बागलुङ, २२ साउन २०७८ ।
बागलुङ जिल्लाकै दुर्गम मानिएको तमानखोलामा यस पटक खोला बढेर यातायात रोकिएन । बर्खामा तीन महिना यातायात ठप्प हुने तमानखोला गाउँपालिकामा यस वर्षदेखि बाह्रैमास सवारी सञ्चालन भएका छन् । जिल्लाको दोस्रो व्यापारिक सहर बुर्तिवाङ बजारबाट तमानखोलाको केन्द्र बोङ्गादोभान पुग्ने सडक र दुई पक्की पुल राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निर्माण गरेसँगै यात्रुलाई सहज भएको छ ।
बर्खाको समयमा निकै समस्या झेलेर पुल निर्माण गरिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ बागलुङले स्तरोन्नति गरेको बुर्तिवाङ तमानखोला सडकमा आवश्यक दुई पक्की पुलमध्ये लुकुरबन खोलाको पक्की पुलमा सवारी गुड्न थालेका छन् भने भालुवाङ खोलाको पुल ९५ प्रतिशत सम्पन्न भइसकेको प्राधिकरणले जनाएको छ । यो दुवै पुल बनेपछि बर्खायाममा दुईवटा खोलामा गाडी परिवर्तन गर्नुपर्ने र पैदल यात्राको सकस बेहोर्नुपर्ने बाध्यता अन्त्य हुन थालेको छ ।
अहिले बुर्तिवाङ–तमानखोला सडक ग्राभेल गरेसँगै बुर्तिवाङबाट तमानखोला गाउँपालिकाको केन्द्र पुग्न यात्रुलाई निकै सहज भएको छ तर पुल अभावमा बर्खाको चार महिना समस्या भए पनि आगामी बर्खामा यस्तो समस्या नहुने तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले जानकारी दिनुभयो । “लुकुरबन खोलाको पुलमा सवारी हिँड्न थाले, भालुवाङमा पुल निर्माण अन्तिम चरणमा पुगेको छ, बर्खाको चार महिना गाउँपालिकाको केन्द्रसम्म यातायातको सम्बन्ध विच्छेद हुने अवस्था अब अन्त्य भएको छ, पालिका सदरमुकामदेखि माथि त धेरै पुल बन्न बाँकी नै छन्”, अध्यक्ष बुढाले भन्नुभयो “दुर्गम मानिएको बोङ्गादोभान बजारमा बुर्तिबाङबाट एक घण्टाभित्रै पुग्न सकिने भएको छ, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सडक र पुल निर्माण गरेर दुर्गम मानिएको गाउँपालिकाको परिचय बदलिएको छ ।” अध्यक्ष बुढाका अनुसार हिउँदमा तमानखोलाका सबै वडामा सवारी पुग्ने सडक बनाइएको छ ।
बुर्तिवाङबाट तमानखोला सम्मको नौ दशमलव आठ किलोमिटर सडक ग्राभेल गर्नका लागि २०७५ साल वैशाख १० गते कालिका प्यासिफिक जेभीसँग ठेक्का सम्झौता गरी रु १७ करोड नौ लाखमा सडक निर्माण सम्पन्न गरिएको छ । उक्त सडकमा दुई पक्की पुल निर्माण करिब सकिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ प्रमुख रेणुकाकुमारी पाण्डेयले जानकारी दिनुभयो । “बर्खामा ढलान गरेको भालुवाङ खोलाको पुल झण्डै बगाएको थिएन, प्राविधिक, स्थानीय जनप्रतिनिधि तथा गाउँपालिकाको सहयोगमा खोलालाई धार परिर्वतन गराएर क्षतिबाट जोगायौँ, ढलान भएको केही दिनमै उक्त खोलामा बाढी आएको थियो”, पाण्डेले भन्नुभयो, “उक्त खोलाको पुल निर्माण ९५ प्रतिशत सकिएको छ, लुकुरबनको पुलमा सवारी गुड्न थालेका छन् ।”
भूकम्पले क्षति पु¥याएका भौतिक संरचनाको पुनर्निर्माण गर्ने आयोजनाले यो सडक निर्माणसँगै पुल निर्माणसमेत गरेको पुनर्निर्माण प्राधिकरण आयोजनाका इन्जिनीयर हरिशचन्द्र बडूले जानकारी दिनुभयो । उहाँका अनुसार कोरोनाका कारण लुकुरबनको पुल निर्माण केही महिना रोकिएको थियो । रु तीन करोड ६६ लाखको बजेटमा लुकुरबन खोला पुल निर्माण भएको छ । विसं २०७६ मङ्सिरदेखि शुरु भएको उक्त पुल २५ मिटर लम्बाइ र आठ दशमलव पाँच मिटर चौडाइ रहेको पुल निर्माणको जिम्मा पाएको कर्ण÷प्रदीप÷जुम्ली जेभीले जनाएको छ ।
यस्तै नौ महिनामा सक्ने गरी २०७७ साल असोज १२ गते निर्माण सुरु भएको भालुवाङ खोला पक्की पुल कोरोनाका कारण केही महिना ढिला गरी सम्पन्न हुन थालेको छ । रु चार करोड ४२ लाखमा नयाँबाटो/सूर्योदय/बीएम जेभीले निर्माणको जिम्मा पाएको उक्त पुल ४० मिटर लम्बाइ र आठ दशमलव पाँच मिटर चौडाइको छ । बागलुङ जिल्ला सदरमुकामपछिको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङ बजारबाट तमान क्षणभरमै पुग्न थालेपछि स्थानीयवासीलाई आवतजावत सहज भएको मात्रै छैन अब बर्खामा समेत यातायातका साधन सञ्चालनमा आउने भएको छ ।
जिल्ला सदरमुकामबाट ९२ किलोमिटर मध्यपहाडी पुष्पलाल राजमार्ग र त्यसपछि १० किलोमिटर बुर्तिवाङबाट तमानखोला गाउँपालिकाको केन्द्र बोङ्गादोभानसम्म पुग्न सकिन्छ । पुल नहुँदा बर्खाको चार महिना यातायातका साधन ठप्प हुँदै आएका थिए । ‘ट्र्याक’ निर्माणपश्चात् बुर्तिवाङदेखि तमानखोलासम्म निकै सास्ती खेपेर करिब दुई घण्टा लाग्ने सडकमा ग्राभेल सडक निर्माणसँगै करिब आधा घण्टामै सरर तमानखोलाको केन्द्र पुग्न सकिनेछ ।
बिमल पौडेल
बागलुङ, २२ साउन २०७८ ।
स्तनपान सप्ताहको अवसरमा जैदी स्वास्थ्य चौकीले सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । बागलुङको जैमिनी नगरपालिका ७ जैदी स्थित जैदी स्वास्थ्य चौकीमा “हामी सबैको जिम्मेवारी, स्तनपान संरक्षण हुन्छ प्रभावकारी” भन्ने मुल नाराका साथ स्तनपानको महत्व तथा जानकारी मूलक कार्यक्रम सम्पन्न भएको हो ।
सप्ताहको पाँचौ दिन गर्भवती, सुत्केरी तथा २ बर्ष मुनिका शिशुहरुका आमा र महिला स्वास्थ्य स्वयम् ंसेविकाको उपस्थिति रहेको उक्त कार्यक्रममा स्वास्थ्य चौकिका हेल्थ असिस्टेन्ट विप्लब थापाले स्तनपानको महत्व तथा फाईदा बारे विस्तृत जानकारी गराउनुभएको थियो भने अनमी शर्मिला नेपालीले स्तनपानको सहि आशन, सम्पर्क र व्यवहारहरुका बारेमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा उपस्थितहरुले आफ्नो स्तनपान सम्बन्धि अनुभव साटासाट गर्नुका साथै पूर्ण स्तनपान गराउने प्रतिवद्धता जनाएका छन् ।
सन्ध्या आचार्य
बागलुङ, २१ साउन २०७८ ।
बागलुङकाे कुश्मिसेरा बजारमा थप कडाइ गर्न सरोकारवालाहरुले माग गरेका छन् । बिहिबार जैमिनी नगरपालिका १ नं वडा समितिको बैठकमा सहभागीहरुले बजार क्षेत्रमा कोरोनाको संक्रमण भयावह भएको भन्दै लकडाउन थप कडाई गर्न माग गरेका हुन् ।
बजार क्षेत्रमा निषेधाज्ञा भएपनि कतिपय व्यापारीहरुले अटेर गरी पसल खोलिरहेको र यसले कोरोना संक्रमण फैलिने भएकाले यस्ता व्यापारीहरुलाई कारवाही गर्ने र पसल बन्द गराउनुपर्ने सहभागीहरुको माग रहेको छ ।
अत्यावश्यकका पसलहरु खोल्ने समय छुट्याएपनि अटेर गरी अत्यावश्यक बाहेकका पसलहरु समेत खुल्ने गरेको जनगुनासो आएपछि वडाले ७ सदस्यीय अनुगमन समिति गठन गरेको वडा नं १ का वडा सदस्य रुद्रनाथ शर्माले जानकारी दिनुभयो ।
क्याप्टेन पदम बहादुर श्रीसको संयोजकत्वमा गठित समितिको सदस्यहरुमा चित्र प्रसाद चापागाईँ, तिलक थापा, रुद्रनाथ शर्मा, कुश्मिसेरा प्रहरी चौकीको तर्फबाट सुरक्षाकर्मी तथा प्रहरी चौकी ईन्चार्ज नवराज रिमाल, सञ्चार संस्थाको तर्फबाट शुभेक्षा एफ एम ९६.६ मेगाहर्ज कुश्मिसेराकी स्टेशन म्यानेजर तथा अध्यक्ष सन्ध्या आचार्य र स्थानीय व्यापारी विष्णु प्रसाद सापकोटा रहनुभएको छ ।
समितिले त्यस्ता पसलहरुको छड्के अनुगमन गर्ने र नियम उल्लंघन गरेको पाइएमा सम्बन्धित निकायमा जानकारी गराउनेछ ।
पाल्पा, २१ साउन २०७८ ।
आफूमा मेहनत र इच्छाशक्ति छ भने सहजै लक्ष्यमा पुग्न सकिन्छ भन्ने तै उदाहरण याम खाम्चाले दिएका छन् । दुबै हात नचल्ने र बोल्नसमेत नसक्ने उनी सुन्न र राम्रोसँग देख्न सक्छन् । फरक क्षमता भएका यामले अहिले खुट्टैले लेखेर कक्षा ११ को परीक्षा दिइरहेका छन् । निस्दी गाउँपालिका–२ आनन्दी भन्ज्याङ्स्थित बालहित माविको एक कोठाको कुनामा बसेर अरु विद्यार्थी सरह नै उनी परीक्षामा सहभागी भएका हुन् ।
बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने परीक्षामा साधारण विद्यार्थी सरह नै याम भूइँमा बसेर अगाडि प्रश्नपत्र हेर्दै त्यसको उत्तर खुट्टाले लेख्छन् । एउटै कक्षा कोठाको अगाडि एक छेउमा राखेर परीक्षा दिने व्यवस्था मिलाइएको र परीक्षा समय तीन घण्टा तोकिएकोमा फरक क्षमता भएका यस्ता विद्यार्थीलाई आधा घण्टा समय थप दिने व्यवस्था गरिएको शिक्षक विष्णु थापा बताउनुहुन्छ ।
उहाँका अनुसार यामसँगै यस विद्यालयबाट १८ विद्यार्थी परीक्षामा सम्मिलित छन् । शिक्षक थापा भन्नुहुन्छ, “प्रश्न अस्पष्ट भए मात्रै इसाराले शिक्षकलाई बोलाउने, खुट्टैले सङ्केत गरेर प्रश्न देखाउने र अलि ढिलो लेखे पनि निर्धारित समयमै सबै प्रश्नको उत्तर उनी लेख्न भ्याउँछन् ।” यही साउन २० गतदेखि शुरु भएको कक्षा ११ को परीक्षामा निर्धक्कका साथ परीक्षामा सामेल भएका यामले खुट्टाकै लेखाइले नै माध्यमिक शिक्षा (एसइई) परीक्षा उत्र्तीण गरी अहिले शिक्षा शास्त्र सङ्कायमा नेपाली विषय लिएर कक्षा ११ को परीक्षा दिइरहेका हुन् ।
शारीरिक रुपमा अशक्त रहे पनि स्मरण शक्ति राम्रो रहेका उनी जिज्ञासु हुनाका साथै केही नयाँ कुरा सुन्ने र देख्ने बित्तिकै इसारा गरेरै त्यसबारे जानकारी लिन खोज्छन् । चौबीस वर्ष लागेका यामको दुबै हात चलाउन नसक्ने र बोल्न पनि नसक्ने समस्या जन्मजात नै हो । फरक क्षमता भए पनि पढ्ने क्षमता भने अरु विद्यार्थीभन्दा बढी भएकैले खुट्टाले लेखेरै ठूलो मान्छे बन्ने सपना उसमा छ ।
कक्षाकोठामा शिक्षकले पढाउँदा एकै याम पटकमा सहजै बुझ्ने गर्छन्, नबुझेका केही कुरामा शिक्षकलाई इसारा गरेर बोलाउने वा खुट्टाले कापीमा लेखेर देखाउने गर्छन् भने बुझिसकेपछि हाँसेर प्रतिक्रिया दिने गरेको बालज्योति प्राविका प्रधानाध्यापक रोशन सिं सारु बताउनुुहुन्छ । “विद्यालय बिदाको समयमा घरमा बसेर पढ्दै गर्दा केही कुरा नबुझेमा मेरो कोठामै आएर सोध्ने र नयाँ कुरा सिक्न खोज्ने उनको स्वभाव छ” उहाँले भन्नुभयो ।
विद्यालयको वार्षिकोत्सवलगायत कार्यक्रममा आफूले तयार पारेको कविता, गजल र कथा शिक्षकलाई वाचन गर्न लगाउने र फुर्सदको समयमा घरमा बसेर ल्यापटपमा विभिन्न रचना गर्ने र गाउँका समाचार बनाउने कार्यमा याम व्यस्त देखिन्छन् ।
गर्भावस्थामै जण्डिस (कमलपत्ति) रोगले ग्रस्त उनले औषधोपचारको अभावमा जीवनभर अर्काको सहारामा बाँच्नु परेको छ । दुबै हात चलाउन नमिले पनि फुर्सदको समयमा उसले खुट्टाले चम्चा च्यापेर खाना खाने गरेको आमा योगमाया बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “याम विद्यालयबाट घर फर्केपछि घरमै बसेर लेखपढ गर्ने, बाहिर साथीभाइसँंग खेल्न पनि नजाने, परिवारसँगै साथमा बस्न पाउँदा धेरै रमाउने गर्छ । आफूले गर्न सक्ने र मिल्ने जति काम अरुलाई गर्न नदिने यो उसको सानैदेखिको बानी हो” ।
तीन छोरा र एक छोरीमध्ये माइलो यामको शारीरिक अवस्थाले शुरुमा मानबहादुर चिन्तित अहिले उसको पढाइप्रतिको मेहनत, लगनशीलता र सिर्जना देखेर खुशी हुनुहुन्छ ।
जन्मदै शारीरिकरुपमा कमजोर याम आठ वर्षको उमेरपछि बिस्तारै हिँडडुल गर्नसक्ने भएका थिए । गृहकार्य सकिएपछि घरमै ल्यापटपमा कथा, कविता लेख्ने, इन्टरनेट चलाउने, सामाजिक सञ्जालमा आफ्ना लेख रचना र तस्बिर, पठाउने, सन्देश पठाएर कुराकानी गर्ने युट्युब हेर्ने, फेसबुक चलाउने, म्यासेन्जरमा सञ्चो बिसन्चो लेखेर कुरा गर्ने, रेडियो सुन्ने र नयाँ व्यक्तिसँग परिचित हुन मन पराउने काम गर्दै आएको यामका दाजु पुनारामले बताउनुभयो ।
फरक क्षमताका यामको कार्य देख्ने जो कोहीलाई पनि साहित्यकार झमक घिमिरेको झझल्को आउँछ । उनले खुट्टाले लेखपढ गरेर भविष्यमा झमक घिमिरे झै ठूलो मान्छे बन्ने सपना साँचेका छन् ।
स्थानीयवासीलाई आठ करोडको शेयर बाँड्दै मोलुङ हाइड्रो
ओखलढुङ्गा, २१ साउन २०७८ ।
मोलुङ हाइड्रोपावर कम्पनीले स्थानीयवासीलाई करिब रु आठ करोड बराबरको आठ लाख कित्ता शेयर बिक्री गर्ने भएको छ । आयोजना आसपासका नागरिकका लागि आठ लाख दुई हजार ५०० कित्ता साधारण शेयर निष्काशन गर्न लागिएको हो ।
कम्पनीले आफ्नो जारी पूँजी रु ८० करोड २५ लाखको १० प्रतिशत अर्थात् रु आठ करोड दुई लाख पचास हजार बराबरको शेयर स्थानीय क्षेत्रका प्रभावित बासिन्दालाई बिक्री गर्ने तयारी गरेको सनराइज क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले बताउनुभयो ।
बाँकी ३४ प्रतिशत अर्थात् रु २७ करोड २८ लाख पचास हजार रकम बराबरको २७ लाख २८ हजार ५०० कित्ता साधारण शेयरमध्ये पाँच प्रतिशत अर्थात् एक लाख ३६ हजार ४२५ कित्ता साधारण शेयर सामूहिक लगानी कोष र दुई प्रतिशत अर्थात् ५४ हजार ५७० कित्ता साधारण शेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको उहाँले जानकारी दिनुभयो ।
बाँकी रहेको २५ लाख ३७ हजार ५०५ कित्ता शेयर सर्वसाधारणका लागि धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को अधिनमा रही निष्काशन गरिने कम्पनीले जनाएको छ । पहिलो चरणमा निष्काशन हुने रु आठ करोड बराबरको आठ लाख कित्ताभन्दा बढी शेयर मोलुङ गाउँपालिका र सिद्धिचरण नगरपालिकाका नागरिकका लागि हुनेछ ।
उक्त शेयर खरिद गर्न चाहने नागरिकका लागि बैंकमा डिम्याट खाता अनिवार्य गरिएको छ । ती गाउँपालिका र नगरपालिकाका नागरिकलाई अनिवार्य शेयर खरिद गर्नका लागि आह्वान गरिएको निर्माण कम्पनी अनक कन्ट्रक्शनका सञ्चालक नवीन महर्जनले बताउनुभयो । त्यहाँका नागरिकले खरिद गरेका शेयर तीन वर्षसम्म बिक्री गर्न नमिल्ने कम्पनीले जनाएको छ ।
पेस्तोल सहित तीन जना पक्राउ, उनिहरूमाथि अनुसन्धान सुरू
काठमाडौँ, २१ साउन २०७८ ।
नेपाल प्रहरीले काठमाडौँको गोङ्गबुबाट पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–२६ गोङ्गबुस्थित वीरेन्द्र ऐश्वर्य मार्गको आरके रेष्टुराँबाट पेस्तोलसहित धादिङका २४ वर्षीय विकेश मगर भन्ने विपिन मगर, २५ वर्षीय मन्दिप थापा र १९ वर्षीय सुजन मगरलाई बुधबार साँझ पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले गोङ्गबु विजी मलअगाडि सडकमा जाँचका क्रममा स्कुटर छाडेर भागेपछि शङ्का लागी पिछा गर्दा आरके रेष्टुराँमा लुकेर बसेका उनीहरूलाई पेस्तोलसहित पक्राउ गरिएको जानकारी दिनुभयो ।
पक्राउ परेकासँग प्रहरीले एक थान पेस्तोल, एक थान म्यागजिन, पाँच राउण्ड गोली, दुई थान खुकुरी र गाँजा बरामद गरेको छ । पक्राउ परेकालाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जले अनुसन्धान गरिरहेको प्रवक्ता बस्नेतले बताउनुभयो ।
जापानले नेपाललाई उपलब्ध गराउने काेराेना विरूद्धकाे खोपको पहिलो खेप शनिबार आइपुग्ने
काठमाडौँ, २१ साउन २०७८ ।
जापान सरकारले नेपाल सरकारलाई उपलब्ध गराउने १६ लाख मात्रा खोपमध्येको पहिलो खेप आगामी शनिबार र दोस्रो खेप आइतबार राजधानी ल्याइने भएको छ ।
बिहीबार र शुक्रबार जापानबाट हवाइ मार्गबाट ती खोप ढुवानी सुरू हुने जापानी राजदूतावासले हिजाे साँझ एक विज्ञप्ति जारी गरी जनाएको छ ।
बाँकी खोप सम्बद्ध निकायहरूसँगको समन्वयमा यथाशक्य चाँडो नेपाल ल्याइनेछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको सहकार्य र समन्वयमा नेपाल सरकारले थालेको कोभिड–१९ खोप अभियानमा जापान निर्मित अस्ट्रा जेनिका खोप उपयोग हुने विश्वास नेपालका लागि जापानका राजदूत किकुटा युराकाले व्यक्त गर्नुभएको छ ।
महामारीको वर्तमान कठिन परिस्थितिमा नेपाल सरकारसँग हातेमालो गर्दै धेरैभन्दा धेरै नेपालीको जीवनरक्षा तथा महामारीपछिको सामाजिक एवं आर्थिक पुनरुत्थानमा सहकार्य गर्न जापान तयार रहेको राजदूत किकुटाले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।
अर्जेवाका कृषकहरुलाई बिउ बिजन र औषधि वितरण
बिमल पौडेल
बागलुङ, २१ साउन २०७८ ।
बागलुङको जैमिनी नगरपालिका वडा नं ६ अर्जेवाले वडा भित्रका कृषकहरुलाई बिउ बिजन वितरण गरेको छ । वडा भित्रका ४ सय ८५ घरपरिवारका कृषकहरुलाई सिजन अनुसारको बिउ बिजन वितरण गरिएको हो ।
वडा कार्यालयबाट ५० हजार रुपैया बजेट विनियोजन गरी बिउ बिजन खरिद गरेर वितरण गरिएको वडाध्यक्ष कृष्ण बहादुर थापाले जानकारी दिनुभयो । वडाको तर्फबाट ५० हजार रकम बराबरको पशुचौपायको लागि आवश्यक औषधिहरु पनि खरिद गरिएको र किसानहरुलाई आवश्यकताको आधारमा वितरण गरिरहेको थापाले बताउनुभयो ।
जैमिनीमा कोरोनाको स्थिति भयावह: ४ बर्षे बालिका सहित २७ जनामा संक्रमण, सतर्क रहन आग्रह
सन्ध्या आचार्य
बागलुङ, २० साउन २०७८ ।
जैमिनीमा थप २७ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो समयमा ३७ जनाको पीसिआर परिक्षण गर्दा २७ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो ।
पछिल्लो समयमा थपिएकाहरु सबै जैमिनी नगरपालिका १ कुश्मिसेरामा बसोबार गर्नेहरु रहेको जैमिनी नगरपालिकाका स्वास्थ्य शाखा संयोजक गोविन्द प्रसाद आचार्यले जानकारी दिनुभयो । कोरोना संक्रमण देखिएकाहरु धेरैजसो अन्यत्रबाट आएर कुश्मिसेरामा कार्यरत कर्मचारी रहेको र उनिहरुको ठेगाना जैमिनी १ नै उल्लेख भएको भएको उहाँको भनाई छ ।
यो संगै जैमिनी नगरपालिकामा अहिले ५२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ती मध्ये ६ जना संस्थागत आइशोलेसन र बाँकी होम आइशोलेसनमा रहेका छन् ।
सक्रिय संक्रमितहरुमध्ये जैमिनी नगरपालिका ५ विनामारेमा २ जना, जैमिनी २ दमेकमा ३ जना र जैमिनी १० राङ्खानीमा २ जना रहेका छन् । बाँकी सबै जैमिनी १ का रहेको स्वास्थ्य शाखा संयोजक आचार्यले बताउनुभयो ।
जैमिनी कोभिड १९ अस्थाई अस्पताल कुश्मिसेराको आइशोलेसनमा बसेका ६ जनामध्ये २ जना बालबालिका रहेका छन् । उनिहरु सबैको अवस्था सामान्य रहेको छ ।
यस्तै कुश्मिसेराको बैंकमा कार्यरत एकजना कर्मचारीमा कोरोनाको संक्रमण दोहोरिएको छ । गतबर्षको मंसिरमा कोरोना देखिएका एकजना पुरुषमा पुनः कोरोना देखिएको हो । उनले कोरोना विरुद्वको दुवै डोज खोप लगाइसकेका थिए ।
जैमिनीमा कोरोनाको संक्रमण दर बढ्दै गएकाले यसबाट सतर्कता अपनाउन नगरपालिकाले आग्रह गरेको छ । स्वास्थ्यमा समस्या देखिएमा कोभिड अस्पतालमा आउन र स्वास्थ्यकर्मीहरुको सहायता लिन अनुरोध गर्दै स्वास्थ्य शाखा संयोजक आचार्यले होम आइशोलेसनमा बसेकाहरु हिँडडुल नगर्न र कन्ट्याक्ट ट्रेसिङमा परेकाहरु पनि जथाभावी नहिँड्न र परिक्षण गराउन आग्रह गर्नुभयो ।
जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरामा कोरोना संक्रमण दर बढ्दै गएको छ । नगरपालिकामा अहिले ४ बर्षीय बालिकामा समेत संक्रमण देखिएको छ ।
उच्च जोखिमका घरमा नबस्न मेलम्ची नगरपालिकाको अपिल
सिन्धुपाल्चोक, २० साउन २०७८ ।
गत असार १ गतेदेखि आएको बाढीले नदीतटीय घर बस्तीमा क्षति पु¥याएको बेला समेत स्थानीय सरकारले बेवास्ता गरेको भन्दै आलोचना भइरहेको बेला मेलम्ची नगरपालिकाले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । गत असार १ गते देखिनै नगरपालिकाको सबै संयन्त्र प्रयोग गरी नदी नियन्त्रणदेखि बस्ती जोगाउनसम्म अथक प्रयास गरेको नगरपालिकाद्वारा मङ्गलबार जारी अपिलमा भनिएको छ ।
बेलैमा सूचना आएकाले मानवीय क्षति हुन नपाएको भन्दै नगरपालिकाले खुशी व्यक्त गरेको छ । तत्कालका लागि सामूहिकरूपमा बासस्थानको व्यवस्था गरेको नगरपालिकाले १५ दिनसम्म इन्द्रेश्वरी माध्यमिक विद्यालयमा प्रभावितहरुलाई बासको व्यवस्था गरेको बताएको छ । ग्यास, चुलो, ओछ्याउने, भाँडाकुँडा र रासनसमेतको व्यवस्था गरी इच्छाएको सुरक्षित ठाउँमा स्थानान्तरण गर्न नगरपालिकाले भूमिका निर्वाह गरेको नगर प्रमुख डम्बर अर्यालले जानकारी दिनुभयो । साथै कुपनको व्यवस्था गरी एक महिनाका लागि खाद्यान्न वितरण गर्ने काम भएको उहाँले बताउनुभयो ।
पहिरोको माथिल्लो भेगको अवस्थाको मुल्याङ्कन गर्दै सम्बन्धित विषय विज्ञहरुको निरन्तर सल्लाह र सुझावबमोजिम तल्लो तटीय क्षेत्रमा नदीको कटान रोकी क्षति न्यूनीकरण गर्ने काममा नगरपालिका निरन्तर लागिरहेको अपिलमा उल्लेख गरिएको छ । हालसम्म नगरपालिकामार्फत एक हजार २७८ थान ग्याविन बक्स, ४७८ टिप ढुङ्गा, सात वटा मेसिन लगातार एक महिनासम्म खोलामा आवश्यकताका आधारमा प्रयोग एवं परिचालन गरिएको नगरपालिकाले जनाएको छ । यस कार्यमा भएका खर्चहरु नगरपालिकाले अहिलेसम्म आफ्नो वेबसाइटमा सार्वजानिक गर्दै आएको अर्यालले बताउनुभयो ।
बाढी प्रभावितहरुको सम्पूर्ण विवरण सङ्कलन गरी नगर कार्यपालिकाको निर्णयानुसार प्रभावितहरुको वर्ग छुट्याएर रु २५ हजार, रु २० हजार, रु १५ हजार र रु १० हजारका दरले तत्कालका लागि प्रभावितहरुको बैंक खातामा जम्मा गर्ने कार्य सुरु भइसकेको जनाएको छ । अस्थायी आवास निर्माणका लागि नेपाल सरकारबाट प्राप्त हुने रु ५० हजार सम्झौता गरी प्रभावितहरुलाई वितरण गर्ने तयारी भइरहेको भन्दै नगर प्रमुख अर्यालले पुनर्निर्माणका लागि प्राप्त हुने रु पाँच लाख र बसोबासयोग्य जग्गा नहुनेका लागि थप रु तीन लाख समेत प्राप्त हुने सुनिश्चित भइसकेको बताउनुभयो ।
प्रदेश सरकार, केन्द्र सरकार र सरोकारवाला निकायसँगको समन्वय र नगरपालिकाको आन्तरिक स्रोतको अधिकतम उपयोग गर्दै नगरपालिकाले आफ्नो तर्फबाट गर्नुपर्ने सम्पूर्ण काम गरिरहेको र गरिरहने प्रतिबद्धतासमेत नगर प्रमुख अर्यालद्वारा हस्ताक्षरित अपिलमा भनिएको छ । प्रभावितको राहत तथा उद्धारका लागि नगरपालिका व्यक्ति, सङ्घसंस्था, समूहसँग जतिबेला पनि छलफलका लागि तयार रहेको उल्लेख गरिएको छ ।
नगरपालिकाभित्रका तालामाराङदेखि ढाडखोला किनारमा रहेका बस्तीहरूको संरक्षण गर्नेदेखि बाढी प्रभावितलाई आवास निर्माणका लागि आवश्यक पहल गरिरहेको नगर प्रमुख अर्यालले बताउनुभयो । पहिरो गएको मुहान क्षेत्रबाट अझै पनि पहिरो आउने सम्भावना रहेको र बर्सातको समय भएकाले मेलम्चीको तल्लो बजारका घरहरु सफा गर्ने र त्यहीँ बस्ने गरी थालिएको तयारी जोखिमका हिसाबले उपयुक्त नभएको नगरपालिकाको भनाइ छ । बाढी प्रभावित नागरिकको गाँस, बास र स्वास्थ्य उपचारको अभाव हुन नदिने नगरपालिकाले बताएको छ । बर्सातको समयमा अति उच्च जोखिममा रहेका स्थानहरुमा घर सफा गर्ने, मर्मत गर्ने र पुनः सोही घरमा बस्ने गरी जोखिमयुक्त कार्य भइरहेकोतर्फ नगरपालिकाले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । साथै त्यस्तो काममा नलाग्न अपिलसमेत गरेको छ ।
मेलम्ची बजार र फट्टेमा दुई वटा बेलिब्रिज निर्माणका लागि सङ्घीय सरकारलाई आग्रह गरिएको र स्थायी पुल निर्माणका लागि अध्ययन भइरहेको समेत अपिलमा उल्लेख गरिएको छ । नगरबासीको जिउधनको सुरक्षा र संरक्षण गर्ने कुरामा कुनै कसर बाँकी नराखिने भन्दै नगरपालिकाले थप काम गर्नुपर्ने भएमा सम्बन्धित व्यक्ति वा समूह स्वयं नगरपालिका आएर छलफलका माध्यमबाट समस्याको समाधान गर्नसमेत अपिल गरेको छ ।