काठमाडौँ, १६ बैशाख २०७८ ।
काठमाडाैँ उपत्यकामा निषेधाज्ञाकाे अवधिमा पनि पेट्राेल पम्प खुला रहने भएकाे छ ।
निषेधाज्ञाका समयमा गुड्ने अत्यावश्यक क्षेत्रका सवारी साधनलाई सहजै पेट्रोलियम पदार्थ उपलब्ध गराउने उद्देश्यले काठमाडौं उपत्यकाभित्र रहेको पेट्रोल पम्प खुला रहने भएका हुन् ।
निषेधाज्ञाको समयमा पेट्रोलियम पदार्थ सहज र सरलरूपमा बिक्री वितरण गर्न उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा रहेका पेट्रोल पम्प खुला रहने नेपाल आयल निगमले जनाएको छ । उपत्यकामा पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन थानकोटस्थित वाग्मती प्रादेशिक कार्यालय खुला रहेको पनि निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताउनुभयाे ।
उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले बिहीबारदेखि लागू हुने गरी कोरोना संक्रमण रोक्न भन्दै निषेधाज्ञाको घोषणा गरेका छन् । निषेधाज्ञा लागू हुने भएपछि बुधबार बिहानैदेखि राजधानीको अधिकांश पेट्रोलपम्पमा उपभोक्ताको ठूलो लाइन लागेको थियो ।
चर्को विराध भएपछि नगरपालिकाले पुल तर्दा लाग्ने शुल्क हटायाे, अब निशुल्क पुल तर्न पाइने
बागलुङ, ९ बैशाख २०७८ ।
बागलुङको बाङ्गेचौर र पर्वतको अदुवाबारी जोड्ने कालिगण्डकी माथि बनेको झोलुङ्गे पुल तर्दा पैसा तिर्नुपर्ने व्यवस्था हटेकाे छ । नागरिककाे चर्काे विराेधपछि बागलुङ नगरपालिकाले कर नलिने निर्णय गरेकाे हाे ।
बागलुङ नगरपालिकाको गत चैत २५ गते बसेको कार्यपालिकाको बैठकले निर्णय गरी पुल तर्ने व्यक्तिले प्रति पटक २० रुपैयाँ तिर्नुपर्ने नियम लगाइएकाेमा बिहिबार एक बिज्ञप्ती जारी गर्दै तत्काल कर नलिइने नगरपालिकाले जनाएकाे छ ।
चैते दशैँका दिनदेखि शुल्क लिने भन्दै नगरपालिकाले कर उठाउन थालेपछि नागरिक स्तरबाट चर्काे विराेध भएकाे थियाे । यस बिषयमा जिल्लाखबर डटकमले समाचार प्रकाशित गरेपछि याे बिषय अझै सतहमा आएकाे थियाे।
सम्बन्धित समाचार
बागलुङ – पर्वत जोड्ने लामोपुल तर्दा पैसा तिर्नुपर्ने, सार्वजनिक पुलमा पैसा किन उठाइयो ?
नवीन शिशिर विक
बागलुङ, ८ बैशाख २०७८ ।
जिल्ला प्रहरी कार्यालय बागलुङमा रहेका चार थुनुवासहित बागलुङमा थप नौ जनामा कोरोना पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा भएको पिसिआर परीक्षणमा हिरासतमा रहेका ४ थुनुवा, एक प्रहरी, दुई स्वास्थ्यकर्मी र एक कर्मचारीसहित नौ जना संक्रमित पुष्टि भएका हुन । बुधबार थप भएकासहित यहाँ कोरोना संक्रमणका ६७ जना संक्रिय संख्या पुगेको स्वास्थ्य कार्यालय बागलुङका कोरोना महामारी फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।
हिरासतमा रहेका थुनुवालाइ प्रहरी कार्यालयकै छुट्टै कोठामा राखेर उपचारको तयारी गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिनुभयो । यो सँगै बागलुङमा सक्रिय संक्रमितको संख्या ६९ पुगेको छ । संक्रमित स्वास्थ्यकर्मी धौलागिरी अस्पतालको आइसोलेसन कक्षमा कार्यरत हुनुहुन्छ । समुदायस्तरमा कोरोना संक्रमण पहिचान हुन थाले पछि बागलुङ नगरपालिका बागलुङको तीन वटा वडामा दश दिनको लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन समितिको निर्णय अनुसार जिल्ला सुरक्षा समितिले बैशाख १७ गते राति १२ बजेसम्म लागु हुने गरी बलेवा क्षेत्रमा अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो ।
नगरपालिकाको वडा नम्बर १२, १३ र १४ को क्षेत्रभित्र सञ्चालन हुने अत्यावश्यक सेवा (खाद्यान्न, तरकारी, दुध, औषधी, दाना ढुवानी तथा एम्बुलेन्स सेवा, कृषि तथा पशु उत्पादन मल बीउ ) स्वास्थ्य सेवा र विपत व्यवस्थापन सेवा तथा अत्यावश्यक सरकारी सवारी साधन बाहेक अन्य निजी तथा सार्वजनिक यातायात (२ पांग्रे र ४ पांग्रे लगायत सबै र सम्बन्धित वडा बजार क्षेत्र समेत बन्द निर्णय भएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिनुभयो । सो क्षेत्रका संघ संस्था, बैंक तथा वित्तिय संस्था, सहकारी सेवा र वडा कार्यालयको सेवासमेत स्थगित हुनेछन । सुरक्षा समितिले अनावश्यक घर बाहिर हिडडुल आग्रह गरेको छ ।
बलेवा क्षेत्रका क्याम्पस, विद्यालय –होस्टेलसमेत) सबै प्रकारका शैक्षिक संस्था, तालिम तथा प्रशिक्षण केन्द्रहरु, पार्टी प्यालेस खेलकुद स्थल जिमखाना, कवाडी संकलन लगायतका सेवा सञ्चालन गर्न रोक लगाएको प्रजिअ कार्कीले बताउनुभयो । मंगलबार मात्र जनताधन माविका विद्यार्थीसहित ३९ जनामा कोरोना पुष्टि भएको थियो ।
विद्यार्थी तथा समुदायस्तरका व्यक्तिलाई कोरोना पुष्टि हुन थालेपछि संक्रमण रोकथामको लागि तत्काल निषेधाज्ञा जारी गर्नुपर्ने सिफारिस जिल्ला कोभिड संकट व्यवस्थापन समितिले सुरक्षा समितिलाई गरेको थियो । बलेवा क्षेत्र भई कालीगण्डकी कोरिडोर तथा अन्य सडक मार्गमा चल्ने यातायातहरुले उक्त वडाहरुमा चढ्न र झर्न नपाउने गरी सञ्चालन गर्नुपर्ने छ । गाेरखापत्र अनलाइनबाट
बागलुङ – पर्वत जोड्ने लामोपुल तर्दा पैसा तिर्नुपर्ने, सार्वजनिक पुलमा पैसा किन उठाइयो ?
बागलुङ, ७ बैशाख २०७८ ।
बागलुङको लामोपुल तर्दा पैसा तिर्नुपर्ने भएको छ । बागलुङको बाङ्गेचौर र पर्वतको अदुवाबारी जोड्ने कालिगण्डकी माथि बनेको झोलुङ्गे पुल तर्दा पेसा तिर्नुपर्ने भएको हो । पुल तर्ने व्यक्तिले प्रति पटक २० रुपैयाँ तिर्नुपर्ने छ ।
बागलुङ नगरपालिकाको गत चैत २५ गते बसेको कार्यपालिकाको बैठकले निर्णय गरी पुलमा शुल्क लिन थालिएको बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञावालीले जानकारी दिनुभयो । बागलुङ नगरपालिका र पर्वतको कुश्मा नगरपालिकाका स्थानीय, यहिँ बसोबास गरी दिनदिनै ओहोरदोहोर गर्ने व्यक्ति, यहाँ कार्यरत कर्मचारीहरु बाहेक पुलमा घुम्नकै लागि टाढा टाढाबाट आउनेहरुका लागि शुल्क लिइने उहाँको भनाई छ ।
नगरपालिकाका कर्र्मचारीहरुले आधिकारिक रुपमा नै रसिद काटेर शुल्क लिन थालेको अधिकृत ज्ञावालीले बताउनुभयो । बैशाख १ गतेदेखि नै यो नियम लागु गर्ने भनिएपनि तयारी नपुगेका कारण मंगलबारबाट लागु गरिएको उहाँले प्रष्ट पार्नुभयो ।
“चैते दशैको अवसर पारेर शुल्क लिइएको नभइ अब यो सँधैको लागि लागु हुन्छ” उहाँले भन्नुभयो “नेपाल सरकारले बागलुङ नगरपालिकालाई मर्मत सम्भार सहित सम्पूर्ण जिम्मेवारी सुम्पिएपछि हामीले नियम संगत ढंगबाट शुल्क लिन थालेका छौँ ।” स्थानीय श्रोत साधनको कर लिन पाउने अधिकार अनुसार कर लिइएको भन्दै उहाँले अब यसलाई व्यवस्थित बनाउँदै लैजाने बताउनुभएको छ ।
मर्मत सम्भार गर्ने नगरपालिकाको दायित्व भएपछि कर लिन थालिएको नगरपालिकाले जनाएको छ । सर्वाधिकार बागलुङ नगरपालिकालाई भएकाले कुश्मा नगरपालिकामा भने कर तिर्नुपर्ने छैन ।
यो पुल ५ सय ६७ मिटर लामो रहेको छ । लामो पुल हेर्नकै लागि भन्दै उहाँ टाढा टाढाबाट पर्यटकहरु आउने गरेका छन् । यस्तो खालको पुल यो नै विश्वको लामो दावी गर्दै बागलुङ नगरपालिकाले गिनिज बुक अफ वल्र्ड रेकर्डस् मा दर्ता गराउन तयारी गरेको छ । यहाँ दैनिक हजारौँ मानिसहरु ओहोरदोहोर गर्ने गरेका छन् ।
आदर्श सञ्चार सहकारीद्वारा पत्रकार महासंघ बागलुङमा नवनिर्वाचित पत्रकारलाई बधाई ज्ञापन
बागलुङ, ६ बैशाख २०७८ ।
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले आईतबार नेपाल पत्रकार महासंघ बागलुङका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेपाल पत्रकार महासंघ बागलुङको ७ औँ अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुलाई सहकारीले बधाई ज्ञापन गरेको हो ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ बागलुङका नवनिर्वाचित अध्यक्ष नरेश कँडेलले आदर्श सञ्चार सहकारीसँग महासंघ सधै समन्वय र सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो । आदर्श सञ्चार सहकारीले पत्रकारहरु उत्पादन मात्र नगरेर पत्रकारलाई आर्थिक रुपमा सबल बनाउन समेत मद्दत गरेको उहाँकाे भनाइ छ । जिल्लामा रहेका क्रियाशील पत्रकारलाई प्रविधि मैत्री पत्रकार बनाउनका लागी आगामी दिनमा महासंघले महत्वपुर्ण भुमीका खेल्ने कँडेलले प्रतिवद्धता व्यक्त गर्नुभएकाे छ ।
कार्यक्रममा आदर्श सञ्चार सहकारीका सम्पादक राम बहादुर जिसीले संस्थाको गतिबिधी, भाबी योजना, २०८० साल सम्मको लक्ष्यको बिषयमा जानकारी गराउन भएको थियो । उहाँले यो आर्थिक वर्षमा स्वास्थ्य, पर्यटन र कृषिको विषयलाई आदर्शले बढी जोडदिने बताउनु भयो । जिसीले जिल्लामा क्रियाशिल पत्रकारहरुलाई सञ्चारका सामग्रीहरु खरिद गर्नका लागी सहकारीले सहुलियतमा ऋण उपलब्ध गराउने समेत जानकारी गराउनु भयो ।
कार्यक्रममा नवनिर्वाचित जिल्ला पदाधिकारी तथा सदस्य, प्रदेश सदस्य, प्रदेश परिषद सदस्य र केन्द्रीय परिषद सदस्यलाई अबिर र खादा लगाएर सम्मान गरिएको थियो ।
बागलुङ, ५ बैशाख २०७८ ।
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले शेयर सदस्यहरुका लागि स्वास्थ्य सम्बन्धी चेतना अभियान शुरु गरेको छ । सदस्यहरुलाई स्वास्थ्य सुरक्षाका बारेमा सचेतना प्रदान गरी स्वस्थ सदस्य बनाउने अभियानका साथ बरेङ गाउँपालिकाबाट अभियान शुरुवात गरिएको हो ।
सदस्यहरुको स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर अभियान सञ्चालन गर्ने संस्थाको १४ औं वार्षिक साधारणसभाको निर्णय अनुसार स्वास्थ्य सचेतना अभियान थालिएको संस्थाका अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु) ले जानकारी दिनुभयो । सहकारीका सदस्यहरुलाई रोग लाग्नबाट कसरी बच्ने र रोग लागि सकेपछि घरेलु औषधीहरुको प्रयोग कसरी गर्न सकिन्छ भन्ने बारेमा जानकारी दिनका लागि स्वास्थ्य सचेतना कार्यक्रम अगाडि बढाएको अध्यक्ष जिसीले बताउनुभयो ।
बरेङ गाउँपालिकाका शेयर सदस्यहरुको सहभागितामा आयोजित कार्यक्रममा सहजीकरण गर्दै धौलागिरी आयुर्वेद औषधालय बागलुङका प्रमुख डा.सरोज रायले स्थानीय रुपमा खेर गैरहेका स्रोतहरुको पहिचान र परिचालन गरी स्वास्थ्य अवस्थामा सुधार ल्याउन सकिने भएकाले यसका बारेमा सचेतना आवश्यक रहेको बताउनुभयो ।
मानिसको सबै भन्दा ठुलो सम्पत्ती स्वास्थ्य हो, स्वास्थ्य अवस्थालाई व्यवस्थित गराउनका लागि घरेलु स्रोतहरुको अधिकतम उपयोग गर्नु पर्छ, कार्यालय प्रमुख रायले भन्नुभयो– ‘रोग लागि सकेपछि उपचारका लागि दौडनु भन्दा रोग नै लाग्न नदिनका लागि खानपानमा घरेलु जडिबुडीको प्रयोगमा ध्यान दिन सके धेरै रोगबाट बच्न सकिन्छ ।’
हाम्रो क्षेत्रमा खेर गैरहेका औषधीजन्य जडिबुडीहरुको प्रयोगले रोग लाग्न नदिन र रोग लागिसकेपछि उपचारका लागि दीगो समाधान दिने भए पनि चेतनाको अभावले धेरै औषधीजन्य जडिबुटी त्यसै खेर गैरहेको उहाँको भनाइ छ । स्थानीय औषधीजन्य जडिबुटीहरुको पहिचान, उपयोग र परिचालनका विषयमा रायले सहजीकरण गर्नु भएको थियो ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा आदर्श सञ्चार सहकारी संस्थाका सम्पादक राम बहादुर जिसीले सदस्यहरुको आर्थिक विकासका लागि स्वास्थ्य सतर्कता आवश्यक रहेको बताउनुभयो । सहकारीले पूँजि परिचालनसंगै स्वास्थ्य सचेतना र उपचारमा समेत प्रभावकारी काम गर्न सक्ने भएकाले स्वास्थ्य क्षेत्रमा सहकारीहरुको ध्यान पुग्नु पर्नेमा उहाँको जोड दिनुभयो ।
संस्थाका उपाध्यक्ष अनन्त बहादुर खड्काले सहकारीमार्फत स्थानीय उत्पादन बढाउन, स्थानीय वस्तुहरुको उपयोगमा ध्यान दिनु पर्ने बताउनुभयो ।
शेयर सदस्यहरुको तर्फबाट बोल्दै समाजसेवी शेर बहादुर खनालले आदर्श सञ्चार सहकारीले सूचना तथा सञ्चार, वचत तथा ऋणसंगै सदस्यहरुको नेतृत्व विकास, क्षमता विकास लगायतका सामाजिक क्षेत्रमा काम गर्दै आएको र पछिल्लो समय स्वास्थ्य सचेतना र स्थानीय स्रोतको परिचालनका लागि सञ्चालन गरेको अभियानबाट आफु प्रभावित भएको भन्दै संस्थाको उन्नती प्रगतिका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
Breaking News: बागलुङमा एकैपटक १० जनामा काेराेना संक्रमण पुष्टि, नारायणस्थानका धेरै
बागलुङ, ५ बैशाख २०७८ ।
बागलुङमा एकैपटक १० जना काेराेना संक्रमित फेला परेका छन् । आइतबार बागलुङ नगरपालिका र बडीगाड गाउँपालिकाका १० जनामा काेराेना पुष्टि भएकाे हाे ।
काेराेना संक्रमण हुनेहरूमा बागलुङ नगरपालिका ३ र ५ का एक एक जना रहेका छन् भने बागलुङ नगरपालिका १४ नारायणस्थानका ७ जनामा काेराेना पुष्टि भएकाे छ । यस्तै बडीगाड गाउँपालिका ५ का एक जनामा पनि काेराेना देखिएकाे छ ।
पत्रकार महासंघ बागलुङ शाखाको पदस्थापन, उपहारमा ‘एक ल्यापटप पत्रकारका साथ’ याेजना
बागलुङ, ४ बैशाख २०७८ ।
नेपाल पत्रकार महासंघ बागलुङ शाखामा नव निर्वाचित पदाधिकारीहरुको पदस्थापन गरिएको छ । चैत्र २५ गते सम्पन्न नेपाल पत्रकार महसंघको निर्वाचनबाट सर्वसम्मत रुपमा निर्वाचित भएका पदाधीकारी, केन्द्रिय परिषद सदस्य र प्रदेश परिषद सदस्यहरुको शनिवार पदस्थापन गरिएको हो ।
पदस्थापन कार्यक्रममा निर्वतमान अध्यक्ष दिल शिरिषले नव निर्वाचित अध्यक्ष नरेश कँडेललाई सपथ खुवाइदै पदभार ग्रहण गराउनुभएको थियो भने अन्य निर्वाचित पदाधीकारीहरुलाई नव निर्वाचित अध्यक्ष कँडेलले सपथ खुवाउनुभएकाे थियाे ।
नवनिर्वाचित पदाधिकारीहरूले संस्थाकाे हित र निश्पक्ष पत्रकारितालाई सँधै शिराेपर गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नव निर्वाचित जिल्ला कार्य समिति सदस्य, प्रदेश परिषद र केन्द्रीय परिषदहरुलाई निर्वाचन समितिले प्रमाणपत्र प्रदान गरेकाे थियाे ।
अध्यक्ष कँडेलले महासंघकाे पदस्थापना पछि बाेल्दै पहिलाे अभियानमा पत्रकारहरूलाई सवलिकरण गर्नका लागि एक ल्यापटप पत्रकारका साथ अभियान चलाउने याेजनाबारे जानकारी गराउनुभएकाे थियाे ।
यस्तै पत्रकार महासंघ बागलुङले सहि सूचना सम्प्रेषण र पत्रकारलाई प्रविधियुक्त बनाउनका लागि नयाँ अभियान सुरु गर्ने भएको छ । नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले क्रियाशिल पत्रकारका हात हातमा प्रविधि पुर्याएर सहि सूचना सम्प्रेषण गर्न सहयोग गर्ने निर्णय गरेको हो । नवनिर्वाचित अध्यक्ष नरेश कँडेलको अध्यक्षतामा शनिबार बसेको पहिलो बैठकले ‘घर पछिको रहर–सहि सूचना, प्रविधियुक्त हात, एक ल्यापटप पत्रकारका साथ’ अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
बागलुङ, ३ बैशाख २०७७ ।
चट्याङ्ग लागेर बाग्लुङमा एक जनाको ज्यान गएको छ । हिजो बेलुका परेको चट्याङ्ग लागेर बागलुङको ताराखोला गाउँपालिका-२ सिलेका ४५ वर्षका खिमलाल कँडेलको ज्यान गएको हाे ।
गोठमा भैँसी दुहुँदै गर्दा कँडेल चट्याङ लागेर घाइते हुनुभएकाे थियाे । घाइते उहाँकाे धौलागिरी अस्पताल बागलुङमा उपचारका क्रममा राति १० बजे ज्यान गएको जिल्ला प्रहरी कार्यलय बागलुङले जानकारी दिएकाे छ । कँडेलकाे घरमा पनि क्षति भएकाे प्रहरीले जनाएकाे छ ।
जैमिनीमा भर्खरै सुरु भएको तेक्वान्दोलाई राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १ स्वर्ण सहित ६ पदक
बागलुङ, ३१ चैत २०७७ ।
जैमिनीमा भर्खरैमात्र सुरु भएको तेक्वान्दोलाई राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १ स्वर्ण सहित ६ पदक प्राप्त भएको छ ।
बागलुङमा सञ्चालित ९ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तेक्वान्दो खेल अन्तरगत जैमिनी नगरपालिका तेक्वान्दो संघले १ स्वर्ण सहित ६ पदक हात पारेको हो ।
सोमबार भएको ५१ केजी तौल समुहको खेलमा शान्ती माध्यामिक विद्यालय कुश्मीसेराका सन्दिप परियारले आफ्ना प्रतिद्वन्द्वी ताराखोला गाउँपालिकाका कृष्ण बिकलाई पराजित गर्दै स्वर्ण जित्न सफल हुनु भएको जैमिनी नगर तेक्वान्डो सँघका सचिव तथा प्रशिक्षक अर्बिन थापा मगरले जानकारी दिनुभयो ।
यस्तै ४६ केजी तौल समुहको तेक्वान्दो प्रतियोगितामा हिमालयन आवाशीय माध्यामिक विद्यालय कुश्मिसेराका सन्ध्या मल्ल द्वितीय हुँदै रजत जित्न सफल हुनुभएको छ भने ४५ केजी तौल समुहमा शान्ती माध्यामिक विद्यालय कुश्मिसेराका केशव थापा, छात्रा तर्फको ४४ केजी तौल समुहमा शान्ती माध्यामिक विद्यालयकी छात्रा मुना पुलामी थापा मगर, ४२ केजी तौल समुहको प्रतियोगितामा हिमालयन आवाशीय माध्यामिक विद्यालय कुश्मिसेराकी पूजा मल्ल र ४८ केजी तौल समुहको प्रतियोगितामा दुर्गा थापा मगरले काश्य जित्न सफल हुनु भएको छ ।
स्थापना कालको सुरुवातमा नै जैमिनीले यति पदक पाउनु भनेको तेक्वान्दोमा भएको प्रगति मानिएको छ । तेक्वान्दोमा मात्रै जैमिनीले एक स्वर्ण, एक रजत र ४ काश्य हात पार्न सफल भएको छ ।