बागलुङ, १३ जेठ २०७८ ।
कोरोनाको त्रासदी छ । महामारी गाउँ छिरेको छ । सङ्क्रमण रोक्न गरिएको निषेधाज्ञा जारी छ । किसानलाई भने पौरख नचलाई सुख छैन । घरमै बसेर हातमुख जोडिन्न । बर्खा शुरु हुँदैछ । खेतीपाती नगरी भएन । कोरोना छलेर कामधन्दा गर्नुछ ।
महामारीबीच रोपाइँको याम शुरु भएको छ । गलकोट लगायत जिल्लाका कतिपय भेगमा जेठ दोस्रो सातादेखि नै रोपाइँ हुन थाल्छ । एकातिर कोरोना सङ्क्रमणको जोखिम र भय, अर्कातिर रोपाइँको चटारो । महामारीबाट जोगिएर खेतीपाती लगाउनुको विकल्प किसानसँग छैन ।
किसानलाई खेतबारीमा काम गर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन स्थानीय तहहरुले आग्रह गरेका छन् । गलकोट नगरपालिकाले रोपाइँमा भौतिक दूरी कायम गर्न, कम मानिस मात्र भएर खेतीपाती गर्न, खाजाको प्रबन्ध घरबाटै गर्न तथा खेतमा आउने र घर फर्कने समयमा अनिवार्यरूपमा मास्क लगाउन भनेको छ ।
सार्वजनिक सूचना नै जारी गरेर त्यस्तो आग्रह गरिएको र त्यसको अनुगमन पनि हुने नगरपालिकाले जनाएको छ । गलकोटको मजुवा जिल्लामै धेरै धान फल्ने फाँट हो । सबैभन्दा पहिले त्यहीँबाट रोपाइँ शुरु हुन्छ । सिञ्चित र दुई बाली फल्ने खेतमा मध्य जेठबाटै रोपाइँ हुने गरेको छ ।
मजुवालगायत फाँट खोला आसपास भएको र बाह्रैमास सिँचाइ पुग्ने हुँदा रोपाइँलाई समस्या नपर्ने नगरपालिकाका कृषि शाखा प्रमुख हरिदत्त सुवेदी बताउनुहुन्छ । त्यहीँमाथि मनसुनले समेत साथ दिएमा रोपाइँ बेलैमा सकिन्छ । गलकोट क्षेत्र भएर बग्ने दरमखोला र गौँदी खोलाबाट आएका कुलाले त्यहाँको ठूलो उब्जाउ भूमिलाई सिञ्चित गर्छन् ।
छिटो रोपाइँ हुनेमा जिल्लाको गलकोट, कुश्मीसेरा, खरबाङ र बुर्तिबाङलगायतका क्षेत्र पर्छन् । रोपाइँ हुने मुख्य महिना असार भए पनि ती ठाउँमा पहिल्यै रोपाइँ शुरु भइसक्छ । मकै बाली हुने खेतमा भने किसानले मकै झिकेपछि असार अन्तिम र साउनसम्मै रोपाइँ गर्छन् । मनसुन जति छिटो सक्रिय हुन्छ उति नै छिटो रोपाइँ हुन्छ ।
जिल्लाको दक्षिण अमलाचौर, नारायणस्थान, बिहुँ, पाला, मालिका, बुर्तिबाङको उपल्लो भेगलगायतका ठाउँमा भने रोपाइँ ढिलो हुन्छ । कृषि ज्ञान केन्द्रकाअनुसार जिल्लामा छ हजारबढी हेक्टरमा धान खेती हुँदै आएको छ । प्रतिहेक्टर तीन मेट्रिक टन धान फल्छ । पछिल्लो समय उत्पादन बढाउन उन्नत र वर्णसङ्कर जातको धान खेतीतर्फ किसान आकर्षित छन् ।
केही स्थानीय जातका साथै उन्नततर्फ माछापुच्छ«े, छुन्दुङ, हिमाली, सावित्री, जेठो बुढो, सुक्खा १,२,३ सहित उन्नत जातको धान खेती हुँदै आएको छ । धानको उब्जनी बढाउन कृषि ज्ञान केन्द्रले बीज वृद्धिलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ । जिल्लाको २० प्रतिशत सिञ्चित क्षेत्रमा मात्रै धान खेती हुँदै आएको छ ।
बागलुङ, ११ जेठ २०७८ ।
रोजगार सम्बन्धी देखिएका समस्या हल गर्न बागलुङका दश स्थानीय तहका रोजगार संयोजकहरुद्वारा जिल्ला रोजगार समन्वय मञ्च गठन भएको छ । जिल्ला भित्रका स्थानीय तहहरुमा कार्यरत रोजगार संयोजकहरुको सोमबार भर्चुअल माध्यमबाट बसेको बैठकले बागलुङ नगरपालिकाका रोजगार संयोजक, सविता पौडेलको अध्यक्षतामा पाँच सदस्यीय समन्वय समिति गठन गरेको हो ।
समितिको सचिवमा ढोरपाटन नगरपालिकाका रोजगार संयोजक हिरालाल खनाल, कोषाध्यक्षमा जैमिनी नगरपालिकाका रोजगार संयोजक सुरेश पुन पुन रहनुभएको छ । यस्तै सदस्यहरुमा ताराखोला गाउँपालिकाका. रोजगार संयोजक गणेश बहादुर चोखाल र तमानखोला गाउँपालिकाका.रोजगार संयोजक विष्णु चालिसे रहनुभएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमलाई थप व्यवस्थित गर्न, स्थानीय स्तरमा देखिएका समस्यालाई मन्त्रालय समक्ष पुर्याउन, बेरोजगारहरुलाई रोजगार प्रदान गर्न, जिल्लाभरका बेरोजगारहरूको अभिलेख राख्न, स्थानीय तहलाई रोजगार कार्यक्रमको बारेमा स्पष्ट पार्न, रोजगार संयोजकहरुको काम कारवाहीमा सहजता ल्याउन, समन्वय गर्न तथा अनुभवहरु अदानप्रदान गर्न र रोजगारी सम्बन्धि विभिन्न सल्लाह सुझाव प्रदान गर्न समितिले भुमिका निर्वाह गर्ने गरी जिल्ला रोजगार समन्वय मञ्च गठन गरिएको मञ्चका अध्यक्ष तथा बागलुङ नगरपालिकाका रोजगार संयोजक सविता पौडेलले जानकारी दिनुभयो ।
सो बैठकले नियमित रुपमा हरेक महिनाको अन्तिम शनिवार जिल्लाका १० वटै स्थानीय तहहरुमा कार्यरत रोजगार संयोजकहरु सहित अनिवार्य रुपमा वैठक बस्ने निर्णय छ । भर्चुअल बैठकमा जिल्लाका सबै रोजगार संयोजकहरुको उपस्थिति रहेको थियो । हाल जिल्लाको बागलुङ नगरपालिकामा. रोजगार संयोजक सविता पौडेल, जैमिनी नगरपालिकामा रोजगार संयोजक सुरेश पुन, ढोरपाटन नगरपालिकामा रोजगार संयोजक हिरालाल खनाल र गलकोट नगरपालिकामा रोजगार संयोजक ममता बुढाथोकी रहनुभएको छ ।
यस्तै काठेखोला गाउँपालिकामा रोजगार संयोजक जनक पौडेल, ताराखोला गाउँपालिकामा रोजगार संयोजक गणेश चोखाल, बरेङ गाउँपालिकामा रोजगार संयोजक केशवराज क्षेत्री, तमानखोला गाउँपालिकामा रोजगार संयोजक विष्णु चालिसे र निसिखोला गाउँपालिकामा रोजगार संयोजक जमुना घर्ती मगर रहनुभएको छ । जिल्लाको बडिगाड गाउँपालिकामा भने हाल रोजगार संयोजकको पद खाली रहेको छ । .
बागलुङमा काेराेनाकाे अवस्था
बलेवा विमानस्थल र बसपार्कको कालोपत्रे गर्ने काम निषेधाज्ञाले रोकियो, आयोजना प्रभावित
बागलुङ, १० जेठ २०७८ ।
निर्माणको अन्तिम चरणमा पुगेका बागलुङका दुई ठूला आयोजनाको काम प्रभावित बनेको छ । पूर्वाधार निर्माण सम्पन्न भई कालोपत्रेको मात्रै काम रहेको बलेवा विमानस्थल र बागलुङ बसपार्कको कालोपत्रे गर्ने काम रोकिएको छ ।
जिल्लामा अन्य निर्माण कार्य निर्वाधरूपमा भइरहे पनि दुई आयोजना निषेधाज्ञा भन्दै रोकिएका छन् । वैशाखमै कालोपत्रे गर्ने भनिएको बलेवा विमानस्थलको धावनमार्ग र आधुनिक बागलुङ बसपार्कको काम अहिले रोकिएको निर्माण व्यवसायीले बताएका छन् ।
दुवै आयोजना अक्पार्ड प्रविधिबाट कालोपत्रे गरिने भए पनि प्लान्ट नपाउँदा कालोपेत्रमा समस्या भएको निर्माण कम्पनीको दाबी छ । जिल्लामा निर्माण कार्य स्वास्थ्य मापदण्ड पूरा गरेर गर्न जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिले निर्देशन दिएको छ तर निर्माण सामाग्री समयमा नपाइएको तथा अन्य आवश्यक उपकरण र सामाग्री निषेधाज्ञाका कारण मुल्य वृद्धि भएकाले दुई ठूला आयोजनाको काम अन्तिम अवस्थामा आएर रोकिएका हुन् ।
जिल्लाको भविष्यसँग जोडिएका बलेवा विमानस्थल तथा बागलुङ बसपार्क अन्तिम चरणमा पुगेर रोकिनु दुःखद् भएको स्थानीयवासी बताउँछन् । प्लान्ट जडानमा ढिलाइ हुँदा समयमै कालोपत्रे गर्न नसकिएको विमानस्थल कालोपत्रेको जिम्मा पाएको काष्ठमाण्डप निर्माण सेवाका प्रतिनिधि बासु थापाले बताउनुभयो । म्याग्दी जाने सडक छेउमा अक्पार्ड प्रविधिको कालोपत्रे गर्ने सामग्री उत्पादनको प्लान्ट निर्माण भइरहेकाले केही ढिलाइ भएको थापाको भनाइ छ । प्लान्ट निर्माण हुनासाथ १० दिनमै विमानस्थलको धावनमार्ग कालोपत्रे सकिने थापाको दाबी छ ।
यता प्लान्टकै कारण नगरपालिकाको अगुवाइमा निर्माण थालिएको बागलुङ बसपार्क सञ्चालनमा ढिलाइ भएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । निषेधाज्ञा बहाना मात्रै भएको र काम गर्नेलाई समस्या नभएको नगर प्रमुख पौडेलको भनाइ छ ।
नेपाल नागरिक उड्डययन प्राधिकरणले विमानस्थल पुनर्निर्माणको काम द्रुत गतिमा भएको जनाएको छ । यद्यपि यही जेठ मसान्तभित्र निर्माण सक्ने तयारी भए पनि निर्माण सम्पन्न हुनमा केही आशङ्का जन्मेको छ ।
विसं २०१६ देखि २०१८ सम्म लगाएर स्थानीयवासीले बनाएको ८०० मिटर लामो यो विमानस्थलमा २०४९ सम्म नियमित जहाज चल्दै आएका थिए । विसं २०४८ मा पोखरा–बागलुङ सडक खुलेपछि विमानस्थल बन्द भएको थियो ।
बसपार्क निर्माणका लागि बागलुङ–४ उपल्लाचौरमा १८ वर्षअघि बागलुङ बजारबासीले उपल्लाचौरको दाबगरामा व्यक्तिगत जग्गा निःशुल्क नगरपालिकालाई उपलब्ध गराएका थिए । यतिका वर्षपछि बसपार्क निर्माणले अन्तिम रूप लिएको भए पनि निषेधाज्ञाले कालोपत्रे गर्न नसकिएको निर्माण व्यवसायीले बताएको छ । लामो समय सरकारी उदासीनताका कारण अलपत्र परेको बसपार्क निर्माण जनप्रतिनिधि आएपछि २०७५ सालमा नगरपालिकाको पहलपछि गति लिएको थियो ।
ठेक्का स्वीकृत भएको दुई वर्षपछि बसपार्क निर्माण अन्तिम चरणमा पुगेको भए पनि कालोपत्रे हुन नसकेको हो । बागलुङमा व्यवस्थित बसपार्क बनाउन २०५९ सालमै स्थानीयवासीले करोडौँ मूल्य पर्ने जग्गा निःशुल्क दिएका थिए ।
विसं २०७६ कात्तिक २६ गते एक वर्षमा सक्ने गरी रु आठ करोड ७० लाखमा ठेक्का सम्झौता भएको बसपार्क समयमै नसकिँदा दुई पटक छ÷छ महिना म्याद थपिएको हो । अहिले टर्मिनल र व्यावसायिक भवन निर्माण सम्पन्न भएको र पार्किङ स्थलको कालोपत्रेको तयारी छ । बसपार्कको ८५ प्रतिशत भौतिक प्रगति र ७० प्रतिशत वित्तीय प्रगति भएको छ ।
कोरोनाका कारण निर्माणमा केही ढिलाइ भए पनि फागुनभित्रै बसपार्क नगरपालिकालाई हस्तान्तरण गर्ने गरी बाँकी कामलाई तिब्रता दिइएको भए पनि पुनः निषेधाज्ञाले समस्या भएको बसपार्क निर्माणको जिम्मा लिएको आशिष फेवा जेभीले जनाएको छ ।
कोरोनाबाट मृत्यु हुनेको परिवारलाई रु १० हजार दिइने, कर्मचारीलाई प्रोत्साहन भत्ता
तनहुँ, ८ जेठ २०७८ ।
तनहुँको व्यास नगरपालिकाले कोरोनाबाट मृत्यु हुने विपन्न परिवारलाई रु १० हजार उपलब्ध गराउने निर्णय गरेको छ । शुक्रबार बसेको कार्यपालिका बैठकले कोरोना सङ्क्रमणबाट मृत्यु हुने विपन्न परिवारलाई शवबाहन र काजकिरीया खर्चवापत जनही रु १० हजार उपलब्ध गराउने निर्णय गरेको हो ।
सम्बन्धित वडाको सिफारिशमा मृत्यु भएकाको परिवारलाई राहत दिने निर्णय भएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै कोभिड–१९ सङ्क्रमित भई उपचाररत विपन्न एवं मजदुर परिवारलाई रु पाँच हजार उपचार एवं सुविधा उपलब्ध गराउने निर्णय भएको श्रेष्ठले बताउनुभयो ।
नगरपालिकामा हालसम्म ६१६ जनाको पिसिआर परीक्षण गरिएकामा ४३३ जनाको प्रतिवेदन आउँदा २९१ सङ्क्रमित भएका छन् । त्यसमध्ये १० जनाको मृत्यु भएको छ । त्यस्तै ५९ सङ्क्रमणमुक्त भएका छन् । दुई सय २२ जनाको सामुदायिक आइसोलेशन, दमौली अस्पताल, जिपी कोइराला श्वासप्रश्वास अस्पताल र होमआइसोलेशनमा उपचार भइरहेको छ । साथै १८३ जनाको रिपोर्ट आउन बाँकी रहेको नगरपालिकाले जनाएको छ ।
सबै पालिकाहरुको सहभगितामा गत वर्षको प्रतिबद्धताअनुसार व्यास–१० दुम्सीबजारस्थित आधारभूत स्वास्थ्य केन्द्र रहेको भवनमा पिसिआर परीक्षण प्रयोगशाला निर्माण गर्न भएको निर्णय बैठकले अनुमोदन गरेको छ । उक्त भवनमा खरिद ऐनअनुसार खरिद एवं निर्माण प्रक्रिया अघि बढाउन कार्यालयलाई निर्देशन दिने निर्णय भएको छ ।
आगामी वार्षिक कार्यक्रममा नगरपालिकाको नगर अस्पताल स्थापना गर्न र आफ्नै अक्सिजन प्लान्ट निर्माण गर्न विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थासँग सहकार्यका लागि आह्वान गर्ने निर्णयसमेत बैठकले गरेको छ ।
कर्मचारीलाई प्रोत्साहन भत्ता
नगरपालिकाले कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचार कार्यमा खटिने कर्मचारीलाई कार्य प्रकृति र त्यसको जोखिमलाई मध्यनजर गरी भत्ता उपलब्ध गराउने भएको छ । शुरु तलब स्केलमा २५ देखि १०० प्रतिशतसम्म जोखिम भत्ता उपलब्ध गराउने निर्णय भएको छ । नगरपालिकाले विपद्जन्य प्रतिकार्य योजना तयार पार्ने र गत वर्ष बाढीपहिराले घर भत्किएका ७७ घरपरिवारलाई राहत दिने सम्बन्धमा सङ्घीय सरकारको निर्देशिकाबमोजिम तत्काल सहयोग उपलब्ध गराउने प्रक्रियाबारेमा सम्बन्धित निकायमा समन्वय गरी अगाडि बढाउने निर्णय भएको छ ।
निषेधाज्ञामा आकस्मिक रक्तदान
रगत अभावका कारण बिरामीलाई समस्या नहोस् भन्नका लागि तनहुँको शुक्लागण्डकीमा शुक्रबार आकस्मिक रक्तदानको कार्यक्रम गरिएको छ । शुक्लागण्डकी एफएम, युवा नेपाल समिति, लियो क्लब अफ दुलेगौडा खैरेनी सिटी र विश्व हिन्दू महासङ्घ शुक्लागण्डकीको संयुक्त आयोजनामा शुक्लागण्डकीका विभिन्न ठाउँमा रक्तदान गरिएको हो ।
शुक्लागण्डकी नगरपालिकास्थित विपीचोक, बेलचौतारा, मिलडाँडा, वनकेवा चोक, ढोरफिर्दी, गाछेपानी, कवासेलगायतका ठाउँमा रक्तदान गरिएको शुक्लागण्डकी एफएमका स्टेशन म्यानेजर राजन उपाध्यायले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म ५७ जना रक्तदान गरिसकेका छन् । रगत अभाव हुँदा नियमितरूपमा डायलासिस गर्ने, रक्तअल्पतालगायतका बिरामी समस्यामा पर्ने गरेका छन् ।
काठमाडौँ, ७ जेठ २०७८ ।
काठमाडौँको चन्द्रागिरि नगरपालिका थप दुई दिन शिल गरिने भएको छ । काठमाडौँ उपत्यका प्रवेशको मुख्य नाकामा रहेको चन्द्रागिरिको वैशाख २९ गतेको बैठकको निर्णयअनुसार जेठ १ देखि ७ गतेसम्म शिल गर्ने निर्णय भए पनि बिहीबार पुनः दुई दिन शिल गर्ने निर्णय गरेको हो ।
नगरपालिकाका प्रमुख घनश्याम गिरीले जेठ ८ गते राति १२ बजेसम्म नगरपालिका शिल गर्ने निर्णय गरेको राससलाई जानकारी दिनुभयो । नगरपालिका शिल भएसँगै बिहान ६ देखि साँझ ५ बजेसम्म सर्वसाधारण सडकमा हिँडडुल गर्न पूर्णरूपमा प्रतिबन्ध गरिएको छ । नयाँ भेरिएन्टसहितको कोभिड–१९ सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि औषधि पसल र स्वास्थ्य संस्थाका अत्यावश्यक सेवाबाहेकका अन्य सेवा बन्द गरिएको नगरप्रमुख गिरीले बताउनुभयो ।
खानेपानी, ढुवानीका साधन, दुग्ध उत्पादन र दुग्ध उद्योगबाट उत्पादित दूधको ढुवानीका साधनलाई सवस्थ्य सुरक्षा मापदण्डको पालना गरी सञ्चालन गर्न दिइएको छ । त्यसैगरी पशुपक्षीको दाना, कृषि प्रयोजनका बीउबिजन, कृषि उत्पादन, औषधि उद्योगलगायत फोहरमैला बोक्ने सवारी साधनलाई शिल अवधिभर स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न दिइने नगरपालिकाले जनाएको छ ।
नगरपालिका शिल भएपछि उपत्यका प्रवेश गर्ने मुख्य नाका नागढुङ्गामा सुरक्षा जाँच कडा पारिएको छ । अत्यावश्यक सवारी साधन, एम्बुलेन्स, खाद्यान्न ढुवानीका सवारी साधनबाहेकलाई प्रवेश नाकाबाट नै फर्काउने काम गरिएको छ । नगरपालिकाकाले भेरोसिल खोपको दोस्रो मात्रा लगाउनका लागि भने आवतजावतमा अवरोध गरेको छैन । सरकारले जारी गरेको सूचनाका आधारमा पहिलो खोप लगाएको कार्ड देखाएर तोकिएको खोप केन्द्रसम्म आवतजावत गर्न दिइने नगर प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिनुभयो ।
चन्द्रागिरिमा ७७ जना नयाँ काेराेना संक्रमित थपिएः २५ जना निकाेभए, २ जनाकाे ज्यान गयाे
काठमाडाैँ, ५ जेठ २०७८ ।
काठमाडाैँकाे चन्द्रागिरिमा ७७ जना नयाँ काेराेना संक्रमित थपिएका छन् ।
पछिल्लाे २४ घण्टामा चन्द्रागिरि नगरपालिकामा ७७ जना नयाँ काेराेना संक्रमित थपिएका हुन् । नगर भित्रका १५ वटा वडा मध्ये १४ वटा वडामा मात्रै ७७ जना नयाँ काेराेना संक्रमित थपिएका चन्द्रागिरि नगरपालिकाले जनाएकाे छ । नगर भित्रका ९ नं वडा बाहेकका सबै वडाहरूमा नयाँ काेराेना संक्रमित थपिएका छन् ।
वडानं १ देखि वडानं ८ सम्म क्रमशः २,३,८,४,४,५,३,७, जना र वडानं १० देखि १५ सम्म क्रमशः ६,५,८,७,११,४ जनामा संक्रमण पुष्टि भएकाे छ । नगर भित्र १४ नं वडामा सबैभन्दा धेरै ११ जना संक्रमित थपिएकाछन् । याेसँगै चन्द्रागिरिमा काेराेना संक्रमितकाे कुल संख्या ३ हजार ६ सय ५१ पुगेकाे छ ।
साथै पछिल्लाे २४ घण्टामा २५ जना काेराेना संक्रमित निकाे भएका छन् । याेसँगै चन्द्रागिरिमा काेराेना संक्रमण निकाे हुनेकाे कुल संख्या २ हजार ४ सय ६७ पुगेकाे छ । याे संख्या निकाे हुने दरकाे ६८ प्रतिशत हाे ।
यस्तै पछिल्लाे २४ घणटामा थप २ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । याेसँगै चन्द्रागिरिमा काेराेना संक्रमणका कारण ज्यान गुमाउनेकाे कुल संख्या ३७ पुगेकाे छ । नगर भित्रका १,२,११ र १३ वडामा भने हाल सम्म कुनैपनि संक्रमितकाे मृत्यु भएकाे छैन । हाल सम्म १५ नं वडामा सबै भन्दा धेरै ८ जना संक्रमितकाे मृत्यु भएकाे छ ।
थप हेर्नुहाेस् ।
बागलुङ, ३१ वैशाख २०७८ ।
बागलुङको निसीखोला गाउँपालिका–२ फलाँटेचौरमा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको छ । फलाँटेचौरमा घर पोत्ने माटो लिन पुगेका सोही वडास्थित रातमाटाका ३३ वर्षीया भवी कुवँर र उनका छोरा १४ वर्षका सुरेशको पुरिएर मृत्यु भएको वडाध्यक्ष कुविर विश्वकर्माले जानकारी दिनुभयो । घटना दिउँसो साढे दुई बजे भएको हो । मृत्यु हुने एकाघरका आमाछोरा रहेको प्रहरी निरीक्षक विजय भण्डारीले बताउनुभयो ।
अहिले इलाका प्रहरी कार्यालय झिवाखोलाका प्रहरी प्रमुख जयराम वन्तसहितको टोली घटनास्थलमा पुगेको छ । प्रहरी र स्थानीयवासीको सक्रियतामा माटोले पुरिएका शव निकालिएको प्रहरी निरीक्षक भण्डारीले बताउनुभयो । शव परीक्षण गरी अन्त्येष्टिका लागि तयारी गरिएको बताइएको छ । मृतक भवीका श्रीमान् रोजगारीका क्रममा भारतमा रहेको परिवारले बताएको छ । उहाँका अरु दुई छोरा रहेको स्थानीयवासीले बताएका छन् ।
Breaking News: बागलुङमा एकैपटक २३५ जनामा काेराेना संक्रमण पुष्टि, एकजनाकाे मृत्यु
बागलुङ, २९ बैशाख २०७८ ।
बागलुङमा एकैपटक २३५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । बिभिन्न प्रया्रगशालामा गरिएकाे परिक्षणमा बागलुङका २ सय ३५ जनामा काेराेना देखिएकाे हाे ।
काेराेना पुष्टि हुनेहरूमा १ सय २२ जना महिला र १ सय १३ जना पुरूष रहेका छन् । यस्तै पछिल्लाे समय काेराेनाका कारण बागलुङमा थप एकजनाकाे मृत्यु भएकाे स्वास्थ्य निर्देशनालय गण्डकीले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।