पत्रकार महासंघ बागलुङ शाखाको पदस्थापन, उपहारमा ‘एक ल्यापटप पत्रकारका साथ’ याेजना
बागलुङ, ४ बैशाख २०७८ ।
नेपाल पत्रकार महासंघ बागलुङ शाखामा नव निर्वाचित पदाधिकारीहरुको पदस्थापन गरिएको छ । चैत्र २५ गते सम्पन्न नेपाल पत्रकार महसंघको निर्वाचनबाट सर्वसम्मत रुपमा निर्वाचित भएका पदाधीकारी, केन्द्रिय परिषद सदस्य र प्रदेश परिषद सदस्यहरुको शनिवार पदस्थापन गरिएको हो ।
पदस्थापन कार्यक्रममा निर्वतमान अध्यक्ष दिल शिरिषले नव निर्वाचित अध्यक्ष नरेश कँडेललाई सपथ खुवाइदै पदभार ग्रहण गराउनुभएको थियो भने अन्य निर्वाचित पदाधीकारीहरुलाई नव निर्वाचित अध्यक्ष कँडेलले सपथ खुवाउनुभएकाे थियाे ।
नवनिर्वाचित पदाधिकारीहरूले संस्थाकाे हित र निश्पक्ष पत्रकारितालाई सँधै शिराेपर गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नव निर्वाचित जिल्ला कार्य समिति सदस्य, प्रदेश परिषद र केन्द्रीय परिषदहरुलाई निर्वाचन समितिले प्रमाणपत्र प्रदान गरेकाे थियाे ।
अध्यक्ष कँडेलले महासंघकाे पदस्थापना पछि बाेल्दै पहिलाे अभियानमा पत्रकारहरूलाई सवलिकरण गर्नका लागि एक ल्यापटप पत्रकारका साथ अभियान चलाउने याेजनाबारे जानकारी गराउनुभएकाे थियाे ।
यस्तै पत्रकार महासंघ बागलुङले सहि सूचना सम्प्रेषण र पत्रकारलाई प्रविधियुक्त बनाउनका लागि नयाँ अभियान सुरु गर्ने भएको छ । नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले क्रियाशिल पत्रकारका हात हातमा प्रविधि पुर्याएर सहि सूचना सम्प्रेषण गर्न सहयोग गर्ने निर्णय गरेको हो । नवनिर्वाचित अध्यक्ष नरेश कँडेलको अध्यक्षतामा शनिबार बसेको पहिलो बैठकले ‘घर पछिको रहर–सहि सूचना, प्रविधियुक्त हात, एक ल्यापटप पत्रकारका साथ’ अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
बागलुङ, ३ बैशाख २०७७ ।
चट्याङ्ग लागेर बाग्लुङमा एक जनाको ज्यान गएको छ । हिजो बेलुका परेको चट्याङ्ग लागेर बागलुङको ताराखोला गाउँपालिका-२ सिलेका ४५ वर्षका खिमलाल कँडेलको ज्यान गएको हाे ।
गोठमा भैँसी दुहुँदै गर्दा कँडेल चट्याङ लागेर घाइते हुनुभएकाे थियाे । घाइते उहाँकाे धौलागिरी अस्पताल बागलुङमा उपचारका क्रममा राति १० बजे ज्यान गएको जिल्ला प्रहरी कार्यलय बागलुङले जानकारी दिएकाे छ । कँडेलकाे घरमा पनि क्षति भएकाे प्रहरीले जनाएकाे छ ।
जैमिनीमा भर्खरै सुरु भएको तेक्वान्दोलाई राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १ स्वर्ण सहित ६ पदक
बागलुङ, ३१ चैत २०७७ ।
जैमिनीमा भर्खरैमात्र सुरु भएको तेक्वान्दोलाई राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १ स्वर्ण सहित ६ पदक प्राप्त भएको छ ।
बागलुङमा सञ्चालित ९ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तेक्वान्दो खेल अन्तरगत जैमिनी नगरपालिका तेक्वान्दो संघले १ स्वर्ण सहित ६ पदक हात पारेको हो ।
सोमबार भएको ५१ केजी तौल समुहको खेलमा शान्ती माध्यामिक विद्यालय कुश्मीसेराका सन्दिप परियारले आफ्ना प्रतिद्वन्द्वी ताराखोला गाउँपालिकाका कृष्ण बिकलाई पराजित गर्दै स्वर्ण जित्न सफल हुनु भएको जैमिनी नगर तेक्वान्डो सँघका सचिव तथा प्रशिक्षक अर्बिन थापा मगरले जानकारी दिनुभयो ।
यस्तै ४६ केजी तौल समुहको तेक्वान्दो प्रतियोगितामा हिमालयन आवाशीय माध्यामिक विद्यालय कुश्मिसेराका सन्ध्या मल्ल द्वितीय हुँदै रजत जित्न सफल हुनुभएको छ भने ४५ केजी तौल समुहमा शान्ती माध्यामिक विद्यालय कुश्मिसेराका केशव थापा, छात्रा तर्फको ४४ केजी तौल समुहमा शान्ती माध्यामिक विद्यालयकी छात्रा मुना पुलामी थापा मगर, ४२ केजी तौल समुहको प्रतियोगितामा हिमालयन आवाशीय माध्यामिक विद्यालय कुश्मिसेराकी पूजा मल्ल र ४८ केजी तौल समुहको प्रतियोगितामा दुर्गा थापा मगरले काश्य जित्न सफल हुनु भएको छ ।
स्थापना कालको सुरुवातमा नै जैमिनीले यति पदक पाउनु भनेको तेक्वान्दोमा भएको प्रगति मानिएको छ । तेक्वान्दोमा मात्रै जैमिनीले एक स्वर्ण, एक रजत र ४ काश्य हात पार्न सफल भएको छ ।
दोलखा, ३१ चैत २०७७ ।
दोलखामा जीप दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । दोलखाको बिगु गाउँपालिका-४ लादुकमा गएराति प्रदेश ३-०१-०२३ च ७५८० नम्बरको जीप दुर्घटना हुँदा एकै गाउँका चार जनाको ज्यान गएकाे हाे ।
मृत्यु हुनेहरूमा बिगु-३ का २४ वर्षीया चण्डीका थापा, ३५ वर्षीय विनोद केसी, ४५ वर्षीया अजिता खत्री, ५२ वर्षीया राधा खड्का रहेकाे जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
सिन्धुपाल्चोकको तातोपानी गएर फर्किएको जीप बिगु गाउँपालिकाको लादुकमा दुर्घटनामा परेको थियाे । दुर्घटनामा चालकसहित १८ जना घाइते भएका छन् । उनीहरुमध्ये ७ जनाको दोलखामा र अरुको धुलिखेल तथा काठमाण्डौको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
दुर्घटना के कारणले भयाे भन्ने अनुसन्धान भैरहेकाे प्रहरीले जानकारी दिएकाे छ ।
बागलुङ, २९ चैत २०७७ ।
बागलुङकाे गुठीमा रहेकाे एक फर्निचरमा आगलागी भएकाे छ । बागलुङ नगरपालिका–३ गुठीमा विराट बोहराले सञ्चालन गरेको सिर्जना फर्निचरमा गएराति आगलागी भएकाे हाे ।
गए राति २ः०० बजेदेखि शुरु भएको आगलागी बिहान ९ बजेतिर मात्र नेपाल प्रहरी, सशस्त्र प्रहरी र बागलुङ नगरपालिकाको दमकल परयाेग गरेर नियन्त्रणमा लिन सफल भएकाे जिल्ला प्रहरी कार्यलय बागलुङका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बजानकारी दिनुभयाे ।
आगलागीका कारण फर्निचरमा रहेका सबै काठपात तथा तयारी सामग्री जलेर नष्ट भएकाे छ । प्रहरीले क्षतिकाे विवरण संकलन गरिरहेकाे र पूर्ण विवरण आइनसकेको उपरिक्षक हवारीले बताउनुभयाे ।
बागलुङ, २८ चैत २०७७ ।
बाग्लुङ नगरपालिका–७ मूलपानीमा विषालु सर्पको प्रजाति किङ कोब्रा सर्प भेटिएको छ । स्थानीय सुदीप गौतमका घरमा सर्प भेटिएको हो । सर्प भेटिएपछि घरपरिवारले प्रहरी र डिभिजन वन कार्यालयमा खबर गरेपछि पोखराबाट ‘सर्प संरक्षण समाज पोखरा’का अध्यक्ष महेन्द्र कतिलाको टोलीले आएर उक्त सर्प अन्यत्र पठाएको छ ।
कतिलाका अनुसार किङ कोब्रा नेपालको दुई हजार २०० मिटरसम्म पाइन्छ । शुक्रबार भेटिएको स्थान भने एक हजार पाँच सय मिटरको हाराहारीमा पर्छ । सुरक्षामा खटिएका प्रहरीले उक्त सर्प १२ फीट लामो र पाँच किलोग्रामको भएको बताउनुभयो ।
सर्प नै खाने यो सर्प केही खाएर आराम गरेका बेलामा घरभित्र पसेको हुन सक्ने उहाँले अनुमान गर्नुभयो । लामो अध्ययनका क्रममा पनि यो सर्पले जो पायो त्यसैलाई नटोकेको भेटिएकाले मार्ने वा अन्यत्र लाने नगरी गाउँ नजिकै छाडेको बताउनुभयो । प्रायः किङ कोब्राले टोक्दैमा विष लाग्छ भन्नेसमेत नभएको उहाँले बताउनुभयो ।
“यो सर्पले चाहेका बेला मात्र विष बमन गर्छ”, उहाँले भन्नुभयो, “विष बमन गरेको खण्डमा टोकेको ३० मिनेटमै मानिसको मृत्यु हुन्छ ।”
सहायक वन अधिकृत सन्दीप पौडेलका अनुसार पछिल्लो समय बागलुङ बजार आसपासमा किङ कोब्रा र अन्य प्रजातिका विषालु सर्प देखिन थालेकाले अस्पतालमा औषधि उपचारको व्यवस्थापनसमेत गर्नुपर्ने माग गरिएको छ ।
कुश्मिसेरामा भुमि सम्बन्धि अभिमुखिकरण सम्पन्न, जैमिनी नपा र बरेङ गापाको सहभागिता
बागलुङ, २८ चैत २०७७ ।
जैमिनी नगरपालिकामा भुमि सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । भुमि सम्बन्धि समस्या समाधान आयोग जिल्ला समिति बागलुङको आयोजनामा शुक्रबार पालिका स्तरीय अभिमुखिकरण कार्यक्रम कुश्मिसेरामा सम्पन्न भएको हो ।
जैमिनी नगरपालिका र बरेङ गाउँपालिकालाई मध्येनजर गर्दै आयोजना गरिएको कार्यक्रममा जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुको सहभागिता रहेको थियो ।
आयोगले यसै आर्थिक बर्षभित्र भुमिहिन तथा सुकुम्वासीहरुलाई जग्गा उपलब्ध गराउने तयारी गरेको भुमि सम्बन्धि समस्या समाधान आयोग जिल्ला समिति बागलुङका अध्यक्ष कृष्ण पाठक पाठकले जानकारी दिनुभयो । बागलुङमा छिटै तथ्यांक संकलनको काम सुरु गरिने भन्दै उहाँले सुकुम्बासी तथा भुमिहिनको प्रकृति छट्याएर तथ्यांक संकलन गरिने बताउनुभयो ।
कार्यक्रममा आयोगको काम कर्तव्य र अधिकार, लगत संकलन गर्ने तरिका लगाएतका विषयमा सहजिकरण गरिएको थियो भने अन्योलताको समाधान कसरी गर्ने भन्ने सहभागीहरुले जिज्ञासा राखेका थिए ।
आफू बसेको स्थानलाई कायम गराउन पाइने भएपनि त्यो स्थान लालपूर्जा दिन मिल्ने वा नमिल्ने भनी मापदण्डल निर्धारण गर्नेछ । यदि कसैले दुई ठाउँमा चर्चेको र कायम गराउन चाहन्छ भने उसले एक ठाउँको मात्रै कायम गर्न पाउने व्यवस्था रहेको छ ।
सीमा क्षेत्र छाङ्ग्रु गाउँका एक्ला चौकीदार, स्वास्थ्यचौकीमा ताला-तिङ्कर मानवशून्य बस्ती
दार्चुला, २७ चैत २०७७ ।
व्यास गाउँपालिका–१ छाङ्ग्रुका ६० वर्षीय राइसिंह ऐतवाल गाउँभरिका एक्ला चौकीदार हुनुहुन्छ । तीन हजार २०० मिटर उचाइमा रहेको छाङ्ग्रु भारतसँग सीमा जोडिएको गाउँ हो । यहाँ वर्षमा झण्डै चारदेखि छ फुटसम्म हिमपात हुन्छ ।
अत्यधिक चिसो हुने गरेका कारण यहाँका नागरिक छ महिना सदरमुकाम खलङ्गा र छ महिना व्यास उक्लिने गर्छन् । अहिले चिसो समय भएका कारण यहाँका नागरिक गत मङ्सिर महिनामा आफ्ना पशुचौपाया र लालाबालासहित सदरमुकाम खलङ्गा झरेका छन् तर ऐतवाल चिसोको समयमा पनि गाउँको चौकीदारी गर्दै बस्नुभयो ।
व्यासको छाङ्ग्रुमा यसपटक चिसो माइनस १६ डिग्रीसम्म झर्यो तर चौकीदार ऐतवालले यो चिसोलाई सहजै छल्नुभयो । छाङ्ग्रुमा १२० घरधुरीको बसोबास छ । गाउँका सबै सदरमुकाम झरेपछि उहाँलाई वडा नं १ को कार्यालयले चौकीदार राखेको हो ।
गाउँको निगरानी गर्ने, चोरी भए खबर गर्ने उहाँको जिम्मेवारी हो । ऐतलाल भन्नुहुन्छ, “चोर, तस्करसँग लड्न त कहाँ सकिन्छ तर निगरानी गर्छु । विगतमा भारतसँग खुला सीमा तथा तस्करी चल्ने समय हुँदा चौकीदार बस्नुपथ्र्यो । त्यो बेला गाउँमा आएर आगलागी गरिदिने, धन सम्पत्ति चोरीदिने खतरा हुन्थ्यो”, उहाँले भन्नुभयो, “तर अहिले त्यो अवस्था छैन ।”
दुई वर्षदेखि चौकीदार बस्दै आउनुभएका ऐतवाललाई यसपटक सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म र नेपाल प्रहरीसमेत छाङ्ग्रुमै बसेपछि सहज भयो । “विगतमा गाउँभरि एक्लै हुन्थेँ तर यस वर्ष पहिलोपटक सरकारले दुईवटा सुरक्षा निकायलाई बाह्रैमास छाङ्ग्रुमै राखेपछि चौकीदारीमा सजिलो भयो”, उहाँले भन्नुभयो, “यस वर्ष विगतको भन्दा हिउँ पनि कम पर्यो । गाउँको वरिपरि दैनिक दुई÷चारपटक फन्को लगाउँछु”, ऐतवालले दिनचर्या सुनाउनुभयो । उहाँका अनुसार पूरै गाउँ घुम्न १० मिनेट लाग्छ । बिहान, दिउँसो र रातिको समयमा सबैको घरघर पुगेर अवस्था हेर्नुपर्छ ।
दिउँसो घाम लाग्छ । यसपटक उहाँले आफ्ना पशुचौपाया पनि सँगै राख्नुभएको छ । पशुचौपायालाई जङ्गल पठाउनेदेखि खेतबारीमा काम गरेर उहाँको समय बित्ने गर्छ । एक्लै बस्न डर लाग्दैन भन्ने प्रश्नमा ऐतवाल भन्नुहुन्छ, “यस्तो कैलाश भूमिमा के को डर ?” ऐतवाललाई वडा कार्यालयले मासिक रु १० हजार दिने गरी चौकीदार राखेको हो । गाउँको सुरक्षा पनि हुने, रोजगारी पनि सिर्जना हुने भएपछि पाँच÷छ महिनाका लागि चौकीदार राखिएको वडाध्यक्ष अशोकसिंह बोहरा बताउनुहुन्छ । हामीले पहिले पनि स्थानीय तह नहुँदा चौकीदार राख्थ्यौँ । व्यासका स्थानीयवासी वैशाख दोस्रो सातादेखि व्यासको छाङ्ग्रु र तिङ्कर उक्लिने तयारीमा छन् ।
तिङ्कर मानवशून्य बस्ती
चीनको सीमा नजिकैको दार्चुलाको उत्तरी क्षेत्रको एउटा गाउँ यतिबेला मानवशून्य बस्ती छ । व्यास–१ तिङ्कर बस्ती अहिले मानवविहीन बनेको हो । गत मङ्सिर महिनामा यहाँका ६५ घरधुरी चिसो छल्न सदरमुकाम खलङ्गा औल झरेपछि यो बस्ती मानवशून्य बनेको हो । आफ्नै भूमि जान घोरेटो बाटो छैन । भारतीय भूमि भएर जान पनि त्यति सहज छैन । कोभिडको जोखिमका बेला यहाँका नागरिक भारतसँग समन्वय गरेर सीतापुल नाका भएर सदरमुकाम झरेका थिए ।
अहिले तिङ्करमा कोही छैनन् । सदरमुकाम खलङ्गाबाट नेपालकै भूमि भएर तिङ्कर पुग्नै पाँच दिन लाग्छ । छाङ्ग्रुबाट तिङ्कर जान आधा दिन लाग्छ । तिङ्करमा छ महिना सुरक्षाकर्मीको उपस्थिति हुने गर्दछ । तिङ्करस्थित सीमा प्रहरी चौकी अहिले व्यासको छाङ्ग्रु झरेको छ । तिङ्करबाट नेपाल–चीन सीमा क्षेत्र पुग्न पाँचदेखि छ घण्टा लाग्छ । पिलर नं १ बाट सोझै झर्यो भने चीनको स्वशासित क्षेत्र तिब्बत पुगिन्छ ।
तिङ्करमा बस्ने नेपाल प्रहरी छ महिना छायालेकमा बस्ने गर्छ । अहिले मानवशून्य रहेको तिङ्कर गाउँसम्म कहिलेकाहीँ सशस्त्र प्रहरीले ‘एलआरपी’ गस्ती गर्ने गरेको सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म छाङ्ग्रुले जनाएको छ । “सधैँ यस ठाउँसम्म पनि पुग्न सकिने अवस्था थिएन”, प्रहरी नायब उपरीक्षक धीरेन्द्र शाहले भन्नुभयो, “हिउँ भएका कारण कहिलेकाहीँ वस्तुस्थिति बुझ्न जाने गरेका छाँै ।”
स्वास्थ्यचौकीमा ताला
व्यासको छाङ्ग्रुमा स्वास्थ्यचौकी छ तर त्यहाँ बाह्रैमास स्वास्थ्यकर्मी र औषधि हुँदैनन् । गत कात्तिकमा सौका समुदायको कुञ्चासँगै स्वास्थ्यकर्मी खलङ्गा झरेका छन् तर यसपटक सरकारले बाह्रैमास सशस्त्र प्रहरीको गुल्म र नेपाल प्रहरी छाङ्ग्रुमै राख्यो । “यद्यपि सामान्य बिरामी हुँदा पनि औषधोपचार गराउन स्वास्थ्यचौकी छैन”, प्रहरी नायब उपरीक्षक शाह भन्नुहुन्छ, “यसपटक पाँच जना स्थानीयवासी पनि यही गाउँमा बसे । यस क्षेत्रमा पाँच÷छ फिट हिउँ पर्छ । चिसो बेला आगो तापेर भए पनि ड्युटी गर्नुपर्यो । चिसोले झन् बिरामी हुने सम्भावना हुन्छ ।” राज्यले सशस्त्र प्रहरीका लागि राम्रो अस्पताल बनाउन सकेको छैन ।
सशस्त्र प्रहरीले सुरक्षाकर्मीको जाँचका लागि गाउँमै चिकित्सक ल्याएर शिविर आयोजना गर्यो । जवानका लागि आयोजना गरिएको शिविरमा स्थानीयवासीलाई समेत स्वास्थ्य परीक्षण र औषधि वितरण गरिएको शाहले बताउनुभयो । गाउँमा स्वास्थ्य संस्था प्रमुख नहुँदा सशस्त्र प्रहरीकै अहेवले औषधि दिने तथा बिरामी हेर्ने काम गर्छन् । सशस्त्र प्रहरी जवान अहेव किसनसिंह साउदले गाउँले बिरामी हुँदा औषधोपचार गर्ने गरेको प्रहरी नायब उपरीक्षक शाह बताउनुहुन्छ । “हामीले केही प्राथमिक उपचारका औषधि मात्रै बोकेका छौँ । त्यहीबाट स्थानीयवासीलाई समेत वितरण गर्नुपर्छ ।”
रसुवामा रेडपाण्डा चाेरी गर्ने सिकारी कारागार चलान
रसुवा, २६ चैत २०७७ ।
दुर्लभ रातो हाब्रे (रेडपाण्डा ) चोरी सिकारी गरेको अभियोगमा दोषी प्रमाणित भएका अभियुक्त कारागार चलान भएका छन् । कारागार चलान हुनेमा रसुवा जिल्ला आमाछोदिङ्मो गाउँपालिका–५ चिलिमे निवासी ४७ वर्षका छवाङ तामाङ रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
रातो हाब्रे (रेडपाण्डा) चोरी शिकारी गरेको अभियोगमा जिल्ला अदालतबाट विसं २०७५ सालमै दोषी प्रमाणित भएका तामाङलाई नियन्त्रणमा लिन प्रहरीले लामो प्रयास गरेको थियो । तातोपानी नजिकै गाईबस्तुको गोठमा लुकिछिपी बसेको अवस्थामा थाम्बुचेत प्रहरीले नियन्त्रयमा लिई कारागार चलान गरेको बताइएको छ । जिल्ला अदालतको फैसला बमोजिम पक्राउ परेका तामाङले एक वर्ष कैद भुक्तान गर्नुपर्ने बताइएको छ ।
विभिन्न मुद्दामा जिल्ला अदालतबाट दोषी प्रमाणित भई फरार सूचीमा रहेका व्यक्तिको खोजीकार्यलाई तीव्र रूपमा अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
Breaking News: पत्रकार महासंघ बागलुङ शाखामा सर्वसम्मत नेतृत्व चयन, अध्यक्षमा कँडेल
सुजन प्रेमी
बागलुङ, २४ चैत २०७७ ।
नेपाल पत्रकार महासंघ बागलुङ शाखामा सर्वसम्मत नेतृत्व चयन भएको छ । मंगलवार सहमतिपछि सर्वसम्मत नेतृत्व टुङ्ग्याइएको हो ।
शाखाको सातौं अधिवेशनबाट नरेश कँडेलको नेतृत्वमा १७ सदस्य समिति सर्वसम्मत चयन भएको निर्वाचन अधिकृत हिरा बहादुर के.सीले जानकारी दिनुभयो । समितिको उपाध्यक्षमा नविन शिशिर विक, महिला उपाध्यक्षमा जिवनकला खत्री (सरिता), सचिवमा विजय राना, सह सचिवमा तारानाथ आचार्य, समावेशी सह सचिवमा सिर्जना पन्त, कोषाध्यक्षमा खेमराज गौतम (सुवास), चयन हुनुभएको छ ।
यस्तै खुल्ला सदस्यहरुमा अर्जुन कार्की, अनिष खाती, दिनेश शर्मा, नारायण रिजाल, प्रदिप पन्त र वालकृष्ण सुवेदी चयन हुनुभएको निर्वाचन अधिकृत के.सीले बताउनुभयो । समितिको महिला सदस्यमा गुमा आचार्य (सन्ध्या), जनजाती सदस्यमा प्रशान्त घर्तिमगर, दलित सदस्यमा योगेन्द्र विक र अल्पसंख्याक सदस्यमा देउमाया राना चयन हुनुभएको छ ।
यस्तै सोही अधिवेशनबाट प्रदेश परिषद सदस्यमा कमल पौडेल, कृष्ण आचार्य, छविलाल पाण्डे, डम्बर बुढा, थम्मन थापा, दिपक राजभण्डारी, पिप्ला गौतम, प्रेम बहादुर के.सी, मञ्जुल शाक्य, मनिषा शर्मा र बेलु थापालाई निर्विरोध निर्वाचित हुनुभएको छ भने राष्ट्रिय परिषद सदस्यका लागि किरण आचार्य, कोपिला कँडेल, चन्द्र गणेश शर्मा र दिलिप पौडेल चयन हुनुभएको निर्वाचन समितिले जनाएको छ ।
महासंघले देशभरको शाखा, प्रतिष्ठान,प्रदेश र केन्द्रमा यही चैत २५ गते निर्वाचन गरी नेतृत्व चयन गर्दैछ ।