कर्णाली, २० साउन २०७८ ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयअन्तर्गतका केन्द्रीय क्याम्पसमा प्राध्यापक तथा विद्यार्थी सङ्गठनको जारी आन्दोलनका कारण परीक्षा अनिश्चित बनेको छ । विवाद समाधान नहुँदा एक साताका लागि साउन ११ गते स्थगित गरिएका परीक्षाका कार्यक्रम पुनः एक साता सारिएको छ ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय, परीक्षा व्यवस्थापन कार्यालयले मंगलवार सूचना जारी गर्दै पूर्वनिर्धारित परीक्षाका कार्यक्रम असामान्य परिस्थितिका कारण पुनःएक साताका लागि स्थगित गरिएको जनाएको छ । परीक्षा व्यवस्थापन कार्यालयले साउन १२ गतेदेखि सञ्चालन गर्ने गरी विज्ञान तथा प्रविधि सङ्कायको स्नातक र स्नातकोत्तर तहको सत्रान्त परीक्षाको समयतालिका सार्वजनिक गरेको थियो । विश्वविद्यालयद्वारा गठित वार्ता टोली र आन्दोलनरत विद्यार्थी सङ्गठनबीच भइरहेको वार्ता निष्कर्षमा पुग्न सकेको छैन ।
केन्द्रीय क्याम्पसमा विद्यार्थी सङ्गठनले १८ बुँदे माग राख्दै तालाबन्दी गरेका छन् । अनलाइन माध्यमबाट पढाइ भएपछि परीक्षा पनि अनलाइन माध्यमबाटै लिनुपर्ने विद्यार्थीको मुख्य माग छ । विश्वविद्यालयले भौतिक उपस्थितिमा परीक्षा लिने तयारी गरेपछि विद्यार्थीले असहमति जनाएका हुन् । विश्वविद्यालय प्रशासन आफ्ना मागप्रति गम्भीर नभएको भन्दै आन्दोलनरत विद्यार्थीले उपकुलपति प्रा डा नन्दबहादुर सिंह निवास र परीक्षा व्यवस्थापन कार्यालय तोडफोड गरेका थिए ।
त्यस्तै, प्राध्यापकहरूले इञ्जिनीयरिङ क्याम्पस र एल स्कूलका उपप्राध्यापक बर्खास्त ऐन–नियम विपरीत भएको भन्दै उक्त निर्णय सच्याउनुपर्नेलगायत माग राखेका छन् । विश्वविद्यालयले परीक्षा समयअगावै विद्यार्थीलाई प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा कानून सङ्कायका उपप्राध्यापक सुजन पन्त र आफूखुशी नम्बर दिएको भन्दै इञ्जिनीयरिङ सङ्कायका उपप्राध्यापक विश्वनाथ यादवलाई बर्खास्त गरेको थियो ।
बागलुङ, १८ साउन २०७८ ।
बागलुङमा यात्रु वाहक बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । काठमाण्डौंबाट बुर्तिबाङ तर्फ जाँदै गरेको बा ५ ख १५५३ नम्बरको बस बागलुङको गलकोट नगरपालिका १ चौराहमा दुर्घटना हुँदा ११ जना घाइते भएका हुन् ।
दुर्घटनामा परी बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर २ का १७ बर्षीय विष्णु थापा, भारत घर भई हाल गुल्मी बस्ने १९ बर्षका अनिल कुवर, २५ बर्षीय जिलाजित शर्मा, दिलदिप साहनी, बडिगाड गाउँपालिका ६ सिमलचौरका ३९ बर्षीय टेक बहादुर राना, बागलुङको ढोरपाटन नगरपालिका शेराका ४२ बर्षकी पवित्रा खत्री र गलकोट नगरपालिका ३ गणेशचोकका ७३ बर्षीय हरीलाल खत्री घाइते भएको जिल्ला प्रहरी कार्यलय बागलुङका सूचना अधिकारी ईकवाल हवारीले जानकारी दिनुभयो ।
यस्तै गुल्मीको मुसिकोट नगरपालिका ९ बार्सीकोटका २७ वर्षीय गिरीबहादुर परियार, नवलपरासीको सुनवल नगरपालिका ३ आसामबासीका ४८ बर्षीय तारा पुन, गुल्मी मुसिकोट नगरपालिका २ का ३३ बर्षीय राजकुमार कुवर र सोही स्थानका ३० बर्षीय तारा थापा पनि सोही दुर्घटनामा परी घाइते भएका छन् ।
बसको ब्रेक फेल भई सडकको कुनामा ठक्कर खाँदा दुर्घटना भएको थियो भने बसका चालक चित्रबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घाइतेमध्ये केहिकोे हटियामा उपचार भैरहेको छ भने केहिको उपचारका लागि धौलागिरी अस्पताल पठाइएको छ । घाइतेहरुको अवस्था सामान्य नै रहेको प्रहरीले जानकारी दिएको छ । सोमवार बिहान करिव सवा ७ बजे मध्यपहाडी लोकमार्ग अन्तरगत चौराहमा दुर्घटना भएको बसमा २२ जना सवार रहेका थिए तिमध्ये १० जना सामान्य अवस्थामा छन् ।
वर्षेनी बढ्दो प्राकृतिक विपत्तिः विपद् बाट कुन वर्ष, कति क्षति ? यस्ताे छ दश बर्षे तथ्यांक
काठमाडौँ, १८ साउन २०७८ ।
पछिल्ला केही वर्षयता मनसुनजन्यसहित विपद्का घटना बढ्दो छ । एक दशकको तथ्याङ्क हेर्दा विसं २०७२ सम्म विपद्का दुई हजारभन्दा कम घटना भएका थिए । विसं २०७३ पछि विपद्का घटना क्रमशः दुई हजारबाट उकालो लागेकामा पछिल्ला केही वर्ष (विसं २०७५–२०७७) मा भने चार हजार बढी प्राकृतिक विपत्ति निम्तिए ।
बाढीका कारण हुने मानवीय क्षति घटे पनि पहिराबाट हुने क्षति बढ्दै जाने अर्काे जोखिमको विषय बन्न पुगेको छ । अधिकांश घटना मनसुनका बेला भएकाले उक्त तथ्याङ्कले नेपालमा मनसुनजन्य जोखिम थप चुनौतीपूर्ण रहेको देखिएको छ ।
विपद् व्यवस्थापन विज्ञ कृष्ण देवकोटा पछिल्ला वर्षमा पहिराबाट हुने विपद् थप चुनौतीपूर्ण बन्दै गएको बताउनुहुन्छ । उहाँका अनुसार विपद्का दृष्टिले भूकम्पलाई छाडेर हेर्दा पछिल्लो दशक बाढीका कारणले हुने मृत्यु दर घटेको तर पहिराबाट हुने क्षति भने बढेको छ । उहाँले बाढी र पहिराजन्य घटना भने बढेको छ । “मुख्यतः पूर्वसूचना प्रणाली तुलनात्मकरुपमा प्रभावकारी देखिएकाले र जनचेतना बढेकाले सावधानी अपनाउने क्रम बढ्दा बाढीबाट हुने क्षति घटेको हो, भलै कुनैकुनै वर्ष बढेको हुनसक्छ, देवकोटाले अगाडि थप्नुभयो, “तुलनात्मकरुपमा पहिराबाट मृत्यु बढेको छ ।”
उहाँ यसरी पहिरो बढ्नुमा पहाडी इलाकामा बाटोको सङ्ख्या वृद्धि हुने तर रोकथामका उपाए नअपनाइनु कारक हो भन्नुहुन्छ । अर्काे कारण भने एकै ठाउँमा धेरै पानी (हाँडीघोप्टे पानी) पर्दा भेल पहिराले जनधनको ठूलो क्षति गराएको छ । गएको दुई वर्षमा सिन्धुपाल्चोक, बाग्लुङ, मनाङ, कास्की, तनहुँ, लमजुङ, पर्वतलगायत दर्जन जिल्लामा एकै ठाउँमा बढी पानी परेर भेल पहिरो आएको देखिएको छ ।
पछिल्लो एक दशक (विसं २०६८–२०७७) मा विपद्का २४ हजार ५८६ घटना भयो । उक्त विपद्बाट चार हजार ५६ को मृत्यु भएकामा त्यसको आधा मानवीय क्षति बाढी र पहिराले गराएको छ । उक्त अवधिमा सबैभन्दा बाढी पहिराले एक हजार २०५, दोस्रोमा चट्याङ्बाट ९९९, तेस्रोमा बाढीले ७९४ र चौथो नम्बरमा आगलागीले ७१० को ज्यान लियो ।
एक दशकको छ वर्ष बाढीले बढी मानवीय क्षति गराएको छ । प्राप्त विवरणअनुसार पहिराबाट बढी क्षति (विसं २०६८, ७०, ७१, ७२, ७३ र ७७ मा क्रमशः १२६, १३१, १२९, १३५, १४७ र ३०१ को मृत्यु) भएको छ । चट्याङ्ले विसं २०६८, ६९ र ७६ मा बढी मानवीय क्षति गरायो । बाढीले २०७४ सालमा मात्रै बढी क्षति (१६६ मृत्यु) गराएको छ भने आगलागीबाट विसं २०७५ सालमा सबैभन्दा बढी ८९ जनाको मृत्यु भयो । विपद्बाट एक दशकमा ८१३ वेपत्ता र आठ हजार २२९ जना घाइते भए ।
एक लाख १९ हजार परिवार प्रभावित भएकामा ५२ हजार ८३० घर आंशिक र छ हजार ४५६ घर पूर्ण क्षति भएको छ । यसबाट कूल रु ३८ अर्ब ९५ करोड १४ लाख क्षति भएको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ । आगलागी र चट्याङले नजानिँदोरुपमा मानवीय क्षति गराइरहे पनि घटना न्यूनीकरणको प्राथमिकतामा पर्न सकिरहेको छैन । यद्यपि, यसपालिबाट भने आगलागीका घटना नियन्त्रणमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चासो दिन थालेको छ ।
यसपटक हेलिकप्टरमार्फत आगलागी नियन्त्रणका प्रयास गरिएको थियो । यो नेपालमै पहिलो अभ्यास भएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल बताउनुहुन्छ । विपद्का घटना बढ्न थालेपछि सरकारले आगामी १० वर्षभित्रमा नेपाललाई विपद् उत्थानशील राष्ट्र बनाउने उद्देश्यका साथ विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी १० वर्षे महाअभियान शुरु गरेको छ ।
सरकारले विपद्बाट प्रभावितको पुनःस्थापनका लागि अस्थायी आवास पुनःनिर्माण कार्यक्रमलाई समेत गएको वर्षबाट तीव्ररुपमा अघि बढाएको छ । विश्वकै अग्लोदेखि निकै होचो भूभाग रहेको र भिरालो जमिन प्रसस्त रहेकाले मनसुनजन्य विपद्बाट नेपाल उच्च जोखिममा रहेको छ ।
गृह मन्त्रालयको नेपाल विपद् प्रतिवेदन २०१९ अनुसार मनसुनजन्य प्रकोपका कारण वार्षिक झण्डै एक हजारले ज्यान गुमाउने गरेका छन् । जल प्रकोपका कारण हुने मृत्युका हिसाबले नेपाल दक्षिण एशियामा नै सबैभन्दा उच्च जोखिम भएको मुलुकमा पर्छ । भूकम्प र जलप्रकोपबाट बढी क्षति पुग्ने देशमध्ये नेपाल विश्वमा क्रमशः ११औँ र ३० औँ स्थानमा छ ।
जलवायु परिवर्तनको जोखिमका दृष्टिले नेपाल चौथोमा पर्छ । प्राप्त तथ्याङ्कमा नेपालमा ७० देखि ८० प्रतिशत जनसङ्ख्या कुनै न कुनै विपद्को जोखिममा छन् । वार्षिक तीन लाख ३५ हजार जनसङ्ख्या प्रत्यक्ष प्रभावित हुने र तीमध्ये ५० प्रतिशत बालबालिका प्रभावित हुने गरेको छन् । मनसुनजन्य विपद्बाट क्षति रोक्ने पूर्वतयारी प्रमुख उपाय हो । भरपर्दाे सूचना सङ्कलन, सम्भावित जोखिम र क्षतिको आँकलन, समयमै आवश्यक सूचना प्रवाह र त्यसबाट उत्पन्न हुने परिस्थितिको सामनाका लागि गर्नुपर्ने तयारी चुस्त बनाउन सकिएन भने विपद्बाट ठूलो धनजनको क्षति हुने सम्भावना हुन्छ ।
समय परिस्थिति बुझेर अवश्यक तयारी र सचेतनाका कार्यक्रम नियमित गर्नुपर्ने विज्ञको सुझाव छ । हरेक वर्ष दोहोरिने बाढी, पहिरो, डुबान चट्याङ र आगलागीबाट क्षति रोक्न उच्च तयारी आवश्यक छ ।
प्राधिकरणका प्रमुख पोखरेल जोखिम न्यूनीकरणमा ठूलो लगानी आवश्यकता रहेको औँल्याउनुहुन्छ । “जोखिम क्षेत्रका बस्ती सुरक्षित ठाउँमा लैजानुपर्छ, जोखिम आँकलन गरेर बीमा कार्यक्रम पनि चलाउन जरुरी”, पोखरेलले भन्नुभयो, “पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउँदै हाम्रो उद्दार क्षमता वृद्धि गर्नु अत्यावश्यक भइसकेको छ ।” उहाँका अनुसार २०७२ सालको भूकम्पपश्चात हेर्दा एउटाले अर्काेलाई तानेको देखिन्छ ।
भूकम्पले हल्लाएर पहाड कमजोर बनायो, त्यसले पहिरो निम्त्यायो, त्यही बग्दा बाढी बढ्यो, जलवायु परिवर्तनका कारण पानी पर्ने प्रणालीमा उथलपुथल ल्यायो । अब त्यसबाट पाठ सिकेर कमजोर भूवनोट व्यवस्थापनका लागि विशेष योजना बनाउनु जरुरी रहेको पोखरेलले बताउनुभयो । नेपाल सरकारले ल्याएको विपद् व्यवस्थापनको महाअभियान त्यसैको एउटा कडी हो ।
विपद् बाट कुन वर्ष, कति क्षति ?
बाढी पहिराका हिसाबले दशकै सबैभन्दा जोखिम वर्ष २०७७ बन्न पुग्यो । गएको वर्ष मुलुकले अकल्पनीयरुपमा मानवीय क्षति बेहोरेको छ । गत वर्ष औषत् पानी पर्ने अनुमानका बीच केही ठाउँमा अतिवृष्टि भएर भेल पहिरो आएको थियो । यस वर्ष औसतभन्दा बढी पानी पर्ने भनिए पनि सिन्धुपाल्चोक र मनाङबाहेक गत वर्षको तुलनामा कम क्षति छ । यद्यपि, वर्षा भने जारी रहेकाले चुनौती कायमै छ ।
विसं २०७८ को हालसम्म
यो वर्षको अहिलेसम्म कूल एक हजार ३०८ विपद्का घटना भएका छन् । कूल १५१ जनाको मृत्यु भएको छ भने ३७ जना बेपत्ता छन् । यसमा सबैभन्दा बढी चट्याङबाट ३८ जनाले ज्यान गुमाएका छन् ।
पहिराले ३४ र बाढीले २६ जनाको ज्यान लिएको छ । पहिराले सबैभन्दा बढी २९ जना बेपत्ता बनाएको छ भने बाढीले सात र हावाहुरीले एक जना बेपत्ता पारेको छ । आगलागीबाट १२ को मृत्यु भएको छ । रु ६३ करोडको भौतिक क्षति भएको छ । यसपालि मुलुकमा सिन्धुपाल्चोक र मनाङलगायत ४८ जिल्लामा ठूलो जनधनको क्षति भएको छ ।
विसं २०७७
विसं २०७७ मा कूल चार हजार २०५ प्राकृतिक विपत्तिमा ५९१ जनाको मृत्यु भएको छ भने १०१ जना बेपत्ता भए । यो दशककै सबैभन्दा बढी मानवीय क्षति भएको वर्ष हो ।
पहिराले मात्रै ३०१ व्यक्तिको ज्यान लियो भने ६४ बेपत्ता भए । त्यसपछि आगलागीबाट ९७ र चट्याङबाट ७० जनाले ज्यान गुमाएका छन् । बाढीबाट ४२ को मृत्यु र ३७ वेपत्ता भए ।
विसं २०७६
यो वर्ष चार हजार ३४ विपद्का घटनामा ३८१ को मृत्यु भएको छ । कूल ४८ जना बेपत्ता भए । यस वर्ष सबैभन्दा बढी चट्याङका कारण ८८ जनाले ज्यान गुमाए । पहिरोले ८३ र बाढीले ७३ को ज्यान लियो ।
विसं २०७५
यस वर्ष चार हजार १७२ घटनामा ३६६ को मृत्यु भएको छ । जसमा सबैभन्दा बढी आगलागी र पहिराका कारण क्रमश ८९ र ८८ ले ज्यान गुमाए ।
विसं २०७४
यस वर्ष दुई हजार ६२९ घटनामा ४४८ को मृत्यु भयो । कूल ५७ जना बेपत्ता भएका छन् । उक्त वर्ष बाढीले १६६ र चट्याङका कारण १०५ को मृत्यु भयो । पहिराले ७५ को ज्यान लियो ।
विसं २०७३
विसं २०७३ मा दुई हजार ५२९ विपद्का घटनामा ४२६ ले ज्यान गुमाए । कुल ४५ जना वेपत्ता भएको अभिलेख छ । जसमा सबैभन्दा बढी पहिराले १४७, चट्याङले ११४ र बाढीले १०१ को ज्यान लियो ।
विसं २०७२
यो साल विपद्का ९८९ घटनामा ३०० जनाले ज्यान गुमाए भने १६ बेपत्ता भए । जसमा सबैभन्दा बढी पहिराबाट १३५ जनाले ज्यान गुमाएका छन् । चट्याङले ८३ र आगलागीबाट ७३ को मृत्यु भएको छ ।
विसं २०७१
विपद्काका एक हजार २२३ घटनामा ४४९ जनाको मृत्यु भएको छ भने २६२ बेपत्ता भए । उक्त वर्ष बाढीबाट १२९ मृत्यु र १३३ बेपत्ता तथा पहिराबाट ११६ को मृत्यु र १२९ बेपत्ता भए । यो सबैभन्दा बढी मानिस बेपत्ता भएको वर्ष हो । चट्याङबाट १२६ ले ज्यान गुमाएका छन् ।
विसं २०७०
उक्त वर्ष विपद्सम्बन्धी एक हजार ४८३ घटना भएकामा ३८८ को मृत्यु र १५५ जना बेपत्ता भए । सबैभन्दा बढी बाढीबाट १३१ जनाले ज्यान गुमाए । चट्याङबाट १११ को मृत्यु भएको थियो । पहिराले ७९ को मृत्यु भएको छ ।
विसं २०६९
त्यस वर्ष एक हजार ७३३ विपद्का घटना भयो । त्यसमा परेर कूल २८२ जनाको मृत्यु भयो भने १५ जना बेपत्ता भए । सबैभन्दा बढी चट्याङबाट १३१ जनाको मृत्यु भयो भने पहिराले ६८ र आगलागीबाट ६३ ले ज्यान गुमाए । बाढीबाट नौ जनाको मृत्यु भयो ।
विसं २०६८
कूल एक हजार ५७४ घटनामा ४२४ को मृत्यु भयो भने ११९ जना बेपत्ता भए । यसमा बाढीबाट १२६, पहिरोबाट ११३ र चट्याङबाट १०३ को मृत्यु भयो ।
कालीगण्डकीमा बेपत्ता दुई बालक अझै भेटिएनन्
बागलुङ, १७ साउन २०७८ ।
बागलुङ नगरपालिका–१ निरयघाटस्थित कालिगण्डकी नदीमा गत बिहीबार दिउँसो पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएका यहाँका दुई बालकको स्थिति अझै पत्ता लाग्न सकेको छैन । नदीमा बेपत्ता बागलुङ–४ उपल्लाचौरका १३ वर्षीय अभिषेक विक र यमबहादुर पुनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घटना थाहा हुनासाथ प्रहरी र बेपत्ताका आफन्तजन खोजी कार्यमा जुटे पनि अझै नभेटिएको जिप्रकाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताउनुभयो । “खोजी निरन्तर चलिरहेको छ, अझै केही थाहा हुन सकेको छैन”, उहाँले भन्नुभयो । बेपत्ता दुईसहित उपल्लाचौरका चार बालक बिहीबार दिउँसो १ बजेतिर पौडी खेल्न कालीगण्डकीमा पुगेका थिए । सँगै गएका १० वर्षीय प्रश्न विक र १२ वर्षीय विशन पुन भने सोही दिन नै सकुशल सम्पर्कमा आएका थिए ।
बागलुङ, १७ साउन २०७८ ।
बिहीबार रातको ठिक १२ बजेको थियो । कालीगण्डकी किनारमा रहेको राजमार्ग पोखरा–मालढुङ्गा र मालढुङ्गा– बेनी सडकमा सवारी गुड्न बन्द भइसकेका थिए । कालीगण्डकी आफ्नै बेगले बगिरेहको थियो, जताततै सुनसान थियो । नागरिक निद्रामा मस्त थिए ।
यही समयमा बागलुङ र पर्वत जोड्ने लामो झोलुङ्गे पुलमुनिको राजाको बगर भएर दुईवटा जेसिभी कालीगण्डकी नदीमा ओर्ले । दिनभर आफ्नै गतिमा बगेको कालीगण्डकीलाई रातमा बिथोलिन खोजिन्छ । कालीगण्डकी सभ्यता, कालीगण्डकी डाइभर्सन र चुरे अहिले जोडतोडले उठेको विषय हो । अन्य स्थानमा कालीगण्डकी दोहन रोकिए पनि पर्वत र बागलुङ खण्डमा दोहनले मध्यरातमा निरन्तरता पाइरहेको छ ।
सोही रात कालीगण्डकी सभ्यता बचाउन अभियानकर्मी आरके अदिप्त गिरीसहितका युवा, पत्रकार तथा अधिकारर्मीसहितको टोली कालीगण्डकी दोहनको अवलोकन गर्न कालीगण्डकीमाथिको पुलमा पुगेको थियो । कालीगण्डकी नदीको अवैध दोहन गर्न पुगेका जेसिभी, दायाँबायाँ हेरालु र वारिपारि सुराकीहरु परिचालन गरिएको थियो । लाग्छ उनीहरु नेपाल प्रहरीभन्दा बढी क्षमतामा दोहनको सुरक्षा गरेका थिए । राजाको बगरमा भएको दोहन त एक उदाहरण मात्रै हो । लस्ती बगर, दम्मुवाखोला, कालाखोला बगर, मालढुङ्गाको वारिपारि बगर र जलजलाका अधिकांश स्थनामा रातभर नदी दोहन हुने गरेको छ ।
राज्यले ठेक्का लगाएको समयमा दिउँसै अवैध उत्खनन गर्ने कालीगण्डकी दोहनकर्ताहरु ठेक्का नलगाएको बर्खाको समयमा मध्यरातमा कालीगण्डकी लुटिरहेका छन् । कालीगण्डकीको छातीमा दोहनकर्ताले रातभर रजाइँ गरेको श्रव्यदृश्यसमेत मध्यरातमा अवलोकनका लागि पुगेको उक्त कालीगण्डकी बचाऊ अभियान टोलीले कैद गरेको छ ।
रातको १२ बजेदेखि २ बजेसम्म राजाको बगरमा कालीगण्डकी दोहन हुन्छ, भोलिपल्ट दोहनबाट निकालिएको बालुवा बिक्री गरिन्छ । दोहनकै समयमा धवलागिरिको साविक सदरमुकाम रहेको बागलुङ बजारबाट कालिका मन्दिरसम्म प्रहरीको गस्ती भइरहेको हुन्छ भने दोहन गरिरहेको नजिकै मालढुङ्गामा प्रहरीसमेत भए पनि उनीहरु मौन बस्ने गरेका छन् ।
कालीगण्डकीलाई लुटेर खान पल्केका विरुद्ध कालीगण्डकी बचाऊ अभियानको निरन्तर खबरदारी हुने कालीगण्डकी बचाऊ अभियानका मुख्य अभियानकर्मी तथा प्राकृतिक विषयमा पत्रकारिता गर्ने गिरीले बताउनुभयो । “हामीले निरन्तर नदी दोहनको विषयमा आवाज उठाइरहेका छौँ, केही स्थानमा सकरात्मकरूपमा दोहन रोकिएको अवस्था छ, तर पर्वत खण्डमा नदी दोहन रोक्न सकिएको छैन, प्रहरीले २४सै घण्टा नदी दोहनको अनुगमन गरेको बताएको छ तर रातको १२ बजे नदीमा स्काभेटर लगाइन्छ, हामीले साङ्केतिकरूपमा रातको १ बजे बत्ती बालेर दोहनस्थलमा विरोध जनाएका छौँ”, गिरीले भन्नुभयो, “यसमा बागलुङ, म्याग्दीसहित अन्य जिल्लाका युवा तथा पत्रकारको समेत साथ र सहयोग छ, हाम्रो अभियान अझै सशक्त बन्दै जानेछ ।”
असार १ देखि भदौ १५ सम्म नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने गण्डकी प्रदेशको कानून भए पनि राज्यसत्ताको मिलेमतोमा मध्यरातमा कालीगण्डकी दोहन भइरहेको प्रत्यक्षदर्शी अधिकारकर्मी तथा अधिवक्ता राम शर्माले बताउनुभयो ।
नेपालकै पुरानो सभ्यतामध्येको एक कालीगण्डकी सभ्यता पछिल्लो समय लोप हुने खतरा रहेकाले विश्वमै एक मात्र शालिग्राम पाइने नदीको संरक्षण हुनुपर्ने जनस्तरबाटै आवाज उठ्न थालेको छ । पर्वत प्रहरीले २४सै घण्टा नदी किनारामा प्रहरी खटाइएको दाबी गर्दै आएको छ । प्रहरीले २४सै घण्टा दोहन नियन्त्रणमा लिनका लागि प्रहरी खटाएको र केही मात्रमा दोहन नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिनुभयो ।
“म पर्वत आएको एक महिना भयो, दोहन पूर्णरूपमा रोक्ने हाम्रो नीति छ, अहिले पनि किनारामै सवारीसहित प्रहरी परिचालन भएको छ, रातभर दोहन भइरहने राजाको बगरबाट दोहनमा सहभागीलाई पक्राउ गरी जरिवाना तिराएका छौँ, पुनः सोही स्थानमा दोहन भइरहेको गुनासो छ”, बुढाथोकीले भन्नुभयो, “हामीलाई दोहन भइरहेको समेत सही सूचना आवश्यक छ, राति बत्ती निभाएर दोहन गर्दा कतिपय स्थानमा प्रहरीले नदेखेको समेत हुनसक्छ, यसरी नै नागरिकस्तरबाट दबाब सिर्जना भए कालीगण्डकी बचाउन सम्भव छ ।”
यसैगरी नदीको दोहन भइरहने हो भने कालीगण्डकी सभ्यता र यस वरपर रहेका मठ, मन्दिर र देवालयको अस्तित्व सङ्कटमा पर्ने कालीगण्डकी बचाऔँ अभियानमा सक्रिय रुपेस सापकोटाले बताउनुभयो ।
३१०६ मा काेराेना संक्रमणः १९१६ संक्रमित निकाे भए, २३ काे मृत्यु,कुल संक्रमित ७ लाख नजिक
काठमाडाैँ, १६ साउन २०७८ ।
नेपालमा ३१०६ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा थप ३१०६ जनामा काेराेना संक्रमण पुष्टि भएको हाे । ९ हजार २ सय ६३ नमुनाकाे पीसीआर परीक्षणमा २ हजार २ सय ८० र ४ हजार २ सय ५६ नमुनाकाे एन्टिजेन परीक्षणमा ८ सय २६ गरी कुल ३ हजार १ सय ६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ । याेसँगै नेपालमा काेराेना संक्रमितकाे कुल संख्या ६ लाख ९५ हजार ३ सय ८९ पुगेको छ । साथै एन्टिजेन परीक्षणमा पाेजेटिभ देखिनेकाे कुल संख्या ६१ हजार ३ सय ५० पुगेकाे छ ।
यस्तै गत २४ घण्टामा १ हजार ९ सय १६ जना काेराेना संक्रमण निकाे भएका छन् । शनिबार मात्रै १ हजार ९ सय १६ जना काेराेना संक्रमण निकाेभइ नियमित काममा फर्किएका हुन् । हालसम्म नेपालमा कोरोना संक्रमण निकाे हुनेको कुल संख्या ६ लाख ५४ हजार १ सय ७७ पुगेकाे छ ।
गत २४ घण्टामा थप २३ जनाकाे काेराेना संक्रमणका कारण ज्यान गएकाे छ । देशभर विभिन्न स्थानमा गरी कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु भएको हाे । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या ९ हजार ८५७ पुगेको छ ।
हालसम्म पीसीआर परीक्षण ३६ लाख ३ हजार ४ सय ६५ पुगेको छ । हाल ३१ हजार ३ सय ५५ जनामा काेराेना भाइरसकाे संक्रमण सक्रिय रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जवनाएकाे छ ।
अर्घाखाँची, १६ साउन २०७८ ।
यही साउन १६ गतेदेखि अर्घाखाँचीमा पूर्णकालीन निषेधाज्ञा हुने भएको छ । कोरोना सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएपछि रोग फैलन नदिन पूर्णकालीन निषेधाज्ञा गर्ने भएको हो ।
राति १२ बजेबाट लागू हुनेगरी ३० गतेसम्म पूर्ण निषेधाज्ञा जारी गर्ने डीसीसीएमसीको बैठकले निर्णय गरेको छ । कोरोनाको उच्च जोखिम भएकाले कडा निषेधाज्ञा लागू गरिने प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले जानकारी दिनुभयो ।
अत्यावश्यक पसलहरु बिहान ६ देखि ९ बजेसम्म खुल्ने छन् । यातायात, बैंक तथा वित्तीय संस्था पूर्णरूपमा बन्द हुने निर्णय भएको छ । अर्घाखाँचीमा अहिलेसम्म ५४४ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोभिडका २६ जना बिरामी अर्घाखाँची अस्पतालमा भर्ना भएका छन् ।
स्वास्थ्य मापदण्ड पालना नहुनुलगायतका कारण कोरोना सङ्क्रमित बढेको अर्घाखाँची अस्पतालका प्रमुख डा कपिल गौतमले बताउनुभयो । आजभन्दा एक हप्ताअघि ६ जना बिरामी अर्घाखाँची अस्पतालमा भर्ना भएकामा आज बुधबारसम्म २६ जना कोभिडका बिरामी भर्ना भएको र उपचार भइरहेको डा गौतमको भनाइ छ । अस्पातलमा बिरामी राख्ने समस्यासमेत सिर्जना भएको छ । सरकारले अर्घाखाँचीसहित १७ जिल्लालाई अति उच्च जोखिम क्षेत्रमा राखेको छ ।
बागलुङ, १५ साउन २०७८ ।
बागलुङको जैमिनीमा थप १२ जना कोरोना संक्रमित थपिएका छन् । जैमिनी नगरपालिकाका बिभिन्न वडामा गरिएको परिक्षणमा १२ जना कोरोना संक्रमित थपिएका हुन् ।
कुश्मिसेरा, विनामारे र रांखानीका १२ जनाको परिक्षण गर्दा ९ जना र जैमिनी २ दमेकका १३ जनाको परिक्षण गर्दा ३ जनामा कोरोना देखिएको जैमिनी नगरपालिकाका स्वास्थ्य संयोजक गोविन्द प्रसाद आचार्यले जानकारी दिनुभयो ।
जैमिनीमा अहिले ३३ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । उनिहरुको अवस्था सामान्य रहेको र होम आइशोलेसनमा रहेको संयोजक आचार्यले बताउनुभयो ।
नेपालको आफ्नै भूउपग्रह राख्ने प्रक्रिया रद्द, कुनै पनि कम्पनीले ‘रेस्पोन्स्’ गरेनन्
काठमाडौँ, १५ साउन २०७८ ।
नेपाल दूरसञ्चार प्राधिकरणले नेपालको आफ्नै भूउपग्रह (स्याटेलाइट) राख्ने प्रक्रिया रद्द गरेको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै नयाँ प्रक्रिया अघि बढाउने गरी पुरानो प्रस्ताव रद्द गरिएको जनाएको हो ।
स्याटेलाइट राख्न माग गरिएका कम्पनीहरुमध्ये छनोटमा परेका कुनै पनि कम्पनीले ‘रेस्पोन्स्’ नगरेपछि खारेज भएको प्राधिरकणले जनाएको छ । प्राधिकरणले सार्वजनिक खरिद ऐन, २०६३ अनुसार सबै प्रस्ताव र खरिद प्रक्रिया रद्द गर्ने निर्णय गरेको हो ।
नेपाल दूरसञ्चार प्राधिकरणले गत मङ्सिरमा पूरानो प्रस्ताव रद्द गरेर भू–उपग्रह स्थापनाको नियमन तथा सुरक्षा, व्यापार र सञ्चालन मोडालिटीको नीति तय गर्न नयाँ प्रस्ताव आह्वान गरेको थियो ।
प्राधिकरणको प्रस्तावअनुसार गत पुसमा विभिन्न देशका नौ वटा कम्पनीले आशयपत्र बुझाएका थिए । आशयपत्र पेश गरेका नौ वटा कम्पनीमध्ये प्राधिकरणले गत वैशाखमा ५ वटा कम्पनीलाई प्राविधिक रुपमा योग्य ठहर गर्दै आर्थिक प्रस्ताव माग गरेको थियो ।
पाँच कम्पनीसँग प्रस्ताव माग गरिएकामा चार कम्पनीले मात्र प्रस्ताव पेश गरेका थिए । उक्त चार कम्पनीसँग प्राधिकरणले आर्थिक प्रस्ताव माग गरेको थियो । तोकिएको समयभित्र आर्थिक प्रस्ताव नआएपछि प्रक्रिया नै रद्द गर्नुपरेको प्राधिकरणका सहप्रवक्ता अच्युतानन्द मिश्रले जानकारी दिनुभयो । उहाँका अनुसार अब पुनः नयाँ प्रक्रियाबाट नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) राख्ने प्रक्रिया शुरु हुनेछ ।
सरकारले सन् २०२२ भित्र आफ्नै स्याटेलाइट सञ्चालमा ल्याउने भन्दै २०७६ को असारमा भू–उपग्रह सम्बन्धी नीति सार्वजनिक गरिएको थियो ।
यसअघि नेपालको आफ्नै स्याटेलाइट राख्ने गरी प्राधिकरणले २०७३ साल असोज २० गते आह्वान गरेको आशयपत्रमा १२ देशका २२ वटा कम्पनीले स्याटेलाइट राख्न रुचि देखाएका थिए ।
अमेरिका, चीन, भारत, थाइल्यान्ड, सिङ्गापुर, क्यानडा, फ्रान्स, जापान, कोरिया, साउदी अरेबिया, रसिया र इजरायलका गरी २२ वटा कम्पनीले नेपालका लागि स्याटेलाइट राखिदिने रुचिसहित प्रस्ताव पेस गरेका थिए ।
दूरसञ्चार सेवा प्रदायक रेडियो तथा टेलिभिजनहरु विदेशी स्याटेलाइटबाट सञ्चालित हुँदै आएकोमा आफ्नै स्याटेलाइट जडान गरेर रेडियो तथा टेलिभिजन सञ्चालन गर्ने सरकारको लक्ष्य छ ।
म्याग्दी, १४ साउन २०७८ ।
म्याग्दीको बेनी नगरपालिका–१ मा कालीगण्डकी नदीको अवैध दोहन र बालुवा चोरी भएको छ । आनन्दबगर, सारेमारे र ढोडेनीखोलामा स्थानीय तहसँग ठेक्का सम्झौताबिनै एक्साभेटर प्रयोग गरेर बालुवा उत्खनन भएको हो । सर्वोच्च अदालतले हालै गरेको फैसला र सरकारको निर्णयविपरीत अवैधरूपमा कालीगण्डकीबाट बालुवा उत्खनन भएको प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बताउनुभयो ।
प्रजिअ अधिकारीको नेतृत्वमा प्रहरी नायब उपरीक्षक श्यामकुमार राई, सशस्त्र प्रहरी नायब उपरीक्षक हरिबहादुर गुरुङ र राष्ट्रिय अनुसन्धानका प्रमुख अधिकृत महेश गुरुङको टोलीले मङ्गलबार उत्खनन भइरहेको बगरको अनुगमन गरेको थियो । अवैध नदी दोहनले नगरपालिकाको लाखौँ आयस्रोत गुमेको छ । तटीय क्षेत्रमा कटानको जोखिम बढेको छ ।
सरकारले असारदेखि भदौसम्म नदी उत्खनन गर्न रोक लगाएको छ । हालै सर्वोच्च अदालतले कालीगण्डकीमा डोजर प्रयोग गरेर उत्खनन गर्न नपाउने फैसला गरेको छ । “ठेक्का सम्झौताबिनै डोजर लगाई खोलामा स्पर बनाएर बालुवा उत्खनन गरेको भेटियो”, प्रजिअ अधिकारीले भन्नुभयो, “कारवाहीका लागि सिफारिस गर्छौँ ।”
प्रहरी नायब उपरीक्षक राईले बगरबाट बालुवा उत्खननमा प्रयोग भएका चारवटा एक्साभेटरका धनी र उत्खननमा संलग्नलाई प्रहरी कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको बताउनुभयो । “एक्साभेटर र थुपारेको बालुवा जफत गरेर कारवाहीका लागि जिल्ला समन्वय समितिमार्फत नगरपालिकामा पठाउँछौँ”, उहाँले भन्नुभयो ।
ढोडेनीखोला र कालीगण्डकीको दोभानस्थित म्याग्दीको भूगोलमा पर्ने ढोडेनीखोला भन्ने ठाउँमा बागलुङतर्फबाट डोजर ल्याएर करिब १०० टिपर बालुवा निकालिएको छ । ढाडेनीखोलाभन्दा करिब ८०० मिटरमाथि सारेमारेको झोलुङ नजिकै पनि करिब १० दिनदेखि डोजर प्रयोग गरेर बालुवा निकालिरहेका छन् । त्यहाँ करिब ३० टिपर बालुवा थुपारिएको छ । दिउँसो नजिकैको जङ्गलभित्र लुकाएर राख्ने डोजर बिहान र साँझमा बगरमा लगेर बालुवा निकाल्ने गरेका स्थानीयवासीले बताएका छन् । आनन्दबगरमा दुईवटा डोजर प्रयोग गरेर २०० टिपरभन्दा बढी बालुवा निकालेर थुपारेका छन् ।
ठेक्का प्रतिस्पर्धा र नगरपालिकाले तोकेको ठाउँभन्दा अन्यत्र मेसिन प्रयोग गरेर बगर उत्खनन गर्न नपाउने कानुनी व्यवस्था छ । आनन्दबगरका हर्कबहादुर क्षेत्रीले सडक र खेलमैदान निर्माण गर्न व्यक्तिगत जग्गाभित्र पर्ने बगरमा कालीगण्डकीले बगाएर ल्याएको बालुवा निकालेको बताउनुभयो । बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले असार १ गतेदेखि नै बगर उत्खनन गर्न रोकिएको बताउनुभयो । प्रहरीले नियन्त्रणमा लिएर बुझाएमा कारवाही प्रक्रिया अघि बढाउने उहाँले बताउनुभयो ।
ढाडेनीखोलामा कालीगण्डकीले सयाैं रोपनी खेतीयोग्य जमिन कटान गरेको छ । कालीगण्डकीमा भएको अनियन्त्रित र अव्यवस्थित नदी दोहनका कारण सारेमारे र ढोडेनीको बीचमा रहेको जङ्गल पहिरो चलेर सखाप भएको छ । ढोडेनीखोलामा एक्साभेटर प्रयोग गरेर गरिएको उत्खननले कालीगण्डकीपारि पर्वतको जलजला गाउँपालिकाको फर्सेमा कटानको जोखिम बढाएको नाग्लीबाङका वडाध्यक्ष हरिविकास जिसीले बताउनुभयो ।