बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ सुगरखालमा झोलुङ्गे पुल निर्माणको काम सुरु भएको छ । बर्दगोरिया गाउँपालिकाको वडा नम्बर ६ र घोडाघोडी नगरपालिकाको वडा नम्बर ३ (काडानदी) मा ठेक्का सम्झौता भएको झन्डै तीन वर्षपछि पुल निर्माणको काम सुरु भएको हो ।
पुल निर्माणका लागि फारवेस्ट कम्युनिटी डेभलपमेन्ट फोरम धनगढीसँग २०७८/१/१५ मा ठेक्का सम्झौता भएको थियो । कुल ८८ लाख ९६ हजार ९८९ रुपैयाँको लागतमा १२० मिटर लामो झोलुङ्गे पुल निर्माण हुनेछ । चालू आर्थिक वर्षको भदौ महिनाभित्र काम सक्नेगरी पुल निर्माणको थालिएको जनाइएको छ ।
पुल बनेपछि यहाँका नागरिकको वर्षौदेखिको सास्ती र हैरानीको अन्त्य हुनेछ । पुल नहुदा यहाँका स्थानीय नागरिकले लामो समयदेखि जोखिम मोलेर (काडा नदि) वारपार गर्नुपर्ने स्थिति रहेको थियो । सोही समस्यालाई दृष्टिगत गरि पुल निर्माणको काम सुरु गरिएको हो । पुल बनेपछि बर्दगोरिया ६ र घोडाघोडी ३ का नागरिकलाई आवातजावत गर्न सहज हुनेछ । यसैगरी बर्दगोरिया ६ को धार्मिक तथा पर्यटकीय क्षेत्र भक्तिनिया डाडाको विकास र समृद्धिमा टेवा पुग्ने स्थानीयको भनाई छ ।
निर्माणाधीन झोलुङ्गे पुलको शुक्रबार बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गणेश राज गिरि (लालदीप) इन्जिनियर ,प्राविधिकसहितको टोलिले अनुगमन गरेको छ । अनुगमनको क्रममा पालिका उपाध्यक्ष तथा अनुगमन समिति संयोहक गिरिले पुल समयमै निर्माण गरि सक्न र गुणस्तरीयतामा ध्यान दिन निर्देशन दिएका छ्न ।