काेराेनाका शङ्कास्पद बिरामीलाई जथाभावी औषधि नदिन आग्रह
सुर्खेत, २९ बैशाख २०७८ ।
काेराेना भाइरस कोभिड–१९ को सङ्क्रमण बढेसँगै निजी क्लिनिक तथा मेडिकलहरूले शङ्कास्पद बिरामीलाई जथाभावी औषधि बिक्री वितरण गरेको भन्दै जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले त्यस्तो नगर्न सचेत गराएको छ ।
पछिल्लो समय सुर्खेतका केही स्वास्थ्य संस्था र स्वास्थ्य सेवा प्रदायकबाट ज्वरो, रुघा, खोकीका बिरामीलाई विश्वसनीय प्रयोगशालाबाट परीक्षण नगरेरै टाइफाइड ज्वरो भनी नसाबाट एन्टिबायोटिक प्रयोग गरी कोभिडका बिरामीको स्वास्थ्यमा थप जटिलता आएको पाइएकाले कार्यालयले सचेत गराएको हो । कार्यालयले कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएका बिरामीलाई परीक्षण गराई रोगको निदानका लागि समुचित औषधि प्रयोग गर्न गराउनसमेत आग्रह गरेको छ ।
कार्यालयद्वारा प्रकाशित विज्ञप्तिमा भनिएको छ, “रुघा, खोकी, ज्वरो भएका सर्वसाधारणको कोभिड–१९ को एन्टिजेन वा पिसिआर परीक्षण गरेर मात्र चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाहबमोजिम औषधि लिन अनुरोध छ, यदि कोभिड–१९ को उपचार मापदण्ड विपरीत स्वास्थ्य सेवा प्रवाह गरेको पाइएमा जनस्वास्थ्य ऐन तथा नियमावलीबमोजिम स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीलाई कारबाही गरिनेछ ।”
स्वास्थ्य सेवा कार्यालयले कोभिड–१९ को परीक्षणको पहुँच बढाउन कार्यालयबाट आइतबार, मङ्गलबार र बिहीबार दिउँसो, वीरेन्द्रनगर नगरपालिका कार्यालय अगाडिबाट सोमबार, बुधबार र शुक्रबार बिहान, स्वास्थ्य सेवा निर्देशनालयको प्रयोगशालाबाट शुक्रबार बिहान तथा प्रदेश अस्पतालमा आइतबारदेखि शुक्रबारसम्म बिहान र सबै स्थानीय तहमा परीक्षणको व्यवस्था मिलाइएको जानकारी दिएको छ ।
रूपन्देही/बाँके २९ बैशाख २०७८ ।
रूपन्देही र बाँकेमा गरी थप १९ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ ।
मंगलबार साँझ देखि बुधबार बिहान सम्ममा थप १९ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे हाे । रूपन्देहीकाे बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ जना रुपन्देहीका र एक जना पाल्पाका हुन् । कोरोना विशेष अस्पतालमा आईसीयू बेड पर्खेर बसेका उनीहरुको इमर्जेन्सी कक्षमै ज्यान गएको हो ।
रूपन्देहीकाे सैनामैना-७ का ३६ वर्षीय पुरुषको मंगरलबार साँझ ६:३५ बजे बैशाख २६ गते देखि इमर्जेन्सीमा रहेका बुटवल–११ का ५२ वर्षीय पुरुषको मंगलबार साँझ ५:३३ बजे र मंगलबार इमर्जेन्सीमा भर्ना भएका पाल्पाकाे तानसेन–१४ का ३८ वर्षीय पुरुषको मंगलबार राती ११ बजे, मृत्यु भएको छभने, मंगलबार नै भर्ना भएकी तिलोत्तमा–६ की ७० वर्षीया महिलाको बुधबार बिहान ७:५२ बजे र बैशाख २४ गते देखि ईमर्जेन्सीमा रहेका तिलोत्तमा १ का ५७ वर्षीय पुरुषको पनि बुधबार बिहान ५:५२ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिनुभयाे । योसँगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या २९९ पुगेको छ ।
यसैगरी बाँकेमा उपचाररत १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार ९ बजे रातिदेखि बुधबार बिहान १० बजेसम्म विभिन्न अस्पतालमा उपचाररत १४ जना काेराेना संक्रमितको मृत्यु भएको हाे । मृत्यु भएका मध्ये ७ जना बाँके, ४ जना बर्दिया र एक-एक जना सल्यान, कैलाली र दाङ्ग जिल्लाका रहेका जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिनुभयाे ।
भेरी अस्पताल नेपालगञ्जमा उपचाररत नेपालगन्ज उपमहानगर-५ का ४४ वर्षीय पुरूषको बुधबार विहान ६: ३० बजे, नेपालगन्ज उपमहानगर-१६ का ४९ वर्षीया महिलाको बुधबार बिहान ८: ३० बजे, मृत्यु भएको छ । यस्तै बाँकेकै नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत कोहलपुर नपरपालिका-२ की ३० वर्षीया महिलाको मंगलबार राति ९: ३० बजे, कोहलपुर-१० की ४५ वर्षीया महिलाको बुधबार बिहान १: ३० बजे, कोहलपुर-११ का ४१ वर्षीय पुरूषको बुधबार बिहान ४ बजे र कोहलपुर-१४ की ६४ वर्षीया महिलाको बुधबार ५:३० बजे मृत्यु भएको छ । साथै गुलरिया-९ बर्दियाका ४७ वर्षीया महिलाको बुधबार बिहान ८ बजे, बर्दियाकै मधुबन नगरपालिका-६ का ५५ वर्षीय पुरूषको बुधबार बिहान ८: ३० बजे र बर्दियाकै बढैयाताल गाउँपालिका ६५ वर्षीय पुरूषको बुधबार बिहान १० बजे मृत्यु भएको छ ।
यस्तै भेरी अस्पतालमै बनगाड कुभिन्डे-६, सल्यानका ५० वर्षीय पुरूषको बुधबार ८: ३० बजे मृत्यु भएको छ भने घोडाघोडी-१ कैलालीका ६० वर्षीय पुरूषको नेपालगञ्ज मेडिकल कलेजमा बुधबार बिहान ४: ४५ बजे मृत्यु भएको छ । साथै नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमामै बासगढी ९ बर्दियाका ६४ वर्षिय पुरुष, नेपालगञ्ज ७ का ६६ वर्षिय पुरुष र दाङ्ग तुल्सीपुरका ६६ वर्षिय पुरुषकाे मृत्यु भएकाे छ ।
निषेधाज्ञाकाे दुई साताः बिज्ञ भन्छन काठमाडाैँमा संक्रमण घट्न अझै एक महिना लाग्न सक्छ !
काठमाडौँ, २९ बैशाख २०७८ ।
कोरोना महामारीको साङ्लो तोड्न भनेर निषेधाज्ञा जारी गरिएको दुई साता भइसक्दा पनि उपत्यकामा सङ्क्रमितको सङ्ख्यामा कमी आउन सकेकाे छैन ।
उपत्यकामा सङ्क्रमण दर नघट्दा र यहाँबाट देशभर अझै पनि आवतजावत भइरहँदा समग्रमा देशभर पनि सङ्क्रमण घट्न सकेको छैन । जनस्वास्थ्यविद्हरूले स्वास्थ्य मापदण्ड पालनामा कडाइ नभएको बताउँदै आएका छन् । सङ्क्रमण अत्यधिक बढेको भारतसँग बाक्लाे रूपमै आवतजावत भइरहेका कारण उपत्यकाको सङ्क्रमण नियन्त्रण हुन अझै केही समय लाग्ने उनीहरूको निष्कर्ष छ । सङ्क्रमितको सङ्ख्या नघटेपछि फेरि दुई साताका लागि निषेधाज्ञाको अवधि थप गरिएको छ । आउँदो निषेधाज्ञालाई थप कडाइ गर्ने निर्णयसमेत भएको छ ।
काठमाडौँ उपत्यकामा बैशाख ९ गते बिहीबार नयाँ सङ्क्रमित एक हजार १७४ फेला परेकामा बैशाख १५ गते बुधबार दुई हजार ४७ जना थपिएका थिए । बैशाख १६ गते बिहीबार एक साताका लागि निषेधाज्ञा जारी भयो । त्यो दिन एक हजार ५६१ जना नयाँ सङ्क्रमित फेला परेका थिए भने बैशाख २२ गते बुधबार तीन हजार ८२५ जना थपिए । दैनिक थपिने सङ्क्रमितको सङ्ख्या उपत्यकामा बैशाख २८ गते बुधबार तीन हजार ९२७ जना पुग्यो । बैशाख २६ गते आइतबार अहिलेसम्मकै सबभन्दा बढी चार हजार १९८ जना नयाँ सङ्क्रमित फेला परेका थिए । निषेधाज्ञा भएको दुई साता भएको छ, तर दैनिक थपिने सङ्क्रमितको सङ्ख्यामा कमी आएको छैन । निषेधाज्ञा जारी भएको दिन बैशाख १६ देखि २८ गते मङ्गलबारको अवधिमा दैनिक फेला पर्ने सङ्क्रमितको सङ्ख्या डेढ गुणाले बढेको छ । मङ्गलबार मुलुकभर नौ हजार ४८३ जना सङ्क्रमित थपिएकामध्ये तीन हजार ९२७ जना अर्थात् ४१ प्रतिशत काठमाडौँ उपत्यकाका छन् । उपत्यकामा अहिले ४० हजार २२२ सक्रिय सङ्क्रमित छन् । पछिल्लो एक सातामा झन्डै एक चौथाइले सक्रिय सङ्क्रमित बढेका हुन् ।
समस्या चेन ब्रेकको
वरिष्ठ सरुवा रोग विशेषज्ञ तथा भाइरोलोजिस्ट डा. वासुदेव पाण्डेले उपत्यकामा सङ्क्रमितको सङ्ख्या घट्न अझै एक महिना लाग्ने बताउनुभयो । उहाँले नागरिकले स्वास्थ्य मापदण्ड पालनामा गम्भीरता नदेखाएको र पर्याप्त आइसोलेसनको व्यवस्था नहुँदा सङ्क्रमित एउटै परिवारसँग बसेकाले सङ्क्रमण फैलिरहेको बताउनुभयो ।
डा. पाण्डेले अहिले पनि भारतसँग आवतजावत भइरहेका कारण भारतमा सङ्क्रमण नघटेसम्म नेपालमा घट्न नसक्ने दाबी गर्नुभयो । “कोरोना नभएको देशमा हवाई उडान बन्द गरिएको छ तर भारतबाट हवाई र गाडीबाट पनि मानिस सहजै आइरहेका छन्”, पाण्डेले भन्नुभयो । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बाहिरी ‘चेन’भन्दा भित्री ‘चेन’ तोड्न कठिन भएको बताउनुभयो । उहाँले भित्री ‘चेन ब्रेक’ गर्न समस्या भएकाले अझै केही समय काठमाडौँ उपत्यकाको सङ्क्रमण नियन्त्रणमा नआउने बताउनुभयो ।
मृत्युदर उच्च
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा थप २२५ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या चार हजार ८४ पुगेको छ । सोमबार कोरोना सङ्क्रमणबाट १३९ जना सङ्क्रमितको मृत्यु भएको थियो । मङ्गलबार देशभर थप नौ हजार ४८३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित हुनेको यो सङ्ख्या अहिलेसम्मकै उच्च हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा २१ हजार ३१६ जनाको पीसीआर र एन्टिजेन विधिबाट नमुना परीक्षण भएको थियो । नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या चार लाख १३ हजार १११ पुगेको छ । मन्त्रालयका अनुसार विगत २४ घण्टामा थप पाँच हजार २२५ जना सङ्क्रमित निको भएका छन् । योसहित निको हुनेको सङ्ख्या तीन लाख १२ हजार १९ पुगेको छ । निको हुनेको सङ्ख्या पनि हालसम्मकै धेरै हो । अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ९७ हजार आठ रहेको छ भने क्वारेन्टाइनमा ४४८ जना छन् ।
काेराेना संक्रमण भयावहः मंगलबार सम्म नेपालका ७२ जिल्लामा निषेधाज्ञा लागु, बिवरण सहित
काठमाडाैँ, २८ बैशाख २०७८ ।
नेपालमा काेराेना संक्रमणकाे स्थिति झन् भयावह बन्दै गएकाे छ ।
देशभरीका बिभिन्न जिल्लामा निषेधाज्ञा लगाइए पनि काेराेना संक्रमणकाे स्थिति झन् भयावह बन्दै गएकाे हाे । पछिल्लाे समय काेराेना संक्रमण झन् भयावह बन्दै गएकाे तथ्यांकले देखाएकाे छ । निषेधाज्ञा जारी गरीएका जिल्लाकाे संख्या बढ्दै गएपनि काेराेना संक्रमणद भने घटेकाे छैन । अझ काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या बढिरहेकाे छ । मंगलबार २२५ जनाकाे ज्यान गएकाे छभने ९४८३ जना नयाँ संक्रमित थपिएका छन् ।
मंगलबार सम्म नेपालका ७२ जिल्लामा निषेधाज्ञा लगाइएकाे छ । काेराेना संक्रमण तिब्रगतिमा फैलिरहेका बेला संक्रमण राेकथाम र नियन्त्रणका लागि मंगलबार सम्म ७२ जिल्लामा निषेधाज्ञा लगाइएकाे गृह मन्त्रालयले जनाएकाे छ ।
अहिले ७२ जिल्ला मध्ये ७ जिल्लामा आंशिक रूपमा र ६५ जिल्लामा पुर्ण रूपमा निषेधाज्ञा जारी गरीएकाे छ । काभ्रेपलाञ्चाेक, मकवानपुर, रामेछाप, ताप्लेजुङ, सिन्धुपाल्चाेक, सप्तरी र धनकुटामा आंशिकरूपमा निषेधाज्ञा लगाइएकाे छ । नेपालका ५ जिल्ला बाहेकका सबै जिल्लामा आंशिक तथा पुर्ण रूपमा निषेधाज्ञा लागु भएकाे छ ।
निषेधाज्ञाकाे पुरा बिवरण हेर्नुहाेस्ः
काठमाडाैँमा जेठ १३ सम्म निषेधाज्ञाः अब दिउसोमा निर्माण सामग्री समेत ल्याउन नपाइने
काठमाडौं, २८ बैशाख २०७८ ।
काठमाडाैँमा जेठ १३ गते सम्मका लागि निषेधाज्ञा लम्ब्याइएकाे छ ।
काेराेना संक्रमण दर बढेसँगै काठमाडाैँमा जेठ १३ गते सम्मका लागि निषेधाज्ञा लम्ब्याइएकाे हाे । काठमाडौं उपत्यकाको जारी निषेधाज्ञा अब १५ दिनका लागि थपिएको छ ।
मंगलबार काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेकाे हाे । जारी निषेधाज्ञा जेठ १३ गते राती १२ बजेसम्मका लागि थप भएको बताइएकाे छ ।
त्यस्तै बैठकले निर्माण सामग्री दिउसोमा ल्याउन नपाइने निर्णय गरेको छ । साथै विवाह, ब्रतबन्ध र भोजजस्ता कार्यक्रम पार्टी प्यालेसमा गर्न रोक लगाएको छभने विवाह, ब्रतबन्ध र भोजजस्ता कार्यक्रम घरमा गर्दा पनि १० जनाभन्दा बढी सहभागी हुन नपाइने निर्णय समेत बैठकले गरेकाे छ ।
काेराेना संक्रमणकाे असरः ११ मा आंशिक र ५७ मा पुर्ण गरी ६८ जिल्लामा निषेधाज्ञा लागु
काठमाडाैँ, २७ बैशाख २०७८ ।
नेपालमा हाल सम्म ६८ जिल्लामा निषेधाज्ञा लागु भएकाे छ ।
काेराेना संक्रमण फैलिँदैगर्दा बुधबार बेलुका सम्म नेपालका ६८ जिल्लामा निषेधाज्ञा लागु भएकाे हाे ।
हाल काभ्रेपलाञ्चाेक, पर्वत, मकवानपुर, रामेछाप, ताप्लेजुङ, म्याग्दी, तनहुँ, इलाम, सिन्धुपाल्चाेक, धनकुटा र सप्तरी जिल्ला सहित ११ जिल्लामा आंशिक निषेधाज्ञा लगाइएकाे गृहमन्त्रालयले जनाएकाे छ ।
६८ जिल्ला मध्ये बाँकि ५७ जिल्लाहरूमा जिल्लाभर पुर्णरूपमा निषेधाज्ञा जारी गरीएकाे छ ।
बागलुङ, २७ बैशाख २०७८ ।
धौलागिरी अस्पतालमा ४७ बर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ । पर्वतको कुश्मा नगरपालिका १ का ४७ बर्षीय पुरुषको गएराति मृत्यु भएको हो ।
बिरामी भएपछि गत बैशाख २० गते धौलागिरी अस्पताल बागलुङमा उपचारको लागि आएका ती पुरुषमा पीसिआर परिक्षण गर्दा २१ गते कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलय बागलुङका कोभिड १९ फोकल पर्सन देव प्रकाश घिमिरेले जानकारी दिनुभयो । मृतक पुरुषमा अन्य दिर्घ रोग नरहेकोे उहाँले बताउनुभयो ।
बिमारले च्याप्दै गएपछि अन्य ठाउँबाट पनि औषधि खाएका ती पुरुष अवस्था जटिल बन्दै गएपछि धौलागिरी अस्पताल बागलुङमा परिक्षणका लागि आएका थिए ।
नुवाकोटमा दैनिक सातसय सिलिण्डर अक्सिजन उत्पादन- चारहजार सिलिण्डिर मौज्दात, अभाव छैन
नुवाकाेट, २५ वैशाख २०७८ ।
नुवाकोटको ककनी गाउँपालिका–२ मा अवस्थित ‘हाम्रो अक्सिजन ग्याँस उद्योग प्राली’ले दैनिक सातसय सिलिण्डर अक्सिजन उत्पादन गर्दै आएको छ । हाल उद्योग चौबिसैघण्टा निरन्तर सञ्चालन गरेर दैनिक सातसय ठूलो सिलिण्डर अक्सिजन उत्पादन गर्दै आएको प्रालीका सञ्चालक प्रदीपकुमार सेढाईले जानकारी दिनुभयो ।
उहाँको अनुसार कम्पनीको क्षमता आठसय सिलिण्डर गर्नसक्ने भएपनि विद्युत आपूर्तिमा हुने गरेको गढबढीका कारण केही क्षमता भन्दा केही कम उत्पादन भएको हो । कम्पनीको अनुसार एक सिलिण्डरमा ४७ लिटर अक्सिजन भर्ने गरिएको छ । “यसअघिका दिनमा उत्पादन गरिएका अक्सिजन अस्पताल सहित अन्य उद्योग तथा कलकारखानामा समेत उपलब्ध गराउदै आएकोमा यही वैशाख २० गते बसेको उद्योगको सञ्चालक समितिको बैठकले हाल कोरोना सङ्क्रमित बिरामीको लागि देशभर अक्सिजनको अभाव भएसगैँ अस्पताल र बिरामीको लागी मात्रै उपलब्ध गराउने निर्णय गरेको छ ।” उहाँले भन्नुभयो “कम्पनीबाट यसअघि कोही कसैले लगेर खाली बनाएर राखेका खाली सिलिण्डरको खोजी र मौजुदा राखेको भए सङ्क्रमण अवधिको लागी कम्पनीलाई नै उपलब्ध गराउन अपिल गरेको छ ।”
कोरोना सक्रमित बिरामीको लागी एक दिनमा ठूलो सिलिण्डर करिब एकवटा प्रयोग हुने भएकाले जिल्लाको लागि अक्सिजनको माग पूरा भएपछि काठमाडौ लगायत माग भएर आएका अस्पतालमा पठाउने उद्योगका अध्यक्ष नवराज पाण्डेले जानकारी दिनुभयो । उहाँको अनुसार हाल कोरोना रोगको सङ्क्रमणको दरमा भैरहेको बृद्धि र उपचारको लागि अक्सिजन सहितको सेवा अत्यावश्यक रहेको समयमा चौबिसै घण्टा उद्योग चलाएर अधिकतम सेवा प्रवाहमा केन्द्रित गरिएको छ ।
ककनीमा रहेको अक्सिजन उद्योगको लागी यहाँको देवीघाट स्थित सवस्टेशनबाट लगिएको प्रशारण लाइनको विद्युतमा दैनिक जसो हुने गढबढीको कारण लक्ष्य अनुसार उत्पादनमा भने कठिन देखिएको छ । “उद्योगको क्षमता अनुसार उत्पादन गर्न सकिएको छैन, नियमित विद्युत् आपूर्ति भएमा प्रतिदिन नौ सय सिलिण्डर उत्पादन गर्न सकिन्छ ।” अध्यक्ष पाण्डेले भन्नुभयो, “विद्युत्मा रहेको समस्या समाधानका लागी पहल गर्न जिल्ला प्रशासन कार्यालय र नेपाल विद्युत प्राधिकरण, नुवाकोट वितरण केन्द्रलाई अनुरोध गरेकाले समस्या समाधान भएमा उत्पादन बृद्धि गर्दै लैजान्छौ ।”
चारहजार २०० सिलिण्डिर मौज्दात
उद्योगसंग रहेका ४७ लि. क्षमताको पाच हजार ठूला सिलिण्डर मध्ये हाल चार हजार २०० सिलिण्डर चालु अवस्थामा छन् । कोरोना बिरामीको लागि अन्य बिरामीको भन्दा अक्सिजन बढी खपत हुने भएकाले ठूला सिलिण्डर नै प्रयोग गर्नुपर्ने देखिएको छ । सक्रमित बिरामीको लागि प्रतिघण्टा दश लिटरसम्म अक्सिजन आवश्यक पर्ने चिकित्सकहरुको भनाइ छ ।
दम तथा अन्य प्रकृतिका बिरामीको लागी प्रयोग गर्ने गरेको १० लि. क्षमताका ३५० वटा र १५ लि. क्षमताको ५० सिलिण्डर पनि उद्योगसँग मौज्दात रहेको अध्यक्ष पाण्डेले जानकारी दिनुभयो । उहाँको अनुसार कोरोना सङ्क्रमित बिरामीको लागी भने ठूलो सिलिण्डर नै आवश्यक पर्ने भएकाले कम्पनीले ठूलो सिलिण्डरलाई प्रथामिकता दिएर रिफिल गर्दै आएको छ । कम्पनीको हालै बसेको सञ्चालक समितिको बैठकले बिरामी तथा अन्य प्रयोजनको लागि लगिएको सिलिण्डर भएमा त्यसलाई खाली नराख्न र आफूलाई सिलिण्डरको आवश्यकता नभए हाल कोरोना रोगको महामारीको समयभरका लागी कम्पनीलाई नै उपलब्ध गराउन आग्रह गरेको छ ।४७ लिटर क्षमताको ठूलो अक्सिजन सिलिण्डरलाई रु पाँचसय शुल्क तोकिएको उद्योगले जनाएको छ । उक्त उद्योग दशवर्ष अघि ३२ लगानीकर्ताले रु १५ करोडमा सुरु गरेका थिए ।
अक्सिजन अभाव छैनः त्रिशूली अस्पताल
त्रिशूली अस्पतालसंग आफ्नै अक्सिजन उद्योग भएका कारण अक्सिजनको अभाव छैन । अस्पतालको अक्सिजन उद्योग मार्फत ६४ वटा प्वाइन्टमा बनाएर बिरामीको श्ययासम्म पाइप मार्फत अक्सिजन उपलब्ध गराइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन डा दिपेन्द्र पाण्डेले जानकारी दिनुभयो । उहाँको अनुसार अस्पतालले उद्योगमा कम्प्रेसर उपकरण जडानको प्रक्रियामा रहेकाले एक महिनाभित्रै व्यावसायिक उत्पादन (सिलिण्डरमा भरेर कारोबार गर्ने) थाल्न लागिरहेको छ ।
जैमिनी नगरपालिकाः पूर्वाधार प्रगति शून्य
सन्ध्या आचार्य
बागलुङ, २३ बैशाख २०७८ ।
संघीयता कार्यान्वयनपछि स्थानीय तहमै सेवा सुविधा पाउन थालेपछि कतिपय कामको लागि जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको छ । जिल्ला सदरमुकामको चहलपहल वडा कार्यालय र पालिका केन्द्रमा बढी नै देख्न सकिन्छ । तर हचुवाका भरमा निर्धारण गरिएका कतिपय पालिका केन्द्र नाम मात्रका छन्, जहाँ न्यूनतम पूर्वाधार समेत छैन ।
साँघुरो ठाउँको भिरालो जमिन अनि फैलँदो बस्ती । बागलुङ जिल्लाको जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेराको बिशेषता हो यो ।
नगरपालिकाको केन्द्र घोषणा गरेको तीन बर्षपछि अहिले पनि यो ठाउँमा न्यूनतम सेवा सुबिधा छैन । कतिसम्म भने नगरपालिका घोषणा हुँदा एकईन्च कालोपत्रे सडकसमेत थिएन । कुश्मिसेरा बजारको बाटो अहिले पनि कालोपत्रे हुन सकेको छैन । कुश्मिसेरा बजारमा सबैभन्दा ठूलो समस्या पिउने पानीको छ । पालिका मुकाम भइसकेपछि कम्तिमा पिउने पानीको समस्या समाधान हुनेमा स्थानीय आशाबादी थिए ।
नगरपालिका घोषणा हुनासाथ रातारात विकास हुने सपना देखेर बजार झरेकाहरु समस्या जस्ताको त्यस्तै देख्दा कम्ति निराश भएका छैनन् । जैमिनी नगरपालिका ९ पैयुँबाट कुश्मिसेरामा बसाई सरेर आएकी मिना केसी भन्नुहुन्छ, “विकास होला भनेर कुश्मिसेरामा घर बनाइयो अहिले पछुतो लागेको छ ।”
कुश्मिसेरामा बसाई सरेर आउनेको संख्या बढ्दो छ । यसको तथ्यांक नगरपालिकासँग नभए पनि बजार व्यवस्थापन समितिका अध्यक्ष क्याप्टेन पदमबहादुर श्रीसको भनाइमा पछिल्लो तीन बर्षमा करिव १५० परिवार थपिएका छन् । समितिको तथ्यांकले भन्छ, कुश्मिसेरामा भाडामा बस्नेको संख्या घरधनीकै हाराहारीमा छ ।
नगरपालिकाको केन्द्र बनेपछि सेवा सुविधा पाउने लोभमा कतिले त गाउँको जग्गाजमिन त्यसै छोडेर आएका छन् भने कौडीको भाउमा गाउँको जग्गाजमिन बेचेको पैसाले अधिकांशले सानो टुक्रा जग्गा किनेर घर बनाएका छन् । मापदण्ड कहिँकतै पालना भएको छैन । कतिसम्म भने नगरपालिकामा बनेका करिव ८० घर दुईआना क्षेत्रफलमा बनेका छन्, त्यो पनि निर्माण अनुमती नलिईकन । नगरपालिकाका इन्जिनीयर बिवेक सापकोटा भन्नुहुन्छ, “यसरी बसेकाहरुले न मापदण्डको ख्याल गरे न त नगरपालिकासँग सुझाव नै लिए ।” उहाँको भनाईमा साँघुरो ठाउँ, त्यसमाथि अव्यबस्थित संरचना कुश्मिसेरामा बजार विस्तारको मुख्य चुनौती बनेको छ ।
त्यसो त नगरपालिकाले सुरुमा १८ मिटर बाटो कायम गर्ने सरकारी मापदण्ड लागू गर्न खोजेको थियो । तर स्थानीयको अबरोधपछि उक्त मापदण्ड लागू गर्न नसकिएको स्वीकार्नुहुन्छ् नगरप्रमुख इन्द्रराज पौडेल । स्थानीयका लागि सहज हुने र बस्ती पनि जोगाउने गरी मापदण्ड तयार गरिने उहाँ बताउनुहुन्छ । मापदण्डमा नपरेका संरचनाका सम्बन्धमा सम्बन्धित घरधनी जवाफदेही हुनुपर्ने नगरप्रमुख पौडेलको मत छ । तर स्थानीयले भने निश्चित मापदण्ड बनाएर नगरपालिकाले नक्सापास गरिदिनुपर्ने माग राखेका छन् । नगरपालिकाले मापदण्ड कायम गर्न ढिलाइ गरेकाले समस्या थपिएको बताउने स्थानीय ताराकेशर सापकोटा भन्नुहुन्छ, “मापदण्ड लागू हुनुअघि बनेका घरको प्रकृति हेरेर नक्सापास गरिदिनुपर्छ ।”
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा नगरपालिका हुन कम्तिमा पनि पेटीसहितको सडक, विद्युत, सञ्चार, फोहोर व्यवस्थापन, खानेपानी तथा सरसफाई सुविधा, सार्वजनिक शौचालयसहितको बसपार्क, २५ शैयाको अस्पताल, पशु वधशाला लगायत सुविधा हुनुपर्दछ । खानेपानी सुविधा, सार्वजनिक शौचालय सहितको बसपार्क, २५ शैयाको अस्पताल, पशु वधशाला अझै पनि बनेका छैनन् । न्यूनतम पूर्वाधार समेत नभएको ठाउँलाई नगरपालिका बनाउँदा सुरु विन्दुबाटै काम गर्नुपरेको नगरप्रमुख पौडेलको भनाई छ । नगरपालिका क्षेत्रभर नभए पनि कुश्मिसेरा बजारमा भने बल्ल सामान्य पूर्वाधार निर्माणको काम अघि बढेको पौडेलले बताउनुभयो । उहाँका अनुसार टेलिफोन, करिव ३ किलोमिटर कालोपत्रे सडक, सार्वजनिक शौचालय तथा बजारबाट उठाएको फोहोर विसर्जन गर्ने ठाउँको व्यबस्था भइसकेको छ । यो सुबिधा सबै वडामा पुर्याउने योजना उहाँले सुनाउनुभयो ।
मासिदै खेतीयोग्य जमिन
नगरपालिका केन्द्र घोषणासँगै यहाँको उब्जाउ जमिन मासेर घर बनाउने क्रम बढेको छ । जबकि हिजोका दिनमा यहाँको ३०० रोपनी खेतीयोग्य जमिनबाट एक हजार मुरी बढी धान भित्रिन्थ्यो । अधिकांश बलेवाबासीको जग्गा थियो यहाँ । धानमात्र होइन, गहुँ र आलुको उत्पादन कम्ति राम्रो हुदैनथ्यो । खोला नजिक कुलोको पानीले थोरै मेहेनतमा धेरै अन्न उत्पादन हुन्थ्यो । यति राम्रो खेती हुने जमिन अहिले कंक्रिटको जंगल बन्ने क्रममा छ । क्याप्टेन पदमबहादुर श्रीसको भनाईमा बजार विस्तारका कारण २०० रोपनी भन्दा बढी खेतियोग्य जमिन घडेरीका लागि टुक्र्याइएको छ । ५ रोपनी जग्गा त जैमिनी नगरपालिकाले नै ओगटेको छ । यतिमात्र होइन, नगरपालिकाले नै बस्ती बिस्तारको तयारी गरेको छ । १८ रोपनी ७ आना मध्ये जैमिनी नगरपालिकाको लागि ५ रोपनी छुट्याएर १३ रोपनी ७ आना जग्गा प्लटिङ गरेर बस्ती बिस्तार गर्ने तयारी भइरहेको नगर प्रमुख पौडेलले जानकारी दिनुभयो ।
बस्ती बिस्तारलाई ध्यानमा राखेर बजार क्षेत्रमा ८ मिटरको बाटो कायम गर्ने, संरचना निर्माणअघि अनिवार्य नक्सापास गर्नुपर्ने जस्ता मापदण्ड लागू गर्नुपर्नेमा नगरपालिकाका ईन्जिनियर विवेक सापकोटा जोड दिनुहुन्छ । तर नगरपालिकाले अहिलेसम्म कुनै मापदण्ड बनाएकै छैन । बाटो छोडेर घर बनाउने, निर्माण शुरु गर्नुअघि नक्सापास गर्नुपर्ने भनिएपनि कति प्रतिशत छोड्ने भन्ने निश्चित छैन ।
केन्द्र वरिपरी सेवा सुविधा बिस्तार गरी बजार क्षेत्र फराकिलो बनाउने, जथाभावी संरचना बनाउन नदिने जस्ता नियम कडाईका साथ पालना गराउने नगरपालिकाको तयारी छ । यसका लागि खाका कोर्ने काम भइरहेको नगरपालिकाका इन्जिनीयर सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार नक्सा पास नगरी घर बनाउन नपाउने, ८ मिटर बाटो छोडेर मात्र संरचना बनाउनुपर्ने, संरचना जोडेर बनाउन नपाइने, निर्माण सम्पन्न प्रमाणपत्र अनिवार्य लिनुपर्ने, दुई आना भन्दा कम जग्गामा घर बनाउन पाइने छैन ।
व्यवस्थित नभए पनि कुश्मिसेरा बजारको ईतिहास लामै छ । २०२९ सालमा स्थानीय लक्ष्मीनारायण सापकोटाले यो बजारलाई व्यवस्थित बनाउने सोचले विकासका काम अघि बढाउनुभएको थियो । घरेलु उद्योग यहीँ थियो । विजुली बत्ति यहीँबाट निकालिएको थियो । कुश्मिसेरा बजार उतिबेलै झलमल्ल हुन्थ्यो । यो अहिले कथाजस्तो बनेको छ । एक समय राम्रै चर्चा कमाएको बजारमा बस्ती व्यवस्थित हुन सकेन जसले गर्दा पुराना संरचनाले निरन्तरता पाएनन् ।
११८.७१ वर्ग किमि क्षेत्रफलमा फैलिएको जैमिनी नगरपालिकाको जनसंख्या २०६८ को जनगणना अनुसार ३१ हजार ४ सय ३० छ । जिल्ला सदरमुकाम बागलुङको चहलपहल दश ठाउँमा विकेन्द्रिकरण भएको छ । बागलुङमा ४ नगरपालिका र ६ गाउँपालिका छन् ।
(यो आलेख/फिचर इन्टरन्युज/अर्थ जर्नालिज्म नेटवर्कको सहयोगमा एन्टेना फाउण्डेशन नेपालले सञ्चालन गरेको वातावरण पत्रकारिताः रिपोर्टिङ कार्यशालापछि तयार पारिएको हो ।)
छ गुणाबढी भाडा लिने सवारी साधन कारवाहीमा
काभ्रेपलाञ्चोक, २४ वैशाख २०७८ ।।
कोरोना सङ्क्रमणको दोस्रो लहरसँगै जोखिम बढेपछि काठमाडौँ उपत्यकाबाट गृहजिल्ला जाने क्रममा बिहीबार काठमाडौँबाट धनुषाको जनकपुरसम्म जाँदा करिब छ गुणा बढी भाडा लिने सवारी साधनलाई जिल्ला ट्राफिक कार्यालय काभ्रेपलाञ्चोकले कारवाही गरेको छ ।
काठमाडौँबाट जनकपुर गइरहेको काठमाडौँ पूर्वी–नाका साँगामा १५ जना यात्रु बोकेर आएको उक्त सवारीलाई जाँचका क्रममा बढी भाडा असुलेको भन्दै कारवाही गरिएको कार्यालयले जनाएको छ । प्रतियात्रु रु १५ हजारको दरले भाडा लिएको जनाउँदै चालक सुरज भण्डारीसहित उक्त यातायत साधनलाई यातायात व्यवस्था विभागमा कारवाहीको सिफारिश गरिएको कार्यालय प्रमुख ट्राफिक इन्चार्ज प्रमिला श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “चालक र सवारी साधन होल्ड गरी कारवाही सिफारिश गरेका छौँ ।”