बर ४ का अध्यक्ष जगत बहादुर शाही ,वडा नम्बर ५ का अध्यक्ष भोलेराम चौधरीसहित वडा सदस्यहरुलाई सम्मान गरेको हो ।
सम्मान कार्यक्रममा प्रमुख अतिथी रहेका पालिका अध्यक्ष कुव्रले समग्र रूपमा बर्दगोरियाको विकास र समृद्धिका लागि आफू अहोरात्र खटिने बताए । उनले बर्दगोरियालाई शैक्षिक नगरी बनाउनका लागि आफुले सबै सरोकारवाला निकायसँग परामर्श गरि काम गर्ने बताए । उनले सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षक,शिक्षिकाको सेवा सुबिधामा समेत आफुले विशेष पहल गर्ने बताए । उनले कम खर्चमा कसरी बढी काम गर्न सकिन्छ ? सोही अनुसार काम गर्ने बताए । बर्दगोरियालाई विकासको मार्गमा अगाडि बढाउन यहाँका सबै बुद्धिजीवी ,समाजसेवी ,राजनीतिक दलहरू सितको सुझाव र सल्लाह बमोजिम काम अगाडि बढाउने बताए ।
कार्यक्रमका विशिस्ट अतिथि पालिका उपाध्यक्ष (लालदिप)ले बर्दगोरियालाई सामुदायिक विद्यालयको स्त्तरोन्नती ,शिक्षाको गुणस्तर कसरी बढाउन र व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा आफुहरु सचेत रहेको बताए । उनले बालबालिकाको शैक्षिक गुणस्तर माथी उकास्नका लागि बजेटको अभाव हुन नदिने बताए । उनले पछिल्लो समय राज्यले समेत शिक्षामा ठूलो धनराशि खर्च गरिरहेका बेला, सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षक कै छोराछोरी निजि स्कुलमा पढ्ने गरेको पाइएको हुँदा यसको सुधार सबैभन्दा पहिलो हुन जरुरी रहेको बताए ।
कार्यक्रममा अतिथिका तर्फबाट वडा नम्बर १ का अध्यक्ष मितुन गौतमले बर्दगोरियालाई विकास र समृद्धिको दिशातर्फ अगाडि बढाउन सबैको साथ र सहयोगको अपेक्षा व्यक्त गरे । उनले जनताको हरेक शुख दुखमा जिम्मेवारीतापुर्वक सबैलाई समान तवरले हेरि सेवा प्रदान गर्ने बताए । उनले सीमित स्रोत साधनको व्यवस्थापन गर्दै नागरिकको असीमित चाहानाहरू पुरागर्ने गरि काम गर्ने बताए ।
कार्यक्रममा समितिका जिल्ला उपाध्यक्ष प्रभुनाथ जोशीले शिक्षकका पेशागत हकहित र अधिकार तथा पेशागत सुरक्षाको सुनिश्चितताको लागि नवनिर्वाचित जनप्रतिनिधिले गम्भीरतापुर्वक काम गर्नुपर्ने बताए । उनले समग्र शिक्षाको विकासका लागि समेत सबैले प्रतिबद्धताका साथ कामगर्नु बताए । जनताले ठूलो आशा र भरोसाका साथ तपाईंहरुलाई समग्र पालिकाको अभिभावकको जिम्मेवारी दिएको भन्दै जनताको भोटको कदर हुनेगरी कामगर्नु पर्नेमा जोड दिए ।
उपाध्यक्ष जोशीले पछिल्लो समय समाजमा लागु औसध दुर्व्यसनमा युवापिढीको जमात फसेको भन्दै यसको न्यूनीकरण तर्फ हरेक सरोकारवाला निकाय गम्भीर बन्नुपर्ने बताए । उनले यस पालिकाभित्र सामाजिक सुरक्षाका सवालमा विशेष ख्याल र समन्वय गरि अपराध नियन्त्रण ,चोरी तस्करी नियन्त्रणमा समेत गम्भीर बन्नुपर्ने बेला आएको भन्दै ध्यानाकर्षण गराए । कार्यक्रम नेपाल राष्ट्रिय शिक्षक संगठन (NATA) बर्दगोरिया गाउँ कार्यसमितिका अध्यक्ष लक्ष्मी प्रसाद सापकोटाको सभाअध्यक्षतामा सम्पन्न भएको हो ।
बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा रहेको दोदोधरा अस्पतालले यहाँका नवनिर्वाचित जनप्रतिनिधिलाई शुक्रबार बधाईसहित सम्मान गरेको छ ।
कार्यक्रममा पालिकाका नवनिर्वाचित अध्यक्ष कर्ण कुवर, उपाध्यक्ष गणेश राज गिरि (लालदिप) वडा नम्बर १ का अध्यक्ष मिथुन गौतम ,वडा नम्बर २ का अध्यक्ष गोविन्द विक, वडा नम्बर ३ का अध्यक्ष मनऋषि आचार्य ,वडा नम्बर ४ का अध्यक्ष जगत बहादुर शाही ,वडा नम्बर ५ का अध्यक्ष भोलेराम चौधरी र वडा नम्बर ६ का अध्यक्ष रामकृष्ण डगौरा थारु (रन्जित )लाई सम्मान गरिएको थियो ।
दोदोधरा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवम् बर्दगाेरिया गाउपालिका वडा नम्बर १ का निवर्तमान वडा अध्यक्ष जयरुप खतिवडाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि गाउपालिका अध्यक्ष कर्ण बहादुर कुवर रहनु भएको थियो ।
श्रीमान् वडाध्यक्ष श्रीमती सदस्यमा विजयी
भोजपुर । राजनीतिमा लागे पछि कहिले काही फाइदा हुन्छ भन्ने उदाहरण भोजपुरको रामप्रसाद राई गाउँपालिका वडा नम्बर २ धोद्लेखानीका जनप्रतिनिधि भएका छन् । जहाँ श्रीमानले स्वतन्त्रबाट वडाध्यक्ष पद जित्नु भयो भने श्रीमतीले महिला सदस्य ।
रामप्रसाद राई गाउँपालिका वडा नम्बर २ को वडाध्यक्षमा २ सय ३४ मत ल्याएर राजकुमार तामाङ विजयी हुनु भयो भने श्रीमती प्रभा राईले २ सय ८३ मत पाएर महिला सदस्य बन्नु भयो । नेकपा (एकीकृत माओवादी) रामप्रसाद राई गाउँपालिका गाउँ पार्टी अध्यक्ष समेत रहेका राजकुमारलाई पार्टीले टिकट नदिए पछि उहाँ स्वतन्त्रबाट वडाध्यक्षमा पदमा उठेर विजय हुनु भएको हो । श्रीमती प्रभा भने माओवादी केन्द्रका तर्फबाट नै विजयी हासिल गरेर महिला सदस्य हुनुभयो ।
वडाको अन्य सदस्यहरूमा पनि माओवादी केन्द्रका जीवन जर्गामगर ३ सय ३६ मत, सुन्दर कुमार राई २ सय ६ मत र बिष्णा दर्जी २ सय ६४ मत सहित दलित महिला सदस्यमा निर्वाचित हुनु भएको छ ।
लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको हो कि होइन ? प्रधानमन्त्रीबाट जवाफ चाहियो : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूभाग हो होइन संसद्मा जवाफ दिन माग गर्र्नुभएको छ ।
बिहीबार संसदको संयुक्त सदनमा सरकारको नीति तथा कार्यक्रमबारे छलफलमा भाग लिनुहुँदै अध्यक्ष ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रममा भारतले मिचेको कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउने विषय स्पष्ट रूपमा नराखेको प्रधानमन्त्रीबाट यसबारे जवाफ मामाग्नुभएको हो ।
नीति तथा कार्यक्रममामाथि बोल्ने क्रममा ओलीले सरकारले आफ्नो भुभागलाई आफ्नो भन्न नसकेको लाज लागेको बताउनुभयो । उहाँले भन्नुभयो,‘ऐतिहासिक सन्धि, नक्सा, तथ्य र प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट सीमा सम्बन्धमा बाँकी रहेका विषय समाधान गरिनेछ । शरम लाग्छ, योभन्दा कायरता के हुन्छ ?’
आफ्नो नेतृत्वको सरकारले भारतले मिचेको भूमिलाई नेपालको नक्सामा राखेको स्मरण गराउँदै ओलीले संविधान अनुसारको भुभाग पनि आफ्नो भन्न नसक्ने प्रधानमन्त्री मुलुकलाई नचाहिएको बताउनुभयो । ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको हो को कि होइन ? प्रधानमन्त्रीज्यूबाट जवाफ स्पष्ट भाषामा हामी चाहन्छौं । सदनले चाहन्छ, प्रतिपक्षले चाहन्छ, नेपाली जनताले चाहन्छ,’ उहाँले प्श्न गर्दै भन्न्ुभयोे, ‘नेपालको भूमि नेपालको हो भन्न सक्नुहुन्न भने, यो फिर्ता ल्याउने प्रयास गर्छु भन्न सक्नुहुन्न भने, सरकारको नेतृत्व गर्ने भनेको के हो ? गर्न केही पनि सक्नुहुन्न, राष्ट्रिय हितको रक्षा गर्न सक्नुहुन्न, भूमिको रक्षा गर्न सक्नुहुन्न, अखण्डताको रक्षा गर्न सक्नुहुन्न, आफ्नो भूमिलाई आफ्नो भूमि भन्न सक्नुहुन्न अनि के हो सरकारको नेतृत्व भनेको ? नेतृत्वविहीन भएन सरकार ? प्रतिपक्षले नेतृत्व लिनुपर्ने राष्ट्रिय हितको ? भौगोलिक अखण्डताको जिम्मेवारी प्रतिपक्षको जिम्मा हो ? सरकारले केही गर्नु पर्दैन ? जवाफ चाहिन्छ ।’