एकैदिन चार जना काेराेना सङ्क्रमितको मृत्यु
लुम्बिनी, २४ साउन २०७८ ।
बाँके र दाङका कोरोना अस्पतालमा उपचारार्थ एकैदिन चार कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार गराइरहेका रोल्पा, दाङ र सुर्खेतका तीन सङ्क्रमितको आज मृत्यु भएको अस्पतालले जनाएको छ ।
यस्तै दाङस्थित अस्थायी कोरोना अस्पताल बेलझुण्डीमा उपचारका लागि भर्ना भएका एक सङ्क्रमितको आजै मृत्यु भएको अस्पतालले जनाएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका लागि भर्ना भएका रोल्पाको लुङग्री गाउँपालिका–६ निवासी ५८ वर्षीय पुरुष, दाङको तुलसीपुर उपमहानगरपालिका– १५ निवासी ४५ वर्षीय पुरुष र सुर्खेतको भेरीगङ्गा नगरपालिका– १० निवासी ३९ वर्षीय महिलाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार लुङग्री– ६ रोल्पा निवासी ५८ वर्षीय पुरुषको आज बिहान २ः०० बजे, तुलसीपुर–१५ दाङ निवासी ४५ वर्षीय पुरुषको आज बिहान ८ः३० बजे र भेरीगङ्गा–१० सुर्खेत निवासी ३९ वर्षीय महिलाको बिहान उपचारका क्रममै मृत्यु भएको हो ।
योसँगै हालसम्म कोरोना सङ्क्रमणपछि उपचारका लागि अन्यत्र जिल्लाबाट बाँकेका अस्पतालमा आएका ३८६ व्यक्तिको मृत्यु भएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको कोरोना उपचार केन्द्रका रुपमा रहेको भेरी अस्पतालमा पुनः कोरोना सङ्क्रमित बिरामीको चाप बढ्दै गएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति वलीले बताउनुभयो ।
यस्तै दाङमा थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत घोराही उपमहानगरपालिका–१७ निवासी ७९ वर्षीया महिलाको मृत्यु भएको हो । उनको आज बिहान उपचारका क्रममा मृत्यु भएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिनुभयो । ती महिला साउन १५ गतेदेखि सघन उपचार कक्षमा उपचाररत थिइन् । उनमा निमोनियासँगै श्वासप्रश्वासमा पनि समस्या थियो । अहिले अस्पतालको सघन उपचार कक्षमा छ जनाको उपचार भइरहेको छ ।
सोलुखुम्बु, २४ साउन २०७८ ।
छयासी मेगावाट क्षमताको सोलुखोला (दूधकोशी) जलविद्युत आयोजना निर्माण गरिरहेको साहस ऊर्जा लिमिटेडले आइपिओ निष्कासन गर्ने भएको छ । जिल्लाको थुलुङ दूधकोशी–३ पञ्चनमा निर्माणाधीन जलविद्युत् आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीलाई लक्ष्य गरी आइपिओ निष्कासन गरिने भएको हो ।
नेपाल धितोपत्र बोर्डबाट एक करोड पाँच लाख कित्ता साधरण शेयर निष्कासन गर्न अनुमति पाएको साहस ऊर्जाले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका नागरिकका लागि ३५ लाख कित्ता शेयर निष्कासन गर्ने जनाएको छ । सोलुखुम्बु जिल्लाका नागरिकले साउन २९ देखि भदौ ११ गतेसम्म आवेदन दिन सक्ने बताइएको छ । उक्त समयमा खुला गरिएको शेयर बिक्री नभएमा ढिलोमा भदौ २७ सम्म आवेदन दिन सकिने कम्पनीद्वारा जारी सूचनामा उल्लेख छ ।
कम्पनीले प्रतिशेयर रु १०० मूल्यका दरले ३५ लाख कित्ता साधारण शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको कम्पनीका अध्यक्ष हिम पाठकले जानकारी दिनुभयो । उहाँका अनुुसार ग्लोबल आइएमई बैंक सल्लेरी, नेपाल इन्भेष्टमेन्ट बैंक लुक्ला, लक्ष्मी बैंक मुक्ली र नेले शाखा, माछापुच्छ«े बैंक सल्लेरी र प्राइम कमर्शियल बैंक रमिते शाखाबाट आवेदन दिन सकिनेछ । यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतप्राप्त सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिने अध्यक्ष पाठकले बताउनुभयो ।
आइपिओको निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १० लाख ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । आइपिओ निष्कासनपछि कम्पनीको चुक्तापूँजी बढेर रु तीन अर्ब ५० करोड पुग्ने छ । उक्त आयोजना रु ११ अर्ब ८६ करोडमा बनिसक्ने अनुमान गरिएको छ । आयोजनामा नेपाल इन्भेष्टमेन्ट बैंकको कन्सोर्टियम लिडमा नौ बैंकले रु आठ अर्ब ६५ करोड ऋण लगानी गरेका छन् ।
जिल्लाको सोलुदूधकुण्ड नगरपालिका–११ तिङ्ला र थुलुङ दूधकोशी–१ नेलेमा पर्ने सोलुखोलामा ड्याम निर्माण गरी सुरुङमार्गमार्फत थुलुङदूधकोशी–३ पञ्चनमा विद्युतगृह निर्माण गरिँदैछ । निर्माण कम्पनीका अनुसार अहिले आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।
सोलुखोलामा २३.५ मेगावाट क्षमताको माथिल्लो सोलुखोला निर्माण सम्पन्न भएर उत्पादन शुरु भएको छ भने ८२ मेगावाट क्षमताको तल्लो सोलुखोला जलविद्युत् आयोजना, १९.५ मेगावटमा बेनी हाइड्रोपावर प्रोजक्टको काम पनि अन्तिम चरणमा पुगेको सम्बन्धित आयोजनाले जनाएका छन् । यद्यपि ती कम्पनीले साधरण शेयर भने वितरण गरेका छैनन् ।
भ्वाईस अफ नेपाल सिजन थ्रीको उपाधी किरण गजमेरकाे हातमा
काठमाडाै, २४ साउन २०७८ ।
भ्वाईस अफ नेपाल सिजन थ्रीको उपाधी किरण गजमेरकाे हातमा पुगेकाे छ । हिमालयन टेलिभिजनद्वारा सञ्चालित रियालिटी शो भ्वाईस अफ नेपाल सिजन थ्रीको उपाधी किरण गजमेरले जितेका हुन् ।
उहाँले उत्कृष्ट चारमा परेका कलाकारहरु तारा श्रीष, आर्यन तामाङ, ज्वाला राईलाई पछि पार्दै २५ लाख रुपैयाँ पुरस्कार राशीसँगै उपाधी उचाल्नुभएकाे छ । उहाँले फाइनलमा २७० हजार भोट प्राप्त गर्नुभएकाे थियाे ।
यो रियालिटी शो हिमालय टीभीमा हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट प्रसारण हुँदै आएको थियो ।
काठमाडाै, २३ साउन २०७८ ।
कक्षा १२ काे परिक्षा स्थगित भएकाे छ । शनिबार बसेकाे राष्ट्रिय परीक्षा बोर्डको बैठकले तत्कालका लागि परिक्षा स्थगित गर्ने निर्णय गरेकाे हाे ।
यसअघि कोरोना सङ्क्रमण बढ्दै गएकाले कक्षा १२ सहितका अरु परीक्षा रोक्न मन्त्रालयले हिजो सिफारिस गरेको थियाे । स्वास्थ्य मन्त्रालयले परीक्षा स्थगित गर्न सिफारिस गरेपछि यसबारे निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बसेर यसकाे निर्णय गरिएकाे बाेर्डले जनाएकाे छ ।
यता माध्यामिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बोर्ड बैठकले एसईईको नतिजा प्रकाशन गरेको हो । गत वर्षको जस्तै यस वर्ष पनि आन्तरिक मूल्यांकनकै आधारमा एसईईको नतिजा सार्वजनिक भएको छ । ५ लाख १७ हजार विद्यार्थी एसईईमा सहभागी भएका थिए ।
कक्षा १२ को परीक्षाको विषयमा निर्णय गर्न बसेको बोर्डको बैठकले एसईईको नतिजा पनि सार्वजनिक गरेको छ ।
काठमाण्डाै, २३ साउन २०७८ ।
कक्षा १२ काे परिक्षा के गर्ने भन्ने आज निर्णय हुने भएकाे छ । स्वास्थ्य मन्त्रालयले परीक्षा स्थगित गर्न सिफारिस गरेपछि यसबारे निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बस्न लागेकाे हाे ।
यसअघि गएको जेठ २६ गतेका लागि तय भएको परीक्षा बोर्डले स्थगित गरेको थियो । कोरोना सङ्क्रमण फैलँदै गएकाले कक्षा १२ को सहित नजिक आएका सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई सिफारिस गरिएको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिनुभयो ।
कोरोना सङ्क्रमण बढ्दै गएकाले कक्षा १२ सहितका अरु परीक्षा रोक्न मन्त्रालयले हिजो सिफारिस गरेको थियाे । परीक्षाबारे आज निर्णय हुने बोर्डले जनाएको छ । कक्षा १२ को परीक्षा आउँदो ३१ गतेदेखि सुरु हुँदैछ । मन्त्रालयको सिफारिसपछि परीक्षा के हुन्छ भन्नेमा विद्यार्थी र शिक्षक अन्योलमा छन् । कक्षा १२ को परीक्षामा झण्डै चार लाख विद्यार्थी सहभागी हुँदैछन् ।
आज पनि देशका केही ठाउँमा पानी पर्ने सम्भावना, दिउँसोतिर देशभरि नै सामान्य बद्ली रहने
काठमाण्डौ, २३ साउन २०७८ ।
आज पनि देशका केही ठाउँमा पानी पर्ने सम्भावना देखिएकाे छ । मनसुनी वायु केहि सक्रिय रहेकाले केहि ठाउँमा पानी पर्ने सम्भावना देखिएकाे हाे ।
आज वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । वाग्मती प्रदेशको काठमाण्डौ उपत्यका र आसपासको क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका भूभागमा मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो । आउने बुधवारदेखि मनसुन थप सक्रिय हुँदै जाने मौसमविद् अर्यालले बताउनुभयो ।
दिउँसोतिर भने देशभरि नै सामान्य बद्ली रहनेछ भने मनसुन खासै सक्रिय नभएकाले देशका अरु ठाउँमा भने सामान्य बद्ली भएर कुनै कुनै ठाउँमा हल्का खालको पानी पर्ने सम्भावना छ ।
आज शनिवार- शनिदेवकाे दर्शन गरे साेचेकाे पुग्छ, दर्शन सहित आजको राशिफल हेर्नुहाेस्
आजको राशिफल
मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
परिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ। नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ भने काम बिग्रने डरले सताउन सक्छ। समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढिन सक्छन्। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। अप्ठ्यारो पर्दा साथ दिनेहरू कमै भेटिनेछन्। सानो भूल गर्दा मिहिनेतको फल अरूलाई सुम्पनुपर्ने अवस्था आउन सक्छ।
वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
प्रयत्न गर्दा अवसर जुट्नेछ र मिहिनेतको फल प्राप्त हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। तर अरूकाे भरपर्दा काम बिग्रन सक्छ। नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला। बलजफ्तीले केही चुनौती पनि निम्त्याउन सक्छ। आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्। पहिलेका कमजोरी र अप्ठ्यारा परिस्थिति सुल्झाउन केही समय जुट्नुपर्ला।
मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
अवसर प्राप्त भए पनि समयको महत्त्व नबुझ्नाले पछि परिनेछ। अध्ययनमा धेरै समय दिन नसकिएला। अरूको मुख ताक्ने बानीले पनि काम अधुरो रहनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले बोली-व्यवहारमा सजग रहनुपर्ला। व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। सोखले खर्च बढाउने हुँदा अर्थ अभाव समेत देखापर्न सक्छ।
कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
कामना पूर्ण हुनेछ भने लक्ष्यअनुसार समयमै काम सम्पादन गर्न सकिनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। सेवामूलक काममा सहभागी बन्ने अवसर जुट्न सक्छ। आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।
सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आकस्मिक खर्चले चिन्ता बढाउन सक्छ। समय दिन नसक्दा बन्न लागेको कामसमेत बिग्रन सक्छ। दैनिकी चलाउन कर्जाको रकम खर्चनुपर्ला। तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ। समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। अवसरका लागि निकै दौडधुप गर्नुपर्ला। यात्रामा कष्ट हुनेछ।
कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
पहिलेको कर्मफल तथा उठ्नुपर्ने रकम हातलागी हुनेछ। नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। पढाइमा ध्यान केन्द्रित हुनाले प्रगति हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। व्यापारमा थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ।
तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
राम्रो कर्मफल प्राप्त हुनाले उत्साह जाग्नेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। तर समयमै गम्भीर नबन्दा नचिताएको समस्या देखिन सक्छ। आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन्। काम राेकिनाले थप अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। तापनि अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।
वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
परिस्थितिवश चिताएको काम पूरा नहुन सक्छ। सहयोगको नाममा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू मात्र फेला पर्नेछन्। नयाँ काम प्रारम्भ गर्न समय प्रतीक्षा गर्नुहोला। अस्वस्थताका बाबजुद कामको जिम्मेवारी बढ्नेछ। तापनि प्रयत्न गर्दा फाइदाका स्रोत पहिचान गर्न सकिनेछ। अध्यात्मभाव जागृत हुनुका साथै धर्मकर्म र परोपकारी काममा प्रवृत्त भइनेछ।
धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
परिस्थितिको चक्रमा अलमलिनुपर्दा काममा समय लाग्नेछ। अस्वस्थता र कमजोरी अनुभूति हुनेछ। चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्नेछ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला। आकस्मिक खर्च बढ्नेछ, अर्थअभाव हुन नदिन समयमा सजग रहनुहाेला। सहयोग गर्नेहरू कमै भेटिनेछन्। तर समयमा समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्।
मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
काममा साथीभाइको सहयोग जुट्नेछ। धन तथा ज्ञानको भण्डार बढ्नेछ भने जीवनशैली आनन्दमय रहनेछ। अतिथिको रूपमा सत्कार पाइएला। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। व्यवसायले रमाइलो यात्रा गराउन सक्छ। प्रियभेट हुनुका साथै विशेष उपहार प्राप्त होला। प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ। सोखले मालमत्ता जुटाउन प्रेरित गर्नेछ।
कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
अधिक परिश्रमले थकान र कमजोरी निम्त्याउन सक्छ। सरोकार नभएका विषयमा चासो राख्नाले दुःख पाइनेछ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। शुभचिन्तकहरू समेत टाढा हुनेछन्। यात्राको प्रक्रियामा बढी खर्च गर्नुपर्ने हुन सक्छ। आफ्नो उपलब्धिमा अरूले दाबी गर्ने सम्भावना रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला।
मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ। नयाँ काम प्रारम्भ गर्न केही समय प्रतीक्षा गर्नुहोला। परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। अध्ययनमा समय दिन नसकिएला। परिस्थितिवश आँटेको काममा बाधा हुन सक्छ। हल्लाको पछि लाग्दा दु:ख पाइनेछ। प्रतीक्षित नतिजा उत्साहप्रद नहुन सक्छ। नयाँ काम थाल्न केही समय प्रतीक्षा गर्नुहोला।
Breaking News: जैमिनीमा फेरि थपिए कोरोना संक्रमित, बन्दाबन्दीको पालना गर्न आग्रह
सुजन प्रेमी
बागलुङ, २२ साउन २०७८ ।
बागलुङको जैमिनीमा थप २४ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । शुक्रबार जैमिनीका ३ वटा वडाका ५० जनाको एन्टिजेन परिक्षण गर्दा २४ जनामा कोरोना संक्रमण देखिएको हो ।
जैमिनी नगरपालिका वडा नं १ कुश्मिसेरा स्थित कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रमा १७ जनाको परिक्षण गर्दा ५ जना, वडा नं ४ सर्कुवाका १८ जनाको परिक्षण गर्दा १० जना र वडा नं ५ विनामारेका १५ जनाको परिक्षण गर्दा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जैमिनी नगरपालिकाका स्वास्थ्य शाखा संयोजक गोविन्द प्रसाद आचार्यले जानकारी दिनुभयो ।
जैमिनी नगरपालिकामा कोरोना संक्रमण फैलिरहेकाले नगरपालिकाको केन्द्र कुश्मिसेरामा लकडाउन गरिएको छ । लकडाउनको समयमा अत्यावश्यक बाहेकका पसलहरु नखोल्न र समय तालिका अनुसार मात्रै पसल खोल्न आग्रह गरिएको आचार्यले बताउनुभयो ।
अहिले जैमिनी नगरपालिकाभर ५७ जना कोरोनाका सक्रिय संक्रमितहरु आइशोलेसनमा छन् ती मध्ये ६ जना कुश्मिसेरा स्थित जैमिनी कोभिड १९ अस्थाई अस्पतालमा र बाँकी होम आइशोलेसनमा रहेका छन् ।
उनिहरुको अवस्था सामान्य रहेको संयोजक आचार्यको भनाई छ । कोरोना संक्रमण देखिएर होम आइशोलेसनमा बसेकाहरु बाहिर हिँडडुल नगर्न, बन्दाबन्दीको नियम सबैले पालना गर्न, अत्यावश्यक पसलहरु समयतालिका बाहेक अन्य पसलहरु नखोल्न र सबैले स्वास्थ्य सुरक्षा मापदण्डहरु अनिवार्य पालना गर्न जैमिनी नगरपालिकाले नगरवासीहरुलाई आग्रह गरेको छ ।
टेलिकमको सियूजी प्याकेज : अनलिमिटेड कलदेखि डाटासम्म
काठमाडौँ, २२ साउन २०७८ ।
नेपाल टेलिकमले सियूजी सेवामा आबद्ध हुने ग्राहकलाई अनलिमिटेड कलदेखि डाटासम्मको छुटको घोषणा गरेको छ । टेलिकमले कर्पोरेट युजर ग्रुप–सियूजी सेवामा आबद्ध हुने ग्राहकको सङ्ख्यामा वृद्धि हुने क्रम जारी रहेकाले कुनै संस्था/कार्यालयमा कार्यरत न्यूनतम दश मोबाइल प्रयोगकर्तालाई सियूजी समूहमा आबद्ध गराएर छुट दिन सकिने जनाएको हो ।
सियूजी सेवामा आबद्ध सदस्यबीच निःशुल्करूपमा अनलिमिटेड भ्वाइस कल गर्न, सस्तो दरमा डाटा चलाउन र एसएमएस पठाउन सकिने तथा सियूजीमा आबद्ध नभएका नेपाल टेलिकमको नेटवर्कभित्रका अन्य नम्बरमा कुराकानी गर्न सकिने टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिनुभयो ।
उहाँका अनुसार कर्पोरेट ग्रुपमा आबद्ध सदस्यको आवश्यकतालाई दृष्टिगत गरी रु. २००, रु. ५००, रु एक हजार र रु. एक हजार ५०० दरका विभिन्न सियूजी प्याकेज उपलब्ध गराइएको छ । कम्पनीले उपलब्ध गराएको सो सेवामा प्रिपेड मोबाइलका ग्राहकले रु. २०० को प्याकेजअन्तर्गत सो ग्रुपमा पहिलेदेखि नै उपलब्ध अनलिमिटेड कलबाहेक १०० मिनेट अननेट (नेपाल टेलिकमको नेटवर्कमा प्रयोग गर्न सकिने) र १० मिनेट अफ नेट (अन्य नेटवर्कमा समेत प्रयोग गर्न सकिने) भ्वाइस सुविधा तथा ५० वटा अन नेट एसएमएस सुविधाका साथै जुनसुकै समयमा प्रयोग गर्न सकिने एक जिबी डाटा सुविधा प्राप्त गर्न सक्दछन् ।
त्यसैगरी पोस्टपेड मोबाइलका ग्राहकले रु ५०० को प्याकेजअन्तर्गत सो ग्रुपमा पहिलेदेखि नै उपलब्ध अनलिमिटेड कल बाहेक ५०० मिनेट अन नेट र ५० मिनेट अफ नेट भ्वाइस सुविधा तथा १०० अन नेट एसएमएस र ३० वटा अफ नेट एसएमएस सुविधाका साथै जुनसुकै समयमा प्रयोग गर्न सकिने पाँच जिबी डाटा सुविधा प्राप्त गर्न सक्दछन् ।
उक्त दुई प्याकेजबाहेक पोस्टपेड मोबाइलका ग्राहकले रु एक हजार र रु एक हजार ५०० का अन्य प्याकेजसमेत प्रयोग गर्न सक्दछन् । रु एक हजारको प्याकेजअन्तर्गत सियूजी ग्रुपभन्दा बाहिर कम्पनीकै नेटवर्कमा बिहान ७ः०० देखि बेलुकी ७ः०० बजेसम्म अनलिमिटेड कल वा मासिक जम्मा एक हजार मिनेट कल गर्न सकिन्छ भने अन्य नेटवर्कमा १०० मिनेट कल गर्न सकिन्छ । साथै यस प्याकेजमा १० जिबी डाटा चलाउन र २०० एसएमएस पठाउन सकिन्छ ।
यसैगरी रु. एक हजार ५०० को प्याकेजअन्तर्गत सियूजी ग्रुपभन्दा बाहिर कम्पनीकै नेटवर्कमा बिहान ७ः०० बजेदेखि बेलुकी ७ः०० बजेसम्म अनलिमिटेड कल गर्ने सुविधा वा मासिक जम्मा १५०० मिनेट कल गर्न सकिने सेवा लिन सकिन्छ । यस प्याकेजमा अन्य नेटवर्कमा २०० मिनेट कलका अतिरिक्त २० जिबी डाटा चलाउन र ४०० वटा एसएमएस पठाउन सकिन्छ ।
कुनै संस्था÷कार्यालयले ग्रुपमा सहभागी गराउनुपर्ने मोबाइल नम्बर र प्राप्त गर्न चाहेको प्याकेज पत्रमा उल्लेख गरी कम्पनीको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुपर्छ । न्यूनतम १० प्रिपेड÷पोष्टपेड मोबाइल प्रयोगकर्ता समेटी आधिकारिकरूपमा कम्पनीलाई जानकारी गराएपछि तोकिएका ग्राहकलाई सियूजी प्याकेज उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
कैलाली, २२ साउन २०७८ ।
लामो समय विद्यालय बन्द भएपछि साना बालबालिकाले क, ख समेत बिर्सन थालेका छन् । वैशाख महिनायता कैलाली जिल्लामा विद्यालय बन्द भएपछि अध्ययन गर्न नपाउँदा बालबालिकाले सिकेका कुरासमेत बिर्सिएका अभिभावक बताउँछन् ।
टीकापुर–१ का छपिलाल चौधरीकी छोरी प्रिन्सा चौधरी स्थानीय विद्यालयमा कक्षा १ उत्तीर्ण भएर कक्षा २ मा पढ्ने तयारीमा हुनुहुन्थ्यो । वैशाखयता विद्यालय बन्द भएपछि प्रिन्साले अचेल क, ख, समेत बिर्सेकी छन् । “राम्रो पढिरहेकी छोरीले अचेल क, ख र ए, बी, सी, डी बिर्सिएकी छिन्, अस्ति यसो पढाउन खोजेको छोरीले सबै बिर्सिएको देख्दा चिन्ता बढ्यो”, अभिभावक छपिलालले भन्नुभयो, “साना बालबालिकाले छिटो बिर्सने रहेछन् । चार महिनादेखि विद्यालय बन्द हुँदा बालबालिकाको पढाइ लथालिङ्ग भएको छ ।”
टीकापुर–३ की गीता विकका छोराको हालत पनि यस्तै छ । जागिरे गीताले कक्षा १ मा अध्ययनरत छोरालाई समय दिन पाउनुहुन्न । उहाँ काममा जाँदा छोरा भुल्ने भनेको मोबाइल र टेलिभिजनमा हो । गीताको छोराले पनि पढेका सबै कुरा बिर्सन थालेको छ । “कक्षा १ मा पढ्ने छोराले सबै कुरा बिर्सिसकेको छ । विद्यालय अझै नखुले छोराको पढाइ शून्यबाट सुरु गर्नुपर्ने देखिन्छ”, गीताले भन्नुभयो, “साना बालबालिकालाई अध्ययन गराउने विकल्प छैन । हामीले घरमै पनि पढाउन सकेका छैनौँ ।”
जोशीपुरकी धना धामीको नातिको पनि विद्यालय बन्दका कारण पढाइ बिग्रिएको छ । धनाको नाति कक्षा ४ मा पढ्छन् । धनालाई पनि नातिले पढेका सबै कुरा बिर्सिएपछि तनाव भएको छ । “विद्यालय नचलेपछि नाति दिनभरि साना केटाकेटीसँग खेल्छ, न गृहकार्य छ, न त अर्को शैक्षिक सत्रका किताब किन्न पाइयो”, धनाले भन्नुभयो, “अझै कोरोना महामारी फैलँदै छ । विद्यालय चल्ने टुङ्गो छैन । बालबालिकाको पढाइ त बर्बाद भयो ।”
सरकारले अध्ययनका लागि विकल्प खोजेर अध्यापन गराउन भनेको छ तर कैलालीमा अनलाइनमार्फत अध्यापन गराउन निकै कठिन छ । अभिभावक रुपा सार्की विपन्न अभिभावकले अनलाइन कक्षामा सहभागी गराउन नसक्ने, विद्यालयले पनि त्यसरी पढाउने वातावरण नभएको बताउनुहुन्छ । “यहाँका सामुदायिक विद्यालयले अनलाइन कक्षा चलाउन सम्भव छैन, विद्यालय आफैँ सुविधासम्पन्न छैनन्”, उहाँ भन्नुहुन्छ, “अभिभावक कतिपयका त मोबाइल नै छैन, कहाँबाट इन्टरनेटको पहुँमचा पुग्नु ? विद्यार्थीको भविष्य अन्धकारतर्फ जाँदैछ ।”
विद्यालय बन्द भएपछि साना बालबालिकाले सामान्य पढाइसमेत बिर्सन थालेका छन् भने माथिल्ला कक्षामा पढ्ने बालबालिकामा पढाइ नियमित नगर्ने जोखिम बढेको छ । भजनीका रामलाल चौधरीका छोरा कक्षा ९ मा अध्ययनरत थिए । विद्यालय बन्द भएपछि रामलालका छोरा कमाउनका लागि भारत लागेका छन् । “लकडाउन भयो, छोराले खाली बस्नुभन्दा भारत जान्छु भनेर गयो, उतै नोकरी गर्न थालेको छ”, रामलाल भन्नुहुन्छ, “राम्रै नतिजा ल्याउँथ्यो, अब पढाइ छुट्यो । विद्यालय खुल्ने ठेगान छैन, छोरा अब पढ्दिन उतै कमाउँछु भन्छ ।”
रामलालका छोरा जस्तै कक्षा ९, १० मा अध्ययनरत धेरै बालबालिका पढाइ बन्द हुँदा कमाउन भारत तथा नेपालका अन्य जिल्ला गएका छन् । अझ बालविवाहको जोखिम पनि त्यत्तिकै छ । कैलाली जिल्ला कोरोना सङ्क्रमणको उच्च जोखिममा छ । एक महिना ओरालो लागेको सङ्क्रमण पुनः फैलिन थालेपछि जिल्ला प्रशासन कार्यालय कैलालीले साउन ३२ गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याएको छ । कैलालीमा विद्यालय खुल्ने त सम्भावना पनि नभएको शिक्षकहरु बताउँछन् ।
स्थानीय पालिकाहरुले विद्यार्थीको भौतिक उपस्थिति हुने गरी पठनपाठन नगर्न, कोचिङ तथा ट्युशन सेन्टर नचलाउन निर्देशन दिएका छन् । यहाँका केही विद्यालयमा चहलपहल हुन थालेपछि बुधबार कैलालीको टीकापुर नगरपालिकाले सूचना निकालेर जोखिम बढेकाले भौतिक उपस्थिति हुने गरी पठनपाठन नगर्न, कोचिङ तथा ट्युशन सेन्टर नचलाउन निर्देशन दिएको छ । “स्वास्थ्य ठूलो कुरा हो । बाँचेमा अर्को वर्ष अध्ययन गरे पनि हुन्छ । अहिले महामारी पुनः फैलिँदै छ । विद्यालय खोल्ने अवस्था छैन”, शिक्षा अधिकृत नरेश अवस्थीले भन्नुभयो, “त्यसैले हामीले सूचना गरेका हौँ । विकल्प खोजेर पढाउनुस् भनेका छौँ तर सामुदायिक विद्यालयमा त्यसो गर्न कठिन छ । यस्तो बेला अभिभावकले विशेष ध्यान दिन जरुरी छ ।”
अधिकृत अवस्थी विद्यालय बन्द रहेका बेला अभिभावकले बालबालिकालाई घरमा समय दिने, पढाइमा रुचि जाग्ने खालका कथा सुनाउने, नयाँ रुचिका किताबहरु पढ्न लगाउने कार्य गर्नुपर्ने बताउनुहुन्छ । “विद्यार्थीलाई खेल्न छोडिदिने होइन, समय दिएर उनीहरुलाई व्यस्त राख्ने, केही न केही पढ्न लगाउने कार्य गर्नुपर्छ”, उहाँले भन्नुभयो, “महामारी नियन्त्रण भएमा विद्यालय जाने वातावरण बन्नेछ ।”