दलित महिला अधिकार मञ्च कैलालीद्वारा बर्दगोरियाका नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान
बौनिया । महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आएको दलित महिला अधिकार मञ्च कैलालीले बर्दगोरिया गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई बधाईसहित सम्मान गरेको छ ।
आइतबार सडकपुर बौनियामा एक कार्यक्रमका बिच पालिकाका नवनिर्वाचित अध्यक्ष कर्ण कुवर, वडा नम्बर ३ का अध्यक्ष मनऋषि आचार्य, वडा नम्बर ५ का अध्यक्ष भोलेराम चौधरीसहित वडा सदस्यहरुलाई सम्मान गरेको हो ।
सो क्रममा मञ्चकि कैलाली जिल्ला अध्यक्ष साबित्रा घिमिरे र किशोरी परियोजनाकि कोर्डिनेटर भगवती चौधरीले टीका र खादा लगाउदै पाँच वर्षिय कार्यकालको सफलताको शुभकामना दिए ।
कार्यक्रममा पालिका अध्यक्ष कर्ण बहादुरले बर्दगोरियामा बालबिबाह न्यूनीकरण ,बाल श्रम शोषणको अन्त्यगर्ने सवालमा आफू गम्भीर भएको भन्दै यसको रोकथाम र न्यूनीकरणको कार्यमा सक्दो सबै सहयोग गर्ने प्रतिबद्धता जनाए ।
धनगढी । कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुनः पुष्पराज कुँवर विजयी भएका छन्। प्रतिस्पर्धी सुरेन्द्र राठीलाई ३ सय २३ मत अन्नतरले पराजित गर्दै कुँवर विजयी भएका हुन्।
यस्तै वरिष्ठ उपाध्यक्षमा पुष्करराज ओझा, उद्योग उपाध्यक्षमा दिनेश लम्साल, एशोसिएट उपाध्यक्षमा मनोज अग्रवाल, वस्तुगत उपाध्यक्षमा लक्ष्मणराज पन्त, महासचिवमा ओमबहादुर विष्ट, कोषाध्यक्षमा भीमराज ओझा अब्बु र सचिवमा सुरेश पाण्डेय विजयी भएका छन्।
शनिबार भएको संघको चुनावमा १ हजार ९५ मत खसेको थियो।
मन्त्रिपरिषद् पुनर्गठन हुँदै, अर्थमा ज्ञानेन्द्र र गृहमा नारायणकाजीको चर्चा
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले आफूले सिफारिस गरेका मन्त्रीको चाँडो शपथग्रहण गराउन दबाब दिइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवा बजेट पारित भएपछि मात्र मन्त्रिपरिषद् पुनर्गठनको पक्षमा देखिएका छन् ।
गठबन्धनका शीर्ष तहमा यही सहमति भए पनि नेकपा एसका सम्मानित नेता झलनाथ खनालले चाँडो शपथ नगराए गठबन्धन तोडिनेसम्मका धम्की दिइरहेका छन् । प्रधानमन्त्री निकट स्रोतले भने अब नेकपा एसका मात्र नभएर अन्य दलका पनि मन्त्रीहरू फेर्ने गरी छलफल भइरहेको जनाएको छ ।
स्रोतका अनुसार बजेट पारित भएपछि अर्थमन्त्री फेर्ने सहमति शीर्ष तहमा भएको छ । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई उपप्रधानमन्त्रीसहित अर्थमन्त्रालयको जिम्मा दिने तयारी भइरहेको र यसको जानकारी शीर्ष नेतालाई देउवाले गराएको बताइएको छ ।
अर्थमन्त्रालय काँग्रेसले नै राख्न दातृ निकायले समेत सुझाव दिएपछि कार्कीलाई जिम्मा दिन लागिएको स्रोतले जनाएको छ । त्यस्तै अर्थमन्त्रालय काँग्रेसले लिएपछि पुनर्गठनमा गृह माओवादीको भागमा पर्नेछ ।
माओवादीबाट पनि उपप्रधानमन्त्रीसहित नारायणकाजी श्रेष्ठलाई गृहमन्त्री बनाउन लागिएको चर्चा छ । यद्यपि यसको पुष्टि भएको छैन । तर नारायणकाजी श्रेष्ठ समूह माओवादीमा अहिले असन्तुष्ट छ र महाधिवेशनदेखि स्थानीय तहको टिकट वितरणसम्ममा आफ्नो समूहमाथि पेलान भएको उनीहरूको बुझाइ छ ।
नारायणकाजीलाई तत्काल मन्त्रालयको जिम्मेवारी दिइयो भने पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई केन्द्रीय कमिटी विस्तारमा समेत सहज हुने विश्लेषण गरिएको छ । आन्तरिक विवादले गर्दा नै पार्टी केन्द्रीय कमिटी विस्तार गर्न नसकेका दाहाललाई यो मन्त्रिपरिषद् पुनर्गठनले सहज हुने अनुमान गरिएको छ ।
फुटको संघारमा उभिएको सत्ता साझेदार पार्टी जनता समाजवादी पार्टीमा समेत मन्त्रिपरिषद् पुनगर्ठनले केही राहत महसुस हुने बताइएको छ । जसपा अध्यक्ष उपेन्द्र यादवले असन्तुष्ट केहीलाई सरकारमा पठाएर पार्टी फुटबाट जोगाउन रणनीतिमा लागेको बुझिएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।
पोखरा । जिल्ला समन्वय समिति मुस्ताङमा एमाले उम्मेदवार सर्वसम्मत निर्वाचित हुने भएका छन् ।
काँग्रेसले उम्मेदवारी नै नदिएपछि एमाले उम्मेदवार सर्वसम्मत हुने भएको हो । पाँच पालिका रहेको मुस्ताङमा एमालेको ७ भोट र काँग्रेसको ३ भोट छ ।
एमालेले आइतबार नै आफ्ना उम्मेदवार टुङ्गो लगाएको थियो । योसँगै मुस्ताङ जिससको प्रमुखमा पुनः महिला नै दोहोरिने पक्का भएको छ ।
एमालेले प्रमुखमा वारागुङ मुक्ति क्षेत्र–१ की वडा सदस्य माया गुरुङलाई उठाउने निर्णय गरेको छ भने उपप्रमुखमा घरपझोङ ३ का आइतेलाल थकालीलाई पठाएको छ ।
सदस्यहरूमा उमेश विक, शान्ता कुमारी विक र टसी ल्हामो सेन्चुरीलाई उम्मेदवार उठाएको छ । अर्को सदस्य राप्रपालाई दिएको छ । राप्रपाबाट विमला परियार उम्मेदवार बन्नुभएको छ ।
देउवाद्वारा मन्त्री हेरफेर गर्न अनिच्छा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल सरकारमा रहेका मन्त्री हेरफेर गर्न अनिच्छा देखाएका छन् ।
‘प्रधानमन्त्री अहिले सरकारमा रहेका मन्त्रीलाई हटाउने सोचमा हुनुहुन्न, यसले सरकार र सिंगो गठबन्धनलाई नै असर पर्ने उहाँको बुझाइ छ, एउटा दलको मन्त्री हेरफेर गर्दा गठबन्धनमा रहेका अन्य दलमा पनि त्यो आवाज उठ्छ भन्ने प्रधानमन्त्रीको विश्लेषण छ,’ प्रधानमन्त्री देउवानिकट एक कांग्रेस नेताले भने । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।
अछाम । जिल्ला समन्वय समिति अछामको प्रमुखमा कांग्रेस –माओवादी गठबन्धनका तर्फबाट उम्मेदवार नेपाली काँग्रेसका ललित बहादुर विजयी विजयी हुनुभएको छ ।
साँफेबगर नगरपालिका वडा नम्बर ८ चण्डीकाका कुँवरले १२ मत ल्याई विजयी हुँदा नेकपा एमालेका उम्मेदवार मङ्गलसेन नगरपालिका वडा नम्बर ६ का दुर्गा प्रसाद भण्डारीले ६ मत प्राप्त गर्नुभयो ।
यसैगरी, उपप्रमुखमा नेपाली काँग्रेसका दानमति बम शाहीले १२ मत ल्याई विजयी हुँदा नेकपा एमालेका पुतलीदेवि रावलले ६ मत ल्याउनुभयो ।
सदस्यहरूमा नेपाली काँग्रेसका चक्रा कुमारी रावल, लक्ष्मी स्वर्णकार, सीता भण्डारी, द्वारिका प्रसाद उपाध्याय, नरेन्द्र बहादुर कुवर र पूर्ण बहादुर रावल तथा दलित सदस्यमा माओवादी केन्द्रका प्रभात विश्वकर्मा विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
दलित सदस्यमा नेकपा एमालेका उम्मेदवारले गठबन्धनको १ मत प्राप्त गर्न सफल हुनुभएको छ । एमालेको ६ मत भए पनि एमाले उम्मेदवार सुरत कामीले ७ मत प्राप्त गरेका छ ।
१० पालिकाका २० मत रहेको अछाममा १८ मत मात्रै खसेको थियो । २० मत मध्ये काँग्रेसका ११, एमालेका ६, माओवादी केन्द्रका २ र एकीकृत समाजवादीका १ मत रहेको थियो ।
‘अध्यक्ष नेपालले प्रधानमन्त्रीको अफर स्वीकार गर्नुपर्छ’: युवा नेता वास्तविक
कोहलपुर। एकीकृत समाजवादी पार्टीका युवा नेता धनराज वास्तविकले पार्टी अध्यक्ष माधव नेपालले प्रधानमन्त्रीको अफर स्वीकार गर्नुपर्ने धारणा अघि सारेका छन्।
बिहिबार कर्णाली प्रदेशको राजधानी सुर्खेत पुगेका पार्टी अध्यक्ष नेपालले प्रधानमन्त्रीको अफर आएको तर, आफू त्यस्ता प्रलोभनमा नपर्ने बताएका थिए।
तर, यता पार्टीको प्रचार विभागका केन्द्रीय सदस्य वास्तविकले कम्युनिस्ट आन्दोलनको रक्षा विकासका निम्ति अध्यक्ष नेपाल अघि सर्नुपर्ने र त्यसको नेतृत्व लिनुपर्ने बताएका हुन्।
नेता वास्तविकले शुक्रबार बिहान सामाजिक संजाल फेशबुक मार्फत आगामी सरकारको र कम्युनिस्ट एकता अभियानको नेतृत्व लिन अध्यक्ष नेपाललाई खुल्ला सुझाव दिएका छन्।
उनले लेखेका छन्, “कम्जोर बन्दै गएको र छिन्नभिन्न भएको नेपाली वाम आन्दोलनलाई नयाँ उचाई दिन माधव नेपाल कमरेडले प्रधानमन्त्रीको अफर स्वीकार गर्नुपर्छ। उहाँको नेतृत्वमा कम्युनिस्ट एकता अघि बढ्छ र त्यसले सहि गति लिन्छ भने नेतृत्वको अफर किन अस्वीकार गर्ने? नेतृत्व लिन किन पछि हट्ने? आजको मुल प्रश्न यहि हो। वाम एकता हुँदा कम्युनिस्टहरूलाई मात्रै होइन, देश, जनता र कांग्रेसलाई समेत फाइदा हुन्छ। बरु वाम एकतालाई चुनावी स्वार्थभन्दा बाहिर राखौं। ठन्डा दिमागले सोचौं। सच्चिने मौका छ, नगुमाऔं। नेतृत्वलाई कार्यकर्ताले वाम एकताको लागि दबाब दिऔं। अन्टसन्ट नबोलौं।”
पोखरा । नेकपा एमाले कास्कीले पोखरा महानगरपालिकाका मेयर उम्मेदवार कृष्ण थापालाई हराउन खुलेआम गठबन्धनका उम्मेदवारको पक्षमा अभियान चलाएको अडिओ रेकर्डका आधारमा तीनजना कार्यकर्तालाई कारबाही गरेको छ ।
कारबाहीमा पर्नेमा मनोज पहारी, महेश अर्याल र प्रशान्त आचार्य रहेका छन् । पहारीले प्रदेश सांसद राजीव पहारीको समेत नाम लिँदै विपक्षी दलका उम्मेदवार धनराज आचार्य जिताउन टेलिफोनमा पैसाको समेत लेनदेन गरेको अडिओ सार्वजनिक भएको थियो ।
मनोज पहारीलाई संगठित सदस्यबाट लिनम्बन गरिएको छ । त्यस्तै पोखरा ३३ वडाका उपाध्यक्ष महेश अर्याललाई पदीय जिम्मेवारीसहित संगठित सदस्यबाट समेत निलम्बन गरिएिको जिल्ला अध्यक्ष मनबहादुर गुरुङले प्रेस विज्ञप्तिमार्फत जनाएका छन् ।
एमालेले पोखरा ३३ कै अर्का कार्यकर्ता प्रशान्त आचार्यलाई पनि निलम्बन गरेको छ । पोखरा महानरमा एमालेका मेयर उम्मेदवार हराउन जिम्मेवार नेता कार्यकर्ता नै खुलेर लागेको र विपक्षी उम्मेदवार धनराज आचार्यसँग विभिन्न युवा समूह र अन्य क्लबका नाममा पैसा लिएको आरोप छ ।
जिसस कैलालीको निर्वाचन यही जेठ ३० मा हुने
गोदावरी । जिल्ला समन्वय समिति कैलालीको निर्वाचन यही जेठ ३० गते हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको तालिका अनुसार जेठ २० गते मतदाता नामावली प्रकाशन, २२ गते उम्मेदवारको मनोनयन दर्ता हुनेछ भने २४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।
यस्तै २५ गते उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने छ, भने ३० गते जिसस कैलालीमा बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म मतदान हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । १३ पालिका भएको जिल्लामा २६ जनाले मतदाता गर्न पाउने छन् । एक जना स्वतन्त्ररुपमा विजयी हुनुभएका जनप्रतिनिधि हुनुहुन्छ भने एक जना सत्ता गठबन्धनकाविरुद्ध चुनाव लड्नुभएका नेपाली कांग्रेसका पालिका अध्यक्ष हुनुहुन्छ ।
यी दुई पालिका प्रमुख र अध्यक्षको मत जिल्ला समन्वय समिति गठन गर्न निर्णायक हुने देखिएको छ । जिल्ला समन्वय समितिको संयोजक बन्नका लागि सत्ता गठबन्धनसँग १४ मत आवश्यक पर्नेमा १३ मत छ । कांग्रेससँग ८, माओवादीसँग ४ र एकीकृत समाजवादीसँग एक मत गरेर जम्म १३ मत हुन्छ ।
गठबन्धनविरुद्ध उम्मेदवारी दिएको जनाउँदै कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीलाई कारबाही गरिएको थियो । जिल्लाका चार स्थानीय तह जितेको नागरिक उन्मुक्ति पार्टीसँग ७, एमालेसँग ५ मत मात्रै छ । एमाले र नागरिक उन्मुक्ति मिल्दा पनि १२ मत मात्रै हुन्छ ।
कांग्रेस र नागरिक उन्मुक्तिले प्रमुख आफूले पाउनुपर्ने दाबी गरिरहेको जनाइएको छ ।
बर्दगोरिया गाउँपालिकाको कार्यपालिकामा एमालेलाई बहुमत प्राप्त ,कसले कति मत पाए ?
बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिकाको कार्यपालिकामा नेकपा एमालेले बहुमत प्राप्त गरेको छ ।
बुधबार महिला सदस्य, दलित वा अल्पसंख्यक सदस्यका लागि भएको मतदानबाट ६ जना निर्वाचित भएसँगै कार्यपालिकामा एमालेको बहुमत पुगेको हो ।
बुधबार भएको कार्यपालिकामा निर्वाचनमा नेकपा एमालेका तर्फबाट, पुष्कर विक, भिम बहादुर विश्वकर्मा, कलावती कुमारी रेग्मी ,माया देवि चौधरी मिरादेवी आलेमगर सरस्वती कामी निर्वाचित भएका छ्न । नेपालको संविधानअनुसार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष गाउँ कार्यपालिकाको पदेन अध्यक्ष र उपाध्यक्ष हुन्छन् । त्यस्तै वडाअध्यक्ष स्वतः गाउँ कार्यपालिकाको सदस्य हुन्छन् । बर्दगोरियामा एमालेले पालिका अध्यक्ष सहित ६ वटा वडामध्य दुई ओटा वडा अध्यक्षसहित १३ सदस्य जितेको थियोे ।
निर्वाचित महिला वडा सदस्यबाट चार जना र सोही गाउँका दलित वा अल्पसङ्ख्यक सर्वसाधारणबाट दुई जना कार्यपालिकामा निर्वाचित हुने संविधानमा व्यवस्था छ ।
कार्यपालिकाका जनप्रतिनिधि छनोट गर्न निर्वाचित जनप्रतिनिधि नै मतदाता हुन्छन् ।